संसद् अधिवेशन आजदेखि

काठमाडाैं | माघ १८, २०८१

संसद् अधिवेशन आजदेखि

काठमाडौँ:   सङ्घीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि प्रारम्भ हुँदैछ  ।

 

बजेट अधिवेशन अन्त्य भएको झन्डै पाँच महिनापछि हिउँदे अधिवेशन प्रारम्भ हुन लागेको हो । 

 

अधिवेशन प्रारम्भको पहिलो दिन प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

 

विधेयक अधिवेशनका रूपमा समेत चिनिने अधिवेशनमा विधायिकी कार्यलाई प्रभावकारी बनाउन विचाराधीन विधेयकको छलफललाई महत्व दिने तयारी छ ।

 

सङ्घीय संसद्का दुवै सदनमा गरी अहिले दुई दर्जन विधेयक विचाराधीन छन् । अधिकांश विधेयक समितिमा दफावार छलफलका क्रममा छन् । 

 

संसद् सचिवालयका अनुसार शुक्रबार अधिवेशन प्रारम्भको राष्ट्रपति कार्यालयको पत्र वाचन गरिने छ ।

 

यस्तै प्रतिनिधि सभा नियमावली–२०७९ को नियम १० अनुसार सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षताका लागि अध्यक्ष मण्डलको मनोनयन हुने छ । दलीय परामर्शमा अधिवेशनैपिच्छे अध्यक्ष मण्डलमा नाम मनोनयन गर्ने अभ्यास छ । 

 

यस्तै बैठकमा अधिवेशन चालु नरहेको बेला सरकारको सिफारिसमा जारी भएका अध्यादेश पेस हुने छन् । यसबिचमा छ वटा अध्यादेश जारी भएका छन् ।

 

सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश सभामा पेस हुने छन् । 

 

यस्तै भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि सभामा पेस हुने छ । सहकारीबाहेकका पाँच अध्यादेश सरकारले एकैपटक सिफारिस गरेको थियो । सिफारिस अनुसारै राष्ट्रपतिबाट अध्यादेश जारी भएका थिए । 

 

बैठकमा दुई शोक प्रस्ताव पनि पेस हुने छन् । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनमा सभामा शोक प्रस्ताव पेस र पारित हुने छ ।

 

यस्तै संविधान सभा सदस्य रामजी शर्माको निधनमा पनि शोक प्रस्ताव पारित हुने छ । २०४८ मा सभामुख रहनुभएका ढुङ्गानाको मङ्सिर २ गते निधन भएको थियो । २०६४ मा संविधान सभा सदस्य रहनुभएका शर्माको माघ ७ गते निधन भएको थियो । 

 

पहिलो दिनमै अध्यादेश पेस हुने 

 

यसै गरी सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा एकै दिन छ वटा अध्यादेश पेस हुने गरी कार्यसूची तय भएको छ । राष्ट्रिय सभाको १६औँ अधिवेशन गत भदौ १६ गते अन्त्य भएको थियो । सदन सञ्चालन नभएको अवस्थामा ल्याइएको अध्यादेश सरकारले संसद् अधिवेशन सुरु हुनासाथ पेस गर्ने गरी कार्यसूची तय भएको हो । 

 

अधिवेशनको पहिलो बैठक सुरु हुनासाथ अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराउनुहुने छ । बैठकमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेताले अधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नुहुने छ । 

 

मङ्गलबार सम्पन्न कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले राष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यहरूको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराइने छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले दुई वटा विधेयकको प्रतिवेदन तयार गरेकाले समितिका सभापति तुलसाकुमारी दाहालले दुवै प्रतिवेदन शुक्रबारकै बैठकमा सभामा पेस गर्नुहुने छ । 

 

समितिले मिडिया काउन्सिल विधेयक–२०८० र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक–२०८१ को प्रतिवेदन सभासमक्ष पेस गर्ने छ । संसद् सचिवालयका अनुसार शुव्रmबारकै बैठकमा सरकारले छ वटा अध्यादेश सभामा पेस गर्ने छ । अधिवेशन नचलेको अवस्थामा सरकारले छ वटा अध्यादेश ल्याएको थियो । 

 

सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले “सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१” सभासमक्ष पेस गर्नुहुने छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले वित्तीय उत्तरदायित्व  (पहिलो संशोधन) अध्यादेश–२०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश–२०८१ र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ सभासमक्ष पेस गर्नुहुने कार्यसूची छ । 

 

त्यसै गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पेस गर्नुहुने छ । शुक्रबारको बैठकमा चार वटा शोक प्रस्ताव पेस हुने छ । 

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

थप पढ्नुहोस्

काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा...

थप पढ्नुहोस्