पर्वत : पर्वतका अधिकांश पानीका मुहानमा दिसामा हुने जीवाणु ‘कोलीफर्म’ को मात्रा उच्च रहेको पाइएको छ । जिल्लाका सात स्थानीय तहमा मुहानको पानी परीक्षण गर्दा अधिकांश मुहानको पानीमा ‘कोलीफर्म’ रहेको पाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो । यो नतिजाले जिल्लाका अधिकांश नागरिकले दूषित पानी खाइरहेको र यसले स्वास्थ्यमा असर गरिरहेको उहाँको भनाइ छ । “कोलिफर्मका कारण झाडापखाला, हैजा, भाइरल ज्वरो, रुघाखोकीलगायत रोगको सङ्क्रमण हुने खतरा बढेको छ । यसले मानवीय स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ”, पौडेलले भन्नुभयो, “हिउँदको समयमा भन्दा बर्खायामको समयमा ‘कोलिफर्म’ बढी भेटिन्छ । वर्षाका कारण बगेर आएको पानीले पानीको स्रोतमा जमिनको सतहमा रहेको फोहरसहितको पानी मिसाउँछ । एक ठाउँको फोहर बगेर अर्को ठाउँमा जान्छ ।” ल्याब टेक्निसियन मुना सापकोटाका अनुसार खानेपानीका स्रोतमा दिसामा पाइने उक्त जीवाणु उच्चमात्रामा रहेको पाइएको छ । उहाँका अनुसार कुस्मा नगरपालिकाभित्रका विभिन्न ३१ ठाउँमा रहेका पानीका स्रोतमा गरिएको परीक्षणका क्रममा ८० प्रतिशत, फलेबास नगरपालिकाभित्रका विभिन्न १४ ठाउँमा रहेका पानीका स्रोतको परीक्षण गर्दा तीमध्येका ७८ प्रतिशत, मोदी गाउँपालिकाका १५ ठाउँको पानी परीक्षण गर्दा तीमध्येका ६६ प्रतिशत, महाशिला गाउँपालिकाका १३ मुहानको पानी परीक्षण गर्दा तीमध्येका ६१ प्रतिशत, पैँयु गाउँपालिका १४ मध्ये ५७ प्रतिशत र बिहादी गाउँपालिकाका १२ मध्ये ७५ प्रतिशत मुहानको पानीमा ‘कोलिफर्म’ फेला परेको छ । झाडापखाला, हैजा, भाइरल ज्वरो, रुघाखोकीलगायत रोगको सङ्क्रमणबाट जोगिनका लागि पानीलाई शुद्धीकरण गर्नुपर्ने पर्वत अस्पतालका चिकित्सक डा सुरज नेपालीले बताउनुभयो । “कोलिफर्मयुक्त पानी पिउँदा दिसाजन्य रोगले महामारीको रूप लिनसक्ने हुन्छ । यसबाट जोगिनका लागि उपभोक्ता स्वयंले पानीको शुद्धीकरणमा ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “यो बर्खाको बेलामा कोलिफर्म मात्र नभई अरू कारणले पनि पानी दूषित बनेको हुन्छ । यो जमिनमा भएको फोहर बाढीले बगाउँदै पिउने पानीमा मिसाएको हुन्छ । जसमा धेरै प्रकारका सङ्क्रमणको जोखिम रहेको हुन्छ । त्यसैले पानी राम्रोसँग उमालेर, फिल्टर गरेर वा अन्य उपाय अपनाएर शुद्ध बनाएर पिउनुपर्छ ।”
भरतपुर ः जिल्लामा रहेका एचआइभी सङ्क्रमितममा यौनरोगको समस्या देखिएको छ । नौ दशमलव २५ प्रतिशत एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या देखिएको छ । भरतपुर अस्पतालमा रहेको एन्टिरेक्ट्रो भाइरल थेरापी सेन्टरका अनुसार विगत ६ महिनामा १०८ सङ्क्रमितको परीक्षणका क्रममा उनीहरुमा यौनरोगको समस्या देखिएको हो । सेन्टरका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार परीक्षण गरिएकामध्ये १० जनामा यो समस्या देखिएको छ । उनीहरुमा भिरिङ्गी, गोनोरीया, सेतोपानी बग्ने, छालामा खटिरा आउनेलगायत समस्या देखिएको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय यौनरोगको समस्या असुरक्षित यौन सम्पर्क र यौनाङ्गको हेरचाहमा ध्यान नदिँदा भएको पाइएको सापकोटाले बताउनुभयो । एचआइभी सङ्क्रमितमा यसअघि यो समस्या नदेखिएको उहाँको भनाइ छ । भरतपुर अस्पतालका फिजिसियन डा प्रमोद पौडेलले एचआइभी सङ्क्रमित भएर पनि नियमित औषधि सेवन गर्नेमा यौनरोग देखिए पनि खासै समस्या नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “औषधि नखाएकामा देखा परेमा फैलन सक्ने समस्या हुन्छ ।” अहिले यौन रोगको समस्या औषधि सेवन गरिरहेकामा देखिएको उहाँले जानकारी दिनुभयो । जिल्लामा पछिल्लो ६ महिनामा ५७ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा मात्रै ३७ जनामा पुष्टि भएको हो । अहिले जिल्लामा एक हजार ७३ जनाले एचआइभी एड्स प्रतिरोधात्मक औषधि एआरबी सेवन गर्दै आएका छन् । सोही अवधिमा यहाँबाट औषधि सेवन गरिरहेका २२ जनाले अन्य जिल्लाबाट औषधि खानका लागि सिफारिस लगेका छन् । यस्तै ६ एचआइभी सङ्क्रमित आमाले स्वस्थ बच्चा जन्माएको सापकोटाले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये नौ जनाको मृत्यु भएको छ भने ६ जनामा हेप्पटाइटिस सि देखा परेको छ ।
पोखरा: मणिपाल अस्पतालमा जारी आन्दोलनको विषयमा बसको त्रिपक्षीय वार्ता आज पनि (मंगलबार) निष्कर्ष विहिन टुङ्गिएको छ । अस्पतालका कर्मचारीले प्रशासनसँग विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन आज २६ दिन बितिसक्दा पनि अस्पताल व्यवस्थापन समिति, कर्मचारी र बतास समूहका प्रतिनिधिबीच भएको त्रिपक्षीय वार्ता निष्कर्ष विहिन टुङ्गिएको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन मनिपाल इकाईका अध्यक्ष अमृत पौडेलले सुनगाभा न्यूजलाई जानकारी दिए । उनका अनुसार बतास समूहका प्रतिनिधि नारायण पौडेल, रमेश पराजुली, अस्पताल व्यवस्थापन समिति र कर्मचारीबीच वार्ता भएको थियो । तर वार्ता त्रिपक्षीय वार्ता निष्कर्ष विहिन भएपछि पुन: भोली (बुधबार) वार्ता बस्ने गरि स्थगित भएको हो । आन्दोलन किन ? सन् २०१० मा कर्मचारी संगठनहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको, अस्पतालले कर्मचारीहरुलाई किरिया बिदा नदिएको, सुत्केरी र स्याहार बिदा नदिएको, सञ्चित बिदा र अत्रिरिक्त ड्युटीबापतको रकम नदिएको, उपदान नदिएको र समय अनुसार कर्मचारीको तलब वृद्धि नगरेको उनीहरुले जनाएका छन् । यसको विपरीत अस्पताल प्रशासनले नेपाल सरकारको श्रम ऐन अनसार सबै सेवा दिएको भन्दै अडिग रहेको छ ।
काठमाण्डौँ : उपत्यकाको खानेपानी प्रदूषित भएको कारणले हैजा देखिएको पाइएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजा रोगबारे गरिएको छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले खानेपानी प्रदूषित भएकाले हैजा देखिएको बताउनुभयो । महाशाखाले हैजा देखिएको ठाउँ बागबजार, डिल्लीबजार र सानेपामा रहेका पानी परीक्षण गरेको थियो । उहाँले धारापानी, जार, टु्यूवेल, बोरिङको पानी परीक्षण गर्दा प्रदूषित पाइएको बताउनुभयो । उहाँका अनुसार वागबजारको खानेपानी प्रदूषित रहेको छ । यस्तै सानेपामा परीक्षणका क्रममा ६२ प्रतिशत प्रदूषित भेटिएको उहाँले जानकारी दिनुभयो । “पानी कसरी प्रदूषित भयो भनेर हामीले अध्ययन गरिरहेका छौँ”, उहाँले भन्नुभयो,“अध्ययनका लागि सबै ठाउँको पानीको नमूना सङ्कलन गरिरहेका छौँ ।” यस्तै बूढानीलकण्ठ नगरपालिकाले गरेको पानीको परीक्षणमा ७२ प्रतिशत प्रदूषित र जारको पानी १५ प्रतिशत प्रदूषित भेटिएको छ । नगरपालिकाले जार, ढुङ्गेधारा, बोरिङको पानी परीक्षण गरेको थियो । यस्तै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पनि विभिन्न ठाउँको १० वटा खानेपानीको नमूना परीक्षण गरिरहेको छ । महाशाखाका निर्देशक डा दासले बल्खु र कोटेश्वरको पानीको सातवटा नमूना लिई परीक्षण भइरहेको जानकारी दिनुभयो । उहाँले महाशाखा र काठमाडौँ उपत्यका खानेपानी कम्पनी लिमिटेडसँग मिलेर खानेपानीको परीक्षण भइरहेको बताउनुभयो । महाशाखाका निर्देशक डा दासले हैजाको सम्भावित रोकथाम र नियन्त्रणका लागि अस्पतालहरुलाई तयारी अवस्थामा राखिएको बताउनुभयो । १२ जनामा हैजा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दीपेन्द्ररमण सिंहले अहिलेसम्म १२ जनामा हैजा पुष्टि भइसकेको जानकारी दिनुभयो । तीमध्ये ८ जनाको निको भएर घर फर्किसकेका छन र चार जना उपचाररत रहेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र वयोधा अस्पतालमा ती बिरामीको उपचार भइरहेको छ । सबैभन्दा पहिले असार ५ गते बागबजारका दुई जना युवतीमा हैजा पुष्टि भएको थियो ।
काठमाडौं : काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या १० पुगेको छ । नैकाप र पाटनमा थप एक–एक जना हैजाका बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । कार्यालय स्रोतका अनुसार पाटनमा भेटिएका बिरामीमा गरिएको आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको छ । तर, कल्चर रिपोर्ट आउन बाँकी छ । नैकापका बिरामीको भने भने कल्चर रिपोर्ट पनि पोजिटिभ देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुसार यसअघि बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटका मानिसमा हैजा पुष्टि भइसकेको छ । जनस्वास्थ्यविद्हरुले संक्रमणको स्रोत पत्ता नलाग्नु वा धेरै स्थानमा हैजाका बिरामीका देखा पर्नु हैजा महामारीकै रुपमा फैलनसक्ने पूर्वसंकेत देखिएको बताएका छन् । आइतबारबाट जिल्ला प्रशासन कार्यालय काठमाडौंले वितरण हुने जार, बोतल तथा टयांकर व्यवसायीहरुको वितरित पानी गुणस्तर अनुगमन गर्ने भएको छ । नैकाप र पाटनमा थप एक–एक जना हैजाका बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । कार्यालय स्रोतका अनुसार पाटनमा भेटिएका बिरामीमा गरिएको आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको छ । तर, कल्चर रिपोर्ट आउन बाँकी छ । नैकापका बिरामीको भने भने कल्चर रिपोर्ट पनि पोजिटिभ देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुसार यसअघि बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटका मानिसमा हैजा पुष्टि भइसकेको छ । जनस्वास्थ्यविद्हरुले संक्रमणको स्रोत पत्ता नलाग्नु वा धेरै स्थानमा हैजाका बिरामीका देखा पर्नु हैजा महामारीकै रुपमा फैलनसक्ने पूर्वसंकेत देखिएको बताएका छन् । आइतबारबाट जिल्ला प्रशासन कार्यालय काठमाडौंले वितरण हुने जार, बोतल तथा टयांकर व्यवसायीहरुको वितरित पानी गुणस्तर अनुगमन गर्ने भएको छ ।
पोखरा : प्रभु बैँक लिमिटेड क्षेत्रिय कार्यालय पोखराले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ७५ युनिट रगत संकलन भएको छ । “रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने नारासहित रगत अभावलाई परिपूर्ति गर्ने उद्देश्यले बैँकले आयोजना गरेको रक्तदान कार्यक्रममा ७५ युनिट रगत संकलन भएको हो । नेपाल रेडक्रस सोसाइटी, क्षेत्रीय रक्तसंचार सेवा कास्कीको समन्वय तथा पोखरा न्यूरोड स्थित प्रभु बैँक लिमिटेडको क्षेत्रिय कार्यालय परिसरमा सम्पन्न रक्तदानमा ७५ जनाले रक्तदान गरेको बैँकका गण्डकी प्रदेश प्रमुख राजु राना मगरले जानकारी दिए । पोखरामा पछिल्लो समय रगतको अभाव हुदै गएकाले यस रक्तदानले आवश्यक भएका विरामीहरुको जीवनमा अमुल्य योगदान पुग्ने क्षेत्रीय रक्तसंचार सेवाका वरिष्ठ प्राविधिक महेन्द्र केसीले बताए ।
काठमाण्डौँ : पछिल्लो दिन कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार आज ४९ जनामा सङ्क्रमण पुष्टि भएको छ । बुधबार ३१ जना र मङ्गलबार १९ जनामा सङ्क्रमण देखिएको थियो । पछिल्लो २४ घण्टामा दुई हजार ४९४ नमूना परीक्षण गर्दा ४९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । सो अवधिमा १२ जना सङ्क्रमणमुक्त भएका छन् । हाल १६३ जना सक्रिय सङ्क्रमित छन् । आज ८५ हजार ६५७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्म ११ लाख १९ हजार ८६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ भने ११ हजार ९५२ जनाको सङ्क्रमणबाट ज्यान गएको छ ।
पोखरा: तिजोरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पोखरा महानगरपालिका १७ विरौटामा आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ युनिट संकलन भएको छ । संस्थाको २३ औ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ५२ युनिट संकलन भएको हो । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रबहादुुर बुढामगर (सागर) ले संस्थाका सल्लाहकार सुवास ढुंगानालाई ब्लडव्याग हस्तान्तरण गरेर रक्तदानको शुभारम्भ गरे । सो अवसरमा बोल्दै कृषि मन्त्री बुढामगरले गण्डकी प्रदेशले अस्पतालहरुमा रगत जन्य पदार्थहरु निशुल्क बनाउन नीति तथा कार्यक्रम निर्माण गरिसकेको बताए । ‘गण्डकी प्रदेशका महिलाहरुमा देखापर्ने जटिल खालका रोगको उपचारमा सहयोग गर्न प्रदेश सरकारले विशेष योजना निर्माण गरेको छ, मन्त्री बुढाले भने, ‘त्यसको अन्तिम चरणमा छौ । यथाशिघ्र कार्यान्यवनको पाटोमा लाग्छौं ।’ मन्त्री बुढामगरले देशमा सहकारीहरुले आफ्नो कार्यक्षेत्र विस्तारसँगै विभिन्न क्षेत्रमा लगानी गरेर आर्थिक समृद्धिमा सहयोग पुर्याउनुपर्ने धारणा राखेका थिए । यसैगरि कार्यक्रममा चेम्बर आफ कमर्श गण्डकी प्रदेशका अध्यक्ष किसान सुनारले उक्त रक्तदानबाट रगतको अभावलाई पूर्ति गर्न केही टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले बेडमा छटपटाइरहेको बिरामीहरुको रगत अभावलाई रक्तदानबाट संकलित रगतले थप राहात पुग्ने बताए । ‘रगत कुनै पनि प्रविधिले बनाउन नमिल्ने भएकाले हामीमा खेर जाने रगतलाई रक्तदान गर्दा जो कसैलाई पनि थप सहयोग पुग्छ, उनले भने, ‘रक्तदान जिवनदान, जिवनदान महादान हो त्यसैले तपाईहरु उदाहरणीय पात्र हुनुहुन्छ ।’ संस्थाका सेयर सदस्यहरु, पढाधिकारीहरु, व्यवसायीहरु र सर्वसाधारणहरुको सहभागिता रहेको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोग रहेको थियो । जनप्रतिनिधिदेखि कर्मचारीसम्म सम्मानित वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रममा बजार प्रतिनिधि कल्पना रानाभाट , व्यवस्थापक सन्तोष विश्वकर्मा, उत्कृष्ट बचतकर्ता ओमकार प्रसाद शर्मा , उत्कृष्ट कर्जा जनार्दन शर्मा र जननिर्वाचित संस्थाका सल्लाहकार राधिका शाही योगीलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार सुभाष ढुङ्गाना, नेपाल बचत तथा ऋण संघका प्रतिनिधि यामकला सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । तिजोरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष माया विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष मान बहादुुर विश्वकर्माको स्वागत मन्तव्य व्यक्त गरेका थिए भने जमुना वर्षा शर्माले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
दाङ : दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखाको क्यान्सरको सफल शल्यक्रिया भएको छ । शरीरका विभिन्न भागमा फैलिँदै गरेको आँखाको क्यान्सरको आँखा रोग विशेषज्ञको टोलीले शल्यक्रिया गरेको हो । आखाँमा ट्युमर पलाई लामो समयदेखि पीडित रहनुभएका तुलसीपुर उपमहानगरपालिका–१४ निवासी प्रेमबहादुर वलीको शल्यक्रिया गरिएको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार साबिक राप्तीमै पहिलो पटक प्रतिष्ठानमा यो शल्यक्रिया सफल भएको हो । वलीले अर्को आँखा पहिलेदेखि नै नदेख्ने हुनुहुन्थ्यो । त्यसपछि उहाँले भरतपुर क्यान्सर अस्पतालसहितका अस्पतालमा उपचार गराउँदा पनि सम्भव हुन सकेको थिए । त्यसपछि वली राप्ती आँखा अस्पताल रक्षाचौर आएपछि त्यहा कार्यरत आँखा क्यान्सर विशेषज्ञ तथा अकु प्लाष्टिक सर्जन डा सुरेश रसाइली नेतृत्वको नेत्र चिकित्सक, असिस्टेन्ट शान्ता रेग्मी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका एनेस्थेसियेलोजिष्ट डा कुन्दन घिमिरेको टोलीले प्रतिष्ठानमा बिरामीको आँखाको गेडीलगायत सबै क्यान्सर निकालेर शल्यक्रिया गरेको हो । उच्च जोखिम लिएर आफूहरुले प्रतिष्ठानमा सफल शल्यक्रिया गरेको शल्यक्रियामा संलग्न आँखा रोग विशेषज्ञ चिकित्सक रसाइलीले बताउनुभयो । आँखा अस्पताल रक्षाचौरमा सामान्य शल्यक्रिया हुने गरेको भए पनि पूरै बेहोस बनाएर शल्यक्रिया हुँदैन । प्रतिष्ठानमा एनेस्थेसियासहितका चिकित्सक र पूरै अत्याधुनिक शल्यक्रिया कक्ष भएकाले पनि शल्यक्रिया गर्न सहज भएको डा रसाइलीले बताउनुभयो । आँखाको क्यान्सर फैलिएपश्चात् बिरामीको दिमागमा र अन्य शरीरका भागमा असर गर्ने भएकाले बिरामीको जीवन बचाउन शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ ।