पर्वत:  प्रमुख स्वास्थ्य संस्थाका रूपमा रहेको प्रदेश अस्पताल पर्वतमा एकैपटक १२ वटा प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । अब बिरामीले आधुनिक प्रविधिबाट स्वास्थ्य सम्बन्धी समस्याको प्रयोगशाला परीक्षण यहीँबाट गर्न सक्...

डोटी:    जिल्ला अस्पताल डोटीमा हिजोआज भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढेको छ । यहाँका अस्पताल तथा निजी मेडिकलमा भाइरल ज्वरोका बिरामी बढेसँगै उपचार गर्नमा निकै समस्या उत्पन्न भएको स्वास्थ्यकर्मी बताउँछन् ।       अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एवं कार्यालय प्रमुख कृष्ण जोशीका अनुसार विगत पाँच÷सात दिनदेखि जिल्ला अस्पतालमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या एकाएक बढेको हो । उपचार गराउन आएका बिरामीमध्ये ६०–७० प्रतिशत बिरामी भाइरल ज्वरोका नै हुने गरेको उहाँले बताउनुभयो ।      “जिल्ला अस्पतालमा दैनिक औसतमा ४० देखि ५० जना भाइरल ज्वरोका बिरामी उपचारका लागि आउँछन्”, जोशीले भन्नुभयो, “ उपचारमा समस्या हुँदै आएको छ ।”      केही दिनदेखि जिल्लामा वर्षासँगै पानी दूषित भएको र वातावरणमा आएको परिवर्तनले मानिसमा भाइरल ज्वरोको प्रकोप देखिएको हो । ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो हुने गरेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका डा ललितकुमार लिम्बूले बताउनुभयो ।    शैलेश्वरी अस्पतालमा पनि दैनिक ५० देखि ६० जनासम्म भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालका निर्देशक आइजङ्ग कुँवरले जानकारी दिनुभयो ।

तनहुँ  :  तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेङ्गुको लक्षण भेटिएको छ । अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्गुका बिरामी भेटिएका हुन् ।    पछिल्लो समय सङ्क्रमणजन्य बिरामीको चाप बढिरहेको बेला डेङ्गुका बिरामी पनि देखिएको दमौली अस्पतालका डा. राजु रानाले जानकारी दिनुभयो । उहाँका अनुसार दमौली अस्पतालमा दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा पछिल्लो समय ज्वरो, टाईफाइड, निमोनिया लगायतका बिरामी अत्यधिक आउने गरेका छन् ।    बिहीबार इमर्जेन्सीमा चार र ओपिडीमा तीन जनामा डेङ्गुको लक्षण भेटिएको रानाले जानकारी दिनुभयो । एक सय डिग्रीभन्दा बढी ज्वरो आउने, आँखाको गेडी दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने र कमजोरी हुने डेङ्गुका मुख्य लक्षण हुन् । उहाँले भन्नुभयो, “बिरामीको अवस्था गम्भीर देखिएमात्रै अन्यत्र अस्पतालमा रिफर गरिनेछ ।” रिफर गर्नुअघि बिरामीको दैनिक कीट जाँचका लागि पोखरा वा काठमाडौँस्थित टेकु अस्पतालमा पठाउने गरिएको रानाले बताउनुभयो । लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुँदा साँझमा बाहिर ननिस्कने, शरीर ढाक्ने गरी लुगा लगाउन तथा सुत्ने समयमा झुलको प्रयोग गर्न चिकित्सकको सुझाव छ । झोलिलो र तागतिला खानेकुरा खान पनि चिकित्सकले सुझाव दिएका छन् । 

  पोखरा:   पछिल्लो २४ घण्टामा गण्डकी पदेशमा  ९६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गण्डकी प्रदेशका अनुसार कास्कीमा ५६, बागलुुङमा २० , स्याङ्जामा १२, तनहुुँ र नवलपरासी पुर्वमा ३/३ जना र गोरखा, पर्वतमा १/१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।   देशभर ७ सय १० जनामा कोराना संक्रमण   पछिल्लो २४ घण्टामा थप ७ सय १० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार २५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।   पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ ।

