पोखरा: नेपालमा अहिले मुख्यगरी २ भाषालाई मूल भाषाको रुपमा लिइन्छः भोटबर्मेली भाषा र भारोपेली भाषा । तर, लामो समयदेखि भारतीय उपमहाद्विपका भाषा, संस्कृति, आनुवांशितामाथि अध्ययन गरिरहेका नेदरल्यान्ड्सका जर्ज भ्यान ड्रिम भन्छन्, ‘नेपालमा तेस्रो पनि भाषा समूह छ । त्यो कुसुन्डा भाषा हो । त्यो २ समूहसँग मिल्दैन ।’ पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचरको ११औं संस्करणको दोस्रो दिन ‘नेपालमा कहिले मान्छे आए ?’ सेसनमा भ्यानले भोटबर्मेली र भारोपेली भाषा समूहभन्दा फरक समूहमा कुसुन्डा भाषा पर्ने दाबी गरेका हुन् । कुसुन्डा भाषा अहिले नेपालको लोपोन्मुख भाषाभित्र पर्दछ । युरोपेली देश नेदरल्यान्डमा जन्मिएका जर्ज भ्यान ड्रिम नेपालमा आफ्नो परिचयले भन्दा पनि ‘सुरेश दाइ’ नामले परिचित छन् । पछिल्लो लामो समयदेखि उनी अध्ययन, अनुसन्धानकै क्रममा उनी नेपालमा छन् । भाषाशास्त्री ड्रिमले नेपालमा कहिले मान्छे आएको भन्ने यकिन प्रमाण नभए पनि भाषाको उद्भवअनुसार भोटबर्मेलीहरु १० हजार वर्षअगाडि र भारोपेली भाषा ५ हजार वर्षअगाडि आएको देखिने बताए । यादव देवकोटाले सहजीकरण गरेको सत्रमा भाषाभास्त्री ड्रिमले नेपालमा कहिले मान्छे आए भन्ने तथ्य प्रमाणि गर्न डीएनए नै परीक्षण गर्नुपर्ने बताए । ‘तर, अहिलेसम्मको अध्ययनले मगर, लिम्बुलगायत जातजातिहरु १० हजार वर्षको समयदेखि अहिलेको नेपाल क्षेत्रमा बसोबास गर्दै आएको देखिन्छ,’ उनले भने । भोट बर्मेली भाषाको उत्पत्ति पूर्वी हिमाली क्षेत्रमा भएको हालसम्मको प्रमाणले देखाउने ड्रिम सुनाउँछन् । ‘यो भनेको धौलागिरी देखि, इन्डोबर्मिज बोर्डरल्यान्डसम्म पर्छ । कुनैकुनै भाषामात्र योभन्दा बाहिर पर्छ,’ उनी भन्छन् । हालसम्म भोटबर्मेली भाषा आयातित भनिए पनि नेपालकै पूर्वी हिमाली क्षेत्रबाट उक्त भाषाको उत्पत्ति भएको दाबी उनको छ । भाषाको बनोटको अर्को मूलस्रोतका रुपमा लिइएको भारोपेली भाषा पनि भारतीय भूगोलबाटै उत्पत्ति भएको तथ्य देखिने ड्रिमको भनाइ छ । ५ वर्षअगाडि यो क्षेत्रमा आएका उनीहरुको आनुवांशिकता भारतबाटै सुरु भएको देखिने उनले बताए । ‘उनीहरु लगभग यो क्षेत्रमा ५ हजार वर्षअगाडिमात्रै आएका हुन् । तर, उनीहरुको आनुवंशिकता इन्डियाबाटै सुरु भएको देखिन्छ’, ड्रिमले भने, ‘फेरि युरोप गएर फेरि भारतमै आएको देखिन्छ ।’ नेदरल्यान्डका भ्यान ड्रिम भारतीय उपमहाद्विपमा बढी चर्चित छन् । यो भूगोलमा उनी आफ्नो वास्तविक नामभन्दा पनि बढी ‘सुरेश दाइ’ले परिचित छन् । ‘सुरेश दाइ’ भारतीय महाद्विपका भाषा, संस्कृति, आनुवांशिता र वनस्पतिमाथि लामो समयदेखि अध्ययन, अनुसन्धान गर्दै आएका छन् । त्यसैले उनी पछिल्लो समय आफ्नो देशभन्दा पनि बढी समय नेपालमै बिताइरहेका छन् । नेपाली भाषा, संस्कृतिमाथि पनि अध्ययन अनुसन्धान गरेका उनै सुरेश दाइले किराती समुदायको मुख्य भाषा ‘लिम्बु भाषा’ माथि पनि अ ग्रामर अफ लिम्बु कृति पनि प्रकाशन गरेका छन् । त्यसबाहेक उनको द टेल्स अफ टी, ल्यांग्वेज अफ दी हिमालय लगायत कृति प्रकाशित छन् भने सयौं अन्तर्राष्ट्रिय जर्नलमा आफ्नो अनुसन्धानात्मक लेख प्रकाशन गरिसकेका छन् ।
