काठमाडौँ: गएरातिको वर्षाले प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृह डुबानमा परेको छ । पानी जाने ठाउँ नहुँदा ठुलो पानी पर्नासाथ सभागृह डुबानमा पर्ने गरेको छ । यहाँ काठमाडौँ महानगरपालिकाको कार्यालय पनि रहेको छ । अहिले २ मोटर लगाएर पानी फाल्ने काम भइरहेको छ । काठमाडौंमा मध्यम खालको वर्षा हुँदा पनि सभागृह जलमग्न हुने गरेको छ ।
देशभर मनसुनको प्रभाव यथावत छ। बिहीबार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी वायुको प्रभावका कारण हाल देशभर साधारणतया बदली रही गण्डकी प्रदेशका केही र कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै तथा मधेस, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै कोशी, बाग्मती र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनी महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ। बिहीबार राति पनि देशभर आंशिक देखि साधारणतया बदली रही कोशी,बागमती,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश,गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
पोखरा: अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परि देशभर गत जेठ २८ गतेदेखि साउन १ गतेसम्म कुल १ सय २० जनाले ज्यान गुमाएका छन् । प्रहरी हेडक्वाटरको तथ्याङ्क अनुसार विपद्मा परि काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी कुल १ सय २० जनाको मृत्यु भएको हो । यस्तै विपद्मा परी १ सय ३५ जना घाइते भएका छन् । प्रहरीको तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा ८ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २८ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा २९ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ३५ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै कोशी प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा १२ जना गरी जम्मा ५३ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ८ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ । बाढीको कारण जम्मा १ सय ८२ घर डुबानमा परेका छन् । २ सय १३ वटा घर, ७९ वटा गोठ, ४३ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ५ सय ८१ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ३ हजार ६ सय ५२ घर परिवार विस्थापित भएका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्यसमेत प्रहरीले गरिरहेको छ ।
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सोमबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा दुई नेताबिच भेट भएको हो । सत्तारुढ दलका दुई शीर्ष नेताबिच लगातार दोस्रो दिन भेटवार्ता भएको छ । यसअघि आइतबार पनि दुई नेतासहित उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबिच सिंहदरबारमा छलफल भएको थियो । शनिबार अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच ३ घण्टा लामो छलफल भएपछि सत्ता समीकरणबारे विभिन्न अड्कलबाजीहरू भइरहेका छन् । यही आशङ्काबिच दुई नेताको भेटघाट बाक्लिएको हो ।
काठमाडौं: नेपाल सुनचाँदी व्यवसायी महासंघ,नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले सँयुक्त रुपमा विज्ञप्ती जारी गरेको छ । काठमाडौंको शुक्रपथ विशालबजारको ठेगाना दिई गहना व्यवसाय गर्ने एक फर्मले “सुनको मूल्य अत्याधिक बढेकोले ज्याला र जर्तिमा भारी छुट” को आकर्षक विज्ञापन प्रकाशित गरी आम उपभोक्तामा भ्रम छर्ने, गहना व्यवसायीहरुलाई अन्योलमा पर्ने एवं व्यवसायी र कालीगढबीच द्वन्द्व सिर्जना गर्ने कार्य गरेको भन्दै तिन महासंघले उपभोक्ताहरुलाई भ्रममा नपर्न आग्रह गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको कार्यवहाक अध्यक्ष अर्जुन रसाईली, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष किसान सुनार र नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘राज्यले गहना व्यवसायको संचालन एवं नियमनका लागि ऐन, नियम, निर्देशिका आदि जारी नगरेको विद्यमान अवस्थामा गहना व्यवसायीहरुका प्रतिनिधिमूलक छाता संगठनहरुले आपसी सहमतिमा निर्धारण गरेको विधि र पद्दति अनुरुप मुलुकभर व्यवसाय संचालन एवं यस सम्बन्धि विषयहरु व्यवस्थापन हुँदै आएकोमा त्यसरी फर्म विशेषले आँफू खुशी “धमाका अफरहरु” दिएर गरिने भ्रमात्मक विज्ञापनले राज्य, आम उपभोक्ताको साथै यस क्षेत्रमा संलग्न व्यवसायी एवं कालीगढबीच विश्वासको संकट पैदा गराउने स्पष्ट छ ।’ कानून विपरित उपभोक्तालाई भ्रम छर्ने उद्देश्यले गरिएको विज्ञापन तत्काल बन्द गर्नुपर्ने तीनै महासंघको ठहर छ । ‘मजदुरको पारिश्रमिक, निर्माण क्षति (जर्ती), ज्याला आदि बारेमा नेपाल सरकारबाट विभिन्न समयमा विभिन्न परिपत्रहरु जारी भएकाले साथै नेपाल राष्ट्र बैंकको सुन आयात तथा बिक्री वितरण कार्यविधि २०६८ मा सुनका गहना निर्यात हुँदा जर्ती बापत १० प्रतिशत थप शोधभर्ना दिने नियम छ, विज्ञप्तीमा भनिएको छ, ‘टक्सार विभागमा सिक्का टकमरी गर्दा ७.२ प्रतिशत जर्तिको व्यवस्था रहेको छ । माथिका यी व्यवस्थाहरूलाई मध्यनजर गर्दा कुनै फर्म वा कम्पनीले जर्ती नलिई केवल ७ प्रतिशत निर्माण शुल्कमा गरगहना बिक्री गर्ने विज्ञापनले सुनचाँदी बजारलाई अस्वस्थ प्रतिस्पर्धामा धकेल्ने स्पष्ट छ ।’ हेर्दा नाफा नहुने तर घुमाउरो पाराले गुणस्तरमा सम्झौता गर्ने, बैंकिङ प्रणाली बाहेकको अनौपचारिक रुपमा भित्रिएको कमसल सुनको प्रयोग गर्ने र कालीगढको मुनासिव ज्यालामा संकुचन गरी अपारदर्शी र विधि विपरीत नाफा लिने प्रवृत्ति हावी हुन सक्ने भएकोले यस्ता अवान्छित क्रियाकलापलाई रोक्नुपर्ने महासंघको बुझाई छ । महासंघले उपभोक्तालाई भ्रम छर्ने खालको विज्ञापन फिर्ता लिन र अब आइन्दा यस्तो काम नगर्न/नगराउन साथै आगामी दिनमा यस्तो कार्य नदोहोरोस् भन्नका लागि सम्बन्धित सबै व्यवसायीहरुमा विज्ञप्तीमार्फत सचेत गराएको छ । साथै हालसम्मको साथ सहयोगका लागि आम उपभोक्ताप्रति आभार व्यक्त गर्दै सस्तो लोकप्रियताको भ्रमपूर्ण विज्ञापनको पछाडि नलाग्नसमेत अनुरोध महासंले सँयुक्त रुपमा अनुरोध गरेको छ । नेपाल सरकारले आर्थिक वर्ष २०८१/०८२को बजेटमार्फत सुनको आयातमा लगाउदै आएको भंसार शुल्कमा वृद्धि गरि २० प्रतिशत पुर्याएकाले पुरानै दर कायम राख्न, कोटा प्रणाली खारेज गर्न र आयातमा एकाधिकारको अन्त्य गर्नुपर्ने लगायतका माग गर्दै अर्थमन्त्री वर्षमान पुनलाई यसअघि भेट गरिसकेको छ ।
काठमाडौं: । रुसी सेनामा भर्ती भएका थप दुई नेपालीको मृत्यु भएको छ । रुकुमका बलराम गुरुङ र दैलेखका तेजबहादुर शाहीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको हो । योसँगै रुस युक्रेन युद्धमा मर्ने नेपालीको संख्या २५ पुगेको छ । परराष्ट्र मन्त्रालय श्रोतका अनुसार रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भइ युक्रेनसँगको युद्धका क्रममा युक्रेनको कब्जामा रहेका पाँच नेपालीको अवस्था अझै अज्ञात रहेको छ । यसरी कब्जामा रहेका नेपालीमा बर्दियाका विवेक खत्री, काभ्रेका सिद्धार्थ ढकाल, मोरङका विकास राई, रोल्पाका प्रतिक पुन र गोरखाका ईश्वर लामिछाने छन् । नेपाल सरकारले लगातार प्रयास गरिरहेको भएपनि रुसी सेनामा हालसम्म कति नेपाली भर्ती छन्, कति घाइते छन् र कतिको मृत्यु भयो भन्ने तथ्याङक रुसी सरकारले नेपाललाई दिएको छैन । नेपाल सरकारले रुसी सरकारलाई पटकपटक गरेको आग्रह र पत्राचारका बाबजुद पनि रुसी विदेश मन्त्रालयले उक्त विषय रक्षा मन्त्रालयको भएको उल्लेख गर्दै नेपाललाई जवाफ दिन आनाकानी गरेको हो । सन् २०२२ फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्धमा रुसले गैरकानुनी रुपमा नेपालीलाई सम्झौता गर्दै भर्ती गरिरहेको छ । यसैबीच रुस मामिलामा भइरहेको घट्ना र अहिले उत्पन्न संकटका सम्बन्धमा अध्ययन गर्न परराष्ट्र मन्त्रालयको नेतृत्वमा गठन भएको एक उच्च स्तरीय कार्यदलले काम गरिरहेको छ ।
पोखरा: स्वतन्त्र सांसद राजीव गुरूङ छैटौं पटक मन्त्री बनेका छन् । यससँगै उनको मन्त्री पदमा डबल ह्याट्रिक पुरा भएको छ । यस्तै फ्लोर क्रस गरेर आफुलाई विश्वासको मत दिएका माओवादी केन्द्र संसदीय दलका सदस्य फणीन्द्र देवकोटालाई पनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रीमा नियुक्त गरे । राजीवलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी र देवकोटालाई उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ । यी दुवै मन्त्रीले पद तथा गोपनियताको शपथ लिए । विश्वासको मत दिएको राप्रपा भने तत्काल सरकारमा नजाने भएको छ ।
पोखरा: पोखरा महानगरका विद्यालय र क्याम्पसहरुमा न्यायिक समितिका बारेमा जानकारी गराउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ । पोखरा महानगरपालिकाको न्यायिक समितिको संवैधानिक व्यवस्था, गठन प्रक्रिया र अधिकार क्षेत्रका बारेमा विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले “न्यायिक समितिसंग विद्यार्थी” कार्यक्रम गरिएकाे हाे । स्थानीय सरकारको न्यायपालिकाको रुपमा रहेको न्यायिक समितिको व्यवस्था र यस निरुपण गर्ने विवादका विषयमा सचेतना जगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको पोखरा महानगरका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुुदेवी गुरुङले बताउनुभयो । कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख गुरुङले स्थानीय तहका विवाद स्थानीय तहबाटै समाधान गर्ने उद्देश्यले न्यायिक समितिको परिकल्पना संविधानमा गरिएकाले नागरिकलाई यसको बारेमा जानकारी गराउन वार्षिक कार्यक्रममा समावेश गरेर सञ्चालन गरिएको बताउनुभयो । नागरिकले सहज र सरल रुपमा न्याय पाउन अवस्था सृजनाहोस स्थानीय विवादहरु अदालतमा पुुग्नुपर्ने अवस्था नआओस भन्नका लागि न्यायिक समितिको परिकल्पना गरिएको बताउदै भन्नुुभयो, “समय र पैशाको बचतका लागि र स्थानीय विवाद मेलमिलाप मार्फत समाधान गर्ने उद्देश्यले न्यायिक समितिको व्यवस्था गरिएको हो ।यसका बारेमा महानगरका नागरिकले जानकारी पाउनुपर्छ भन्ने मान्यताले कार्यक्रम सञ्चालन गरिएको हो ।” कन्या क्याम्पसका क्याम्पस प्रमुुख सुरेन्द्र मानन्धरले विद्यार्थीहरुले कानूनका विषयमा समेत जानकारी राख्नुपर्छ भन्ने उद्देश्यले कार्यक्रम सञ्चालनका लागि छनोट गरेको भन्दै खुशी ब्यक्त गदै आगामी दिनमापनि सहकार्य गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा न्यायिक समिति सदस्य कालिदास पोखरेलले न्यायिक समितिको गठन प्रक्रिया, न्यायिक समिति सदस्य रजनी परियारले अधिकार क्षेत्र र न्यायिक समितिका मेलमिलाप सहजकर्ता सोम लम्सालले मेलमिलापकर्ताको योग्यता बारेमा प्रशिक्षण दिनुभएको थियो ।
काठमाडौं: हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले मुलुकका पहाडी भागमा आंशिक बदली रही बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको तथा बाँकी भूभागमा आंशिक बदली रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यसैगरी आज राती देशभर आंशिक बदली हुनेछ । कोशी, मधेस बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाका साथै बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका केही भागमा मेघगर्जन,चट्याङ र हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