पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

राजविराज: सप्तरीको खडक नगरपालिकामा कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।   विवाहमा जन्तीसँगै ल्याएइको डिजे बाजा बजाउने विषयलाई लिएर भएको विवादपछि कुटपिटमा परी खडक नगरपालिका–४ पंसेराका २५ वर्षीय सन्तलाल पासवानको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।   सन्तलालका छिमेकी रामचन्द्र पासवानकी छोरीको विवाहमा दुई दिन अगाडि राति जन्ती आएको थियो ।   डिजे बाजासहित आएको जन्तीलाई विवाहस्थल पुग्नुअगाडि आफूहरुलाई डिजे बाजामा नाच्न दिनुपर्यो भन्दै गाउँका केही गैर दलित युवाले केही समय जन्तीलाई रोकेका थिए ।   वैवाहिक कार्यक्रममा ढिलाइ भएपछि सन्तलालका बाबुआमासहित बेहुली पक्षकाले जन्ती टोलीलाई विवाहस्थलतर्फ जान आग्रह गरेका थिए । जन्तीलाई रोक्न रोजेपछि विवाद बढेको स्थानीयवासीको भनाई छ ।   सो क्रममा नाच्न पुगेका युवाले बेहुली पक्षकालाई गालीगलौच सुरु गरेपछि सन्तलाल समेतले युवालाई विवाद नगर्न भनि सम्झाइबुझाइ गर्न खोजिरहेको बेला युवाको समूहले सन्तलाललाई नियन्त्रणमा लिएर टाउकोमा इँटाले निर्घात कुटेको उनको बुबा रामअषिश पासवानले बताउनुभयो बताए ।  बिहेकै दिन सोमबार आफ्ना छिमेकी महादेव दास (तत्मा)ले वडाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएको विषयलाईसमेत लिएर गैर दलित युवाले आफ्नो छोरामाथि आक्रोश पोखेको हुनसक्ने उहाँको आरोप छ । विवेक चौधरी, दिलीप चौधरी, सुशान्त चौधरी, नरसिंह चौधरी, गोविन्द चौधरी, दिनेश चौधरीलगायतले छोरालाई कुटेको उहाँको बुबाको भनाई छ ।   पासवानको विराटनगरमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । कुटपिटको घटनापछि पीडित पक्षबाट आएको ठाडो उजुरीका आधारमा एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।    यसैबीच उपचारको क्रममा सन्तलालको मृत्यु भएपछि आक्रोशित गाउँलेहरुले आज पूर्व–पश्चिम राजमार्गअन्तर्गत अमहा चौकमा तीन घण्टा चक्काजाम गरेका छन् ।

  सुर्खेत, वैशाख ८ गते । कर्णाली प्रदेशका  मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो छ महिने प्रगति विवरण बुधबार सार्वजनिक गर्नुभएको छ । कर्णाली प्रदेश सरकारले कोरोनाविरुद्धको खोपलगायत विभिन्न विकासका कामलाई उपलब्धिका रूपमा सार्वजनिक गरेकोे हो ।    कुल जनसङ्ख्याको ५४ प्रतिशतले पहिलो र दोस्रो मात्रा लगाउनुका साथै एक लाख ४० हजार १८८ जनाले बुस्टर डोज लगाएको सार्वजनिक गर्दै सरकारले १८ वर्षभन्दा माथिका लक्षित जनसङ्ख्याको ६६ प्रतिशतले कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप लगाएको जनाएको छ ।   मुख्यमन्त्री शाहीले छ महिनाको अवधिमा प्रदेशभरि ११ दशमलव ५ किलोमिटर सडक कालोपत्रे भएको बताउनुभयो । यो अवधिमा प्रदेशभर १७० किलोमिटर नयाँ सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएको र ३० किलोमिटर सडकको स्तरोन्नति गरिएको उल्लेख गर्नुभयो ।      यस्तै यस अवधिमा सातवटा सडक पुल बनेको, प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को राजस्व सङ्कलन लक्ष्यबमोजिम ६० दशमलव ७३ प्रतिशत अर्थात् ३६ करोड ४४ लाख रुपियाँ सङ्कलन भएको बताइएको छ । यस अवधिमा चालू खर्च २७ दशमलव ७० र पुँजीगत खर्च १७ दशमलव ९४ प्रतिशत गरी कुल प्रगति २१ दशमलव ८० प्रतिशत छ ।   यस्तै जनता आवास कार्यक्रमअन्तर्गत यस अवधिमा कुल ६१३ वटा आवास निर्माण सम्पन्न भएका छन् भने ९७० वटा एकाइ निर्माण कार्यमा सम्झौता भई कार्यान्वयनमा छन् । थप दुई सय घरधुरी जनता आवास कार्यक्रमअन्तर्गत र विपन्न आवास कार्यक्रममार्फत दुई सय गरेर चार सय घरधुरी विपन्न परिवारको घर निर्माणका लागि छनोट प्रक्रिया पूरा भएको मुख्यमन्त्री शाहीले जानकारी दिनुभयो ।    कर्णाली प्रदेश स्वास्थ्य सेवा ऐन–२०७८ जारी गरी नियमावली तर्जुमाको प्रक्रिया अगाडि बढाइएको, विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत र अन्य स्वास्थ्यकर्मी गरी करार सेवामा ७३ जनालाई विभिन्न अस्पतालमा पठाइएको जानकारी उहाँले दिनुभयो ।   रुकुम पश्चिम, सल्यान, डोल्पा, हुम्ला र दैलेख जिल्ला अस्पतालका भवन निर्माणले गति लिएको, प्रदेशभरका ६६ वटा सामुदायिक स्वास्थ्य एकाइ पुनःस्थापना भएर स्थानीय तहमार्फत कार्य सुचारु भएको उहाँको भनाइ छ । मुख्यमन्त्री शाहीले प्रदेश गौरवको आयोजनाका रूपमा प्रदेश रङ्गशालाको ट्र्याक र फिल्डको काम ५० प्रतिशत सम्पन्न भएको, अन्तर्राष्ट्रिय भलिबल कबर्ड हलको जग निर्माणको काम भइरहेको साथै कर्णाली प्रदेशका १० वटै जिल्लामा ८१ वटा खेल मैदान निर्माण सुरु गरिएको जानकारी दिनुभयो ।   सरकारले जनयुद्ध, जनआन्दोलन र प्रदेश प्राप्तिको आन्दोलनका शहीद परिवारलाई जीवन निर्वाह विशेष भत्ता तथा जनयुद्ध, जनआन्दोलन र प्रदेश प्राप्ति आन्दोलनका घाइते अपाङ्गता भएका व्यक्तिलाई जीवन निर्वाह भत्ताका लागि १५ करोड रुपियाँ स्थानीय तहमा पठाइएको जनाएको छ ।   मुख्यमन्त्री शाहीले कर्णालीको कृषि क्षेत्रले समेत फड्को मारेको दाबी गर्नुभएको छ । चालू आर्थिक वर्षमा कर्णालीका एक हजार २३९ हेक्टर जमिनमा सिंँचाइ सुविधा पुग्नुका साथै १० हजार २८६ जना स्वरोजगार बनेका छन् ।    दुईवटा बाख्रा स्रोत केन्द्र, दुईवटा माछा स्रोत केन्द्र, एउटा चौँरी स्रोत केन्द्र, एक/एकवटा भेडा/च्याङ्ग्रा/भैँसी/कुखुरा स्रोत केन्द्र स्थापना गरिएका छन् । चक्लाबन्दी कार्यक्रममार्फत एक हजार २०५ रोपनीमा आलु, बदाम, स्याउ, ओखर, किवी उत्पादन सुरु भएको छ । ३१० जना व्यवसायीलाई बैङ्कमार्फत ५७ करोड रुपियाँ ऋण लगानी गरिएको छ । मन्त्रालयबाट दुई करोड पाँच लाख रुपियाँ ब्याज भुक्तानी गरिएको छ । कर्णाली प्रदेशको भू–उपयोग योजना/नीतिको प्रक्रिया अगाडि बढेको छ ।    मुख्यमन्त्री महिला आयआर्जन कार्यक्रममार्फत ७९ वटा पालिकामा महिला सहकारीलाई जगेडा कोषमार्फत पुँजी परिचालन गरिएको छ । जाजरकोट र दैलेखमा मकै मिसन कार्यक्रम, मार्सी धान प्रवद्र्धन कार्यक्रम, भटमास र रैथाने बाली प्रवर्धन कार्यक्रम तथा चैते धानको क्षेत्र विस्तार कार्यक्रम लागू गरिएको छ । स्वास्थ्यतर्फ सरकारले कर्णाली प्रदेश अस्पताल, कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वस्थ्य विज्ञान प्रतिष्ठानसंँग सम्झौता गरेर द्वन्द्वपीडित घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जनाएको छ ।  