काठमाडौं- यही वैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनमा भाग लिन यूएस चेम्बर अफ कमर्शका दक्षिण एसियाका लागि वरिष्ठ उपाध्यक्ष अतुल केशप काठमाडौँ आइपुगेका छन् ।   श्रीलंका र मालदिभ्सका लागि ...

पोखरा:   पोखरा महानगरपालिका १८ अधेरीकुना हुँदै बगेर पोखरा १७ गाईघाट पुगेर फेवातालमा मिसिने फिर्केखोलामा १ सय ६० वटा स्थायी, अस्थायी रुपमा संरचना निर्माण भएको सिमाङ्कन टोलीको प्रतिवेदनमा उल्लेख गरिएको छ ।  पोखरा महानगरपालिकाले झण्डै १ महिना लगाएर सिमाङ्कन गरेको फिर्केखोलाको प्रतिवेदन सिमाङ्कन टोलीका संयोजक वासुदेव घिमिरेले आज शनिबार पोखरा नगरप्रमुखलाई बुझाएका थिए । फिर्केखोलाको वास्तविक खोलाघर पत्ता लगाउन पोखरा महानगरपालिकाले घिमिरेको नेतृत्वमा समिति गठन गरेर फिर्केखोलाको सिमाङ्कन गरेको थियो ।  सिमाङ्कन टोलीको प्रतिवेदन अनुसार फिर्केखोलामा १ सय ६० संरचना खोलाघरमै निर्माण भएको उल्लेख गरिएको छ । जसमा अस्थायी संरचना ९७ वटा, स्थायी संरचना ३५ वटा , संघसस्थाका अस्थायी संरचना १० वटा र संघसस्थाका स्थायी संरचना १८ वटा निर्माण भएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ,‘ कतिपय शतप्रतिशत र कतिपय आंशिक भाग खोलाघरमा बनेको पाइयो ।’ फिर्के खोलाको खोलाघरमा व्यक्तिगतमात्रै नभएर संस्थागत तरिकाले पनि अतिक्रमण गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।   संस्थागत रुपमा फिर्के अतिक्रमण गरेर अस्थायी संरचना खडा गर्नेमा सशस्त्र प्रहरी बल, बराल समाज, पुन समाज, सोंपाल तमू समाज, व्यर्थन महिला समूह, राधाकृष्ण मन्दिर, सामुदायिक भवन छन् । त्यस्तै, फिर्के अतिक्रमण गरेर स्थायी संरचना निर्माण गर्नेमा स्कुल, मन्दिरदेखि, समाजघरदेखि लायन्स क्लबसम्म छन । प्रतिवेदनअनुसार फिर्केमा स्थायी संरचना बनाएकाहरु लिटिल स्टेप स्कुल, पोखरा इन्जिनियरिङ कलेज, बराल समाज घर, बराल समाज मन्दिर, सोंपाल समाज घर, किरियापुत्री भवन बगालेटोल, फोटोग्राफर संघ, अर्चलबोट किरियापुत्री भवन, पुनमगर समाज घर, बराल कल्याण मन्दिर, लायन्स क्लब, इलेक्ट्रिक एसोसियसन, फिर्के तमु समाज आदि छन । सर्वेक्षण टोलीले खोलामा फोहोर फ्याँक्ने डम्पिङ बन्दै गइरहेको र तत्काल यसको संरक्षण र विकास लक्षित परियोजना सञ्चालन नगर्ने हो भने कालान्तरमा यसको अस्तित्व नै समाप्त हुने सम्भावना रहेको प्रतिवेदनमा औंल्याएको छ । खोलामा बग्ने विषाक्त पानीका कारण वरिपरिको कृषि उत्पादनमा ह्रास आइरहेको र खाद्यसंकटको सम्भावना रहेकोसमेत प्रतिवेदनमा उल्लेख छ । सर्भे टोलीले खोलाघरको पश्चिमतर्फ ३ सय ३ र पूर्वतर्फ २ सय ८५ वटा सीमा स्तम्भहरु गाडिएको छ । टोलीले साउन ३ देखि भदौ २ गतेसम्म नापजाँच गरेको थियो । मानवीय अतिक्रमण र प्रदूषणका कारण फिर्केखोलाको अवस्था पछिल्लो समय अस्तित्व रक्षाको संकटपूर्ण घडीमा पुगेको छ ।  साबिक ग्यारजाती पछि सराङकोट गाविस हुँदै हाल पोखरा महानगरपालिकाको वडा नं.१८,२,४,५,७,८,६  र १७ भएर फेवातालमा मिसिने फिर्के खोलाको कुल लम्बाइ ८ किलोमिटर रहेको छ । यो खोला कम्तीमा ३.३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको नाप जाँचका क्रममा पाइएको प्रतिवेदनमा उल्लेख छ । खोलाघरमै मापदण्ड विपरीत पक्की संरचनाहरु निरन्तर निर्माण भइरहेकाले खोलाघरको हरियालीमा ह्रास सिमाङ्कन टोली संयोजक पौडेलले बताए ।   

पोखरा:    फिर्केखोलाको खोलाघर नापजाँच सम्बन्धी प्राविधिक प्रतिवेदन समितिको तर्फबाट महानगरपालिकालाई बुझाएको छ । “फिर्केखोलाकोे खोलाघर नापजाँच प्रतिवेदन–२०८०” प्राविधिक समितिका संयोजक वासुदेव पौडेलले नगर प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवि गुरुङ र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई बुझाएका हुन् ।  रोहवरमा सम्बन्धित वडाका वडा अध्यक्षहरू दिवसमान प्रधानाङ्ग–२, देवकृष्ण पराजुली–४, विष्णु प्रसाद बराल–५, विष्णु बहादुर भट्टराई–६, राममोहन आचार्य–७, रुद्रनाथ बराल–८, राधिका कुमारी शाही योगी–१७ र शिवप्रसाद तिमिल्सीना–१८ रहेका छन् ।   प्रतिवेदनको पूर्णपाठ  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने यतिबेला टिमसहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा सक्रिय छन् ।    हालै रास्वपाले गोर्खाको गोर्खा नगरपालिका र पालुङटारमा सभाको आयोजना गरेको छ । सोही सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आगामी चुनावसम्म ठूला भनिएका दलमा केवल नेतामात्र रहने बताएका छन् ।    ‘सत्तामा रहेका र आफुलाई ठूला पार्टी भन्ने नेताहरु ०८४ सालसम्म कार्यकर्ताविहीन हुनेछन्’ लामिछानेले भने ‘उहाँका कार्यकर्ताहरु रास्वपामा आउनुहुनेछ, देशले पनि चाहेजस्तो रास्वपा देख्नुहुनेछ ।’   ‘नगर नगरमा रास्वपा’ भन्ने कार्यक्रम लिएर सभापति लामिछानेसहित नेताहरु स्वर्णिम वाग्ले, डा. तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी र रास्वपा गण्डकी सभापति राजन गौतमले गोर्खापछि लमजुङ्को राइनासमा भेला गरेका छन् ।    लमजुङपछि तनहुँको भानु र बन्दीपुरमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरु रास्वपामा जोडिन चाहेको बताउँदै लामिछानेले सीप र ज्ञानसहित रास्वपा ८४ को निर्वाचनमा जनतासामु आउने बताए ।    गण्डकीका ३ जिल्लामा भेला समापनपछि केन्द्रीय जनसम्पर्क विभागका सदस्य उत्तमप्रसाद पौडेलले असोजको २२ देखि २८ गतेसम्म मुस्ताङ, बागलुङ्, पर्वत, म्याग्दी र स्याङजामा भेला आयोजना गर्न तयारी थालेको जानकारी दिए । 

पाेखरा:  गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयले आज संविधान दिवसको अवसरमा पोखरामा संविधानका विशेषता, कार्यान्वयन, महत्व र चुनौतीबारे अन्तरक्रिया गरेको छ ।    प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयको संयोजनमा आयोजित कार्यक्रममा मुख्य न्यायाधिवक्ता चिरञ्जीवि शर्मा पौडेलले हालको संविधान एउटै भाँडोमा राखिएको सर्प, गँगटो र बिच्छीजस्तो भएको टिप्पणी गरेका छन् ।    संघ र प्रदेश र स्थानीय तहबीच केवल अधिकार प्राप्तीका विषयमा रस्साकस्सी चलेकोतर्फ इंगित गर्दै शर्माले देशका तीनै निकायले आफुलाई शक्तिशाली महशुस गर्दा संविधानको असली पक्षमाथि चर्चा नभएको उल्लेख गरे ।    