पोखरा: सूर्य नेपाल गाथा नेपाल लिटरचेर फेस्टिभलको एघारौं संस्करण आउँदो फागुन ३ देखि ७ गतेसम्म बाराहीघाट, लेकसाइड पोखरामा आयोजना हुँदै छ। सूर्य नेपाल प्रालिको उपक्रम सूर्य नेपाल गाथाको मुख्य सहयोगमा यस वर्षको फेस्टिभल आउँदो फागुन ३ देखि ७ गतेसम्म बाराहीघाट, लेकसाइड पोखरामा आयोजना हुन लागेको हो । यस वर्षको फेस्टिभलको प्रवद्र्धकमा पोखरा महानगरपालिका रहेको आयोजक संस्था बुकवर्म फाउन्डेसनले जनाएको छ । फेस्टिभलका अघिल्ला संस्करण झैं यस वर्ष पनि देशविदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वको उपस्थिति रहनेछ । फेस्टिभलमा ५५ भन्दा बढी सेसन, साङ्गीतिक साँझ र थप रोचक सामग्री समावेश गरिनेछन् । फेस्टिभलमा दैनिक हजारौं साहित्यानुरागी भेला हुने आयोजकको आकलन छ । वात्स्यायन एन्ड बाब्र्स भोल्युम टू पुस्तक विमोचन एवम् कार्टुन प्रदर्शनी, गोर्खा वुमनः एन इको इन द स्टोरी प्रदर्शनी पनि फेस्टिभलका अवसरमा गरिने आयोजकले जनाएको छ । यस वर्ष फेस्टिभलमा विश्वप्रसिद्ध पुस्तक ‘अमेरिकन प्रोमिथियसः द ट्रायम्फ एन्ड ट्र्याजिडी अफ जे रबर्ट ओपनहाइमर’का सहलेखक काई बर्डको सहभागिता हुँदै छ । उनको यस पुस्तकले विश्वप्रसिद्ध ‘पुलिट्जर प्राइज’ समेत जितेको थियो । उनको यस पुस्तकमा आधारित ओपनहाइमर चलचित्र बनेको छ । क्रिस्टोफर नोलनले निर्देशन गरेको यो चलचित्र सन् २०२३ को बक्स अफिसमा ब्लकबस्टर बनेको थियो । ९६औं अस्कर अवार्डमा यो फिल्म १३ विधामा मनोनीत भएको छ । प्रसिद्ध भारतीय लेखिका ज्यानिस प्यारियट पनि फेस्टिभलमा आउँदै छिन् । उनको पुस्तक एभ्रिथिङ द लाइट टचेजका बारेमा उनले फेस्टिभलमा चर्चा गर्नेछिन् । उनको यस पुस्तकले सन् २०२३ मा उत्कृष्ट आख्यानका लागि ‘सुशीलादेवी अवार्ड’ पाएको थियो । विश्वप्रसिद्ध समालोचक एवम् उपन्यासकार चन्द्रहास चौधरी पनि फेस्टिभलमा आउँदै छन् । उनले क्लाउड्स र अर्जी द ड्वार्फ पुस्तक लेखेका छन् । उनको अर्जी द ड्वार्फ पुस्तक ‘कमनवेल्थ फस्ट बुक प्राइज’ का लागि सर्टलिस्टसमेत भएको थियो । यस वर्षको फेस्टिभलमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको विद्वत्प्रवचन रहने आयोजकले जनाएको छ । उनले ‘संविधान र सुशासन’ विषयमा विद्वत्प्रवचन दिने कार्यक्रम छ । यस्तै फेस्टिभलमा पत्रकार विजय कुमार, सांसद एवम् अर्थशास्त्री डा. स्वर्णिम वाग्ले, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, सांसद सुमना श्रेष्ठ, पूर्वमिस नेपाल शृङ्खला खतिवडालगायतको सहभागिता रहनेछ । यसैगरी अर्थमन्त्री डा। प्रकाशशरण महत, पूर्वअर्थमन्त्रीहरू वर्षमान पुन, सुरेन्द्र पाण्डेलगायतको पनि उपस्थिति रहनेछ । नेता सिके राउत, लेखक खगेन्द्र संग्रौला, प्रा.