पोखरा: पोखरामा आजदेखि सुरु भएको चौथो टाइगर भलिबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन शसस्त्र प्रहरी बलको एपिएफ क्लबले महिलातर्फको पहिलो खेलमा जित हासिल गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सोमबारबाट सुरु भएको ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’को पहिलो खेलमा एपिएफले नेपाल पुलिस क्लब विरुद्ध ३–२ को सेटमा जित निकालेको हो । चौथो संस्करणको पहिलो प्रतिस्पर्धात्मक खेलमा पुलिस विरुद्ध एपिएफ क्लबले जित निकाल्दै २ अंक हासिल गरेको छ भने नेपाल पुलिसले १ अंक प्राप्त गरेको छ । पहिलो सेट २५–१८ र दोश्रो सेट २५–१८ ले जितेको एपिएफले भने तेश्रो र चौथो सेट भने गुमाउन पुग्यो । तेश्रो र चौथो सेटमा टिम कम्विनेसनको अभाव देखिएको एपिएफलाई २५–१९ र २५–१८ ले जितेर खेलमा फर्किएको नेपाल पुलिस अन्तिम तथा पाँचौ सेटमा १५–१३ ले एपिएफलाई सुम्पिन पुग्यो । सम्पन्न पहिलो खेलमा एपिएफ क्लबकी सरस्वती चौधरी टाइगर अफ दि म्याच घोषित भइन् । यस्तै दोस्रो खेलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड स्पोर्टस् क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । न्यु डायमण्ड स्पोर्टस क्लबले आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै ३ अङ्क प्राप्त गर्न सफल भएको छ । न्यु डायमण्ड स्पोर्टस क्लबले आर्मीलाई २५–२०, २५–१७, २४–२६ र २५–१५ ले पराजित गरेको हो । तस्वीरः बसन्त शेर्पा नेपाल भलिबल संघको स्विकृतीमा सुरु भएको चौथो टाइगर कपमा पहिलो पटक सहभागिता जनाउन भारत हरियाणा राज्यको महिला पुलिस क्लब पोखरा आइपुगेको छ । महिलातर्फ नै चन्द्रागिरी नगर पालिका न्यू डायमण्ड स्पोर्टस क्लव, गण्डकी प्रदेश संगै तिन बिभागिय टोली नेपाल पुलिस क्लब, नेपाल आर्मीको त्रिभुबन क्लब र शसस्त्र प्रहरीको एपिएफ क्लबको सहभागिता छ । त्यसै गरी पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले पहिलो पटक सहभागिता जनाएको छ । प्रतियोगितामा हेल्प नेपाल स्पोर्टस क्लब तीन जना पाकिस्तानी खेलाडी सहित मैदानमा उत्रिने छ । पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ समेत तीन भारतीय खेलाडी सहित मैदानमा छ । तीन बिभागिय टोली नेपाली सेनाको त्रिभुबन क्लब, नेपाल पुलिस क्लब र शसस्त्र प्रहरीको एपिएफ क्लबले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज सोमबार दिउसो २ बजे गर्नेछन् । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिव १५ हजार बराबरको एक्सटेप कम्पनीको जुत्ता प्राप्त गर्ने आयोजकले जनाएको छ । पुरुषतर्फको पहिलो खेल दुई विभागिय टोली एपिएफ क्लब र नेपाल पुलिस क्लबका क्लबबीच हुनेछ भने सो खेल लगतै उद्घाटन खेल सुरु हुनेछ । उद्घाटन खेल घरेलु टोली गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।
पोखरा: चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’को सम्पूर्ण तयारी पुरा भएको छ । तयारी पुरा भए संगै आयोजकले उद्घाटन खेलमा गण्डकी प्रदेश र नेपाल आर्मी क्लब भिड्ने भएको जनाएको छ । प्रतियोगितामा पहिलो पटक दुई विदेशी क्लब र केही सहभागि टिमहरुमा विदेशी खेलाडीहरु समेत सम्मिलित भए पछि चौथो टाइगर कप रोचक हुने भएको टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले जनाएका छन् । ‘भोलिदेखि माघ ६गतेसम्म सञ्चालन हुने भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ गरेर १२ टिमको सहभागिता रहेको छ, सबै टिम पोखरा आइसकेका छन्’, अध्यक्ष शर्माले भने, ‘प्रत्येक दिन महिला र पुरुषको गरेर ४ खेल हुुनेछ, विदेशी क्लब र केही सहभागि टिमहरुमा विदेशी खेलाडीहरु समेत सम्मिलित भएकाले प्रतियोगिता रोचक हुने अपेक्षा लिएका छौ । ।’ उनका अनुसार भोलिदेखि सञ्चालन हुने टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिपमा महिला/पुरुष तर्फ गरी १२ वटा क्लबको सहभागिता हुनेछ । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने तय भएको संस्थाका अध्यक्ष शर्माले जानकारी दिए । उनका अनुसार भोलि बिहान महिलातर्फ पहिलो खेल नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब, दोस्रो खेल त्रिभुवन आर्मी क्लब र न्यू डायमण्ड स्पोर्टस् क्लबबीच हुनेछ । यस्तै पुरुषतर्फ नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ भने, दिनको चौथो तथा उद्घाटन खेल गत सस्करणको उपाधि विजेता गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ । चौथो टाइगर कपमा पहिलो पटक सहभागिता जनाउन भारत हरियाणा राज्यको महिला पुलिस क्लब पोखरा आएका छन् । महिलातर्फ नै चन्द्रागिरी नगर लिका न्यू डायमण्ड स्पोर्टस क्लब, आयोजक गण्डकी प्रदेश संगै तिन विभागिय टोली नेपाल पुलिस, नेपाल आर्मी र शसस्त्र प्रहरीको एपिएफ क्लबले सहभागिता जनाउने छन् । त्यसै गरी पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले पहिलो पटक सहभागिता जनाउने पाएको आएको छ । प्रतियोगितामा हेल्प नेपाल स्पोर्टस क्लबले समेत ३ जना पाकिस्तानी खेलाडी टिममा भित्राएको छ । आयोजक टिम गण्डकीले आफ्नो उपाधि रक्षाका लागि तीन भारतीय खेलाडी भित्राएको छ । पुरुषतर्फ तिन विभागिय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र शसस्त्र प्रहरीको एपिएफ क्लबले सहभागिता जनाउने छन् । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ महिला तथा पुरुष खेलाडीले ट्रफीका साथमा जनही नगद रु २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् भने अन्य विद्यागत तर्फ हरेक खेलाडीले जनही नगद रु १० हजार ५ सय ५५ प्राप्त गर्नेछन् । तेस्रो संस्करणको उपाधि पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ शसस्त्र प्रहरीको एएिएफ कलबले जितेका थिए । प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड रुपैया खर्च लाग्ने तथा प्रतियोगितालाई थप आकर्षण बनाउन र दर्शकलाई सहज ढंगले खेल हेर्न अवसर प्रदान गर्ने गरि यो वर्ष करिव १० हजार क्षमताको प्यारापिट तयार गरिएको छ ।प्रतियोगितालाई प्रविधि मैत्री समेत बनाइने आयोजकले जनाएको छ । प्रतियोगितामा म्यान अफ दि म्याच वापत खेलाडीले केल्मी र एक्सटेपको टिशर्ट पाउने छन भने प्रतियोगितामा टिकट काटेर हेर्ने दर्शकहरुलाई दैनिक गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ भने फाइनल खेलमा बम्पर उपहारस्वरुप सामसुङको मोवाइल प्रदान गरिने सचिव डिवी नेपालीले जानकारी दिएका छन् ।
