काठमाडौं- यही वैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनमा भाग लिन यूएस चेम्बर अफ कमर्शका दक्षिण एसियाका लागि वरिष्ठ उपाध्यक्ष अतुल केशप काठमाडौँ आइपुगेका छन् ।   श्रीलंका र मालदिभ्सका लागि ...

सियोल:  दक्षिण कोरियाको एउटा अस्पतालमा शनिबार आगलागी हुँदा ३८ जना घाइते भएका छन् ।   योनहाप समाचार एजेन्सीले जनाएअनुसार राजधानी सियोलबाट करिब २०० किलोमिटर दक्षिणपूर्वमा रहेको गुमीस्थित ६ तले अस्पतालमा स्थानीय समयानुसार शनिबार बिहान ८ः१० बजे आगलागी भएको थियो ।   बिरामीहरूसहित लगभग ९० उद्धारकर्तामध्ये १४ जनालाई श्वासप्रश्वासमा जटिलता देखिएको छ । सामान्य चोटपटक लागेको छ । करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।   घटनाको कारणबारे अनुसन्धान गरिँदै छ । 

काठमाडौँ:  गायिका तथा एमाले नेतृ  कोमल ओलीलाई मातृशोक परेको छ ।  उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा काठमाडौँको अल्का अस्पतालमा निधन भएको हो ।    उनको शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा निधन भएको चिकित्सकहरूले घोषणा गरेका हुन् ।   हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट केही समयअगाडि देखि बिमार ओलीको केही साता यता अल्का अस्पतालमा उपचार भइरहेको थियो ।   १९९८ सालमा रोल्पामा जन्मिएकी दीपा ओलीले सङ्कलन गरेको मलमलकिरी जुनकिरी नामको गीतले नै कोमल ओलीलाई गायनमा स्थापित गराएको हो ।   दीपा ओलीको सङ्कलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकिर्डङ स्टुडियोमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् । 

काठमाडौं:  काठमाडौंको शंखरापुर नगरपालिका-३ लप्सीफेदीमा सबस्टेसन निर्माण र सुरक्षा पोष्ट स्थापना गर्न खोज्दा सुरक्षाकर्मी (सशस्त्र र नेपाल प्रहरी) माथि स्थानीयले आक्रमण गरेका छन् ।   स्थानीयले ढुंगामुढा गर्दा डीएसपी देवराज राईसहित तीनजना सुरक्षाकर्मी घाइते भएका छन् । प्रहरीले स्थानीय जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा, हर्कमान वाइवासहित चार जनालाई पक्राउ गरेको छ ।   नेपाल विद्युत प्राधिकरणले शंखरापुर नगरपालिका-३ स्थित बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि ४००/२२०/१३२/११ केभी सबस्टेसन निर्माण गर्न लागिरहेको छ ।   काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार सबस्टेसनको सुरक्षाका लागि जिल्ला सुरक्षा समितिको बैठकबाट प्रहरी नायव उपरीक्षक (डीएसपी)को नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोष्ट राख्ने निर्णय गरेको थियो ।   सोही निर्णयका आधारमा शुक्रबार बेसक्याम्प स्थापना गर्न जाँदा स्थानीयले रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै सुरक्षाकर्मीहरुलाई ढुङ्गामुढा गर्दै आक्रमण गरेका थिए ।   त्यसक्रममा डिएसपी देवराज राईसहितका सुरक्षाकर्मी घाइते भएका हुन् । झडपका कारण बेलुकासम्मै लप्सीफेदी क्षेत्र तनावग्रस्त भएको थियो ।   काठमाडौंका प्रमुख जिल्ला अधिकारी बस्नेतले स्थानीयको आक्रमणबाट सशस्त्र प्रहरीका दुई जना र नेपाल प्रहरीका एक जना गरी तीन जना सुरक्षाकर्मी घाइते भएको जानकारी दिए ।   सुरक्षाकर्मीमाथि आक्रमणमा संलग्न स्थानीय चार जना पक्राउ परेको जानकारी पनि उनले दिए ।

