काठमाडौं:   ‘घरज्वाइँ’ फेम्ड निर्देशक अनिल बुढामगरको दोस्रो कथानक फिल्म ‘मीतज्यू’ को निर्माण सुरु भएको छ । शनिबारदेखि फिल्मको अभिनय कार्यशाला सुरु भएको छ ।   कार्...

गत असार २८ गते नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालको सिन्दुरे खोल्सीमा आएको लेदोसहितको पहिरो (डेब्रिज)का कारण सडकमा गुडिरहेका दुईवटा यात्रुबाहक बस बगाएको अप्रिय घटना अझै नेपालीहरूको मनमस्तिष्कमा नमिठो सम्झना बनिरहेको छ ।   गृह मन्त्रालयको सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनअनुसार काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स लेखिएको यात्रुबाहक बसमा ३६ जना र वीरगन्जबाट काठमाडौँ गइरहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एनल डिलक्स लेखिएको यात्रुबाहक बसमा २६ जना गरी यात्रुसङ्ख्या ६२ जना रहेका थिए ।   जसमध्ये गणपति डिलक्सका तीन जना यात्रु नन्दन दास, जुगेश्वर राय यादव र सरोजकुमार गुप्ता हामफालेर बाँचेका थिए भने बाँकी ५९ जना यात्रु बेपत्ता भएका थिए । पहिरोले बगाउँदा बसहरू त्रिशूली नदीमा खसेको प्रतिवेदनमा उल्लेख छ ।   प्रतिवेदनअनुसार भीषण वर्षाका कारण सडकमाथिबाट खसेको पहिराले दुवै बसलाई धकेल्दै नदीमा खसालिदिएको थियो । प्रतिवेदनअनुसार २४ शव फेला पारिए पनि ३५ जना बेपत्ता भएका थिए । अर्को घटना, गत साउन ३२ गते दिउँसो साढे १ बजेतिरको हो । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक लेदोसहितको बाढी आयो ।   हेर्दाहेर्दै क्षणभरको बाढीले थामे बजार बगरमा परिणत भयो ।   कहिल्यै कल्पना नगरेको यो घटना सपनाझैँ लागिरहेको छ अहिले पनि खुम्बु पासाङल्हामु गाउँपालिकाकी उपाध्यक्ष टासी ल्हामु शेर्पालाई । “यो विपद्ले यहाँका बासिन्दालाई अझै तर्साइरहेको छ । फेरि पनि कुन दिन हिमपहिरोले ज्यान जोखिममा पर्ने हो चिन्तित छन् यहाँका बासिन्दा”, उहाँ भन्नुहुन्छ । जल तथा मौसम विज्ञान विभागका अनुसार निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको हो वा अन्य कुनै कारणले भन्ने विषयमा गहिरो अध्ययन जरुरी छ ।   “प्रारम्भिक अध्ययनमा थामे खोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा सानाठूला गरी छवटा हिमताल–हिमपोखरी रहेको देखिन्छ । उक्त क्षेत्रको नजिक रहेको फोर्से केन्द्रमा विगत सात दिनमा ६५ मिलिमिटर वर्षा मापन भएको छ । साउन २५ गतेदेखि दैनिक औसत तापक्रममा क्रमिक वृद्धि भएको (९.७ बाट ११.० डिग्री सेल्सियस) देखिन्छ र साउन ३१ (अगस्ट १५) गतेको अधिकतम तापक्रम १५.९ डिग्री सेल्सियस पुगेको देखिन्छ”, विभागको भनाइ छ ।   तेस्रो घटना, असोज १०, ११ र १२ गतेका भारी वर्षाले काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा धनजनको व्यापक क्षति गरेको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार तीन दिनको अवधिमा दुई सय ५० जनाले ज्यान गुमाए भने १८ जना अझै बेपत्ता छन् ।   एक सय ७८ जना घाइते भएका थिए । झन्डै छ हजार निजी आवासमा क्षति पुगेको प्राधिकरणको तथ्याङ्क छ । उपत्यकाका नदी आसापासका करिडोरहरू अझै धुलाम्मे छन्, कुरुप छन् अझै ।   सहरी विकास मन्त्रालयका अनुसार बाढीपहिरोजस्ता प्राकृतिक विपद्का कारण सहरी विकास मन्त्रालयअन्तर्गत क्षतिग्रस्त पूर्वाधारका संरचना बनाउन करिब रु दुई अर्ब ८८ करोड ३४ लाख लागत लाग्ने गरिएको छ । स्थानीय पूर्वाधार विभागअन्तर्गत २७ वटा सडकखण्ड र २८ ओटा झोलुङ्गे पुलमा आंशिक रुपमा क्षति र ३२ वटा झोलुङ्गे पुलमा पूर्ण रूपमा क्षति पुगेको छ ।   मन्त्रालयमा अनुसार अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिअन्तर्गत बागमती, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, हनुमन्ते, कर्मनासा नदीहरूमा थुपारेको माटो तथा गेग्रान निकाल्ने कार्यका लागि रु १२ करोड ८१ लाख खर्च हुनेछ ।   नदी किनारामा निर्माण गरिएका क्षतिग्रस्त तटबन्ध, पर्खाल र बाटोलगायतका अन्य संरचना पुनः बनाउनका लागि रु ७० करोड खर्च हुने अनुमान गरिएको मन्त्रालयको भनाइ छ ।   रेकर्ड तोड्ने वर्षा   यस वर्ष नै सुदूरपश्चिमको दक्षिण–पश्चिमी भू–भागमा पर्ने दोधारा, हनुमाननगर र सुन्दरपुरमा नेपालमा हालसम्म मापन गरिएको सर्वाधिक वर्षा भयो । जल तथा मौसम विज्ञान विभागको विसं २००३ (सन् १९४७) देखिको उपलब्ध तथ्याङ्कअनुसार यी स्थानमा सर्वाधिक वर्षा मापन भएको थियो ।   असार २४ बिहान वर्षा मापन गर्दा २४ घण्टाको अवधिमा कञ्चनपुर जिल्लाको दोधारा केन्द्रमा ६२४.० मिमी, हनुमाननगर वर्षा केन्द्रमा ५७३.६ मिमी र सुन्दरपुर केन्द्रमा ५५५.८ मिमी वर्षा भएको मापन गरेका थिए ।   उक्त दिन मनसुन न्यून चापीय रेखा सरदर स्थानमा रहेको भएता पनि सुदूरपश्चिम प्रदेशका दक्षिण–पश्चिमी भू–भाग आसपासको तल्लो वायुमण्डलमा न्यून चापीय प्रणाली विकसित भएको तथा उपल्लो वायुमण्डलमा पनि पश्चिमी वायुको न्यून चापीय रेखा सक्रिय रही अरब सागर तथा बङ्गालको खाडी दुवैबाट आउने जलवास्पयुक्त हावा सो स्थानमा सम्मिश्रण भई अति भारी वर्षा भएको विभागको प्रारम्भिक विश्लेषणबाट देखिन्छ ।   धनजनको क्षति   गत वैशाख १ गतेदेखि चैत १२ गतेसम्मको तथ्याङ्क हेर्दा पहिराको कारण ३५९ ले ज्यान गुमाए भने ४८ जना अझै पनि बेपत्ता र २८७ जना घाइते भएका छन् ।   सो अवधिमा तीन हजार ६९२ वटा घर आंशिक र दुई हजार १३ वटा घर पूर्ण रुपमा क्षति भएको छ ।   पहिराका कारण ४० वटा पुलमा क्षति पुगेको छ । यसैगरी बाढीका कारण ९७ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता र ४८ जना घाइते भएका छन् ।   भारी वर्षाका कारण आठ जनाले ज्यान गुमएका छन् भने ३८ जना घाइते भएका छन् । हावाहुरीका कारण सात जनाको मत्यु र ४२ जना घाइते भएका छन् ।   हिउँपहिराका कारण एक जना बेपत्ता भएका छन् ।   जलवायुविद् डा पपुलर जेन्टल भुसालले पनि बाढीपहिराका कारण भएको अकल्पनीय क्षति, हिउँदमा कम वर्षा, हिउँ कम पर्नु, हिमताल विस्फोट हुनुजस्ता यस वर्षका प्राकृतिक प्रकोपले सबैलाई चिन्तित बनाएको बताउनुभयो ।   “पूर्वसूचना दिँदादिँदै पनि यस वर्ष धनजनको क्षति बढी भयो, यो चिन्ताजनक छ”, उहाँले भन्नुभयो ।   अध्ययन भन्छ: जलवायुजन्य सङ्कटले पिरोलिरहेको छ   जर्मन वाचले गरेको जलवायु जोखिम सूचकाङ्कका अनुसार विश्वमा जलवायुजन्य सङ्कटले पिरोलिरहेको छ ।   सन् १९९३–२०२२ अवधिमा डोमिनिका, चीन र होन्डुरस प्रतिकूल मौसमी घटनाका प्रभावबाट सबैभन्दा बढी प्रभावित भएका देशहरू थिए ।   सन् १९९३ देखि २०२२ सम्म, विश्वभरि सात लाख ६७ हजारभन्दा बढी मानिसको मृत्यु भएको र करिब ४२० अर्ब डलर बराबरको क्षति भएको छ । “बाढी, आँधी, गर्मीको लहर, र सुक्खा यी घटना बढी भए ।   १९९३ देखि २०२२ सम्म, आँधी (३५%), गर्मीको लहर (३०%), र बाढी (२७%) ले सबैभन्दा बढी मृत्युको कारण बने,” अध्ययनमा उल्लेख छ, “आँधीले सबैभन्दा ठूलो आर्थिक क्षति पुर्याएको छ (५६%) भने बाढीले (३२%) क्षति भएको छ ।”   