पोखरामा सम्पन्न पहिलो संस्करणको ‘एसइई कप फुटसल’ प्रतियोगिताको उपाधि मुखिया बारबरले जितेको छ ।   पोखरा महानगरपालिका ४ गणेशटोलस्थित बि–फिट फुटसल जोनमा भएको फाइनल खेलमा वेलनन ए...

कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ पर्यटकीय ल्वाङगाउँमा ऐतिहासिक ३१ औं चैत्र दशैं मेला जारी छ ।   ग्रिनहिल युवा क्लबको आयोजनामा गत २४ गतेदेखि ‘चैत्र दशैं मेलाको निकाश, पर्यटन संस्कृति र ग्रामिण पर्यटनको विकास’ भन्ने नारासहित जारी मेलामा आज (बुधबार) देखि पुरुषतर्फको भलिबल प्रतियोगिता सुरु भएको क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए ।   उनका अनुसार आज पहिलो चरणका ५ वटा खेल सम्पन्न भएका छन् ।   ल्वाङको खेलमैदानमा आज भएको पहिलो खेलमा आयोजक ल्वाङ टिम ‘ए’लाई ठाँटीले २–० को सोझो सेटमा पराजित गर्याे । यस्तै दोस्रो खेलमा धम्पुसलाई नयाँपुलले २–० कै सोझो सेटमा हराउँदै नयाँपुल दोस्रो चरणमा प्रवेश गर्याे ।    तेस्रो खेलमा ल्वाङ टिम ‘बि’लाई कुँइबाङले पनि २–० कै सोझो सेटमा पराजित गर्याे । चौथो खेलमा पकुवाले ल्वाङलाई २–० को सोझो सेटमा पाखा लगायो । पाँचौ खेलमा घाचोकले ल्वाङ टिम ‘सि’लाई २–० कै सेटमा हराउँदै घाचोक दोस्रो चरणमा प्रवेश गर्याे ।    आज भएको अन्तिम तथा दोस्रो चरणको पहिलो खेलमा ठाँटीलाई युके लण्डनले २–० को सेटमा पराजित गर्दै युके लण्डन क्वाटरफाइनलमा प्रवशे गरेको संयोजक गुरुङले बताए । उनका अनुसार पुरुषतर्फ २४ टिमको सहभागिता रहेको छ ।   यसअघि महिलातर्फ हिमशिखर क्लब धम्पुस र बौद्धसिर्जना क्लब घलेल फाइनलमा प्रवेश गरिसकेको छ ।   पुरुषतर्फको विजेता टिमलाई नगद  १ लाख १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।   यस्तैे उपविजेता टिमलाई नगद रु ६० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । तृतीय स्थान हाँसिल गर्ने टिमले नगद रु २० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । भने, सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु १० हजारले पुरस्कृत गरिनेछ ।   यसैगरी महिलातर्फ प्रथम हुने टिमलाई नगद रु २० हजार, द्वित्तियलाई १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणत्र प्रदान गरिनेछ ।    उनका अनुसार सो मेलामा म्युजिकल चियर, बेलुन फुटाउने प्रतियोगिता सम्पन्न भइसकोको छ । भने, हरेक बेलुका विविध साँस्कृतिक कार्यक्रम, लाइभ कन्र्सट, ख्यातीप्राप्त लोक तथा दोहोरी कलाकारहरुको बेजोड प्रस्तुती रहदैं आएको छ ।  

