पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

  रुपन्देही:    रुपन्देहीको भलवारीस्थित नेपाल आयल निगमको डिपो अगाडि राखिएका दुई वटा ट्यांकरमा आगलागी भएको छ ।   शुक्रबार बिहान ११ बजेतिर लु २ ख २६५६ र लु २ ख ५६८७ नम्बरको ट्यांकरमा आगलागी भएको हो ।   डिपोमा ट्याकंरबाट तेल खन्याएपछि अचानक आगलागी भएको बताइएको छ ।    अहिले भने सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयाल निगमको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । तस्वीरः झम गुरुङ

काठमाडौं:  राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा महावीर पुनलाई पोर्चुगलमा सम्मान गरिएको छ ।   युरोप भ्रमणमा रहनुभएका डा पुनलाई म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) पोर्चुगलले राजधानी लिस्बनमा एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । डा पुनले खोज, अनुसन्धान, आविष्कार र प्रविधिको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सङ्घले सम्मान गरेको हो ।   सो अवसरमा डा पुनसँग अन्तक्र्रियासमेत गरिएको थियो । कार्यक्रममा डा पुनले आफूले गरेको काम, भावी योजना र राष्ट्रिय आविष्कार केन्द्रले गरेका गतिविधिका विषयमा प्रस्तुति दिनुभएको थियो । केन्द्रले ड्रोन, कृषिसम्बन्धी सामग्री, शिक्षा, स्वास्थ्य सामग्री, खाद्यान्न, पेय पदार्थ, रोबोटलगायतका विभिन्न नयाँ–नयाँ अनुसन्धान र आविष्कारको काम गरिरहेको सो अवसरमा उहाँले जानकारी गराउनुभएको थियो ।   नेपाली युवालाई विदेशिनबाट रोक्नका लागि स्वदेशमै रोजगारीको सिर्जना गर्नुपर्ने धारणा राख्दै डा पु्नले रोजगारी सिर्जनाका लागि देश समृद्ध हुनुपर्ने बताउनुभयो । राज्यले दक्ष मानव पूँजीको पहिचान र सही प्रयोग गर्न नसक्दा देशको विकास हुन नसकेको पुनको भनाइ थियो ।   दक्ष मानव पूँजीको उत्पादनका लागि आफू लागिपरेको उल्लेख गर्दै डा पुनले नयाँ–नयां खोज, अनुसन्धान, आविष्कार, प्रविधि र उद्यमशीलताको क्षेत्रमा लाग्नेलाई केन्द्रले प्रोत्साहन गरिरहेको बताउनुभयो । डा पुन पोर्चुगलमा आयोजित कार्यक्रममा सहभागी भई बुधबार बेलायततर्फ प्रस्थान गर्नुभएको छ ।   यसअघि डा पुन बेलायत, डेनमार्क, स्वीडेन, फिनल्याण्ड, जर्मनी, स्वीजरल्याण्ड, फ्रान्स, लग्जेम्वर्ग, बेल्जियम, नर्वे, पोल्याण्ड, इटाली, स्पेनलगायतका देशमा नेपाली समुदाय तथा त्यहाँका विश्वविद्यालय र अनुसन्धान केन्द्रमा अध्ययन, अनुसन्धान, अवलोकन तथा अन्तक्र्रिया कार्यक्रममा सहभागी हुनुभएको थियो ।   यसैबीच राष्ट्रिय आविष्कार केन्द्रको सहयोगका लागि सङ्घले आर्थिक सङ्कलनसमेत गरिरहेको म्याग्दी प्रवासी नेपाली सङ्घ पोर्चुगलका महासचिव दिपु मगरले जानकारी दिनुभयो । केन्द्रको सहयोगार्थ सङ्घले हालसम्म ६ हजार युरो सङ्कलन गरिसकेको र करिब १० हजार युरो सङ्कलन गरी सहयोग रकम केन्द्रलाई हस्तान्तरण गरिने मगरले बताउनुभयो ।

कास्की:    कास्कीको अन्न्पूर्ण गाउँपालिका १० का नवनिर्वाचित वडाध्यक्ष गौतम गुरुङले पदभार ग्रहण गरेसँगै शासक नभई जनताका सेवक भएको बताएका छन् ।    उनले कुनै पार्टीबाट निर्वाचित भएपनि अब सबै जनताको साझा जनप्रतिनिधि भएको धारणा राखे । ‘चुनाव लड्दा जुनसुकै पार्टीबाट आएपनि अब निर्वाचित भैसकेको छु, उनले भने, ‘हिजोका दिनमा म भन्ने थियो अब वडामा आएपछि हामी भन्ने भावनाबाट काम गर्नेछु ।’   उनले निर्वाचनको समयमा घोषणा गरेका प्रतिवद्धतालाई अक्षरश कार्यान्यवन गर्ने बताए । उनले आम नागरिकलाई सरल सेवा प्रदान गर्ने बताउदै  सामाजिक सुरक्षा भत्ता अन्तर्गतको जेष्ठ नागरिक भत्ता गाउँपालिका र स्थानिय बैंकसँग समन्वय गरि वृद्व, वृद्वा तथा अपांगहरुलाई टोल–टोलमा वितरण गर्ने प्रतिवद्धता जनाए ।     अध्यक्ष गुरुङले नागरिकलाई प्रदान गरिने दैनिक सेवासँगै विकास निर्माणका कार्यहरुलाई समेत पहिलो प्राथमिकता राखिएको जानकारी दिए । उनका अनुसार सिवै देखि कलाभिरको सडक स्तरोन्नती गर्ने, सिवै घुम्तीदेखि विकासडाँडासम्म पिच गर्न पहल गर्ने, घान्दु्रकमा कोइवोधि निर्माणमा पहल गर्ने, निर्माणाधिन स्वास्थ्य चौकीलाई यथाशिघ्र सम्पन्न गरि सञ्चालनमा ल्याउने, खोलोभ्रो बसपार्क तथा गाउँको ढलको व्यवस्थापन गर्ने, बस्ती भित्र आवश्यक सिँढीहरु निर्माण गर्ने, स्थानीयहरुलाई उत्पादनमुखी कार्यमा अभिप्रेरित गर्ने, शवदाह स्थल निर्माण गर्ने, कोटगाउँ लगायतमा खानेपानीको व्यवस्थापन गर्ने, एक घर एक धाराको अभियान हरेक टोलमा सम्पन्न गर्ने लगायतका कार्ययोजनाहरु अघि सारिएको छ ।  

कास्की:   पेट्रोलियम पदार्थको मुल्य वृद्वि भएसँगै पोखरामा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले विरोध जनाएको छ ।   वृद्वि मुल्य फिर्ताको माग गर्दै पोखरामा डेढ दर्जन सरकारी सवारी साधनलाई नियन्त्रणमा लिएको अनेरास्ववियुका केन्द्रीय सदस्य तथा कास्की सहइन्चार्ज महेन्द्र उपाध्याय ‘मन्नु’ ले सुनगाभा न्यूजलाई जानकारी दिए ।    उनका अनुसार जिरोबाट ५, महेन्द्रपुलबाट १ मोटरसाईकल सहित ३, पृथ्वीचोकबाट गण्डकी प्रदेशका पूर्व कानूनमन्त्री हरि चुमानले प्रयोग गरको स्कोर्पियो तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको ४ वटा गाडी, पिएन क्याम्पस गेटबाट ५ वटा, बाग्लुङ बसपार्क र सभागृहमा समान १÷१ वटा सरकारी सवारी साधन नियन्त्रणमा लिइएको छ । ‘हामीले नै चाँबी लिएका छैनौ जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई बुझाएका छौ । बेलुकी ५ बजे हाम्रै उपस्थितिमा चाँबी फिर्ता गर्ने सहमति भएको छ, उनले भने, ‘आज शान्तिपूर्ण विरोध जनाएका छौ । यसलाई सरकारले बेवास्ता गर्याे भने भोलीदेखि कडा आन्दोलन थाल्छौ ।’   विहान १० बजे पृथ्वीनारायण क्याम्पसदेखि सुरु गरेको सवारी साधन नियन्त्रण कार्यक्रम ३५ जना बढिको उपस्थितिमा पोखराको विभिन्न चोकहरुमा गरिरहेको उनले बताए । उनका अनुसार ७७ वटै जिल्लामा एकसाथ सरकारी सवारी साधन नियन्त्रण गरि विरोध जनाउने कार्यक्रम जारी छ ।   गत ९ गतेदखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाइएको थियो । प्रतिलिटरमा १० रुपैयाँ बढाएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ निर्धारण भएको छ ।  त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैया बढाउदै प्रतिसिलिण्डर १ हजार ८ सय पुगेको छ । आयल निगमले नोक्सानी व्यहोर्न परेको भन्दै इन्धनको मूल्य बढाएको हो ।