संविधानको मूल मर्म र लक्ष्य सम्मुनत राष्ट्र निर्माण भएपनि तीन तहबीच समन्वय नहुँदा स्थानीयदेखि संघ सरकार शक्ति संघर्षमा लागेको उनको कटाक्ष थियो । ‘सबै तहका प्रमुखले अधिकार क्षेत्रको प्रयोग गर्ने ध्याउन्नमा दायित्वबाट पर पुगेजस्तो देखिन्छ’ शर्माले भने ‘संविधानमा अधिकार र दायित्वको सिमांकन पनि रहेको छ, यतापट्टी सम्बन्धित सबैको ध्यान जाओस् ।’      अवधारणापत्रमा शर्माले संविधानका प्रस्तावनादेखि संवैधानिक क्षेत्रको चर्चा गर्दै कार्यान्वयन क्षेत्रमा गम्भीर हुन सके त्यसको महत्व बढ्ने प्रतिक्रिया उल्लेख गरेका छन् । कार्यान्वयन गर्न सबै तह लाग्न सके त्यसले नागरिकलाई सुशासन प्रदान गर्ने उनको धारणा छ ।    ‘संविधान राजनीतिक दस्तावेज भएकाले यसको सफल कार्यान्वयनमा स्वस्थ राजनीतिक प्रतिष्पर्धा र दलीय इच्छाशक्तिका आवश्यकता छ’ शर्माको टिप्पणी छ ।    अन्तरक्रियामा पृथ्वीनारायण क्याम्पस पोखराका सहप्राध्यापक भीमनाथ बरालले अवधारणापत्र प्रस्तुत गर्दै संविधानको नीतिगत र राजनीतिक पक्षमाथि चर्चा गरे ।    संविधानले शक्तिको बाँडफाँड नै गरेको र सबै तहका नेपालीलाई अधिकार र अवसरको हिसाबले सम्मान गरेको बताउँदै बरालले जनप्रतिनिधिसँग नागरिकको पहुँचमा वृद्धि गरेको उल्लेख गरे ।      अवधारणापत्रमा बरालले संविधानमाथि प्रश्न गर्ने धेरै ठाउँ नभएपनि नीतिगत पक्षमा भने सन्तुष्ट हुने ठाउँ अझै नभएको टिप्पणी गरे । कानून निर्माणमा कर्मचारीतन्त्र हावी भएको बताउँदै बरालले भने ‘यो समस्या प्रदेश र स्थानीयतहमा डरलाग्दो देखिन्छ ।’     मुख्यतः करको दर निर्धारण गर्न र आय बढाउन प्रदेश सरकारले गरेका निर्णयहरु अलोकप्रिय भएको उनले चर्चा गरे ।    प्रदेश र स्थानीय तहले आय बढाउन कुनै ठोस योजना बनाउन नसक्दा त्यसको भार करमार्फत जनताले ब्यहोर्नुपर्ने बाध्यताले यदाकदा संघीयतामाथि नै प्रश्न उठ्नेको गरेको उनको धारणापत्रमा उल्लेख छ ।    वरिष्ठ अधिवक्ता हरिप्रसाद सुवेदीले संविधान कार्यान्वयमा ‘प्रदेश सरकारको चुनौति’मा अवधारणा राख्दै संघलाई प्रदेश नचाहिने तर प्रदेशलाई संघ अपरिहार्य हुँदा अवसर र सम्भावना भन्दा चुनौति बढेको उल्लेख गरे ।    उनले संघमुखी कर्मचारीतन्त्र, साझा अधिकारको हकमा कानूनको अभाव, स्रोत निर्माण र व्यवस्थापनको साँघुरो घेरा र संघीय सरकारले दिन अनुदान प्रणाली कमजोर भएकाले चुनौति बढेको प्रष्ट्याए ।    त्यस्तै, प्रदेश सरकारको अप्रभावकारी सेवा प्रवाह, कर प्रणाली, स्रोत वितरण प्रणाली, शासकीय प्रवृत्तिले संविधानमा प्रदेशवासीको अपनत्व हुन नसकेको सुवेदीले चर्चा गरे ।    प्रदेश सरकारलाई सबलीकरण, संस्थागत विकास र क्षमता विकासमा थप गृहकार्य गर्न आवश्यक रहेको सुझाउँदै उनले प्रदेशको संरचना र अधिकारलाई स्पष्ट व्याख्या गर्न ढिलो भइसकेको जनाए ।    ‘पालिकालाई प्रदेशसँग जोड्ने संयन्त्रको विकास हुन सकेको छैन’ पौडेलले भने ‘संविधान संशोधन र अधिकारको स्पष्ट विभाजन हुन नसक्दा मुख्यमन्त्रीहरुले राष्ट्रिय भेला गर्दै संघसँग शक्ति संघर्ष गरिरहेका छन् ।’   हालको संविधान मुलुकको सातौं संविधान हो । गणतन्त्रको स्थापनापछि असोज ३ गते संविधन दिवसकारुपमा मनाइँदै आइएको छ ।   

काठमाडौं:    काठमाडौंको तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ । उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका प्रमुख राठौरको नेतृत्वमा जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका प्रहरी कार्यालयका अधिकृतहरु रहेको समिति बनाएका हुन् । समितिका सदस्यहरुमा जिल्ला प्रहरी परिसर, काठमाडौंका डीएसपी हरि खतिवडा, उपत्यका प्रहरी कार्यालयका डीएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयका डीएसपी सुरक्षा केसी र प्रहरी वृत्त, बानेश्वरका निरीक्षक वीरेन्द्र केसी सदस्य रहेको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले बताए । गएराति तिनकुनेस्थित दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार गरेर एकैपरिवारका ३ सहित ४ जनाको हत्या भएको थियो । मारिनेमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी  श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले बताए ।   प्रहरी यो घटनामा संलग्न रहेको आशंकामा २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाका अनुसार, राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा पक्राउ गरिएको हो । उनले मदिरा सेवन गरेको पाइएको छ ।   घटनाको यकिन कारण खुलेको छैन । 

काठमाडौं:  सोमबार राति निधन भएका संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ ।   एमालेको केन्द्रीय प्रचार एवं प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार आज ११ बजे पशुपति आर्यघाटमा नेम्वाङको अन्त्येष्टि गरिनेछ ।   नेम्वाङको मुन्धुम र हिन्दू परम्पराअनुसार अन्त्येष्टि गर्ने तय भएको छ ।   उनको अन्त्येष्टिअघि शवयात्रा हुनेछ । शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ ।   नेम्वाङको सोमबार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको  थियो ।

पोखरा:    मिस मगर नेपाल–२०२३ सिजन ६ का लागि आवेदन आह्वान गरिएको छ । एस.टी क्रियशन म्यानेजमेन्ट प्रा.लि को आयोजनामा हुन लागेको मिस मगर नेपालको नयाँ सिजनका लागि आवेदन माग गरिएको हो । “मगर भाषा, संस्कृतिको उत्थान, प्रतिभाको प्रस्फुटन हाम्रो अभियान” भन्ने मूल नाराका साथ सन् २०११ देखि सुरु भएको मिस मगर नेपालको नयाँ सिजनमा सहभागी हुन १७ वर्ष देखि २५ वर्ष उमेर भएका मगर समुदायका युवतीहरूले भाग लिन सक्नेछन् । आवेदन मागसँगै मिस मगर नेपाल–२०२३ का प्रतियोगीहरूका लागि यही भदौको अन्तिम साता देखि प्रशिक्षण सूरुहुने कार्यक्रम निर्देशक सुरज थापामगरले जानकारी दिनुभयो । नेपाल मगर संघ, कास्कीको आयोजना एवं रिबर्थ इभेण्ट म्यानेजमेण्टको व्यवस्थापनमा सन २०११ देखि सुरु भएको मिस मगरमा सहभागिताका लागि देशभरिका मगर समुदायका युवतीहरूलाई आह्वान गरिएको उहाँले बताउनुभयो । पहिलो मिस मगर पोखरा-२०११ अन्नु थापामगर हाल अष्ट्रेलियामा रहेकी छिन् । मिस मगर पोखरा–२०१२ रञ्जना थापामगर हाल सिंगापुरमा रहेकी छिन् भने मिस मगर नेपाल–२०१४ उषा पाइजामगर हाल काठमाडौंमा छिन् । त्यसैगरी, मिस मगर नेपाल–२०१९ सनम गर्बुजामगर र मिस मगर नेपाल–२०२२ मिलन थापामगर पोखरामा व्यवसाय र मोडलिङ एवं अभिनय क्षेत्रमा क्रियाशील रहेका छन् । मिस मगर नेपालको संरक्षकमा नेपाल मगर संघ, केन्द्रीय समिति, जिल्ला समन्वय समिति, कास्की र नेपाल मगर महिला संघ, केन्द्रीय समिति रहेका छन् । मिस मगर नेपाल–२०२३ को आवेदन अवधि सकिएलगत्तै तालिम सञ्चालन हुने र त्यसपछि ग्राण्ड फिनालेको मिति तय गरिने कार्यक्रम संयोजक रूद्रबहादुर श्रीसमगरले जानकारी दिनुभयो । मिस मगर नेपालका प्रतियोगीहरूलाई प्रशिक्षण अवधिमा सौन्दर्यकला, भाषा, भेषभुषा, संस्कार, संस्कृति, नेतृत्व विकास तथा व्यक्तित्व विकासबारे प्रशिक्षण गराइने छ । मिस मगर नेपाल २०२३ का बिजेताहरुले उपाधिको क्राउन र अवार्ड सहित बिदेश भ्रमण तथा नगद पुरस्कार प्राप्त गर्नेछन् ।

मनाङ:    गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये सडक सञ्जालसँग नजोडिएको एउटै मात्र पालिका हो मनाङको नार्पाभूमि गाउँपालिका । नार्पाभूमि जिल्ला सदरमुकामबाट ७० किलोमिटर टाढा छ । विकट यस पालिका पुग्न दुई दिन पैदल यात्रा गर्नुपर्छ । सङ्घीयता कायम नहुँदै त नार्पाभूमिको विकासमा राष्ट्रको नजर पर्न सकेन । अहिले सङ्घीयता कायम भएपछि पनि माथिल्लो सरकारको नजर पर्न सकेको छैन । तर, नार्पाभूमि विकट भएर पनि हुनसक्छ सङ्घ सरकार तथा प्रदेश सरकारको नजर अझै पर्न सकेको छैन । यहाँको विकासलाई हेर्ने हो भने नार्पाभूमि राज्यविहीनकै अवस्थामा रहेको छ । देशलाई चिनाउनकै लागि महत्त्वपूर्ण भूमिका खेल्ने पर्यटकीय क्षेत्रको सरकारले चासो दिएको पाइएको छैन । सरकारले यस्ता महत्त्वपूर्ण पर्यटकीय क्षेत्रलाई वास्ता नगरेकाले पिछडिएका स्थानीयवासीको भनाइ छ । नार्पाभूमि–५ का वडाध्यक्ष सोनम तेन्जिङ लामाले सडकको अभावमा पर्यटकीय तथा स्थानीय उत्पादन बजारसम्म पुर्‍याउन समेत सकिने अवस्था नरहेको बताउनुभयो । उहाँका अनुसार नार्पाभूमिको विकासका लागि स्थानीय सरकारबाहेक अन्य सरकारको चासो पुग्न नसक्दा उपेक्षा गरिएको आभास हुने गर्छ । विकट क्षेत्रको विकासमा कुनै पनि सरकारको चासो नपुग्दा यहाँका स्थानीय निराश हुने गरेका छन् । नार्पाभूमि गाउँपालिकाका निवर्तमान अध्यक्ष मिङ्मा छिरिङ लामाले माथिल्ला सरकारले आम्दानीसँग जोडिएका क्षेत्रको विकासमा नै चासो नदिँदा उपेक्षा गरिएको महसुस हुने गरेको बताउनुभयो । “सडक सञ्जालसँग जोडेर स्थानीयवासीको सहज यात्रा गराउने उद्देश्यसहित पटकपटक सङ्घ सरकार र प्रदेश सरकारसमक्ष माग पेस गरेँ, तर सुनुवाइ नहुँदा मेरो कार्यकाल सकियो, अझै पनि समन्वय गर्ने भूमिकामा उभिएकै छु”, उहाँले भन्नुभयो, “वर्तमान गाउँपालिका अध्यक्षले पालिकाले नै सडक सञ्जाल बनाउनुपर्छ भनेर सडक सञ्जाल खन्ने काम गरिरहनु भएको छ, उहाँलाई हाम्रो साथ, सहयोग छ ।” सरकारले सहयोग नगरे पनि पालिकाले सडक सञ्जाललाई प्राथमिकता दिएर गरेको उहाँको भनाइ छ ।  नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले आवश्यक मात्रामा बजेट विनियोजन नगर्दा पालिकाले आफैँ एक्स्काभेटर र ब्रेकर खरिद गरी पालिकालाई सडक सञ्जालसँग जोड्ने प्रयास गरिरहेका जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म १४ किलोमिटर जति बाटो खन्ने काम भइसकेको छ । सडक सञ्जालबिना अन्य विकासका काम असम्भव हुने हुँदा हामीले बजेट विनियोजन गरेर पालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो । पालिकाको केन्द्र च्याँखुसम्म जिल्ला सदरमुकामबाट २६ किलोमिटरको दूरी छ । पहिला गाउँपालिकामा कुनै पनि भौतिक पूर्वाधार थिएन । अध्यक्ष लामाले भन्नुभयो, “उच्च हिमाली क्षेत्र नार्पाभूमिको माथिल्ला सरकारसँग पहुँचको अवस्था छैन, हामीले वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय भवन, बोर्डर आउट पोस्ट खडा गरिसकेका छौँ,  यसैलाई विकास मान्नुपर्ने अवस्था छ ।” ‘सम्पन्न नार्पाभूमि स् प्रसन्न नार्पा जाति’ भन्ने नाराका साथ गाउँपालिकाले पर्यटन, जडीबुटी र भौतिक पूर्वाधारको विकासमा जोड दिइरहेको उहाँको भनाइ छ । चीनसँग सिमाना जोडिएको विकट यस पालिकाले यार्सागुम्बालगायतका जडीबुटीका लागि व्यावसायिक रूपमै खेती गर्ने योजना बनाएको छ । यहाँको जिम्बुलाई देशविदेशसम्म पुर्‍याएर यहाँको प्रवर्द्धन गर्न लागिरहेको उहाँको भनाइ छ । पर्यटनको सन्दर्भमा नार्पाभूमिको ‘भिलेज प्रोफाइल’ तयार भएको छ । यहाँ भएका नार्फु ट्रेयल, (सेभेन पास ट्रेयल), नार गाउँ, फु गाउँ, सत्य गुम्बा, काङ्ला पास, टासिलाकाङ गुम्बा र काङ्ला पोखरी लगायतका द पर्यटकीय तथा धार्मिक स्थानको प्रचारप्रसार गरिरहेका उहाँले बताउनुभयो । नार्पाभूमि गाउँपालिकालाई नमुना पर्यटकीय स्थलका रूपमा विकास गर्ने लक्ष्य लिएको उहाँले जानकारी दिनुभयो । विकट क्षेत्रमा कर्मचारी आउन नचाहने हुँदा कर्मचारीको व्यवस्थापन एक जटिल समस्या बनेको उहाँको भनाइ छ । ‘‘सेवाग्राही थोरै मात्र हुने भएकाले कर्मचारीलाई काम गर्न सजिलो हुँदा समेत कर्मचारीहरू आउन मान्दैनन्’’ उहाँ भन्नुहुन्छ । ‘व्यवस्थित बस्ती विकास’ कार्यक्रम सञ्चालन गर्नुका साथै समयमयमा घुम्ती शिविर राखेर पनि सेवा प्रवाह गरिरहेको उहाँले जानकारी दिनुभयो । शिक्षा, स्वास्थ्य, पर्यटनलगायत अन्य विकासका पूर्वाधारका क्षेत्रमा पनि पालिकाले प्राथमिकता दिएको छ । फु गाउँ चीनसँगको अन्तर्राष्ट्रिय सीमा रहेको छ । अहिलेसम्म त्यहाँ सीमास्तम्भ राखिएको पाइएको छैन । नार्पाभूमिलाई सुरक्षित राख्न फु गाउँमा बोर्डर आउट पोस्ट ९बिपी० राख्नेबारे छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसका लागि आवश्यक पर्ने पूर्वाधार र सातदेखि १० रोपनी जमिनको खोजी भइरहेको छ, सर्वदलीय छलफलबाट बिपी राख्ने सहमति भइसकेको छ, गृह मन्त्रालय र गृहमन्त्रीसँग पनि यस विषयमा छलफल गरेका छौँ, अन्तर्राष्ट्रिय सिमाना सुरक्षित गर्न राज्यको पनि ध्यान जानु जरुरी छ ।”  