काठमाडौं: ओमानमा हुने एसिसी प्रिमियर कपको लागि नेपालको १४ सदस्य टोली घोषणा भएको छ । एसिसी क्रिकेट काउन्सिल(एसिसी) ले अन्तिम १४ सदस्य टोली सार्वजनिक गरेको हो । भारत भ्रमणमा परेका तीव्र गतिका बलर आकाश चन्द भने अन्तिम १४ मा पर्न सकेनन् । अन्य टोलीमा कुनै परिवर्तन गरेको छैन । प्रिमियर कप १२ अप्रिलदेखि २१ अप्रिलसम्म ओमानमा हुनेछ । प्रिमियर कपको समूह ए मा नेपाल, मलेसिया, हङकङ, साउदी अरेविया र कतार छन् । समूह बी मा यूएई, कुवेत, बहराइन, ओमान र कम्बोडिया छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल हुँदै विजेता हुने टोलीले एसिया कप खेल्ने पाउनेछ । नेपाल, यूएई र ओमान विजेताको प्रमुख दाबेदार हुन् । नेपालको टोली: रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी र अभिनाश बोहरा ।
कैलाली: जंगली हात्तीको आक्रमणमा परेर आज टीकापुरमा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार मृत्यु हुनेमा टीकापुर नगरपालिका वडा नं.१ ब्लक नं. १५ की जसुदा बटाला रहेकी छन । उनलाई जंगली हात्तीको बथानले टीकापुर नगरपालिका वडा नं.२ स्थित भुराखानी सामुदायिक वन भित्र आक्रमण गरेको डिएसपी विश्वराज अधिकारीले जानकारी दिए । मृतक बटाला स्थानीय महिलासँगै भुराखानी सामुदायिक वन क्षेत्रमा घाँस काट्न गएकी बताईएको छ । प्रहरी घटनास्थलमा पुगेको छ । यस क्षेत्रमा बेलाबेलामा बर्दिया राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावरको आक्रमणमा परेर सर्वसाधारणले ज्यान गुमाउने गरेका छन ।
काठमाडौं: प्रतिनिधि सभाको बैठक भोलि, बुधबारसम्मका लागि स्थगित भएको छ । यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठकमा अवरोध गरेपछि १५ मिनेटको लागि स्थगित गरिएको थियो । आज सूचना टाँसेर स्थगित गरिएको बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ । बैठक स्थगित गरेर सभामुख देवराज घिमिरेले नेपाली कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलका नेताहरूसँग छलफल गरेका थिए । कांग्रेस गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउने मागबाट पछि नहटेपछि छलफल निष्कर्षमा पुग्न सकेको छैन ।
स्याङजा: स्याङजाको आँधीखोलामा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ । गल्याङ नगरपालिका–२ गराङ्दी का १४ वर्षीय युनिक रानाको पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरिक्षक पावलसिंह लामाले जानकारी दिए । मङगलवार बिहान ६ जना साथीहरु सहित पौडी खेल्न गएका राना खोलामा पस्ने बित्तिकै बेपत्ता भएका थिए । झण्डै दुई घण्टाको खोजबिन पछि उद्धार गरी गल्याङ नगर अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।।
काठमाडौं: राप्रपाको प्रदर्शनमा प्रहरीले पानीको फोहोरा हानेको छ । ४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाको जुलुस भृकुटीमण्डपबाट सुरु भएको थियो । सिंहदरबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । तर जुलुस अगाडि बढेपछि प्रहरीले पानीको फोहोरा हानेको छ ।
काठमाडौं: राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको तर्फबाट छुट्टाछट्टै उम्मेदवारी दर्ता भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा एमालेका तर्फबाट बिमला घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको छ । घिमिरेको प्रस्तावकमा सांसद भगवती न्यौपाने र समर्थकमा सांसद गोपीबहादुर सार्की अछामी रहनुभएको छ । यस्तै, नेपाली कांग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराउनुभएको छ । पुडासैनीको प्रस्तावकमा सांसद दुर्गा गुरुङ र समर्थकमा सांसद नारायणदत्त भट्ट रहनुभएको छ । उपाध्यक्षको निर्वाचन बुधबार हुँदैछ । तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिनुभएपछि निर्वाचन हुन लागेको हो । उम्मेदवारी दर्ता गर्रापछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका तर्फबाट उपाध्यक्षका उम्मेदवार घिमिरेले आफूलाई मतदान गरी निर्वाचित गराउन आग्रह गर्नुभयो । आफूलाई आफ्नो दलले यो जिम्मेवारी दिएकाले धन्यवाद दिनुभयो । उहाँले राष्ट्रियसभालाई अध्यक्षसँग सल्लाह गरेर सभालाई थप मर्यादित बनाउने र विधेयकलाई छिटोछरितो पास गराउन सम्पूर्ण रुपमा सहयोगी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै, काँगेसका तर्फबाट उम्मेदवारी दर्ता गराउनु भएका पुडासैनीले राष्ट्रियसभालाई गरिमामय बनाउन आफूले भूमिका खेल्ने बताउनुभयो । आफूले स्थानीय रुपमा पनि काम गरेको जानकारी दिँदै उहाँले उम्मेदवार बनाउने निर्णय गर्ने पार्टीलाई समेत धन्यवाद दिनुभयो । उहाँले जनताको मन छुने खालका ऐन, कानुन बनाउनुपर्छ भन्ने आफ्नो मान्यता रहेको उल्लेख गर्दै सबै आफ्नै साथीभाइ भएकाले आफ्नो जीत सुनिश्चित भएको दाबी गर्नुभयो ।
काठमाडौं: भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लामा सवारी दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको छ । बेतालघाट नजिक भएको दुर्घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन् । मृतक नेपालीहरु कञ्चनपुरको महेन्द्रनगर निवासी रहेको भारतीय मिडिया टाइम्स अफ इण्डियाले जनाएको छ । उनीहरु घर फर्किंदै गर्दा दुर्घटनामा परेका थिए । यसैगरी भारतको हिन्दुस्तान टाइम्सले सोमबार राति भएको दुर्घटनामा सात जना नेपाली र एक जना चालक सहित आठ जनाको मृत्यु भएको जनाएको छ । भारतको बेतालघाटको उँचाकोट भन्ने गाउँमा जलजीवन परियोजनाका काम गर्ने कामदारहरु रहेको समाचारमा उल्लेख छ ।
स्याङजाः स्याङजाको आँधिखोलामा पौडि खेल्ने क्रममा १ जना बेपत्ता भएका छन । गल्याङ नगरपालिका–२ गराङ्दि घर भएका १४ वर्षीय युनिक राना बेपत्ता रहेको प्रहरीले जनाएको छ । मंगलवार बिहान अन्य ६ जना साथिहरु सहित पौडि खेल्न गएका राना खोलामा बेपत्ता भएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । बेपत्ता रानाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
पोखरा: १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको दोस्रो दिन सोमवारसम्म करिव रु. ३ लाखको आलुको कारोबार भएको छ । त्यहाँ प्रतिकेजी रु. ४० मा आलु बिक्रीवितरण भइरहेकोमा आलु किन्नकै लागि पोखरा महानगरपालिका लगायत अन्नपूर्ण गाउँपालिका, माछापुच्छे« गाउँपालिका सहित छिमेकी जिल्लाहरुबाट समेत मानिसहरु महोत्सव स्थल पुगेका छन् । कतिपयले हेमजाको आलु मिठो हुने भन्दै चाख्नकै लागि भएपनि आलु किन्न पुगेको प्रतिक्रिया दिएका छन् ।हेमजाको आलु छिटो पाक्छ, अन्यको तुलनामा बढी स्वास्थ्यकर पनि छ, त्यसैले यसपटक घरमा चाहिने ३० किलो आलु किनी लगेको सोमवार आलु खरिद गर्दै गरेकी माछापुच्छे« ५ रिभानकी माया विकले बताइन् । कार्यक्रमका बीच खाध्य सुरक्षाका लागि आलु महत्वपूर्ण रहेको चर्चा गरिएको छ ।कार्यक्रममा धारणा राख्दै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का कार्यकारी निर्देशक डा. सुरेन्द्रलाल श्रेष्ठले आलुले खाध्य सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको औँल्याउँदै पोषणा सुरक्षाका हिसावले पनि आलु सर्वोत्कृष्ट वाली भएको बताए। महोत्सव अन्तर्गत सोमवार कलाकारहरु जीवन दाहाल, शिवहरी ढुङगाना, परशुराम अधिकारी, रवी कार्की, कृष्ण सुवेदी, इन्द्रा गुरुङ, तुलसा क्षत्री, सुमन खड्का, कमला सुनार तथा गुड लक मन्टेश्वरीका प्रस्तुति रहे । त्यस्तै मंगलवार जीवन दाहाल, शिवहरी ढुङगाना, परशुराम अधिकारी, बविता जेरी, चोलेन्द्र पौडेल, अमर धिताल, सन्तोष सुवेदी, पुजा तामाङ र नविता सुवेदीका प्रस्तुतिहरु रहने जनाइएको छ । महोत्सवमा दर्शक सहभागिता पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ ।जसअन्तर्गत सोमवारसम्ममा ५ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् ।महोत्सवकै अवसरमा कृषि अनुसन्धान निर्देशनालय लुम्लेले प्रदेश स्तरीय कृषि प्रविधि प्रदर्शनी तथा मेला पनि आयोजना गरिरहेको छ । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहेका छन्।

