पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिगको मंगलबार हुने खेलहरु स्थगित गरिएको छ ।  आयोजक ईन्फिनिटी ड्रिम्स प्रालिले प्रेस विज्ञप्ती जारी गर्दै देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै...

पोखरा:   मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरामा मंसिर ७ गतेदेखि सञ्चालन हुने केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।  मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष धुव्र आचार्यले पोखरामा मंसिर ७ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको बताए । ‘एकेडेमीको आयोजनामा पोखरामा मंसिर ७ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ’, अध्यक्ष आचार्यले भने, ‘प्रतियोगिताको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी ओलीले गर्ने कार्यक्रम तय भएको छ ।’ पोखरा रंगशालामा मंसिर ७ देखि १५ गतेसम्म सञ्चालन हुने केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सात प्रदेशका सात टिम,विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, नेपाल एपिएफ क्लब र मदन भण्डारी स्पोर्टस एकेडेमीका २ टिम गरी १२ समूहको सहभागिता रहने आयोजकले जनाएको छ ।  प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने, आईसिसीको नियम अनुसार सञ्चालन हुने टी–२० क्रिकेट प्रतियोगिताको म्यान अफ द सिरिजले ३० हजार, बेस्ट ब्याटर र बलरले जनही २०/२० हजार र म्यान अफ द म्याच घोषित खेलाडीले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।  प्रतियोगिता सम्पन्न गर्न करिव ७७ लाख खर्च लाग्ने अनुुमान गरिएको मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष आचार्यले बताए ।  उनले एकेडेमीले हरेक वर्ष विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएकाले क्रिकेट प्रतियोगिताले कतिकति वर्षमा सञ्चालन गर्ने यो प्रतियोगिता सम्पन्न भएपछि छलफल गर्ने बताएका छन् । 

काठमाडौं:    फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ ।            त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल आज साँझ ७ बजे हुनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताउनुभयो ।            उहाँले यसअघि संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलले पनि नेपाली टोलीको मनोबल उच्च भएको जनाउँदै यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताउनुभयो । गत कात्तिक ३० गते दुबईमा भएको खेलमा नेपाल युएईसँग ४–० गोलअन्तरले पराजित भएको थियो ।            त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बुले युएई विरुद्धको खेलमा पराजय भोग्नु परे पनि यमनसँगको खेलमा भने जित हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफ्नो टोलीका खेलाडीहरु यमनसँग खेल्न मनोवैज्ञानिकरुपमा समेत तयार रहेको बताउनुभयो ।             नेपाल फिफा वरियतामा १७३औँ स्थानमा छ भने यमन १५६औँ स्थानमा रहेको छ । उक्त प्रतियोगिताको खेल हेर्न साधारण प्याराफिटतर्फ रू चार सय र भिआइपी प्यारापिटतर्फ रू एक हजार मूल्य तोकिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।             विश्वकप एशिया छनोटको दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा रहेको छ । नेपालको समूहमा युएई, बहराइन र यमन रहेका छन् । त्यस्तै विश्वकप छनोटको पहिलो चरणको खेलमा नेपालले लाओलाई पराजित गर्दै दोस्रो चरणमा छनोट भएको हो । 

गण्डकी:    राष्ट्रियस्तरको ‘बुकी कप’ भलिबल प्रतियोगिता आगामी पुस आठदेखि १५ गतेसम्म बागलुङको गलकोटमा आयोजना हुने भएको छ । पोखराको हिमालयन म्यूजिकल इभेन्ट म्यानेजमेन्ट एण्ड फिल्मस्द्वारा आयोजित सो प्रतियोगितामा तीन विभागीयसहित छ टिमको सहभागिता रहने जनाइएको छ ।    प्रतियोगिताका संयोजक मोहन केसीका अनुसार त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र गलकोट नगरपालिकाको टिमले उक्त प्रतियोगितामा भाग लिनेछन् । पहिलोपटक आयोजित प्रतियोगितामा प्रथम हुनेले नगद रु पाँच लाख, दोस्रो हुनेले रु दुई लाख ५० हजार र तेस्रो हुनेले रु एक लाख २५ हजार पुरस्कार पाउने उहाँले जानकारी दिनुभयो ।   यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई रु २० हजार, उत्कृष्ट टिम प्रशिक्षकलाई रु दस हजार, उत्कृष्ट सेटरलाई रु छ हजार, उत्कृष्ट स्पाइकरलाई रु छ हजार, उत्कृष्ट ब्लकरलाई रु छ हजार, उत्कृष्ट डिफेन्डरलाई रु छ हजार, उत्कृष्ट सर्भरलाई रु छ हजार र म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई नगद रु दुई हजार प्रदान गरिने संयोजक केसीले बताउनुभयो ।    गलकोट नगरपालिका र गलकोट नगर खेलकुद विकास समितिसँगको समन्वय तथा नेपाल भलिबल सङ्घ, गण्डकी प्रदेश भलिबल सङ्घ, जिल्ला भलिबल सङ्घ बागलुङ, गलकोट उद्योग वाणिज्य सङ्घ र नगर भलिबल सङ्घ गलकोटसँगको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको उहाँको भनाइ छ ।     प्रतियोगिता गलकोट नगरपालिका–६ स्थित मजुवाफाँटमा सञ्चालन हुनेछ । सोही अवसरमा साङ्गीतिक कार्यक्रम, नृत्य प्रतियोगिता ‘गलकोट डान्स आइडल’, रमाइलो मेलालगायत सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिता अवधिभर नेपाली सङ्गीत क्षेत्रका विभिन्न कलाकारहरुको प्रस्तुती रहने संयोजक केसीले उल्लेख गर्नुभयो ।   “धवलागिरि क्षेत्रमै पहिलोपटक सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुँदैछ, खेल पर्यटनका माध्यमबाट गलकोटलाई थप चिनाउन यो प्रतियोगिता सहयोगी बन्नेछ”, उहाँले भन्नुभयो, “पहिलो दिनको खेलमा दर्शकलाई निःशुल्क प्रवेश दिइनेछ, त्यसपछिका खेल अवलोकनका लागि टिकट शुल्क तोक्छौँ ।”

काठमाडौं:  नेपाली राष्ट्रिय फुटबल टोलीकी रक्षक गीता रानाले सेथु एफसीबाट आईलिग खेल्ने भएकी छन् ।   सेथुले गीतालाई २०२३–२४ सिजनका लागि अनुबन्ध गरेको छ । सेथुले सामाजिक सञ्जालमार्फत गीतालाई अनुबन्ध गरेको जानकारी गराएको छ।   गीता जारी सिजन सेथुमा अनुबन्ध हुने दोस्रो खेलाडी हुन् । गत महिना मात्र सेथुले नेपाली राष्ट्रिय टोलीकी गोलकिपर एन्जिला तुम्बाप्पे सुब्बासँग सम्झौता नविकरण गरेको थियो ।   गतसिजन एन्जिलाले सेथुको कप्तानी सम्हालेकी थिइन् ।   त्यतिबेला क्लबले गीतालाई पनि अनुबन्ध गरेको थियो । तर, भुवनेश्वरमा भारतसँग भएको मैत्रीपूर्ण खेलका दौरान गीताले घुँडाको चोट बोक्न पुगेकी थिइन् । जसका कारण गीता लिग खेल्न बन्चित भएकी थिइन् ।   अघिल्लो सिजन सेथु सेमिफाइनलमा नेपाली टोलीकी मिडफिल्डर सरु लिम्बुसम्मिलित किक स्टार्ससँग पराजित भएको थियो । त्यसअघि खेलेको आठ खेलमा टोली अपराजित रहेको थियो ।   आईलिगको पहिलो खेलमा सेथुले डिसेम्बर ८ मा साविक विजेता गोकुलम केरेलासँग खेल्नेछ । दोस्रो खेल भने इष्ट बंगानसँग रहेको छ । गतसिजन सावित्रा भण्डारीसम्मिलित गोकुलम च्याम्पियन भएको थियो ।   यसपटक सात टोलीमात्रै लिगमा हुनेछन् । गोकुलम र सेथुसँगै किक स्टार्स, उडिसा एफसी, इष्ट बंगाल, होप्स एफसी र स्पोर्टस् उडिसाले सहभागिता जनाउनेछन् । लिग मार्चसम्म चल्नेछ ।

काठमाडौं:   हङकङमा जारी महिला टी ट्वान्टी चारदेशीय सिरिजमा नेपाल तेस्रो भएको छ ।    जापानलाई ४५ रनले हराउँदै नेपाल प्रतियोगितामा तेस्रो बनेको हो ।    नेपालले प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य पछ्याएको जापानले ६ विकेटको क्षतिमा ७० रन मात्र बनाउन सक्यो ।   जापानकी अकारी निशिमुराले २९, हिनासे गोटोले १६ र अहिल्या चन्देलले ११ रन बनाईन् । अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।   नेपालकी संगिता राई, इन्दु वर्मा, सिता राना मगर, खुसी डंगोल, सोनी पाख्रिनले समान एक एक विकेट लिए ।    सुरुआती ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतीमा १ सय १५ रन बनाएको थियो ।    पुजा महतोले ४३ रन बनाएको इनिङ्समा रोमाले २२ र रुबिना क्षेत्रीले २१ रन बनाईन् । कप्तान इन्दुरी वर्माले १२, सिता राना मगरले ५ रनको योगदान दिईन् । काजल श्रेष्ठ ३ तथा अश्मिना कर्मचार्य २ रनमा अविजित रहिन् ।    जापानकी अहिल्या चन्देल, एरिका टोगुनी क्विन र अयुमी फुजिकावाले समान एक एक विकेट लिईन् ।    चारदेश सम्मिलित सिरिजमा नेपालले तान्जानिया र हङकङसँग पराजित भएको थियो ।  

पोखरा:   पोखरामा एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता हुने भएको छ ।   माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा यहि मंसिर ७ देखि पोखरा महानगरपालिका वडा नं. १३ को आर्बा–बिजय डाँडामा प्रतियोगिता हुन लागेको हो ।   तीन दिनसम्म हुने प्रतियोगितामा विभिन्न ११ देशका खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।   प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माका अनुसार नेपालसहित ११ देशका ५५ जना प्रतिस्पर्धीले सहभागि जनाउने छन् । ‘८८ जनाले शुरुवाती दर्ता गरे पनि ५५ जनाले प्रतिस्पर्धा गर्नेछन् । अर्को ठाउँमा प्रतियोगिताको मिति जुधेको कारण केही खेलाडीले शुरुवाती दर्ता गरेपनि सहभागि हुन नसकेका हुन् ।’ –उनले भने ।   प्रतियोगितामा इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्ष माथि), महिला ओपन तथा इ–बाइक गरि ७ विधामा प्रतिस्पर्धा हुनेछन् । इ–बाइक रेस नेपालमै पहिलो पटक हुन लागेको शर्माको दावी छ ।   खेलकुद र पर्यटनलाई टेवा पुराउनका लागि प्रतियोगिता आयोजना गरिएको डन टिल डस्कका प्रवन्ध निर्देशक छिमी उक्रेन गुरुङले जनाए । सन् २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाउन ५० लाख रुपैँया लगानी भैसकेको र प्रतियोगिता सञ्चालन हुने समयसम्म थप २० लाख लगानी लाग्ने गुरुङको भनाई छ । ‘प्रत्येक वर्ष वर्षमा प्रतियोगितालाई निरन्तरता दिने योजना भएपनि ६–६ महिनामा गर्न सकिन्छ कि भनेर तयारी गरिरहेका छौं ।’ उनले भने ।   तीन दिन हुने प्रतियोगितामा मंसिर ७ र ८ गते अभ्यास खेल हुनेछभने ९ गते प्रतियोगिता हुनेछ ।   प्रतियोगिता समुन्द्री सतहबाट १३६० मिटर उचाँईमा रहेको आर्वा–बिजय डाँडामा हुनेछ । उक्त एन्ड्युरो प्रतियोगिताले आगामी दिनहरुमा विश्वभर ठुलो संख्यामा माउन्टेन बाइकिङ प्रेमीहरु आकर्षित भई नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकको रहेको छ ।   उक्त प्रतियोगितालाई पोखरा महानगरपालिका, कास्की जिल्ला साइक्लिङ संघ, पोखरा खेलकुद विकास समिति तथा पोखरा १३ को वडा कार्यालयले समन्वय गरेको छ ।

