पर्वत:  प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको प्रदेश अस्पताल पर्वतमा एकैपटक १२ वटा प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । अब बिरामीले आधुनिक प्रविधिबाट स्वास्थ्य सम्बन्धी समस्याको प्रयोगशाला परीक्षण यहीँबाट गर्न सक्...

काठमाण्डौँ :     स्वास्थ्य जनसङ्ख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य बिमा कार्यक्रम कम्पनीलाई नदिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले सोधेको प्रश्नको जवाफमा उहाँले विनियोजन विधेयकमा निजी कम्पनीलाई स्वास्थ्य बिमा कार्यक्रम दिने भने पनि आफूले उक्त निर्णय कार्यान्वयन नगर्ने बताउनुभयो ।      “कम्पनीलाई स्वास्थ्य बिमा कार्यक्रम दिने बजेटमा उल्लेख भएको कुरा म लागू गर्दिनँ”, उहाँले भन्नुभयो, “स्वास्थ्य ऐनले जे भनेको छ त्यही गर्छु ।” उहाँले स्वास्थ्य सबै प्रतिष्ठानलाई एउटै छातामुनि राख्नका लागि ऐन ल्याउन थालिएको जानकारी दिनुभयो ।       उहाँले छाता ऐनको मस्यौदा गरिरहेको बताउनुभयो । मन्त्री खतिवडाले आकस्मिक सेवामा आएका बिरामीलाई पैसा नभए पनि उपचार गर्ने गरेको बताउनुभयो । “हामीकहाँ भएका बिरामीलाई पैसा नभएका कारणले फिर्ता गरेका छैनौँ”, उहाँले भन्नुभयो, “पैसा नभए पनि हामीले बिरामीलाई उपचार गरेका छौँ । अस्पताल पुगेपछि हामीले पैसा भएका नभएका बिरामीको उपचार गरेका छौँ ।”    मन्त्री खतिवडाले कोरोना भाइरस सङ्क्रमणको आउने महामारीको तयारी अवस्थामा बसेको बताउनुभयो । “अक्सिजन, सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटर तयारी अवस्थामा राखेका छौँ”, उहाँले भन्नुभयो, “हामीसँग बनेका संरचना र जनशक्तिले महामारीको अघिल्लो पटकको चापलाई सजिलै थेग्न सकिन्छ ।”    सांसद केदार सिग्देलले सरकारको नीति तथा कार्यक्रममा समावेश भएको मिर्गौला र क्यान्सरको उपचारमा निःशुल्क उपचार कुन कुन अस्पतालबाट कहिलेबाट हुने भनी प्रश्न गर्नुभएको थियो ।        डा डिला सङ्ग्रौला पन्त भारतमा फेरि कोरोना भाइरसका बिरामी बढ्दै गइरहेको अवस्थामा नेपालमा पनि बढ्ने खतरा रहेकाले तयारीको अवस्थाबारे मन्त्री खतिवडालाई प्रश्न गर्नुभएको थियो । सांसद योगेशकुमार भट्टराईले कम्पनीबाट बिमाका कामबारे प्रश्न गर्नुभएको थियो ।       सांसद गिरिराजमणि पोखरेलले स्वास्थ्य सेवा विभागलाई सातवटै प्रदेशमा विस्तार गर्न आग्रह गर्नुभयो । सरलाकुमारी यादवले तराईमा लाजका कारण महिलाले रोग लुकाएको भन्दै गर्भवती र मातृमृत्युदर कम गर्न सरकारले करोडौँ रकम खर्च गरे पनि उपलब्धिमूलक हुन नसकेको टिप्पणी गर्नुभयो । उहाँले आमा सुरक्षा कार्यक्रममा व्यापक भ्रष्टाचार भएकाले छानबिन गर्न माग गर्नुभयो ।       सांसद पार्वती डिसी चौधरी स्वास्थ्यकर्मीले न्यून दरमा काम गरिरहेकाले तलब बढाउनुपर्ने माग राख्नुभयो । जगेन्द्रबहादुर महतले कर्णालीका जनताको स्वास्थ्य उपचारमा धेरै नै खर्च भइरहेकाले कर्णालीका जनतालाई स्वास्थ्योपचार लागि जाँदा आउँदाको खर्च उपलब्ध गराउन माग गर्नुभयो ।   