पोखरा: पोखरामा जारी केपी ओली कप टी२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता जारी रहँदा समूह ‘बि’ मा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीले जित हासिल गरेको छ ।  मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालामा भएको प्रतियोगिताको पाँचौ दिनमा गण्डकी हिरोजले ग्रेट हिमालयलाई १० विकेटले हराएको छ ।  १०३ रनको विजयी लक्ष्य पाएको गण्डकी हिरोजले १२ ओभरमा विना विकेटको क्षतिमा १०६ रन बनायो । ओपनर साकिब हकले ५३ रनको अविजित अर्धशतकीय पारि खेले । उनले ४३ बलमा ७ चौका र २ छक्का प्रहार गरे । अर्जुन कुमालले ४६ रनको अविजित पारी खेले । उनले २९ बलमा ९ चौका प्रहार गरे ।  त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ग्रेट हिमालय क्रिकेट एकेडेमीले १८.४ ओभरमा १०२ रन बनाउँदा अल आउट हुन पुग्यो ।  ओपनर इशान पाण्डे शुन्यमै पेभिलियन फर्किए । कृष कार्की ४ रनमा क्याच आउट भए । उत्तम रंघु थापा मगर १८ रनमा क्याच आउट भए । उनले १७ बलमा ४ चौका प्रहार गरे । दिनेश बुढामगर ४ र अभिषेश थापा १४ रनमा आउट भए । अशोक पौडेल ६ रन बनाउँदा दिपक केवत १७ रनमा बोल्ड भए । उनले २१ बलमा १ चौका र १ छक्का प्रहार गरे । चन्द्रकान्त पौडेल १ रनमै एल्बी डब्लु भए । सन्दिप पराजुली ७ रनमा आउट भए ।  गण्डकीका लागि कृष्ण पौडेलले ४ ओभरमा २५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । अमृत गुरुङले ४ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ३ तथा नारायण जोशीले ३.४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । सुदिप अर्यालले १ विकेट लिए । गण्डकीको यो दोस्रो जित हो ।  यस अघि गण्डकीले चितवनलाई ४ विकेटले हराएको थियो । ग्रेट हिमालयको यो दोस्रो हार हो । यस अघि हिमालयन क्रिकेट एकेडेमीसंग २ विकेटको हार व्यहोरेको थियो ।  सोही समूह तर्फ बुधबार भएको दोस्रो खेलमा हिमालयन क्रिकेट एकेडेमीले ६ विकेटको जित हात पारेको छ ।  ११९ रनको विजयी लक्ष्य पछ्याएको हिमालयनले १२.४ ओभरमा ४ विकेट गुमाउँदै ११९ रन बनायो ।  हिमालयनको जितमा दिपक बोहोराले ८० रनको अविजित उत्कृष्ट पारी खेले । उनले ४८ बलमा ८ चौका र ५ छक्का प्रहार गरे । ओपनर दिपक बोहोरा ‘बि’ १० रनमा आउट भए । खडक बोहोराले १२, सोनु देवकोटाले २ र हिमाल दौल्याल १० रनमा आउट भए । अर्का दिपक बोहोरा शुन्यमा नटआउट रहे । चितवनका लागि दिपेश श्रेष्ठले २ तथा किरण गुरुङ र विशाल खत्रीले १÷१ विकेट लिए ।  त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चितवन क्रिकेट क्लब १८.१ ओभरमा ११८ रनमा अलआउट हुन पुग्यो । ओपनर गोविन्द विक ७ रनमा बोल्ड भए । सुर्यान्सु कोइराला १ रनमा क्याच आउट भए । आशुतोष घिरैयाले अर्धशतकीय इनिङ खेल्दै क्याच आउट भए ।  उनले ४१ बलमा ६ चौका र २ छक्काको मद्धमा अर्धशतक बनाए । प्रतिक श्रेष्ठ ३८ रनमा क्याचआउट भए । उनले २२ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । विवेक राना मगर ५ र गौतम केसी १ रनमा क्याच आउट भए । रोशन झा २, दिपेश श्रेष्ठ ३, कमल परियार ८, विशाल खत्री १ रनमा आउट भए ।  