पोखरा: कास्कीको पर्यटकीय गाउँ ल्वाङमा ऐतिहासिक ३१ औं चैत्र दशैं मेला आयोजना हुने भएको छ । स्थानीय ग्रिनहिल युवा क्लबले कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ मा ‘चैत्र दशैं मेलाको निकाश, पर्यटन संस्कृति र ग्रामिण पर्यटनको विकास’ भन्ने नारासहित मेला आयोजना हुने भएको हो । क्लबका अध्यक्ष सुजन गुरुङका अनुसार उक्त मेला यही २४ गतेदेखि २७ गतेसम्म ल्वाङगाउँको खेलमैदानमा सञ्चालन हुनेछ । सो मेलामा मुख्य आकर्षणको रुपमा क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता समावेश गरिएको अध्यक्ष गुरुङले बताए । पुरुष भलिबलतर्फको विजेता टिमलाई नगद १ लाख १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष गुरुङले बताए । यस्तैे उपविजेता टिमलाई नगद रु ६० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । तृतीय स्थान हाँसिल गर्ने टिमले नगद रु २० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । भने, सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु १० हजारले पुरस्कृत गरिनेछ । यसैगरी महिलातर्फ प्रथम हुने टिमलाई नगद रु २० हजार, द्वित्तियलाई १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणत्र प्रदान गरिने खेल संयोजक अनोद गुरुङले बताए । प्रतियोगितामा सहभागिता जनाउनका लागि फोनमार्फत पनि –९८०६६२५९८६, ९८१४११७२७७, ९८२७१६००३३, ९८४६५२८०२९ र ९७०८२४८०९२) टिम दर्ता गराउन सकिने क्लबका सचिव निरोज गुरुङले जानकारी दिए । उनका अनुसार सो मेलामा छेलो हान्ने, रस्साकस्सी, म्युजिकल चियर,बेलुन फुटाउने प्रतियोगिता, विविध साँस्कृतिक कार्यक्रम, लाइभ कन्र्सट, ख्यातीप्राप्त लोक तथा दोहोरी कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ ।
रुपन्देही: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई छ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो । जितका लागि १५५ रनको लक्ष्य पछ्याएको पुलिसले २५।२ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि ओपनर कुशल भुर्तेलले ६१ रन बनाए । कूल ७० बलको सामाना गरेका उनले सात चौका र तीन छक्का प्रहार गरे । यस्तै अमित श्रेष्ठले ३९ र दिलिपनाथले अविजित ३१ रन बनाए । आर्मीका लागि साहब आलमले तीन र नरेन साउदले एक विकेट लिए । त्यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४३ ओभरमा सबै विकेट गुमाउदै १५४ रन बनाएको थियो । २५ रनमै ५ विकेट गुमाएको आर्मीका लागि कप्तान विनोद भण्डारी र वसीर अहमदले ७५ रन बढीको साझेदारी गरेका थिए । उसका लागि बसीर अहमदले १०४ बलको सामना गर्दै नौ चौका र एक छक्काको सहयोगमा ८६ रन बनाए भने कप्तान विनोद भण्डारीले २९ रनको योगदान दिए । त्यसबाहेक विवेक यादवले ११ रन बनाउदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् । आर्मीलाई सस्तोमै समेट्ने क्रममा बलिङतर्फ नेपाल पुलिसका करण केसीले ७ ओभरमा एक मेडेनसहित ३० रन खर्चेर तीन विकेट लिए । सागर ढकालले आठ ओभरमा २९ रन खर्चेर तीन विकेट लिँदा कप्तान दीपेन्द्र सिंह ऐरीले दुई र ललित राजवंशी र गुलशन झाले समान एकरएक विकेट लिए । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्र्तगत यसपटक ४६ वटा खेलहरु खेलाइएको थियो । यी सबै खेल पहिलो पटक काठमाडौँ बाहिर रुपन्देहीमा रहेको सिद्धार्थ क्रिकेट रङ्गशाला, तिलोत्तमामा रहेको एकस्ट्राटेक ओभल क्रिकेट रङ्गशाला र दाङ्गको लमहिमा रहेको देउखुरी अन्तरराष्ट्रिय रङ्गशालामा आयोजना भएको हो । प्रतियोगितामा ७ वटै प्रदेशका टोली र नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको बिभागिय टोली सहित १० वटा टोलीहरुले सहभागीता जनाएका थिए ।
पोखरा: पोखरामा यही चैत २३ देखि ३० गतेसम्म दोस्रो संस्करणको ‘केपी ओली कप टि–२० राष्ट्रिय खुल्ला पुरूष क्रिकेट’हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीलेले आज पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबार जानकारी दिएको हो । मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले पोखरा रंगशाला क्रिकेट मैदानमा यहि चैत्र २३ देखि ३० गते सम्म सञ्चालन हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहेने बताए । उनले पोखराको क्रिकेट विकासका लागि प्रतियोगिताले महत्वपूर्ण योगदान पुग्ने बताउँदै खेल पर्यटनमार्फत समेत यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने उल्लेख गरे । लिग कम नक आउटका आधारमा हुने प्रतियोगितामा उपाधि बिजेता टिमले नगद रु १० लाख र उपविजेताले नगद ५ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ दि सिरिजले नगद ३० हजार, वेष्ट बलर, बेष्ट व्याटरले जनही नगद रु १० हजार र म्यान अफ दि म्याचले नगद ५ हजारका साथमा ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न १ करोड ३० लाख खर्च हुने आयोजकले जनाएको छ ।
काठमाडौं: नेपालबाट विगत केही समयदेखि स्थापित फुटबल खेलाडीसमेत विदेश पलायन भइसकेको अवस्थामा मुलुकमा खेलेर पनि बाँच्न सकिन्छ भन्ने सन्देश दिने लक्ष्यसहित नेपाल सुपर लिग फुटबल प्रतियोगिता एनएसएलको तेस्रो संस्करण शनिबारदेखि सुरु हुँदैछ । एनएसएल फुटबल नेपालकै पहिलो फ्रेन्चाइज खेलकुद प्रतियोगिता मानिएको छ । विसं २०८१ नेपालमा व्यावसायिक खेलको विकासका दृष्टिले उपलब्धिमूलक वर्ष सावित हुन पुग्यो । यस वर्ष भलिबल, क्रिकेट, कबड्डीलगायतय खेलको व्यावसायिक आयोजना भइसकेको छ, जसले नेपालमा व्यावसायिक खेलको विकासका लागि समयोचित वातावरण बनाउन भूमिका खेलेको छ । यही चैत १६ गते सुरु भई एनएसएल फुटबलका खेल आगामी नव वर्ष वैशाखको १३ गतेसम्म काठमाडौँको दशरथ रङ्गशालामा सञ्चालन हुनेछ । सिङ्गल राउण्ड रोविनका आधारमा हुने लिग चरणमा २१ खेलसहित कूल २५ खेल हुनेछन् । प्ले अफमा प्रवेश गरेका चार टोलीले फाइनलसहित चार खेल खेल्न पाउनेछन् । यसपाली चिसो मौसम समाप्त भएपछि प्रतियोगिता हुन लागेकाले रङ्गशालामा दर्शकहरुको उपस्थिति उल्लेखनीय हुने अनुमान गरिएको छ । गत वर्षको मङ्सिरमा प्रतियोगिताको दोस्रो संस्करण आयोजना हुँदा दर्शक चिसोमा पनि रङ्गशाला धाउन बाध्य भएका थिए । निजी क्षेत्रको नेपाल स्पोर्टस् एण्ड इभेन्ट मेनेजमेन्टले अखिल नेपाल फुटबल सङ्घको प्राविधिक सहयोगमा आयोजना गरेको एनएसएल फुटबलमा गत वर्षको विजेता ललितपुर सिटी एफसी, काठमाडौँ रेजर्स, झापा एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी गरी सात टोलीबीच प्रतिस्पर्धा हुँदैछ । तर गत सिजनका सहभागी स्पोर्टिङ इलाम तथा युनाइटेड वीरगञ्ज टोलीको भने यसपाली सहभागिता रहेको छैन । यसरी विगतमा भएको नौ टोलीको सहभागिता सातमा झर्नु सुखद पक्ष होइन । मार्की खेलाडी यस प्रतियोगिताका लागि नेपाली फुटबलमा पहिचान बनाइसकेका खेलाडीमध्येबाट प्रत्येक टोलीमा एक जनालाई मार्की खेलाडीका रुपमा चयन गरिएको छ । मार्की खेलाडी बन्न सफल भएकामा नेपाली राष्ट्रिय फुटबल टोलीका सुपरिचित अनुहार छन् । अनन्त तामाङ ललितपुरमा, लाकेन लिम्बू झापा, अञ्जन विष्ट चितवन, रोहन कार्की काठमाडौँ, समीर तामाङ पोखरा, मनिष डाँगी बुटवल र कृतिशरन्त छुन्जु धनगढीको टोलीमा मार्की खेलाडीका रुपमा रहेका छन् । नेपाली राष्ट्रिय टोलीका कप्तान एंव मुलुक बाहिरसमेत व्यावसायिक खेल खेलिसकेका गोल किपर किरण चेम्जोङको अनुपस्थिति भने नेपाली दर्शकहरुका लागि खड्किनेछ । पहिलो पटक अक्सन नेपालमा केही महिनाअघि सम्पन्न नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट हुँदा खेलाडीहरुको अक्सन गरिएको थियो । तर फुटबलका लागि पहिलो पटक अक्सन एनएसएलका सिलसिलामा गरिएको थियो । कूल ६० खेलाडीहरुको गरिएको अक्सनमा सबैभन्दा महँगो खेलाडी सावित भएकामा समूह ‘ए’मा रहेका खेलाडी मणिकुमार लामा, दिनेश हेन्जन, पासाङ लामा, आशिष गुरुङ, अभिषेक लिम्बू, जिलेस्पीजङ्ग कार्की, सुमित श्रेष्ठ र सन्तोष खत्री छन् । उनीहरुले यो एउटै प्रतियोगिता खेलेर जनही रु चार लाखमा अनुबन्ध भएका छन् । तर अक्सनमा नेपाली राष्ट्रिय टोलीका लागि महत्वपूर्ण योगदान गरिसकेका भरत खवास, विकेश कुथुलगायतका खेलाडी नपर्नु दुःखद् पक्ष थियो । समूह ‘ए’ मा रहेका खेलाडी रु दुई लाखदेखि रु चार लाखसम्म तथा ‘बी’ समूहमा रहेकाहरु रु डेढ लाखदेखि रु दुई लाखसम्ममा अनुबन्ध भएका छन् । विदेशी खेलाडीसँग खेल्ने अवसर यस प्रतियोगितामा नेपाली खेलाडीले विभिन्न मुलुकका खेलाडीसँग खेल्ने अवसर प्राप्त गर्दैछन् । भुटान, हाइटी, प्यालिष्टाइन, सियरालियोन, नाइजेरिया, लेबनान, मोरक्को, उज्वेकिस्तान, सर्बियालगायतका खेलाडी नेपालका विभिन्न टोलीमा संलग्न भई खेल्दैछन् । यसबाट नेपाली खेलाडीले विदेशी खेलाडीसँग व्यक्तिगत रुपमा परिचित हुने मौका पाउनुका साथै उनिहरुको खेल कौशल सिक्न मौका पाउँछन् जुन नेपालका लागि पनि उपलब्धिमूलक हुन जानेछ । प्रतियोगितामा सहभागी सातवटै टोली प्रत्येकले बढीमा छ जनासम्म विदेशी खेलाडीलाई टोलीमा समावेश गर्न पाउने नियम रहेको छ । त्यसमध्ये एक जना एशियाली मुलुकका खेलाडी हुनुपर्ने व्यवस्था छ । एक खेलमा हरेक टोलीले पाँच विदेशी खेलाडीलाई मात्र मैदानमा उतार्न सक्नेछ । नेपाली तथा विदेशी खेलाडीको यस सहकार्यले नेपाली खेलाडीलाई भोलिका दिनमा सम्भावनाको ढोका खोल्न सहयोगी सिद्ध हुने अनुमान गर्न सकिन्छ । यसै प्रतियोगिताका लागि विभिन्न टोलीले करार गरेर भित्र्याएका विदेशी प्रशिक्षकको प्रशिक्षण पनि नेपाली खेलाडीका लागि अविश्मरणीय मौका हुनेछ । विदेशमा रहेका नेपाली खेलाडी पनि एनएसएल फुटबलमा प्रत्येक टोलीले गैरआवासीय नेपाली खेलाडीलाई पनि सहभागी बनाउन पाउने नियम बनाइएको छ । विदेशमा रहेका नेपालीलाई पनि टोलीमा समावेश गरिएबाट उनीहरुले स्वदेशमा आफ्नो खेल प्रदर्शन गर्न पाउनेछन् । गत वर्षको संकरणमा नेपाली राष्ट्रिय फुटबल टोलीमा महत्वपूर्ण खेलाडीको पहिचान बनाएका विमल घर्तीमगर अष्ट्रेलियाबाट यो प्रतियोगिता खेल्न नेपाल आएका थिए । फुटबलमै रमाइलो केही समयअघि दशरथ रंगशालामा सम्पन्न केपी वली कप फुटबलको फाइनलका दिन ख्वप ब्याण्डका बहुचर्चित गायक कुमार सागरको प्रस्तुतिलाई फुटबल प्रेमीहरुले अत्यधिक रुचाएका थिए । एनएसएल फुटबल प्रतियोगिताको उद्घाटनका बेला शनिबार साङ्गीतिक कार्यक्रम पनि प्रस्तुत गरिने भएको छ । हालका चर्चित गायक दुर्गेश थापाले रङ्गशालामा आफ्नो विविध गीत प्रस्तुत कार्यक्रम रहेको छ । त्यो शून्य रङ्गशालाको सम्झना विश्वमै कोभिडको सङ्क्रमण बढिरहेको बेलामा २०७८ सालमा नेपालमा पहिलो पटक एनएसएल फुटबल आयोजना भएको थियो । त्यस्तो जोखिमपूर्ण अवस्थामा प्रतियोगिता हुनुहुन्न भन्ने आवाज उठिरहेको बेला आयोजकले दशरथ रङ्गशालाको मैदानमा दर्शकहरुको उपस्थितिविना नै प्रतियोगिताको पहिलो संस्करण आयोजना गर्नु साहसिक कदम थियो । खेल गतिविधि शून्य अवस्थामा रहेका बेला विभिन्न मुलुकका खेलाडी यो प्रतियोगिता खेल्न नेपाल आएका थिए । नेपाली फुटबल प्रेमीले विश्वव्यापी महामारीका बेलामा घरमै बसेर टेलिभिजन तथा सामाजिक सञ्जालका माध्यमबाट खेल हेरेर अत्यधिक मनोरञ्जन लिएका थिए । आयोजकले अखिल नेपाल फुटबल सङ्घसँग कोभिडको प्रकोपअघि नै सम्झौता गरी प्रतियोगिता सुरु गर्ने लक्ष्य राखे पनि कोभिडका कारण प्रतियोगिता नरोकेर दशरथ रङ्गशालामा पहिलो पटक दर्शकविनाको खेल सञ्चालन गर्नु चुनौतिपूर्ण कार्य थियो । अब महिला फ्रेन्चाइज पनि नेपाली महिला फुटबल खेलाडीहरुको प्रतिनिधित्व विभिन्न अन्तरराष्ट्रिय लिग भइरहेको भए तापनि नेपालमा भने यसको व्यावसायिक अभ्यास सुरु हुन सकेको छैन । नेपालको प्रतिनिधित्व गर्दै सावित्रा भण्डारी फ्रान्स, अन्जिला तुम्बापो सुब्बा ग्रिस तथा रेखा पौडेल संयुक्त अरब इमिरेटसमा स्थानीय क्लबमा आबद्ध भएर व्यावसायिक लिग खेलिरहेका छन् । अब नेपालमा पनि महिलाहरुको फ्रेन्चाइज लिग हुने भएपछि व्यावसायिक खेलको माहोल बन्न सुरु हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घले वार्षिक क्यालेण्डरमा आगामी २०८२ साल मङ्सिर १५ गतेदेखि माघ १५ गते फ्रेन्चाइज महिला लिग गरिने भएको कुरा उल्लेख गरिएको छ । समग्रमा नेपालको खेल क्षेत्रमा निजी क्षेत्रको