भौगोलिक विकटताले गर्दा यहाँ कोहीलाई जटिल स्वास्थ्य समस्या आयो भने हेलिकोप्टर चार्टर गर्नुको विकल्प छैन । विपन्न वर्गलाई उपचारको पहुँचसम्म पु¥याउन पालिकाले ५० प्रतिशत छुटमा व्यवस्थापन गर्ने गरेको उहाँले जानकारी दिनुभयो । सामान्य स्वास्थ्य समस्यालाई यहाँका स्वास्थ्य चौकीमा नै औषधोपचार हुने गरेको छ । पर्यटकले जथाभाबी फोहोर फाल्दा नदी फोहोर भएको तीतो अनुभव रहेको अध्यक्ष लामाले सुनाउनुभयो । नदी सफा गर्नेतर्फ पालिको ध्यान केन्द्रित गरेको उहाँले बताउनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत आउने पर्यटकलाई दोब्बर रोयल्टी तिर्नुपर्ने प्रावधान निर्धारण गरिएको छ । यहाँका हिमलुङ, चोय, जुलु पिक, जुलु फरेस्टलगायतका साना हिमाल आरोहणमा पर्यटक आउने गर्दछन् । त्यस्तै यहाँको पर्यटकीय क्षेत्रको रूपमा परिचित समुद्री सतहबाट पाँच हजार दुई सय मिटर उचाइमा रहेको काङ्ला पास, मुस्ताङ निस्कने तेरिला पास पनि यसै क्षेत्रमा पर्दछ । यस पदमार्ग हुँदै घुम्न आउने पर्यटकलाई सहज बनाउन आवश्यक छ । स्थानीय तहले सडक सञ्जाललाई विकास गर्दा पदमार्गलाई असर नगर्ने गरी सङ्घ र प्रदेश सरकारले सहयोग गरेमा यहाँको प्राकृतिक सौन्दर्यतालाई संरक्षण गर्न सकिन्छ । 

पोखरा: नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सत्ताधारी दलका नीतिका कारण देशको हालत बर्बादी उन्मुख भएको बताएका छन् । पार्टीको धादिङ–पोखरा सम्पर्क मञ्चको शनिबार पोखरामा सम्पन्न १२ औं साधारणसभा तथा छैटौं अधिवेशनमा प्रमुख अतिथि गुरुङले गत निर्वाचनमा एमालेलाई बहुमत नदिँदा यो परिणाम भोग्नुपरेको उल्लेख गरे । ‘कर्मचारी तलब खान पाएका छैनन् । सरकारी विकास निर्माण आयोजनाका ठेकेदारहरुलाई दिने पैसा छैन । अर्थतन्त्र डामाडोल छ । जनता मारमा छन् ।’ उपमहासचिव गुरुङले भने– ‘गएको चुनावमा एमालेलाई जनताले नचिनेर, अझै चिन्न नसकेर पो परिणाम भोग्नुपरेको छ । ०८४ मा एमालेलाई बहुमत दिएर एकल सरकार सञ्चालनको जिम्मा लगाए देश बन्छ ।’ माओवादी, माधव नेपाल, काँग्रेसको भ्रममा जनता परेकाले पनि यस्तो परिणाम आएको भन्दै उनले यिनीहरुबाट जनता मुक्त हुनुपर्ने उल्लेख गरे । ‘विदेशीले जे जे भन्छ, त्यही नीति ल्याएर दलाल पूँजीवादीको सरकार चलिरहेको छ । दलाल नोकरशाही पूँजीवाद र दक्षिणपन्थी विस्तारवाद विरुद्ध एमाले मात्रै लडिरहेको छ ।’ उनले भने । ०८४ कोे चुनावमा नेकपा एमालेले बहुमत ल्याउने र त्यसपछि स्थायी सरकार गठन भई देशले गति लिने, विकास र समृद्धिको ढोका खुल्ने उनको भनाई छ । नेकपा एमाले जनताको अथक मेहनत, संघर्ष र समर्पणले बनेको पार्टी भएकाले पञ्चायत फाल्ने, निरंकुशतन्त्र ढाल्ने अगुवा पार्टी बनेको गुरुङको भनाई छ ।  ‘अरुले बनाएको, विदेशीले बनाएको पार्टी देशको हितमा, जनताको हितमा हुँदैन । मदन भण्डारी किन ठीक थिए ? एमाले किन यति सर्वप्रिय बन्यो ? भन्दा जनताको संघर्ष, त्याग र समर्पणकै कारण हो । नेकपा एमाले गौरवशाली पार्टी किन बन्यो ? भन्दा उग्रवादी माओवादी र दक्षिणपन्थी काँग्रेसलाई सही बाटोमा ल्याउने पार्टी भएकाले नै हो ।’ गुरुङको ठोकुवा थियो ।  आगामी चुनावमा बहुमत प्राप्त गर्न भातृ संगठनहरु, यस्ता मञ्चहरु, शुभेच्छुक संगठनहरु क्रियाशील हुनुपर्ने र अहिलेदेखि नै जागृत हुन पनि निर्देश गरे । तीज विशेष कार्यक्रममा महिलाहरुलाई सम्बोधन गर्दै उनले बच्चाहरुलाई मेहनत, संघर्ष गर्न सिकाउनुपर्ने नत्र, उनीहरुले दुःख पाउने बताए । ‘बच्चालाई दुःख बुझाउनुहोस् । नत्र, समस्यासँग जुध्न सक्दैनन् । बाँच्न सक्दैनन् ।’ गुरुङले भने । कामको सिलसिलामा जहाँ रहेपनि आफ्नो पार्टीप्रतिको निष्ठा र समर्पण नछाडेको भन्दै पछिल्लो क्रममा सक्रिय गतिविधिका साथ मुलुकका सम्पर्क मञ्च मध्ये धादिङ–पोखरा सम्पर्क मञ्च अग्रपंक्तिमा रहेको गुरुङले बताए । विशेष अतिथि एमाले बागमती प्रदेश सचिवालय सदस्य एवं पूर्व प्रदेश राज्यमन्त्री डा. रामकुमार अधिकारीले राजनीतिक प्रतिद्वन्द्वी काँग्रेस रहेकाले काँग्रेसको पछि हिँड्ने अन्यबाट कुनै खतरा नरहेको बताए । उनले भने– ‘अरू दलसँग वैचारिक मतभिन्नता होइन । काँग्रेसले सबै भन्दा बढी सरकार चलायो, के ग¥यो ? भन्न सक्दैनन् । सिद्धान्त विचार एकातिर छ, काम, व्यवहार अर्कोतिर छ । तर, नेकपा एमाले जति सरकारमा रह्यो । देश बनायो । आफ्नो गाउँ, आफैं बनाऔं नाराका साथ नेतृत्व सुरु गरेको एमालेले सधैं राम्रो नै गरेको छ ।’ उनले धादिङमा पार्टी मजबुत बन्नुुमा पोखरा स्थित धादिङेली जनताको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे । एमाले धादिङका उपाध्यक्ष एवं संविधानसभा सदस्य धन बहादुर घलेले धादिङबाट कामको सिलसिलामा पोखरा आएर वा यहीँ नै स्थायी बसोबास गरेर पनि पार्टीको हितमा लागिरहँदा असाध्यै खुशी लागेको बताए । उनले धादिङमा साढे ९ हजार संगठित सदस्य रहेकोमा बढाउने अभियानमा रहेको जनाउँदै २०८४ मा बहुमत प्राप्त गर्नको लागि पोखराका साथीहरू सबै लाग्नुपर्ने बताए ।  नेकपा एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारीले पार्टी विस्तार र विकासका लागि धादिङबासीको योगदान महत्वपूर्ण रहेको बताए । अधिकारीले सम्पर्क मञ्चले पार्टी जोड्ने पुलको काम गरेको बताए ।  जिल्ला कमिटि धादिङ सदस्य चन्द्रकुमारी अधिकारी, मञ्चका संस्थापक अध्यक्ष कृष्णबहादुर लम्साल,  जिल्ला कमिटि धादिङका सदस्य बेनी पाठक लगायतले बोलेका थिए ।  मञ्चका अध्यक्ष शेरबहादुर अधिकारीको अध्यक्षतामा भएको साधारणसभामा सचिव सरोज कुँवरले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उपाध्यक्ष योगप्रसाद सापकोटा (नवराज)ले स्वागत गरेका थिए । उक्त अवसरमा मञ्चद्वारा आयोजित विभिन्न कार्यक्रमका संयोजकहरुलाई सम्मान पनि गरिएको थियो । निवर्तमान अध्यक्ष वीरबहादुर थापा, रक्तदान कार्यक्रम संयोजक यार्मिला तामाङ, क्यालेण्डर प्रकाशन संयोजक हरिकृष्ण श्रेष्ठ, न्यानो कपडा वितरण अभियान संयोजक मिलन सुनारलाई सम्मान गरिएको थियो । यस्तै, नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा धादिङ घर भई पोखरामा स्थायी वा अस्थायी बसोबास गर्दै आएका चेलीबेटीबीच भेटघाट कार्यक्रम पनि सम्पन्न भयो ।