डा. कुन्दन अर्याल, पत्रकार भूषण दाहाल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सांसद एवम् उद्योगी विनोद चौधरी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, योगी विकासानन्द, पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्याल, रोहिणी राणा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल, पूर्वबैङ्कर अनिलकेशरी शाह, प्रा. कुसुम शाक्य, नेत्री समीक्षा बास्कोटालगायतको पनि सहभागिता रहनेछ । गायक बद्री पङ्गेनी, गजलकार एवम् लेखक शीतल कादम्बिनी, कवि डा। नवराज लम्साल, लेखक अमर न्यौपाने, लेखक कुमार नगरकोटी, गजलकार सङ्गीता थापा, गजलकार सुमन स्मारिकालगायतको सहभागिता पनि रहने आयोजकले जनाएको छ । फेस्टिभलमा हरेक दिन साङ्गीतिक प्रस्तुति छन् । फेस्टिभलमा कुटुम्ब ब्यान्ड, डा। ध्रुवेशचन्द्र रेग्मी र उनको समूह, डा। सुमन थापा र द ब्लू फ्रेट ब्यान्ड, विपुल क्षेत्री र उनको द ट्राभलिङ ब्यान्ड आदि समूहको कन्सर्ट हुँदैछ । फेस्टिभलका अवसरमा लेखक कुमार नगरकोटीले कुटुम्ब ब्यान्डसँग रिसाइटेसन कार्यक्रमसमेत छ । फेस्टिभलको पहिलो दिन फागुन ३ मा दिउँसो साढे दुई बजेदेखि उद्घाटन सत्र सञ्चालन हुनेछ । उक्त दिन कार्टुन प्रदर्शनीदेखि विद्वत्प्रवचनलगायत कार्यक्रम सञ्चालन हुनेछन् । फेस्टिभलमा फागुन ४ देखि ७ सम्म बिहान १० बजेदेखि साँझ ७ बजेसम्म विभिन्न सत्र सञ्चालन हुनेछन् । कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढिरहेको र एघारौं संस्करणको फेस्टिभलमा आफूहरू देशविदेशबाट पाल्नुहुने हाम्रा सबै पाहुनाहरूलाई सुन्दर नगरी पोखरामा स्वागत गर्न आफूहरू आतुर रहेको आयोजक संस्थाका भरत कोइरालाले बताए । पोखरा र नेपाल लिटरेचर फेस्टिभल पर्याय बनिसकेको उनको भनाइ छ । यसैगरी आयोजक संस्थाका केशवशरण लामिछानेले नेपाल लिटरेचर फेस्टिभल पोखरामा एउटा ब्रान्डका रुपमा स्थापित भइसकेको जनाए । ‘पोखरेलीले यसलाई अपनत्व ग्रहण गरिसकेका छन्,’ उनले भने, ‘पोखराका लागि कुनै एउटा बहुप्रतीक्षित फेस्टिभल छ भने, नेपाल लिटरेचर फेस्टिभल नै हो ।’ नेपाल लिटरेचर फेस्टिभलले पोखरालाई सभ्य एवम् सुसंस्कृत सहर बनाउँदै लगेको उनको भनाइ छ । तालको सहर, हिमालमुनिको सहर आदि विभिन्न विशेषताले चिनिरहेको पोखरालाई साहित्यको पनि सहर बनाउन फेस्टिभलको महत्वपूर्ण भूमिका रहेको उनले जनाए । ‘यस्ता फेस्टिभल अरू पनि यहाँ आयोजना हुनुपर्छ । यसले पोखरालाई फरक पहिचान दिन्छ । हामीले भनिरहेको हिमाल, ताल र सौन्दर्यको सहर पोखरालाई साहित्यको सहर पनि बनाउन फेस्टिभलले सघाइरहेको छ,’ उनले भने । यसैगरी पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ, कास्कीकी अध्यक्ष विमला भण्डारीले यति बेला पोखरा शब्दहरूले दुलही जसरी सिँगारिएको बताइन् । ‘यहाँ यति बेला विचारहरूको ठूलाठूला महल ठडिँदै छन्,’ उनले भनिन्, ‘पोखरा यसै पनि कला–साहित्यको सङ्गम हो । गीत सिर्जनादेखि विभिन्न कलाकर्मका लागि मानिस खोजीखोजी पोखरा आउँछन् । यहाँको प्रकृति नै यस्तो छ, जसले जोकसैलाई सजिलै सिर्जनात्मक बनाइदिन्छ ।’ कला, साहित्यदेखि राजनीति र दर्शनसम्मको भोक जगाइदिने अनि मेटाइदिने अवसर फेस्टिभलले दिएको भण्डारीको भनाइ छ । सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट सुरु भएको फेस्टिभल एघारौं संस्करणसम्म आइपुग्दा नेपाल ट्रस्टको स्वामित्वमा रहेको बाराहीघाटमा भव्यतासाथ आयोजना हुने अवस्थामा आइपुगेको नेपाल लिटरेचर फेस्टिभलका निर्देशक नीरज भारीले बताए । यस्ता फेस्टिभलमा हुने सामाजिक बहस र विमर्शले देशका उच्चपदस्थ व्यक्ति एवम् सरोकारवालालाई जवाफदेही बनाउन सघाउने उनको भनाइ छ । साथै सचेत समाज निर्माणमा पनि यसले विशेष भूमिका निर्वाह गर्ने उनले बताए । समाजलाई मार्गदर्शन गर्नुका साथै लोकतन्त्रलाई शक्तिशाली बनाउन पनि यस्ता फेस्टिभल आवश्यक भएको महसुस गरेको आफूहरूले बर्सेनि यस्तो फेस्टिभल गरिरहेको छ । ले सहयोग पु¥याउने उनले बताए । ‘कोभिडका कारण यसअघिको संस्करण आयोजना गर्न नपाए पनि यस वर्षको फेस्टिभल आयोजना गर्न पाउँदा हामीलाई हर्षित तुल्याएको छ ।’ फेस्टिभल दक्षिण एसियाकै एउटा समावेशी मञ्च बन्दै गएकामा आफूहरू गौरवान्वित भएको पनि भारीले जनाए । ‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको नेपाल लिटरेचर फेस्टिभलले कला, साहित्यको मात्रै प्रवद्र्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको हाम्रो अनुभव छ । फेस्टिभललाई सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको उनको भनाइ छ ।
सोलखुम्बु: सोलुखुम्बुमा वृद्धभत्ता लिन आएका एक वृद्धको बाटोमै मृत्यु भएको छ । वृद्धभत्ता लिन सल्लेरी आएर घर फर्कने क्रममा सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङका ८५ वर्षीय सिद्धिबहादुर मगरको बुधबार सिसाखोला पुग्दा जीपमै ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार सोलुदूधकुण्ड–९ सिसाखोलामा खाजा खाने क्रममा मगर नआएपछि हेर्न जाँदा उनी जीपमै मृत भेटिएका थिए । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ ।