म्याग्दी: बजेट विनियोजन हुन थालेको पाँच वर्षपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग र वडा नं ५ पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ । डिजाइन (नक्साङ्कन)मा देखिएको समस्या र कूल लागत अनुमानको २० प्रतिशत बजेट व्यवस्थापन हुन नसक्दा भुरुङ्ग र पाउद्धार तातोपानी कुण्ड जोड्ने कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण योजनाका लागि आर्थिक वर्ष २०७५/७६ देखि नियमित बजेट विनियोजन भए पनि कार्यान्वयन भएको थिएन । अन्नपूर्ण–५ का वडा सदस्य पूर्णबहादुर पाइजाले प्रदेश सरकारको वार्षिक योजनामा समावेश भएर बजेट विनियोजन हुन थालेको पाँच वर्षपछि पुल निर्माण सुरु भएको जानकारी दिनुभयो । “विसं २०७६ मा निर्माणस्थल राष्ट्रिय राजमार्ग कालीगण्डकी करिडोरको क्षेत्राधिकारभित्र पर्ने भएपछि ठेक्का रद्द भएको थियो”, उहाँले भन्नुभयो, “विसं २०७७ देखि स्थान र डिजाइन परिवर्तन गरे पनि लागत अनुमानको २० प्रतिशत बजेट विनियोजन र स्रोत सुनिश्चितता नहुँदा पुल निर्माण अलपत्र बनेको थियो ।” पुल निर्माण भएपछि पर्यटकीयस्थल भुरुङ्ग तातोपानीबाट प्राकृतिक उपचारस्थलका रुपमा विकसित पाउद्धार तातोपानी कुण्ड पुग्नका लागि जोखिम मोलेर कालीगण्डकी नदीमा साँघु (अस्थायी काठको पुल) तर्नुपर्ने बाध्यताको अन्त्य हुने पाइजाले बताउनुभयो । नारच्याङको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता पनि हट्ने उहाँको भनाइ थियो । कालीगण्डकी किनारमा प्राकृतिकरुपमा निस्कने तातोपानी सङ्कलन गरिएको पोखरीमा शरीर डुबाएर स्नान र उपचार गर्नेको सहजताका लागि हिउँदमा कालीगण्डकी नदीमा साघु राख्ने गरिएको छ । पाउद्धार तातोपानी कुण्ड सञ्चालनका लागि अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु २० लाख ११ हजारमा ठेक्का लगाएको थियो । भुरुङ्ग र पाउद्धार तातोपानी जोड्ने १२६ मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दीसँग सञ्जिव उज्वल जेभीले गत साउनमा ९३ लाख ५० हजार चार सय ८६ मा ठेक्का सम्झौता गरेको थियो । कार्यालयका सूचना अधिकारी अर्जुन शर्माले निर्माण व्यवसायीले दुवैतर्फ जिप रहने ठाउँ निर्माणसँगै ‘स्टिल डेग’ लगायतका सामग्री जुटाउने कामलाई तीव्रता दिएको बताउनुभयो । आगामी असार मसान्तभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पुलको लठ्ठा टिबिएसयुले उपलब्ध गराउने भएको छ । कूल रु एक करोड २० लाख लागत अनुमान गरिएको उक्त पुल निर्माणका लागि आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा रु १२/१२ लाख बजेट विनियोजन भएको थियो । गत जेठ महिनामा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले रु नौ लाख थप बजेट व्यवस्थापन गरेर बहुवर्षीय ठेक्का लगाउन स्वीकृति दिएपछि योजना कार्यान्वयनका लागि ठेक्का आव्हान भएको थियो । निर्माणाधीन पुलको पाउद्धारतर्फको जिप नजिकै ३३/११ केभी क्षमताको प्रसारण लाइन पर्ने भएकाले चार वटा पोल स्थानान्तरणका लागि नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरेर सर्वेक्षण गरी बजेट स्वीकृतिका लागि मन्त्रालयमा पठाइएको पूर्वाधार विकास कार्यालयका सबइञ्जिनियर रविन चोखालले बताउनुभयो । विभागीय मन्त्रालयले बजेट स्वीकृत गरेपछि विद्युत् प्राधिकरणमार्फत पोल स्थानान्तरण गरिने उहाँले बताउनुभयो । म्याग्दी क्षेत्र नं १ बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले भुरुङ्ग र पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल बनेपछि मुस्ताङ जाने–आउने पर्यटकको बसाई लम्ब्याउन, जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था हटाउन र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो ।
पोखरा: महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विश्व अर्थतन्त्र शिथिल बन्यो । त्यसमा नेपालको अर्थतन्त्र अछुतो रहेन । त्यसपछि रुस युक्रेनबीचको द्वन्द्वले पनि अर्थतन्त्रलाई झनै कमजोर बनाएको छ । अहिले व्यवपार व्यवसायमा मन्दी छाइरहेकाले निजि क्षेत्रमा चरम निराश देखिन्छ । धमाधम सटर खाली भइरहेका छन् । व्यवसाय छाडेर पलायन हुनेको संख्या सहरमा खाली सटरले पुष्टि गर्छ । चियाचौतारीमा पनि अर्थतन्त्रको चिन्ता देखिन्छ । सरकारका प्रधानमन्त्री होस् या अर्थमन्त्री अर्थतन्त्रमा सुधार भइरहेको व्यक्तव्यबाजीमा रमाइरहेको अवस्था छ । आम सर्वसाधरणको चासो भने अर्थतन्त्र तङग्रिन्छ की लड्छ ? भन्नेमा छ । पोखरामा जारी ११ औं संस्करणको नेपाल लिटरेचर फेस्टिबलमा शुक्रबार अर्थतन्त्र ः तङ्ग्रिन्छ की लड्छ ? यही विषयमा छलफल भयो । सरकोकारवालाले अर्थतन्त्रमा सुधार भइरहेको दाबी पेश गरे । व्यवसायी निरञ्जन श्रेष्ठ नेपालको अर्थतन्त्र विगत २ दकशदेखि धर्मराउदै तंग्रिरहेको बताए । ‘फेरि धर्मराउदै धर्मराउदै एउटा विन्दुमा पुग्छ । ठोस रुपमा हामीले केही गरेनौं भने यस्तै धर्मराउछ’, उनले भने । अहिलेको भने निजि क्षेत्र निकै निराश रहेको उनको भनाइ छ । ‘बजारमा व्यापार एकदम तल आएको छ । मागको कमी छ । माग कमी हुनुको मतलब व्यपार व्यवसायमा जो छ उ निश्चय नै निराश हुन्छ । सटर बन्दर भइरहेको छ भने निराश हुन्छ नै’, उनले बताए । बाह्य क्षेत्र सुधार भएपनि आन्तरिक रुपमा माग बढाउने काम गर्नुपर्ने उनको धारणा छ । ‘लगानीमा बैंकको ऋण मात्रै आधार हुदैन । व्यवसाय भनेको चक्रको रुपमा बुझ्नपर्छ । बैंकबाट त पुँजी आयो तर त्यसपछि व्यवसाय गर्दा स्वयम पुँजी चाहियो । बजारमा आत्मविश्वास चाहियो’, श्रेष्ठले थपे, ‘अर्को कुरा सबभन्दा ठूलो कुरा आन्त।