चितवन: नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच ‘भरतपुर भ्रमण वर्ष २०२४’ अभियान सञ्चालनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार भरतपुर महानगरपालिकामा भरतपुर भ्रमण वर्ष लाई प्रवर्द्धन गर्न दुई पक्षबीच सम्झौता भएको हो । भरतपुर भ्रमण वर्ष अभियान सञ्चालनमा लाग्ने कूल खर्च तीन करोड ७० लाखमध्ये बोर्डले ७० लाख बेहोर्ने छ । पर्यापर्यटन तथा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्याशाला, ‘ब्रसर, स्टिकर, डिजिटल बोर्ड, होर्डिङ बोर्ड,’ वैदेशिक पर्यटन प्रवद्र्धन, विभिन्न सहरमा प्रचारात्मक कार्यक्रम, ‘नेचर गाइड’ तालिमलगायत कार्यक्रम गर्न सो रकम खर्च गरिने सम्झौतापत्रमा उल्लेख छ । त्यस अवसरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षलाई सफल बनाउन बोर्ड गरेको सहयोगको प्रशंसा गरिन् । बोर्डले अभियानलाई सफल बनाउन अहिलेसम्म भएका प्रयोगलाई उच्चतम प्रयोग गरी नमूना काम गर्न अनुरोध पनि गरिन्। देशका भइरहेको आर्थिक मन्दी र त्यसबाट उत्पन्न निराशालाई उत्साहमा परिवर्तन भ्रमण वर्षले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आशावादी रहेको प्रमुख दाहालको भनाइ छ । कार्यक्रममा बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले भ्रमण वर्ष सफल बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे । भ्रमण वर्षको आयोजना भरतपुर महानगरपालिकाले गरेको भए पनि निजी क्षेत्रले ल्याउने प्याकेज, सेवासुविधा, तत्परताले अभियान सफल हुने वरिष्ठ निर्देशक ऐरले बताए । भरतपुर भ्रमण वर्ष सफल बनाउन नेपाल पर्यटन बोर्डले निजी क्षेत्रसँग समवन्य तथा सहकार्य गरी विभिन्न प्रचारात्मक कार्यक्रम अगाडि बढाउने कार्य तालिका रहेको जानकारी दिए । महानगरपालिकाले भ्रमण वर्षको तयारीलाई तीव्र पारेको छ । यही फागनु १८ गते नारायणी किनारमा हुने उद्घाटन समारोहलाई व्यवस्थित र फलदायी बनाउन बुधबार सरोकारवालासँग छलफल गरेको थियो ।
दैलेख: बेलायत विकासमन्त्री एन्ड्रु मिचेल नेतृत्वको टोलीले दैलेखको दुर्गम गाउँ नौमूले गाउँपालिकामा भएका विकास–निर्माणका गतिविधिबारे जानकारी लिएको छ । काठमाडौँस्थित बेलायती दूतावासका विकास निर्देशकसहितको टोलीले नौमूले गाउँपालिका–१ तोलिको भुर्सुमा निर्माण भएको सिँचाइ कुलो, तटबन्ध र पानी घट्टको स्थलगत निरीक्षण गरी जानकारी लिएको हो । त्यस अवसरमा मन्त्री मिचेलले नौमूलेमा बालिका शिक्षा, सुशासन, समावेशितासँगै जलवायु अनुकूलनका थप कार्यक्रम सञ्चालन गर्न सकिने बताउनुभयो । जलवायु परिवर्तन अनुकूलन सहयोग कार्यक्रमअन्तर्गत बेलायत सरकारको आर्थिक सहयोग तथा नेपाल सरकारको कार्यक्रममार्फत सञ्चालन भएका योजनाहरूको स्थलगत अनुगमन सम्पन्न भएको नौमूले गाउँपालिकाका अध्यक्ष छवि सुवेदीले राससलाई जानकारी दिनुभयो । जलवायु परिवर्तन अनुकूलन सहयोग कार्यक्रमअन्तर्गत सम्पन्न सिँचाइ कुलोलगायत संरचनाबाट स्थानीय बासिन्दाले प्रत्यक्षरूपमा लाभ लिएका र चालू आर्थिक वर्षभित्र कार्यक्रमका बाँकी काम पूरा गर्ने, जनताले पाएका सुविधा र थप कार्यक्रम कसरी लागू गर्ने भन्ने विषयमा छलफल भएको अध्यक्ष छवि सुवेदीले जानकारी दिनुभयो ।
काठमाडौं: प्रहरी प्रधान कार्यालय नक्शालले सम्पर्कमा नरहेका १८ जना प्रहरीहरुलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ । आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएको भन्दै सार्वजनिक सूचना जारी गरेर ७ दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन भनिएको हो । अन्यथा सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले चेतावनी समेत दिएको छ । गैरहाजिर भएकाहरुमा प्रहरी सहायक निरीक्षक (असई) गजेन्द्र सिंह ठगुन्ना लगायतका छन् । हेर्नुहोस् गैरहाजिर भएकाहरुको नामावली:
बारा: बाराको पथलैयामा आज बलेरो गाडी र ट्रक एकापसमा ठोक्किँदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत जितपुर सिमरा–२१ स्थित अदाभारमा भएको सो दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । प्रहरी निरीक्षक रामकुमार महतोका अनुसार हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१(०२६ च १३३४ नंको बलेरो तथा विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ३३५२ नं को ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो । घाइतेहरूको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको उनको भनाइ रहेको छ । मृतक तथा घाइतेको पहिचान खुल्न सकेको छैन ।
हुम्ला: हिमपातको कारण हुम्ला जिल्लाको हवाई सेवा दुई दिनदेखि अवरुद्ध बनेको छ । बुधबार विमानस्थलमा जमेको हिउँ पग्लिए पनि अझै हल्का हिमपात भइरहेका कारण हवाई सेवा सुचारु हुन नसकेको हो । सिमकोट विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर निशान झाले दुई दिनयता हुम्लाको हवाई सेवा अवरुद्ध हुँदै आएको बताए । मङ्गलबार लगातार हिमपात भइरहेको र बुधबार आकाश खुल्ने, बन्द हुने र बेलाबेला हिमपात भइरहने भएको कारण हवाई सेवा सुचारु हुन नसक्ने उनले बताए । हवाई सेवा सुचारु गर्न बेलाबेला आकाश खुल्ने गरेको भएपनि अन्य कुनैपनि मापदण्ड पूरा नभएको कारण उडान हुन नसक्ने भएको छ । नेपालगञ्जबाट सीता, समिट र तारा एयरको जहाजबाट उडान भर्ने तालिका थियो । हवाई सेवा अवरुद्ध भएपछि दुवैतिरका हवाई यात्रु मर्कामा परेका छन् । विद्यालयहरु सञ्चालनमा आइसकेको कारण विशेषगरी हिउँदे बिदामा निस्किएका शिक्षकहरु नेपालगञ्जमा रोकिनुपरेको छ ।
ढोरपाटन: बागलुङ नगरपालिका-१ स्थित मालढुङ्गा क्षेत्रको बस्ती कालीगण्डकी नदीको उच्च जोखिममा परेपछि तटबन्ध गर्न थालिएको छ । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङमार्फत तटबन्ध निर्माण जारी छ । चालू आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु ७० लाखबाट मालढुङ्गा बस्ती संरक्षणको काम भइरहेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङका इञ्जिनियर दीपेन्द्र पौडेलले जानकारी दिए । कालीगण्डकीले धार परिवर्तन गर्दा केही वर्षयता कटान तीव्र हुँदै आएको छ । अघिल्लो वर्ष पनि ६५ लाख लागतमा केही क्षेत्रमा तटबन्ध गरिएको थियो । लक्ष्मीनारायण मन्दिरसँगै मालढुङ्गाबाट खुदुर्के घाटसम्मको बस्ती संरक्षण गर्न थालिएको इञ्जिनियर पौडेलले बताए । गत पुस महिनादेखि निर्माण समिति गठन गरी तटबन्धको काम धमाधम भइरहेको छ । कालीगण्डकी निरन्तर दोहन हुँदा बर्खामा पानीको बहाव बस्तीसम्म पुग्ने गरेको थियो । तटबन्ध निर्माणपछि मालढुङ्गाको तटीय क्षेत्रका बस्ती, प्रहरीचौकी, लक्ष्मीनारायण मन्दिरलगायत संरचना जोगिने इञ्जिनियर पौडेलले बताए । इन्जिनियर पौडेलले भने, ‘बर्खामा कालीगण्डकी उर्लेर आउँदा बस्तीमा बस्ने जोखिम बढेको थियो, अघिल्लो वर्ष केही भागमा काम भयो भने अहिले पनि करिब ४५ मिटर लामो तटबन्ध निर्माण हुन्छ, जसका लागि निर्माण समिति गठन भएर काम सुरु भएको छ, हालसम्म ३० प्रतिशत काम सम्पन्न भएको छ, आगामी असार मसान्तसम्म सम्पूर्ण काम पूरा गर्न ठेकेदारलाई निर्देशन दिइएको छ ।’ तटबन्ध निर्माण समितिका अध्यक्ष भुवन खड्काले पानीमुनि दुई मिटर पक्की पर्खाल उठाउने काम भइसकेको भन्दै अहिले त्यसमाथि ग्याविनसहितको ‘पर्खाल’ उठाइरहेको बताए । बागलुङ प्रवेशद्वार नजिकै ऐतिहासिक लक्ष्मीनारायणको मन्दिर बन्दै गएको र तटबन्ध बनेपछि यहाँका धेरै घर सुरक्षित हुने उनले दाबी गरे । ‘तटबन्धको कामलाई तीव्र बनाएका छौँ, पर्खाल उठाएर ढलान गर्ने काम भइरहेको छ, सम्झौताऋनुसार आठ मिटर उचाइ, ४५ मिटर लम्बाइ हुनेछ, सोअनुसार काम गरिरहेका छौं’, अध्यक्ष खड्काले भने ।
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ गरेका छन् । अर्धठोस बनाएर ल्याइएको आठ सय ५५ ग्राम सुनसहित ३५ वर्षीय भारतीय नागरिक शरिफ अहमद अब्दुल गफुरलाई विमानस्थलबाट पक्राउ गरिएको हो । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार सोमबार राति फ्लाई दुबई उडानद्वारा दुबईबाट काठमाडौं आएका गफुरलाई विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्दा सुन फेला परेको थियो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि भन्सार कार्यालय पठाइएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
चितवन: चितवनको खैरहनी नगरपालिकामा(२ चैनपुरमा एक जना युवको हत्या भएको छ । आज बिहान करिब ७ बजे हर्वल कम्पनीको पर्खालनजिकै घाँटीमा चक्कु रोपिएको अवस्थामा स्थानीय २४ वर्षीय कृष्णकान्त खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतकको घरबाट घटनास्थल ५०० मिटर पूर्व रहेको छ । जिल्ला प्रहरी चितवनको टोली घटनाको अनुसन्धानमा जुटिरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा फ्लोरेन्सिक जाँच गर्ने चिकित्सकसहित प्रहरीको टोली पुगेको छ ।

