पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिगको मंगलबार हुने खेलहरु स्थगित गरिएको छ ।  आयोजक ईन्फिनिटी ड्रिम्स प्रालिले प्रेस विज्ञप्ती जारी गर्दै देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै...

काठमाडौं: फिफा विश्वकप २०२६ छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल युएईसँग पराजित भएको छ ।   पहिलो हाफमा यूएईले उत्कृष्ट प्रदर्शन गर्दै ४ गोल गरेपछि नेपाल ४-० ले पराजित भएको हो । घरेलु टोलीको जितमा कप्तान अलि मखबूटले दुई गोल गरे भने खलीफा अल-हम्मादि र फावियो लिमाले १-१ गोल थपे ।   खेल अवधिभर नै यूएईले नेपाललाई दबाबमा राखेको थियो । चोटका कारण लाकेन लिम्बुलाई गुमाएपछि उनको स्थानमा आएका अमृत श्रेष्ठका लागि खेल बिर्सनलायक बन्यो । १८ औं मिनेटमा मैदान प्रवेश गरेका अमृतले पहेंलो कार्ड र दुई गोलमा गल्ती गरेपछि हाफ टाइममा बाहिरिएका थिए । उनको स्थानमा योगेश गुरुङले अवसर पाएका थिए । दोस्रो हाफमा नेपालले दबाब खेपेपनि गोल भने खाएन । पहिलो हाफको तुलनाम दोस्रो हाफमा नेपालले काउन्टर अट्याकमा केहि अवसर पनि सिर्जना गरेको थियो । तर त्यसलाई गोलमा परिणत गर्न भने टोली असफल रह्यो ।   १० औं मिनेटमा युएईले खेलमा अग्रता लियो । अलि अम्रोको क्रसमा खलीफा अल-हम्मादिले हेडर मार्फत गोल गर्दै घरेलु टोलीलाई अघि बढाए ।   १३ औं मिनेटमा नेपालका लेफ्ट ब्याक चौधरीले बक्स बाहिर बाट आफ्नो कमजोर खुट्टाले गरेको प्रहार पोस्टको धेरै माथिबाट बाहिरियो । २६औं मिनेटमा अब्दल्लाह बेखितको थ्रु-पासमा काइओ कोरेयाको प्रहार किरण चेम्जोङले बक्सको छेउमा आएर बचाए ।   २९औं मिनेटमा फाबियो लिमाको फ्री-किक प्रहार किरण चेम्जोङले पुनः बचाए । त्यस लगत्तै उनकै बक्स बाहिरबाट गरेको प्रहारले भने पोस्टको दिशा लिन सकेन ।   ३४औं मिनेटमा लिमाको कर्नर किकमा कोरेयाको हेडर क्रसबारमा लागेर फर्कियो । ३५औं मिनेटमा घरेलु टोलीले अग्रता दोब्बर गर्ने सुनौलो अवसर प्राप्त गर्यो । अमृत श्रेष्ठले बेखिटमाथि फाउल गरेपछि युएईले पेनाल्टी पाएको थियो ।   युएईका कीर्तिमानी गोलकर्ता अलि मखबूटले पेनाल्टीमा सहजै गोल गर्दै अग्रता दोब्बर बनाए ।   ४४औं मिनेटमा मखबूटले अर्को गोल थपे । जाएद अल-जाबिको हेडर पासमा मखबूटले हेडर मार्फत नै गोल गर्दै खेलमा व्यक्तिगत दोस्रो गोल गरे । फाबियो लिमाले थपिएको समयको पहिलो मिनेटमा खेलको चौथो गोल गरे । बेखिटको पासमा उनले सहजै फिनिश गरेका थिए ।   दोस्रो हाफमा पनि घरेलु टोलीले नै प्रभुत्व जमायो । ५०औं मिनेटमा मखबूटको प्रहार रोहित चन्दले ब्लक गरे। ५३औं मिनेटमा आशिष चौधरीको क्रसमा छिरिङ लामाको हेडर युएई खालिद अल-मेसमारीले सहजै बचाए ।   ७९औं मिनेटमा मोहम्मद अल-ब्लूशीको प्रहार किरणले सहजै बचाए । ८१औं मिनेटमा मनिष डाँगीले बक्सको छेउ बाट प्रहार गरेको हाफ-भली अल-मेसमारीले राम्रो बचाउ गरे । ८६औं मिनेटमा काईओ कोरेयाको प्रहार किरणले पुनः बचाए ।   खेलमा तीन खेलाडीले डेब्यु गरेका थिए । रक्षक छिरिङ लामाले सुरुवाती रोजाइमा रहेरै डेब्यु गरेका थिए भने रक्षकद्वय योगेश गुरुङ र अन्जन राईले बेन्चबाट मैदान प्रवेश गरे ।   नेपालले छनोटको दोस्रो खेलमा यमन विरुद्ध नोभेम्बर २१ मा काठमाडौंमा खेल्नेछ । यस समूहमा नेपालसँगै यमन, यूएई र बहराइन छन् ।