प्रदेश सरकारले प्रदेशमा लगानी प्रवर्धन गर्ने उद्देश्यले दैलेखमा रारा हाइड्रोपावर कम्पनीबाट उत्पादन हुन केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोडिएपछि बढीमा पाँच करोड रुपियाँ प्रदेश सरकारबाट सेयरका रूपमा लगानीका साथै जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले कर्णाली प्रदेश सरकारलाई छुट्याएको ११ लाख ७१ हजार ५०० कित्ता सेयर स्वीकार गरी लगानी सुनिश्चित गरेको बताइएको छ ।

गलेश्वर,२९ चैत (रासस) ः नेपालकै प्रसिद्ध पर्यटकीयस्थल राउन्ड अन्नपूर्णमा पद यात्रा गर्ने पर्यटक र विभिन्न अस्पतालहरुमा उपचार गराएर रोग निको नभएका दीर्घरोगीहरुका लागि आजभोलि म्याग्दी जिल्लाका तातोपानी कुण्डहरु मनोरञ्जन र प्राकृतिक उपचारका आकर्षक स्थल बन्दै गएका छन् । पश्चिम म्याग्दीको सिङ्गा तातोपानी, उत्तरी म्याग्दीको भुरुङ तातोपानी, दर्मिजाको तातोपानी कुण्डलगायत जिल्लाका १४ ठाउँमा रहेका तातोपानी कुण्डहरुमा बाह्य र आन्तरिक पर्यटकको भीड बढ्दै गएपछि कुुण्डहरुलाई व्यवस्थित बनाइएको छ । मुख्य गरी उपचार केन्द्रको गन्तव्य बनेका यी तातोपानी कुण्डहरु पछिल्लो समय राउन्ड धौलागिरि र राउन्ड अन्नपूर्णको पदयात्रामा आउने विदेशी पर्यटकहरुका लागि गतिला मनोरञ्जन स्थल पनि बनेका स्थानीयवासीले बताएका छन् । धेरै दिनसम्म हिमाली क्षेत्रमा पद मार्गमा यात्रा गर्दा युरिक एसिड, बाथ, ढाड दुख्ने, घुँडा दुख्ने, स्किन एलर्जी, यात्रामा हुने घाउ खटिराको उपचार पर्यटकहरुले म्याग्दीमा पुगेपछि तातोपानीले गर्ने गरेका छन् । मूलबाट नै ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रम भएको पानी निस्कने प्राकृतिक तातोपानीका कुण्डहरुमा डुबेपछि चिसोबाट हुने रोग, ग्यास्टिक, सडके मर्केको रोगीहरु निको भएर फर्किने गरेका कारण यहाँ यस्ता बिरामीहरु आउने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले बताउनुभयो । त्यसैगरी उत्तरी म्याग्दीको भुरुङ तातोपानी स्वास्थ्य पर्यटन र मनोरञ्जनको हब बनेको छ । मनाङ जिल्लाको थोराङ क्रस गरेर मुक्तिनाथ, जोमसोम हुँदै म्याग्दीको भुरुङ तातोपानी आइपुग्ने बित्तिकै पर्यटकहरु तातोपानीको कुण्डमा नुहाउन थाल्दछन् । कतिपय पर्यटकहरु त थकाइ मेटाउन घण्टौँसम्म कुण्डमा डुबुल्की मारिरहन्छ । तातोपानी कुण्डमा डुबेर स्नान गरेमा बाथ, ग्यास्ट्रिक, गानोगोला, चर्मरोगदेखि लिएर प्यारालाइसिस जस्ता रोग निको हुने जनविश्वासका कारणले पनि पर्यटकहरु तातोपानीमा नुहाउँछन् । भुरुङ तातोपानी पर्यटकीयस्थलका रुपमा विकास भएको छ । भुरुङ तातोपानीबाट केही पर्यटक शिख घारको उल्लेरीको उकालो चढ्दै म्याग्दीको घोडेपानीमा रहेको पुनहिलतर्फ जान्छन् भने केही कालीगण्डकीको किनार किनारै म्याग्दीको सदरमुकाम बेनी