पोखरा: पोखरा महानगरपालिका १४ नम्बर वडा कार्यालयले महानगरपालिकामै पहिलो पटक स्थानीय महोत्सवको आयोजना गर्ने भएको छ । आगामी फागुन ६ र ७ गते स्थानीय स्तरमा उत्पादित कृषिजन्य उपज तथा मौलिक कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको पक्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । पोखरा महानगरपालिका–१४ छिनडाँडा स्थित शुक्रराज बलभद्र माविको खेलमैदानमा आयोजना हुने महोत्सवमा निशुल्क स्टलको व्यवस्था गरिने वडाध्यक्ष बोध बहादुर कार्कीले जानकारी दिए । उनले स्थानीय व्यवसायीहरुको व्यवसाय प्रवद्र्धन, स्थानीय मौलिक कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले पोखरा–१४ ले पहिलोपटक महोत्सव आयोजना गर्न लागेको कार्कीले बताए । ‘महोत्सवको मुख्य उद्धेश्य भनेको स्थानीय व्यवसायीहरुको व्यवसाय प्रवद्र्धन गर्ने हो । महोत्सवमा स्थानीय उत्पादनलाई मात्र प्राथमिकता दिएका छौं, वडाध्यक्ष कार्कीले भने, ‘पोखरा–१४ मा उत्पादन हुने कृषि जन्य उपजको व्यवसायीकरण एवं बजारीकरण, स्थानीय व्यवसायीको उत्पादन तथा व्यवसाय प्रवद्र्धन गर्ने वडाको मूख्य उद्धेश्य रहेको छ । यसले कृषकहरुमा थप उर्जा मिल्ने विश्वास लिएका छौं ।’ वडाध्यक्ष कार्कीले गत आर्थिक वर्षमा स्थानीयहरुलाई विभिन्न व्यवसायीक तालिमहरु प्रदान गरेकाले तालिममा सिकेको विषयहरुसमेत महोत्सवमा प्रदर्शन गरिने उल्लेख गरे । उनका अनुसार सो महोत्सवमा करिव १ सय ५० वटा स्टल रहनेछन् भने सबै स्टलहरु निशुल्क रहनेछन् । ‘महोत्सवमा करिव १ सय ५० वटा स्टल निर्माण गर्दै छौं, निशुल्क रुपमा स्टलमा स्थानीयहरुले उत्पादन गरेका कृषि उपजसँगै अन्य व्यापार व्यवसायको प्रवद्र्धन गर्नुहुन्छ’, उनले भने, ‘महोत्सवमा स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने मुख्य उद्धेश्य हो ।’ पोखरा महानगरपालिका–१४ ले पहिलो पटक आयोजना गरेको प्रथम स्थानीय महोत्सवमा स्थानीय मौलिक कला र संस्कृतिको जगेर्ना गर्ने, आपसी सद्भाव र मित्रताको अभिवृद्धि गर्ने, खेलकुद संस्कृतिको विकास र स्थानीय पर्यटकीय स्थलको पहिचान र प्रचारप्रसार गर्ने उद्धेश्य राखेको छ । दुइदिनसम्म सञ्चालन हुने महोत्सवमा करिव २५ लाख खर्च हुने अनुमान छ । महोत्सव सम्पन्न गर्न वडाध्यक्ष कार्कीको संयोजकत्वमा २८ सदस्यीय उपसमिति गठन गरेको छ । महोत्सवमा विभिनन सांस्कृतिक, खेलकुद प्रतियोगितासँगै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती रहनेछ । यस्तै महोत्सवमा पोखरा महानगरपालिका–१४ भित्र रहेका सामुदायीक तथा निजी विद्यालय, टोल, समूह, युवा क्लब र विभिन्न व्यवसायीक फर्महरुको व्यवसायीक प्रवद्र्धन हुने वडा कार्यालयले जनाएको छ ।