काठमाडौं:   फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।   पहिलो चरणमा लाओसलाई पन्छाएपछि नेपाल छनोटको दोस्रो चरणमा पुगेको हो । लाओसविरुद्ध दुई लेगको खेलमा नेपाल समग्रमा २-१ ले विजयी हुँदै दोस्रो चरणको यात्रा तय गरेको हो ।   यो खेल आज राति ९ बजे सुरु हुनेछ । नेपाल रहेको समूहमा यूएईका साथै बहराइन र यमन रहेका छन् । वरीयताका आधारमा यूएई बलियो टोली हो ।   नेपालको दोस्रो खेल भने मंसिर ५ गते घरेलु मैदान दशरथ रंगशालामा हुनेछ ।   अबको आठ महिनामा नेपालले छनोटका ६ खेल खेल्नेछ र एक प्रकारले राष्ट्रिय टिम ब्यस्त जस्तै हुनेछ ।

स्याङ्जा:  मोटरसाइकल दुर्घटनामा मृत्यु भएका गण्डकी प्रदेशका भलिबल सदस्य सन्तोषबहादुर थापाको सम्झनामा आज (बिहीबार) प्रदेशका सबै भलिबल खेलहरू स्थगित गरिएको छ ।    गण्डकी प्रदेश भलिबल सङ्घले गण्डकी प्रदेश भरिका भलिबल प्रतियोगिता सबै स्थगित गर्ने जनाएको हो ।   सङ्घका अध्यक्ष नवीन गुरुङले भलिबल क्षेत्रमै अतुलनीय क्षति पुगेको बताउदै थापाको सम्झनामा भलिबल प्रतियोगिता स्थगित गरिएको बताए ।    चापाकोट नगरपालिका २ का २२ वर्षीय सन्तोषको मङ्गलवार राति वालिङमा भलिबल खेलमा सहभागी भएर घर फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा निधन भएको थियो । 

काठमाडौं:   भारत आइसिसी विश्वकप २०२३ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । भारतले २०११ पछी पहिलो पटक फाइनलमा स्थान बनाएको हो । जितको लागि ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८.५ ओभरमा ३ सय २७ रनमा अल आउट भयो । न्युजिल्यान्डका डर्याल मिचेलले १ सय १९ बलमा ९ चौका र ७ छक्कासहित सर्वाधिक १ सय ३४ रन वनाएपनी टोलीलाई जिताउन सकेनन् । केन विलियम्सन ७३ बलमा ७ चौका र १ छक्कासहित ६९ रनमा क्याच आउट भए । केन र मिचेलले तेस्रो विकेटका लागि १ सय ८१ रनको साझेदारी गरेका थिए । भारतलाई सुरुवातमा मोहम्मद शामीले दुबै ओपनरलाई आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । दुबै ओपनर रचिन रबिन्द्र र डेभन कन्वे एज लागेर विकेटकिपर लोकेश राहुलबाट समान १३ रनमा क्याच आउट भएका थिए । ग्लेन फिलिप्स ३३ बलमा ४ चौका र २ छक्कासहित ४१ रनमा आउट भए । अन्य ब्याटरले राम्रो गर्न सकेनन् । शामीको ३३ औं ओभरको दोस्रो बलमा विलियम्सन सुर्यकुमार यादव बाट क्याच भएपछि जितको सम्भावना टाढिएको थियो । भारतका मोहम्मद शामीले ९।५ ओभरमा ५७ रन खर्चेर ७ विकेट लिए । बुमराह, कुलदिप यादव र मोहम्मद शिराजले एक एक विकेट लिए । त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ९८ रन बनाएको थियो । भारतको जितमा युवा ब्याटर श्रेयस ऎरले ७० बलमा ४ चौका र ८ छक्कासहित १ सय ५ रनको विस्फोटक शतकीय इनिङ खेलेका थिए । विराट कोहलीले १ सय १३ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक १ सय १७ रनको शतकिय इनिङ खेलेका थिए । कोहलीको यो ओडिआइ करिअरको ५० औं शतक हो । उनी ओडिआइमा सर्वाधिक शतक हान्ने खेलाडी बनेका छन् । कोहलीले सचिन तेन्दुलकरको ४९ औं शतकको कीर्तिमान तोडेका हुन् । भारतलाई कप्तान रोहित शर्माले २९ बलमा ४ चौका र ४ छक्कासहित ४७ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । टिम साउथीको नवौं ओभरको दोस्रो बलमा ठुलो शर्ट खेल्ने धुनमा रोहित शर्मा केन विलियम्सनबाट लङअफमा क्याच आउट भए । केनले हाइको बल उत्कृष्ट क्याच लिएका थिए । पहिलो विकेटका लगि रोहित र गिलले ९।२ ओभरमा ७१ रनको साझेदारी गरेका थिए । दोस्रो विकेटका लागि गिल र कोहलीले ९३ रनको साझेदारी गरेका थिए । त्यसपछि कोहली र ऎरले १ सय २८ बलमा १ सय ६३ रनको सानदार शतकिय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । युवा ब्याटर शुभमन गिल ६६ बलमा ८ चौका र ३ छक्कासहित ८० रनमा नट आउट रहे । गिल ७९ रनमा रिटायर्ड हर्ट भएका थिए। लोकेश राहुल २० बलमा ५ चौका र २ छक्कासहित ३९ रनमा नट आउट रहे ।   न्युजिल्यान्डका ट्रेन्ट बोल्टले १० ओभरमा ८६ रन खर्चेर १ विकेट लिए । टिम साउथीले १० ओभरमा १ सय रन खर्चेर ३ विकेट लिए ।   दोस्रो सेमिफाइनल बिहिबार हुनेछ । दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र दछिण अफ्रिकाबिच प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार हुनेछ ।

काठमाडौँ:  हङ्कङमा जारी चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलाको बुधबार सम्पन्न आफ्नो पहिलो खेलमा नेपाली टोली पराजित भएको छ ।   नेपाललाई तान्जनियाले २७ रनले पराजित गरेको हो । नेपालले पहिलो पटक तान्जनियासँग अन्तर्राष्ट्रिय क्रिकेट खेलेको हो ।    टस जिती पहिले ब्याटिङको निणर्य लिएको तान्जनियाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.५ ओभरमा अलआउट हुनुअघि ८८ रनमात्र बनाउन सक्यो ।    नयाँ कप्तान इन्दू बर्माको नेतृत्वमा ओर्लिएको नेपाली टोलीका ब्याट्रहरुले निराशाजनक प्रदर्शन गरे ।   ब्याटिङतर्फ कुनै पनि खेलाडी लामो समय क्रिजमा टिक्न सकेनन् । नेपालका लागि सातौँ नम्बरमा क्रिज समाल्न आएकी अनुभवी खेलाडी सीता रानामगरले सर्वाधिक ४३ रनको योगदान गरिन् ।   सीताले ३१ बलको सामना गरी चार छक्का पनि हिर्काइन् । उक्त खेलमा दुबै टोलीका अन्य कुनै ब्याट्रले छक्का प्रहार गर्न सकेनन् । यसदेखि वाहेक नेपालका लागि कप्तान इन्दू बर्माले मात्र दोहोरो अंकमा रन बनाउन सकिन् ।    इन्दूले १८ बलको सामना गरी दुई चौकाको मद्दतले १५ रन बनाइन् । नेपालका अन्य खेलाडीले भने दोहारो अंकमा रन बटुल्न सकेनन् । इश्वरी बिष्ट तीन रन बनाउँदै आउट भइन् । उनको विकेट तान्जनियाकी बलर जेरोमले लिएकी हुन् । खुसी डंगोल शून्य रनमा अविजित रहिन् ।    तान्जनियाका बलर सोफिया जेरोमले तीन विकेट लिइन् । निमा पियुषले दुई विकेट हात पारिन् ।   आइसा मोहमद, युसाङ्गा र पेरिस जाकायोले एक—एक विकेट लिए । नेपाली टोलीले अतिरिक्त रुपमा नौ रन पाएको थियो । नेपालले आफ्नो दोस्रो खेल बिहीबार आयोजक हङ्कङसँग खेल्नेछ । सोही दिन जापान र तान्जनियाबिच अर्को खेल हुनेछ ।

