यूएईलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एक खेलअगावै आईसीसी महिला टी–२० विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा प्रवेश गरेको छ। सोमबार भएको एसिया क्षेत्र छनोटको सुपर थ्रीको आफनो पहिलो खेलमा यूएईलाई ५ विकेटले पराजित गर्दै नेपाल ग्लोबल छनोटमा पुगेको हो। एसिया क्षेत्र छनोटबाट नेपालसँगै थाइल्यान्डले ग्लोबल छनोटमा स्थान बनाएका हुन्। लगातार दुई खेलमा हार भोगेको यूएई सुपर थ्रीबाट नै बाहिरिएको छ। यूएई पहिलो खेलमा थाइल्यान्डसँग ५४ रनले पराजित भएको थियो। यूएईले दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले ३ बलअगावै ५ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि कप्तान इन्दु वर्मा २९ रनमा अविजित रहिन्। उनले २७ बलमा २ चौका प्रहार गरिन्। रुवि पोद्दार ६ रनमा नटआउट रहिन्। ओपनर सम्झना खड्काले २१ रन बनाउँदै सुरक्षा कोटेको बलमा कट एन्ड बोल्ड भइन्। रुविना क्षेत्री २३ रन बनाउँदा ईशा ओझाको बलमा क्याच आउट हुन पुगिन्। पूजा महतो १३ रन बनाउँदै पेभेलियन फर्किइन्। राजमती ऐरीले ८ तथा कविता कुँवरले ५ रन थपे। त्यसअघि थाइल्यान्डको बैंककस्थित ट्रेडथाइ क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रनको योगफल तयार पारेको थियो। यूएईका लागि ओपनर तथा कप्तान ईशा ओजाले सर्वाधिक ३९ रन बनाउँदै क्याच आउट भइन्। विकेटकिपर तिथा सतिसले २१ रन बनाउँदै आउट भइन्। लावन्या केनीले १२ रन बनाउँदै आउट भइन्। हिना होट्चान्दानीले २० रन थपिन्। नेपालका लागि मनिषा उपाध्यायले ४ विकेट लिइन्। मनिषाले आफ्नो स्पेलमा मात्र २० रन दिइन्। कविता कुँवरले दुई विकेट लिइन्। कविताले अन्तिम ओभरमा २ विकेट लिँदै यूएईलाई रोकेकी हुन्। राजमती ऐरीले एक विकेट आफ्नो नाममा गरिन्। दोस्रो खेलमा नेपालले थाइल्यान्डविरुद्ध भोलि मंगलबार खेल्नेछ।
काठमाडौंः नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर थ्री मा प्रवेश गरेको छ। शुक्रबार हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपालको सुपर थ्री यात्रा तय भएको हो। यो नतिजापछि नेपाल र हङकङको समान ५ अंक भएपनि नेपाल बढी जितका कारण अगाडि बढेको हो। नेट रनरेटमा भने नेपालभन्दा हङकङ अगाडि थियो। नेपालले ४ खेलमा २ जित निकाल्दा एक खेलमा हार र एक खेल नतिजाबिहीन भएको थियो। हङकङले समान खेलमा एउटा मात्रै खेलमा जित निकाल्दा ३ खेल नतिजाबिहीन भयो। नेपाल हङकङसँगै पराजित भएको थियो। तर बहराइनलाई दुवै खेलमा पराजित हुँदा अगाडि बढ्ने बाटो खुलेको हो। ९ टोलीलाई तीन समूहमा विभाजन गर्दा हरेक समूहका शीर्ष टोली सुपर ३ मा प्रवेश गरेका हुन्। समूह ए बाट थाइल्यान्ड, समूह बी बाट यूएई र सी बाट नेपादल सुपर ३ मा प्रवेश गरेका हुन्। शीर्ष तीनमा पुगेका टोली एक आपसमा भिडेपछि शीर्ष दुई टोली विश्वकपको ग्लोबल छनोटमा पुग्नेछन्।
पोखरा: तेस्रो नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा पोखरा थन्डर्स धनगढीसँग भिड्ने भएको छ । दशरथ रंगशालामा आज (आइतबार) भएको खेलमा एफसी चितवनलाई ३–० को गोल अन्तरले पराजित गर्दै पोखराले दास्रो क्वालिफायर खेल खेल्ने अवसर प्राप्त गरेको हो । उक्त खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ । उक्त खेलको विजेता उपाधिका लागि ललितपुर सिटीसँग भिड्नेछ । पोखराको जितमा जो आइडोले दुई गोल गरे । भने, १ गोल चितवनको तर्फबाट आत्मघाती बन्न पुग्यो । यसअघि पहिलो क्वालिफायरमा धनगढीलाई २–१ ले हराउँदै ललितपुर सिटी एफसीअपराजित रहँदै फाइनलमा पुगिसकेको छ । एफसी चितवन ३ जित १ बराबरी र २ हारमा १० अंक सहित तेस्रो स्थानमा रहँदै प्ले अफमा पुगेको हो । पोखराले २ जित, २ बराबरी र २ हारको नतिजामा ८ अक जोड्दै गोल अन्तरमा काठमाडौं रेजर्सलाई पछि पार्दै प्ले अफमा पुगेको हो । यो सिजन पोखराले सुरूवाती दुई खेल गुमाएपनि उत्कृष्ट कमब्याककासाथ दोस्रो क्वालिफायर सम्मको यात्रा तय गरेको थियो । पोखरा गत सिजन अंक तालिकाको शीर्षस्थानमा रहँदै प्ले अफमा पुगेको थियो ।
काठमाडौं: डिफेन्डिङ च्याम्पियन ललितपुर सिटीले एनएसएलको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा १० खेलाडीमा समेटिएको सिटीले धनगढी एफसीलाई २–१ ले हराउँदै तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको हो । फाइनल प्रवेश गरेसँगै ललितपुर उपाधि रक्षा गर्ने दाउमा छ । खेलको १६ औ मिनेटमा ललितपुर १० खेलाडीमा समेटियो । यद्यपी ललितपुरको जीतमा खेलको ५७ औं मिनेटमा पाएको फ्रिकिकको अवसरलाई बेलफोर्टले गोलमा परिणत गरिदिए । यता धनगढीका लागि ६१ औं मिनेटमा दिपेश राईलाई रिप्लेस गर्दै मैदान छिरेका सुपर सब जर्जले पहिलो टचमा नै गोल गरे । र खेल बराबरीमा फर्कियो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको ७९ औं मिनेटमा ललितपुरले दोस्रो गोल गर्याे । पापा इबाउ केबेले सेन्टर लाइनबाट एक्लैले बललाई अगाडि बढाए । चार डिफेन्डरले उनलाई रोक्न सकेनन् । करिब ३५ यार्डबाट हानेको पावरफुल प्रहार आकर्षक गोलमा परिणत भयो । उक्त गोल नै निर्णायक बन्यो । आज पहिलो इलिमिनेटरमा एफसी चितवन र पोखरा थन्डर्सबीच खेल हुनेछ । धनगढीले त्यो खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–९ काल्खुमा जारी ‘ऐतिहासिक काल्खु मेला’मा प्रिक्वाटरफाइनलका खेल सम्पन्न भएका छन् । जनसम्पर्क युवा क्लबको आयोजनामा गत चैत्र पूर्णिमा(३० गते) देखि सञ्चालित मेलामा भलिबलतर्फ शनिबार प्रिक्वाटरका सबै खेल सकिएको क्लबका अध्यक्ष दिपक रानामगरले जानकारी दिए । उनका अनुसार (भोलि) आइतबार क्वाटरफाइनलसँगै बाँकी सबै चरणका खेल सम्पन्न गर्ने तयारी छ । उनले क्वाटरफाइनलको पहिलो खेल ओरस्टे र लामागाउँबीच बिहान ७ बजे सञ्चालन हुने बताए । यस्तै दोस्रो खेलमा कोल्मा र कालीकोट ८ बजे प्रतिस्पर्धा गर्नेछन् । तेस्रो खेलमा भने सालडाँडा जामुने र भोर्ले भिड्ने अध्यक्ष रानामगरले जानकारी दिए । उनका अनुसार क्वाटरफाइनलको अन्तिम खेलमा गैया र गहते टिम ‘बि’ बीच प्रतिस्पर्धा हुनेछ । बाहुले आफुलाई बाईमा पार्न सफल बन्दै अघिल्लो चरणमा प्रवेश गरिसकेको छ । आज (शनिबार) दोस्रो चरया र प्रिक्वाटरफाइनलका गरी ९ वटा खेल सम्पन्न भएका थिए । भलिबलको विजेतालाई नगद ८१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेता टोलीलाई नगद ४१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । भने, तृतीय हुने टिमले नगद २१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्नेछ । सो प्रतियोगिताबाट एउटा टिमलाई अनुशासित टिमको रुपमा नगद रु १२ हजारसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
पोखरामा क्लासिक सुईट्स टि–२० वुमन्स सुपर कप क्रिकेट च्याम्पीयनसीप आयोजना हुने भएको छ । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा पोखराको लेखनाथस्थित ईडन हेभन क्रिकेट मैदानमा प्रतियोगिता हुने भएको हो । प्रतियोगिता बैशाख ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने आयोजक पोखरा महानगरपालिका क्रिकेट सघले जनाएको छ । प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए । प्रतियोगितामा ३ टीमसहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगितामा फिस्टेल अप्मस्ट, ईस्लामिया कंकरस र पोखरा फिनिक्स गरेर तीन टीमले सहभागिता जनाउने अध्यक्ष पुनले बताए । तीन वटै टिमले छुट्टाछुट्टै टिमसँग २÷२ वटा खेल खेल्ने जनाइएको छ । उनका अनुसार गत हप्तामात्र सम्पन्न अन्तर विद्यालय पोखरा महानगरपालिका स्तरीय टि–२० क्रिकेट प्रतियोगिताबाट उत्कृष्ट ३६ जना खेलाडी छनौट गरिएको थियो । सो प्रतियोगिताबाट छनौट भएका खेलाडीलाई विभाजन गरेर ३ टीम बनाई सुपर कप आयोजना गर्न लागिएको उनको भनाई छ । सुपर कप च्याम्पीयनसीपबाट उत्कृष्ट १४ जना खेलाडी छनौट गरेर पोखरा महानगरपालिकाको टिम निर्माण गरिने अध्यक्ष पुनले जानकारी दिए । सो टिमले केहि समयपछि हुने देशका ६ वटा महानगरपालिकाबीच हुने प्रतियोगितामा सहभागिता जनाउने उनले बताए । ‘यो छनौट प्रतियोगिता हो, प्रतियोगितामा खेलाडीले देखाएको पर्फमेन्सका आधारमा महानगरपालिकाको टिमका लागि खेलाडी छनौट गर्छौं’–उनले भने । यसैबीच, प्रतियोगिताका लागि तीन वटै टिमलाई आयोजकले जर्सी हस्तान्तरण गरेको छ । तीन वटै टिमका टिम क्याप्टेनलाई पोखरा महानगरपालिका क्रिकेट संघको तर्फबाट क्रिकेट एशोसियसन नेपाल क्यान तथा आईसिसीका क्रिकेट अम्पायर मोहम्मद सफिक (समीर खान)ले जर्सी हस्तान्तरण गरेका हुन् । जर्सी हस्तान्तरण लगत्तै उनले सुपर कप वुमन्स च्याम्पीयनसीपको ट्रफीपनि सार्वजनिक गरेका थिए । सो अवसरमा अन्र्तराष्ट्रिय क्रिकेट अम्पायर खानलाई पोखरा महानगरपालिका क्रिकेट संघले कदर पत्रद्वारा सम्मान गरेको थियो । प्रतियोगिताको बिजेता र उपबिजेतालाई ट्रफी प्रदान गरिने पोखरा महानगरपालिका क्रिकेट संघका सचिव कपिलदेव गौतमले जानकारी दिए । प्रतियोगितामा प्लेयर अफ दी सिरिज र हरेक दिनको प्लेयर अफ दी म्याचलाई पनि ट्रफी प्रदान गरिने उनले बताए ।