काठमाण्डौँ :        देशभर पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।       पछिल्लो २४ घण्टामा दुई हजार ३४१ को नमूना परीक्षण गरिएको थियो । एक हजार ४७३ जनाको पिसिआर र ८६८ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।        सो अवधिमा १६ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार २३३ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।       पछिल्लो २४ घण्टामा तीन लाख ८५ हजार ९०६ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ९३ जना रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । होम आइसोलेसनमा ९२ र संस्थागत आइसोलेसनमा एक सङ्क्रमित छन् ।       हाल देशभरमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला कुनै पनि छैनन् । शून्य सङ्क्रमित रहेका जिल्लामा ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, भोजपुर, इलाम, तेह्रथुम, ताप्लेजुङ, पर्सा, सप्तरी, बारा, दोलखा,  सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, मकवानपुर, चितवान, मनाङ, मुस्ताङ, म्याग्दी, रुकुम पूर्व, कपिलवस्तु, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालीकोट, बाजुरा, दार्चुला, बझाङ, डडेल्धुरा र कञ्चनपुर छन् ।       उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा १८ तथा ललितपुरमा र भक्तपुरमा चार/चार सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमण दर १७ दशमलव एक प्रतिशत छ । 

पोखरा:  पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले कोरोना भाइरस विरुद्धको खोप अभियान अन्तर्गत दोस्रो डोज लगाइसकेकालाई बुस्टर डोजका लागि सुचना सार्वजनिक छ ।    दोस्रो डोज लगाइसकेकालाई बुस्टर डोजका लागि सुचना सार्वजनिक गर्दै जानकारी दिएको छ । पोखरा महानगरको स्वास्थ्य महाशाखाले जारी गरेको सुचना अनुसार जेठ २७ गते (आज) महानगरको ५ वटा स्थानमा खोपको व्यवस्था गरेको हो ।   पोखरा महानगरपालिका २ विन्ध्यबासिनीस्थित शहरी स्वास्थ्य केन्द्र, पोखरा महानगरपालिका १९ स्थित लक्ष्मी नारायण मन्दिर,  पोखरा महानगरपालिका ५ मालेपाटनस्थित शहरी स्वास्थ्य केन्द्र, पोखरा महानगरपालिका ७ रत्नचोकस्थित शहरी स्वास्थ्य केन्द्र र पोखरा महानगरपालिका १० रामबजारस्थित शहरी स्वास्थ्य केन्द्र गरि कुल ५ स्थानमा बुस्टर डोज लगाउन पाइनेछ ।    कोभिशिल्ड, भेरोसेलको दोस्रो मात्रा लगाइसकेको ३ महिना पुरा भएको खोपकार्ड अनिवार्य रुपमा साथमा लिएर जानुपर्नेछ । त्यसैगरि जोनसेन र फाइजरको बुस्टर खोपको पनि व्यवस्था रहेको बताइएको छ । 

काठमाडौं:   देशभर पछिल्लो २४ घण्टामा थप २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।   पछिल्लो २४ घण्टामा दुई हजार ७५३ को नमूना परीक्षण गरिएको थियो । एक हजार ६५५ ले पिसीआर र एक हजार ९८ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।   सो अवधिमा नौ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार १७१ पुगेको छ ।   सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक लाख १७ हजार ११७ ले कोभिडविरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ११२ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । होमआइसोलेसनमा ११२ जना सङ्क्रमित रहेका छन् ।   