स्याङ्जा: स्याङ्जाको वालिङमा सञ्चालित महोत्सवमा केराका थामबाट बनाइएका सामग्रीमा दर्शकको आकर्षण बढेको छ । वालिङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको आठौँ वालिङ महोत्सवस्थलमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराका थामबाट बनाएका सामग्री अवलोकन तथा खरिद गर्नेको घुइँचो बढेको हो । उद्योग वाणिज्य सङ्घले कृषि तथा हस्तकलाका सामग्री प्रदर्शनका लागि निःशुल्क उपलब्ध गराएको व्यापारिक कक्षमा गाउँपालिकाले बनाएका हस्तकलाका सामग्री प्रदर्शन गरिएको हस्तकला तथा स्थानीय उत्पादन व्यवस्थापन समितिका संयोजक पीताम्बर भुसालले बताउनुभयो । स्थानीय उत्पादनको प्रचार–प्रसार, प्रोत्साहन, प्रवर्द्धन तथा व्यापारीकरणका लागि आयोजकले निःशुल्क ३० कक्ष उपलब्ध गराएको हो । “महोत्सवमा हस्तकला, कृषि तथा पशुजन्य उत्पादनको प्रदर्शनी र प्रतिस्पर्धाका लागि राखिएको छ”, उहाँले भन्नुभयो, “हस्तकला तथा कृषिजन्य उत्पादनको प्रदर्शनीले मेलामा आउने दर्शकको ध्यान तानेको छ ।” गाउँपालिकाले त्यसै खेर गइरहेका केराका थामबाट चकटी, गलैँचा, मोडा, चप्पल, सोली, ढकिया, काँचो कपडा, खादालगायत हस्तकलाका सामग्री प्रदर्शनमा राखेको छ । गाउँपालिकाको तर्फबाट कक्षमा रहनुभएकी कृषि प्राविधिक कस्तुरी थापाले महोत्सवमा आउने दर्शकले निकै चासोका साथ सामग्रीको अवलोकन गर्नुका साथै खरिद गरेर लैजाने गरेको बताउनुभयो । गण्डकी प्रदेश र गाउँपालिकाको साझेदारीमा नवप्रवर्द्धन कोषमार्फत गाउँपालिकाभित्रका ३० जनालाई गत वर्ष तालिम दिइएको गाउँपालिकाका कृषि शाखा अधिकृत अनुप पौडेलले बताउनुभयो । गत वर्ष ‘केराको बहुउपयोगितासम्बन्धी परियोजना’ मार्फत केराका थामबाट हस्तकलाका सामग्री बनाउन ३० जनालाई ४५ दिने तालिम दिइएको हो । “तालिममा सहभागी भएकाहरूले उत्पादन गरेका हस्तकलाका सामग्रीलाई प्रचार–प्रसारका लागि महोत्सवस्थलमा राखेका हौँ”, उहाँले भन्नुभयो, “तालिमपश्चात् सिकेको सीपलाई व्यावसायिकरूपमा उत्पादन गर्नुभएका व्यक्ति तथा गाउँपालिका आफैँले उत्पादन गरेका सामग्री ‘स्टल’मा राखेका छौँ ।” केराका थामबाट हस्तकलाका सामग्री बनाउने स्थानीय आठ जनालाई गाउँपालिकाले रोजगारी दिएको छ । अहिले न्यूनतम मासिक पारिश्रमिक दिएर रोजगारी दिएको र आगामी वर्षमा उत्पादनका आधारमा पारिश्रमिक दिने तयारी गरिरहेको उहाँले बताउनुभयो । “हाम्रा बारी कान्लामा त्यसै खेर गइरहेका केराको थामको प्रयोग गरी विभिन्न हस्तकलाका सामग्री बनाउन सकिँदोरहेछ भन्ने देखाउनका लागि पनि यसले महत्त्वपूर्ण भूमिका खेलेको छ”, पौडेलले भन्नुभयो, “यहाँ उत्पादन भएका हस्तकलाका सामग्रीको बजारीकरणका लागि गाउँपालिकाले सहयोग गर्ने छ ।” गाउँपालिकाले यो अभियानलाई आवश्यक पर्ने कच्चा पदार्थका रूपमा रहेको केराका बोट वितरण गरेको छ । गाउँपालिकाभित्र करिब एक लाख बोट केरा रहेका र आगामी दिनमा थप गर्दै जाने उहाँले बताउनुभयो ।
ढोरपाटन: निसीखोला गाउँपालिका–९ की ममता घर्ती मगरको घर नजिकै खोला छ । खोला पारि गोठ र बारी छन् । दैनिक खोला पार गरेर पशुचौपायालाई घाँस पानी खुवाउन गोठमा पुग्नुपर्छ । तीन वर्षअगाडि खोलामा पुल थिएन । काठको साँघुको भरमा गोठ–घर गर्नुहुन्थ्यो । बर्खामा निसीखोला उर्लेर आउँदा समस्या हुन्थ्यो । तर अहिले निसीखोलामाथि झोलुङ्गे पुल निर्माण भएपछि वारपारमा सहज भएको छ । पुल निर्माण भएपछि वारपारका लागि मात्रै नभएर स्थानीयवासीको दैनिकी नै सहज बनेको छ । अधिकांश समय बारी र गोठामा बिताउने उहाँ दिनमा १०र१२ पटक खोला वारपार गर्नुहुन्छ । पुल नबन्दा खोलामा खसेर छिमेकीले ज्यान गुमाएको पीडा उहाँमा अझै छ । तर झोलुङ्गे पुल निर्माण भएपछि यहाँका स्थानीयले खोलामा परेर ज्यान गुमाउनु परेको छैन । खोला तर्दा बगाउँछ कि भन्ने पीरले पनि सताउन छोडेको छ । पुल बनेपछि मान्छेसँग पशुचौपायालाई समेत वारपार गर्न सहज भएको उहाँ बताउनुहुन्छ । पहिले बर्खाको समयमा धेरै पशुचौपाया खोलाले बगाई दिएको घर्ती मगरले बताउनुभयो । उहाँले विगतको सम्झना गर्दै भन्नुभयो, “हिउँदको बेलामा खोला सानो हुन्थ्यो र वारपार गर्न सकिन्थ्यो, बर्खामा बाढी आउँदा खोला तर्न सकिँदैनथ्यो, काठको साँघु हालेर खोला तर्ने गथ्र्यौं, साँघु तर्दा पनि धेरै खोलामा खसेर मरे ।” विसं २०७६ पछि निसीखोलामा झन्डै दुई दर्जन झोलुङ्गे पसल निर्माण भएका छन् । जसले यहाँका हजारौँ स्थानीयको दैनिकी सहज बनाइदिएको छ । गाउँपालिकाको ठाउँठाउँमा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीय हर्षित भएका छन् । गाउँपालिकाले जीर्ण बनेका पुल विस्थापित गर्ने र आवश्यक स्थानमा धमाधम नयाँ झोलुङ्गे पुल निर्माण गरिरहेको छ । निसीखोला गाउँपालिका–४ बडाचौरदेखि झिवाखोला बजार पुग्न जोगिथुम्कादेखि पाँच मिनेट लाग्ने गथ्र्यो तर पुल नहुँदा स्थानीयले झन्डै आधा घण्टा लगाएर अर्को पुल प्रयोग गर्न बाध्य थिए । अहिले जोगिथुम्पाका–बोहोरागाउँ स्वास्थ्य चौकी जोड्ने झोलुङ्गे पुल बनेपछि एकै छिनमा बजार पुगिन्छ । पुल नबन्दा गाउँबाट बजार झर्दा नागरिकले जोखिम मोलेर खोला नै तर्ने गरेको भन्दै अहिले पुल तर्न पाउँदा दङ्ग परेको स्थानीय तीर्थबहादुर क्षेत्रीले बताउनुभयो । पुल नबन्दा खोला वारपार गर्दा धेरै बालबालिका, महिला र ज्येष्ठ नागरिकले धेरै सास्ती खेप्दै आएका स्मरण गर्दै अहिले हिउँद बर्खा बाह्रै महिना वारपारमा सहज भएको उहाँ बताउनुहुन्छ । क्षेत्रीले भन्नुभयो, “लामो समयदेखि खोला तरेर बजार पुग्नु परेको थियो, समय–समयमा खोला तर्दा केही ज्यान पनि गुमाएँ तर यहाँ पुल बनेपछि यस क्षेत्रका खोलाले बगाएर कसैको मृत्यु भएको छैन, युवा जसोतसो खोला पार गरे पनि साना बालबालिका र बूढाबूढीलाई समस्या हुने गरेको थियो, धेरै समय लाग्थ्यो, तर अहिले समय छोटो समयमै बजार पुगिन्छ, कसैले पनि खोला तर्नु