बुवा योगेन्द्रबहादुर बस्नेतको उपचारकोक्रममा अस्पताल र चिकित्सकको लापरवाही मृत्यु भएको भन्दै बस्नेत परिवार न्याय मागिरहेका छन् । पोखरामा शिक्षाप्रेमी कहलिएका बस्नेतको जेठ २२ मा पित्तथैलीको अप्रेशन गरिएपनि जेठ २५ गते मृत्यु भएको थियो । शल्यक्रिया गरेको २ दिनपछि बुबालाई ह्दयघाट भएको र हृदयघातपछि जसरी चिकित्सकीय निगरानी र उपचार हुनुपथ्र्यो त्यो नभएको उनको दाबी छ । पोखरामा पत्रकार सम्मेलन गर्दै छोरा समिरबहादुर बस्नेतले काठमाडौंको नख्खुस्थित नेपाल मेडिसिटी हस्पिटल र डा. सुनिल शर्माको लापरवाहीका कारण आफ्ना बुबाको ज्यान गएको भन्दै दोेषीमाथि कडा कारवाहीको माग गरेका छन् । अस्पताल र सम्बन्धि चिकित्सककै लापरवाहीले बुबाको ज्यान गएको उनको भनाई छ । हस्पिटलका डा. जयन्द्र बज्राचार्यको नेतृत्वमा छानविन समिति गठन गरिएपनि ४२ दिन बितिसक्दा समेत मृत्युको कारण र राम्रो संग छानबिन समेत हुन नसकेको भन्दै उनले घटनाको सत्यतथ्य छानबिन गरी दोषिलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग राखे । डा शर्माले बिरामीको अवस्था बुझ्न डा। राजीव मिश्रलाई अग्रह गरेपनि मिश्रले भने अस्पतालमा उपस्थित नै नभई बिरामीको अवस्था सामान्य रहेको भनी गलत रिपोर्ट गरेका थिए । छानबिनका लागी असार ६ गते निवेदन दिए पछि हस्पिटलले ३ जना डाक्टरलाई निलम्बन गरी अनुसन्धान अगाडि बढाउने भनिएपनि आफूहरुले पटक पटक ताकेता गर्दा समेत अहिलेसम्म कुनैपनि जानकारी नगराईएको उनले बताए । घटनाबारे जानकारी लिन खोज्दा छानबिनमा संलग्न डा. बज्राचार्य र डा. नीलमणि उपाध्याय सम्पर्कमा नै आउन नखोज्नुले हस्पिटल प्रशासनले घटनालाई आलटाल गर्न खोजेको बस्नेतले आरोप लगाए । छानबिनका लागि असार २८ मा नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएपनि काउन्सिलका अध्यक्ष डा। कृष्ण अधिकारीले छानबिन गर्न लामो समय लाग्ने जानकारी गराएको भन्दै उनले कहिले सम्म छानबिन सकिने हो र घटनाबारे यथार्थ जानकारी पाउन कति समय पर्खनुपर्ने हो भन्दै प्रश्न गरे । तनहूँको शुक्लागण्डकी–३ स्थायी घर भएका बस्नेत जिल्ला शिक्षा अधिकारी हुँदै क्षेत्रीय शिक्षा निर्देशक समेत भएर कार्य गरेका थिए ।
चितवन: जिल्लामा गत आर्थिक वर्षमा २१३ जनामा डेङ्गुरोगको सङ्क्रमण देखिएको छ । तीन हजार ५६४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार यो सङ्ख्या आर्थिक वर्ष २०७७र७८ को भन्दा कम हो । यस वर्षमा एक हजार ९८६ जनाको परीक्षणका क्रममा २४७ जनामा डेङ्गु देखिएको थियो । एडिस जातिको पोथी लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने गर्दछ । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेङ्गुका सुरुआती लक्षण हुन् । एक प्रकारको विषाणुबाट डेङ्गु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेङ्गु घातक हुने जनस्वास्थ्य अधिकृत ढकालले जानकारी दिनुभयो । डेङ्गु ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । डेङ्गु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । यो रोगबाट बच्न साँझपख लामो कपडा लगाएर बाहिर निस्कने, झुलभित्र बस्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने गर्नुपर्दछ । यस्तै जिल्लामा गत आवमा २६८ मा स्क्रफटाइफस रोगको सङ्क्रमण देखिएको छ । तीन हजार २८६ जनाको परीक्षणका क्रममा उनीहरूमा स्क्रफटाइफसको देखिएको हो । आव २०७७/७८ मा दुई हजार २९० जनाको परीक्षणका क्रममा ३१८ मा स्क्रफटाइफस देखिएको थियो । स्क्रफटाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । स्क्रफटाइफसमा मानिसलाई उच्च ज्वरो आउने, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखाला सताउनु, श्वास फेर्न समस्या हुनु, धेरै टाउको दुख्नु, जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ । यस रोगबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मल्हमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने ढकालले बताउनुभयो ।
काठमाण्डौँ: पछिल्लो २४ घन्टामा देशभर थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १३५ जनामा संक्रमण पुष्टि भएको हो। तीन हजार ४१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। एक हजार ४७३ जनाको पिसिआर र एक हजार ५६८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर एक हजार १४३९ जना सक्रिय संक्रमित छन्। ५९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ।
धादिङ: धादिङ जिल्लामा डेङ्गुका बिरामी बढ्न थालेका छन् । पछिल्लो एक महिनाको अवधिमा जिल्ला ४९ डेङ्गुका बिरामी पहिचान भएका हुन् ।बिरामी जाँच गराउन आएकामध्ये धादिङ अस्पतालमा ४६, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा दुई र सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा एक गरी ४९ जनालाई डेङ्गुको सङ्क्रमण पुष्टि भएकोे हो । पोथी लामखुट्टेले टोकेर सङ्क्रमण हुने डेङ्गुको बिरामी थपिन थालेपछि पानी जम्न सक्ने भाँडाजस्तै गमला, फूलदानी, खाली बट्टा, खाली ड्रम, गाडीका काम नलाग्ने टायरमा पानी जम्न नदिन आग्रह गरिएको छ । धादिङ अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा मधुकर दहालले लामखुट्टेबाट बच्न ज्वरो आएमा, बान्ता भएमा वा डेङ्गुका लक्षण देखिएमा स्वास्थ्य संस्थामा आउन आग्रह गर्नुभएको छ ।
काठमाण्डौँ: एउटा मस्तिष्क मरणबाट आठ जनाको ज्यान जोगाउन सकिने देखिएको छ । नेपाल प्रेस इस्न्टिच्युटले आज यहाँ आयोजना गरेको कार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले एउटा मस्तिष्क मरणबाट आठ जनामा अङ्ग प्रत्यारोपण गर्न सकिने बताउनुभयो । उहाँका अनुसार मिर्गौला, फोक्सो, मुटु, कलेजो, ‘प्याङ्क्रियाज’ र आनो आन्द्रा मस्तिष्क मरणबाट अङ्ग प्रत्योरोपण गर्न सकिन्छ । “एक जनाको मस्तिष्क मृत्युको विभिन्न अङ्ग प्रयोग गरेर आठको ज्यान बचाउन सकिन्छ,” उहाँले भन्नुभयो, “खरानी भएर जाने वा गाडेर सकिने अङ्ग दान गर्दा खेरी कसैले पुनःजीवन पाउन सक्छन् र अङ्ग पनि त्यो व्यक्तिमा गएर बाँचीरहने भयो ।” नेपालमा जनचेतनाको अभावका आफ्नो मृत्युपश्चात