अमेरिकामा ‘हेलेन’ नामक आँधीका कारण पाँच राज्यमा कम्तिमा ६३ जनाको मृत्यु भएको छ । आँधी प्रभावित क्षेत्रमा बिजुली कटौती भएको छ । उद्धारकर्ताले शनिबार विनाशकारी आँधीबाट बेपत्ता भएकाहरुको खोजी प्रयास जारी राखेका छन् । चौथो श्रेणीको आँधीको रूपमा बिहीबार फ्लोरिडामा अवतरण गरेको हेलेन बिस्तारै निष्क्रिय हुँदै उत्तरतर्फ बढेको थियो । अलाबामा, फ्लोरिडा, जर्जिया, नर्थ क्यारोलिना, साउथ क्यारोलिना र टेनेसी गरी छ वटा राज्यमा सङ्घीय आपतकालीन अवस्था घोषणा गरिएको छ र उद्धारका लागि सङ्घीय आपतकालीन व्यवस्थापन प्रशासन (फेमा) का ८०० भन्दा बढी कर्मचारीहरू तैनाथ गरिएको छ । हाल ‘उत्तर–उष्णकटिबन्धीय चक्रवात’ को रूपमा वर्गीकृत गरिएको आँधी ओहायो उपत्यका र मध्य एपलाचियनलाई आइतबारसम्म रहने अपेक्षा गरिएको नेशनल शुरिकेन सेन्टरले जनाएको छ । आँधीजन्य विपत्का कारण दक्षिण क्यारोलिनामा कम्तिमा २४, जर्जियामा १७, फ्लोरिडामा ११, उत्तरी क्यारोलिनामा १० र भर्जिनियामा एक जनाको मृत्यु भएको स्थानीय अधिकारी र सञ्चारमाध्यमले जनाएको छ । मौसम पूर्वानुमानसम्बन्धी राष्ट्रिय निकायले ‘विगत दुई दिनदेखि आएको विनाशकारी बाढीपछि आज स्थितिमा सुधार हुने जानकारी गराएको छ । तर बिजुली कटौती लामो समयसम्म हुनसक्ने चेतावनी दिएको छ । आँधीको प्रभावले दक्षिणपूर्वी फ्लोरिडादेखि मिडवेस्ट इन्डियानासम्म १० राज्यमा २६ लाख मानिसहरू विद्युत्को अभावमा अध्यारोमा बसिरहेका छन् ।
काठमाडौँ: सरकारले अविरल वर्षाका कारण देशभरका २६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक निष्कर्ष निकालेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री दीपक खड्काले हालसम्मको विवरणअनुसार रु दुई अर्ब ४५ करोड बराबरको क्षति भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हामीले प्रारम्भिक विवरणका आधारमा यो तथ्याङ्क उल्लेख गरेका हौँ । थप क्षति भएको हुन सक्छ । बाढीका कारण झण्डै एक हजार एक सय मेगावाट विद्युत् उत्पादन रोकिएको छ । कूल एक हजार १० मेगावाट जडित क्षमताको १५ वटा निर्माणाधीन आयोजनामा क्षति पुगेको छ ।” तामाकोसी नदीको कटानका कारण खिम्ती लामोसाँघु प्रसारण लाइनको टावर बगाउँदा दुई सय मेगावाट बराबरको बिजुली प्रणालीमा जोड्न समस्या भएको त्यस अवसरमा जानकारी दिइयो । सोही प्रसारण लाइन भएर काठमाडौँका लागि बिजुली ल्याउनेगरिएको छ । यस्तै दोलखा, रामेछापका विभिन्न आयोजनाको आठ सय मेगावाट बराबरको बिजुली प्रवाह गर्ने टावरसमेत जोखिममा परेका छन् । मन्त्री खड्काले क्षति पुगेका आयोजनाको पुनःनिर्माणका लागि तत्काल आवश्यक पहल गरिने जानकारी दिनुभयो । पहिलो चरणमा क्षतिको सम्पूर्ण विवरण सङ्कलन गर्ने, पुनःनिर्माण र पुनःस्थापना कार्यलाई विशेष ध्यान दिइनेछ । यसका लागि सरकारका सबै संयन्त्र परिचालन गर्नेछौँ” उहाँले भन्नुभयो । यस्तै, प्रसारण लाइनतर्फ काबेली करिडोरअन्तर्गतको दमक गोदक एक सय ३२ केभी प्रसारण लाइन, खिम्ती लामोसाँघु एक सय ३२ केभी, सोलु करिडोरमा क्षति पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकानुसार बाढीपहिरोका कारण माथिल्लो तामाकोशी जलविद्युत् आयोजना बन्द भएको छ । सो आयोजनाको बाँधस्थलमा रहेको नियन्त्रण कक्ष भवनमा क्षति पुगेको छ । यस्तै, बालुवा थिग्य्राउने पोखरीलगायतका संरचनामा क्षति पुगी विगत तीन दिनदेखि बन्द रहेको सो आयोजनाको सम्पूर्ण विवरण सङ्कलन गर्नसमेत हालसम्म समस्या रहेको उहाँले बताउनुभयो । “काबेली करिडोरमा समस्या आउँदा इलाम र पाँचथरमा बिजुली प्रवाहका लागि समस्या भएको छ । झापाबाट वैकल्पिक व्यवस्था गरेर बिजुली उपलब्ध गराउने प्रयास भइरहेकाले आज अबेरसम्म सो कार्य सम्भव हुने विश्वास छ”, कार्यकारी निर्देशक घिसिङको भनाइ थियो । यस्तै, सिँचाइतर्फ रु एक अर्ब ३५ करोड बराबरको क्षति पुगेको छ । सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कफर ड्याम डुबानमा परेको छ । रामेछाप र सिन्धुली जोड्ने पक्की पुल बगाएकाले क्षतिको तत्काल अनुमान गर्न गाह्रो भएको जनाइएको छ । कमला, नारायणी सिँचाइ आयोजनालगायतमा क्षति पुगेको छ । सुनसरी मोरङ सिँचाइ आयोजनाका १० वटा शाखा नहरमा सामान्य क्षति हुँदारु पाँच करोड बराबर क्षति भएको अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरिता दुवाडीलगायतको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीद्वय विष्णुप्रसाद पौडेल र प्रकाशमान सिंह, मन्त्रीगण, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतले बिदाइ गर्नुभयो । सो अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीको सम्मानमा गारत अर्पण गरेको थियो । प्रधानमन्त्री ओलीले यही असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिने, वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ । उहाँ यही असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुनुहुनेछ । न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्युरो (एलडिसी)को अध्यक्षका रूपमा सम्मेलनलाई सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै उहाँले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत ‘उच्चस्तरीय र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध’ विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ गते आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नुका साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई सम्बोधन गर्नुहुने तालिका छ । उहाँले भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री ओली नेतृत्वको टोलीमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू हुनुहुन्छ । उहाँ असोज १४ गते स्वदेश फर्कनु हुनेछ ।
नेकपा (माओवादी केन्द्र) प्रवास प्रदेश समितिको परामर्श बैठक आजदेखि सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रीय पदाधिकारी र विभिन्न देशमा रहेका प्रवासका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीबीच श्रव्यदृश्यका माध्यमबाट बैठक सुरु भएको हो । दुई दिनसम्म चल्ने बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै प्रवास प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको सहभागिता रहेको छ । बैठक सुरुआत गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको बताउनुभयो । उहाँले रुपान्तरण सम्भव भएको र यसको विकल्प नभएको बताउनुभयो । “माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दा उल्टिन्छन्, संविधानमाथि हमला हुन्छ,” उहाँले भन्नुभयो, “परिवर्तनलाई जोगाउन पनि हामी सुदृढ एकतासहित अघि बढ्नुको विकल्प छैन ।” अध्यक्ष दाहालले अब सम्पूर्णरूपमा पार्टी पुनर्गठन र जनपरिचालनका कार्यक्रमसहित अघि बढ्ने बताउनुभयो । बैठकमा सहभागीका धारणा सुनेपछि अन्तिममा केन्द्रीय पदाधिकारीले सम्बोधन गर्ने कार्यक्रम छ । पार्टी केन्द्रीय समिति बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ । माओवादी केन्द्रले बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १, मधेश प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरिसकेको छ । अब केन्द्रीय सल्लाकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको बैठक सकेर केन्द्रीय समिति बैठकको तयारीमा लाग्ने माओवादी केन्द्रले जनाएको छ । केन्द्रीय समितिको बैठकबाट सङ्गठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम ल्याउने माओवादी केन्द्रको तयारी छ ।
काठमाडौँ: नेपाली र अमेरिकी सेनाबीचको चौथो संस्करणको सैनिक अभ्यास आजदेखि सुरु भएको छ । अभ्यासका क्रममा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विधि तथा प्रक्रियाका सम्बन्धमा ज्ञान आदानप्रदान हुने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । संयुक्त अभ्यास काठमाडौँ, मकवानपुर र धादिङमा हुनेछ । विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सन् २०१२ देखि अभ्यास सञ्चालन हुँदै आएको छ । अभ्यास असोज ४ गते सम्पन्न हुनेछ ।
काठमाडौँ: नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार सोमबारको तुलनामा मङ्गलबार जापानिज येनको भाउ घटेको छ । सोमबार जापानिज येन १० को खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा रहेकामा आजका लागि खरिददर ९ रुपैयाँ ३२ र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६४ पैसा, युरोपियन यूरो एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६२ पैसा र युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा कायम छ । स्वीस फ्रयाङ्क एकको खरिददर १५७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १५८ रुपैयाँ ५८ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २२ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६२ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९९ रुपैयाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ५४ र बिक्रीदर १०३ रुपैयाँ ०० पैसा कायम भएको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा कायम छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा कायम भएको छ । थाई भाट एकको खरिददर ३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३ रुपैयाँ ९६ पैसा कायम छ । साथै युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३० रुपैयाँ ८० पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९ रुपैयाँ ९९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२ रुपैयाँ ९८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १९ रुपैयाँ ९२ पैसा छ । हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ७३ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ६९ पैसा छ भने बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ६१ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ २० पैसा कायम भएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाइएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
भरतपुर: लामो समय अलपत्र बनेको चितवनको रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणले गति लिएको छ । सङ्घ र प्रदेश सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाको अग्रसरतामा कामले गति लिन थालेको हो । रङ्गशालाको स्थलगत निरीक्षण गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले ठेक्का लागेसँगै रङ्गशाला निर्माणको काम सन्तोषजनक रुपमा अघि बढेको बताउनुभयो । “कामले गति लिइसकेको छ । कामदारको सङ्ख्या पनि उल्लेख्य छ”, उहाँले भन्नुभयो, “तोकिएकै समयमा रङ्गशाला निर्माण हुनेमा भन्नेमा हामी विश्वस्त छौँ ।” उहाँले निर्माणका लागि आवश्यक नदीजन्य सामग्री र अन्य कामको सहजीकरणका लागि महानगरले सहयोग गर्ने बताउनुभयो । महानगरपालिकाले हिमालयन कालिञ्चोक बिबिआर जेभीलाई ३० महिनाभित्र रङ्गशाला निर्माण सम्पन्न गर्नेगरी जिम्मा दिएको हो । निर्माण कम्पनीले दुई हप्तादेखि फिल्डस्तरमा काम थालेको भरतपुर महानगरपालिकाका प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले कामको सहजीकरणका लागि महानगरपालिकाले चार जनाको प्राविधिक टोली कार्यस्थलमा खटाएको बताउनुभयो । उहाँका अनुसार यसअघिको डिजाइन परिवर्तन गरिएको छ भने दर्शक अट्ने क्षमता घटाएर अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने गरी रङ्गशाला निर्माण फेरि सुरु गरिएको छ । सरकारले आवश्यक सहयोग गरेमा सम्झौता अवधिभन्दा छिटो सक्नेगरी काम अघि अगाडि बढाइएको हिमालयन कालिञ्चोक बिबिआर जेभीका आयोजना प्रमुख विजय ढकालले बताउनुभयो । उहाँका अनुसार अहिले दुई सय ५० जना कामदार खटिएका छन् । उहाँले पहिलो चरणमा रङ्गशालामा मैदान, ड्रेनऐज र दुई वटा तीन तलाको टावर निर्माण गरिनेछ । धुर्मुस–सुन्तली फाउण्डेसन र भरतपुर महानगरबीच २०७५ माघ १६ गते रङ्गशाला निर्माण सम्झौता हुँदा ३० हजार दर्शक क्षमताको बन्ने उल्लेख थियो । पहिलो चरणमा १५ हजार दर्शक अट्ने क्षमताको रङ्गशाला बन्नेछ । फाउण्डेसनले यसअघि नै दुबो रोपेर मैदान बनाएको थियो । अहिले भने नयाँ प्रविधिको प्रयोगगरी पाँच वटा पिचसहितको मैदान बनाउन लागिएको छ । नयाँ माटो ल्याएर मैदानमा पानी नजम्ने बनाउन लागिएको उहाँले बताउनुभयो । महानगरपालिकाले रु ७८ करोड ५० लाख ९१ हजार एक सय ८९ मा ठेक्का सम्झौता गरेको हो । फाउण्डेशनले यो परियोजना तीन अर्ब ५५ करोड रुपैयाँको रहेको जनाएको छ । सहयोग जुटाएर निर्माण सुरु गरेको रङ्गशाला धुर्मुस सुन्तली फाउण्डेशनले बजेट अभाव भएपछि काम रोकेको थियो । अहिले पनि रङ्गशालाको ऋण रु १२ करोड रहेको फाउण्डेशनले जनाएको छ ।
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ जिल्ला कमिटीले काठमाडौँको स्वास्थ्य, खानेपानी, ढल, सडक, खाद्यान्न, वातावरण लगायत अन्य सुधार गरिनुपर्ने क्षेत्रका सन्दर्भमा ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ एमाले बाग्मती प्रदेशका इन्चार्ज डा राजन भट्टराई, जिल्ला कमिटी अध्यक्ष दीपक निरौला, काठमाडौँ महानगरपालिकाका उपप्रमुुख सुनिता डङ्गोल, पूूर्वप्रमुुख विद्यासुन्दर शाक्यसहितको प्रतिनिधि मण्डलले मेलम्ची खानेपानी आयोजनाको सहज आपूर्ति नभएको अवस्थामा काठमाडाैं क्षेत्र नं ३ स्थित सुन्दरीजलको नागमती ड्याम परियोजनाको बाँकी कामलाई तत्काल अगाडि बढाउन र उपत्यकाको विभिन्न भागमा पुन:भरणको योजना अगाडि बढाउन माग गरेको छ । यस्तै यहाँका नदीहरूको सौन्दर्यीकरण र फोहरमैलाको दीर्घकालीन समाधान गर्न पनि माग गरिएको छ । प्रतिनिधि मण्डलले काठमाडौँ महानगरपालिकाभित्र नदीको दायाँबायाँ छोड्न निर्धारण गरिएको भन्दा अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिनेसम्बन्धी सर्वाेच्च अदालतको फैसलामा न्यायिक पुनरावलोकनका लागि आग्रह समेत गरेको छ । उक्त उत्प्रेषणको आदेशका आधारमा गत साउन २४ गतेको महानगरपालिकाका प्रमुुखस्तरीय निर्णयबाट नक्सा अनुमति रोक्काको सूूचना प्रकाशन गरिएको जनाइएको छ । सो अवसरमा एमालेका अध्यक्षसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले जनजीवनमा समस्या सम्बोधनका लागि सरकारका तर्फबाट गर्नुपर्ने पहल गर्ने जनाउँदै कुनै पनि निकाय र व्यक्तिले व्यावहारिकतालाई ध्यान नदिई निर्णय गर्न नहुने बताउनुुभएको थियो ।
रामेछाप: दोरम्बाको शैलुङ गाउँपालिका–३ मा गएराति पहिरोले तीन घर पुरिँदा ६ जनाको मृत्यु भएको छ भने अन्य ४ जना हराइरहेका छन् । एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त पालिकाको वडा नं ३ मा खसेको पहिरोमा परी ३० वर्षीया चण्डीका श्रेष्ठ र निजका १८ महिनाका छोरा आयुष, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षका सन्दिप पहरी, ११ वर्षका सन्तोष पहरी र १४ वर्षका विज्ञान पहरीको मृत्यु भएको हो । एघार वर्षीया अञ्जना श्रेष्ठ घाइते भएकी छन् । उनको कम्मरभन्दा मुनिको भाग चलेको छैन । सो गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले दिनुभएको जानकारीअनुसार गएराति पहिरो खसेको हो । घटनाबारे जानकारी पाउनासाथ स्थानीय, प्रहरी र नेपाली सेनाका जवान उद्धार र खोजीमा जुटेका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिनुभयो । पहिरोले वडा नं २ र ३ को सिमाना भएर बग्ने अँधेरी खोलको पक्की पुल पनि बगाएको छ ।