निस्केर ढोरपाटन जाने पनि गर्दछन् । अन्नपुर्ण पदयात्रामार्गअन्तर्गत पर्ने म्याग्दीको घोडेपानीमा पर्यटकहरुको लागि आकर्षणको केन्द्र विन्दु मानिन्छ । समुन्द्री सतहदेखि तीन हजार २१० मिटरको उचाइमा अवस्थित पुनहिलबाट मनोरम प्राकृतिक छटाको दृश्यावलोकन गर्न सकिन्छ । भुरुङ तातोपानीको आसपासमा मात्रै पाँचवटा तातोपानीका मुहान छन् । स्थानीय मानिसहरुले आफूलाई पायक पर्ने मुहानमा नुहाउने गर्दछन् । तप्तकुण्डमा स्नान गर्नाले रोगबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ । भुरुङ तातोपानी कुण्डलाई वरिपरि पर्खाल लगाएर व्यवस्थित बनाइएको छ । मुक्तिनाथ जाने बाटोमा पर्ने भएकाले भुरुङ–तातोपानी तप्तकुण्डमा तीर्थाटन पर्यटकहरुले समेत नुहाउने गर्दछन् । मुस्ताङ र मुक्तिनाथ क्षेत्रको भ्रमणमा भारतका तीर्थयात्री र तेस्रो मुलुकका पर्यटकहरु पुग्ने गर्दछन् । तातोपानी कुण्डमा तीन वर्षसम्म वर्षको दुईपटक १०÷१२ दिनसम्म डुबेपछि लामो समयसम्म निको नभएका रोग पनि यहाँ डुबेपछि निको भएको बिरामीले बताएका छन् । उपचार गर्नकै लागि स्वदेश तथा विदेशका महँगा अस्पतालमा पुगेर उपचार गर्दासमेत निको नभएको रोग तातोपानी कुण्डमा डुबेर निको भएको तातोपानीमा डुबेर रोग निको भएका विरामीहरुको भनाइ रहेको छ । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि नौ किलोमिटर पश्चिममा पर्ने तातोपानी कुण्ड प्राकृतिक चिकित्सालयका रुपमा देश–विदेशमा समेत चर्चित छ । यहाँ एक हप्तादेखि १२ दिनसम्म डुबेपछि विभिन्न चर्मरोग, चोटपटक, ग्याष्ट्रिक, गानोगोलादेखि लिएर प्यारालाइसिससम्म निको भएको बिरामीले बताएका छन् । देशका विभिन्न नाम चलेका अस्पतालमा उपचार गराएर निको नभएका बिरामीसमेत पछिल्लो समय तातोपानीमा आउन थालेका कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्य बताउनुहुन्छ । लामो समयसम्म थलिएर उपचारका लागि यहाँ डुब्न आएका बिरामीले पनि तातोपानीमा डुबेपछि आफ्नो रोग निको भएको बताएका छन् । नवलपुलको गैँडाकोट नगरपालिका १२ हर्कपुरकी लक्ष्मी पौडेलले आफू ९ वर्षसम्म तातोपानीको कुण्डमा निरन्तर रूपमा डुब्न आएको बताउनुभयो । उहाँले आफ्नो ढाड र घुँडा दुख्ने समस्या रहेकामा निरन्तर रुपमा तातोपानी कुण्डमा आएर डुबेपछि निको भएको बताउनुभयो । वर्षमा एक पटक म्याग्दीको सिङ्गास्थित तातोपानी कुण्डमा डुब्यो भने एक वर्षसम्म रोग निको हुने उहाँको भनाइ छ । म्याग्दीका तातोपानी कुण्डमा दुई वर्षअघिसम्म हरेक वर्ष स्वदेश तथा विदेशबाट २० हजारको हाराहारीमा बिरामीहरु डुब्न आउने गरेका थिए । तर विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण बितेका दुई वर्ष तातोपानी कुण्डहरु सुनसान नै रहे । पछिल्लो समय कुण्डमा बिरामीलाई लक्षित गर्दै विभिन्न किसिमका भौतिक पूर्वाधारहरु विस्तार गरिएको छ । तातोपानी कुण्ड व्यवस्थापन समितिले कुण्डमा स्नान गर्नकै लागि भनेर सहज व्यवस्थापन मिलाएको छ । तातोपानीमा उपचारका लागि आउने यातायातका साधनबाट नै यहाँ आउन सक्छन् । देशका सबै ठाउँबाट बेनीसम्म यातायातका साधन आउने गर्दछन् । बेनीदेखि पनि तातोपानी कुण्डसम्म पुग्नका लागि बस, ट्याक्सी, जिप लगायतका सबै साधन पाइन्छन् । बेनीदेखि बसमा रु एक सय र ट्याक्सीमा रु २५० तिरेपछि तातोपानीमा पुग्न सकिन्छ ।

