पर्वत:  प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको प्रदेश अस्पताल पर्वतमा एकैपटक १२ वटा प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । अब बिरामीले आधुनिक प्रविधिबाट स्वास्थ्य सम्बन्धी समस्याको प्रयोगशाला परीक्षण यहीँबाट गर्न सक्...

  चितवन । चितवनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । सो अवधिमा आठ हजार आठ सय ५३ जनामा डेङ्गु परीक्षण गर्दा दुई हजार एक सय ६४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।  जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार उनीहरूमध्ये एक हजार चार सय ५१ चितवनका छन् । जसमा आठ सय २२ पुरुष र छ सय २९ महिला छन् । चार सय ५४ सङ्क्रमित अन्य जिल्लाका हुन् भने दुई सय ५९ जनाको ठेगाना नखुलेको कार्यालयले जनाएको छ । चितवनमा यो अवधिमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ । चितवनका सात पालिकामध्ये सबैभन्दा धेरै डेङ्गु सङ्क्रमित भरतपुर महानगरपालिकाका रहेका छन् । भरतपुरमा हालसम्म पाँच सय ५९ पुरुष र चार सय १९ महिला गरी नौ सय ७८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ ।  यस्तै खैरहनी नगरपालिकामा एक सय २४, माडीमा २८, रत्ननगरमा एक सय ९७, राप्तीमा ७९ र कालिकामा ३७ जनामा डेङ्गु देखिएको केसीले बताउनुभयो । इच्छाकामना गाउँपालिकामा हालसम्म आठ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । अझै केही समय डेङ्गु सङ्क्रमण हुनसक्ने भन्दै कार्यालयले सचेत बन्न सबैलाई आह्वान गरेको छ ।

  महोत्तरी । मुलुकभर तिहारको चहलपहल बढिरहेका बेला महोत्तरीमा भने डेङ्गुको जोखिम बढेको छ । महोत्तरीको बर्दिबास अस्पतालमा मात्रै कात्तिक लागेदेखि २० जना संक्रमित पुष्टि भएका छन् । साउनदेखि कात्तिकको पहिलो सातासम्म बर्दिबास नगरक्षेत्रमा डेङ्गु सङ्क्रमितको सङ्ख्या १४० पुगेको नगर जनस्वास्थ्य शाखाका प्रमुख सुरेश पासवानले जानकारी दिनुभयो ।      “साउनमा पहिलो पटक दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो, हालसम्म यो सङ्ख्या १४० पुगेको छ”, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। कृष्णा महर्जनले भन्नुभयो । यो बर्दिबास अस्पतालमा पुष्टि भएका सङ्क्रमितको सङ्ख्या मात्रै हो । बर्दिबासमा आधा दर्जनभन्दा बढी निजी अस्पतालले पनि डेङ्गु परीक्षण गर्दै आएका छन् ।      अस्पतालमा मात्रै गत साउनमा २६ जना, भदौमा १२४ जना, असोजमा २३९ जना र कात्तिकको सात गतेसम्म ४९ जनाको जाँच गरिएको थियो । जसमा साउनमा दुई जना, भदौमा २४ जना, असोजमा ९४ जना र जारी कात्तिक७ गतेसम्म २० जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालको भनाइ छ ।     चाडपर्वमा भिडभाड बढ्ने र सरसफाइमा उचित ध्यान नपुग्दा डेङ्गु फैलाउने ‘आडेस’ नामक लामखुट्टेको संख्या बढेकाले सङ्क्रमण फैलिएको अस्पतालको भनाइ छ । बर्दिबास विगत पाँच वर्षयता डेङ्गुको उच्च जोखिममा रहेको क्षेत्र हो ।      पछिल्ला चार वर्ष न्यून संख्यामा मात्र डेङ्गु सङ्क्रमित भेटिए पनि २०७४ मा डेङ्गुको आतङ्क नै फैलिएको थियो । २०७४ को साउनदेखि असोजमध्यसम्म बर्दिबास नगरक्षेत्रमा नै ८४७ जनामा सङ्क्रमण पुष्टि भएको नगर कार्यपालिका कार्यालय बर्दिबासको जनस्वास्थ्य शाखाले जानकारी दिएको छ ।      नगरक्षेत्रमा डेङ्गु सङ्क्रमितको संख्या बढ्दै गएपछि बर्दिबास नगरपालिकाले सरसफाइ अभियान सञ्चालन गरेको छ । नगरभित्रका सबै १४ वटा वडामा वडाअध्यक्षको संयोजकत्वमा डेङ्गु सार्ने ‘आडेस’ लामखुट्टेका बासस्थान सरसफाई गर्ने, लामखुट्टेका लार्भा नष्ट गर्ने र किटनासक औषधी छर्ने अभियान सञ्चालन गरिएको नगरप्रमुख प्रल्हादकुमार क्षत्रीले बताउनुभयो ।