परेको छैन, पहिले धेरै ठाउँमा काठको फड्के हालेर मान्छे खोला वारपार गर्थे, अहिले धेरै ठाउँमा पुल बनेका छन् ।” चार वर्षको अवधिमा निसीखोलामा मात्रै १८ वटा झोलुङ्गे पुल बनेका छन् । आर्थिक वर्ष २०७५÷७६ देखि हालसम्म वडा नं १ मा लेवाङ्खोलाघाट, आङटारीघाट, माडाखोलाघाट, खनिबासघाट र आठबोरघाटमा झोलुङ्गे पुल निर्माण भएका छन् । वडा नं २ मा खोर्घाघाट, धौलाघाट र खग्रेनीघाटमा पुल निर्माण भएको निसीखोला गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नं ५ मा चुसिबाङघाट, सरिटाघाट, सेराबाङघाट र मगराखोलाघाटमा झोलुङ्गे पुल निर्माण भएका छन् । वडा नं ३ मा गहतेराखोलाघाट र ढुवाखोरघाट, वडा नं ४ मा कारीखोलाघाट, वडा नं ७ कुतखोलाघाट, सेलाखेतघाट र वडा नं ५ मा यारीखोलामा झोलुङ्गे पुल निर्माण गरेको गौतमको भनाइ छ । सङ्घीय सरकारको ८७ र गाउँपालिकाको १३ प्रतिशत लगानीमा १८ पुल निर्माण भएको उहाँले बताउनुभयो । पुल निर्माणका लागि करिब आठ करोड १० लाख खर्च भएको उहाँको भनाइ छ । आर्थिक वर्ष २०७९र८० देखि हालसम्म निर्माण भएका सातवटा झोलुङ्गे पुलको रु एक करोड ७६ लाख भुक्तानी दिन बाँकी रहेको गौतमले बताउनुभयो । सङ्घीय सरकारबाट आउने बजेट समयमै नआउँदा भुक्तानी गर्न नसकिएको उहाँको भनाइ छ । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगर विगतमा यस गाउँपालिका पछाडि पर्दा झोलुङ्गे पुल बन्न नसकेको भन्दै स्थानीय तह आएपछि छोटो समयमै धेरै पुल निर्माण गर्न सफल भएको बताउनुभयो । नागरिकको आवश्यकता र मागका आधारमा धेरै ठाउँमा पुल निर्माण गरेको भन्दै अब कुनै पनि नागरिकले पुल नभएका कारण खोलामा बगेर ज्यान गुमाउनु नपर्ने बताउनुभयो । निसीखोलामा स–साना दर्जनौँ खोला रहेको भन्दै सबै ठाउँमा पुल निर्माण गर्दै आएको उहाँको भनाइ छ । पुल निर्माण भएपछि घण्टौँको यात्रा पाँचरदश मिनेटमै छोटिएको अध्यक्ष घर्ती मगरले बताउनुभयो । “पाँच वर्ष अगाडिसम्म निसीखोला क्षेत्रमा थोरै मात्र झोलुङ्गे पुल थिए, थोरै पुलमा धेरै जनताले यात्रा गर्नुपर्ने बाध्यता थियो, ठाउँठाउँमा काठका साँघु हालेर खोला वारपार गर्ने गर्थे, त्यसी यात्रा गर्दै धेरैले ज्यानसमेत गुमाएँ,” उहाँले भन्नुभयो, “जब स्थानीय सरकार आयो त्यस यता धेरै पुल बने, अझै बन्ने क्रममा छन्, पुलले नागरिकलाई सहज बनाउने त भयो नै ज्यान पनि बचाउँछ, समय पनि बचाउँछ, आवश्यक पर्ने ठाउँमा पनि क्रमैसँग पुल बन्नेछन् ।”
काठमाडौं: सङ्घीय संसद् सचिवालयका नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले आज पद तथा गोपनियताको शपथ लिएका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पाण्डेयलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्याल उपस्थित थिए । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको संयुक्त सिफारिसमा पाण्डेयलाई मङ्गलबार सङ्घीय संसद्को महासचिवमा नियुक्त गरेका थिए ।