काठमाडौं:  अमेरिकाको अध्यागमन हिरासतमा एक जना नेपालीले ज्यान गुमाएका छन् ।   साढे दुई महिनादेखि अमेरिकाको अध्यागमन हिरासतमा रहेका सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका–६ का ३२ वर्षीय सुवास श्रेष्ठले टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा गत सोमवार ज्यान गुमाएका हुन् ।   अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट एजेन्सी आईसीईले उनको मृत्युको पुष्टि गरेको हो । उनको मृत्युको आधिकारिक कारण भने खुलाएको छैन ।   पारिवारिक श्रोतका अनुसार ०८० भदौ ५ गते उनी घरबाट हिँडेका थिए । एजेन्टलाई ८५ लाख रुपैयाँ बुझाएर उनी काठमाडौंबाट टर्की, स्पेन हुँदै मेक्सिको पुगेका थिए ।     गत सेप्टेम्बर २ मा उनी मेक्सिकोबाट अवैधरुपमा अमेरिकाको एरिजोनाको लुकभिल छिरेका थिए ।   उनलाई तत्काल अध्यागमनका अधिकारीले नियन्त्रणमा लिएर टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा हिरासतमा राखेका थिए । हिरासतमा बसेको बेला कात्तिक २७ गते उनको मृत्यु भएको हो । उनलाई  अवैधरुपमा प्रवेश गरेको भन्दै डिपोर्ट गर्ने तयारी थियो ।   सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतका अनुसार मृतक श्रेष्ठ बाह्रबिसे नगरपालिका–६ का वडाध्यक्षका छोरा हुन् । मृतक श्रेष्ठका श्रीमती र दुई सन्तान छन् ।

चितवन:  तिहारको सम्मुख पारेर तस्करहरूले चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा एकसिङ्गे दुर्लभ गैंडा मारेका छन् ।   गैंडा तस्करहरूले निकुञ्जको पूर्वी सेक्टरकाे चप्परखाेरी भन्ने ठाउँमा दुईवटा पोथी गैंडा मारेका हुन् ।   चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले एउटा अन्दाजी १८ वर्षको र अर्को अन्दाजी ५ वर्षको पोथी गैंडा तस्करले मारेको जानकारी दिए ।   तस्करले दुईवटा अलग–अलग खाल्डोको धरापमा पारेर गैंडा मारी खाग र खुर काटेर लगेको पाइएको छ । गैंडा एक हप्तादेखि १० दिन अगाडिको बीचमा मारेको हुनसक्ने आशंका गरिएको छ ।   निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार एक सय मिटरको फरकमा दुईवटा खाडल बनाएको र खाडलकाे माटाे टाढा लगेर फालेको देखिन्छ । उनले व्यवसायिक व्यक्तिहरूले ठूलो याेजना बनाएर गैंडा मार्न सफल भएको बताए ।   सन् २०१५ मा गणना गर्दा नेपालमा ६४५ एकसिङ्गे दुर्लभ गैंडा रहेकामा सन् २०२१ मा गरिएको गणनामा १०७ ले बढेर ७५२ पुगेको थियो ।

काठमाडौँ:  हमास र इजरायलबिच युद्धका क्रममा इजरायली डिफेन्स फोर्सेज (आइडीएफ) ले हालै एउटा तस्बिर जारी गरेको छ ।   उक्त तस्बिरमा इजरायली सैनिक हमासको संसद भवनमा देखिन्छन् । उक्त तस्बिरले गाजामा हमास निकै कमजोर भइसकेको सन्देश दिएको छ ।   जेरुसलेम पोस्टका अनुसार आइडीएफको गोलानी ब्रिगेडका सैनिकले सोमबार हमासको संसदमा इजरायली झण्डा फहराएको तस्बिर पोस्ट गरेका हुन् ।   इजरायली रक्षा मन्त्री योभ गेलेन्टले पछिल्लो अवस्थाको जानकारी लिनुका साथै गाजामा आइडीएफको उपलब्धिबारे चर्चा गरेका छन् ।    उनले भने, ‘आइडीएफ बल एउटा योजना अनुसार काम गरिरहेको छ र चुस्त गुप्तचर जानकारी उपयोग गर्दै सटिकता, घातकताका साथ हावा, समुद्र र स्थल सेनाका बिच तालमेल गरी मिसनलाई पूरा गरिरहेको छ ।’

पोखरा: उपल्लो मुस्ताङबाट ६  जना भारतीय पर्यटकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   उपल्लो मुस्ताङ पुगेका ६ जना भारतीय पर्यटकलाई मंगलबार चेकजाँचको क्रममा अध्यागमन विभागबाट भ्रमण अनुमति नलिई पुष्टि भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।   लोमान्थाङ गाउँपालिका ४ नेचुङस्थित बिओपी (बोर्डर आउट पोष्ट) का सशस्त्र प्रहरी सहायक हवल्दार अजय लामाको कमाण्डको ६ जना र इलाका प्रहरी कार्यालय छोसेरबाट प्रहरी सहायक हवल्दार धुर्व रोकासहितको संयुक्त टोलीले चेकप्वाइटमा चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको बिओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक भिमबहादुर क्षेत्रीले जानकारी दिए । \   उनका अनुसार लोमान्थाङ गाउँभन्दा माथि नेपाली नागरिक बाहेक अन्य पर्यटकलाई जान निषेश गरिएको छ ।    ‘लोमान्थाङ भन्दा माथि जान नेपाली बाहेक अरु पाउदैनन् । देख्दा नेपाली जस्तै गुरुङ थर भएका उनीहरुले अनुमति नै नलिएर आएको पुष्टि भएपछि इलाका प्रहरी कार्यालय छोसेर पठाएका हौं, उनले भने ।   इन्सपेक्टर क्षेत्रीले नेपाली मुलका जस्तै देखिने भएकाले अनुमति पत्र विना घुम्न निस्केको बताए ।   ‘नेपाली प्रष्ट बोल्ने र मान्छेपनि नेपाली जस्तै थर पनि गुरुङ रहेछ । उनीहरुलाई हेरेर मात्रै भारतीय भनेर पहिचान गर्न सकिन्थेन, उनले सुनगाभा न्यूजसँग भने, ‘त्यही भएर उनीहरु त्यसरी नै मुस्ताङ भित्रिएका रहेछन् । पछि केरकार गर्ने क्रममा भारतीय भन्ने पुष्टि भयो । त्यसपछि प्रहरीलाई जिम्मा लगायौ ।’   इन्सपेक्टर क्षेत्रीका अनुसार ति ६ जना भारतीय पर्यटक ध १ ज २७० नम्बरको ट्याक्सी र ग १४ प ५७३७ नम्बरको मोटरसाइकलमा उपल्लो मुस्ताङ पुगेका थिए ।    नियन्त्रणमा रहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय छोसेरले पर्यटक प्रहरी कार्यालय पोखरामा पठाएको थियो ।   अहिले उनीहरुलाई थप कारवाहीका लागि अध्यागमन विभाग काठमाडौं पठाउने तयारी भइरहेको पर्यटक प्रहरी कार्यालय पोखराले जनाएको छ । 

पोखराः अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय निकायविरुद्ध भ्रष्टाचारको उजुरी ह्वात्तै बढेको छ ।    आयोगले हालै प्रकाशित गरेको प्रतिवेदनलाई आधार मान्ने हो भने उजुरीमध्ये आधा हिस्सा स्थानीय निकायमा हुने गरेको भ्रष्टाचारसँग सम्बन्धित छ । प्रतिवेदनमा परेका उजुरीमध्ये ५२ प्रतिशत हिस्सा स्थानीय तहसम्बद्ध निकायविरुद्ध परेको देखिन्छ ।    आयोगका प्रवक्ता भोला दाहाल भन्छन् ‘खरिद निर्माणका काम गर्दा सार्वजनिक खरिद ऐन, नियमको पालना गरिएको देखिएन, सबै निकायलाई भन्न मिल्दैन तर अधिकांशले ऐन पालना नगरेको पाइएको छ ।’   स्थानीय तहले ऐन पालना गर्ने परिपाटी नभएको मात्र हैन निर्धारित समयमा काम नसक्दा पनि कागजीरुपमा कार्य सम्पन्न प्रतिवेदन बनाई भुक्तानी दिइएको पाइएको प्रवक्ता दाहालले बताएका छन् ।  ‘पालिकातर्फबाट सिफारिश दिन, अनुदान दिन, करारमा कर्मचारी भर्ना गर्न घुस मागिएको विषयमा उजुरीमा उल्लेख छ’ दाहालले भने ‘स्थानीय पदाधिकारीको कन्फ्ल्क्टि अफ इन्ट्रेस्टले काम गरेको पाइएको छ ।’   स्थानीय तहले उपभोक्ता समिति गठन गर्ने र अनुदान दिँदा आफ्नो लाइनको मान्छे हेर्दा त्यसको नतीजा सकारात्मक नभएको दाहालले उल्लेख गरेका छन् । ‘संघले जस्तै स्थानीय तहले विभिन्न सल्लाहकार नियुक्त गर्ने, नीति एवं योजना आयोग निर्माण गरी उपाध्यक्ष लगायतका पदाधिकारी राख्ने परिपाटीले भ्रष्टाचार बढेको आयोगको ठहर छ’ उनले भने ।   विकास निर्माणमा जटिल प्रकृतिका काम पनि उपभोक्ता समितिमार्फत गराउँदा रकमको दुरुपयोग हुने गरेको पाइएको भन्दै उनले त्यस्ता उपभोक्ता समितिको क्षमता मूल्यांकन गर्न नसक्दा विकासकै गतिमा असर पारेको उनले प्रष्ट्याए ।    ‘स्थानीय पदाधिकारीहरुको आफ्नै सवारी साधन र डोजर लगायतका सामग्री प्रयोग गर्दा बजार दरभन्दा बढी भुक्तानी हुने गरेको आयोगको ठहर छ । दाहाल भन्छन् ‘अनुदान वितरणमा आसेपासे र आफ्ना कार्यकर्ता च्याप्ने शैली वर्षेनी बढेको पाइएको छ ।’ आयोगले राष्ट्रपतिलाई बुझाएको तेत्तिसौं वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार २० हजार ९०५ उजुरी दर्ता भएका छन् । जसमध्ये ७ हजार १६२ अघिल्लो आर्थिक वर्षबाट सरिआएका हुन् । आयोगका अनुसार ६६ प्रतिशत उजुरी फछर्याैट भएका छन् ।    कूल उजुरीमध्ये करिब पचास प्रतिशत आयोगको मुख्य कार्यालयमा दर्ता भएका छन् । सबैभन्दा कम उजुरी (३ प्रतिशत) नेपालगञ्जमा परेको छ भने पोखरा कार्यालयमा ५ प्रतिशत रहेको छ । 

रुकुम पश्चिम — जाजरकोटलाई केन्द्र बनाएर हिजो मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरेर अहिलेसम्म ८० जनाको ज्यान गएको प्रहरीले बताएको छ भने करिब १ सय ४० जना घाइते भएका छन् ।    जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ४४ जनाको ज्यान गएको पुष्टि भएको छ ।   ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका ३०, नलगाड नगरपालिकाका ६, कुशे गउँपालिकाका ७ र छेडागाड नगरपालिकाका १ जना रहेको रोकाले बताए । साथै भूकम्पमा परी जाजरकोटमा ५५ जना घाइते भएको बताइएको छ ।   घाइतेहरूमध्ये ५ जनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ भने बाँकीको उपचार जिल्ला अस्पताल र अन्य स्थानीय स्वस्थ्य संस्थामा भइरहेको छ । त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिममा पनि भूकम्पले ठूलो क्षति गरेको छ । जिल्ला प्रहरी प्रमुख डीएसपी नमराज भट्टराईका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ ।   जाजरकोटसँग जोडिएका आठबीसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको ज्यान गएको भट्टराईले बताए ।