हाल देशभरमा २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला कुनै पनि छैनन् । शून्य सङ्क्रमित रहेका जिल्लामा ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, भोजपुर, इलाम, तेह्रथुम, ताप्लेजुङ, पर्सा, सप्तरी, बारा, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, मकवानपुर, चितवन, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, रुकुमपूर्व, कपिलवस्तु, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालीकोट, मुगु, सुर्खेत, कालीकोट, बाजुरा, दार्चुला, बझाङ, डडेल्धुरा र कञ्चनपुर रहेका छन् ।   उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ३२, ललितपुर चार र भक्तपुरमा पाँच सक्रीय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । कूल सङ्क्रमण दर १७ दशमलव एक प्रतिशत छ ।

पोखरा:  पोखरामा रक्त अभावलाई मध्यनजर गरि रामबजार युथ क्लबले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ३४ युनिट रगत संकलन भएको छ ।    गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले पहिलो रक्तदाता शंकर नेपालीलाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गरिएको कार्यक्रममा ३४ जनाले रक्तदान गरेका थिए ।    क्लबले आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले रामबजार युथ क्लवले आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान जस्तो महत्वपूर्ण कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद व्यक्त गरिन् ।    रामबजार युथ क्लवले युवाहरुलाई विकृती र विसंगतीबाट मुक्तगराई सामाजिक सेवामा लाग्न प्रेरित गरेको बताउदै यसको अनुसरण अन्य संघ संस्था तथा क्लबहरुले गरेको खण्डमा सभ्य समाज निर्माण हुने उनको भनाई थियो  ।    उक्त कार्यक्रममा वडा नं. १० का निर्वाचित सदस्य पूर्ण चन्द्र न्यौपाने, रामबजार युथ क्लबका सल्लाहकारहरु राम ब. गुरुङ (संस्थापक अध्यक्ष, रामबजार सोसाइटी यू.के ), रुपक गुरुङ (भु.पु अध्यक्ष, रामबजार सोसाइटी यू.के), डा.चन्द्र ब. गुरुङ (पञ्चायत कालका भु.पु सभासद एवम सल्लाहकार, रामबजार सोसाइटी यू.के), ज्ञान ब.थापा (अध्यक्ष, कृष्ण मन्दिर सञ्चालक समिति), क्या.थमन थापा (अध्यक्ष,जेष्ठ नागरिक मिलेन केन्द्र), भुपेन्द्र कुँवर (निवर्तमान कोषाध्यक्ष,जेष्ठ नागरिक मिलेन केन्द्र), माया गुरुङ (अध्यक्ष, माछापुच्छ्रे आमा समुह ) लगायतको सहभागिता रहेको  क्लबका सचिव सनम गुरुङले जानकारी दिए ।    कार्यक्रममा क्लबका शुभचिन्तक पोख्रेली ट्याक्सी सेवा प्रा.लिका सञ्चालक सदस्य विकास थापा र  रामबजार ट्याक्सी सेवा प्रा.लिका संयोजक झक वीर थापाले आर्थिक सहयोग गरेको क्लबका अध्यक्ष धन बहादुर पुनले जानकारी दिए ।   

ललितपुर:    ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरमा नगरक्षेत्रभित्र धूमपान सेवन निषेध अभियान सञ्चालन गर्ने बताउनुभएको छ । विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा आज यहाँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालको आयोजना भएको अन्तक्र्रिया कार्यक्रममा उहाँले प्रत्येक घरघरमा गएर धूमपान सेवनविरुद्धको अभियान सञ्चालन गर्ने बताउनुभयो ।    उहाँका अनुसार जनप्रतिनिधि र नगर प्रहरीले प्रत्येक घरमा गएर सुर्तीजन्य पदार्थ सेवन विरुद्धको अभियान सञ्चालन गर्ने छन् । नगरप्रमुख महर्जनले पाटन, पुल्चोक, जावलाखेल र लखनखेल धूमपान निधेष क्षेत्र घोषणा गरिसकेको भन्दै अन्य क्षेत्रलाई पनि घोषणाको तयारी गरेको बताउनुभयो ।    कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले जनचेतनामार्फत धूमपान सेवनलाई नियन्त्रण गर्न सकिने बताउनुभयो । उहाँले मन्त्रालयले मात्र नभएर सबैको सहयोगबाट धूमपान नियन्त्रण गर्न सकिने धारणा राख्नुभयो । उहाँले मन्त्रालयले गुणस्तर स्वास्थ्य सेवा प्रदान गर्न आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो ।    ललितपुरका प्रमुख जिल्ला अधिकारी धनश्याम उपाध्यायले धूमपान सेवन पछिल्लो पटक युवामा बढेको भन्दै यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले धूमपान सेवनलाई रोकथाम र नियन्त्रण गर्न सामाजिक सङ्घसंस्था, विद्यार्थी र युवालाई परिचालन गर्नुपर्ने धारणा राख्नुभयो । “विद्यालयका विद्यार्थी र टोलमा युवालाई समेटेर धूमपान निषेध अभियान सञ्चालन गर्नु पर्दछ” उहाँले भन्नुभयो, “धूमपान सेवनको रोकथाम गर्न स्थानीय तह सक्षम बनाउनुपर्दछ ।”   मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादवले धूमपानको सेवन नगर्ने हो भने अहिले मृत्यु हुने भन्दा ५० प्रतिशत मानिसको ज्यान जोगाउन सकिने बताउनुभयो । उहाँका अनुसार प्रत्येक सात जनामा एक जनाको धूमपान सेवनले मृत्यु हुने गरको छ । उहाँले सुर्तिजन्य पदार्थको सेवनबाट स्वास्थ्यमा १ दशमलव ८ प्रतिशत कुल ग्राहस्थ उत्पादन घटेकोले राज्यलाई नै नोक्सान भएको बताउनुभयो ।    उहाँले सुर्तिजन्य पदार्थको सेवन छुटाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो । प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलले १५ दिनभित्रमा ललितपुरका विद्यालय वरपर सुर्तिजन्य पदार्थको बिक्रीवितरणमा रोक लगाउने बताउनुभयो ।   उहाँले विद्यालयको सय मिटर वरपर सुर्तिजन्य पदार्थ बिक्रीवितरण गर्न नपाउने कानुन अनुसार नै १५ दिनभित्र विद्यायल वरपर बिक्रीवितरणमा रोक लगाइने बताउनुभयो । उहाँले चुरोट सेवनको लत युवामा बढेकोले कडाइका साथ नियन्त्रण गर्ने बताउनुभयो ।       पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा रवि शाक्यले चुरोटको सेवन छुटाउन कारबाही नभएर जनचेतनामार्फत छुटाउन सकिने बताउनुभयो । उहाँले चुरोट छुटाउने औषधि नेपालमा प्रयोग भए तापनि सफल नभएको भन्दै जनचेनतामार्फत नै छुटाउन सकिने बताउनुभयो ।    राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिल शर्माले चियापसलमा चुरोट अत्यधिक सेवन गर्ने पाइएकोले त्यसलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।    एक्सन नेपालमा अध्यक्ष आनन्दबहादुर चन्दले वार्षिक २७ हजार मानिस सुर्तीजन्य पदार्थ सेवन गर्नाले ज्यान जाने गरेको भन्दै सरकारले समयमा नै सुर्तीजन्य पदार्थको सेवन रोकथाम गर्नुपर्ने धारणा राख्नुभयो ।    भोलि विश्व सुर्तीजन्य पदार्थरहित दिवस नेपालसहित विश्वभर ‘सुर्तीजन्य पदार्थ त्यागौँः स्वास्थ्य र वातावरण जोगाआँै’ भन्ने नाराका साथ मनाइँदै छ ।

