पर्वत:  प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको प्रदेश अस्पताल पर्वतमा एकैपटक १२ वटा प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । अब बिरामीले आधुनिक प्रविधिबाट स्वास्थ्य सम्बन्धी समस्याको प्रयोगशाला परीक्षण यहीँबाट गर्न सक्...

पोखरा:    रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले शनिबार पोखरामा आयोजना गरेको २१ औं बृहत रक्तदान कार्यक्रमा १ सय १० यनिट रगत संकलन भएको छ । नयाँ रक्तदाहरुलाई रक्तदानप्रति आकर्षित गर्ने उद्देश्यले आयोजित रक्तदानमा ९४ जना पुरुष र १६ जना महिला गरि  १ सय १० जनाले रक्तदान गरेको कार्यक्रम संयोजक कृष्ण सुवेदीले बताए । तीमध्ये ३० जना नयाँ रक्तदाता रहेका छन् । पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीले पहिलो रक्तदाता प्रादेशिक  रक्तसञ्चार केन्द्रका वरिष्ठ प्राविधिक महेन्द्र केसीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रको उद्घाटन गरे ।  कार्यक्रममा बोल्दै अध्यक्ष प्रजापतीले रेडियोले आफ्नो स्थापना कालदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदानको आयोजना गरी महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले रक्तदान गर्नुपर्छ भन्ने आम जनमानसमा जनचेतना फैलाउने काम रेडियोले गरेको बताए । रेडियोका निर्देशक विजेश पाखिलेले सहयोगी संघ संस्था तथा रक्तदाताहरूप्रति धन्यवाद व्यक्त गरे । स्टेशन म्यानेजर सञ्जयकुमार मल्लले रक्तदानप्रति मानिसको भावनामा परिवर्तन ल्याउन स्थापनाकालदेखि नै रेडियोले रक्तदान गर्दै आइरहेको र यो अभियानकै रुपमा रहेको बताए । कोशिस नेपालका परियोजना संयोजक सुदिप घिमिरेले पछिल्लो समयमा आत्महत्यको दर बढ्दै गएकाले न्यूनीकरणका लागि रेडियोसँग सहकार्य गरी जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको बताए ।  रक्तसञ्चार केन्द्र पोखरा र फिस्टेल नर्सिङले प्राविधिक सहयोग गरेका थिए । कार्यक्रमको सहकार्य संघ संस्थाहरूमा पोखरा इन्टरनेट प्रा.लि., नेपाल बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, ब्रिज सिमेन्ट प्रालि, डावर नेपाल प्रालि, सिजी फुड्स नेपाल प्रालि, बराल फिड इन्डष्ट्रिज प्रालि, सलिको इन्स्योरेन्स प्रालि, नेलम्बो नेपाल, लायन्स क्लब अफ पोखरा सेतीगंगा, न्यु राष्ट्रियता छापाखाना, सपना आयुर्वेद, एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज, रुपाकोट सुनचाँदी दोकान, गुह्ेयश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड, तालबाराही फार्मेसी, कोशिस नेपाल र परिचय एडभटाइजिङ रहेका थिए ।

काठमाडौं : थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।    पछिल्लो २४ घन्टामा देशभरबाट ६५६ नमूना परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।   मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११८ र एन्टीजेनबाट ५३८ नूमना परीक्षण गर्दा पीसीआरबाट १५ र एन्टिजेनबाट २३ को रिपोर्ट पोजिटिभ आएको हो।   यो अवधिमा सात जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १७१ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ। 

काठमाडौं : थप १४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।    पछिल्लो २४ घन्टामा देशभरबाट १०७९ नमूना परीक्षण गर्दा ६९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।   मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३८१ र एन्टीजेनबाट ६९८ नूमना परीक्षण गर्दा पीसीआरबाट ४४ र एन्टिजेनबाट ९८ को रिपोर्ट पोजिटिभ आएको हो।   यो अवधिमा चार जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १६३ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ। 

पोखरा:   पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा उपचाररत भेषबहादुर थारुको परिवारले आर्थिक सहयोगको अपिल गरेको छ ।  माघमा अपरेशन गरिएको थारु अहिले भेन्टिलेटरमा उपचारत भएपनि केही दिन अस्पतालमा बस्नुपर्ने र परिवारको आर्थिक अवस्था कमजोर भएकाले सहयोगको अपिल गरेको हो ।  थारुको माघमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मेरुदण्डको अपरेशन गरिएको थियो । रुपन्देही सालझण्डी स्थायी घर भएका थारु परिवार पोखराको अमरसिंह चोकमा बस्दै आएका छन् । भेषबहादुरको बुबाले पोखराको एक फर्निचरमा र आमाले गृहिणीको काम गरेर छोराको उपचार गराइराखेका छन् ।  बिरामी भेषबहादुरलाई सहयोग गर्न उनको आमा जमुना थारुको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर ३४०००००१३०४ मा सहयोग गर्न सक्नेछन् ।   

पोखरा:  नेपाल नेत्रज्योति संघ कास्कीको आयोजना र पत्रकार महासंघ गण्डकी प्रदेश समितिको संयोजनमा भएको निःशुल्क आँखा शिविरमा १८१ जना पत्रकारहरुले आँखा जाँच गराएका छन् र आँखा जाँचको क्रममा पत्रकारहरुमा दृष्टि दोषको समस्या सबैभन्दा बढिमा देखिएको छ । १८१ जनामा गरिएको परीक्षणमध्य १०५ जनामा आँखा सुख्खा हुने, पोल्ने समस्या देखिएको छ । उनीहरुलाई औषधी दिइएको छ । वातावरणीय प्रदुषणका कारण आँखामा समस्या बढि देखिने र कम्प्युटर स्क्रिनमा बढी समय काम गर्दा त्यस्तो समस्या देखिने हिमालय आँखा अस्पतालका नेत्र अधिकृत सुभाष नेपालले बताए । यस्तै पढ्न लेख्न समस्या देखिएका कारण ३५ जनालाई नियर भिजन ग्लास भएको चश्मा उपलब्ध गराइएको छ भने नानी फुलाएर जाच्नु पर्ने (रेटिना फुलाउने) र आँखाका नानीहरुको नसा परीक्षण गर्नु पर्ने बिरामीलाई थप विस्तृत जाँचका लागि हिमालय आँखा अस्पतालमा रिफर गरिएको छ । रिफर भएका पत्रकारहरुको थप स्वास्थ्य परीक्षण निःशुल्क हुने हिमालय आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. इलिया श्रेष्ठले बताइन् । शिविरको उद्घाटन सत्रमा बोल्दै नेत्रज्योती संघ कास्कीका अध्यक्ष वरिष्ठ अधिवक्ता कृष्ण गुरुङले समाजमा दिन रात खट्ने पत्रकारहरुको आँखा स्वास्थ्यलाई स्वस्थ्य राख्ने उद्देश्यले निःशुल्क सिविर आयोजना गरिएको बताए । हिमालय आँखा अस्पताल पोखराका मेडिकल डाइरेक्टर डा. इलिया श्रेष्ठले हिमालय आँखा अस्पतालले आम नागरिकका आँखा उपचार सेवामा पु¥याएको योगदानको चर्चा गर्दै सञ्चारकर्मीहरुलाई सेवा दिन पाउदा गर्व लागेको बताइन् । शिविरको समन्वय संस्था पत्रकार महासंघ गण्डकी प्रदेश समितिका का.वा अध्यक्ष गोविन्द सुवेदीले पत्रकारहरुको छाता संस्थाको ६७ औं स्थापना दिवसको उपलक्ष्यमा नेत्रज्योती संघको आयोजनामा भएको निःशुल्क आँखा जाँच शिविरले पत्रकार महासंघ र नेत्रज्योती संघबीच थप सम्बन्ध प्रगाढ भएको बताउदै आगामी दिनहरुमा पनि सहयोगको अपेक्षा रहेको बताएका छन् । पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनीले पत्रकारहरुको लागि बेला बेलामा आँखा परीक्षण गरिहनु पर्ने बताइन । निःशुल्क शिविर कार्यक्रम प्रेस स्वतन्त्रता सेनानी अग्रज पत्रकार नारायण कार्कीको आँखा परीक्षण गरि उद्घाटन गरिएको थियो । कार्यक्रमको सञ्चालन महासंघका सचिव यदुनाथ बञ्जाराले गरेका थिए । 

काठमाडौं : थप ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।    पछिल्लो २४ घन्टामा देशभरबाट १२६६ नमूना परीक्षण गर्दा ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।   मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४८८ र एन्टीजेनबाट७७८ नूमना परीक्षण गर्दा पीसीआरबाट २५ र एन्टिजेनबाट ४४ को रिपोर्ट पोजिटिभ आएको हो।   यो अवधिमा एक जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ६६ पुगेको छ।

बागलुङ:    बागलुङकी एक गर्भवतीको उद्धार गरिएको छ । जिल्लाको गलकोट नगरपालिका–११ रिघाकी ३० वर्षीया रुपा पुनलाई प्रभु हेलिकोप्टरमार्फत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पु¥याइएको हो । शुक्रबार दिउँसोदेखि सुत्केरी व्यथा लागेर लामो समयसम्म सुत्केरी हुन नसकेपछि पुनलाई पोखरा पु¥याइएको हो । शनिबार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशसँगको समन्वयमा हेलिकोप्टरमार्फत पोखरा पु¥याइएको र हाल पुनको उपचार भइरहेको गलकोट नगर अस्पतालका डा राजेश पौडेलले जानकारी दिनुभयो ।   दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धारसम्बन्धी स्वास्थ्य मन्त्रालयको कार्यविधिअनुसार उहाँको उद्धार गरिएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो । पुनको रिघा स्वास्थ्यचौकीमा सामान्य उपचारपछि गलकोट नगर अस्पताल सिफारिस गरिएको थियो । अवस्था थप जटिल बनेपछि आकस्मिकरूपमा उपचारका लागि पोखरा पठाइएको र अहिले पुनको शल्यक्रिया गरी बच्चा जन्माएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

तनहुँ:    पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा अवस्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले पछिल्लो समययता विभिन्न स्वास्थ्य सुविधा थप गर्दै गएको छ ।  दक्षिण एशियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रुपमा स्थापना गर्न सरकारले विसं २०६७ मा पूर्वप्रधानमन्त्री स्व गिरीजाप्रसाद कोइरालाका नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।  सोही ठाउँमा रहेको सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व विसं २०७५ मा उपचार केन्द्रलाई हस्तान्तरण गरिएको थियो । हाल उपचार केन्द्रको नाममा सात सय ४० रोपनी जग्गा प्राप्ति भइसकेको छ । जनतालाई सहजरुपमा सबै प्रकारका स्वास्थ्य सेवा दिने उद्देश्यसहित सुविधा विस्तार गरिएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले बताउनुभयो ।  अस्पतालले श्वासप्रश्वासको विशेषज्ञ सेवा सुरुआत गरेको छ । पूर्वप्रधानमन्त्री कोइरालाको १३औँ स्मृति दिवसको अवसर पारेर अस्पतालले विशेषज्ञ चिकित्सकबाट श्वासप्रश्वासको उपचार सेवा सुरु गरेको हो । हालसम्म जनरल अस्पतालका रुपमा सेवा दिँदै आएको र यस केन्द्रको मुख्य उद्देश्यबमोजिम श्वासप्रश्वाससम्बन्धी विशेषज्ञ सेवा सञ्चालन गरिएको उपचार केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले बताउनुभयो । अस्पतालमा श्वासप्रश्वास सेवाका लागि श्वासप्रश्वास विशेषज्ञ डा शैलेश गुरुङलाई नियुक्त गरिएको छ ।  “अस्पताल स्थापनाको मुख्य उद्देश्य श्वासप्रश्वाससम्बन्धी उपचारका लागि हो, हालसम्म जनरल सेवामात्रै दिइँदै आएकामा अब श्वासप्रश्वासको उपचार सेवा सुरु भएको छ”, डा श्रेष्ठले भन्नुभयो । श्वासप्रश्वास सेवाका लागि अस्पतालमा एक विशेषज्ञसहित तीन चिकित्सक, तीन स्टाफ नर्स र एक जनस्वास्थ्य निरीक्षकको व्यवस्था गरिएको छ ।  उपचार केन्द्रमा श्वासप्रश्वास सेवाका लागि फोक्सो जाँच गर्ने उपकरण उपलब्ध छ भने बाँकी आवश्यक उपकरण विस्तारै थप गर्दै लैजाने कार्यकारी निर्देशक डा श्रेष्ठले बताउनुभयो । “भएका उपकरणमार्फत सेवा दिने र बाँकी उपकरण विस्तारै थप्दै जाने नीति छ”, श्रेष्ठले भन्नुभयो ।  अस्पतालमा दैनिक दुई सय ५० भन्दाबढी बिरामी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये ४०÷५० बिरामी श्वासप्रश्वासका रहेको अस्पतालले जनाएको छ । अस्पतालमा नै श्वासप्रश्वास उपचार सेवा सुरु भएपछि यस भेगका सर्वसाधारणले अन्यत्र जिल्ला गएर सेवा लिनुपर्ने बाध्यताको अन्त्य भएको छ ।  उपचार केन्द्रले विभिन्न रोगका उपचार सेवा थप गर्दै गइरहेको छ । केही समय अगाडि मात्रै उपचार केन्द्रमा थाइराइड परीक्षण सेवा सुरु भएको थियो । केन्द्रले नियमितरुपमा शल्यक्रिया सेवा दिइरहेको छ । साना तथा ठूला शल्यक्रिया सेवा सञ्चालन गरेपछि सर्वसाधारणलाई बाहिरी जिल्ला जानुपर्ने बाध्यताको अन्त्य भएको छ । जिल्लामै शल्यक्रिया सेवा पाएपछि उपचारका लागि पोखरा, चितवन वा अन्यत्र जानुपर्ने बाध्यता हटेको बताइन्छ । केन्द्रले हर्निया, मलद्वार फाटेको, हाडजोर्नी लगायतको शल्यक्रिया सेवा दिइरहेको छ । केन्द्रमा हाडजोर्नी विशेषज्ञ डा विद्याभुषण ताम्राकार, सर्जन डा परिवर्तन बराल, एनेस्थेसियोलोजिष्ट डा रमेश घिमिरे, डा अभिषेक पौडेललगायतले शल्यक्रिया सेवा प्रदान गर्दै आउनुभएको छ ।  केन्द्रबाट शल्यक्रिया सेवा सुरु भएपछि तनहुँसँगै सीमा जोडिएका स्याङ्जा, पाल्पा, नवलपुरका सर्वसाधारणलाई सजिलो भएको छ । अस्पतालमा तीन जना विशेषज्ञ र नौ जना मेडिकल अधिकृत कार्यरत छन् । अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही समय अगाडिबाट कल्चर सेवा पनि सुरु गरेको छ । अस्पतालमा १० देखि ४ बजेसम्म ओपिडी सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा, ल्याब, भिडियो एक्स–रे सेवा, माइनर शल्यक्रियालगायतका सेवा दिइरहेको छ ।   पचास श्ययाको अस्पतालमा सवारी दुर्घटनाका घाइतेका अलावा झाडापखला, टाइफाइड, ज्वरो, ग्याष्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामी नियमित आउने गरेका छन् । अस्पतालमा तनहँुको शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासीका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउने गरेका छन् । 

गण्डकी:    पोखरा विश्वविद्यालयको  शिक्षण अस्पतालले आगामी वैशाखदेखि आकस्मिक सेवा सुरु गर्ने तयारी गरेको छ । विसं २०७९ भदौ २२ गतेदेखि ओपिडी सञ्चालन गर्दै आएकामा अस्पताललाई पूर्णरूपमा सञ्चालन गर्ने तयारी गर्दै आकस्मिक सेवा सञ्चालन गर्न लागिएको हो ।  पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन डा अमर नागिलाले शिक्षण अस्पताल सञ्चालनको सम्पूर्ण प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिवको संयोजकत्वमा गठित वातावरणीय अध्ययन प्रतिवेदन जाँचबुझसम्बन्धी प्राविधिक समितिलाई विश्वविद्यालयले शिक्षण अस्पतालको वातावरणीय परीक्षण प्रतिवेदन प्रस्तुत गरिसकेको र मन्त्रालयले त्यसको चाँडै टुङ्गो लगाउने उहाँले बताउनुभयो ।      “मन्त्रालयले काम गर्दै गर्नुस् भनेको छ, तर सञ्चालन अनुमतिपत्र पाएपछि एक सय शय्याको अस्पतालको रूपमा हामी पूर्णरूपमा सेवा दिन्छौँ”, उहाँले भन्नुभयो ।  पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक डा दीपेन्द्रकुमार यादवले अस्पताल सञ्चालनका लागि जनशक्ति व्यवस्थापन भइसकेको र आवश्यक फर्निचर तथा उपकरणको यथेष्ट व्यवस्थापन गरी वैशाखको पहिलो हप्तादेखि आकस्मिक सेवा सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । विश्वविद्यालयका इन्जिनियर सुदीप अधिकारीले अस्पतालको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको बताउनुभयो । पोखरा विश्वविद्यालय शिक्षण अस्पताल पोखरा महानगरपालिका–३०, खुदी, ढुङ्गेपाटनमा अवस्थित पोखरा विश्वविद्यालय प्राज्ञिक भवन कम्प्लेक्सको पूर्वपट्टि रहेको ११ रोपनी तीन आना जग्गामा निर्माण गरिएको छ ।