  रुकुम(पूर्व), चैत २८ गते । रुकुम(पूर्व) मा कृषि गणनाको लागि १८ गणक र पाँच सुपरिवेक्षक खटिने भएका छन् । केन्द्रीय तथ्याङ्क विभागले हरेक १०/१० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको छ । सोहीअनुसार यस वर्ष देशभरमा सातौँ कृषि गणना हुन लागेको हो । गणनामा खटिने जिल्लाका गणक रसुपरिवेक्षकको लागि तालिमको आयोजना गरिएको छ । तालिम रुकुमकोटमा जारी छ । तालिम अगामी वैशाख ३ गतेसम्म चल्ने कृषि गणना कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ । यसका लागि जिल्लामा ४९ गणना क्षेत्र तोकिएकोे कार्यालय प्रमुख शतिसकुमार चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि गणना वैशाख ६ देखि जेठ १९ गतेसम्म हुनेछ । ४५ दिनमा दुई चरणमा गणना हुनेछ । पहिलो चरणमा सूचीकरण हुनेछ भने दोस्रो चरणमा मुख्य प्रश्नावली भरिने छ । गणनामा कृषक परिवार, जग्गाको उपभोग र उपयोग, कित्ताको विवरण, सिँचित जग्गाको क्षेत्रफल, अन्नबाली, कोसेबाली, दलहन, कन्दमूल, तेलबाली, नगदेबाली, मसलाबाली, तरकारी बाली र फलफूल लगाएको जग्गाको क्षेत्रफल, तथा प्रमुख बालीको उत्पादन, बीउविजन, विषादी र मलखादको प्रयोग लगायतको विवरण सङ्कलन हुने जनाइएको छ । जातअनुसार पाल्तु पशुपक्षीको सङ्ख्या, कृषि कार्यमा प्रयोग हुने भवन र संरचनाको अवस्था, कृषि औजार, माछापालन, मौरीपालन, च्याउ खेती, पुष्प खेती, कृषिमा ऋण, बीमा, अनुदान, कामदार, महिलाको नाममा रहेको जग्गा र खाद्यान्नको प्रर्याप्तताका बारेमा पनि जानकारी सङ्कलन हुनेछ ।

म्याग्दीः गत शनिबार परेको असिना पानीका कारण म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा विद्युत् सेवा अवरुद्ध हुँदा तीन दिनदेखि गाउँ अन्धकारमय बनेको छ भने बेनी नगरपालिका–२ बगरफाँटमा मुहान र पाइपलाइनमा क्षति पुग्दा तीन दिनदेखि खानेपानीको समस्या भएको छ । दग्नाममा हावाहुरीसहितको असिना पानीले विद्युत् पोलमा क्षति प¥याएपछि तीन दिनदेखि गाउँ अन्धकारमय बनेको स्थानीय गुन पुनले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युत् पोल र लाइनमा क्षति पुगेकाले मर्मत कार्य जटिल हुँदा तीन दिनदेखि गाउँमा मोबाइल चार्ज गर्न, बत्ती बाल्न, कुटानी पिसानी गर्न र विद्यार्थीलाई नजिकिँदै गरेको एसइईलगायत विद्यालय तहका परीक्षाको तयारी गर्न समस्या उत्पन्न भएको छ । यसैगरी बेनी–२ बगरफाँटमा बाढीले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि खानेपानीको हाहाकार भएको छ । मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा बाढीले मुहान र पाइपलाइन बगाएपछि यहाँका २०८ घर परिवारलाई खानेपानीको चरम समस्या भएको हो । गाउँमा रहेका २८ धारामा पानी नआएपछि यहाँका बासिन्दा कुवा र म्याग्दी नदीको धमिलो पानी उमालेर पिउन बाध्य