पोखरा:  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी तय गरेका कास्कीमा क्रियाशील राजनीतिक दलहरू आज हुने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताका लागि तयारी गरेका छन् । तीनवटा निर्वा...

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको जनप्रतिनिधिलाई बन्द अवस्थामा रहेको गोरखकाली रवर उद्योग र बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कामलाई तत्काल अगाडि बढाउने जानकारी दिनुभएको छ । आइतबार साँझ बालुवाटारमा पुगेका गोरखा जिल्लाका विभिन्न गाउँपालिका प्रमुख, उपप्रमुख तथा अन्य जनप्रतिनिधिसँगको भेटमा प्रधानमन्त्रीले निर्वाचनका बेला गरिएका प्रतिबद्धता पूरा हुने बताउनु भएको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालसँगको भेटमा गाउँपालिकाका प्रमुखले आ–आफ्नो पालिकाभित्रका अवस्था र विकास निर्माणका योजना तथा आवश्यकतालगायतका विषयमा जानकारी गराएको उहाँको भनाइ छ । “छलफलमा प्रधानमन्त्रीसँग हामीले गाउँपालिकाको तर्फबाट विषयवस्तु राख्यौँ”, अध्यक्ष भट्टले भन्नुभयो, “उहाँले जनप्रतिनिधिले उठाएका विषयवस्तुमा केन्द्रित भएर धारणा व्यक्त गर्नुभयो ।” छलफलमा प्रधानमन्त्रीले गोरखा र धादिङको सिमानामा निर्माण लागिएको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको जलासयुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम तत्काल अघि बढाउन लागिएको जानकारी गराउनुभएको थियो । “बूढीगण्डकी आयोजनाको काम छिट्टै अघि बढाउने प्रतिबद्धता प्रधानमन्त्रीको छ”, उहाँले भन्नुभयो, “आयोजना निर्माणले अब गति लिन्छ भन्ने विश्वास लिएका छौँ ।” प्रधानमन्त्रीले गोरखा नगरपालिका–१३ स्थित देउरालीमा रहेको बन्द गोरखकाली रबर उद्योगसमेत छिट्टै सञ्चालन गर्न लागेको जानकारी गराउनुभएको अध्यक्ष भट्टले बताउनुभयो । “बन्द अवस्थामा रहेको रबर उद्योग पिपिपी मोडलमा अगाडि बढाउने योजनामा प्रधानमन्त्री हुनुहन्छ”, उहाँले भन्नुभयो, “हामीसँगको कुराकानीका आधारमा जग्गा सरकारकै पूर्ण स्वामित्वमा रहने गरी अन्य संरचनामा निजी क्षेत्रसँग समेत साझेदारी गरेर उद्योग सञ्चालन गर्ने प्रधानमन्त्रीको सोच छ ।” जनप्रतिनिधिसँग प्रधानमन्त्रीले गोरखामा सडकलगायतका अन्य भौतिक पूर्वाधार विकासका लागि आगामी आवमा चालु आव २०८०(०८१ मा भन्दा बढी सुधार हुने गरी बजेट विनियोजन गर्ने प्रतिबद्धतासमेत गर्नुभएको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्रीलाई भेट्न जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगर उपप्रमुख लिला परियारसहित भीमसेन थापा गाउँपालिका, गण्डकी गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, अजिरकोट गाउँपालिका, चुमनुब्री गाउँपालिका, गोरखा नगरपालिका, पालुङटार नगरपालिका, धार्चे गाउँपालिका र सहिद लखन गाउँपालिकाका जनप्रतिनिधिलगायत बालुवाटार पुगेका थिए ।

काठमाडौं:    सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरु हुँदैछ । यो अधिवेशनलाई विधेयक अधिवेशनको रुपमा पनि लिइन्छ । वर्षे अधिवेशन अन्त्यको तीन महिनापछि नयाँ अधिवेशन शुरु हुन लागेको हो । अधिवेशनबाट सरकारले शान्ति प्रक्रियासँग सम्बन्धित ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ पारित गर्ने मुख्य लक्ष्य राखेको छ । यो विधेयक आजै संसदमा पेस हुँदैछ । दिउँसो ४ बजे बस्ने आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश पनि पेस गर्ने कार्यसूची छ । हिउँदे अधिवेशनबाट ३० वटाभन्दा बढी विधेयक पारित गर्ने लक्ष्य रहेको सरकारले जनाएको छ । सङ्घीय संसदमा अहिले विभिन्न चरणमा २४ विधेयक विचाराधीन छन् । यसमध्ये राष्ट्रिय सभामा तीन र प्रतिनिधि सभामा २१ विधेयक छन् । यसपालिदेखि हिउँदे अधिवेशनमै ‘प्रि–बजेट’ सम्बन्धी छलफलसमेत हुुने भएको छ । बजेट अधिवेशनका बेलामा मात्रै छलफल गर्दा सांसदहरूको सुझाव कार्यान्वयन हुन नसकेको भन्दै हिउँदे अधिवेशनमै संसदमा छलफल हुन लागेको हो ।  यस्तै, संसद्लाई व्यवस्थित र प्रभावकारी बनाउन हप्तामा तीन दिन संसद्को बैठक र तीन दिन संसदीय समितिका बैठक हुने गरी कार्यतालिका पनि तयार भएको छ ।