हिमालयनका लागि प्रकाश जैशीले ४ ओभरमा ११ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । उनी खेलको प्लेयर अफ दी म्याच घोषित भए । दिपक चन्दले ३ तथा प्रतिश जिसी र दिपक बोहोरा ‘बि’ ले १÷१ विकेट लिए । हिमालयनको यो दोस्रो जित हो भने चितवनको यो दोस्रो हार हो ।  समूह ‘बि’ मा गण्डकी हिरोज र हिमालयनको समान ४–४ अंक रहेको छ । सेमीफाइनल प्रवेशका लागि भोलि यि दुइ टिम भिड्ने छन भने चितवन र ग्रेट हिमालयनको भने अन्तिम चारको सम्भावना सकिएको छ । भोलि चितवन र ग्रेट हिमालय बिच प्रतिष्ठाको खेल हुनेछ ।   

पोखरा:   भूतपूर्व खेलाडी मञ्चको आयोजनामा सम्पन्न १९ औँ पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट १२ लाख भन्दा बढी बचत भएको छ ।   गत फागुन ३ मा सम्पन्न म्याराथनमा १२ लाख २९ हजार ५११ रुपैयाँ बचत भएको हाे ।   प्रतियोगिताबाट ९३ लाख ७० हजार ६८९ रुपैयाँ आम्दानी भएको र ८१ लाख ४१ हजार १७७ रुपैयाँ खर्च भएको मञ्चका कोषाध्यक्ष हरिबहादुर बरुवालले जानकारी दिए ।   यो रकम हालसम्मकै उच्च बचत रहेको बरुवालको भनाई छ । उक्त रकम मञ्चको अक्षयकोषमा जम्मा गरिएको छ ।   म्याराथनको प्रवर्धन, मासिक तथा साप्ताहिक दौड प्रतियोगिता र स्थानीय तहबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले अक्षयकोष सञ्चालन गरिएको छ ।   कोषमा हालसम्म ३१ लाख ५४ हजार २५६ रुपैयाँ जम्मा भएको अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए । 

पोखरा:    ग्रिनहिल युवा क्लबको आयोजनमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ ल्वाङमा ‘चैत्र दशैं मेलाको निकाश, पर्यटन संस्कृति र ग्रामिण पर्यटनको विकास’ भन्ने नारासहित मेला जारी छ ।    सो मेलामा महिला भलिबलतर्फ हिमशिखर युवा क्लब धम्पुस र बौद्ध सिर्जना युवा क्लब घलेल उपाधिका लागि भिड्ने भएका छन् ।   आज भएको पहिलो सेमिफाइनल खेलमा धम्पुसले आयोजक ल्वाङलाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए  ।   उनका अनुसार दोस्रो सेमिफाइनल खेलमा निश्चल झरना युवा क्लब लुम्रेलाई बौद्ध सिर्जना युवा क्लब धलेलले २–० को सोझो सेटमा हराउँदै फाइनलमा धम्पुससँगको भेट पक्का गर्याे । अब फाइनल खेल आगामी २७ गते बुधबार सम्पन्न हुनेछ ।   यस्तै सोही दिनदेखि पुरुषतर्फको खेलपनि सञ्चालन हुनेछ । पुरुषतर्फ आजसम्म कुल १८ टिमको दर्ता भएको छ ।   बेलुन फुटाउने प्रतियोगितमा आयान गुरुङ प्रथम, वानयान पुन द्वित्तिय र कृजल परियार तृतीय बनेको खेल संयोजक अनोद गुरुङले बताए ।   उनका अनुसार मेच घुमाईतर्फ प्रिया परियार प्रथम र मनिसा विक द्वित्तिय बनिन् ।    पुरुष भलिबलतर्फको विजेता टिमलाई नगद  १ लाख १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने संयोजक गुरुङले बताए ।   उनका अनुसार उपविजेता टिमलाई नगद रु ६० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।   तृतीय स्थान हाँसिल गर्ने टिमले नगद रु २० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । भने, सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु १० हजारले पुरस्कृत गरिनेछ ।   यसैगरी महिलातर्फ प्रथम हुने टिमलाई नगद रु २० हजार, द्वित्तियलाई १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणत्र प्रदान गरिने छ  ।   २६ गतेका कार्यक्रम पोस्टपोन्ड   आयोजक संस्थाका निवर्तमान अध्यक्ष दिपक गुरुङका बुबाको निधन भएपछि २६ गते हुने भनिएको कार्यक्रम २७ गतेका लागि पोस्टपोन्ड गरिएको क्लबका अध्यक्ष सुजन गुरुङले जानकारी दिए ।    ‘आज हाम्रो क्लबका निवर्तमान अध्यक्षज्यूको पुजनीय बुबाको निधनले हामी सबै स्तब्ध भएका छौ, उनले भने, ‘त्यसैले हिजोबाट सुरु भएको मेलाका २६ गते हुने भनिएको सबै कार्यक्रम एक दिन पोस्टपोन्ड गरेका छौ । अब हाम्रो मेला पर्सीबाट निरन्तर हुनेछ ।’  

पोखरा:  राष्ट्रिय खेलाडी सम्मिलित सिइसी काठमाडौंसँग पोखरा महानगर क्रिकेट क्लबले लज्जास्पद पराजय व्यहोरेको छ । पोखरा क्रिकेट खेल मैदानमा मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा जारी दोस्रो केपी ओली कप पुरुष राष्ट्रिय टि२० क्रिकेटमा तेस्रो दिनको पहिलो खेलमा सिइसी काठमाण्डौ ९ विकेटले बिजयी भएको हो ।  जित संगै लिगमा अपराजित रहँदै कुल ६ अंकका साथ उसले सेमीफाइनल यात्रा सुरक्षित गरेको छ । पोखराले आफ्ना लिग चरणका तीन खेलमा नै पराजयको सामना गरेको छ । पोखरा महानगरले टस जितेर व्याटिङको सुरूवात गर्दै १७.२ ओभरमा १० विकेटको क्षतीमा ५३ रन बनायो । पोखराले १० रन अतिरिक्त रनको रुपमा पायो । सुमह ‘ए’को अन्तिम चरणको खेलमा पोखराको पारीलाई ध्वस्ता पार्ने क्रममा म्यान अफ दि म्याच समेत रहेका सिइसी काठमाण्डौका दिपेन्द्र रावतले र युनिश विक्रम सिंह ठकुरीले समान ३÷३ विकेट हात पारे ।  दिपेन्द्रले आफ्नो ४ ओभरको स्पेलमा ८ रन दिएर ३ विकेट लिए भने विक्रमले ३.२ ओभरमा ९ रन दिएर ३ विकेट लिए । पोखराका कविन सापकोटाले १२ रनको दोहोरो रन बनाउनु बाहेक अन्य खेलाडीहरु क्रिजमा टिक्न सकेनन् । पोखराका लागि आशिष न्यौपाने ९, सुमित श्रेष्ठ र अन्जन केसीले समान २र२, प्रमोद बास्तोला, अभिनव शाह, मार्शल बरालले समान ३÷३ रन बनाए । समिर भुजेल र सुवास बास्तोला सुनय रनमा आउट भए । त्यस्तै काठमाण्डौका लागि सूर्य तामाङले ४ ओभरमा १० रन दिएर २ विकेट तथा मनोज यादव र अशोक बोहोराले समान १÷१ विकेट हात पारे । ५४ रनको झिनो लक्ष्य पछ्याएको टिमको कप्तानी सम्हालेका रित गौतमले आक्रमक पारी खेल्दै १५ बलमा ३६ रनको योगदान दिए । उनले आफ्नो पारीमा ३ छक्का र ४ चौका प्रहार गरे । उनी सुभाष बास्तोलाको बलमा अभिनवको हातबाट क्याच आउट भए ।  त्यस्तै दिपेनद्र रावतले ८ बलको सामना गर्दै १ चौका र २ छक्का साथ १९ रन बनाउँदा शिवम तिवारीले २ रन बनाए । समुह एको अन्तिम लिग खेल हेटौडा स्पोर्टस एकेडेमी र स्याङजा क्रिकेट क्लबका बीच हुनेछ । दुबैले लिग चरणमा एक–एक खेल जितेका छन् । 

पोखरा:   केपी ओली कप राष्ट्रिय खुल्ला टि–२०  पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलमा पोखरा महानगर क्रिकेट कलबविरूद्धको खेलमा हेटौडा विजयी बनेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी खेलमा हेटौडा ४ विकेटले विजयी बनेको हो ।   जारी प्रतियोगितामा घरेलु मैदानमा पोखराको लगातार यो दोस्रो पराजय हो । पोखरा पहिलो खेलमा स्याङजासँग पराजित भएको थियो ।   समुह ‘ए’को खेलमा पहिलो दिन एक खेल गुमाएको हेटौडा पोखरा महानगरलाई पराजित गर्दै २ अंक जोड्न सफल भयाे ।    यसअघि टस जितेर व्याटिङमा उत्रिएको पोखरा महानगर १६.५ ओभरमा सबै विकेट गुमाउँदै ७१ रन मात्रै जोड्न सक्यो ।   पोखराका लागि सुमित श्रेष्ठले ३ चौकाका साथ ३९ बलमा २६ रनको सर्वाधिक पारी खेल्दा प्रमोद बास्तोलाले १६ बलमा ३ छक्काका साथ २२ रन बनाउँदा दिपक बरालले १४ रन बनाउनु बाहेक अन्य व्याटरहरुले दोहोरो रन छुन सकेनन् ।   पोखरालाई सस्तैमा समेट्न अशिम श्रेष्ठ र अखिेलश ठाकुरले समान ३/३ विकेट हात पारे ।   खेलको म्यान अफ दि म्याच समेत रहेका अशिमले ३.५ ओभरमा २२ रन खर्चीएर ३ विकेट लिए भने अखिलेशले ३ ओभरमा १३ डटबल राख्दै ८ रन दिएर ३ विकेट हात पारे । त्यस्तै सम्सुद अल मन्सुरीले ४ ओभरमा १२ रन दिएर २ विकेट लिए ।   यता ७२ रनको लक्ष्य पछ्याएको हेटौडा १२ ओभरमा ६ विकेट गुमाउँदै जित दर्ता गर्न सफल भयो । हेटौडाको जितमा ओपनर गौरभ खड्काको भूमिका महत्वपूर्ण रह्यो । ३२ बलको सामना गरेका उनले ४ चौका साथ ३२ बलमा ३४ रन जोडे । उनी मार्शल बरालको बलमा प्रमोद बास्तोलाको हातबाट क्याच आउट भए ।     खेलमा पोखराका बलरले भने हेटौडाको मिडल अर्डर ब्याटरहरुलाई क्रिजका लामो समय टिक्न भने दिएन । अर्का ओपनर सुभाष कशांकार तीन बलको सामना गर्दै सुभाष बास्तोलाको एलविडव्लु हुँदै डकआउट भए । तेस्रो क्रमका युविन बुढाथोकी समेत सून्य रनमा पेभिलियन फर्किए ।   दुई बलमात्रै खेलेका उनी समिर भुजेलको बलमा सुभाष बास्तोलाको हातमा क्याच थमाए । त्यस्तै सुमन सुनार ६, विशाल फुयाल ३, सक्षम बास्तोलाले ४ रन बनाउँदा नट आउट रहेका अखिलेश ठाकुरले ८ तथा राम नरेश गिरीले १४ रनको योगदान दिए ।   