पोखरा :  अधिकारी समाज कास्की इकाई समिति पस्र्याङले आज खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा ६८ युनिट रगत संकलन भएको थियो ।    पोखरा–५ पस्र्याङमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि अधिकारी समाज कास्कीका जिल्ला अध्यक्ष लिलाधर अधिकारीले रक्तदातालाई ब्लडब्याग हस्तान्तरण गर्दै रक्तदान शुरु गरिएको थियो ।    कार्यक्रमको सभापतित्व इकाई अध्यक्ष एवं जिल्ला महासचिव हरिश्चन्द्र अधिकारी, स्वागत मन्तव्य कोषाध्यक्ष रुद्रप्रसाद अधिकारी, अधिकारी समाज कास्कीका जिल्ला वरिष्ठ उपाध्यक्ष हेमन्त अधिकारी, उपाध्यक्ष पूर्णभद्र अधिकारी र क्षेत्रीय रक्तसञ्चारका प्रमुख अर्जुन ज्ञवाली लगायतले सामाजिक कार्यमा अधिकारी समाज कास्की इकाई समितिको भूमिकाको प्रशंसा गरेका थिए । 

पोखरा : नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य एवं कास्की क्षत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले कास्की निर्वाचन क्षेत्र नं. २ कै प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराईको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।   बरालले बुधबार अस्पतालको सघन कक्षमा भट्टराईलाई भटेर स्वास्थ्य अवस्था बुझ्दै स्वास्थ्य लाभको कामना गरेको एकीकृत समाजवादी कास्कीका सचिवालय सदस्य घननाथ सापकोटाले जानकारी दिए ।  प्रतिनिधिसभा सदस्य पदका लागि आगामी ४ मंसिरमा हुने निर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका लागि श्रीनाथ बराल गठबन्धन दलको तर्फबाट साझा उम्मेदवार हुन् भने, विद्या भट्टराई एमालेको तर्फबाट उम्मेदवार हुन् ।    डेंगु संक्रमण भई पोखरास्थित मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचाररत भट्टराईको स्वास्थ्यमा सुधार भएको अस्पताल श्रोतले जनाएको छ ।   उपचारमा संलग्न अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ सीपी आचार्यले उनको स्वास्थ्य अवस्था सामान्य हुदै गए पनि केही दिन आराम गर्नुपर्ने जानकारी दिएका छन् ।  

मकवानपुर : जिल्ला प्रशासन कार्यालय मकवानपुरले सरकारले तोकेको मापदण्डविपरीत सञ्चालनमा रहेको .हेटौँडाको एक अस्पतालमा  सिलबन्दी गरी आज कारबाही प्रक्रिया अगाडि बढाएको छ ।    सो कार्यालयबाट गरिएको अनुगमनका क्रममा हेटौँडा उपमहानगरपालिका–१ मा रहेको  हेटौँडा मोडेल अस्पताल मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएकाले सिलबन्दी गरिएको हो ।   सो अस्पतालले १० शय्याको अनुमति लिएर स्वीकृतिभन्दा बढी शय्या राखेर सञ्चालन गरेको तथा अनुमतिबिना फार्मेर्सी तथा ल्याब सञ्चालन गरेकाले सिलबन्दी गरिएको कार्यालयले जनाएको छ । साथै अस्पतालले एनएसथेसियोलोजिष्ट डाक्टर नराखी एनएसथेसिया सहायकबाट बिरामीलाई बेहोस बनाएर मेजर शल्यक्र्रिया गर्दै आएकाले शल्यक्र्रिया नगर्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज न्यौपानेले जानकारी दिनुभयो ।   त्यस्तै अस्पतालमा मापदण्डअनुसार कर्मचारी नभेटिएको, फोहरमैला व्यवस्थापन नगरेको पाइएको सम्बन्धमा प्रशासनले सचेतसमेत गराएको जानकारी दिइएको छ । अधिकृत न्यौपानेको नेतृत्वमा  खटिएको सो अनुगमन टोलीमा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागार्इं तथा जिल्ला जनस्वास्थ्य कार्यालयका ठाकुर पौडेललगायत सरोकारवाला संस्थाको सहभागिता रहको थियो ।    अस्पताल सञ्चालकलार्ई  आवश्यक कागजातसहित १५ दिनभित्र  जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ । 

पोखरा : पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न खेलका ४० जना खेलाडीहरुको एन्टि डोपिङ गरिएको छ ।   राष्ट्रिय खेलकुदको इतिहासमा पहिलो पटक यो अभ्यास गरिएको हो । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा एन्टि डोपिङ सुरु गरिएको राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत गठित एन्टि डोपिङका उपसमितिका सचिव डा. ज्ञानेन्द्र शाहले जानकारी दिएका छन् ।    उनले भने–“राष्ट्रिय खेलकुदको इतिहासमा नै पहिलो पटक यो अभ्यास सुरु भएको छ । यसले नेपाली खेलकुदको स्वच्छतालाई अघि बढाउन सहयोग पुग्ने छ ।”   विभिन्न खेलका ४० जना खेलाडीको नमूना लिइएको डा. शाहले बताए । “यो निकै संवेदनशील विषय हो । हामीले गरेको नमूना संकलन कुनै पनि दक्षिण एसियाली खेलकुदको इतिहासमा धेरै हो,” दक्षिण एसिया एन्टि डोपिङका सदस्यसमेत रहेका डा. शाहले भने– “हामीले गरेको नमुना संकलनहरु कतार पठाएका छौं । नतिजा प्राप्त हुन केही समय कुर्नुपर्ने हुन्छ ।”   “खेलाडीले पदक जित्न शक्तिबद्र्धक औषधी प्रयोग गरेका इतिहास मात्रै होइन, एन्टि डोपिङबाट पदक खोसिएको इतिहास पनि हामीसँग छ”, डा. शाहले भने–“अब नेपाली राष्ट्रिय खेलाडीले आफ्नो खेलको प्रदर्शनको सुधार शक्तिबद्र्धक औषधीको प्रयोगबाट नभई आफ्नै सक्षमतामा निर्भर हुनुपर्छ ।” खेलाडीले जितेको पदक र खेललाईसमेत आधिकारिकता दिन एन्टि डोपिङको समेत विशेष भूमिका हुने उनले बताए ।    पोखरामा जारी राष्ट्रिय प्रतियोगितामा एन्टि डोपिङका लागि दक्षिण एसियाली एन्टि डोपिङ संस्थाले सहयोग गरेको उनले जानकारी दिए । राखेपले एन्टि डोपिङका लागि डा. नविशमान सिंहको संयोजकत्वमा ६ सदस्य कमिटि बनाएको थियो ।  

धादिङ  :  डेङ्गु तथा ज्वरोका बिरामी बढेसँगै धादिङमा सिटामोल अभाव भएको छ । सिटामोलको अत्यधिक माग भएपछि धादिङबेँसीका निजी मेडिकलमा समेत सिटामोल पाइन छाडेको छ । अत्यावश्यक भएकालाई सिटामोल मिसिएका अन्य औषधि दिने गरिएको व्यवसायीले बताएका छन् ।   डेङ्गुका बिरामीलाई सिटामोल अत्यावश्यक पर्ने भएकाले बिरामी बढेको बेला भएको अभाव पूर्ति गर्नका लागि पहल भने भएको छैन । धादिङबेँसीस्थित धादिङ अस्पतालमा उपचार गराउन आउने बिरामीका लागि सिटामोल उपलब्ध हुने भए पनि औषधि बिक्री गर्ने अस्पतालको फार्मेसीमा भने मागेजति सिटामोल दिन सकिने अवस्था नभएको फर्मोसीका सञ्चालकले बताएका छन् । निजी मेडिकलमा सिटामोल अभाव भएको छ ।   धादिङबेँसीस्थित रुपा मेडिकलमा सिटामोल मङ्गलबार नै सकिएको छ । सिटामोल किन्न आउनेलाई यत्तिकै फर्काउनुपरेको छ । सरकारी अस्पतालले सिटामोल दिन नसकेपछि अस्पतालले लेखिदिएको पुर्जा बोकेर बिरामी बजार–बजार चहार्न थालेका छन् ।   डेङ्गुका बिरामी बढेको बेला धेरै सिटामोल चाहिने भए पनि कम्पनीले सिटामोल नदिएको रुपा मेडिकलका सञ्चालक गोपी श्रेष्ठको भनाइ छ । धादिङमा गत साउन १ गतेयता करिब तीन महिनाको अवधिमा एक हजार ८६ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्रै जिल्लामा ९० जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । अस्पतालमा बिरामीको चापले शय्या भरिएका छन् ।   