झुकाव बढ्दै जानु समग्र खेलकुद जगतकै लागि सुखद पक्ष हो । यसले खेलकुदको व्यावसायीकरण गर्दै खेलाडीलाई जीवनयापनमा सहजता प्रदान गर्ने गर्दछ । खेलकुद प्रतियोगिता आयोजनाका साथै क्लबहरुमा लगानी गर्न निजी क्षेत्रबाट देखाएको उत्साहको निरन्तरताका लागि सरकारले यथोचित वातावरणको सिर्जना गरिदिनु पर्दछ । आयोजक पक्षले पनि तेस्रो संस्करणसमेत राजधानी केन्द्रित गरिएकाले आगामी वर्षका प्रतियोगिता बाहिर जिल्लामा आयोजना गर्नुपर्ने आवश्यकता देखिएको छ । करिब एक महिना जारी रहने एनएसएल प्रतियोगितामा नेपाली दर्शकले पक्कै पनि नेपाली तथा विदेशी खेलाडीको रोमाञ्चकारी खेल हेर्ने अवसर पाउनेछन् । यो प्रतियोगिताका माध्यमबाट नेपाली खेलाडीको सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ । समग्रमा एनएसएल फुटबल प्रतियोगिताले नेपाली फुटबलको स्तर अभिवृद्धिमा योगदान गर्ने अपेक्षा गरिएको छ ।
पोखरा: लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम, नेपालले पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । पोखरा रंगशालाको कभर्ड हलमा आगामी बैशाख १८ देखि २२ गतेसम्म लिगकम नकआउट फर्म्याटमा प्रतियोगिता आयोजना गर्ने आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । डिष्ट्रिक्ट गर्भनर लायन चण्डीप्रसाद अर्यालले संस्थाको अन्तर्राष्ट्रियस्तरमा १ सय ७ औं र नेपालमा ५३ औं वर्ष पूरा भएको अवसरमा उक्त प्रतियोगितामा आयोजना गर्न लागिएको बताए । उनका अनुसार सो प्रतियोगितामा विदेशीसहित कुल ६ टिमको सहभागिता रहने छ । अर्यालले गण्डकी प्रदेश भलिबल संघ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, र पाकिस्तान भलिबल क्लब इस्लामावादको सहभागिता रहने बताउदै इरान र भारतको टिमसँग समन्वय भइरहेको जानकारी दिए । ‘अहिलेसम्म पाकिस्तान र नेपालको गरी ५ वटा टिमको फाइनल भइसकेको छ । बाँकी १ टिमका लागि भारत र इरानी टोलीसँग कुराकानी भइरहेको छ । त्यो पनि छिट्टै फाइनल हुन्छ’, उनले भने । प्रतियोगिताको विजेता टोलीले नगद ४ लाख ४४ हजार ४ सय ४४ रूपैयाँ, शिल्ड, मेडल तथा ट्रफी प्राप्त गर्नेछ । यस्तै उपविजेताले नगद २ लाख ४४ हजार ४ सय ४४ रूपैयाँ, शिल्ड, मेडल तथा ट्रफी हात गर्नेछ । भने, सान्त्वना स्थान गर्ने समूहले नगद १ लाख ४४ हजार ४ सय ४४ रूपैयाँ, शिल्ड, मेडल तथा ट्रफीद्वारा पुरस्कृत हुनेछ । डिष्ट्रिक्ट गर्भनर लायन अर्यालले विधागत पुरस्कार राशीको पनि व्यवस्था गरिएको बताए । प्रतियोगिताको लिगचरणका खेलका लागि प्रवेश शुल्क ३ सय रूपैयाँ निर्धारण गरिएको आयोजकले जनाएको छ ।
प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएका खेलमा गण्डकी प्रदेश र सशस्त्र प्रहरी विजयी भएका छन् । गण्डकीले मधेसलाई प्रतियोगिताको पहिलो सुपर ओभरमा हराएको छ भने सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । गण्डकीले जिते पनि सबै खेलमा ४ अङ्क मात्र बटुल्दै बाहिरिएको छ भने अन्तिम खेल खेलेको लुम्बिनी पराजित हुँदै बाहिरिएको छ । जारी प्रतियोगितामा आज पहिलो सुपर ओभर खेलाइएको हो । मधेस प्रदेश र गण्डकी प्रदेशबिचको खेल बराबरीमा टुङ्गिए पछि खेलको छिनोफानो गर्न सुपर ओभर खेलाइएको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा २४७ रनको लक्ष्य लिई मैदान प्रवेश गरेको गण्डकीेले ५० ओभरमा आफ्नो सबै विकेट गुमाउँदै २४६ रन मात्र बनाउन सक्यो । अन्तिम बलमा २ रन आवश्यक रहे पनि सन्दिप अर्याल रन आउट भए । तर त्यस अघि नै एम्पायर सञ्जय गुरुङ्गले बललाई वाईड दिइसकेकाले गण्डकीले १ अतिरिक्त रन पाउँदै खेल बराबरीमा टुङ्गिएको थियो । सुपर ओभरमा पहिला ब्याटिङ गर्दै गण्डकीले २२ रन बनाएको थियो । २३ रनको लक्ष्य मधेसले भेट्टाउन सकेन । उसले सुपर ओभरमा ९ रन मात्र बनाउन सक्यो र अन्ततः गण्डकी प्रदेश सुपर ओभरमा विजयी भयो । यस अघि गण्डकीका लागि अर्जुन कुमालले शतक प्रहार गरे । उनले १४० बलको सामना गर्दै १० चौका र १ छक्काको सहयोगमा १०६ रन बनाए । यसैगरी गण्डकीका लागि दिनेश बुढामगर र सुदिप अर्यालले ३४/३४ रन र सुभास भण्डारीले १३ रन बनाए । बलिङमा मधेशका विशाल पटेलले ४ विकेट लिँदा रुपेश सिंह, रञ्जित कुमार, प्रदिप पासवान र पवन सर्राफले १/१ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको मधेस प्रदेशले रोहन विक, हरिशङ्कर साह र रुपेश सिंहको अर्धशतकको सहयोगमा ७ विकेट गुमाउँदै २४६ रन बनाएको थियो । मधेसका लागि रोहन बिकले ९८ बलको सामना गरी ६ चौका र ३ छक्काको सहयोगमा ६४ रन बनाए । हरिशंकर साह र रुपेश सिंहले समान ५१/५१ रन बनाए भने पवन सर्राफले ३३ रन बनाए । बलिङमा गण्डकी प्रदेशका बिपिन खत्री र कमल परियारले समान २/२ विकेट लिँदा अमित गुरुङ र सन्दिप पराजुलीले १/१ विकेट लिए । प्रतियोगितामा ७ खेल खेलेको मधेस २ मा जित र ५ मा हार गरी ४ अंक हासिल गरेको छ भने ९ खेल खेलिसकेको गण्डकी मात्र २ मा जित हासिल गरी ४ अङ्क प्राप्त गर्दै प्रतियोगिताबाट बाहिरिएको छ । आजै सम्पन्न दोस्रो खेलमा सशस्त्र प्रहरीले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । लुम्बिनीले दिएको २२४ रनको लक्ष्य सशस्त्रले ४१.५ ओभरमा ३ विकेटको क्षतिमा हासिल ग-यो । सशस्त्रका लागि कप्तान रोहित पौडेल र पुरन विकले अर्धशतक बनाए । पुरन विकले ११२ बल खेल्दै ६ चौका र १ छक्काको सहयोगमा अविजित ७२ रन बनाए भने रोहित पौडेलले ९४ बल खेल्दै ७ चौकाको सहयोगमा ७१ रन जोडे । सशस्त्रका लागि सन्दिप जोराले अविजित २१ रन र लोकेश बमले २१ रन बनाए । रूपन्देहीकै एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गर्दै लुम्बिनी प्रदेशले कप्तान देव खनाल र मृनाल गुरुङको अर्धशतकको सहयोगमा ८ विकेटको क्षतिमा २२३ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले ७९ बलको सामना गरी ४ चौकाको सहयोगमा ६३ रन बनाउँदा मुनाल गुरुङले ८७ बलको सामना गरी ४ चौकाको सहयोगमा ५५ रन बनाए । आकाश त्रिपाठीले २२ रन र प्रज्ज्वल थापाले २० रन बनाए । लुम्बिनी प्रदेशले ४ खेल जित र ५ मा हारसहित ८ अङ्क ल्याएसँगै प्रतियोगिताबाट बाहिरिएको छ । यसै गरी ८ खेल खेलेको सशस्त्र प्रहरीले थप २ अङ्क जोड्दै फाइनल पुग्ने सम्भावना छ । सशस्त्रले ८ खेलमा ६ मा जितसहित १२ अङ्क ल्याएको छ । अझै एक खेल खेल्न बाँकी छ । प्रतियोगितामा हालसम्म सबै ७ वटा खेलमा अविजित रहँदै नेपाल पुलिस क्लब १४ अङ्कसहित शीर्ष स्थानमा रहेको छ भने ८ खेल खेलेको त्रिभुवन आर्मी क्लब ७ खेलमा जित निकाल्दै १४ अङ्कका साथ दोस्रो स्थानमा छ । प्रतियोगिताको शीर्ष २ टोलीले यही चैत १६ गते फाइनल खेल्नेछ । मङ्गलबारको खेल रूपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रङ्गशालामा मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुनेछ ।
पोखरा: पोखरामा प्रथम एलिट भलिबल कप हुने भएको छ । एलिट भलिबल एकेडेमी पोखराले आफ्नो पहिलो वार्षिक उत्सव एवम् नयाँ वर्षको अवसरमा पोखरा–३, नदिपुरमा चैत २९ देखि वैशाख १ गतेसम्म प्रथम एलिट भलिबल कप सञ्चालन गर्न लागेको हो । एकेडेमीका सञ्चालक तथा प्रशिक्षक मलिन रोकाले खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता गर्न लागिएको जानकारी दिए । दुवैतर्फ टिममा सातौं, आठौ र नवौं राष्ट्रिय खेलकुद र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका बढीमा २ जना खेलाडी समावेश गर्न पाइने रोकाले बताए । प्रतियोगिताको पुरुषतर्फको विजेताले एक लाख र उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । महिलातर्फ विजेतालाई ५० हजार र उपविजेतालाई २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट पुरुष खेलाडीले ५ हजार र सर्वोत्कृष्ट महिला खेलाडीले ३ हजार प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुने पुरुष खेलाडीलाई समान २ हजार र महिलातर्फ समान १५ सय प्रदान गरिनेछ । पुरुषतर्फ दर्ता शुल्क ६ हजार ५ सय र महिलातर्फ ३ हजार ५ सय तोकिएको छ । प्रतियोगिताबाट बचत रकमबाट सम्भावना बोकेका दुई महिला खेलाडीको कक्षा ११ र १२ को पठनपाठनको खर्च उपलब्ध गराइने राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान एवम् एकेडेमीकी प्रशिक्षक अरुणा शाहीले बताइन् । उनीहरुलाई प्रशिक्षणसमेत निशुल्क गराइनेछ । खेलकुदमार्फत भाइचारा स्थापित गर्न यो प्रतियोगिताले टेवा पु¥याउने आयोजकको विश्वास छ ।
पोखरा रंगशालाको कभर्ड हलमा पहिलो संस्करणको फाइभ ए साइड एमेच्योर फुटसल प्रतियोगिता हुने भएको छ । एमएपीको आयोजनामा यही चैत्र १५ र १६गते उक्त प्रतियोगिता आयोजना हुने आयोजकका प्रतिनिधि प्रनिल रानाभाटले जानकारी दिए । उनका अनुसार उक्त प्रतियोगिताको विजेताले नगद रु ६१ हजार १ सय ११, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले नगद रु ३१ हजार १ सय ११, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई उचित पुरस्कारको व्यवस्था रहेको रानाभाटले बताए । उनका अनुसार टिम दर्ता फोनमार्फत (९८१४१९८१०४, ९८०५८७१४१६) पनि गर्न सकिनेछ भने, टिम दर्ता शुल्क नगद रु ४ हजार ५ सय निर्धारण गरिएको छ ।