पोखराका लागि समीर भुजेलले  ४ ओभरमा मात्र १५ रन खर्चिएर १ विकेट हात पार्न सफल हुँदा ञ्जन केसीले ३ ओभरमा १० रन खर्चेर २ विकेट र मार्शल बरालले १ ओभरमा ११ रन खर्चेर १ विकेट लिए ।   यो खेलसँगै सिइसी काठमाण्डौ र स्याङजा क्रिकेट क्लबका बीच दोस्रो खेल जारी रहेको छ ।   मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनमा सुरु भएको क्रिकेटमा १६ टिमको सहभागिता रहेको छ । बैशाख ५ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेताले नगद ५ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।   त्यस्तै म्यान अफ दी सिरिजले नगद ३० हजार, बेष्ट बलर, बेष्ट ब्याटरले जनही नगद रु १० हजार र म्यान अफ दी म्याचले नगद ५ हजारका साथमा ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिता लिग कम नकाउटका आधारमा सञ्चालन गरिएको छ ।    पोखरामै भएको पहिलो संस्करणको उपाधि मधेश प्रदेशले जितेको थियो ।

पोखरा:  पोखरामा आजबाट केपि ओलि कप टि–२० राष्ट्रिय खुल्ला पुरुष क्रीकेट प्रतियोगिता सुरु भएको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा पहिलो दिन दुई खेल सम्पन्न भएका छन ।  प्रतियोगिताको पहिलो खेलमा स्याङ्जा र दोस्रो खेलमा काठमाडौं विजयी भएका छन् । पहिलो खेलमा स्याङ्जा क्रिकेट क्लबले पोखरा महानगर क्रिकेट क्लबलाई २३ रनले हराएको छ ।  १६२ रनको विजयी दिएको पोखरा महानगरपालिकालाई १३८ रनमा रोक्दै स्याङ्जाले विजयी सुरुवात गरेको हो । पोखराले २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रनमात्रै जोड्न सक्यो ।  ओपनर आशिष न्यौपाने ५ रनमै आउट भएको पोखराका लागि सुमित श्रेष्ठले ५३ रनको योगदान दिएपनि जितका लागि पर्याप्त रहेन । उनले ४७ बलमा ८ चौका प्रहार गरे । प्रमोद बास्तोला २७ रनमा आउट भए । उनले २० बलमा २ चौका र २ छक्का प्रहार गरे ।  अभिनव शाह ३, धिरज अधिकारी ९, विष्णु प्रसाद शर्मा २८, हरि शंकर १, अन्जन केसी ४ रनमा आउट भए । स्याङजाका लागि लक्ष्मण डुम्रेले ४ ओभरमा २८ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । यस्तै तुल्सिराम न्यौपानेले २ तथा मिलन लुटेल र किरण भट्टराईले १÷१ विकेट लिए ।  त्यस अघि टस जितेर ब्याटिङ रोजेको स्याङ्जाले २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । स्याङजा कालागि अस्विन रानाले अविजित रहँदै सर्वाधिक ४६ जोडे । उनले ३० बलमा ५ चौका र २ छक्का प्रहार गरे ।  किरण भट्टराई २३ रनमा अविजित रहे । उनले १२ बलमा ३ चौका र १ छक्का प्रहार गरे । ओपनर करण पगेनी २० रनमा आउट भए । उनले १७ बलमा १ चौका र १ छक्का प्रहार गरे । इशवर क्षेत्रीले १६ बलमा २ चौका र २ छक्काको मद्धतमा २४ रन बनाउँदै आउट भए ।  