मकवानपुर: साढे तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको पुनःउत्पादन सुरु गरेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कच्चापदार्थ कोइलाको अभावमा विगत लामो समयदेखि सिमेन्ट उत्पादनलाई बन्द गर्नुपरेको उद्योग व्यवस्थापनले जनाएको छ । उद्योगमा आर्थिक संकट भएका कारणले बोलपत्र आह्वान गरी कोइला खरिद गर्न कठिनाइ उत्पन्न भएको सो उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए ल्याई सकिएको एवं अर्को चरणमा थप कोइला ल्याइने प्रक्रिया सुरु भइसकेको हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले जानकारी दिए । कोइला ल्याउने ढुवानीकर्तासँग उद्योग व्यवस्थापनले वैकल्पिक उपाय अवलम्बन गरी आपसी समझदारीका आधारमा थप कोइला उधारोमा ल्याइरहेको पनि उनले सुनाए। सिमेन्ट उत्पादन गर्न प्रयोग हुने क्लिङ्कर यन्त्र आजदेखि पुनःसञ्चालनमा ल्याइएको छ । उद्योगमा क्लिङ्कर उत्पादनका लागि दैनिक १०० मेट्रिकटन कोइला आवश्यक पर्दछ । यसैबीच सो उद्योगका महाप्रबन्धक पाण्डेले अब नियमित कोइला आपूर्ति भइरहने हुँदा निकट भविष्यमा उद्योग बन्द नहुने बताए। उद्योगमा साविक सिमेन्ट उत्पादन गर्ने क्षमता दैनिक १८ हजार बोरा रहेकामा हाल विभिन्न उपकरण जीर्ण भएको हुँदा अहिले दैनिक १० हजार बोरामात्र सिमेन्ट उत्पादन हुने गरेको सो उद्योगले जनाएको छ । रु एक अर्ब ३८ करोडको लगानीमा विसं २०३३ मा हेटौँडा सिमेन्ट उद्योगको स्थापना गरिएको थियो । सो सिमेन्ट उद्योगले विसं २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिकरुपमा सिमेन्ट उत्पादन गरी काठमाडौँलगायत विभिन्न सहरमा खपत गर्दै आएको थियो । अहिले सो उद्योगमा प्रशासन, प्राविधिक र मजदुर गरी एक सय ५० जनाले प्रत्यक्ष रोजगारीका अवसर प्राप्त गरिरहेका छन् । हालै सिमेन्ट उद्योगले उत्पादन गरेका करिब दुई लाख २५ हजार बोरा सिमेन्ट काठमाडौं, पोखरा, विराटनगर, जनकपुरलगायत अन्य सहरमा खपत हुन नसक्दा उद्योगले आर्थिक संकटबाट मुक्त हुन नसकेको पनि उद्योगका महाप्रबन्धक पाण्डेले बताए। महाप्रबन्धक पाण्डेले उक्त उद्योगलाई अब नयाँ प्रविधिबाट सञ्चालनमा ल्याउन सरकार र सम्बन्धित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उद्योग व्यवस्थापनले वैकल्पिकरुपमा नयाँ यन्त्र जडान गर्न र आवश्यक कच्चा पदार्थ कोइला खरिदका लागि अनुदान रकम उपलब्ध गराइदिन विभिन्न चरणमा वार्ता भइरहेको तथा उनीहरुलाई उद्योगको अवस्थाबारे स्थलगत अध्ययन गराइसकेको स्पष्ट पारे ।