पोखरामा सम्पन्न चौथो मनुश्री भिग्नजीत जुनियर राष्ट्रिय टेनिस प्रतियोगितामा पोखराका दर्शिल श्रेष्ठ र काठमाण्डौकी सारा पन्तले दुई स्वर्ण जितेका छन् । दर्शिलले १६ वर्ष मुनिको ब्वाइज सिंगल र ब्वाइज डबल्सतर्फको उपाधि जित्दा साराले गल्र्स यु–१४ र यु–१२ दुवै इभेण्टमा प्रथम स्थान हाँसिल गरिन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा असव सम्राट हाडालाई ६–१, ६–४ को सोझो सेटमा पराजित गर्दै दर्शिलले सिंगलतर्फको उपाधि जितेको हुन् । दर्सिलले ब्वाइज डबल्सतर्फ पनि उपाधि जित्न सफल भए । सिर्जन भट्टराईसँगको पार्टनरसिपमा दर्सिल जोडीले फाइनल खेलमा प्रफुल्ल श्रेष्ठ र स्पन्दन उदासको जोडीलाई प्रतिस्पर्धात्मक खेलमा ६–० ,५–७ र १०–४ ले पराजित गर्दै उपाधिमा कब्जा गरेको हो । साराले १४ वर्ष मुनि गल्र्स सिंगलमा आर्य पौडेलसँगको अन्तिम भेटमा ६–१, ६–४ को नतिजा निकालिन । उनले १२ वर्ष मुनिको सिंगल फाइनलमा स्वरा थापालाई ६–२, ६–३ ले पराजित गर्दै दोहोरो जित निकालेकी हुन् । १४ वर्ष मुनिको ब्वाइज सिंगलतर्फ साङ्गे रोकायाले आसव सम्राट हाडालाई ६–४, ३–६ र १४–१२ ले पराजित गर्दै प्रथम हुन सफल भए । १२ वर्षमुनीको ब्वाइइज सिङ्गलमा आरित मल्लले आर्यस राज पौडेललाई प्रतिस्पर्धात्मक खेलमा ३–६,७,–६ र १०–४ ले पराजित गर्दै प्रथम स्थान हासिल गरे । १६ वर्ष सिंगलतर्फ बिजेताले नगद १५ हजार तथा उप–विजेताले नगद ७ हजार ५ सय सहित मेडल प्राप्त गरे । त्यस्तै, १४ वर्ष सिंगलतर्फ बिजेताले नगद १० हजार तथा उप–विजेताले नगद ५ सहित मेडल प्राप्त गरे । १२ वर्ष सिंगलतर्फ बिजेताले नगद ८ हजार तथा उप–विजेताले नगद ४ सहित मेडल प्राप्त गरेका छन् । ८, ९ र १० वर्ष मुनि ब्वाइज तथा गल्र्स सिंगल्स बिजेता तथा उपबिजेताले गिफ्ट ह्याम्पर तथा मेडल प्राप्त गरे । विजयी खेलाडीहरुलाई प्रतियोगिताका मुख्य प्रायोजक कुमार मोहनबहादुर शाही, उहाँका नाती भिग्नजीत, नातिनी मनुश्री, प्रतियोगिता संयोजक लोक गुरुङ्ग लगायतले नगदसहित मेडल, प्रमाण–पत्रले पुरस्कृत गरे । आयोजक संघका अध्यक्ष राजकुमार गुरुङको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा संघका सचिव भिष्मराज पौडेल र टुर्नामेण्ट डाइरेक्टर कुमार अधिकारीले पनि बोलेका थिए ।
स्याङ्जाको पुतलीबजार नगरपालिका–९ काल्खुमा जारी ‘ऐतिहासिक काल्खु मेला’मा शनिबारदेखि दोस्रो चरणका खेल हुने भएको छ । जनसम्पर्क युवा क्लबको आयोजनामा गत चैत्र पूर्णिमा(३० गते) देखि सञ्चालित भेलामा भलिबल प्रतियोगितातर्फ दोस्रो चरणका ७ खेल हुने क्लबका अध्यक्ष दिपक रानामगरले जानकारी दिए । उनका अनुसार आज काल्खु खेल मैदानमा पहिलो खेल बिहान ८ बजे आयोजक ‘बि’ र गहते ‘बि’ टिमबीच हुनेछ । यस्तै दोस्रो खेलमा आयोजक टिम ‘ए’ र लामागाँउ भिड्नेछन् । तेस्रो खेल ओरस्टे र शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ बीच हुनेछ । चौथो खेलमा गहते टिम ‘ए’ र कोल्मा भिड्नेछन् । पाँचौ खेलमा छेक्मा र सालडाँडा जामुने भिड्ने क्लबका प्रमुख सल्लाहकार जीवन थापामगरले बताए । उनका अनुसार छैटौं खेलमा कालीकोट र बाङ्गेस्वाराबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी शनिबारको अन्तिम खेल भुस्नापुर