अङ्ग दान गर्न हिच्किचाइरहेका छन् । जवकी अङ्गदान गर्दा अङ्ग बिग्रेका व्यक्तिले पुनःजीवन पाउने उहाँको भनाइ छ । केन्द्रले अहिलेसम्म ९०० जनाको मिर्गौला र नौ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ । हिजो मात्र एकै दिन चार जनाको मिर्गौला प्रत्यारोपण गरेको उहाँले जानकारी दिनुभयो । मस्तिष्कका मृत्यु व्यक्तिको अङ्गबाट हालसम्म आठ जनाको मिर्गौला र दुई जनाको कलेजो प्रत्यारोपण भइसकेको छ । हालै मात्र नेपाल सरकार मन्त्रिपरिषद्का प्रधानमन्त्री तथा सम्पूर्ण मन्त्रिपरिषद्का सदस्यले आफ्नो मृत्युपश्चात अङ्गदान गर्ने घोषणा गरिसक्नु भएको छ । केन्द्रमा १० जना सर्जन, नौ जना फिजिसियन, प्रत्यारोपण संयोजकसहित तीन जनाको टोली र सात जना एनेस्थेसियोलोजिष्ट लगायतको टोली २४ घण्टा प्रत्यारोपणका लागि तयारी अवस्थामा रहेका छन् । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङ्गले मस्तिष्कघात पछि अङ्गदान दिनुपर्ने विषयमा जनचेतना कमी भएको बताउनुभयो । आफूले पनि अङ्गदान गरिसकेको जानकारी दिँदै उहाँले अङ्गदानसम्बन्धी जनचेतना जगाउनुपर्ने बताउनुभयो । “मैले पनि मस्तिष्क घातपछि अङ्गदान गर्ने घोषणा गरिसकेको छु । समाजका मानिसलाई अङ्दानसम्बन्धी सचेत गराउनुपर्ने छ । अङ्गदानको महत्व धेरै छ”, उहाँले भन्नुभयो । मन्त्रालयका सचिव डा रोशन पोखरेलले अङ्दानबारे जनचेतना जगाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सातवटै प्रदेशमा मिर्गौला प्रत्यारोपण पु¥याउन तयारी गरिएको बताउनुभयो । वरिष्ठ न्यूरोसर्जन डा वसन्त पन्तले मस्तिष्कको मरणबाट अन्य मानिसको ज्यान बचाउन सकिने बताउनुभयो । उहाँले मस्तिष्क मरण भए पनि अन्य अङ्गको मरण विस्तारै हुने भएकाले अन्य अङ्गलाई निकालेर अरु मानिसमा प्रत्यारोपण गर्न सकिने बताउनुभयो । “मस्तिष्क मरणसँगै हरेक अङ्ग मर्दै जान्छ । ह्वात्तै मानिस मर्दैन । सबै अङ्ग मरेपछि मस्तिष्क मरण हुन्छ”, उहाँले भन्नुभयो, “मस्तिष्क मरण भए पनि अङ्ग बाचेको हुनाले अङ्ग निकालेर अरु बिरामीमा प्रत्यारोपण गर्न सकिन्छ ।” उहाँले अङ्गदानसम्बन्धी जनचेतना जगाउनका लागि धार्मिक अग्रजलाई अघि सार्नुपर्ने बताउनुभयो । “धार्मिक अग्रजलाई अङ्गदानसम्बन्धी जनचेतना जगाउनुपर्दछ”, उहाँले भन्नुभयो, “क्रिश्चियनले पनि अङ्गदान गरेको पाइन्छ । धार्मिक नेतालाई अगाडि सारेर जनचेतना जगाउँदा अङ्गदान गर्ने मानिस बढ्न सक्छ ।” कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ पत्रकार कपिल काफ्लेले मूलधारका पत्रिकाले स्वास्थ्यका समाचारलाई प्राथमिकता नराखेको बताउनुभयो । उहाँले स्वास्थ्य पत्रकारिताको विषयमा तालिम सञ्चालन गरेर अनुसन्धानमुलक समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । वरिष्ठ पत्रकार भैरव रिसाल अङ्गदान जस्तो विषयलाई जनचेतना जगाई सबैलाई अङ्गदान गर्न उत्प्ररित गर्नुपर्ने बताउनुभयो । वरिष्ठ पत्रकार ध्रुबहरि अधिकारी स्वास्थ्य संवेदनशिल कुरा भएकाले खोज अनुसन्धान गरेर समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । वरिष्ठ पत्रककार राजेन्द्र दाहालले ज्येष्ठ नागरिकलाई जिउने वातावरण तयार गर्नुपर्ने बताउनुभयो । उहाँले शहरभन्दा गाउँघरतिर स्वास्थ्य सेवा पु¥याउन आवश्यक रहेको बताउनुभयो । इन्सिच्युटका महासचिव लक्ष्मण उप्रेतीले आँखा दानमा जस्तै अन्य अङ्गको दान पनि सजिलो बनाउन आवश्यक रहेको बताउनुभयो । केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले केन्द्रमा गरिएको अङ्ग प्रत्यारोपण ९९।९ प्रतिशत सफलता प्राप्त गरिएको बताउनुभयो । उहाँले अङ्गदानका लागि सचेतना फैलाउन सके सबैले अङ्गदान दिनेसक्ने बताउनुभयो । “परिवारको सदस्य रोगी भएर सारा परिवार रोगी जिन्दगी बिताउनुभन्दा अङ्गदान गरेर त्यो रोगीलाई निको पार्ने वित्तिकै सारा परिवार र समाज सुखी हुन्छ । राष्ट्रको सम्पत्ति जोगिन्छ ।”, उहाँले भन्नुभयो, “राष्ट्रलाई उत्पादनशिल नागरिक उत्पादन हुन्छ ।” श्रेष्ठका अनुसार पुरुषभन्दा महिलाले मिर्गौला प्रत्यारोपण बढि गरेको छन् । पुरुषमा ८० प्रतिशत मिर्गौला लिएको र २२ प्रतिशतले दिएको तथा महिलामा २० प्रतिशत मिर्गौला लिएको र ७८ प्रतिशतले दिएको केन्द्रको तथ्याङ्क रहेको छ । उहाँले मिर्गौला बिग्रेको ९० प्रतिशत भएपछि मात्र थाहा पाउने भएकाले वर्षमा एक पटक मिर्गौला परीक्षण गराउनसमेत आग्रह गर्नुभयो । उहाँले मिर्गौला डायलासिसभन्दा प्रत्यारोपण गर्दा मानिस स्वच्छ र आर्थिकरुपमा सस्तो पर्ने बताउनुभयो । उहाँका अनुसार दुई वर्षको डायलासिसले एक वटा प्रत्यारोपण गर्न सकिने छ । सरकारले मिर्गौला प्रत्यारोपण गर्नका लागि निःशुल्क उपचारको व्यवस्था गरेको छ । सरकारले प्रतिबिरामी रु पाँच लाख ५० हजार दिने गरेको छ । हाल नेपालमा ७५ वटा डायलासिस केन्द्र रहेका छन् । नेपालमा वर्षेनी तीन हजार मिर्गौलाका बिरामी थपिने गर्छन् ।
काठमाण्डौँ: देशभर पछिल्लो २४ घण्टामा थप २२९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा तीन हजार ७१८ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ६४४ जनाले पिसिआर र दुई हजार ६८ जनाको एन्टिजिन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा ४८ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ९०६ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८७ हजार ९७२ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार २८४ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । होम आइसोलेशनमा एक हजार २४९, संस्थागत आइसोलेसनमा ३५, आइसियू १४ र भेण्टेलेटरमा एक जना सङ्क्रमित रहेका छन् । हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ मात्रै रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा ताप्लेजुङ, मनाङ, मुस्ताङ, जाजरकोट, डोल्पा, कालीकोट, मुगु, बाजुरा र डडेलधुरा रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ७८६, ललितपुर ९० र भक्तपुरमा १९ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमण दर १७ प्रतिशत छ ।
चितवन: जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएको छ । पिसिआर र एन्टिजेन परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि हुन थालेको हो । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार बिहीबार साँझसम्म जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या नौ रहेको छ । असार अन्तिम सातादेखि जिल्लामा कोरोना सङ्क्रमण देखिन थालेको उहाँले जानकारी दिनुभयो । फागुन अन्तिम सातादेखि शून्यमा झरेको कोरोना सङ्क्रमण असार अन्तिममा आएर फेरी देखापर्न थालेको हो । कोरोना सङ्क्रमण देखिएसँगै स्वास्थ्य कार्यालयले सावधानीका उपाय अवलम्बन गर्दै कार्यक्रममा सहभागी हुन अनुरोध गरेकोे अधिकृत ढकालले जानकारी दिनुभयो । कार्यालयका निमित्त प्रमुख राम केसीका अनुसार जिल्लामा अहिले देखिएका कोरोना सङ्क्रमितमध्ये आठजना होम आइसोलेसनमा छन् भने एकजना अस्पतालमा उपचाररत छन् । सामाजिक दूरी कायम राख्ने, मास्क नियमित प्रयोग गर्ने, नियमित साबुनपानीले हात धुने, कोभिडविरुद्धको खोप लगाउनेजस्ता कार्य गर्न उहाँले अनुरोध गर्नुभयो । जिल्लामा हालसम्म ३३ हजार ५६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोभिड–१९ विरुद्धको खोपको पहिलो मात्रा पाँच लाख ३९ हजार ५१४ जनाले लगाएका छन् भने दोस्रो मात्रा खोप चार लाख ५८ हजार ११८ जनाले र बुष्टर डोज एक लाख ९१ हजार ६८५ जनाले लगाएको कार्यालयले जनाएको छ ।
काठमाण्डौँ: देशभर आज २६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनअनुसार आज तीन हजार ८४४ जनामा परीक्षण गरिएको थियो । आज थपिएकासहित सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १७१ पुगेको छ । सो अवधिमा ४८ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ८५८ पुगेको छ । मन्त्रालयका अनुसार यो दर ९८।७ प्रतिशत हो । काठमाडौँ जिल्लामा ५०० भन्दा बढी सङ्क्रमित रहेको पाइएको छ । शून्य सङ्क्रमित भएका जिल्ला १२ रहेका छन् । अहिलेसम्म होम आइसोलेसनमा एक हजार १४८, संस्थागत आइसोलेसनमा २३ भेन्टिलेटरमा एक जना र सघन उपचार कक्ष (आइसियु)मा १४ जनाको उपचार भइरहेको छ । यस्तै विगत २४ घण्टामा ७२ हजार ३२० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
तनहुँ : तनहुँको दमौली अस्पतालमा सङ्क्रमणजन्य रोगका बिरामी बढेका छन् । ज्वरो, टाइफाइड, निमोनिया, रुघाखोकी, झाडापखला लगायतका बिरामी बढेको सो अस्पतालले जनाएको छ । अस्पतालमा आएका बिरामीमध्ये रुघाखोकी, टाइफाइडका बिरामी धेरै भएको अस्पतालका डा दिवस ढकालले जानकारी दिनुभयो । दिनमा २५० भन्दा बढी बिरामी उपचारार्थ आउनेमा ३० देखि ४० प्रतिशत टाइफाइडका बिरामी छन् । सङ्क्रमणजन्य रोग भएकोले एक व्यक्तिबाट अर्कोमा सर्न सक्ने भएकोले सुरक्षित हुन होम आइसोलेशनमा बस्ने र खानपानमा ध्यान दिन सुझाव दिइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“पानी उमालेर खान र आराम गर्न सुझाब दिइएको छ ।” टाइफाइड रोग खानेपानी र खानाबाट सर्ने भएकोले सफा खाने पानी पिउन र स्वास्थ्यकर खाना खाना आग्रह गरेको उहाँले बताउनुभयो ।