पोखरा:   पोखरामा हुने ‘प्रथम केपी ओली कप राष्ट्रिय  टि–२०  क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।   यहि मंसिर ७ गते सुरु हुने प्रतियोगिताको उक्त प्रतियोगिताको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले खेल तालिका सार्वजनिक गरेको हो ।   एकेडेमी अन्तर्गत गठित क्रिकेट विभागका संयोजक एवं पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले प्रतियोगितामा १२ टिमको सहभागिता हुने जानकारी दिएका छन् ।   प्रतियोगितामा ३ विभागिय टोली नेपाल आर्मीको त्रिभुवन क्लव, शसस्त्र प्रहरीको एपिएफ क्लव र नेपाल प्रहरी क्लवको सहभागिता हुनेछ भने कोशी, बागमती, मधेश, गण्डकी, लुम्विनी, सुदुर पश्चिम प्रदेश तथा कर्णाली प्रदेशको सहभागिता रहनेछ ।   त्यसैगरी यूवा खेलाडी उत्पादनका लागि एकेडेमीले आफ्ना दुई टिम पहिलो पटक उक्त प्रतियोगितामा सहभागिता गराउन लागेको संयोजक गौचनले जानकारी दिएका छन् ।   एकेडेमीले हालै देश भरिका २ सय भन्दा बढि यूवा खेलाडीहरुबाट छनौट गरि दुई टिम बनाएको हो ।     खेल तालिका अनुसार ग्रुप ‘ए’मा बागमती प्रदेश, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी रातो, ग्रुप ‘बि’मा एपिएफ, लुम्विनी र गण्डकी, ग्रुप ‘सि’मा नेपाल पुलिस, मधेश प्रदेश र सुदुर पश्चिम तथा ग्रुप ‘डि’मा त्रिभुवन आर्मी क्लव, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस एकेडेमी निलो एक आपसमा भिड्नेछन् ।   मंसिर १५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा हरेक दिन दुई खेलहरु सञ्चालन हुने संयोजक गौचनले बताए ।   उद्घाटन खेलमा बागमती प्रदेश र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रातोका विच हुनेछ । प्रतियोगितामा सबै प्रदेशबाट राष्ट्रिय खेलाडीहरुको सहभागिता हुने संयोजक गौचनले बताए ।   प्रतियोगिताको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले प्रतियोगिता सम्पन्न गर्न करिव ७० लाख खर्च हुने जनाएको छ । प्रतियोगितामा उपाधि विजेता टिमले नगद रु ५ लाख र उपविजेता टिमले नगद रु २ लाख ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिएका छन् ।   यसैगरी हरेक खेलमा म्यान अफ दि म्याच र प्रतियोगिताको वेष्ट व्याटर तथा बलरलाई समेत नगद सहित सम्मान गरिने छ ।   मदन भण्डारी स्पोर्टस एकेडेकी कास्कीको व्यवस्थापनमा आयोजनामा हुन लागेको उक्त प्रतियोगिता सम्पन्न गर्न विभिन्न १३ वटा उपसमितिहरु गठन गरिएको छ ।  