  काठमाडौँ:     सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा हाल दिनहुँ कोरोना सङ्क्रमणदर बढ्दै गएको हो । यही साउन १ गतेयता यस प्रदेशमा ७५ जनामा सङ्क्रमण पुष्टि भइसकेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।   गत असार ३२ गते शून्यमा झरेको सङ्क्रमणदर त्यसयता बढ्दै गएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिनुभयो । भारतमा कोरोना सङ्क्रमण बढ्दै गएकाले सीमा जोडिएको प्रदेश सुदूरपश्चिममा पनि देखिन थालेको छ । जोखिम बढ्दै गएकाले सतर्कता अपनाइएको जोशीले बताउनुभयो ।    जोखिम बढेकाले यहाँका भारतसँग सीमा जोडिएका सबै नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ । पूर्व निर्धारित कार्यक्रमअनुसार नै सीमाक्षेत्रको जोखिम व्यवस्थापनको काम भइरहेको हो । उहाँले भन्नुभयो, “सीमा नाकामा हेल्थ डेस्क स्थापना गरेर आवश्यक जनशक्ति परिचालन गरी परीक्षण र खोपको काम निरन्तर रुपमा भइरहेको छ ।”    यसका साथै कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई प्राथमिकतामा राखिएको  छ । पाँच वर्षमाथिका सबै बालबालिका र बुस्टर डोजको मात्रा पनि सबैलाई दिइने कार्य निरन्तर रुपमा भइरहेको जनाइएको छ ।     भारतसँग सीमा जोडिएको यस प्रदेशमा समेत कोरोना सङ्क्रमण बढेकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशनालयको आग्रह छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म पाँच लाख ५६ हजार ९७५ जनाको कोरोना परीक्षण गरिएकामा ५९ हजार ८१६ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमणकै कारण यस प्रदेशमा ६३३ जनाको ज्यान गइसकेको छ ।  

काठमाडौँ:    विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मङ्कीपक्स सङ्क्रमणलाई जनस्वास्थ्य आपत्कालका रूपमा घोषणा गरेको छ । बहुर्राष्ट्रिय प्रकोपको समीक्षा गर्न यही साउन ७ गते बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन आपत्कालीन समितिको बैठकमा सङ्गठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले मङ्कीपक्स दु्रत गतिमा बढेकाले जनस्वास्थ्य आपत्कालको रूपमा घोषणा गर्नुभएको हो ।      सङ्क्रमण बढ्न थालेपछि डब्लुएचओले दक्षिण–पूर्वी एसिया क्षेत्रका देशहरूलाई मङ्कीपक्सको निगरानी र जनस्वास्थ्यका उपायलाई सुदृढ बनाउन आह्वान गरेको छ । “मङ्कीपक्स द्रुत गतिमा फैलिरहेको छ र यो पहिले नदेखिएका धेरै देशमा समेत फैलिरहेको छ । जुन ठूलो चिन्ताको विषय हो”, डब्लुएचओको जारी गरेको विज्ञप्तिमा दक्षिण–पूर्वी एसिया क्षेत्रका लागि निर्देशक डा पुनम खेत्रपाल सिंहले भन्नुभएको छ, “यद्यपि, पुरुषसँग यौनसम्पर्क गर्ने पुरुषको सम्बन्धमा भने जोखिममा रहेका जनसङ्ख्यामा केन्द्रित प्रयासमार्फत रोगको थप फैलावटलाई कम गर्न सम्भव छ ।”      डब्लुएचओका अनुसार विश्वमा ७५ देशहरूमा १६ हजारमा मङ्कीपक्सका सङक्रमण पुष्टि भएका छन् ।  दक्षिण–पूर्वी एसिया क्षेत्रमा, भारतमा तीन र थाइल्याण्डमा एक गरी जम्मा चार मङकीपक्सका सङ्क्रमण पुष्टि भएका डब्लुएचओले जनाएको छ ।       भारतमा मध्यपूर्वी देशबाट घर फर्केकामा र थाइल्याण्डमा भने त्यहीँ बसोबास गर्दै आएका एक विदेशी नागरिकमा मङ्कीपक्स सङ्क्रमण पुष्टि डब्लुएचओले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । “विश्वव्यापीरुपमै र यस क्षेत्रमा मङ्कीपक्सको जोखिम मध्यम भए पनि अन्तर्राष्ट्रियस्तरमा यसको थप फैलावटको सम्भावना भने छ । साथै, भाइरसबारे अझै धेरै अनभिज्ञ छन् । मङ्कीपक्स सङ्क्रमण थप फैलनबाट रोक्नका लागि हामी सजग रहनुपर्छ र द्रुत प्रतिकार्यका लागि तयार हुनुपर्छ”, डा खेत्रपाल सिंहले भन्नुभयो ।       प्रकोप सुरु भएदेखि नै डब्लुएचओले जोखिम मूल्याङ्कन र जनस्वास्थ्यका उपायको सुरुआत गर्नका साथै यस क्षेत्रमा परीक्षण क्षमताको विकास गर्न पनि सहजीकरण गर्दै आएको जनाएको छ । मङ्कीपक्सको प्रतिकार्यका लागि प्रभावित समुदायलाई सहभागी बनाउनु र सुरक्षित गर्नु, निगरानी र जनस्वास्थ्यका उपायलाई तीव्र बनाउनु, स्वास्थ्यसंस्थामा उपचार व्यवस्थापन र सङ्क्रमण रोकथाम तथा नियन्त्रणलाई बलियो बनाउनु र खोपको प्रयोग, उपचार तथा अन्य उपायको अनुसन्धानलाई बढाउनु मुख्य उपाय हुन् ।          मङ्कीपक्स भाइरस सङ्क्रमित जनावरसँगको अप्रत्यक्ष वा प्रत्यक्ष सम्पर्कबाट मानिसमा सर्ने गर्दछ । सङ्क्रमित व्यक्तिको छाला वा बिमिरा र श्वासप्रश्वासका थोपाको प्रत्यक्ष सम्पर्कमा आएमा मानिसदेखि मानिसमा यो रोग सर्न सक्छ । हाल प्रकोप फैलिएका देशमा मङ्कीपक्स सङ्क्रमणमध्ये मुख्यरूपमा यौन सम्पर्कसहित नजिकको शारीरिक सम्पर्कमार्फत सङ्क्रमण भएको देखिएको डब्लुएचओले जनाएको छ । सङ्क्रमित छालाका कण भएका ओछ्यान, विद्युतीय उपकरण, कपडाजस्ता सङ्क्रमित सामग्रीबाट पनि रोग सर्न सक्छ । 