अहिलेसम्मकै तातो वर्ष   विसं २०८१ मा नै विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) द्वारा प्रकाशित एउटा अध्ययन प्रतिवेदन सार्वजनिक भयो ।   जुन तथ्याङ्कले जलवायुजन्य सङ्कटको डरलाग्दो तथ्य उजागर गरेको थियो । सन् २०२४ को गत जनवरीदेखि सप्टेम्बरमा औसत तापमान औद्योगिक क्रान्ति अघि भन्दा १.५४ (+०.१३) डिग्री सेल्सियसले बढी भएको देखाएको छ ।   सन् १८५० देखि १९०० लाई आधार वर्ष मान्दा अहिलेसम्म पृथ्वीको तापमान वृद्धि १.४ डिग्री सेल्सियसले बढेको र त्यसमध्ये पनि १.३ डिग्री सेल्सियस मानव सिर्जित रूपमा तापमान वृद्धि भएको अध्ययनले देखाएको छ ।   विश्वको तापक्रम वृद्धिले नेपालका हिमालमा हिउँ पग्लने र हिमालको अस्तित्व नै नास हुने खतरा बढ्ने बताउनुहुन्छ विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेती ।   “सन् २०२४ तातो वर्षको रुपमा रेकर्ड भएको छ । जसले हिमाल कसरी जोगाउने भन्ने चुनौती छ”, उहाँले भन्नुभयो ।     विश्वव्यापी पैरवी गर्न कोप   गत वर्ष नोभेम्बर ११–२४ सम्म अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन (कोप–२९) सम्पन्न भयो ।   जलवायुजन्य सङ्कटको समाधानका लागि विश्वभरका विज्ञदेखि, राजनीतिक दलका नेतृत्व तथा अन्य सरोकारवालाबीच छलफल र समस्या समाधानका लागि पैरवी गर्ने लक्ष्यका साथ यो सम्मेलन आयोजना गरिएको थियो ।   नेपालका तर्फबाट बाकुमा सम्पन्न कोपमा भाग लिन जानुभएका राष्ट्रपति रामचन्द्र पौडेलले जलवायुजन्य सङ्कटबाट हिमाललाई बचाउन आह्वान गर्नुभएको थियो ।   जलवायुजन्य सङ्कट समाधान गर्न वित्त अनुदानको आकार बढाउनुपर्नेमा कोपमा लामै छलफल भएको थियो । तर नतिजा भने सन्तोषजनक आएन । यस सम्मेलनमा नेपालले गरेको प्रयास भने प्रशंसनीय थियो ।    

आज पञ्चायत ढलेर प्रजातन्त्र पुनर्बहाली भएको दिन । त्यसैको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ ।   विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको थियो ।   विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य विसं २०४६ चैत २६ गते भएको थियो ।   नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त वाममोर्चाले संयुक्त रूपमा आन्दोलन गरी ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य गरेका थिए ।   विसं २०४६ चैत २६ गतेदेखि नेपालमा बहुदलीय शासन व्यवस्थाको पुनःस्थापना भएको हो । कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलन ५० दिनसम्म चलेको थियो ।   विसं २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको अवसर पारी विसं २०४६ फागुन ७ गतेदेखि आन्दोलन सुरु भएको थियो ।   यो आन्दोलन विसं २०४६ चैत २६ गते सुरु भएको हो । तत्कालीन राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै चैत २६ गते बहुदलीय व्यवस्थाको पुन:स्थापना गरेका थिए ।   विसं २०४६ चैत २६ गते दलमाथिको प्रतिबन्ध हटाई बहुदलीय व्यवस्थाको स्मृतिमा प्रत्येक वर्ष चैत २६ गते विभिन्न कार्यक्रम गरी जनआन्दोेलन दिवसका रूपमा मनाउने गरिन्छ । यस अवसरमा यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दल दर्ता हुने भएको छ ।   आगामी २०८४ सालको निर्वाचनमा सहभागी हुने भएपछि यसअघि बसेको पोलिटब्युरो बैठकले दल दर्ता गर्ने निर्णय गरेको हो ।   नेकपा पोलिटब्युरो सदस्य चिरञ्जीवी ढकालले आगामी निर्वाचनमा सहभागी हुने भएपछि आधिकारिक रूपमा निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय भएको जानकारी दिनुभयो । आगामी हप्ता दिनभित्र निर्वाचन आयोगमा दर्ता भइसक्ने उहाँले बताउनुभयो ।    