र भोर्लेबीच हुनेछ । बाँकी खाङ्ग्राङ र गैयाबीचको खेल र बराहडाँडा र बाहुबीचको खेल आइतबार हुने थापामगरले बताए । उनका अनुसार भलिबलको विजेतालाई नगद ८१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेता टोलीलाई नगद ४१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । भने, तृतीय हुने टिमले नगद २१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्नेछ । सो प्रतियोगिताबाट एउटा टिमलाई अनुशासित टिमको रुपमा नगद रु १२ हजारसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
पोखरा: गण्डकी हिरोजले दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय खुल्ला पुरुष क्लब स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा सिइसी काठमाडौंलाई ५ विकेटले हराउँदै च्याम्पियन बनेको हो । च्याम्पियन गण्डकीले दश लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता काठमाडौंले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ । १८३ रनको विजयी लक्ष्य पाएको गण्डकीले १७.३ ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनायो । गण्डकीका बसन्त कार्की २७ र नारायण जोशी १३ रनमा नटआउट रहँदै टोलीलाई जित दिलाए । बसन्तले १७ बलमा ३ छक्का प्रहार गरेभने, नारायणले १० बलमा १ छक्का प्रहार गरे । किरण ठगुनाले ५२ रनको उत्कृष्ट अर्धशतकीय पारी खेल्दै आउट भए । उनले २६बलमा ३ चौका र ४ छक्का प्रहार गरे । सुजन थपलिया ३५ रनमा अउट भए । उनले २१ बलमा ६छक्का प्रहार गरे । दिपक डुम्रे २६रनमा अउट भए । उनले १५ बलमा २ चौका र २ छक्का प्रहार गरे । ओपनर साकिव हुकले २४ रन बनाए । उनले १५ बलमा ५ चौका प्रहार गरे । अर्जुन कुमाल शुन्यमै पेभिलियन फर्किए । काठमाडौंका लागि दिपेन्द्र रावतले ३ विकेट लिदाँ मनोज यादव र सूर्य तामाङले १–१ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ थालेको काठमाडौंले १९.४ ओभरमा १८२ रन बनाउँदै अलआउट हुन पुग्यो । अर्जुन घर्तीले ६८ रनको उत्कृष्ट पारी खेल्दै क्याचआउट हुन पुगे । उनले ३४ बलमा ४ चौका र ६ छक्का प्रहार गरे । यस्तै पृथु बास्कोटाले अर्धशतकीय पारि खेल्दै आउट भए । उनले २९ बलमा ७ चौका र २ छक्काको मद्धतमा अर्धशतक बनाए । सिवम तिवारीले २३ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । रित गौतम ४, दिपेन्द्र रावत ४, सुशान्त सिंह थापा ६, राजेन्द्र बम १, दिनेश बोहोरा ८, सूर्य तामाङ ३ र युनिश विक्रम सिंह ठकुरी १ रनमा आउट भए । गण्डकीका लागि अमृत गुरुङ र कृष्ढा पौडेलले समान ३–३ विकेट लिए भने विपिन खत्री र मिलन बोहोराले २–२ विकेट लिए । गण्डकी हिरोजका किरण ठगुना प्लेयरअफ दी म्याच घोषित भए । यस्तै काठमाडौंका दिपेन्द्र रावत प्लेयर अफ दी टुर्नामेन्ट घोषित भए । उनले ३० हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट ब्याटर अत्तरियाका विपिन रावल र उत्कृष्ट बलर लुम्बिनीका अजय कुमार चौहान घोषित हुँदै समान २०–२० हजार रुपैयाँ प्राप्त गरे । गत वर्षको उपाधि भने मधेस प्रदेशले जितेको थियो ।