कञ्चनपुर  :  पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने मानिसमा कोरोनाको सङ्क्रमण देखिन थालेको छ । भारतबाट फर्कनेमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि सीमा क्षेत्रमा स्वास्थ्यकर्मीले उच्च सर्तकता अपनाएका छन् ।    शङ्कास्पद व्यक्तिको एन्टिजेन विधिबाट कोरोना परीक्षणको कार्य सीमा क्षेत्रमै गर्ने व्यवस्था गरिएको छ । सीमा नाका गड्डाचौकीमा रहेको हेल्थडेस्कका प्रमुख तर्कराज भट्टका अनुसार दैनिक चारदेखि पाँच जनामा कोरोनाको सङ्क्रमण देखिन थालेको छ । भारतबाट फर्कने शङ्कास्पद व्यक्तिको एन्टिजेट विधिबाट परीक्षण गर्दा दैनिक नतिजा पोजेटिभ आउनेको सङ्ख्या बढ्दो रुपमा रहेको छ ।   एक साताको अवधिमा २२ जना बढीमा कोरोनाको सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । “आज बिहान मात्रै एन्टिजेन परीक्षण गर्दा चार जनाको नतिजा पोजेटिभ देखिएको छ”, उहाँले भन्नुभयो, “गत मङ्गलबार मात्रै नौ जनाको एन्टिजेनको नतिजा पोजेटिभ देखिएको थियो ।”         दैनिक दुई सय बढीको एन्टिजेन परीक्षणको कार्य हुँदै आएको छ । एन्टिजेन परीक्षण गर्दा नतिजा पोजेटिभ आएकालाई सीमा क्षेत्रबाटै एम्बुलेन्समार्फत महाकाली प्रादेशिक अस्पताल पठाउने व्यवस्था गरिएको छ । “एन्टिजेनको नतिजा पोजेटिभ आएकालाई निःशुल्क रुपमा एम्बुलेन्समार्फत अस्पताल पठाउने गरेका छौँ”, उहाँले भन्नुभयो, “अस्पतालमा परामर्श पश्चात होम आइसोलेशनमा पठाइने गरिएको छ ।”    कोरोना परीक्षणका लागि आवश्यकपर्ने किटलगायतका सामग्रीको हालसम्म अभाव नरहेको उहाँले बताउनुभयो । दैनिक सीमा नाका भएर फर्कनेको सङ्ख्या चारदेखि पाँच सयको सङख्याको हाराहारीमा रहने गरेको छ । भारतबाट फर्कने व्यक्तिमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि परीक्षणको कार्यलाई तीव्रता दिइएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताउनुभयो । कोरोनाविरुद्धको जनचेतना फैलाउने कार्यसँगै पालिकामा कोरोनाविरुद्धको खोप लगाउने कार्यलाई निरन्तरता दिँदै आएको उहाँले बताउनुभयो ।

  काठमाडौं:    पछिल्लो २४ घण्टामा ३३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।    काठमाडौँ  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ९९६ नमुना परीक्षणमा ३३५ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ८८ पीसीआर परीक्षणमा २१६ र एक हजार ९०८ एन्टिजेन परीक्षणमा ११९ गरी ३३५ जनामा संक्रमण पुष्टि भएको हो ।   पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८६ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ९७१ रहेको छ । सक्रिय संक्रमितमध्ये दुई हजार ८३२ जना होम आइसोलेसनमा र १३९ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २५ जना आईसीयूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।   पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु भएको छैन ।

  पोखरा:  कोभिडको संक्रमणदर बढेपछि रोकथाम र नियन्त्रणका लागि गण्डकी प्रदेश सरकार तयारीमा जुटेको छ ।   यसका लागि बिहीबार प्रदेशस्तरीय कोभिड १९ नियन्त्रण निर्देशक समितिको बैठक बसेको छ । समितिको अध्यक्ष मुख्यमन्त्री रहने व्यवस्था छ ।   बैठकले सबै सरकारी, गैरसरकारी कार्यालयहरू तथा मानिसको भीडभाड हुने स्थान, विश्वविद्यालय, विद्यालय र शिक्षण संस्था, धार्मिक स्थल र नियमित भिडभाड हुने प्रकृतिका व्यावसायिक तथा मनोरञ्जनस्थलहरूका साथै गोष्ठी, सेमिनार, बैठक जस्ता मानिसको जमघट हुने कार्यक्रममा अनिवार्य मास्क लगाउने, सेनिटाइजरको व्यवस्था गर्ने जस्ता जनस्वास्थ्यका मापदण्डहरूको अनिवार्य पालना गर्ने व्यवस्था मिलाउन समन्धित सबैलाई अनुरोध गर्ने निर्णय गरेको छ ।   कोभिड १९ संक्रमणको पछिल्लो अवस्था र सो को तयारी तथा प्रतिकार्यका अतिरिक्त संक्रमण रोकथाम र जोखिम नियन्त्रणका लागि गण्डकी प्रदेशका अस्पताल र स्वास्थ्य संस्थाहरूमा आवश्यक औषधी, औजार÷उपकरण एवं जनशक्तिको व्यवस्थापन गरी तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ ।   मानिसहरूको जमघट र भिडभाड हुने स्थानहरूमा कोभिड १९ नमुना परीक्षण अभियान सञ्चालन गरी समुदायस्तरमा फैलन नदिन सचेत गराउने र नियमित परीक्षणको दायरालाई बढाउने व्यवस्था मिलाउने निर्णय भएको प्रमुख सचिव रविलाल पन्थले जानकारी दिए ।   कोभिड १९ विरुद्धको खोप कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न खोप नलगाएका, पूर्ण मात्राको खोप नलगाएका तथा अतिरिक्त बुस्टर मात्रा लगाउने समय भएका व्यक्तिहरूलाई खोप लगाउन अनुरोध गर्ने निर्णय भएको प्रमुख सचिव पन्थले बताए ।   कोभिड १९ सम्बन्धी कुनै पनि जिज्ञासा भएमा संघीय सरकारले व्यवस्था गरेको १११५ नम्बर वा फोन मार्फत् चिकित्सकीय सेवा आवश्यक परेमा निशुल्क हटलाइन नम्बर ११३३ मा सम्पर्क गर्न र गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रको निशुल्क हटलाइन नम्बर १०९२ मा सम्पर्क गर्न अनुरोध गर्ने निर्णय भएको स्वास्थ्य सचिव डा. श्रीराम तिवारीले जानकारी दिए ।   मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ३ तहका सरकारको समन्वयकै कारण गतविगतमा कोरोना महामारी नियन्त्रण र रोकथामका लागि गण्डकी प्रदेशमा प्रभावकारी काम भएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले अब पनि त्यसै अनुसार अगाडि बढ्न निर्देशन दिएका छन् ।   कोरोना संक्रमणका कारण आइसोलेनसमा रहेका मुख्यमन्त्री पोखरेलले जुम मिटिङमा भने, ‘महामारी कसरी बढ्दै जाने हो, त्यसको आँकलन गर्न सकिँदैन, विगतको अनुभवलाई अहिले प्रयोग गर्नुपर्छ ।’ अस्पतालहरुमा आवश्यक सामग्रीदेखि जनशक्ति व्यवस्थापनका लागि उपयुक्त कदम चाल्न उनले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन् ।   खोपको प्रवन्धका अतिरिक्त पिसिआर परीक्षण, अस्पतालहरुमा शड्ढयाको प्रबन्ध लगायत विषयमा कति पनि कमजोरी नदेखिने गरी काम गर्न उनले आग्रह गरेका छन् ।   कोरोनाको प्रभाव घट्दै गएको र खोपको मात्रा पूरा गरेकाले ढुक्क भएर मास्क र सेनिटाइजर प्रयोग कम गर्न थालेकोतर्फ ध्यानाकर्षण गराउँदै मुख्यमन्त्री पोखरेलले यसतर्फ पनि सचेत रहन सर्वसाधारणमा अनुरोध गरेका छन् ।   बिहीबार गण्डकी प्रदेशमा ६४ जनाको पिसिआर परीक्षण गरिएकामा २४ जनामा संक्रमण देखिएको छ । अहिले प्रदेशभर १ सय ३१ जना संक्रमित रहेकामा ३ जनामात्र अस्पतालमा भर्ना भएका छन् । अहिले कास्की, स्याङ्जा, तनहुँ, नवलपरासीमा मात्र सक्रिय संक्रमित छन् ।   बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले जिल्लास्तरमा रहेका अस्पतालहरुमा जनशक्ति र अन्य प्रबन्धका लागि समन्वय भइरहेको जानकारी गराइन् । कोभिड कोषबाट तलब खानेगरी नियुक्त गरिएका कर्मचारीको करार अवधि सकिएकाले अब फेरि ओएन्डएम गरेर नियुक्त गर्न लागिएको उनले बताइन् ।   उक्त अवसरमा वन तथा वातावरण मन्त्री दीपक थापा, आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्मा, प्रमुख सचिव रविलाल पन्थले समसामयिक विषयमा भनाइ राखेका थिए । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय गण्डकीका सचिव डा. विनोदविन्दु शर्मा, प्रदेश आपूर्ति केन्द्रका निर्देशक डा. रोशन न्यौपानेले कोभिड नियन्त्रणमा विगतमा गरेका अभ्यास र अब चाल्नुपर्ने उपायका बारेमा प्रस्तुति गरेका थिए ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. श्रीराम तिवारीले जनशक्तिवाहेक अरु सबै हिसावमा मन्त्रालय तयारी अवस्थामा रहेको भनाइ राखे । उक्त अवसरमा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, संक्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचन, नेपाल प्रहरीका डिआइजी, सशस्त्र प्रहरीका प्रदेश प्रमुख, नेपाली सेनाको ३ नम्बर वाहिनीका वाहिनीपतिलगायतले आवश्यक तयारीका बारेमा जानकारी गराए ।

कास्की:  नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा) गण्डकी प्रदेश र चरक मेमोरियल अस्पतालबीच सम्झौता (एमओयू) भएको छ ।   समितका सदस्यहरु लगायत सदस्य कम्पनीमा कार्यरत कर्मचारीहरुलाई स्वास्थ्य उपचारमा सहजता एवं सहुलियत प्रदान गर्ने उदेश्यले नाट्टा गण्डकी प्रदेश तथा चरक मेमोरियल हस्पिटलबीच विभिन्न स्वास्थ परिक्षण लगायतका विषयमा  द्विपक्षीय सम्झौता गरिएको हो ।   बुधबार एक कार्यक्रमको आयोजना गर्दै हस्ताक्षर पत्रमा नाट्टा गण्डकी प्रदेशकोतर्फबाट संघका अध्यक्ष हरिराम अधिकारी र महासचिव संगिता पौडेलले हस्ताक्षर गरेकी थिइन् भने चरक ममोरियल हस्पिटलको तर्फबाट अध्यक्ष रामचन्द्र रेग्मी र प्रबन्ध निर्देशक कपिल पोखरेलले हस्ताक्षर गरेका हुन् ।    द्विपक्षीय सम्झौता अनुसार फार्मेसिमा ५ प्रतिशत, बेड, ल्याव, रेडियोलोजी, शल्यक्रियामा १० प्रतिशत, होलबडी जाँचमा २५ प्रतिशत तथा यूरोप तथा अमेरिकामा भ्रमणका लागि १ लाख बराबरको हवाई टिकेट जारी गर्ने सदस्यहरुलाई समेत होलबडी जाँचमा २५ प्रतिशत सहुलियत प्रदान गरिने छ ।   उक्त सम्झौता हाललाई १ बर्ष सम्मको लागि गरिएको र आगामी वर्षपनि  निरन्तरता दिदैं जाने नाट्टाकी महासचिव संगीता पौडेलले जानकारी दिइन् ।      सम्झौता हस्तारक्षर कार्यक्रममा नाट्टा गण्डकी प्रदेशका कार्यसमिति, पुर्व अध्यक्ष, परिषदका संयोजक बासुदेब त्रिपाठी, हस्पिटलका डाक्टरहरु एवं प्रशासकीय अधिकृत लगायतको उपस्थिति रहेको थियो ।