भएका बेनी–२ बगरफाँटका टेकबहादुर कार्कीले बताउनुभयो । सो स्थानमा २१४ घरधुरी छ । विसं २०६९ मा बेनी–३ भकिम्ली र बेनी–२ ज्यामरुककोटका सिमानामा पर्ने कोप्रे खोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ धारामा वितरण गरिएको थियो । रु ५४ लाखको लागतमा बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाले योजना सम्पन्न गरी गाउँमा खानेपानीको सुविधा उपलब्ध गराएको थियो । बगरफाँट खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर कार्कीका अनुसार पाइपलाइनको मर्मत कार्य भइरहेकोले अझै केही समय खानेपानीको समस्या हुने देखिएको छ । गाउँका पुछारमा म्याग्दी नदी र सिरानमा आप्रे, उडाइनो, मुलछहरी, कोप्रेझरनालगायत पानीका आधा दर्जन बढी स्रोत रहेका भए पनि ती पानीका स्रोतलाई व्यवस्थित गर्न नसक्दा यहाँका बासिन्दाले वर्षौँदेखि खाने पानीको समस्या झेल्दै आएका छन् ।

हावाहुरी र पानीसँगै आज दिउँसो परेको चट्याङले लागेर गौरादह नगरपालिकाकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका–५ की ४० वर्षीया मनमाया थापा रहेको प्रहरीले जनाएको छ । आज दिउँसो १ बजे घर नजिकै काम गरिरहेको अवस्थामा हावाहुरी र पानीसँगै परेको चट्याङले लागी घाइते भएकी थापालाई उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

तम्घास, चैत २७ गते । गुल्मीका महिलाहरूले गाडीमा तेल र मदिराको खोलो बगाउन नसक्ने हुँदा स्थानीय निर्वाचनमा आफूहरूले प्रमुख पदमा टिकट नपाइने चिन्ता व्यक्त गरेका छन् । स्थानीय तहमा महिला नेतृत्व सुनिश्चताका लागि तम्घासमा भएको एक अन्तक्र्रिया कार्यक्रममा सहभागीले यस्तो विचार व्यक्त गरेका हुन् । इश्मा गाउँपालिका नेपाली काँग्रेसकी उपसभापतिसमेत रहनुभएकी पार्वती कुँवरले आर्थिक अवस्था कमजोर भएका कारण महिलाहरूले टिकट पाउन र निर्वाचनमा उठ्न नसक्ने गरेको बताउनुभयो । उहाँले अहिले निर्वाचन खर्चिलो भएका कारण र महिलाहरू नेतृत्व गर्न सक्दैनन् भन्ने राजनीतिक सोचका कारण पनि महिलाहरूलाई प्रमुख पदमा उम्मेदवारी दिन वञ्चित गराउने गरेको उहाँको भनाइ छ । निर्वाचनमा गाडी कुदाउन इन्धन भर्नुपर्ने र कार्यकर्ता परिचालनमा मदिरा र मासुबिना नखटिने भएकाले आर्थिक रूपमा सम्पन्न मात्रैले टिकट पाउने गरेको उहाँको गुनासो छ । महिलाहरू नेतृत्व लिन सक्षम हुँदाहुँदै पनि आर्थिक र राजनीतिक कारणले पछाडि पर्नु परेका उदाहरणहरू उहाँले प्रस्तुत गर्नुभएको हो । महिला अधिकारकर्मी कमला बरालले पनि आर्थिक अभावका कारण मुख्य पदमा उठ्न नसकिने गरेको बताउनुभयो । घरमा रहेका कुखुराका अण्डा बेच्दा पुरुषलाई सोध्नुपर्ने हाम्रो पितृ सतात्मक सोचमा परिवर्तन नआएसम्म महिलाहरूले कहिल्यै स्थान नपाउने उहाँको भनाइ छ । नेकपा एमालेकी नेत्री सञ्जीवनी अर्यालले अनुभवबाट खारिएका र हाल उपप्रमुख वा उपाध्यक्षहरूलाई प्रमुख पदको जिम्मेवारी दिन राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ । अनुभवबाट खारिएकालाई नेतृत्व दिँदा सहज हुने र कार्यसम्पादनमा समेत उपलब्धि हासिल गर्न कुनै समस्या नरहने उहाँको तर्क छ । यस्तै नेपाली काँग्रेसकी नेत्री कल्पना पन्थीले महिलालाई नेतृत्वबाट वञ्चित गराउने गरेको भन्दै यो त्यो बहानामा पन्छाउने काम नगर्न राजनीतिक दललाई आग्रह गर्नुभयो । नेकपा माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जीसीले माओवादीले नै ल्याएको व्यवस्थामा आफ्नै पार्टीमा महिलाहरू अन्यायमा नपर्ने बताउनुभएको छ । नेपाली काँग्रेसका जिल्ला सहसचिव धर्म पाण्डेले योग्यता र क्षमताका आधारमा नेतृत्व दिइने बताउनुभएको छ । नेकपा एमालेका जिल्ला सचिव गणेश श्रीपालीले महिलाहरूले स्थानीय तहको निर्वाचनमा नेतृत्व लिनका लागि दलहरूलाई नै दबाब दिन आवश्यक रहेको बताउनुभयो । गुल्मीमा नेकपा एमालेका दुई नगरपालिकासहित आठ स्थानमा उपप्रमुखहरू महिला छन् भने कालीगण्डकी गाउँपालिकामा जनमोर्चाको उपाध्यक्ष हुनुहुन्छ । गुल्मी दरबार गाउँपालिकामा नेपाली काँग्रेसकी उपाध्यक्ष हुनुहुन्छ । धुर्कोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको गठबन्धनबाट पुरुष उपाध्यक्ष शिवबहादुर खत्री उपाध्यक्ष हुनुहुन्छ । गुल्मीमा दुई नगरपालिका र १० गाउँपालिकासहित १२ स्थानीय तह छन् । 

प्युठान, चैत २७ गते । चैते दशैँ मनाएर ससुरालीबाट फर्किएका एक पुरुष मृत फेला परेका छन् । ससुराली गौमुखी गाउँपालिका–५ खुङबाट आफ्नो घर गौमुखी गाउँपालिका–७ नारिकोट फर्किँदै गरेका ४५ वर्षीय धनबहादुर रोका बाटोमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । रोका ढ्वाटेखोला नजिकै बाटोदेखि अन्दाजी १० मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार साँझ श्रीमतीसँगै फर्किएका रोका श्रीमतीको पछिपछि हुनुहुन्थ्यो । श्रीमती घर पुग्दासमेत धेरैबेर नआएपछि खोज्ने क्रममा मृत फेला परेको उहाँले जानकारी दिनुभयो । शनिबार राति साढे १२ बजे मृत अवस्थामा भेटिएको र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक गैरेले बताउनुभयो ।

चोकचौराहाका भट्टीपसल, चिया पसललगायत सार्वजनिक ठाउँमा खुलमखुला चुरोट पिउने मानिस देख्दा ललितपुरकाका गोविन्द अधिकारीलाई चुरोट खान मन लाग्यो । भट्टी पसलमा मादक पदार्थ खाने र होहल्ला गर्दै हिँड्नेहरुबाटै उहाँले यो सेवन सिक्नुभयो । तर अहिले लत छोडेका अधिकारी समाज सुधारको बाटोमा लाग्नुभएको छ । झण्डै १५ वर्षसम्म लागू पदार्थमा लिप्त रहेका अधिकारी अहिले व्यवसायसँगै दुव्र्यसनीलाई पुनःजीवनको सन्देश दिन सक्रिय हुनुहुन्छ । विसं २०३८ मा जन्मिनुभएका अधिकारीले कक्षा ७ पढ्दादेखि नै चुरोट पिउन थाल्नुभयो । खराब लतका कारण अभिभावकले घरभन्दा टाढा चितवनमा ल्याएर आवासमा राखेर निजी स्कूलमा पढाउन थाल्नुभयो । उहाँको बानीमा सुधार आएन । झनै उहाँमा लागूऔषध दुव्र्यसनीको लत बढ्दै गयो । बिदाका समयमा घर जाँदा काठमाडौँबाटै लागूऔषध बोकेर आउने र यहाँ आफू र साथीहरुलाई पनि खान प्रेरित गर्ने काममा उहाँको ध्यान जान थाल्यो । उहाँले चुरोटसँगै मदिरा, गाँजा, चरेस र ड्रग्स प्रयोग गर्न थाल्नुभयो । अधिकारीले विगत सम्झँदै