पोखरा:    गण्डकी ढुवानी प्रालिको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको आज (आइतबार) पदस्थापन गरिएको छ ।  नवनिर्वाचित समितिलाई गण्डकी प्रदेशका भौतिक विकास तथा यातायात व्यवस्थामन्त्री रेशम जुग्जालीले प्रमाणपत्र वितरण गरे । यस्तै निर्वाचन समितिका संयोजक यामबहादुर खत्रीले नवनिर्वाचित समितिलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।   माघ १५ गते सम्पन्न भएको गण्डकी दुवानी प्रालिको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनमा मनोज रसाइलीले अध्यक्षका पत्यासी इन्द्र मल्ललाई ३ मतले पराजित गर्दै निर्वाचित भएका थिए । भने, अन्य सञ्चालक समितिका सदस्यहरुमा भने सर्वसम्मत निर्वाचित भएका थिए ।  समितिको सदस्यहरुमा ईश्वर बस्याल, वीरबहादुर तामाङ, श्याम ताम्राकार, देवबहादुर थापा, विष्णु  थापा र केशव श्रेष्ठ सर्वनिर्वाचित भएका थिए ।  प्रदेश सरकारले यातायात नियावली राम्रोसँग अध्ययन गरेर राजपत्रमा प्रकाशित गरेको होः मन्त्री जुग्जाली गण्डकी प्रदेशका भौतिक विकास तथा यातायात व्यवस्थामन्त्री रेशम जुग्जालीले गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० राम्रोसँग अध्ययन गरेर राजपत्रमा प्रकाशित गरेको बताएका छन् ।  गण्डकी ढुवानी प्रालिको पदस्थापन कार्यक्रममा बोल्दै मन्त्री जुग्जालीले यातायात नियमावली राजपत्रमा प्रकाशित गर्ने क्रममा कर्मचारीले लेख्ने र मन्त्रीहरुले हस्ताक्षर गर्ने मात्र गरेको आरोप लाग्दै आएकाले मुख्यमन्त्रीसँगको छलफलपछि मात्र राजपत्रमा प्रकाशित गरेको बताएका हुन् ।  ‘कुनै पनि नियावली राजपत्रमा प्रकाशित हुँदा कर्मचारीले लेख्ने मन्त्रीहरुले हस्ताक्षर गर्ने मात्र हो भन्ने आरोप लाग्दै आएको छ’, मन्त्री जुग्जालीले भने, ‘गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली २०८०, राजपत्रमा प्रकाशित गर्नु अगाडि मुख्यमन्त्रीसँगको छलफल र अध्ययनपछि मात्र गत बिहीबार राजपत्रमा प्रकाशित गरेका हौं ।’ उनले कुनै पनि नियम,ऐन र कानून बनाउँदा कुनै व्यवसायीलाई विस्थापित गर्ने गरी निर्माण नहुने समेत बताए ।  ‘हामी लोकतन्त्रमा छौं कुनै पनि कुरामा चित्त नबुझे लेख्न आलोचना गर्न पाउँछौं तर सबै कुराहरु बुझ्न आवश्यक छ’, उनले भने, ‘सरकारले नियम, ऐन र कानून बनाउँदा कुनै पनि व्यवसायीहरुलाई विस्थापित गर्ने गरी निर्माण गर्दैन यसमा व्यवसायीहरु ढुक्क हुनुहोला ।’ मन्त्री जुग्जालीले हिजोका दिनमा देखिएका समस्याहरु समाधान गर्दै आफुहरुलाई अगाडि बढेको बताए । ‘हिजो यातायात कार्यालयमा जाँदाको अवस्था र अहिलेको अवस्था हेर्नुहोला, प्रविधिसँग पनि हामी अगाडि बढ्नुपर्छ’, उनले भने, ‘मन्त्रालयमा आएको करिव ९ महिना पुग्न लाग्यो, यातायात क्षेत्रमा तपाईहरुले २० औं वर्ष काम गर्नुभएको छ, तपाईहरु विज्ञ हुनुहुुन्छ तपाईहरु जस्तै व्यवसायीहरुसँग छलफल गरेर हामीले नियमावली बनाएका तयार गरेका हौं ।’ पदस्थापन कार्यक्रममा यातायात प्रालि राष्ट्रिय महासंघ गण्डकी प्रदेशका संयोजक केदार पौडेल, जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख एवम् प्रहरी निरीक्षक भानु शर्मा र पृथ्वी राजमार्ग बस व्यवसायी समितिका अध्यक्ष योगेन्द्र केसी लगायतले मन्तव्य राखेका थिए । 