विशाल कोइराला शुन्य, सुजन गौतम १४, मिलन क्षेत्री ६, सन्दिम खत्री क्षेत्री २३ रनमा आउट भए । पोखराका लागि समिर भुजेल र अन्जन केसीले समान २÷२ विकेट लिए भने सुवाष वास्तोला र मार्सल बरालले १÷१ विकेट लिए ।   दोस्रो खेलमा काठमाडौंले हेटौडालाई ११ रनले हरायो । १५२ रनको विजयी लक्ष्य पाएको हेटौडा १८.५ ओभरमा १४० रनमै अलआउट भयो । हेटौडाका लागि सुभ कंशाकरले ५४ रनको अर्धशतकीय इनिङ खेलेपनि जितका लागि पर्याप्त भएन । उनले २४ बलमा ९ चौका र २ छक्का प्रहार गरे । ओपनर गौरभ खड्का ८ रनमै आउट भए ।  सुमन सुनार ३८ रनमा आउट भए । उनले ३४ बलमा ३ चौका र १ छक्का प्रहार गरे । युविन बुढाथोकी १२, अकिलेश ठाकुर १, सक्षम वस्ताकोटी १३, रामनरेश गिरि ४, विशाल फुयाल १, अशिम श्रेष्ठ शुन्य र समिर चौलागाईँ १ रनमा आउट भए । काठमाडौका लागि सुर्य तामाङ र युशिन विक्रम सिंह ठकुरीले समान ३÷३ विकेट लिए भने मनोज यादवले २ विकेट लिए ।  टस जितेर ब्याटिङ थालेको सिइसी काठमाडौंले २० ओभरमा ३ विकेट गुमाउँदै १५१ रन बनायो । काठमाडौंका लागि पृथु बास्कोटाले अविजित ५७ रनको अर्धशतकीय पारी खेले । उनले ३३ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।  यस्तै शिवम तिवारी १८ रनमा नटआउट रहे । उनले ८ बलमा २ चौका र १ छकका प्रहार गरे । ओपनर सुशान्त सिंह थापा १५ रनमा आउट भए । रित गौतम २९ रनमा र सचिन लेखक २२ रनमा आउट भए । हेटौडाका लागि समिर चौलागाईँ, सांसद अलि मन्सुरी र रामनरेश गिरिले समान १÷१ विकेट लिए ।   

ताङतिङ युवा क्लबले ३१ औं चैत मेलाको अवसरमा गाउँकै पर्यटकीय गन्तव्य क्रपु डाँडाको नाममा आयोजना गरेको म्याराथनमा  नेपाल आर्मीका नरेन्द्रसिंह रावतले उपाधि जितेका छन् ।   ताङतिङ युवा क्लबको आयोजनामा पोखरा महानगरपालिका-१३ काहुँखोलादेखि मादी गाउँपालिका-२ ताङतिङसम्म शुक्रबार भएको २४ किलोमिटरको म्याराथन रावतले जितेका हुन् ।   उनले निर्धारित दूरी १ घण्टा ४५ मिनेटमा पूरा गरेको क्लबका अध्यक्ष हिमाल गुरुङले जानकारी दिए । रावतले ४० हजार रुपैयाँ र मेडल पुरस्कार प्राप्त गरे ।   म्याराथनको विजेतामा आर्मीकै धावकको वर्चस्व रह्यो । उत्कृष्ट ७ मध्ये ५ धावक आर्मीकै रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।   आर्मीकै श्रीकोश राई १ घण्टा ४६ मिनेट ३० सेकेन्डमा निर्धारित दूरी पार गरेर द्वितीय भए । उनले ३० हजार रुपैयाँ र मेडल पाए ।   जुम्लाका दलबहादुर कुँवर तृतीय र रोल्पाका मनकुमार रोकामगर चौथो भए । कुँवरले १ घण्टा ४८ मिनेट ३५ सेकेन्डमा र मगरले १ घण्टा ५० मिनेट ३० सेकेन्डमा दूरी पूरा गरे । कुँवरले २० हजार रुपैयाँ, मगरले १० हजार रुपैयाँसहित मेडल पाए ।   आर्मीका सुवास कार्की पाँचौँ, गोविन्द कार्की छैटौं र रिकुलाल सिंजाली सातौं भए ।   सुवासले १ घण्टा ५१ मिनेट ३० सेकेन्ड, गोविन्दले १ घण्टा ५३ मिनेट ३० सेकेन्ड र रिकुलालले १ घण्टा ५५ मिनेट १० सेकेन्डमा दूरी पूरा गरेका थिए । उनीहरुले क्रमश: ८ हजार, ६ हजार र ५ हजार रुपैयाँसहित मेडल प्राप्त गरे । म्याराथनमा ८७ जना धावक सहभागी थिए । 

पोखरामा चैत २९ गतेदेखि प्रथम एलिट भलिबल कप हुँदैछ ।   एलिट भलिबल एकेडेमी पोखराको आयोजनामा बैशाख १ गतेसम्म महिला तथा पुरुष भलिबल प्रतियोगिता हुन लागेको  शनिबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।   पोखरा–३ नदिपुरस्थित एकेडेमीमै हुने प्रतियोगिताबाट खेलाडी उत्पादनमा टेवा पुग्ने राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान एवम् एकेडेमीकी प्रशिक्षक अरुणा शाहीले बताइन् ।   प्रतियोगिता संयोजकसमेत रहेकी उनले प्रतियोगिताबाट बचत रकम महिला खेलाडी उत्पादनमा खर्चिने उल्लेख गरिन् ।   ‘प्रतियोगिताबाट आएका उत्कृष्ट खेलाडीलाई पठनपाठनमा स्कलरसिपसँगै निशुल्क प्रशिक्षण गराउनेछौं । त्यसले भविष्यमा खेलाडी उत्पादनमा टेवा पुग्ने हाम्रो विश्वास छ,’ उनले भनिन् ।   एकेडेमीले उत्कृष्ट दुई महिला खेलाडीलाई पठनपाठनसँगै निशुल्क प्रशिक्षण गराउनेछ ।   प्रतियोगितामा पुरुषतर्फको विजेताले एक लाख र उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । महिलातर्फ विजेतालाई ५० हजार र उपविजेतालाई २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।   प्रतियोगितामा सर्वोत्कृष्ट पुरुष खेलाडीले ५ हजार र सर्वोत्कृष्ट महिला खेलाडीले ३ हजार प्राप्त गर्नेछन् ।   विधागततर्फ उत्कृष्ट हुने पुरुष खेलाडीलाई समान २ हजार र महिलातर्फ समान १५ सय प्रदान गरिनेछ । पुरुषतर्फ दर्ता शुल्क ६ हजार ५ सय र महिलातर्फ ३ हजार ५ सय तोकिएको छ ।   दुवैतर्फ टिममा सातौं, आठौ र नवौं राष्ट्रिय खेलकुद र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका बढीमा २ जना खेलाडी समावेश गर्न पाइने प्रतियोगिता संयोजक शाहीले बताइन् ।   हालसम्म पुरुषतर्फ ९ र महिलातर्फ ७ टोलीले नाम दर्ता गराएको खेल संयोजक तथा एकेडेमीका प्रशिक्षक मलिन रोकाले जानकारी दिए । टिम दर्ताका लागि चैत २७ गतेसम्मका लागि समय दिइएको छ । खेल हेर्नका लागि प्यारापिट बनाइएको र १२ सयदेखि १५ सयसम्मको दर्शक क्षमता रहेको रोकाले बताए ।   कप्तान शाहीसहित ३ जना मिलेर नदिपुरमा एलिट भलिबल एकेडेमी सञ्चालन गरेका छन् । उनीहरुले महिला खेलाडीहरुलाई नियमित प्रशिक्षण गराउँदै आएका छन् ।   विशेष गरी महिला भलिबल खेलाडी उत्पादन गर्ने लक्ष्य एकेडेमीको रहेको शाही बताउँछिन् ।   उनी भन्छिन्, ‘पुरुषभन्दा पनि महिला खेलाडी उत्पादन गर्नु हाम्रो एकेडेमीको लक्ष्य हो । कसरी हुन्छ । पहिलाको जुन साख छ पोखराको । त्यसलाई उजागर गर्ने हाम्रो उद्देश्य हो ।’