पोखरा  :  पोखराको फेवातालमा जलकुम्भी झार फैलिएपछि आज बिहानदेखि सरसफाइ अभियान सुरु गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यहाँका विभिन्न सङ्घ संस्थालाई फेवाताल सरसफाइमा जुट्न आग्रह गर्दै सरसफाइ अभियान सुरु गरिएको हो ।    सरसफाइको पहिलो दिन विभिन्न सङ्घ संस्था, सरकारी कर्मचारी र सुरक्षाकर्मीद्वारा डुङ्गा तथा अन्य साधनको मद्दतबाट जलकुम्भी झार बाहिर निकाल्ने काम भएको महानगरपालिकाका प्रमुख आचार्यले दिनुभयो । लगातारको वर्षासँगै तालको सबैजसो भागमा जलकुम्भी फैलिएको छ । बिहान तालको ड्यामसाइटबाट उत्तरतर्फको खहरेसम्म जलकुम्भी झार निकालिएको छ ।    तालमा झार धेरै भएकाले सबै झार निकाल्न एक हप्ता समय लाग्ने प्रमुख आचार्यको भनाइ छ । तालको बीचभागमा अवस्थित तालबाराही मन्दिर दर्शन गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई  जलकुम्भीले अवरोध  गर्ने गरेको छ । सो अवसरमा महानगर प्रमुख आचार्यले फेवाताल नेपालीको मात्र नभइ विश्वकै पर्यटकीय सम्पदा भएकाले यसको संरक्षण गर्ने दायित्य सबैको भएको बताउनुभयो ।  फेवाताल सरसफाइमा पोखराका ३३ वटै वडाका सङ्घ संस्था, आमा समूह, क्लबलाई सहभागी हुन आग्रह गरिएको  छ । आचार्यका अनुसार ३३ वटै वडाका वडाध्यक्षको नेतृत्वमा विभिन्न समूह ताल सरसफाइमा परिचालित हुने छन् ।    फेवातालको दायाँबायाँ नेपाल सरकारले ६५ मिटर मापदण्ड तोकेको भए पनि ती क्षेत्रमा संरचना निर्माण गर्ने कार्य अझै रोकिएको छैन । मापदण्डकै विषयलाई लिएर मुद्दा परेपछि सर्वोच्च अदालतले तत्कालका लागि महानगरपालिकालाई फेवातालको डिलबाट ६५ मिटर मापदण्ड कार्यान्वयन गर्न आदेश दिएको थियो ।    बाह्र हजार आठ सय ७४ रोपनी क्षेत्रफलको फेवातालमा नौ हजार नौ सय ५५ रोपनी भाग पानीले ढाकेको छ । तालको  पश्चिमी भागबाट आउने हर्पन खोलाको बाढीले प्रत्येक वर्ष ताल पुर्ने कार्य रोक्नुपर्ने पोखरा उपत्यका नगरविकास समितिका पूर्व अध्यक्ष अशोक पालिखेले बताउनुभयो । कुनै समय फेवातालको पानी पिउन प्रयोग गरिन्थ्यो भने विगत केही वर्षयता यहाँको पानी दूषित भइरहेको भनाइ स्थानीयवासी तथा मानवअधिकारवादी नेता टेकनाथ बरालको छ ।    “फेवाताल सबैको हो, यसलाई बचाइ राख्नुपर्छ, ताल लोप हुने अवस्थामा पुग्न हुदैन”, बरालले भन्नुभयो, ” ताल बचाउने चिन्ता सबैमा हुनुप¥यो, ताल वरपरका घरहोटलले पनि तालमा लगेर ढल मिसाउन हुदैन । पोखराका ताल सफाइ गर्न पाँच वर्ष अघि पोखरा महानगरपालिकाले एक करोड बढी मूल्य तिरेर छुट्टै मेसिन खरिद गरेपनि उक्त मेसिन एक वर्ष पुग्न नपाउँदै काम नलाग्ने अवस्थामा पुगेको छ ।

चितवन: दसैंमा मासु खानेक्रममा अड्किएर एक जनाको ज्यान गएको छ ।   कालिका नगरपालिका वडा नं ८ गैरीबारीका ५० बर्षिय धनबहादुर दानी क्षेत्रीको मृत्यु भएको हो । हिजो दसैंको अष्टमीको साँझ करिव ७:३० बजे खाना खाने क्रममा मासुको हड्डी अड्किएर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।   मासु अड्किएपछि उपचारको क्रममा जुटपानी बजार स्थित मेडिकलमा राति नै ल्याइएको थियो । मेडिकलमा उनको उपचार हुन नसकेपछि भरतपुर तर्फ लगिएको स्थानीयले जानकारी दिए ।   क्षेत्रीको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी तथा प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो ।