नुवाकोट, वैशाख २० गते । स्थानीय तह सदस्य निर्वाचनमा विदुर नगरपालिका–८ मा एकै परिवारका तीन सदस्यबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतिस्पर्धीहरू एकै आमाबुवाका तीन सन्तान हुन् भने उनीहरूले प्रतिनिधित्व गर्ने पार्टी भने फरकफरक रहेको छ । वडामा प्रतिस्पर्धा गर्न लागेका सहोदर दाजु, भाइ र बहिनीमा नेकपा एमालेका तर्फबाट खुला सदस्यमा सम्मरबहादुर रिमाल, गठबन्धनका तर्फबाट नेपाली काँग्रेसबाट महिला सदस्यमा देवकुमारी खड्का र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुला सदस्यमा ईश्वरबहादुर रिमाल हुनुहुन्छ । आमाबुवाका पाँच सन्तानमध्ये सम्मर जेठा र ईश्वर माइला हुनहुहुन्छ भने विवाहित देवकुमारी एक्ली छोरी हुनुहुन्छ । एकै परिवारका फरकफरक पार्टीबाट चुनावमा वडामै मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । दुई निर्वाचन केन्द्र रहेको विदुर नगरपालिका–८ मा तीन हजार ३३८ मतदाता रहेका छन् । गाेरखापत्रबाट साभार
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन धार्मिक एवं सांस्कृतिक चाडपर्वले महत्वपूर्ण योगदान दिएको बताएका छन् । मुस्लिम समुदायको पर्व ईद (इदुल फित्र) का उपलक्ष्यमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले यो पर्वले विविध धर्म, संस्कृति मान्ने सबै नेपालीबीच भातृत्व, प्रेम र एकताको भावना बढाइ समुन्नत, शान्त र समृद्ध मुलुक बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् । बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त विशेषता भएको हाम्रो मुलुक संविधानतः धर्म निरपेक्ष राज्य भए पनि धार्मिक सहिष्णुता अनुकरणीय रहेको मुख्यमन्त्रीले उल्लेख गरेका छन् । अरबी पात्रो हिजरी संवतअनुसार दसौं महिना (सौवाल) को पहिलो दिन मुसलमान समुदायले नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउने चलन छ । १ महिना (रमजान) भर बिहान सूर्योदयअघि र बेलुकी सूर्यास्तपछि मात्र भोजन ग्रहण गर्ने यो पर्वको आफ्नै विशेषता छ । आफूभन्दा कमजोर आर्थिक अवस्था भएकालाई दान गर्नु यो पर्वको मुख्य विशेषता हो ।
पोखरा: आगामी ३० गते हुने स्थानीय निर्वाचनमा पोखरा महानगरपालिका ३३ मा सत्ता गठबन्धनका उम्मेदावरले जितिसकेको दाबी गरेका छन् । पोखरा महानगर प्रमुख पदका एकीकृत समाजवादी उम्मेदवार धनराज आचार्य र उपमेयरकी कांग्रेस उम्मेदवार कोपिला रानाभाटले भरतपोखरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन् । प्रमुख पदका उम्मेदवारको गृह वडा रहेको बताउदै उनले प्राविधिक हिसाबले मात्र मत परिणामसम्म पर्खिनुपरेको तर्क गरे । उनले आफ्नो राजनीतिक यात्रा सोही वडाबाट सुरु भएको बताउँदै धेरै पटक सूर्य चिन्हमा मतदान मागेको स्मरण गरे । उनले पार्टीमा दुर्घटना भएकाले मुलुक बचाउन गठबन्धन गर्न बाध्य भएको धारणा राखे । देशको सार्वभौमसत्ता जोगाउनका लागि हुँदा खादाको पार्टीलाई छाडेर नयाँ पार्टीको स्थापना गर्नुपरेको उल्लेख गरे । पोखरा ३३ मा औद्योगिक क्षेत्र बनाउने सोच बनाएपनि स्थानीयको सरसल्लाह विना केही गर्न नसकिने तर्क राखे । आचार्यले अव्यवस्थित बस्तीलाई व्यवस्थित बनाउन महानगरमा आफ्नै व्यक्ति आउँदा फाइदा हुने बताए । ५ वर्ष कुनै गुनासो नहुने गरी काम गर्ने र वडालाई नमुना बनाउने उनले प्रतिवद्धता गरे । यसैगरी उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले लोकतन्त्रको अस्तित्व जोगाउनका लागि गठबन्धन गरिएको बताइन् । पोखारा ३३ मा गठबन्धनले जितिसकेको उनको भनाइ थियो । यो महानगरको दुर्गम क्षेत्र रहेको बताउँदै उनले निर्वाचित भए सबल शिक्षा, पूर्वाधार विकासमा ध्यान दिने उल्लेख गरिन् । पोखरा ३३ का वडाध्यक्ष पदका उम्मेदवार रामचन्द्र अधिकारीले कानुन जोगाउनका लागि गठबन्धन गरिएको बताए । उनले हिजो एमालेको सरकारले पोखरा ३३ को विकासमा कुठराघात गरेको उनको आरोप छ । अधिकारीले एमालेले पैसा खर्च गरेर मत किन्ने दुस्साहस गरेको दाबी गरे ।
पोखरा: नेपाली काग्रेस पोखरा १२ ले घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । घरदैलो कार्यक्रममा मतदाताहरूलाई पोखरा १२का वडा अध्यक्षका उम्मेदवार सन्तोष बास्तोलाले आफु वडा अध्यक्षमा निर्वाचित भएमा वडाका अधुरा कामलाई प्राथमिकता दिदै सम्पन्न गर्नेका लागि आफू निरन्तर लागि रहने बताउदै मतदाताहरूलाई गरिएका बाचाहरू पुरा गर्ने बताए । पोखरा १२ को पुरानो धारादेखि पिपलडाली,सिटिभिटि, सफा मार्ग लगाएतका ठाँउमा गरिएको घरदैलो कार्यक्रममा नेपाली कांग्रेसकी नेत्री सरस्वती गुरूङ कांग्रेस क्षेत्र न १ ख का सभापति कृष्ण कोइराला लगाएत वडा सदस्यका उम्मेदवारहरू शान्ता बहादुर थापा,गोविन्द प्रसाद सिग्देल, शान्ति कोइराला, गोमादेवि परियारले मतदाता समक्ष लोकतन्त्को रक्षाको लागी पनि कांग्रेस उम्मेदवारलाई बिजयी बनाउन आग्रह गरेका थिए । नेपाली कांग्रेसले घरदैलो कार्यक्रमलाई तिव्रता दिए सगै पछिल्लो दिनहरूमा पोखरा १२ मा नेपाली कांग्रेसका उम्मेदवार प्रति मतदाताहरू निकै आर्कषित भएका थिए ।
पोखरा: नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र) ले आफूले पक्षपातरहित विकास गर्ने प्रतिबद्धता जनाएका छन् । मादी ८ मा आइतबार चुनावी सभामा बोल्दै उनले विपक्षी पार्टीले पक्षपाती विकास गर्ने हल्ला फैलाएको तर आफूले त्यस्तो नगर्ने स्पष्ट पारे । ‘प्रतिपक्षी दलका साथीहरुले मादीको माथिल्लो बेल्टमा गएर महेन्द्र तल्लो बेल्टको मान्छे हो र त्यसलाई भोट दिए विकास तल्लो बेल्टमा गर्छ भनेछन्,’ उनले भने, ‘हामी कुनै वडा केन्द्रीत होइन, १२ वटै वडालाई समान विकास गर्ने गरी अघि बढ्छौँ । सबै वडा बराबर हुन्, हाम्रो आफ्नै हुन् ।’ उनले २०७४ सालमा निर्वाचित पालिका नेतृत्वले गर्न नपाएका काम आफ्नो नेतृत्वले पुरा गर्ने बताए । उनले मत दिनेहरुलाई पछुतो नहुने गरी काम गरेर देखाउने अध्यक्ष उम्मेद्वार गुरुङले प्रतिबद्धता जनाए । उनले आफूले जितेमा युवालाई उद्यमी बनाउने योजना ल्याउने बताए । ‘हाम्रो पार्टीले युवालाई उद्यमशीलतातिर जोड्न चाहन्छ । रोजगारी नपाएका गाउँका दाजुभाइलाई उद्यमी बनाउने योजना ल्याउँछौँ । वृद्धवृद्धा, बालबालिका, एकल महिला, उत्पीडित समुदाय हाम्रा प्राथमिकता हुन्छन्,’ उनले भने । कास्कीको मादी गाउँपालिकामा १२ वटा वडा छन् । अध्यक्ष उम्मेद्वार महेन्द्रको घर मादी १० मा पर्छ । यसैगरी उपाध्यक्ष उम्मेद्वार कल्पना गुरुङले महिला हिंसाविरुद्ध अभियान चलाउने सुनाईन् । चुनाव जितेमा पाँच वर्षसम्म जनताका समस्या सुनेर समाधान गर्ने उपाध्यक्ष उम्मेद्वार गुरुङले बताईन् । ‘आमा सक्षम नभएसम्म कुनै घर सक्षम हुँदैन । घरेलु र शारीरिक हिंसामा धेरै महिला पर्नुभएको छ । यो समस्या समाधान गर्न प्राथमिकता दिन्छु,’ उनले भनिन् । एमाले मादीले आइतबार मादी ८ को पोसी, पर्गी, रबैडाँडा, नागिधार, पाखुरीबोटलगायत ठाउँमा घरदैलो गरेको थियो । एमालेबाट गाउँपालिका अध्यक्ष–उपाध्यक्ष रहेका महेन्द्र र कल्पनाले मादी ३, ४, ९ का मतदातालाई भेटिसकेको छन् । सोमबार मादी १२ मा घरदैलो कार्यक्रम र चुनावी सभा गर्ने तयारी छ ।
पोखरा: आगामी ३० गते हुने स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले कास्कीमा आफ्नो चुनावी प्रचार अभियानलाई तिव्र बनाएको छ । पोखरा महानगरपालिका तथा गाउँपालिकाका कतिपय वडामा एकल तथा कतिपयमा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएको माओवादीले निर्वाचन प्रचार अभियानलाई व्यापक बनाएको हो । चुनावी अभियानको क्रममा माओवादी केन्द्रका उम्मेदवारहरुले माओवादीकै नेतृत्वमा एकात्मक शासन व्यवस्था अन्त्य भएर अहिलेको संघीयता र स्थानीय तयको निर्माण भएकाले जसको नीति यसकै नेतृत्व हुनुपर्नेमा जोड दिएका छन् । माओवादीको नेतृत्वमा व्यवस्था परिर्वत भएकाले आम नागरिकको अवस्थामा परिर्वतन गरेर समृद्धिका लागि माओवादीलाई भोट दिएर विजयी गराउन आग्रह गरेका हुन् । माओवादी केन्द्रले पोखराका आधाभन्दा बढी वडामा प्यानल सहित एकल उम्मेदवारी दिएको छ । त्यसैगरी मादी, अन्नपूर्ण, रुपा र माछापुच्छ«ेका अधिकांश वडामा पनि माओवादी एक्लै चुनावी प्रतिस्पर्धामा छ । घरदैलो कार्यक्रमको अवसरमा माओवादी केन्द्रबाट पोखरा महानगरपालिका वडा नं १ को अध्यक्षका प्रत्यासी भानुभक्त अधिकारीले नीति र योजना बोकेको नेतृत्व भएमात्र स्थानीय तहले राम्रोसँग काम गर्न सक्ने धारणा राखे । माओवादीले जित्दा मात्र बृहत्तर पोखराको हित र जनताले सहज सेवा र सुविधा प्राप्त गर्ने उनले बताए । ‘माओवादीको नेतृत्वमा जुन परिर्वत अहिले देशमा भयो, अव यसलाई समृद्ध बनाएर जनताको अवस्था बदल्न पनि माओवादीकै नेतृत्व चाहिन्छ ’ उनले भने । उम्मेदवार सहितको घरदैलो सुरु नेकपा(माओवादी केन्द्र)ले एकल उम्मेदवारी दिएको पोखरा–११ मा घरदैलो सुरु गरेको छ । वडाका फूलवारी क्षेत्रका कोलपाटन, सफामार्ग लगायतका क्षेत्रमा घरदैलो गर्दै माओवादीका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेका छन् । सो वडामा माओवादीले एकल उम्मेदवारी दिएको छ । वडाध्यक्षमा चिन्तामणि खरेल र वडा सदस्यहरुमा विष्णुप्रसाद आचार्य, सुनिल लामिछाने, सरिता विक, उषा विश्वकर्मालाई उम्मेदवार छन् । यसैगरी पोखरा–१७ मा उम्मेदवार परिचय कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन कार्यालयले शनिबार उम्मेदवारलाई औपचारिक रुपमा चुनाव चिन्ह प्रदान गरेपछि माओवादी केन्द्रका उम्मेदवारहरुले चुनावी प्रचार प्रसार तथा परिचय कार्यक्रम सुरु गरेका हुन् । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङले परिर्वतन र प्राप्त उपलव्धीको रक्षाका लागि माओवादीका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । पार्टीका प्रदेश कमिटीका सदस्य एवं राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष गंगाप्रसाद पोखरेलले भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीका समस्या समाधान गरि छाडिने प्रतिवद्धता जनाए । सो वडामा माओवादीले ओमबहादुर पौडेललाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । यसैगरी सदस्यहरुमा उर्मिला कार्की, सुमित्रा दर्जी, शालिकराम देवकोटा र भुवानी प्रसाद भट्राई उम्मेदवार छन् । माओवादीले पोखराको वडा नं ९ मा पनि चुनावी प्रचार सुरु गरेको छ । वडाका विभिन्न टोलमा घरदैलो गर्दै माओवादीलाई विजयी गराउन जनतासँग आग्रह गरिएको वडाध्यक्षका उम्मेदबार बमबहादुर कार्कीले बताए । उनले भने,“अन्य दलले पटक पटक अवसर पाउँदा पनि पोखराको मुटुमा रहेको वडामा खासै परिर्वतन गरेनन् । त्यसैले यसपटक माओवादीलाई अवसर दिन आग्रह गर्दैै घरदैलो गरिरहेका छौँ ।” पोखरा–१८ मा पूर्व जनप्रतिनिधि र काँग्रेस नेता माओवादीमा प्रवेश पोखरा महानगरपालिका –१८ हरे डाडाँमा ४९ सालका स्थानिय जनप्रतिनिधि र काँग्रेसका वडा इकाइ समितिका अध्यक्ष माओवादीमा प्रवेश गरेका छन् । विसं २०४९ का जनप्रतिनीधी लक्ष्मी नेपाली माओवादीमा प्रवेश गर्दै माओवादीले मात्र दलित र उत्पीडित समुदायलाई न्याय दिने बताइन् । पोखरा १८ देउराली पाटनमा विकास निर्मार्णको काम नभएको गुनासो गदै उनले यस भन्दा अघिका वडा सरकारले जनताको लागि काम नगरेको बताइन । नेपाली काँग्रेस जनमैत्री टोल इकाइ सभापत गणेश तिमिल्सिना पनि माओवादीमा प्रवेश गर्दै आफु भ्रमबस अन्य पार्टीमा लागेको पश्चाताप गरे । आगामी दिनमा माओवादीमानै रहने भन्दै वडामा रहेका माओवादीका उम्मेदवारलाई विजयी गराउन वडावासीलाई आग्रह गरे । माओवादी केन्द्रकाबाट वडाध्यक्षका उम्मेदवार राजु शर्मा तिमिल्सिनाले जनताको जीवनस्तर र अहिलेको अवस्था बदल्न माओवादीले जित्नैपर्ने बताउनुभयो । उहाँले पोखरा १८ को विकासको लागि माओवादी केन्द्रको विकल्प नरहेको बताउँदै माओवादी पार्टी मात्र नभइ जनताको साथी रहेको धारणा राखे । माओवादी सत्तामा जान भन्दा अघि दलितहरु हेपिनु परेको उनले सुनाए । पोखरा १८ माओवादी केन्द्र प्रचार प्रसार संयोजक टिकाराम तिमिल्सिनाले १५ जना माओवादीमा प्रवेश गरेको जानकारी दिए । पोखरा १८ का रामचन्द्र नेपाली, अमर नेपाली, शंकर नेपाली लगायत माओवादी प्रवेश गरेका हु्न । पोखरा १८ मा माओवादी केन्द्रबाट अध्यक्षमा तिमिल्सिना, खुल्ला सदस्यमा हुमबिर पुन र उमनाथ तिमिल्सिना, महिला सदस्यमा दुर्गा अधिकारी र दलित महिला सदस्यमा सहारा नेपालीले उम्मेदवारी दिएका छन् । चुनावी प्रचार अन्तर्गत आइतबार ज्यारजतीबाट सुरु भएको घरदैलो गोठादी, सिलङ्गाको बोट, शिव भङ्जाङ, वडा कार्यालय हरेडाडाँ, ढकालथर, पदेली हुँदै सौदाको चौतारमा पुगेर सभामा परिणत भएको थियो ।
पोखरा: जेष्ठ नागरिक मिलन केन्द रामबजार पोखरा १० ले नेकपा एमाले पोखरा १० का उमेदवारहरु संग परिचयात्मक कार्यक्रम गरेको छ । नेकपा एमाले पोखरा १० का अध्यक्ष सहितका उमेदवारहरुले जेष्ठ नागरिकहरुबाट आशिर्वाद ग्रहण गरी परिचयात्मक कार्यक्रम सम्पन्न गरेको हो । सो अवसरमा बोल्दै वडा नम्बर १० का वरिष्ठ शिक्षाविद, खेलप्रेमी एवं समाजसेवी महेश गुरुङले नेकपा एमालेले वृद्धवृद्धाहरुलाई साथ दिने पार्टी भएको बताए । एमालेको सरकारकै पालामा बृद्धवृद्धाहरुलाई भत्ता दिन सुरु गरेकाले अहिले वृद्ध अवस्थाका आमा बुवाहरुले मासिक रुपमा वृद्धाभत्ता पाइरहेको उनको भनाइ रहेको थियो । जेष्ठ नागरिक मिलन केन्द रामबजार पोखरा १० का अध्यक्ष क्याप्टेन थमनसिंह थापा मगरले समाजसेवी पवित्रादेवी गुरुङलाई विजयी गराउन सबैले आ–आफ्नो ठाउँबाट पहल गर्न आग्रह गरे । पवित्रा गुरुङ आफैमा समाजसेवी र महिला मैत्री रहेकाले वडाको विकास गर्न सक्षम रहेको बताएका थिए । यसैगरि नेकपा एमाले पोखरा १० का वडा अध्यक्ष पदका उमेदवार पवित्रा देवी गुरुङले आफुले चुनाव जितेर जेष्ठ नागरिकमैत्री वडा बनाउने बताईन । अहिले जेष्ठ नागरिकहरुले वृद्धा भत्ता लिनका लागि बैंकमा धाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै त्यसलाई हटाएर अब वडाले घरघरमा वृद्धाभत्ता पु¥याउने प्रतिवद्धता जनाईन । सो अवसरमा प्रदेश कमिटी सदस्य हिमालय बख्रेल लगायतले आ आफ्नो धारणा राखेका थिए भने राम बजार माछापुच्छ«े महिला समुहका अध्यक्ष माया गुरुङ भुजेल, राम मन्दिर सञ्चालक समितिका अध्यक्ष जीवन श्रेष्ठ, दौतरी गु्रपका संयोजक मनोज गुरुङ लगायतले उमेदवारहरुलाई जितको लागि शुभकामना दिएका थिए । घरदैलो अभियान तिव्र यसैबिच नेकपा एमाले पोखरा १० ले घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । वडा नम्बर १० लाई एमालेको लालकिल्ला बनाउने उद्देश्य सहित घरदैलो कार्यक्रमलाई तीब्र पारिएको पोखरा १० वडा कमिटीका संयोजक तथा निर्वाचन परिचालन कमिटीका संयोजक सूर्य बहादुर बाँनियाले जानकारी दिए । उनका अनुसार आइतबार नेकपा एमाले पोखरा १० को घरदैलो कार्यक्रम अन्तर्गत शान्तिपथ, शान्तिपथ लेन १, २, ३, प्यारामाउण्ट स्कुल एरिया, मेट्रोपोलिटन स्कुल एरिया, हस्पिटल मार्ग हुदै हस्पिटल चोक पश्चिम, मेडिकल लाइन क्षेत्रमा मतदाता कार्यक्रम सम्पन्न गरेको थियो ।
काठमाडौं, बैशाख १७ गते । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उहाँले सुनाउनुभयो । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ । दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतमले बताउनुभयो । यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ । विगत दुई वर्ष कोरोनाको सङ्क्रमण तीव्र रूपमा फैलिएकाले मातातीर्थमा दिवङ्गत माताको सम्मानमा लाग्ने गरेको मेला स्थगित गरिएको थियो । यस वर्ष भने कोरोना धेर कम भएकाले मेला लाग्ने नगरपालिकाले जनाएको छ ।
तनहुँः आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा मतपत्र आइपुगेको छ । नेपाली सेनाको सुरक्षामा तनहुँमा बिहीबार मतपत्र ल्याइएको हो । तनहुँमा ५३८ पेटी मतपत्र आइपुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार जिल्लाका लागि दुई लाख ६९ हजार थान मतपत्र आइपुगेको हो । ‘निर्वाचनलाई आवश्यक ६१ प्रकारका सामग्री आइपुगेको छ’, ढकालले भने, ‘निर्वाचनलाई चाहिने रबरम्याट, स्ट्यामप्याड, स्वस्तिक छाप, लाहाछाप, मार्कर पेन, स्यानिटाइजर, कैची, कर्मचारी परिचयपत्र, स्वयंसेवक परिचयपत्र लगायत सामग्री कार्यालय आइपुगिसकेको छ ।’ तनहुँमा कुल १३६ मतदानस्थल र २९७ मतदान केन्द्र निर्धारण गरिएको छ । ढकालका अनुुसार निर्वाचनका लागि २९७ मतदान अधिकृत, २९७ सहायक मतदान अधिकृत, ५९४ सहायक, २९७ सहयोगी परिचालन हुनेछ । यसका साथै मतदान केन्द्रमा ८९१ कर्मचारी नियुक्त गरिनेछ । तनहुँका दुई लाख ४४ हजार ३४० मतदाताले मतदान गर्दैछन् । गत स्थानीय तह निर्वाचनभन्दा यसपटक ४९ हजार आठ सय ६९ मतदाता थपिएका छन् । कुन पालिकामा कति मतदाता ? विसं २०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार चार सय ७१ मतदाता थिए । आँबुखैरेनीमा ६ हजार ६४२ पुरुष र ६ हजार ९८९ गरी १३ हजार ६ सय ३१, ऋषिङ गाउँपालिकामा आठ हजार ९५१ पुरुष र नौ हजार दुई सय ८७ महिला गरी १८ हजार दुई सय ३८, घिरिङ गाउँपालिकामा सात हजार एक सय १७ पुरुष र सात हजार पाँच सय ५९ महिला गरी १४ हजार ६ सय ७६, देवघाट गाउँपालिकामा ६ हजार तीन सय ७५ पुरुष र ६ हजार चार सय ४० महिला गरी १२ हजार आठ सय १५ मतदाता कायम भएका छन् । यस्तै बन्दीपुर गाउँपालिकामा सात हजार पाँच सय ६४ पुरुष र आठ हजार ७४ महिला गरी १५ हजार ६ सय ३८, भानु नगरपालिकामा १९ हजार पाँच सय ४४ पुरुष र २० हजार नौ सय ५२ महिला गरी ४० हजार चार सय ९६, भिमाद नगरपालिकामा ११ हजार आठ सय ९९ पुरुष र १२ हजार नौ सय ८५ महिला गरी २४ हजार आठ सय ८४, म्याग्दे गाउँपालिकामा आठ हजार पाँच सय ७९ पुरुष र नौ हजार पाँच सय २६ महिला गरी १८ हजार एक सय पाँच, व्यास नगरपािलकामा २२ हजार चार सय १३ पुरुष र २५ हजार एक सय २९ महिला गरी ४७ हजार पाँच सय ४२, शुक्लागण्डकी नगरपालिकामा १८ हजार ५० पुष र २० हजार दुई सय ६५ महिला गरी ३८ हजार ३१५ मतदाता रहेका छन् ।