नवलपरासी:     बर्दघाट नगरपालिका(४ का सुनचाँदी व्यवसायी ६२ वर्षिय गजेन्द्र विश्वकर्मामाथि गोली प्रहार भएको छ ।  सुस्ता गाउँपालिक–१ बरुवमा रहेको पसल बन्द गरेर घर फर्कने क्रममा बर्दघाट नगरपालिका–१६ स्थित कुकुरमारा नजिकैको हिजो साँझ ७ बजे आसपासमा अज्ञात समूहले विश्वकर्मामाथि एक राउण्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।  गोली लागेर घाइते भएका विश्वकर्माको अहिले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ । विश्वकर्माको पाखुरामा गोली लागेको छ ।  गोली प्रहार गर्नेको खोजी जारी रहेको प्रहरीले जनाएको छ । घाइते विश्वकर्माको लु ७८प ७४३५ नम्बरको स्कुटर घटनास्थलभन्दा चार किलोमिटरको दूरीमा वडा नं १४ मा फेला परेको छ ।

पोखरा:   नेकपा एमालेका उपमहासचिव एवम् गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको सरकार तस्करको नियन्त्रणमा रहेको बताएका छन् ।  पोखरामा आज आयोजित (शनिबार) नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेशको प्रथम प्रदेश सभालाई सम्बोधन गर्दै गुरुङले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले अहिलेको सरकार तस्करहरुको नियन्त्रणमा रहेको उल्लेख गरे । ‘यसको हाम्रो १७ खर्वको बजेट हो । १३ खर्व बढी राजश्व उठाउन पर्छ तर अहिले ३५ प्रतिशत पनि राजश्व उठ्न सकेको छैन । किन यस्तो भइरहेको छ, गुरुङले भने, ‘चुनावको समयमा यिनीहरुले भ्रष्ट र तस्करसँग साठगाँठ गरे । सबै ठाउँमा सेटिङ गरे अनि राजश्व उठ्न नसक्दा अर्थतन्त्र चलायनमान हुन सकेन ।’ उनले चुनावको समयमा सबै ठाउँमा सेटिङ गरेकाले अहिले अर्थतन्त्र चलायन हुन नसकेको टिप्पणी गरे ।  उपमहासचिव गुरुङले नेकपाको सरकार हुँदा संसारको देशहरु मध्ये ७ प्रतिशत आर्थिक वृद्धिदर बढी हुनेमा नेपालसमेत रहेको दाबी गरे ।  ‘नेकपाको सरकार हुँदा संसार भर ७ प्रतिशत आर्थिक वृद्धिदर हुनेमा नेपाल समेत थियो तर त्यो कायम रहन सकेन, उनले भने, ‘नेपालमा लगानी ग¥यो भने नेपालमा उद्योग, व्यापार, व्यवसाय ग¥यो भने देशको आर्थिक वृद्धिदर देखि रोजगार ढोका खुल्ने अवधारणा ल्याएपनि अहिले सबै बन्द भए ।’ उनले विदेशका भएका युवाहरुलाई समेत नेपालमा लगानी गर्ने वातावरण सिर्जना गरेपनि अहिलेको सरकारको कारण त्यो पुनः युवाहरुमा निराशामा परिणत गरेको उल्लेख गरे ।  पार्टीको जनवर्गीय संगठनहरु पाटीको नीति तथा कार्यक्रममा रहेर सञ्चालन हुन आवश्यक रहेको समेत उनले बताएका थिए । सरकार उधारोमा चलेको छ: पूर्व अर्थमन्त्री डा. खतिवडा   नेपाल सरकारका पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले अहिलेको सरकार उधारोमा चलेको बताए । ‘राजश्वमा सेटिङ भइरहेको छ । सरकारले राखेको लक्ष्य अनुसार राजश्व संकलनमा हुनेमा शंका छ, डा. खतिवडाले भने, ‘अर्थतन्त्र चलायमान हुन नसक्दा सरकारले निर्माण व्यवसायी देखि कृषि अनुदान, बीमामा अनुदान दिन सकेको छैन ।’ अहिले व्यापारीहरु उधारोको चङ्गुलमा फसेकाले त्यो उठाउन कानून बनाउन आवश्यक रहेकाले त्यसको मस्यौदा तयार गरेर सरकारलाई दिएको डा.खतिवताले बताए । उनले अहिलको शैक्षिक क्यालेन्डर बिग्रदा कलेज, क्याम्पसका विद्यार्थीहरु विदेश पलायन भइरहेको धारणा राखे ।  

पोखरा:     उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले चालेको सुशासनको अभियान कुनै पनि हालतमा नरोकिने बताएका छन् ।  पोखरामा आज (शनिबार) आयोजित पत्रकार सम्मेलनमा उनले देशको समृद्धिका लागि सुशासन अनिवार्य सर्त रहेकाले वर्तमान सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले जनतालाई पनि सरकारले छिटोछिटो काम गरेर देशमा सुशासनका लागि काम गरोस् भन्ने अपेक्षा रहे पनि सबै घटनामा तथ्य प्रमाणले पुष्टि गरेपछि मात्र अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए ।  उपप्रधानमन्त्री श्रेष्ठले भने, “सरकार विधिसम्मत जाँदा कतिपय राजनीतिक सौदाबाजीका आधारमा वा अरू कुनै अवाञ्छित चलखेलका आधारमा सरकारले कुनैमा पनि सम्झौता गर्दैन, त्यसमा हामी प्रष्ट छौँ, तर जनतालाई पनि एउटा अपेक्षा छ, जनताको अपेक्षा वा केही आभासका आधारमा मात्र कसैलाई कारबाहीको दायरामा लिन मिल्दैन, तथ्य, प्रमाणले पुष्टि गर्नुपर्दछ ।” श्रेष्ठले देशले समृद्धिमा फड्को मार्न नसक्नुमा सुशासन स्थापित गर्न नसक्नु रहेकाले वर्तमान सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित अन्य कदम चालिरहेको बताए । उनले भ्रष्टाचारमा संलग्नलाई सरकारले कारबाहीको दायरामा ल्याउँदा राजनीतिक दलका नेता, कर्मचारी तथा व्यवसायीले दबाब दिने गरेको उल्लेख गरे । उनले यही माघ २४ गते प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने राष्ट्रिय समन्वय परिषद्को बैठकले प्रहरी समायोजनको काम अघि बढाउने बताए । “राष्ट्रिय समन्वय परिषद्को बैठक बसेर समझदारी बनाउने र त्यसका आधारमा समायोजन समिति घोषणा गर्छौँ, समितिले समायोजन कार्यक्रम तालिका प्रकाशित गर्नेछ”, उनले भने । 