काठमाडौँ:    चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पराजित गरेको छ ।   नेपालले जापानलाई ६७ रनले हराएको हो ।   हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो ।   जापानले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला ब्याटिङ गर्दै नेपालले चार विकेट गुमाएर एक सय १३ रन बनाएको थियो ।   नेपालका लागि रुविना क्षेत्रीले ३२ बलमा पाँच चौकाको मद्दतमा ३८ रन बनाइन् । यस्तै कप्तान इन्दु बर्माले ३१ बलमा दुई चौका प्रहार गर्दै २७ रनको योगदान दिइन् ।   काजल श्रेष्ठले अविजित रहँदै सात बलमा तीन चौकाको मद्दतमा १५ तथा पूजा महतोले २९ बल खेल्दै एक चौकाका साथमा १३ रन बनाइन् ।   बलिङतर्फ जापानकी एलिना कुशुदा नाइरनले दुई तथा मेग ओगावा र आयुमी फुजिकावाले एक एक विकेट लिइन् ।   एक सय १४ रनको विजयी लक्ष्य पछ्याउने क्रममा जापानका लागि मेग ओगावाले २९ बलमा दुई चौकाको मद्दतमा १७ रन बनाइन् ।   यस्तै सेइका सुमीले १६ बल खेल्दै एक चौका प्रहार गरी १३ रनको योगदान दिइन् । हिनासे गोटोले तीन रन बनाइन् । बलिङतर्फ नेपालकी सङ्गीता राईले पाँच तथा अश्मिना कर्माचार्य र पूजा महतो दुई दुई विकेट लिइन् ।   नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिइसकेका छन् । नेपाल यसअघि पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो । तान्जानियाले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । नेपालले सबै विकेट गुमाउँदै मात्र ८८ रन बनाउन सक्यो ।   यस्तै बिहीबार भएको दोस्रो खेलमा नेपाल हङकङसित नौ विकेटले पराजित भएको थियो । नेपालले निर्धारित २० ओभरको खेलमा १८ ओभरमा सबै विकेट गुमाएर मात्र ५६ रन बनाएको थियो । हङकङले ५७ रनको विजयी लक्ष्य नौ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो ।   महिला टी–२० सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । आइसिसी बरीयतामा तान्जानिया १९औँ, नेपाल २१औँ, हङ्कङ २२औँ तथा जापान ५१औँ स्थानमा छन् । तान्जानिया र हङकङले उपाधि जित्नका लागि खेल्ने छन् । नेपालले अब तेस्रो स्थानका लागि आइतबार जापानसित नै खेल्ने छ । 

काठमाडौं:  दक्षिण अफ्रिकामाथि ३ विकेटको जित हात पार्दै अष्ट्रेलिया आठौं पटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । अब उसले उपाधिका लागि भारतसँग खेल्नेछ ।   बिहीबार भारतको इडेन गार्डेनमा भएको दोस्रो सेमिफाइनल जित्नका लागि दक्षिण अफ्रिकाले २१३ रनको लक्ष्य दिएको थियो, जसलाई अष्ट्रेलियाले अन्तिम १६ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो ।   उसका लागि ट्राविस हेडले सर्वाधिक ६२ रन बनाए भने स्टीभ स्मिथले ३० र डेभिड वार्नरले २९ रनको योगदान दिए ।   अष्ट्रेलियाका लागि महत्वपूर्ण पारी खेल्नुका साथै एकै ओभरमा महत्वपूर्ण दुई विकेट लिएका हेड प्लेयर अफ दि म्याच बने ।   अष्ट्रेलियाको पारी हेड र वार्नरले राम्रो सुरुवात गरेका थिए । दुवैले पहिलो ६ ओभरमा ६० रन बनाएका थिए । तर थप ७७ रन जोड्दा ५ विकेट गुमाउन पुगेको थियो ।     सातौं ओभरको पहिलो बलमा एडन मार्करमले वार्नरलाई बोल्ड गरे भने अर्को ओभरमा कगिसो रबाडाले मिशेल मार्शलाई शून्यमा पभेलियन फर्काए । लगातार विकेट गुमाएपछि रनको रफ्तार कम भयो र पावर प्लेको १० ओभरमा २ विकेट गुमाएर ७४ रन बनायो ।   खेलको १५औं ओभरमा जब बवुमाले केशव महराजलाई बल दिए, उनले पहिलो बलमै ट्रेविस हेडलाई बोल्ड गरे । ४८ बलको सामना गरेका उनले ९ चौका र दुई छक्काको मदतमा ६२ रन बनाएका थिए ।   उनले स्मिथसँग तेस्रो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए ।   खेलको २२औं ओभरमा मार्नस लाबृशेनले स्मिथको विकेट लिए । दुई ओभरपछि शमसीले ग्लेन म्याक्सबेललाई आउट गरेपछि अष्ट्रेलियाले १३७ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुुमायो ।   त्यसपछिको १० ओभरमा उसले विकेट गुमाएन, रन पनि ३७ मात्र थप्न सक्यो । खेलको ३४औं मिनेटमा स्मिथ आउट भए । अन्तिममा कप्तान प्याट कमिन्सले आठौं विकेटका लागि मिचेल स्टार्कसँग अविजित २२ रनको साझेदारी गर्दै अष्ट्रेलियालाई विश्वकपको फाइनलमा पुर्याएका छन् ।