काठमाडौं:  हङकङमा आयोजना हुने चार देश सम्मिलित महिला टि–२० शृङ्खलामा नेपालले ताञ्जेनियासँग खेल्दैछ।   शृङ्खलाको पहिलो खेल भाइटीकाको दिन ताञ्जेनियासँग खेल्न लागेको हो।   आजदेखि मङ्सिर ३ गतेसम्म सञ्चालन हुने शृङ्खलामा विभिन्न चार टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसमा आयोजक हङकङसहित नेपाल, ताञ्जेनिया र जापान छन्।    नेपालले कात्तिक ३० मा आयोजक हङकङसँग खेल्नेछ भने आगामी मङ्सिर २ गते जापानसँग खेल्छ।    शीर्ष दुई टोलीले उपाधिका लागि मङ्सिर ३ गते खेल्नेछन्। त्यस्तै तेस्रो स्थानको प्रतिस्पर्धासमेत सोही दिन हुनेछ। उक्त शृङ्खलाका सबै खेल हङ्कङ क्रिकेट क्लबको मैदानमा हुनेछन्। नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आइतबार हङकङ गएको हो।    नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित उपकप्तान बिन्दु रावल, रुबिना क्षेत्री, सीता रानामगर, खुसी डङ्गोल, सोमु विष्ट, सङ्गीता राई, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, पूजा महतो, रोमा थापा, काजोल श्रेष्ठ, सम्झना खड्का र रुवि पोदार छन्।  

काठमाडौँ:  फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्न नेपाली राष्ट्रिय पुरुष फुटबल आज युएई प्रस्थान गर्दैछ ।    नेपाली टोली आज युएई प्रस्थान गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।   नेपालले युएईसँग यही कात्तिक ३० गते दुबईमा खेल्दैछ । त्यसपछि नेपालले आगामी मङ्सिर ५ गते दशरथ रङ्गशालामा यमनसँग खेल्नेछ ।   विश्वकप एसिया छनोटको दोस्रो चरणको समूह ‘एच’ मा रहेको नेपालको समूहमा युएई, बहराइन र यमन रहेका छन् ।   त्यस्तै विश्वकप छनोटको पहिलो चरणमा नेपालले लाओसलाई पराजित गर्दै दोस्रो चरणमा छनोट भएको थियो ।    यूएईसँग खेल्ने नेपाली खेलाडीमा किरणकुमार लिम्बू, दीप कार्की, अभिषेक बराल, सनिश श्रेष्ठ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, ऐरिक विष्ट,  छिरिङ लामा, योगेश गुरुङ, लकेन लिम्बू, उत्सव राई, क्रितिश रत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङदाम्बे, निशान हमाल, अञ्जन विष्ट, आयुष घलान, जिलेस्पी जङग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट र राजेश परियार छन् ।

काठमाडौं:    हङ्कङमा आयोजना हुने चार देश सम्मिलित महिला टि ट्वान्टी शृङ्खला खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म सञ्चालन हुने उक्त शृङ्खलामा विभिन्न चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा आयोजक हङ्कङसहित नेपाल, ताञ्जेनिया र जापान छन् । शृङ्खलाको पहिलो खेलमा नेपालले यही कात्तिक २९ गते भाइटिकाको दिन ताञ्जेनियासँग खेल्नेछ । त्यसैगरी नेपालले कात्तिक ३० मा आयोजक हङ्कङसँग खेल्नेछ भने आगामी मङ्सिर २ गते जापानसँग खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि मङ्सिर ३ गते खेल्नेछन् । त्यस्तै तेस्रो स्थानको भिडन्त पनि सोही दिन हुनेछ । उक्त शृङ्खलाका सबै खेल हङ्कङ क्रिकेट क्लबको मैदानमा हुनेछ ।  नेपाली टोलीमा कप्तान इन्दु वर्मासहित उपकप्तान विन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, खुशी डङ्गोल, सोमु विष्ट, सङ्गीता राई, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, पुजा महतो, रोमा थापा, काजोल श्रेष्ठ, सम्झना खड्का र रुवि पोदार छन् ।