पोखरा:     गण्डकी प्रदेशमा दुई जिल्लामा सीमित गरिएको सार्वजनिक सवारीसाधनको ‘रुट परमिट’ खारेज भएको छ। गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० मा सार्वजनिक सवारीसाधनले प्रदेशभरिकै रुट परमिट लिन पाउने व्यवस्था गरिएको हो प्रदेश सरकारले बिहीबार राजपत्रमा प्रकाशन गरेको नियमावली कार्यान्वयनमा आएसँगै दुई जिल्लामा सीमित गरिएको रुट परमिट खारेज भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ। गण्डकीमा सञ्चालन हुने जीप र ट्याक्सीमा लागू गरिएको दुई जिल्ला परमिटको अव्यावहारिक नीतिगत व्यवस्था खारेज भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले बताए। ‘व्यवसायीले चाहनाअनुसार प्रदेशभर रुट परमिट लिन पाउने व्यवस्था गरेका हौँु, उनले भने, ुतोकिएको दुईभन्दा बढी जिल्लामा जानका लागि अस्थायी रुट परमिट लिनुपर्ने झन्झट हटाएका छौँ।’ एकै ठाउँमा मात्र व्यवसायीलाई केन्द्रित हुन नदिनका लागि आवश्यकताका आधारमा प्रदेशभरको रुट इजाजत दिने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ। पाँच वर्षपछि दुई जिल्लामा परमिटको अव्यावहारिक नियम हटेकामा यातायात व्यवसायी र यात्रुले खुसी व्यक्त गरेका छन्। प्रदेश राजधानी पोखरा अवस्थित कास्की पुग्न अर्को जिल्लाको सडक प्रयोग गर्ने गोरखा, लमजुङ, मुस्ताङ, म्याग्दी, नवलपुर, मनाङ र बागलुङ जिल्लाका ट्याक्सी, जीप व्यवसायी र यात्रुका लागि नयाँ व्यवस्थाले सहज हुने बेनी यातायात प्रालिका सञ्चालक भोजबहादुर थापाले बताए। ‘ट्याक्सी सेवा लिने धेरै यात्रुको आकस्मिक काम परेका र बिरामी नै हुने गर्छन्’, उनले भने, ‘एकपटकलाई मात्र जारी हुने पटके लिन राति र कार्यालयबाहेकको समयमा कर्मचारीलाई फोन गरेर उनीहरूको घर, निवास र डेरामा पुगेर पटके लिनुपर्ने समस्या हटेको छ।’ सम्बन्धित सार्वजनिक सवारी धनी वा व्यवसायी कम्पनीको मागबमोजिम प्रदेशभित्रको मार्ग इजाजत दिइने भएको हो। प्रदेशभर, बहुजिल्ला, एक जिल्ला, निश्चित पालिका वा क्षेत्र तोकी मार्ग इजाजतपत्र जारी गरिने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले बताए। राजपत्रमा प्रकाशन भएको नियमावली कार्यान्वयनका लागि मातहतका कार्यालयमा पत्राचार गरिएको उनले बताए। अन्तर प्रदेश मार्ग इजाजतको हकमा सम्बन्धित निकायको निर्देशनबमोजिम कार्यालयले मार्ग इजाजत जारी गर्नसक्ने व्यवस्था गरिएको छ। एउटा मार्गका लागि इजाजतपत्र प्रयोग गरिरहेको सवारी धनी वा व्यवस्थापकले सो मार्गमा सवारी चलाउने चालकले अर्को मार्गमा सवारी चलाउने भएमा त्यसरी सवारी चलाउने मार्गको इजाजतपत्र लिनका लागि साविकको इजाजतपत्र दिने कार्यालयले दिएको सहमतिपत्र संलग्न गर्नुपर्ने व्यवस्था राखिएको यातायात व्यवस्था कार्यालय कास्की (सवारी)का प्रमुख डिल्ली रिजालले जानकारी दिए। उनका अनुसार गण्डकी प्रदेशमा सार्वजनिक र निजी गरी पाँच लाख सवारीसाधन दर्ता छन्।

पोखरा:   बेलायतको स्कटल्यान्ड एबर्डिनमा आगलागीमा हुँदा दुई नेपाली दिदीबहिनीको निधन भएको छ । ब्याक हिल्टन रोडमा बस्दै आएका पोखराका २८ वर्षीया आँचल सुवेदी र २४ वर्षीया शिक्षा सुवेदीको सोमबार साँझ भएको आगलागीमा मृत्यु भएको हो । उनीहरु पोखरा युनिभर्सिटीका पूर्व प्राध्यापक डा यज्ञप्रसाद सुवेदीको छोरी हुन् । आगलागीका कारण निस्किएको धुँवाको मुस्लोमा निसास्सिएर सुवेदी दिदीबहिनीको मृत्यु भएको प्रहरील बताएको छ । आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन तर प्रहरीले घटना शंकास्पद नदेखिएको जनाएको छ । आँचल इन्जिनियर थिइन् भने आइटी अध्ययन गरेकी बहिनी शिक्षा भने समुन्द्री तटमा काम गर्थिन्।

सर्लाही:   जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार भएको छ । महोत्तरीको गौशाला नगरपालिका–३ घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि आज कार्यालयमा नै छुरा प्रहार भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक मदन थापाले जानकारी दिए।  उनका अनुसार कार्यालय बाहिर पूर्वपश्चिम लोकमार्गमा चेकजाँच गरी जरिवाना रसिद काटेर भुक्तानी गर्न जानु भनी कार्यालय छिरेका महतोमाथि छुरा प्रहार भएको हो । ट्राफिक कार्यालय अगाडि पूर्वपश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १९ प २५५५ नम्बरको मोटरसाइकलमा आएका रौतहट राजपुर–१ घर भएका यमामुद्दिन देमानले प्रहरी जवान महतोलाई छुरा प्रहार गरेका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक ओम प्रकाश यादवले जानकारी दिए। उनका अनुसार महतोलाई छुरा प्रहार गरी भाग्न खोज्दा निजलाई तत्काल पक्राउ गरी लालबन्दीको हिरासतमा राखिएको छ ।  छुरा प्रहारबाट प्रहरी जवान महतोको निधार, घाँटी, हात र पेटमा चोट लागेको प्रहरीले जनाएको छ । घाईते महतोको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात् थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगन्ज पठाइएको प्रनि थापाले जानकारी दिए।  घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।