दल दर्ता गर्न पार्टी सचिवालय सदस्य कर्णजित बुढाथोकी, ढकाल र कपिल पोखरेललाई जिम्मेवारी दिएको छ ।   उहाँले भन्नुभयो, “पार्टीले निर्वाचनमा जाने भएपछि दल दर्ता गर्ने निर्णय भएको छ । सबै कागजपत्र मिलाउने क्रम जारी भएकाले नेकपाकै नाममा दल दर्ता हुने छ ।” तर, पार्टीको चुनाव चिह्न के राख्ने भन्नेबारे छलफल भइरहेकाले छिट्टै टुङ्गो लाग्ने बताउनुभयो ।    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग तत्काल एकता प्रक्रिया अघि बढ्ने सङ्केत नदेखिएपछि विप्लव समूह दल दर्ता गर्ने अवस्थामा पुगेको बताइएको छ । समाजवादी मोर्चामा दुवै दल सहभागी भए पनि एकताले गति लिने अवस्था कम देखिएको छ ।

यस वर्षको वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरिएको छ ।   पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म सात आरोही समूहका १७ महिला र ६० पुरुषले अनुमति लिइसकेका छन् ।    विभागका निर्देशक लीलाधर अवस्थीले आजसम्म सगरमाथासहित अन्य स–साना २९ हिमाल आरोहणका लागि आरोहण अनुमति दिइएको छ । उनले अनुमति पाएका आरोही गन्तव्यतिर लागेको बताए।   विभागको विवरणमा हालसम्म नेपालसहित विभिन्न देशका आरोहीले आरोहण कूल १९८ आरोहीले हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।   अन्नपूर्ण–१ मा ६ आरोही समूहका ६६ जना र अन्नपूर्ण–५ का लागि एक आरोही समूहका आठ जनाले अनुमति लिएका छन् । मकालु आरोहणका लागि एक आरोही समूहका १५, ल्होत्सेमा एक आरोही समूहका १५ जनाले अनुमति पाएका छन् ।   सगरमाथाको दोस्रो शिविरसम्म बाटो निर्माण जारी सगरमाथा आरोहणका लागि अहिले धमाधम बाटो निर्माण भइरहेको छ ।   सगरमाथा क्षेत्रमा दुई दिनयता तीव्र बेगको हावा चलेकाले बाटो बनाउन कठिन भइरहेको जनाइएको छ ।   हिजो साँझसम्म प्रतिघण्टा ३५ किलोमिटरको गतिमा हावा चलिरहेको र ‘आइसफल’का टुक्रा छरिरहेकाले आइसफल डाक्टर अनुकूल मौसमको प्रतिक्षामा रहेको विभागले जनाएको छ ।   खुम्बु आइसफल क्षेत्रमा अहिले भर्‍याङ् राख्ने र ह्याङगिङ एयरमा किला ठोक्ने काम भइरहेको छ । 'आइसफल क्षेत्रमा चार वटा भर्‍याङ र १२ वटा किला ठोकिसकिएको छ', निर्देशक अवस्थीले भने, 'दोस्रो शिविरसम्म दुई हजार दुई सय मिटरसम्म बाटो बनाउनुपर्ने हुन्छ । हालसम्म एक हजार एक सय मिटरसम्मको बाटो बनिसकेको छ ।'   सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) बाटो बनाउन ‘आइसफल डाक्टर’ खटाएको छ । यो यामका लागि १० जनाको टोली खटाइएको एसपीसीसीले जनाएको छ । दुवै टोलीले सगरमाथा आरोहीहरूलाई सुरक्षित बाटो बनाउनेछन् । खुम्बु आइसफलमा बाटो बनाउने आरोहीलाई (आइसफल डाक्टर) भनिन्छ ।   सगरमाथाको दोस्रो शिविरसम्म बाटो तयार भएपछि मात्रै पर्वतारोहण सञ्चालक सङ्घले दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउने अर्थात् ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) काम गर्ने छ । यसका लागि सङ्घले अशोक लामाको नेतृत्वमा आठ सदस्यीय टोली खटाइसकेको जनाएको छ । सङ्घले यो याममा सगरमाथा आरोहणका लागि बाटो बनाउने तथा रोप फिक्सिङको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपिडिसन कम्पनीलाई दिएको छ ।   वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि उल्लेख्य सङख्यामा विदेशी आउँछन् ।

काठमाडौँ:   सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।    गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता आत्मीय र सौहार्दपूर्ण रहेको बताउनुभएको छ ।   थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा भारतका प्रधानमन्त्री मोदीसँग आज भएको भेटवार्ता सार्थक र रचनात्मक रहेको उहाँले बताउनुभएको हो ।   “हामीले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल गर्यौँ”, भेटपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भन्नुभएको छ, “विम्स्टेक शिखर सम्मेलनले उठान गरेका मुद्दाका साथै दुई देशीय सम्बन्ध र क्षेत्रीय सहकार्यलाई अगाडि बढाउन नयाँ साझेदारीका लागि यो संवाद महत्त्वपूर्ण हुने छ ।”

बैङ्कक: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं शिखर सम्मेलन बैङ्कक सोचपत्रपत्र, २०३० जारी गर्दै सम्पन्न भएको छ ।   यस क्षेत्रको व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई केन्द्रमा राखेर सम्मेलनले समृद्धि, लचिलोपन र खुलापनको नाराअन्तर्गत बिम्स्टेक बैङ्कक भिजनसहित छबुँदे प्रस्ताव पारित गरेको हो ।   पारित प्रस्तावबारे जानकारी दिन आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पेथोङ्थान शिनावात्राले बैंककमा पत्रकार सम्मेलन गरेकी छन् ।   प्रस्तावमा बिम्स्टेकलाई प्रभावकारी बनाउन कार्यमुखी संयन्त्र गठन, यसको भविष्य निर्धारणका लागि प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी) गठन, म्यारिटाइम ट्रान्सपोर्ट सम्झौता, भूकम्पबाट प्रभावित म्यान्मार र थाइल्याण्डलाई सहयोग गर्ने विषयसहितको संयुक्त वक्तव्य, पर्यटन र संस्कृतिलाई प्राथमिकता दिँदै जनता–जनताको सम्पर्क विस्तारका विषयहरू रहेका छन् ।   थाई प्रधानमन्त्री शिनावात्राले शिखर सम्मेलनको सम्मुखमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो औपचारिक थाइल्याण्डको भ्रमण गरेर दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपिएको बताए।   नेपालका प्रधानमन्त्री ओलीको औपचारिक भ्रमणको एक दिनपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट पनि औपचारिक थाइल्याण्ड भ्रमण भएको थियो ।   शिखर सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सदस्य मुलुकका सरकार प्रमुखले सम्बोधन गरेका थिए ।

बैङकक:  प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिम्स्टेक’ शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा गहिरोसँग प्रतिध्वनित हुने बताएका छन् ।   थाइल्याण्डको बैंककस्थित होटल साड्ग्रिलामा सुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धि, लचिलो र खुलापनजस्ता बिम्स्टेक सम्मेलनका तीन आधार स्तम्भ, दिगो विकास लक्ष्य र नेपालको राष्ट्रिय आकाङ्क्षासँग गहिरो रूपमा प्रतिध्वनित हुने बताएका हुन् ।   उनले बिम्स्टेकले परिवर्तनशील समयलाई मात्र नभई हाम्रो क्षेत्रीय सहयोगलाई पुनःजीवित गर्ने अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए ।   उनले भने, “मलाई विश्वास छ शिखर सम्मेलनको विषयवस्तुले हामीलाई त्यो मापन प्रदान गर्दछ, जुन जनता, समृद्धि र कल्याणको पक्षमा छ ।”   प्रधानमन्त्री ओलीले हाम्रो सम्भावनालाई उजागर गर्न र हामीसँग भएका स्रोत साधनलाई पुँजीकृत गर्न एकीकृत प्रयास आवश्यक रहेको बताए ।   उनले यस क्षेत्रका अर्थतन्त्रहरु समान छैनन् भन्ने कुरा स्वीकार गर्दै विशेष आवश्यकता भएका सदस्य राष्ट्रलाई सक्षम बनाउन प्राथमिकताका साथ सहयोग गर्न आग्रह गरे ।   जलवायु परिवर्तनले सम्पूर्ण मानवजातिको अस्तित्वमा सङ्कट सृजना गरेको उल्लेख गर्दै उहाँले यहाँका हिमालयहरू एसियाका लागि पानीका स्रोत भएको बताए ।   “यहाँका पहाडले विश्वव्यापी तापक्रम घटाउने काममा योगदान पुर्‍याइरहेका छन्, तर हाम्रो तर्फबाट भएको न्यून कार्बन उत्सर्जनका बाबजुद पनि तिनीहरूले असमान आक्रमणको सामना गर्नुपरिरहेको छ । यसको प्रभाव पहाडहरूमा मात्र नभई तल्लो तराई र तटीय क्षेत्रहरूमा पनि फैलिएको छ”, प्रधानमन्त्री ओलीले भने ।   पहाडहरूको दुर्दशा र पहाड(महासागरबीचको सम्बन्धलाई उजागर गर्न, नेपालले आगामी मे महिनामा ‘सगरमाथा संवाद’को पहिलो संस्करण आयोजना गर्न लागेको समेत उनले जानकारी दिए ।   उनले बिम्स्टेकले दुई गतिशील क्षेत्रहरू (दक्षिण एसिया र दक्षिणपूर्व एशिया) बीचको अद्वितीय सहकार्यको उदाहरण दिने भएकाले साझा र एकीकृत प्रयासमा हातोमालो गर्न आग्रह गरे ।   शिखर सम्मेलनमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर भएको छ । शिखर सम्मेलनमा थाइल्यान्ड, बङ्गलादेश, भुटान, भारत, म्यान्मार र श्रीलङ्काका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता) हरुले सम्बोधन गरेका थिए ।

जनकपुरधामलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैती छठपर्व हर्सोल्लासका साथ सकिएको छ ।   चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको विभिन्न जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै धुमधामका साथ चैती छठपर्व सम्पन्न भएको हो ।   छठपर्वको विशेषता भनेको यसको आधिकारिक पूजा पोखरी र नदीमा मात्र गर्नुपर्ने परम्परा हो ।   यस पर्वको अवसरमा जनकपुरधामका प्रमुख पोखरीजस्तै गङ्गासागर, अङ्गराज सर, दशरथ तलाउमा किनारमा धार्मिक विधिपूर्वक मनाइएको छ ।   भक्तजनहरू बिहीबार साँझ परम्परागत फलफूलजस्तै केरा, भुसवा, ठकुवा, नरिवल, उखु, मुला आदि लिएर सूर्यलाई अर्घ  अर्पण गरेको थियो ।   पौराणिक कथनअनुसार आदिकालमा सती अनुसूयाले रोगग्रस्त पतिलाई निको पार्न भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गरेका थिए ।   महाभारत कालमा पनि पाँच पाण्डवकी पत्नी द्रौपदीले कौरवहरूको पराजयको लागि सूर्यदेवको उपासना गर्दै छठपर्व मनाएको उल्लेख पाइन्छ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ ।   सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठपर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको घुइँचो लाग्छ ।   चार दिनसम्म मनाइने यस पर्वको पहिलो पर्वको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन ‘खरना’, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्ने र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिने परम्परा रहिआएको छ त्यस्तै, षष्ठीका दिन अर्थात् साँझ गहुँ, चामल, ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न पलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुगेका थिए ।   षष्ठीका साँझ व्रतीले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अघ्र्य सामग्री पालैपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ  अर्पण गरेका थिए । यस्तै छठपर्व को चौथो दिन अर्थात् आज बिहानै पुन: छठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहो¥याइ प्रातः कालीन उदाउँदो सूर्यलाई अर्घ  दिई छठपर्व सम्पन्न गरेका छन् ।