पोखरा: राष्ट्रिय युवा संघ पोखरा महानगर कमिटीले आयोजना गरेको पहिलो संस्करणको ‘पोखरा महानगर फुटसल कप–२०८०’ मा वडा नम्बर १ च्याम्पियन बनेको छ । स्पोर्टस् क्यासलमा शनिबार भएको फाइनल खेलमा पोखरा वडा ११ लाई २–० गोल अन्तरले पराजित गर्दै वडा १ च्याम्पियन बनेको हो । च्याम्पियन बनेको वडा १ का लागि विनय तामाङ (क्रिजल) र नकुल तामाङले समान १÷१ गोल गरे । खेल संयोजक अनिश गुरुङका अनुसार च्याम्पियन बनेको वडा १ को टोलीले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पारे । यस्तै उपविजेता बनेको वडा ११ ले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २० हजार प्राप्त गरे । सो प्रतियोगिताबाट उपविजेता टोली पोखरा ११ का धन गुरुङ सर्वाेत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए । यस्तै सोही टिमकै लक्ष्मण गुरुङ उत्कृष्ट गोलरक्षक घोषित भए । मादी गाउँपालिकाका प्रविण गुरुङले ७ गोल गर्दै सर्वाधिक गोलकर्ताका रुपमा पुरस्कृत भए भने अनुशाषित टिमको शिल्ड पोखरा वडा १७ ले प्राप्त गर्याे । कुल ३८ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय अध्यक्ष क्षितिज थेबे, युवा संघका पूर्व अध्यक्ष राजीव पहारी, नेकपा एमाले कास्कीका सचिव बैन बहादुर क्षेत्री, उपसचिव दर्शन लामा लगायतले पुरस्कार वितरण गरेका थिए ।
पाखरा: नेपाल भुतपुर्व खेलाडी मञ्चले आयोजना गर्दै आइरहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र सामाजिक संस्था रोटरी डिस्ट्रीक ३२९२ बिच प्रायोजकको सम्झौता भएको छ । आगामी फागुन पाँच गते १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट ३ वर्षका लागि हरेक वर्ष दुई लाख रुपैयाँ प्रदान गर्दै सह–प्रायोजकको रुपमा रहने दुई पक्ष बिच पोखरामा सम्झौता भएको हो । मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सँग जोडिएकोमा धन्यवाद ज्ञापन गरे । उनले रोटरी सामाजिक संस्था भएको र सामाजिक संस्था जोडिदा म्याराथनलाई थप ब्राण्डिङ र प्रबद्र्धन गर्न टेवा पुग्ने विश्वास रहेको सुनाए । म्याराथनलाई भव्य बनाउन सह–प्रायोजकको रुपमा जोडिदै आर्थिक र सामाजिक पाटर्नरको रुपमा रहेको बताए । निवर्तमान अध्यक्ष तेज गुरुङले मञ्च र म्याराथनको बारेमा प्रोजक्टमार्फत प्रस्तुति दिएका थिए । उनले रोटरी सँगको समन्वय महत्वपूर्ण रहेको बताए । गुरुङले रोटरीको क्षेत्र फराकिलो भएकाले यसले म्याराथनलाई आर्थिक, नैतिक र भौतिक रुपमा ठूलो सहयोग पुग्नेमा विश्वास लिएको बताए । रोटरी डिस्ट्रीक ३२९२ का गभर्नर राजेन्द्र प्रसाद धोजुले खेलकुदमा प्रतिष्ठित संस्था भुतपुर्व खेलाडी मञ्चसँग जोडिन पाउनु ठूलो उपलब्धि रहेको सुनाए । उनले रोटरीले सामाजिक कार्य गर्दै आइरहँदा अन्तर्राष्ट्रिय प्रतियोगितामा जोडिदा थप उचाई बढेको बताए । रोटरीले विश्वभर पोलियोको विषयमा जनचेतना फैलाउने काम गरेको र म्याराथनमा समेत पोलियोकै जनचेतना फैलाउने गरी अघि बढ्ने बताए । साथै रोटरीले आगामी फागुनमा पोखरामो सम्मेलन गर्न लागेको र देशभरका रोटरीयन पोखरा आउने भएकाले ठूलो समुह प्रतियोगितामा उपस्थिति गराउने प्रतिबद्धता व्यक्त गरे । मञ्चसँगको सम्बन्धलाई आगामी वर्षहरुमा निरन्तरता दिदैँ जाने उनको भनाई छ । उनले देशभर रहेका रोटरी क्लबहरुमा सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको प्रचार गर्ने समेत बताए । मञ्चका द्धितीय उपाध्यक्ष खेम गुरुङले दुई संस्थाबिचको सम्झौताले एक आपसमा सहयोग आदान प्रदान हुने बताए । उनले म्याराथनलाई सफल बनाउन थप इट्टा थप्ने काम भएको बताए ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको ‘दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तर पालिका भलिबल’ प्रतियोगितामा नवलपरासी(बर्दघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिका च्याम्पियन बनेको छ । माछापुच्छ्रे ३ घाचोकमा भएको फाइनल खेलमा बाग्लुङको गलकोट नगरपालिकालाई ३—१ सेटमा हराउँदै बौदीकाली च्याम्पियन बनेको हो । च्याम्पियनसँगै बौदीकालीले नगद रु ३ लाख, ट्रफी र मेडल पुरस्कार प्राप्त गर्याे । यस्तै उपविजेता गलकोटले रु २ लाख तथा ट्रफी हात पार्याे । यस्तै सेमिफाइनलमा पुगेका अन्नपूर्ण र चापाकोटले जनही रु ५० हजारबाट पुरस्कृत भए । प्रतियोगिताबाट बौदीकालीका अशोक श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै रु ७ हजार प्राप्त गरे । यसैगरी उत्कृष्ट स्पाइकरमा बौदीकालीका सरोज बर्देवा, उत्कृष्ट ब्लकरमा बौदीकालीकै विश्वास अधिकारी, उत्कृष्ट सर्भरमा सोही टिमकै आषिश श्रेष्ठ, उत्कृष्ट डिफेण्डर चापाकोटका राजन दर्लामी मगर, उत्कृष्ट सेटर गलकोटका मीन सुनार र उत्कृष्ट प्रशिक्षक बौदीकालीका सागर विष्ट घोषित भए । प्रतियोगिताको विजेता, उपविजेता तथा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई नेपाली काँग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभाका सांसद द्धय बद्री पाण्डे र जीवन परियार, गण्डकी प्रदेशसभाका सदस्यद्धय गणेशमान गुरुङ र प्रकाश बराल, गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्याल लगायतले पुरस्कार वितरण गरेका थिए ।
पोखरा: ‘स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद’ भन्ने नारासहित माछापुच्छ्रे गाउँपालिकामा खेलकुद विकास समिति माछापुच्छ्रेको आयोजना अध्यक्ष कप भलिबल प्रतियोगिता जारी छ । आज (शनिबार) तेस्रो दिन पहिलो सेमिफाइनल खेल बौदीकाली गाउँपालिका र चापाकोट नगरपालिकाबीच हुनेछ । यस्तै दोस्रो सेमिफाइनल खेल अन्नपूर्ण गाउँपालिकासँग कालीगण्डकी गाउँपालिका र गलकोट नगरपालिकाबीचको विजेता टिमबीच हुने खेल सहसंयोजक जापान गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ३ लाख प्राप्त गर्ने छ । यस्तै दोस्रो हुने टिमले नगद रु २ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछ भने सेमिफाइनलिस्ट २ टिमलाई जनही रु ५०÷५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गुरुङले बताए । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार रुपैयाँ प्रदान गरिनेछ । यस्तै विधागततर्फ उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई जनही रु ५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
सुर्खेत: नेपाल पुलिस क्लब कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न भएको ३४औं राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । साविक विजेता नेपाल एपिएफ क्लबलाई फाइनलमा पराजित गर्दै नेपाल पुलिस क्लब च्याम्पियन बनेको बनेको हो । कर्णाली प्रदेशको सुर्खेतस्थित विरेन्द्रनगरमा रहेको खुल्लामञ्चको कोर्टमा बिहीबार भएको फाइनलमा एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बन्न सफल भएको हो । सुरुवातमा प्रतिस्पर्धात्मक बनेको पहिलो सेट एपिएफले २५–२२ ले आफ्नो पक्षमा पारेको थियो । पहिलो सेट गुमाएको पुलिस दोस्रो सेटबाट भने खेलमा फर्कियो । दोस्रो सेट २५–१९ ले जित्दै पुलिसले खेललाई १–१ सेटको बराबरीमा ल्याए । रविन चन्द नायक बन्दा पुलिसले तेस्रो सेट २५–१८ ले जित्दै खेलमा २–१ को सेटमा अग्रता लिन सफल भयो । १५–१५ को बराबरीको अवस्थाबाट पुलिसले खेललाई १८–१५ को स्थितिमा ल्याए । त्यसपछि एपिएफले थप ३ अंक बटुल्दा पुलिसले ७ अंक बटुल्दै जित निकाल्न सफल भयो । चौथो सेटमा पनि पुलिसले सुरुवातमा ८–४ को अग्रता लिएपनि एपिएफले पूनरागमन गर्दै ११–१० को अग्रता लिन सफल भएको थियो । तर, पुलिसले एपिएफको अग्रतालाई पछि पारेर २५–२३ को जित निकाल्दै च्याम्पियन बन्न सफल भयो । उपाधिसँगै पुलिसले १ लाख रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३–१ सेटमा पराजित गर्दै तेस्रो भएको थियो ।
सुर्खेत: कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको छ । गण्डकीले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । यससँगै गण्डकीले समूह चरणमा भोगेको हारको समेत बदला लिन सफल भएको छ । गण्डकीले समूह चरणमा आर्मीसँग ३–० को सोझो सेटमा हार भोगेको थियो । कर्णाली प्रदेशको सुर्खेतस्थित विरेन्द्रनगरमा रहेको खुल्लामञ्चको कोर्टमा बिहीबार तेस्रो स्थानका लागि चलेको प्रतिस्पर्धात्मक खेलमा गण्डकीले आर्मीलाई २५–२२, २४–२६, २६–२४ र २५–२२ ले पराजित गरेको हो । चलेको पहिलो सेटमा गण्डकीले २५–२२ को जित निकाल्न सफल भयो । आज नै उपाधिका लागि दुई विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । एपिएफले गण्डकीलाई तथा पुलिसले आर्मीलाई सोझो सेटमा पराजित गर्दै फाइनलमा भेट पक्का गरेको थियो । २० पुसबाट सुरु भएको प्रतियोगितामा तीन विभागसँगै सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको थियो । समूह ‘ए’ मा पुलिस, एपीएफ, लुम्बिनी, बागमती र कोशी छन् । समूह ‘बी’ मा आर्मी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र मधेश रहेका छन् । शीर्ष दुई टोलीले सेमिफाइनल खेलेका थिए ।
पोखरा: पोखरा रंगशालामा माघ ९ देखि २० गतेसम्म हुने २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा विदेशी क्लबसहित १२ टिमले प्रतिस्पर्धा गर्ने भएको छन् । सहारा क्लबले पोखरामा आज (बिहीबार) पत्रकार सम्मलेन गर्दै प्रतियोगितामा दिल्ली फुटबल क्लब इन्डिया र पारो फुटबल क्लब भुटानसहित १२ क्लबले प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो । आहा रारा पोखरा गोल्ड कप मा गतवर्षको डिफेण्डिङ च्याम्पियन सङ्कटासँगै नेपाल पुलिस, त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दी, मछिन्द्रले प्रतिस्पर्धा गर्नेछ । यस्तै, चर्च ब्वाइज, जावलाखेल, राइजिङ स्टार, थ्री स्टार र आयोजक सहारा सहभागी हुनेछ । प्रतियोगितामा करिव १ करोड ८६ लाख आम्दानी हुने र १ करोड ४९ लाख ३ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरेको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए । प्रतियोगितामा बचत रकमबाट क्लबले फुटबल एकेडेमी चलाउँदै आएको छ । एकेडेमीमा ८ जिल्लाका १४ बालकहरू आश्रित छन् । यो चौथो ब्याच हो । प्रतियोगितामा उद्योगपति तथा पूर्व सांसद स्व. सूर्यबहादुर केसीको परिवारले साथ दिएको छ । त्यसैले उत्कृष्ट ५ पुरस्कार उनैको स्मृतिमा प्रायोजन गरिएको छ । प्रतियोगिताका विजेताले अघिल्लो इभेन्टमा १२ लाख पाएका थिए भने उपविजेताले ६ लाख पाएका थिए । अहिले पनि सोही पुरस्कार यथावत् रहने बताइएको छ । तर पुरस्कार राशि बढाउन आन्तरिक छलफल चलिरहेको क्लबले जनाएको छ । प्रतियोगिता पोखरा रङ्गशालामा हुने अध्यक्ष केशवराज बरालले बताए ।