भन्नुभयो, “त्यतिबेलै मलाई मात्र नभएर अरुलाई पनि यो लतमा फसाएका थिए ।” प्रवेशिका परीक्षामा राम्रै अङ्क ल्याएर उत्तीर्ण हुनुभएका उहाँ १२ कक्षा पढ्दै गर्दा पूर्णरुपमा नशामा डुब्नुभयो । त्यसपछिका उहाँका दिन कहालीलाग्दा भए । पढाई मात्रै रोकिएन, घरपरिवारले उहाँलाई धान्नसक्ने अवस्था रहेन । उहाँले भन्नुभयो, “मेरा घरका दराजका ढोका सबै बाङ्गिएका थिए, मैले नै हानेर त्यस्तो भएको हो ।” लागू पदार्थ प्रयोगका लागि जसरी पनि पैसा जुटाउनैपर्ने भएपछि उहाँले चोरी, डकैती, लुटपाट केही छाड्नुभएन । उहाँले भन्नुभयो, “भारतको पञ्जाबमा दैनिक रु ८० कमाउँथे, रु ७० को लागू पदार्थ खान्थेँ, रु १० को रोटी खान्थेँ ।” भारतको तीन वर्षको बसाइँपछि नेपाल फर्किनुभएका उहाँले घरमा आउँदा परिवारले जीउँदै रहेको भन्ने आश मारेर बसेको बताउनुभयो । घर फर्किएपछि परिवारले उहाँको थप निगरानी राख्यो । बुबाले भनेको स्मरण गर्दै उहाँले भन्नुभयो, “कहीँ नहिँड्नु बरु तैले खाने सबै मैले नै ल्याइदिन्छु”, भन्नुभयो । त्यसपछि अटोमोबाइलको व्यवसाय गर्नुहुने बुवासँगै उहाँ पनि काममा लाग्नुभयो । लत भने छुट्न सकेन । त्यसैबेला उहाँका परिवारले पुनःस्थापना केन्द्र लग्नुभयो । एक महिना निकै कठिन समय पार गरेपछि क्रमशःउहाँमा सुधार हुँदै गयो । तीन महिनाको बसाईंपछि उहाँ पूर्णरुपमा लागू पदार्थ सेवनबाट मुक्त हुनुभयो । पन्ध्र वर्षको लागूऔषध दुव्र्यसनको कहालीलाग्दो जीवनबाट उहाँमा नयाँ जीवन पलायो । यससँगै विवाह बन्धनमा बाँधिएर दुई सन्तानका बाबु बन्नुभएका अधिकारी जहाँ आफू सुध्रनुभयो त्यही केन्द्रमा लगानी गरेर बाह्य सहयोगी बनिरहनुभएको छ । अहिले पनि सडकमा देखिने बालबालिकादेखि लागुऔषधमा लिप्त भएकाहरुलाई सुधारका लागि उहाँ समय खर्चिने गर्नुहुन्छ । विगत तीन वर्षदेखि पोखरामा गाडीको ग्यारेज सञ्चालन गर्दै आउनुभएका अधिकारी लागूऔषध भावनात्मक रोग भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “लागू पदार्थबिनाको जीवन सुन्दर हुन्छ । यो रोग हो, निवारणका लागि अपहेलना गर्नुहुँदैन, उपचार राम्रो गर्नुपर्छ । कुटेर पिटेर समाधान हुँदैन ।” जीवनको सुनौलो १५ वर्ष समय वर्वाद भएकामा पछुताउँदै उहाँले भन्नुभयो, “समयमा सही र गलत छुट्याउन नसक्दा जीवनको ऊर्जासित समय यसै खेर गयो ।” लागुऔषध दुव्र्यसनको उपचार गरेमा निको पार्न सकिने बताउँदै उहाँले भन्नुभयो, “दुव्र्यसन रोग हो, यसको सही उपचार गरे निको हुन्छ ।” आफू बाल्यकालदेखि नै यो लतमा फसेको भन्दै उहाँले भन्नुभयो, “मैले बच्चामा यो खराब हो भन्ने थाहा पाएको भए, मेरो अवस्था यो हुने थिएन, बाल मनोविज्ञानमा सकारात्मक परिवर्तन ल्याउन कक्षा सञ्चालन गर्नुपर्छ ।” समाजमा जुन वातावरण छ, त्यसले कुलतमा जानेलाई प्रश्रय गरेको भन्दै उहाँले परिवारसँगै सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । लागू पदार्थ छोडेको १५ वर्षको अवधिमा उहाँले परिवार चलाउन सक्नेगरी व्यवसाय चलाउनुभएको छ भने कुलतमा फसेकालाई सुधार गर्न प्रेरणा दिनुभएको छ । रासस