मनाङः   हिमाली जिल्ला मनाङका ६० जनाको आँखाको शल्यक्रिया गरिएको छ । तेजकोलिन एन्ड रोहित फाउन्डेसन र  जिल्लास्थित सामुदायिक  आँखा अस्पतालको आयोजनामा सदरमुकाम चामेमा सञ्चालित शिविरमा ६० जनाको शल्यक्रिया गरिएको हो ।      विकट क्षेत्रका यहाँका बासिन्दालाई आँखाको उपचारमा सहयोग पु्र्याउने उद्देश्यले शिविर आयोजना गरिएको तिलगङ्गा आँखा अस्पतालका बाह्य कार्यक्रम अधिकृत खेम लामाले बताउनुभयो । उहाँका अनुसार विकट तथा ग्रामीण क्षेत्रका बालबालिका र ज्येष्ठ नागरिकलाई  आँखाको उपचारका लागि सम्बन्धित स्थलसम्म पुग्न कठिन भएकाले उनीहरुको सुविधाका लागि शिविर सञ्चालन गरिएको हो ।      तिलगङ्गा अस्पतालका नेत्र रोग विशेषज्ञ डा सन्दुक रोहितको संयोजकत्वमा आठ चकित्सक टोलीले शल्यक्रियासहितको सेवा प्रवाह गरेकोे थियो । हालसम्म पनि सडक सञ्जालसँग नजोडिएको नार्पाभूमि गाउँपालिकाको नार र फु गाउँका ज्येष्ठ नागरिक तथा बालबालिका शिविरमा सहभागी थिए  ।      आँखामा जालो बसेको, मोतियाबिन्दु भएका बिरामीको आँखाको शल्यक्रिया गरिएको डा रोहितले बताउनुभयो । बिरामीको आँखाको परीक्षणसँगै शल्यक्रिया निःशुल्करुपमा गरिएको उहाँको भनाइ थियो । गाउँघरमै आँखा परीक्षणको व्यवस्था भएकामा मनाङवासी हर्षित भएका थिए ।      नार्पाभूमि गाउँपालिका नार गाउँका ८४ वर्षीय फुन्जो ओङ्जेन लामाको आँखामा समस्या भएर  उपचार गराउन कठिन भइरहेको अवस्थामा नजिकै उपचार गराउन पाएकामा खुसी लागेको बताउनुभयो । “गाउँबाट आँखा जचाउन चामे आएको थिएँ,  काठमाडौँ वा पोखरालगायत ठाउँमा जानुपर्ने बेला यहीँ उपचार पाउने भएपछि गाउँबाट चामे झरेको हुँ”, उहाँले भन्नुभयो, “सजिलो भयो, यही आँखाको शल्यक्रिया गरिएको र चिकित्सकले ठीक हुने बताएका छन्  ।”  

पोखरा:  म्याक्सन फोरडी स्टुडियोको चौथो प्रस्तुतिमा निर्मित मगर समुदायको संस्कार संस्कृतिमा आधारित चलचित्र ‘मीसार’ को विशेष प्रदर्शन पोखरामा हुने भएको छ ।  एसटी क्रियशन म्यानेजमेन्ट प्रालिको आयोजनामा यहि जेष्ठ १२ गते बिहीबार विहान ८ बजे पोखराको मिडटाउन सिनेमा हलमा सो चलचित्र प्रदर्शन हुने भएको हो ।   चलचित्र मगर समुदायको संस्कार र संस्कृतिमा आधारित उक्त चलचित्रमा नेपाली र मगर भाषा प्रयोग गरिएको चलचित्रका निर्देशक सन्तोष पिठाकोटे मगरले जानकारी दिए ।    उनका अनुसार सो चलचित्रमा दवेन्द्र थापा तुमसिं, सनम आले मगर, जेनिता थापा मगर, दिपु मगर, प्रतिक्षा राना मगर, रविन्द्र थापा मगर, भेष गुरुङ, भेष बहदुर पिठाकोटे मगर, कोटबहादुर बाचे मगर, निशा थापा मगर, पबित्रा थापा मगर, प्रेम माया आले मगर, मनिराज थापा मगर, चन्द्र मगर, सुमन आले मगर, धना राना मगर, वसन्त सारु मगर, मनमाया आले मगर लगायतको अभिनय रहेको छ । उक्त चलचित्रको कथा, छायाँकन, सम्पादन र निर्देशन शेरबहादुर पिठा मगर र सन्तोष पिठाकोटे मगरले गरेका छन् ।   

कञ्चनपुर:   कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले नगरभित्रका दलित र अल्पसङ्ख्यक समुदायका विद्यार्थीलाई कक्षा १० सम्म निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गर्नुभएको छ ।   आज पदभार ग्रहण गर्नुहुँदै उहाँले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिसमेत उपलब्ध गराउने बताउनुभयो । नगरभित्रका स्वास्थ्य संस्थाबाट अन्यत्र उपचारका लागि पठाउनुपर्ने सुत्केरी र अशक्त बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवासमेत प्रदान गर्ने निर्णय गरिएको छ ।   थारू समुदायको परम्परागत कालदेखि प्रचलनमा रहेको भल्मन्सा, वडघर प्रथालाई कानुन निर्माण गरी नगरसँग जोडिने छ ।   सामाजिक सुरक्षा भत्तालाई वडा तहमा वितरण गर्ने र नगरपालिकाभित्र रहेका भूमिहीन, दलित सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई  जग्गाधनी प्रमाणपत्र वितरण गर्ने निर्णयसमेत गर्नुभएको छ ।   

बागलुङ:    बागलुङ बजारको ट्राफिक व्यवस्थापनका लागि सवारीसाधन पार्किङ गर्न सरकारी जग्गाको खोजी सुरु गरिएको छ ।    नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधि आएसँगै बागलुङ बजार क्षेत्रको ट्राफिक व्यवस्थापनका निम्ती पहिलो पहल थालिएको छ । नगर कार्यपालिकाको मङ्गलबार बसेको दोस्रो बैठकले बजार क्षेत्रमा ट्राफिक व्यवस्थापनका निम्ती जग्गा खोजी गर्ने निर्णय गरेको छ ।   बजारमा बढ्दो सवारी साधनको चापले हरेक नागरिकले सास्ती खेप्नुपर्ने भएका कारण नगरपालिकाले पहिलो प्राथमिकता ट्राफिक व्यवस्थापनका निम्ती दिइएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो ।       उहाँका अनुसार जग्गा व्यवस्थापनका निम्ती बागलुङ नगरपालिका–२ का वडाध्यक्ष सुरज बोसेलको संयोजकत्वमा बजार क्षेत्रका वडाध्यक्षसहितको समिति बनाइएको छ । त्यसमा वडा नं १ का वडाध्यक्ष जयबहादुर खत्री, वडा नं ३ का अध्यक्ष सोनी केसी र वडा नं ४ वडाध्यक्ष कुमारविक्रम क्षेत्री सदस्य रहनुभएको छ ।   समितिले अबका १० दिनभित्र निजी तथा सरकारी जग्गाको अध्ययन गरी आवश्यक प्रतिवेदन पेश गर्नुपर्ने नगरप्रमुख श्रेष्ठले बताउनुभयो । कार्यपालिका बैठकले विभिन्न विषयगत समिति गठन गरी जिम्मेवारी तोकेको छ । पहिलो चरणमा पाँच विषयगत समिति गठन गरिएको हो ।    नगरपालिकाको आर्थिक विकास समितिको संयोजकमा वडा नं १३ का वडाध्यक्ष नारायण शर्मा पौडेल, सामाजिक विकास समितिको संयोजकमा वडा नं ११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतम, पूर्वाधार विकास समितिको संयोजकमा वडा नं ८ का वडाध्यक्ष छमबहादुर कार्की, वन तथा वातावरण विपद् व्यवस्थापन समितिमा वडा नं ९ का अध्यक्ष राजु थापा र सुसासन तथा संस्थागत विकास समितिको संयोजकमा कुमारविक्रम क्षेत्रीलाई जिम्मेवारी प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।    कार्यपालिका बैठकले आगामी आर्थिक वर्ष २०७९-८० का लागि बजेट तथा कार्यक्रम तर्जुमाका लागि कार्यतालिकासमेत निर्माण गरेको छ । असार १० गतेसम्म नगरपालिकामा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने भएको हुँदा सोही अनुसार बजेट तथा कार्यक्रम तर्जुमाका लागि कार्यतालिका निर्माण गरिएको सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतमले जानकारी दिनुभयो ।      कार्यपालिका बैठकले नगर क्षेत्रभित्र नयाँ सडक खोल्नका लागि अति आवश्यकताबाहेक सबै रोक्ने निर्णय गरेको छ । नगरभित्रका सबै वडा र गाउँसम्म सडक सञ्जाल जोडिएको र अब तिनै सडकलाई स्तोरन्नति गर्ने गरी योजना बनाइएको हुँदा नयाँ सडक खोल्ने काम रोक्ने निर्णय गरिएको गौतमले बताउनुभयो ।    “नगरभित्र सबै वडाका गाउँगाउँमा सडक पुगेको छ”, गौतमले भन्नुभयो, “कुनै स्थानमा नपुगेको भए वडाले निर्णय गरेपछि मात्र नगरबाट स्वीकृत हुन्छ, नयाँ सडक निर्माण गर्दा मापदण्डअनुसार मात्र निर्माण गरिने छ, इन्जिनियर गएर हेरेपछि मात्र सडक खनिने छ, डोजरको प्रयोग पनि न्यूनीकरण गरिनेछ ।” अहिले भएका सडकको थप व्यवस्थापन गरी नगरभित्र बाह्रै महिना यातायात सञ्चालनका  निम्ती नगरपालिकाले यस्तो निर्णय गरेको गौतम भनाइ छ ।        नगर कार्यपालिकाले बागलुङ प्रवेशद्धारका रुपमा रहेको मालढुङ्गामा पुल नजिकै  रहेका व्यापारिक होडिङ बोर्डलाई हटाउने र लाइटिङ प्रविधिको डिजिटल होडिङबोड राख्ने निर्णय गरेको छ । त्यसका लागि तत्काल काम अगाडि बढ्ने नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।   

अछाम:  अछाममा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भने २४ जना घाइते भएका छन् ।   जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा नगरपालिकाको वडा नम्बर १ कुईकामा तपेन्द्र धमाला र अमरनाथ धमालाको घटनास्थलमै मृत्यु भएको हो ।   ट्र्याक्टर ट्रलीको हाइड्रोलिक लिक भएर ट्रली पल्टिदा ट्र्याक्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागी मंगलसैन ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो ।