काठमाडौंः सरकारले सार्वजनिक स्थलमा मास्क अनिवार्य लगाउन अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर छिमेकी देशमा कोरोनाभाइरसको नयाँ भेरियन्ट बीएफ–७ को संक्रमण बढ्दै गएको भन्दै मास्क अनिवार्य गरेको जानकारी गराएको हो । यस्तै मन्त्रालयले भौतिक दूरी कायम गर्न पनि आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। संजयकुमार ठाकुरले निकाल्नुभएको विज्ञप्तिमा सेनिटाइजरको प्रयोग गर्ने, नियमित रुपमा साबुन पानीले हात धुने लगायत स्वास्थ्यका मापदण्ड पालना गर्न पनि अनुरोध गर्नुभएको छ । विज्ञप्तिमा कोभिड–१९ को बुस्टर डोज खोप लगाउनु पनि अपील गरिएको छ । अंग्रेजी नयाँ वर्ष, क्रिसमस लगायत कुनै पनि भिडभाड हुने स्थलमा विशेष सतर्कता अपाउन समेत मन्त्रालयले आग्रह गरेको छ । नेपालमा बीएफ–७ भेरियन्ट पुष्टि नभए पनि चीन र भारतमा बढ्दै गएकोले खुल्ला सीमाना र आवतजावतका कारण जोखिम रहेको मन्त्रालयको भनाई छ ।
काठमाडौं: केही देशमा कोभिड–१९ सङ्क्रमण बढेसँगै भारतमा कोरोना महामारीको चिन्ता बढेको छ । चीनमा कोभिड–१९ को सबभेरियन्ट बीएफ ७ संक्रमितको संख्यामा तीव्र वृद्धि भएको छ। भारतमा पनि यो सबभेरियन्टका चारवटा केस फेला परेका छन् । केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मण्डाविया र प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा कोरोनाको अवस्था र तयारीको बारेमा जानकारी लिन उच्चस्तरीय बैठक गरेका छन्। यसैबीच धेरै राज्यले यस सम्बन्धमा आपतकालीन बैठक बोलाएर तयारीका लागि सक्रिय भएका छन् । भारत सरकारको वेबसाइट ‘माई गभर्नमेन्ट’का अनुसार बिहीबार भारतमा १ सय ८५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै भारतमा कोरोना भाइरसका कुल ३४०२ सक्रिय संक्रमित भएका छन्। कोरोनाका कारण बिहीबार एक जनाको मृत्यु भएको छ । साथै १९० जना निको भएर डिस्चार्ज भएका छन् । बिहीबार एकै दिन करिब एक लाख २५ हजार परीक्षण गरिएको थियो।
काठमाडौं: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन शिक्षाध्यक्ष प्रा.डा.गुरुप्रसाद खनालको पदावधि समाप्त भए पश्चात रिक्त रहेको उक्त पदमा ईन्टर्नल मेडिसिन विभागका प्रा.डा.सञ्जीवकुमार शर्मा नियुक्त भएका छन् । प्रतिष्ठानको ऐन, २०४९ को दफा ११ (ग) (१)बमोजिम प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीको सिफारिसमा प्रतिष्ठानका सहकुलपति स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ्गले शर्मालाई शिक्षाध्यक्ष नियुक्त गरेका हुन् । प्रतिष्ठानको शिक्षाध्यक्ष पदमा नियुक्त प्रा.डा.शर्माको कार्यकाल यही पुस ७ गतेदेखि पाँच वर्षसम्म रहने जनाइएको छ । प्रतिष्ठानको ऐन, २०४९ को दफा ७ को उप दफा (१) (ध) बमोजिम प्रतिष्ठानका शिक्षकहरू मध्येबाट उपकुलपतिको सिफारिसमा सहकुलपतिले स्कूल अफ पब्लिक हेल्थ एण्ड कम्यूनिटी मेडिसिनका प्राडा.नीलाम्बर झा तथा माइक्रोबायोलोजी विभागका प्रमुख डा.नारायणराज भट्टराईलाई सञ्चालक परिषद सदस्यमा मनोनीत गरेका छन् । उनीहरूको कार्यकाल पुस ६ देखि चार वर्षका लागि रहने जनाइएको छ ।
काठमाण्डौ: पछिल्लो २४ घण्टामा कसैमा पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छैन । पीसीआर र एन्टिजेन गरि एक सय ९९ जनाको नमुना परीक्षण गर्दा कसैमा पनि कोरोना सङ्क्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । झन्डै तीन वर्षपछि कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या शून्यमा झरेको हो । थप दुई जना निको भएसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ११ जनामा झरेको छ । नेपालमा अहिलेसम्म पीसीआर परीक्षणबाट मात्रै १० लाख नौ सय ४६ जनामा कोरोना पुष्टि भएको छ । एन्टिजेनबाट एक लाख ५२ हजार दुई सय १५ मा सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १२ हजार १९ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नौ लाख ८८ हजार नौ सय १६ जना कोरोना सङ्क्रमण भइ मुक्त भएका छन् ।
काठमाडौंः कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि सरकारले खोप आयात गरेको छैन । सङ्क्रमण घट्दै गएको र खोप मौज्दात नै रहेकाले सरकारले तीन महिनादेखि कोरोना भाइरसविरुद्धको खोप नल्याइएको हो । सङ्क्रमण घट्दै गएको र खोपको माग पनि कम भएपछि नल्याइएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख डा। सुरेन्द्र चौरसियाले बताउनुभयो । कोरोना सङ्क्रमण कम हुँदै जानु, खोप लगाउनेको सङ्ख्या कम हुनु र आवश्यक परेमा खोप मौज्दात नै रहेकाले थप खोप नल्याइएको उहाँको भनाई छ । अहिले सङ्क्रमण दर एक प्रतिशत भन्दा पनि कम रहेको छ । अन्तिम पटक गएको भदौ २७ गते कोभ्याक्समार्फत १४ लाख ९९ हजार नौ सय ४० मात्रा खोप ल्याइएको थियो । त्यसयता सरकारले खोप ल्याइएको छैन । अहिले प्रदेश र जिल्लाबाट पनि खोपको माग भएको छैन । ‘माग नभएपछि त्यतिकै राख्नुपर्छ भनेर हामीले खोप ल्याएका छैनौँ, उहाँले भन्नुभयो, तर बुस्टर डोजका लागि आवश्यक खोप भने ल्याउँछौँ ।’ सरकारले बुस्टर डोजका लागि भने खोप ल्याउने तयारी गरेको छ । पहिलो र दोस्रो मात्रा लगाएकाहरुका लागि थप मात्रा लगाउन खोप ल्याउने आपूर्ति व्यवस्थापन शाखाप्रमुख चौरसियाले जानकारी दिनुभयो । नेपालमा पटक पटक गरी अहिलेसम्म ६ करोड ३२ लाख ७६ हजार सात सय १० मात्रा खोप आइसकेको छ । नेपालमा कोभिशिल्ड, भेरोसेल, मोर्डना, एस्ट्राजेनिका, जोन्सन एन्ड जोन्सन र फाइजरलगायतका कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । अझै पनि ४९ लाख २१ हजार ६ सय ३२ मात्रा खोप मौज्दात छ । नेपालमा कूल लक्षित जनसङ्ख्यामध्ये ९९ दशमलव ५ प्रतिशतमा पहिलो मात्रा र ९५ दशमलव ७ प्रतिशतमा पूर्ण मात्रा खोप लगाइसकिएको छ ।
गोरखा: गोरखाको अजिरकोट गाउँपालिकामा २४ सै घण्टा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्योपचार सेवा सुरु गरिएको छ । गाउँपालिकाले भच्चेक आधारभूत स्वास्थ्य अस्पतालबाट २४ सै घण्टा स्वास्थ्योपचार प्रदान गर्न सुरु गरेको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए । नागरिकलाई स्वास्थ्यमा सहज पहुँच पुर्याउने उद्देश्यले पाँच शय्याको आधारभूत स्वास्थ्य अस्पताललाई सञ्चालनमा ल्याइएको उनले बताए । “अहिले हामीकहाँ ल्याब, इसिजी, भिडियो एक्सरेलगायत अन्य व्यवस्था पनि आधारभूत स्वास्थ्य अस्पतालमा छ”, उनले भने, “अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सुरु गरेकाले यहाँ उपचार हुन नसकेका बिरामीलाई गोरखा अस्पताल वा आँपपिपल अस्पताल पठाउनु पर्दैन, सिधै चितवन वा काठमाडौँ सिफारिस गर्ने गरिएको छ ।” गाउँमै स्वास्थ्योपचार सेवा सुरु भएसँगै अस्पतालमा बिरामीको चापसमेत बढेको उनले जानकारी दिए। “दैनिक पाँच सयसम्म बिरामी उपचारका लागि अस्पतालमा आउने गरेका छन्”, अध्यक्ष देवकोटाले भने, “हाम्रो गाउँपालिकाबाहेक छिमेकी सिरानचोक गाउँपालिका, लमजुङको दूधपोखरी गाउँपालिकाबाट समेत बिरामी उपचारका लागि हामीकहाँ आउन थालेका छन् ।” अध्यक्ष देवकोटाले राज्यले करोडौँ लगानी गरेका अस्पतालमा बिरामीको आकर्षण नहुने र निजी अस्पतालमा बिरामी थेगिनसक्नु हुने अवस्थालाई परिवर्तन गर्न गाउँपालिकाले स्वास्थ्यको बजेटमा प्राथामिकता राखेर आधारभूत स्वास्थ्य अस्पताल सञ्चालनमा ल्याएको बताए । अस्पताललाई २४ सै घण्टा सञ्चालन गर्नका लागि चाप कम भएका बर्थिङ सेन्टर, आधारभूत स्वास्थ्य एकाइ, स्वास्थ्य केन्द्रलगायतबाट कर्मचारी अस्पतालमा केन्द्रित गरेको उनले जानकारी दिए । नपुग कर्मचारीका लागि गाउँपालिकाको थप स्रोतबाट समेत व्यवस्था गरेको उनको भनाइ छ । “चालू आर्थिक वर्षका लागि मात्र पालिकाले अस्पतालका लागि रु ३० लाख बजेट विनियोजन गरेको छ”, अध्यक्ष देवकोटाले भने, “स्वास्थ्यलाई गुणस्तरीय र सर्वसुलभ बनाउनका लागि आवश्यक परे थप रकमको पनि व्यवस्था गर्न सकिन्छ ।” बिहान–बेलुकी बिरामी भए पीडा सहेर बस्नुपर्ने बाध्यता अब गाउँपालिकावासीमा नरहेको उनले बताए । “हेल्थपोष्ट, स्वास्थ्य एकाइ बिहान १० बजे खुल्ने ५ बजे बन्द हुन्छ”, अध्यक्ष देवकोटाले भने, “बिरामी त जतिखेर पनि हुन सकिन्छ, बिरामी भए उपचार दिने दायित्व स्थानीय सरकारको हो, त्यही जिम्मेवारीलाई बोध गरेर पालिकाभित्रै २४सै घण्टा सेवा दिने गरी अस्पताल सञ्चालनमा ल्याएका हौँ ।”
पोखरा: पोखरा महानगरपालिका वडा नं.५ को आयोजनामा भएको महिला लक्षित पाठेघरको मुख तथा स्तन क्यान्सर छनोट सम्बन्धि निशुल्क शिविरबाट ३ सय ७ जना महिलाहरु लाभान्वित भएका छन् । वडा कार्यालयको खर्चमा बुधबार भएको कार्यक्रममा शहरी स्वास्थ्य केन्द्र वडा ५ ले सहजीकरण गरेको थियो । हरेक महिलाहरुको स्वास्थ्यमा वडाको ध्यान केन्द्रीत रहेको वडा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले बताए । ‘उपचारभन्दा पहिला आफ्नो स्वास्थ्यको बारेमा थाहा पाउन आवश्यक छ । रोग लाग्न भन्दा रोग लाग्न नदिनु नै हाम्रो उद्देश्य हो ।’ वडावासीलाई स्वास्थ्य सचेतना गराउन वडाले कुनै कसर बाँकी नराख्ने उनको भनाई थियो । स्थानीय तह मार्फत यस्तो कार्यक्रम पोखरा महानगरमै पहिलो पटक भएको र वडा ५ बाटै शुरु गरिएको वडाध्यक्ष बरालले बताए । वडाकै बजेटबाट शिविर सञ्चालन भएको बरालले जानकारी दिए । निशुल्क स्वास्थ्य चेकजाँजबाट ३ जनाको भिआइए सस्पेक्टेड देखिएको र ४५ जनाले औषधि लिनुपर्ने देखिएको शहरी स्वास्थ्य केन्द्र पोखरा ५ का आशिक सुवेदीले जानकारी दिए । वडावासीको हितमा हुने यस्ता कार्यक्रलाई निरन्तरता दिने प्रतिवद्धता शिविर संयोजक तथा वडा सदस्य कल्पना भुवाजी क्षेत्रीले बताइन् । स्वस्थ वडाको रुपमा विकास गर्न वडा अगाडी बढिरहेको संयोजक क्षेत्रीले बताइन् । शिविरलाई स्वास्थ्य महाशाखा महानगर प्रमुखसहितको टोलीले अनुगमन गरेको थियो ।
पोखरा: पोखराको गण्डकी मेडिकल कलेजमा क्याथ ल्याब स्थापना भएको छ । कलेजले करीब १२ करोडको लागतमा हृदय रोग उपचारका लागि आवश्यक पर्ने उपकरणहरु खरिद गरेर क्याथ ल्याव स्थापना गरेको हो । क्याथ ल्याव स्थापनासँगै गण्डकी मेडिकल कलेजमा हृदय रोग उपचार केन्द्र सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । हृदय रोग उपचार केन्द्रको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार उद्घाटन गर्नुभयो । पोखरा र आसपासका मुटुका विरामीलाई पोखरामा नै उपचार सेवा दिने उद्देश्यले क्याथ ल्याव स्थापना गरेर हृदय रोग उपचार केन्द्र सञ्चालनमा ल्याएको गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा प्रसाद अर्यालले बताउनुभयो । उहाँका अनुसार अब मुटु रोगसहित कुनैपनि उपचारका लागि काठमाडौं वा विदेश जान नपर्नेगरी जिएमसीले उपचार थालेको हो । क्याथ ल्याबबाट पोखरा र आसपासका विरामीले बेलैमा उपचार लिन सक्ने अस्पतालका ह्दय रोग उपचार केन्द्रका प्रमुख डा.मधु रोकाले बताउनुभयो ।उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरालाई मेडिकल शिक्षाको हब बनाउनुपर्नेमा जोड दिनुभयो । कलेजका प्राचार्य डा.रवीन्द्रप्रसाद श्रेष्ठले ३ सय बेड क्षमताबाट सुरुवातमा आएको कलेजमा हाल ५ सय ५० बेड, ८ सय कर्मचारी र ९ सय विद्यार्थी अध्यनरत रहेको जानकारी दिनुभयो । हाल अस्पतालबाट दैनिक ७ सय देखी ८ सय विरामीले सेवा लिदै आएको बताइन्छ । कलेजमा एमविविएस, विडिएस, विएसि नसिङ, विपिएस, एमएलटि, बि फार्मेसी लगाएतका शैक्षिक कार्यक्रममा पढाइ हुँदै आएको छ ।
पोखराः कास्कीको मादी गाउँपालिका २ ताङतिङमा स्थानीयलाई मध्यनजर गर्दै वडा कार्यालयको समन्वयमा निशुल्क स्वास्थ्य शिविरको सम्पन्न भएको छ । पोखरा रानीपौवास्थित आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटल प्रा.लिको आयोजना र मादी गाउँपालिका २ को समन्वयमा हिमालय मिलनमा एक दिने निशुल्क स्वाथ्य शिविर सम्पन्न भएको हो । नागार्जुङ स्वास्थ्य चौकीका प्रमुख हरिबहादुर गुरुङले सो स्वास्थ्य शिविरमा १ सय ७३ जनाले निशुल्क स्वास्थ्य परिक्षण गरेको जानकारी दिए । उनका अनुसार शिविरमा ४७ जनाले सामान्य प्रयोगशाला परिक्षण, ६० जनाले भिडियो एक्सरे तथा इसिजी र बाँकी ४८ जनाले अन्य सेवा लिएका थिए । ‘आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटल प्रा.लिको आयोजना र मादी २ वडा कार्यालयको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो, गुरुङले भने, ‘यसबाट स्थानीयहरु एकदमै लाभांवित हुनुभएको छ ।’ सो कार्यक्रममा बोल्दै मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले शहरमुखी अस्पताल सेवालाई ग्रामीण भेगमा पुगेर शिविरको आयोजना गरेको भन्दै आस्था किड्नी एण्ड स्पेशलाइज्ड हस्पिटललाई धन्यवाद व्यक्त गरे । उनले उक्त शिविरबाट स्थानीहरु लाभांवित भएको बताए । गुरुङले आगामी दिनमासमेत सामाजिक उत्तरदायित्व बहन गर्ने बताउदै विभिन्न सामाजिक क्रियाकलापलाई निरन्तरता दिने बताएका थिए । यसैगरि कार्यक्रममा मृगौला रोग विशेषज्ञ डा. अमृत केसीले ग्रामीण भेग तथा गाउँघरमा नियमित स्वास्थ्य जाँच नहुने भएकाले स्वास्थ्य सेवालाई गाउँ केन्द्रित गरेको धारणा राखेका थिए । निशुल्क स्वास्थ्य शिविरमा जटिल प्रकारको रोग कसैमा पनि नदिखिएको र शिविरमा सहभागीहरुलाई निशुल्क औषधी वितरण गरिएको मादी २ का वडा अध्यक्ष भोजबहादुर गुरुङले जानकारी दिए । गुरुङका अनुसार उक्त शिविरमा मृगौला रोग विशेषज्ञ डा. अमृत केसी, हाड जोर्नी तथा नसारोग विशेषज्ञ डा. भिम सिग्देल, पेट, छाटी तथा मुटु रोग विशेषज्ञ डा. राजेन्द्र पौडेल, सर्जन डा. परिवर्तन बराल र रेडियोलिष्ट डा. नवराज पौडेलले स्वास्थ्य जाँच गरेका थिए । कार्यक्रममा मादी गाउँपालिकाका उपाध्यक्ष कल्पना गुरुङ तथा वडा सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।