िक फिर्ता दर हेरिन्छ । अहिले फिर्ता कम छ । बैंकमा पुँजी छ भने लगानी गर्न हिच्किचाउँछ ।’ अर्थतन्त्र कमजोर बन्नुमा निजि क्षेत्रको पनि धेरथोर हात रहेको श्रेष्ठ स्विर्काछन् । उनी भन्छन्, ‘आत्मविश्वास बढ्यो भने अहिलेको अवस्थामा फरक आउँछ ।’ अर्थमन्त्रीको आर्थिक सल्लाहकारसमेत रहेका गुणाकर भट्ट अर्थतन्त्र सुधार भइरहेको बताउछन् । २ वर्ष अगाडि विदेशी विनिमय सञ्चितीमा दबाब रहेको उनी सम्झन्छन् । ‘गतवर्ष पुसमा हेर्दा हामीसँग भएको विदेशी विनिमय सञ्चिती १० अर्ब २८ करोड डलर थियो । अहिले आइपुग्दा १३ अर्ब ६९ करोड डलर विदेशी सञ्चिती छ । त्यसले १२.१ महिनाको बस्तु तथा सेवा आयत गर्न पुग्छ’, उनले भने, ‘ २ वर्ष अगाडि यही बेला नीति निर्मातादेखि व्यवसायी सबै आत्तिएको अवस्था थियो नेपाल कतै श्रीलंका त बन्दैन भनेर । हामी त्यहाँबाट माथि उठेको अवस्था छ । एउटा महत्वपूर्ण आधार हो विदेशी विनिमय सञ्चिति ।’ भट्टले अगाडि थफे, ‘हामी ३०० अर्बको पेट्रोलिय पदार्थ आयत गर्छौं । ४०० अर्बको हाराहारीमा खाद्यन्न आयत गर्छौं । त्यस्तो मुलुकमा विदेशी विनिमय सञ्चित थोरै पनि घट्ने वित्तिकै अर्थतन्त्र हल्लिन बेर लाग्दैन, त्यहाँबाट हामी निस्कियौं ।’ डेढ २ वर्ष अगाडि बैंकहरुसँग कर्जा दिने पैसा नभएको उनले सुनाए । उनका अनुसार गतवर्ष माघमा कर्जाको औसत ब्याजदर १३ प्रतिशत थियो । अहिले कर्जाको औसत ब्याजदर ११ प्रतिशतमा झरेको छ । ‘बैंकहरुसँग बढी भएको पैसा करिब १०० अर्ब राष्ट्र बैंकले तानेर राख्न परेको छ । ब्याजदर पनि तल आइरहेको छ’, अर्थतन्त्रबारेका विज्ञ भट्टले भने, ‘मौद्रिक क्षेत्र, वित्तिय क्षेत्र राम्रो अवस्था देखिएको छ तुलनात्मक रुपमा । गतवर्ष बैंकहरुले ६ महिना १३७ अर्ब कर्जा प्रवाहा गरेका थिए । अहिले ६ महिनाको कर्जा प्रवाहा १९३ अर्ब देखिएको छ ।’ सरकारको वित्त व्यवस्थापन चुनौतिपूर्ण देखिरहेको उनले उल्लेख गरे । ‘सरकारको राजस्व असुली गतवर्षको तुलनामा केही सुधार भएपनि अपेक्षित रुपमा हुन सकिरहेको छैन । आार्थिक गतिविधि अपेक्षित रुपमा विस्तार हुन सकेको छैन’, उनले भने, ‘पहिलो त्रैमासिकको आर्थिक वृद्धिदर ३.२ प्रतिशत रह्यो । ६ प्रतिशतको अपेक्षा गरेका थियौं । आम मान्छेले महसुश गर्ने मुद्रास्फुर्ति मुल्य वृद्धि पनि उच्च छ ।’ सावधानी अपनाएकै कारण अर्थतन्त्र सुधार भइरहेको उनको भनाइ छ । स्वतन्त्र विज्ञ भुवन दाहाल निक्षेप संकलन अनुसार कर्जा प्रवाहा नहुनु अर्थतन्त्रको समस्याको रुपमा लिन्छन् । अर्थशास्त्रमा समस्या देखिएपछि प्रभाव बैंक तथा वित्तिय संस्थाको वित्तिय विवरणमा देखिने उनको भनाइ छ । ‘निष्क्रिय कर्जा बढेको देखिन्छ । यसले अर्थतन्त्रमा समस्या छ भन्नेमा कुनै शंका भएन । निजि क्षेत्र नीति निर्माता सबैले आत्मसाथ गरेर समस्या निराकमरणमा लाग्नुपर्नेछ’, उनले भने । उनले थपे, ‘दक्षिण एसियाको तथ्यांक ह¥यौं भने प्रति व्यक्ति आयमा हामी अफानिस्तानभन्दा माथि छौं । बंगलादेशको कुरा गरौं भने पनि हाम्रो भन्दा दोब्बर छ । क्षेत्रफलको कुरा गर्ने हो भने हाम्रो र त्यहाँको एउटै हो । जनसंख्याको कुरा गर्ने हो भने हाम्रोभन्दा ५ गुण बढि छ ।’ अर्थतन्त्र भताभुंग भइसकेको अवस्था नरहेको उनले दाहालले बताए । ‘हामीकहाँ समस्याहरु छन्, समस्याका कारणहरु पनि थाहा छ । अर्थमन्त्रालय, राष्ट्रबैंक, निजि क्षेत्र, बैंकरहरु सबै बसेर एक हप्तासम्म के के गनपर्र्ने हो ? रोडम्याप कोरेर त्यो अनुसार काम गर्नुपर्नेछ’, उनको सुझाव छ । एक अर्कालाई आरोप लगाएर अर्थतन्त्र माथि उकास्न नसकिनेमा उनको जोड छ । अर्थतन्त्रको आकार कसरी बढाउनुपर्ने भनेर सोच्नुपर्नेमा उनको जोड छ । स्थायी सरकारको अवस्था नआएसम्म अर्थतन्त्रलाई दौडाउने अवस्था भने नआउने दाहालको तर्क छ ।
बागलुङ: राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङको बिहुँ–घोडाबाँधे खण्ड कालोपत्र हुने आशा पलाएको छ । वर्षौँदेखि अलपत्र परेको लोकमार्ग सरकारले स्रोत सुनिश्चितता गरेपछि पुनः काम सुरु हुने भएको हो । निर्माण कम्पनीको पटक–पटक म्याद थप गर्दा पनि कालोपत्र नगरेपछि गत पुसमा कालोसूचीमा परेको थियो । निर्माण कम्पनी कालोसूचीमा परेपछि लोकमार्ग कालोपत्र हुने अनिश्चित बनेको थियो । अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता नगरेसम्म काम हुन नसक्ने भएपछि स्थानीय आन्दोलनमा उत्रिएका थिए । सडक बन्द गर्नेदेखि हप्तौँसम्म धर्नामा उत्रिएपछि तत्काल काम अगाडि बढाउनका लागि अर्थ मन्त्रालयले रु ३३ करोड स्रोत सुनिश्चित गरेको हो । सो खण्ड कालोपत्रका लागि विसं २०७२ माघमा जिम्मा पाएको एमपीरएससीएफरइसीसी जेभी दुई महिना अगाडि कालोसूचीमा परेको हो । तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरे पनि आठ वर्षसम्म काम नगर्दा सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको थियो । काठेखोला गाउँपालिकाको बिहुँबाट घोडाबाँधेसम्म १२ किलोमिटर सडक एमपी सितानी एण्ड सन्स पश्चिम बङ्गाल भारत सूर्य कन्स्ट्रक्सन फर्म सुर्खेत र एलिट कन्स्ट्रक्सन प्रालि सुकेधारा काठमाडौँले संयुक्तरूपमा ठेक्का लिएका थिए । अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चिता भएको हुँदा केही समयमै ठेक्का सम्झौता गरी काम अगाडि बढाइने मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका इन्जिनियर पवन सुवेदीले जानकारी दिनुभयो । लोकमार्ग कार्यालयले उक्त खण्ड पूर्णरूपमा कालोपत्र गर्नका लागि रु २५ करोडको लागत अनुमान सडक विभागमा पठाएको उनले बताए । सोहीअनुसार अर्थ मन्त्रालयले तदारुकता देखाएर बजेट निश्चित गरेको इन्जिनियर सुवेदीको भनाइ छ । निर्माण कम्पनीले पाँचपटक म्याद थप्दासम्म पनि काम नगरेपछि विसं २०८० असार १० गते ठेक्का सम्झौता अन्त्य गरेको उहाँले बताउनुभयो । अब १२ किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेको सुवेदी बताउँछन् । ‘अब ठेक्का लगाउन बाटो खुल्यो, माथिल्लो १२ किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ, केही भाग त पहिले नै भएको छ, ठेक्का सम्झौता अन्त्य गरेलगत्तै दसैँअगाडि नै लागत अनुमान तयार गरेर सडक विभागमा पठाएका थियौँ, अहिले बल्ल स्रोत सुनिश्चिता भएर सडक विभागमा आएछ, हामीहरूले रु २५ करोडको लागत अनुमान गरेर पठाएका थियौँ, मन्त्रालयबाट रु ३३ करोड विनियोजन भएछ’, इन्जिनियर सुवेदीले भने, ‘अब केही महिनामै ठेक्का प्रक्रिया अगाडि बढेर काम सुरु हुने छ ।’ उक्त खण्डमा हालसम्म जम्मा ७४ प्रतिशत प्रगति भएको छ । पाँच किलोमिटर कालोपत्र दुई किलोमिटरमा बेसको काम भएको र सात किलोमिटर कालोपत्र गर्न बाँकी रहेको छ । लोकमार्ग हालसम्म कालेपत्र नहुँदा हिउँदमा धुलो र बर्खामा हिलोले यात्रु तथा स्थानीय आजित छन् । लोकमार्ग कार्यालयले उपल्लाचौरबाट घोडाबाँधेसम्मको २५ किलोमिटर सडक कालोपत्रका लागि दुई निर्माण कम्पनीलाई जिम्मेवारी दिएको दियो । बागलुङको उपल्लाचौरबाट १३ किलोमिटर पहिलो खण्ड र घोडाबाँधेसम्मको १२ किलोमिटर दोस्रो खण्ड गरी दुई निर्माण कम्पनीलाई जिम्मा दिइएको थियो । काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले लोकमार्गका अन्य क्षेत्रमा वर्षौँ अगाडि कालोपत्र भइसके पनि यहाँ बर्खाको हिलो र हिउँदको धुलोले नागरिकलाई आजित बनाएको बताए । निर्माण कम्पनी कारबाहीमा परेपछि लोकमार्गको काम अन्योलमा परेको भन्दै पटक–पटक राजधानी धाएर धर्ना दिएपछि सरकारले अहिले कालोपत्रका लागि बजेट व्यवस्थापन गरेको बताए । सरकारले बजेट व्यवस्थापन गरेपछि नागरिक आन्दोलनबाट पछि हटेको उनको भनाइ छ । बजेट व्यवस्थापन भएपछि स्थानीयमा समेत काम हुने आशा जागेको अध्यक्ष थापा बताउँछन् । उनले भने, ‘यहाँका नागरिकको पीडा हामीलाई थाहा छ, निर्माण कम्पनीले यतिका वर्षसम्म काम गरेन, काम नगर्ने निर्माण कम्पनी कारबाहीमा परेपछि हामीहरूलाई पीडा भयो, अब सडक यस्तै हुने भयो भन्ने लागेको थियो, त्यसपछि हामीले धेरैपटक केन्द्रीय नेतालाई भेट्यौँ, मन्त्रालय धायौँ, दबाब सिर्जना गर्यौँ, सरकारले यहाँको समस्या समाधान गर्नका लागि बजेट पनि व्यवस्थापन गरिदियो, अबचाहिँ काम हुन्छ भन्ने अपेक्षा गरेका छौँ ।’ काठेखोलामा लोकमार्गको दुई खण्ड पर्छन् । तल्लो खण्ड उपल्लाचौरबाट बिहुँसम्म रहेको छ । उपल्लाचौरबाट १३ किलोमिटर सडकको भारत÷सिद्धिसाई जेभीसँग विसं २०७३ माघमा दुई वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरिएको थियो । अहिलेसम्म चारपटक म्याद थप गर्दासमेत बल्ल सात किलोमिटर सडकमात्रै कालोपत्र गरेको छ भने अझै छ किमी सडक कालोपत्र गर्न बाँकी छ । उक्त सडकखण्डलाई तत्काल सक्नका लागि निर्माण कम्पनीलाई दबाब दिइराखेको अध्यक्ष थापाको भनाइ छ । अघिल्लो महिनादेखि गाउँपालिकाको नेतृत्वमै लोकमार्गमा नागरिक आन्दोलन भएको थियो । फागुन २ गतेदेखि बृहत् आन्दोलन गर्नेगरी योजनामा रहेका स्थानीय र गाउँपालिकाले बजेट व्यवस्थापन गरेपछि आन्दोलन स्थगित भएको छ । यो सडकको ट्रयाक २६ वर्ष अगाडि खुलेको थियो ।
पाल्पा: पाल्पाको तिनाउ गाउँपालिका–२ स्थित बेलबास–दोभान कच्ची सडक खण्डहुँदै सिद्दार्थ राजमार्गतर्फ आउँदै गरेको ट्रकबाट १८ वटा गोरुसहित तस्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लु १ ख ८३४० नम्बरको ट्रकमा राखिएका १८ वटा गोरुलाई प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । शंकास्पद लागि ट्रक रोकेर चेकजाँच गर्दा एउटा गोरु मरेको र १७ वटा सकुशल रहेको अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । प्रहरीले गोरुसँगै ट्रक, ट्रक चालक बझाङ थलारा गाउँपालिका–३ घर भई हाल कैलालीको बेबाणी गाउँपालिका–७ बस्ने २७ वर्षीय बिशालबहादुर धामी,कपिलवस्तुको शिवराज नगरपालिका–७ का २४ वर्षीय राधेश्याम रैदास, सोही ठाउँका १९ वर्षीय सद्दाम हुसेनलाई नियन्त्रणमा लिएको छ ।
काठमाडौं: नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य कृष्ण केसीद्वारा लिखित पुस्तक लोकार्पण भएको छ । बिहीबार दिउँसो प्रज्ञा भवन कमलादीमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले “नेपाली क्रान्तिको आँखीझ्याल” लोकार्पण गर्नुभएको हो । जागरण बुक हाउस प्रकाशक रहेको उक्त पुस्तकमा जनयुद्धको ऐतिहासिक पहल, जनयुद्धको थालनी, जनयुद्धका ऐतिहासिक निर्णय र घटनाक्रम, शान्ति प्रक्रिया र संविधान निर्माणसँग सम्बन्धित विषयहरू रहेका छन् ।
काठमाडौ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने ‘आर्थिक बहाव’ रोक्नुपर्ने बताएका छन् । भारतीय विश्वविद्यालय सङ्घ(एआइयु)–उत्तर क्षेत्रका उपकुलपतिहरुको बैठक एवं नेपाल–भारत उच्च शिक्षा शिखर सम्मेलनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बहुसङ्ख्यक युवा र उनीहरुसँग सम्बन्धित स्रोतहरु स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड दिए । “शिक्षाका लागि नेपालजस्ता मुलुकबाट ठूलो आर्थिक बहाव हुने गरेको छ । यो प्रवृत्ति अब उल्टो हुनुपर्छ”, प्रधानमन्त्री प्रचण्डले भने, “हामीले विश्वव्यापी रूपमा अवसर खोज्नेहरुका लागि अनुकूल हुने वातावरण सिर्जना गर्नुपर्छ ।” उनले उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण बारेमा पुनः मूल्याङ्कन गर्नुपर्ने आवश्यकता औंल्याए । विश्वव्यापी शक्तिहरुले ल्याएका चुनौतिहरुसँग शैक्षिक क्षेत्रले सङ्घर्ष गरिरहनु परेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले उच्च शिक्षा र सीपका लागि ठूलो स्रोत लगाएका कारण उत्तरका विश्वविद्यालयमा विद्यार्थी र विद्वानहरु आकर्षित हुने पछिल्लो समयको प्रवृत्ती देखिएको बताए ।
सोलुखुम्बु: सोलुखुम्बुमा एक महिलाको शव फेला परेको छ । प्रहरी निरीक्षक अनिल मिश्रले ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–६ की अन्दाजी ३५ वर्षीया प्रेमा तामाङको शव बारीमा भेटिएको थियो । ‘मङ्गलबार बेलुका महिलाको शव भेटियो भन्ने खबर आएपछि पत्ताले प्रहरी चौकीबाट खटिएको प्रहरी टोली सो स्थानमा पुगेको थियो’, उनले भने, ‘मृतक महिलाको शरीरमा कपडा छैन, उनको केहि दिनअघि मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।’ शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुमा ल्याइएको उनले बताए। घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । केही दिनअघि सोलुदुधकुण्ड नगरपालिका–८ केरुङ खोला किनारमा महिलाको कपडा र केही नगद समेत फेलापरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सो खबर लगत्तै प्रहरी टोलीले अनुसन्धान अघि बढाएको थियो । कपडा कसको हो भन्नेबारे प्रहरीको अनुसन्धान जारी रहँदा ती महिलाको शव बेवारिसे अवस्थामा भेटिएको हो ।
कपिलवस्तु: कपिलवस्तुको शिवराज नगरापलिका–१ सुरही खोलामा बस दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भएको छ । मृतकमध्ये सात पुरुष र तीन महिला छन् । मृतकहरुमा रौतहट औरही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, दसल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिङ्गे नेपाल आर्मीमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तरप्रदेश मुरादाबादका ५५ वर्षीय सकिल मुसलमान, भीमदत्त नगरपालिका १ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त ४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका १६ की २७ वर्षीय सन्जु थापा, भीमदत्त नगरपालिकाकी २१ वर्षीय खगेश्वरी खाती, भीमदत्त नगरपालिका २ का सुदीप भट्ट, पुनर्वास नगरपालिका ९ बिसफाँटा बस्ने विमलादेवी भट्ट र पुनर्वास नगरपालिका ९ बिसफाँटा बस्ने विसनदत्त भट्ट छन् । यस्तै दुर्घटनामा ३० जना घाइते भएकामध्ये नौ जनाको बुटवलस्थित चौराहा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरि वलीले जानकारी दिए । अन्यको सन्जीवनी र आधारभूत अस्पताल चन्द्रौटामा उपचार भइरहेको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए । बस दुर्घटना भने ब्रेक फेलका कारण भएको प्रहरी उपरिक्षक पौडेलेको भनाइ छ । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल खसेको थियो ।