जेनेभा, विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ ।   विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले शुक्रबार दिएको जानकारी अनुसार विभिन्न देशमा मङ्कीपक्सबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ । उनीहरूले विश्वभरि अहिलेसम्म २०० जनामा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको जनाएका छन् ।   “हामीलाई प्राप्त विवरण अनुसार विश्वभरि अहिलेसम्म झण्डै दुई सय जनामा सङ्क्रमण पुष्टि भएको छ भने अरु एक सयभन्दा बढीमा शङ्कास्पद लक्षण देखिएको छ,” डब्लुएचओका अधिकारीको भनाई छ ।   मङ्कीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रति दिन फैलिदै गएकाले यसले विश्वभरलाई प्रभावित पार्न सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन् ।   यस भाइरसका कारण मानिसको मृत्यु नै हुने नगरेपछि सङ्क्रमण छिटो छिटो धेरै जनामा सर्ने र शारीरिक समस्या हुने गरेकोले उच्च सतर्कता अपनाउन चिकित्सकहरूको अनुरोध छ ।   डब्लुएचओका उच्च अधिकारीहरूले सङ्क्रमण देखिएका मुलुकहरूमा थप फैलिन नदिने र नदेखिएका मुलुकहरूमा प्रवेश गर्न नदिनेगरी गरी काम गर्न पनि सबैलाई आह्वान गरेका छन् । -रासस

कास्की:   ‘२५ के’ फाउण्डेशनले भाेली (शनिबार) रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।   हरेक वर्ष आयोजना गर्दै आएको रत्तदान कार्यक्रम पोखरा ८ सिमलचौरस्थित क्याफे दि २५’ को प्रांगणमा गरिने संयोजक सुमन क्षेत्रीले जानकारी दिए । उनका अनुसार विहान साढे सात बजेदेखि रक्तदान सुरु हुनेछ ।    संयोजक क्षेत्रीले सामाजिक उत्तरदायित्व अन्तर्गत युवाहरुले जिम्मेवारी वहन गर्नुपर्ने बताउदै रक्तदान आयोजना गरिएको जानकारी दिए ।    कुनै एक रक्त युनिटले कसैको जिवन बाँच्न सक्ने भन्दै सबैमा रक्तदानको लागि फाउण्डेशनले आह्वान गरेको छ ।  

चितवन:  समयमै उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन् । यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय इण्डोक्राइनोलोजिष्ट डा सौरभ खतिवडा थाइराइडसम्बन्धी रोग लागेमा आत्तिनुनपर्ने तर समयमा सही उपचार गर्नुपर्ने बताउनुहुन्छ ।   उहाँले भन्नुभयो, “समयमा उपचार गरेर थाइराइडलाई नियन्त्रणमा राख्न सकिन्छ”, भारतको नयाँदिल्लीस्थित एम्स्बाट इण्डोक्राइनोलोजिमा डिएम गर्नुभएका खतिवडा कुनै खानेकुराले थाइराइड बनाउने नभई शरीरको ‘एन्टीबडी’का कारणले हुने बताउनुहुन्छ ।   उहाँले भन्नुभयो, “थाइराइड कुनै भाइरल इन्फेक्सनपछि दुख्ने हुन्छ । कुनै जेनेटिक कारणले हुन्छ । थाइराईडको परीक्षण र उपचार पद्धति राम्रोसँग विकास भएको छ ।” चितवन मेडिकल कलेजमा कार्यरत खतिवडा थाइराइडका कारण क्यान्सर नै भए पनि यसले मानिसको आयु नघटाउने बताउनुहुन्छ ।   उहाँले भन्नुभयो, “थाइराइडका अरु समस्या त झनै सजिलै समाधान गर्न सकिन्छ । चिकित्सकको सल्लाहबमोजिम गर्नुपर्छ । औषधि आफैँ खान बन्द गर्नुहुँदैन । खानपान चिकित्सकले भनेमा मात्रै बार्ने गर्नुहोला ।” उहाँले थाइराइडका बिरामीले खानेकुरा बार्नु नपर्ने बताउनुभयो । उहाँले समयसँगै थाइराइडसम्बन्धी रोग परिवर्तन भएको बताउँदै भन्नुभयो, “अहिले थाइराइड हर्माेन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने गर्दछ । त्यसकारण कुनै खानेकुराका कारण हुने होइन”, चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नु नै उत्तम उपाय भएको उहाँको भनाइ छ ।   उहाँका अनुसार घाँटीको अगाडि तलपट्टी हुने सानो ग्रन्थीलाई थाइराइड भनिन्छ । यसमा दुई वटा भाग हुन्छन् । यसले शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण हर्माेन उत्पादन गर्दछ । यो हर्माेन हाम्रो दैनिक जीवनमा धेरै महत्वपूर्ण छ । यो हर्माेनले बच्चाको दिमागको वृद्धि विकासदेखि वयस्क मानिसमा काम गर्ने जाँगर, स्फूर्ति, मुटुको कामका लागि, खाना पचाउने, शरीरको मोटोपनलाई सन्तुलनमा राख्ने काम गर्ने उहाँले बताउनुभयो । थाइराइड हर्माेन कमी वा बढी भएमा फरक फरक लक्षण देखिने डा खतिवडा बताउनुहुन्छ ।   उहाँले भन्नुभयो, “थाइराइडमा कहिलेकाहीँ ट्युमर पनि पलाउँछ । ट्युमरमध्येमा सबैभन्दा सजिलै उपचार गर्न सकिने भनेको थाइराइडको ट्युमर हो । यस्तो ट्युमरको उपचार गर्दा बिरामीको आयु पनि घट्दैन ।” साधारणतया मानिसलाई थाइराइड हर्माेन घट्दा थकाइ लाग्ने, कसैकसैलाई खुट्टा सुन्निने, अनुहार फुस्रो हुने, कपाल झर्नेजस्ता लक्षण देखिने उहाँ बताउनुहुन्छ । यस्तै बढ्दा आत्तिने, हात काप्ने, मुटु ढुकढुक हुने, गर्मी धेरै महसुस हुनेजस्ता लक्षण देखिन्छन् । थाइराइडको उपचार तीन किसिमले गरिने उहाँको भनाइ छ ।   एउटा औषधिको सेवन, दोस्रोमा झोल औषधिको प्रयोग गरेर ग्रन्थी सुकाउने र तेस्रो शल्यक्रिया गर्ने उहाँ बताउनुहुन्छ । तर पछिल्लो समय शल्यक्रियाभन्दा झोल औषधिको प्रयोग गरेर सुकाउने विधि धेरै प्रयोगमा आउने गरेको उहाँको भनाइ छ । घाँटी दुख्दैमा थाइराइड नहुने बताउँदै उहाँले भन्नुभयो, “घाँटी दुखेमा कहिलेकाहीँ मात्रै थाइराइड हुन सक्छ । त्यसैले घाँटी दुख्दा भेट्ने भनेको नाक, कान घाँटी विशेषज्ञ चिकित्सकलाई हो ।”   कहिलेकाहीँ थाइराइडबाट क्यान्सरमा परिणत हुन सक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो “घाँटीमा गाँठागुँठीजस्ता लाग्यो भने त्यसको अल्ट्रासाउण्ड गरेर क्यान्सर हो होइन, पत्ता लगाउँछौँ । कहिलेकाहीँ ट्स्यिुको परीक्षण गरेर पनि क्यान्सर पत्ता लगाउँछौँ ।” क्यान्सर पहिचान भयो भने पनि शल्यक्रिया र रेडियोथेरापी गरेर सजिलै निको पार्न सकिने उहाँको भनाइ छ ।   थाइराइड भएको बिरामीले के खान हुन्छ, के खानु हुँदैन भन्ने धेरैलाई जिज्ञासा हुने उहाँको अनुभव छ । उहाँले भन्नुभयो, “समयसँग थाइराइडसम्बन्धी रोग परिवर्तन भएको छ । पहिला पहिला गलगाँडको धेरै समस्या हुन्थ्यो, त्यो समयमा काउली, बन्दा, तरुललगायतका तरकारी कम प्रयोग गर्नुपर्छ भन्ने चलन आएको थियो ।” पछिल्लो समय थाइराइड हर्माेन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने भन्दै उहाँले कुनै खानेकुराका कारण थाइराइड नहुने बताउनुभयो ।