बागलुङ र पर्वत जोड्ने लामो पुलमा आगन्तुकको भीड

बाग्लुङ | कात्तिक १३, २०७९

बागलुङ र पर्वत जोड्ने लामो पुलमा आगन्तुकको भीड

बागलुङ : फुर्सद झिकेर घुमघाममा निस्केका ३० जना पोखरेलीले  बागलुङलाई गन्तव्य बनाए । छोटो दूरीको यात्राका लागि उनीहरूले बागलुङ रोजेका थिए । सुरुमा प्रसिद्ध कालिका भगवतीको दर्शन गरे । दोस्रो रोजाइमा भने ‘गण्डकी गोल्डेन ब्रिज’लाई पारे ।

 

पाँच सय ६७ मिटर लामो उक्त झोलुङ्गे पुलले बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्छ । पछिल्लो समय बागलुङ भित्रने जो–कोहीलाई सो पुलले लोभ्याउने गर्छ । मानिसहरू रुचिपूर्वक पुल हेर्न पुग्छन् । 

 

धेरैले तरेरै रमाइलो लिन्छन् । नसक्नेले चाहिँ हेरेरै चित्त बुझाउँछन् । पुल तर्दा हलुका डर लागे पनि रोमाञ्चक अनुभव भएको यात्रामा सहभागी रेश्मा ढुङ्गाना बरालले बताउनुभयो । पुल छेउछाउको दृश्यले पनि आकर्षित गरेको उहाँको भनाइ छ ।

 

पवित्र कालीगण्डकी नदीमाथि बनेको उक्त पुलबाट देखिने प्राकृतिक सौन्दर्य पनि मनमोहक छ । ‘सिङ्गल स्पाम’तर्फ देशकै लामो सो झोलुङ्गे पुल एक सय ६५ मिटर अग्लो छ । पर्वतको फलेबासदेखि आएका किशोरीहरू पनि मध्याह्नपख पुलमा रमाइरहेका देखिन्थे । 

 

तस्वीर लिन र ‘टिकटिक’ बनाउन तँछाडमछाड थियो । नाम बताउन नचाहने पनि उनीहरूले यति लामो झोलुङ्गे पुल पहिलोपटक तरेको सुनाए । चाडबाडको बिदा पारेर घुम्न निस्केको उनीहरूको भनाइ थियो । बागलुङ–१ का वडाध्यक्ष जयबहादुर केसीले बिदा पर्दा पुलमा दैनिक सयौँ पर्यटकको भीड लाग्ने गरेको बताउनुभयो । 

 

“कालिका भगवतीको दर्शन गर्न आउने अधिकांश पुल पनि हेर्न आइपुग्छन्, पोखरालगायत ठूला सहर र बाहिरी जिल्लाबाट पनि पर्यटक आउन थालेका छन्”, उहाँले भन्नुभयो, “पुल आसपासमा सौन्दर्यीकरण गर्ने र अरु पूर्वाधार थप्न सके अझ धेरै पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।”

 

छेउमै रहेको सहिद उद्यानले केही मात्रामा भए पनि पुलको आकर्षण बढाएको उहाँको भनाइ छ । पुल बनेपछि सर्वसाधारणको आउजाउ सहज हुनुका साथै पर्यटकीय गतिविधि बढेको हो । स–साना रेष्टुराँ, खाजाघर खोलेर स्थानीयवासी आयआर्जनमा जोडिएका छन् । होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले पुल बनेपछि बागलुङले नयाँ गन्तव्यस्थल पाएको बताउनुभयो ।

 

“लामो पुलले नयाँ पर्यटकीय आकर्षण थपेको छ, बाहिरबाट पर्यटक पनि आइरहेका छन्”, उहाँले भन्नुभयो, “पहिले रातिको समयमा पुलमा झिलीमिली बत्ती बल्थ्यो, अहिले त्यो नहुँदा सौन्दर्य केही घटेजस्तो भएको छ ।” 

 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभाग, सस्पेन्सन ब्रिज डिभिजन कार्यालयमार्फत रु १२ करोड २२ लाखको लागतमा उक्त पुल बनेको हो । अध्यक्ष चोखालले आन्तरिक पर्यटक बागलुङ आउने दिनभर घुम्ने र साँझ फर्कने गरेको स्थितिलाई फेर्नुपर्ने धारणा राख्नुभयो ।

 

“बागलुङ पनि एउटा पर्यटकीय गन्तव्य हो भन्ने विस्तारै स्थापित त हुँदैछ तर पर्यटकलाई एक–दुई रात बास बसाउने गरी घुमघामको प्याकेज दिन आवश्यक छ”, अध्यक्ष चोखालले भन्नुभयो, “पर्यटन व्यवसायीलगायत सरोकारवाला बसेर पर्यटन प्रवद्र्धनको योजना बनाउनुपर्छ, पर्यटनमा हाम्रो भविष्य छ ।”

 

उहाँले पर्यटक भित्र्याउन सजिलो नभएको भन्दै पूर्वाधार र प्रवद्र्धनको कमी रहेको उल्लेख गर्नुभयो । अहिलेसम्म बागलुङको पर्यटन गुरुयोजनासमेत बन्न सकेको छैन । छोटो समय लिएर बागलुङ आउने पर्यटकले कालिका भगवती मन्दिर, लामो झोलुङ्गे पुल, पञ्चकोट, शालिग्राम सङ्ग्रहालय आदि घुमेर यात्रालाई बिट मार्छन् । 

काठमाडौंः  सरकारले आज वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ ।   भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि...

थप पढ्नुहोस्

काठमाडौं:     फिल्म ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाको दोस्रो फिल्म ‘मनसरा’ को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।&nb...

थप पढ्नुहोस्

काठमाडौं:     नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशनको मिति सारेको छ । बुधबार बसेको सचिवालय बैठकले यसअघि जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने भनेको महाधिवेशन असार १६ देखि २० गतेसम्म काठमाडौँमा ग...

थप पढ्नुहोस्