पोखरा:   गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ ।   पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदे...

पोखरा :    सरकारले पोखरा महानगरपालिका–१४ मा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट कार्यक्रम प्रस्तुत गर्दै हवाई पूर्वाधारतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याइने बताउनुभयो ।     सरकारले आर्थिक वर्ष २०७९/८० मा हवाई पूर्वाधारतर्फ रु १२ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ । चिनियाँ निर्माण कम्पनी सिएएमसीइले निर्माण गरिरहेको पोखरा विमानस्थलको भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।     चिनियाँ कम्पनीसँग भएको ठेक्का सम्झौताअनुसारका सबै काम अन्तिम चरणमा  रहे पनि नेपाल सरकारको जिम्मामा रहेका सञ्चालनपूर्व गर्नुपर्ने काम भने अझै बाँकी छन् । पोखरा विमानस्थल गत चैत १२ गते चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा नेपाललाई हस्तान्तरण गरिएको थियो ।      त्यतिबेला  विमानस्थलको मुख्य निर्माण र उपकरण जडानको कार्य सम्पन्न भएको र ९३ प्रतिशत भौतिक प्रगति भएपछि नेपाललाई हस्तान्तरण गरिएको थियो ।      पोखरा विमानस्थल आयोजनाका वरिष्ठ अधिकृत सविन फुयाँलले आयोजनाको काम अन्तिम चरणको पुगेको र केही सामान्य काम मात्र बाँकी रहेको बताउनुभयो ।      उहाँका अनुसार विमानस्थल सञ्चालनका लागि अझै पनि ल्याण्डफिलसाइट स्थानान्तरण, दक्षितर्फको रिठेपानी डाँडा कटान र बर्खायाममा भलबाढी नियन्त्रणका लागि सिँचाइ नहर व्यवस्थापनको काम बाँकी छन् ।      यसैगरी आगामी आर्थिक वर्षको बजेटमा सरकारले जिल्लामा पर्यटन पूर्वाधार, खेलकुदलाई समेत सम्बोधन गरेको छ । अर्थमन्त्री शर्माले कास्कीको विरेठाँटी हुँदै हिमालपारीको जिल्ला मुस्ताङमा अवस्थित प्रसिद्ध मुक्तिनाथ मन्दिरसम्म केबलकार पूर्वाधार निर्माणका लागि निजी क्षेत्रलाई सहजीकरण गरिने बताउनुभयो ।     गण्डकी प्रदेशको राजधानी पोखरामा तय गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक रकम विनियोजन गरिएको अर्थमन्त्रीले बताउनुभयो ।      आगामी असोजमा पोखरामा नवौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने तयारी छ । अर्थमन्त्रीले १०औँ राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधारमा बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । आगामी वर्षको बजेटमा पोखरा–मुग्लिन सडकको स्तरोन्नति र विस्तारका लागि बजेटमा व्यवस्था गरिएको छ । अर्थमन्त्री शर्माले रणनीतिक सडकका रुपमा रहेका नागढुङ्गा–नौबिसे–मुग्लिन खण्ड र मुग्लिन–पोखरा सडकका लागि रु १० अर्ब ७४ करोड विनियोजन गरिएको बताउनुभयो ।   

ललितपुर:    ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरमा नगरक्षेत्रभित्र धूमपान सेवन निषेध अभियान सञ्चालन गर्ने बताउनुभएको छ । विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा आज यहाँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालको आयोजना भएको अन्तक्र्रिया कार्यक्रममा उहाँले प्रत्येक घरघरमा गएर धूमपान सेवनविरुद्धको अभियान सञ्चालन गर्ने बताउनुभयो ।    उहाँका अनुसार जनप्रतिनिधि र नगर प्रहरीले प्रत्येक घरमा गएर सुर्तीजन्य पदार्थ सेवन विरुद्धको अभियान सञ्चालन गर्ने छन् । नगरप्रमुख महर्जनले पाटन, पुल्चोक, जावलाखेल र लखनखेल धूमपान निधेष क्षेत्र घोषणा गरिसकेको भन्दै अन्य क्षेत्रलाई पनि घोषणाको तयारी गरेको बताउनुभयो ।    कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले जनचेतनामार्फत धूमपान सेवनलाई नियन्त्रण गर्न सकिने बताउनुभयो । उहाँले मन्त्रालयले मात्र नभएर सबैको सहयोगबाट धूमपान नियन्त्रण गर्न सकिने धारणा राख्नुभयो । उहाँले मन्त्रालयले गुणस्तर स्वास्थ्य सेवा प्रदान गर्न आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो ।    ललितपुरका प्रमुख जिल्ला अधिकारी धनश्याम उपाध्यायले धूमपान सेवन पछिल्लो पटक युवामा बढेको भन्दै यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले धूमपान सेवनलाई रोकथाम र नियन्त्रण गर्न सामाजिक सङ्घसंस्था, विद्यार्थी र युवालाई परिचालन गर्नुपर्ने धारणा राख्नुभयो । “विद्यालयका विद्यार्थी र टोलमा युवालाई समेटेर धूमपान निषेध अभियान सञ्चालन गर्नु पर्दछ” उहाँले भन्नुभयो, “धूमपान सेवनको रोकथाम गर्न स्थानीय तह सक्षम बनाउनुपर्दछ ।”   मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादवले धूमपानको सेवन नगर्ने हो भने अहिले मृत्यु हुने भन्दा ५० प्रतिशत मानिसको ज्यान जोगाउन सकिने बताउनुभयो । उहाँका अनुसार प्रत्येक सात जनामा एक जनाको धूमपान सेवनले मृत्यु हुने गरको छ । उहाँले सुर्तिजन्य पदार्थको सेवनबाट स्वास्थ्यमा १ दशमलव ८ प्रतिशत कुल ग्राहस्थ उत्पादन घटेकोले राज्यलाई नै नोक्सान भएको बताउनुभयो ।    उहाँले सुर्तिजन्य पदार्थको सेवन छुटाउन जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो । प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलले १५ दिनभित्रमा ललितपुरका विद्यालय वरपर सुर्तिजन्य पदार्थको बिक्रीवितरणमा रोक लगाउने बताउनुभयो ।   उहाँले विद्यालयको सय मिटर वरपर सुर्तिजन्य पदार्थ बिक्रीवितरण गर्न नपाउने कानुन अनुसार नै १५ दिनभित्र विद्यायल वरपर बिक्रीवितरणमा रोक लगाइने बताउनुभयो । उहाँले चुरोट सेवनको लत युवामा बढेकोले कडाइका साथ नियन्त्रण गर्ने बताउनुभयो ।       पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा रवि शाक्यले चुरोटको सेवन छुटाउन कारबाही नभएर जनचेतनामार्फत छुटाउन सकिने बताउनुभयो । उहाँले चुरोट छुटाउने औषधि नेपालमा प्रयोग भए तापनि सफल नभएको भन्दै जनचेनतामार्फत नै छुटाउन सकिने बताउनुभयो ।    राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिल शर्माले चियापसलमा चुरोट अत्यधिक सेवन गर्ने पाइएकोले त्यसलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।    एक्सन नेपालमा अध्यक्ष आनन्दबहादुर चन्दले वार्षिक २७ हजार मानिस सुर्तीजन्य पदार्थ सेवन गर्नाले ज्यान जाने गरेको भन्दै सरकारले समयमा नै सुर्तीजन्य पदार्थको सेवन रोकथाम गर्नुपर्ने धारणा राख्नुभयो ।    भोलि विश्व सुर्तीजन्य पदार्थरहित दिवस नेपालसहित विश्वभर ‘सुर्तीजन्य पदार्थ त्यागौँः स्वास्थ्य र वातावरण जोगाआँै’ भन्ने नाराका साथ मनाइँदै छ ।

मुस्ताङ:  प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।   नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको जानकारी दिनुभयो ।   संसद्को अन्तर्राष्ट्रिय समितिको आजको बैठकमा दुर्घनाग्रस्त जहाजकाबारेमा समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण ‘राईट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ गरेर गएर भित्तामा ठोकिएको प्रारम्भिक अध्ययनले देखाएको बताउनुभयो ।   घटनाको जाँचबुझ आयोग गठन गरी थप अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाइने महानिर्देशक अधिकारीले विश्वास दिलाउनुभयो ।   घटनास्थल जोमसोम विमानस्थलबाट ८ नटिकल माइल दूरीमा पर्छ । उक्त विमान मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सानुसरे भन्ने भिरमा ठोक्किँएर दुर्घटना भएको अवस्थामा आज बिहान भेटिएको थियो । विमानमा सवार १९ यात्रु र तीन चालक दलका सदस्यसहित २२ जनाको दुःखद् निधन भएको छ ।   पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको उक्त विमान उडेको १०ः७ बजेपछि सम्पर्कविहीन भएको थियो ।   पाँच वटा हेलिकोप्टरले आइतबार दिनभर खोजी गर्दा पनि फेला नपरेपछि आज बिहानै परिचालन भएको संयत्रबाट दुर्घटनाग्रस्त जहाज भेटिएको थियो । रासस

पाल्पा:  सरकारले पाल्पाको रामपुरलाई नयाँ सहरको रुपमा विकास गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको वजेट वक्तव्यमा रामपुरलाई नयाँ सहरका रुपमा विकास गर्ने जनाइएको हो ।   रामपुर सहरलाई नेपालको मौलिकशैली र विशेषता झल्कने संरचनासहितको नयाँ सहरको रुपमा विकास गर्न अध्ययन गरिने अर्थमन्त्री शर्माले बताउनुभएको हो । केन्द्रीय कार्यक्रमको बजेटमा रामपुरलाई सम्बोधन गर्दै नयाँ सहरको रुपमा विकास गर्ने कार्यक्रमले यहाँका स्थानीयवासीमा खुसीयाली छाएको छ । कालीगण्डकी नदी र यसको करिडोरसँग जोडिएको रामपुर भौगोलिक हिसाबले केही भाग डाँडाभेग र समथरभूमि रहेको रमणीय ठाउँ हो ।   पछिल्लो समय रामपुरमा पूर्वाधार विकासका काम अगाडि बढ्दै गर्दा पर्यटकीयस्थल बन्दै गएको छ । नेपाल सरकारले २०७१ वैशाख २५ गते घोषणा गरेको ७२ वटा नगरपालिकामध्येको एक विविध सम्भावना बोकेको र भौगोलिक हिसाबले ठूलो नगरपालिका पनि हो । साविकका गाँैडाकोट, दर्छा, खालीवन, रामपुर र गेझा गाविस समेटिएको यस नगरमा दश वटा वडा रहेका छन् । जिल्ला सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वमा पर्ने यस नगरपालिका १२३ दशलमव ५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ ।   २०७६ मा नगरद्वारा गरिएको घरधुरी सर्वेक्षण अनुसार करिब ४२ हजार जनसङ्ख्या भए पनि विभिन्न पेसा तथा व्यवसाय गरी बसोबास गर्नेको करिब ६० हजार रहेको अनुमान छ ।   यहाँ विभिन्न समुदायको बसोबास रहेको छ । विविध भाषाभाषी, रहनसहन, ऐतिहासिक तथा धार्मिक, पर्यटनका हिसाबले रामपुर नगरलाई नमूना सहरका रुपमा विकास गर्ने नगरप्रमुख रमणबहादुर थापाले बताउनुभयो । बजेट भाषणमार्फत आगामी आर्थिक वर्षको कार्यक्रममा पाल्पा बुटवल सडकखण्डअन्तर्गत सिद्धबाबा खण्डमा सुरुङमार्ग निर्माण कार्य सुरु गरिने समावेश गरिएको छ ।   यस्तै नीजि क्षेत्रमार्फत चितवन रामपुर बुटवल र चितवन–रामपुर–पोखरा दु्रतमार्ग बनाउन लगानी बोर्डमार्फत प्रक्रिया थाल्ने बजेटमा उल्लेख छ । कालीगण्डकी तिनाउँ डाइभर्सन आयोजनाको अध्ययन अगाडि बढाइने जनाइएको छ । सरकारले कालीगण्डकी करिडोर, कोसी करिडोर, कर्णाली करिडोरलाई रु चार अर्ब बजेट छुट्टाइएको छ ।   पाल्पामा मौसमी राडार जडान गर्नेलगायतका कार्यक्रम आगामी आर्थिक वर्षका लागि समावेश गरिएको छ ।

काठमाण्डौँः  प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कारविरुद्धको उजुरीमा हदम्याद नलाग्ने गरी कानुन संशोधनको विधेयक चाँडै प्रस्तुत गरिने बताउनुभएको छ ।     चौथो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज आयोजित मूल समारोहको कार्यक्रममा प्रधानमन्त्री देउवाले महिला हिंसाका घटनामा सरकारले शून्य सहनशीलता अपनाउने र लैङ्गिक समानताका लागि संविधानले दिएको समावेशी समतामूलक हकअधिकार कार्यान्वयनका लागि सक्दो पहल गर्ने पनि बताउनुभयो ।       उहाँले निर्मला पन्तको हत्याका दोषीलाई पक्राउ गर्न समय लागे पनि प्रहरीको अनुसन्धान जारी रहेकाले एक दिन हत्यारा कानुनी नियन्त्रणमा आउने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले लैङ्गिक समानताका दृष्टिले नेपाल दक्षिण एशियामै अग्रणी मुलुक रहेको र महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सम्पत्तिमा स्वामित्व वृद्धिका लागि नीतिगत र कानुनी प्रबन्ध गरिएको स्पष्ट गर्दै राज्यका सबै निकायमा महिलाको सार्थक सहभागिता र उपस्थितिका लागि पनि सरकार क्रियाशील रहेको अवगत गराउनुभयो ।      महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नेपाली महिलाले मताधिकार पाउनका लागि पनि अग्रज महिलाले सङ्घर्ष गरेर अधिकार हासिल गरेको उल्लेख गर्दै राज्यका सबै निकायमा भविष्यमा ५० प्रतिशत महिला सहभागिताका लागि लाग्नुपर्ने बताउनुभयो ।     प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले संविधानमा समानताको हक स्थापित भए पनि अझै आमाका नामबाट नागरिकता पाउन कठिनाई भएकाले सहज प्रबन्धका लागि सरकारसँग आग्रह गर्नुभयो । उहाँले तेजाब आक्रमणकारी विरुद्धको अध्यादेशलाई विस्थापन गर्न चाँडै कानुन ल्याउन पनि माग गर्नुभयो ।      कार्यक्रममा पूर्वमन्त्री कमला पन्त, थममाया थापा, चन्दा चौधरी, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली लगायतले शोषित, पीडित महिलाका लागि हकअधिकार व्यवहारिक रुपमा स्थापित गर्न सकेमा महिला अधिकार दिवसको सार्थकता हुने बताउनुभयो ।          विसं २०६३ जेठ १६ गते तत्कालीन पुनःस्थापित संसद्ले राज्यका सबै निकायमा ३३ प्रतिशत महिलाको सुनिश्चितता लगायत चार बुँदे महिला अधिकारका सवालमा सङ्कल्प प्रस्ताव पारित भएको दिनलाई नेपाल सरकारले विसं २०७६ देखि राष्ट्रिय दिवसका रुपमा मनाउन थालेको हो ।

उदयपुर:   उदयपुरको पहाडी क्षेत्रका पालिका तथा गाउँ जोड्ने ग्रामीण सडक अहिलेसम्म पनि ब्यवस्थित नहुँदा बर्षायाममा स्थानीयले निकै सास्ती खेप्नुपरेको छ । बर्षौँदेखि उही अवस्थामा रहेका ती सडक ग्राभेलिङ, कालोपत्र हुन नसक्दा वर्षायाम सुरु भएसँगै पुनःग्रामीण भेगका नागरिकले दुःखकष्ट भोग्न परेको हो ।   जिल्लाको पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिकाको बलाम्ता, बराह, ताम्लीछा, बासबोटे, माझखर्क तथा जाँते जोड्ने ग्रामीण सडक अहिलेसम्म पनि व्यवस्थित हुन सेकका छैनन् । यस क्षेत्रमा वर्षायाममा पानी पर्नासाथ सडक भत्कने अव्यविस्थत हुँदा यातायात सञ्चालनमा समस्या हुन थालेको यस क्षेत्रका स्थानीय तथा यातायात व्यवसायीको गुनासो छ ।   जिल्लाको रौतामाई गाउँपालिकाको भुटार, रौता, मुर्कुची, डिल्लीबर पूवाँरे, डुम्रीखर्क, नामन्त तथा उदयपुर गढी गाउँपालिकाको भलायाडाँडा, तावाश्री, बर्रे खण्डका ग्रामीण सडक र ताप्ली गाउँपालिकाको पिपलभन्ज्याङ, रुपाटार, ठानागाउँ नूनथला राउतखर्क सडकखण्डमा अहिले वर्षायाम सुरु हुनासाथ यातायातका साधन सञ्चालनमा अवरोध हुन थालेको छ ।   लामो समयदेखि निर्माण भएको कच्ची सडक व्यवस्थित हुन नसक्दा यातायात सञ्चालनमा समस्या हुन थालेपछि यी ग्रामीण भेगका स्थानीयले निकै सास्ती खेप्नुपरेको ताप्ली गाउँपालिका–३ पिपल भञ्ज्याङका दीप हमाल बताउनुहुन्छ ।   जिल्लाको सदरमुकाम गाईघाट हुँदै रौतामाई गाउँपालिकाको मुर्कुची, पुवारे, डिल्लीबर भएर माझखर्क हुँदै लिमचुङबुङ गाउँपालिका जोड्ने ग्रामीण सडक वर्षायाम सुरुसँगै वर्षाले भत्काउन थालेपछि अहिले यातायात सञ्चालन कठिन बन्न थालेको मुर्कुचीका यातायात व्यवसायी होमबहादुर मगर बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मुर्कुची,–डिल्लीबर–माझखर्क–लिम्चुङबुङ जोड्ने ग्रामीण सडकखण्ड आजभन्दा दशवर्ष अघिनै कच्ची सडकको रुपमा निर्माण भएको हो, हिउँदमा यातायात सञ्चालन गर्न अलिक सहज भए पनि वर्षा लाग्नासाथ गाडी गुडाउन ज्यानको जोखिम मोल्नुपर्छ ।”    अहिले दैनिक वर्षा हुन थालेका कारण यी क्षेत्रका सडक भत्कने र खाल्डापर्ने हुन थालेपछि सामान ढुवानी गरेर यी सडकखण्डमा यातायात सुचारु गर्न कठिनाई हुन थालेको यातायात व्यवसायी बताउँछन् । जिल्लाको पहाडी क्षेत्रका अधिकांस सडकखण्ड व्यवस्थित हुन नसक्दा वर्षा लाग्नासाथ गाउँलेहरुले अन्यत्र आवागमन तथा समान ढुवानी गर्न कठिनाई हुने गरेका कारण आफूहरुले कठिनाई भोग्नुपर्ने अवस्था सुरु भएको रौतामाई इनामेका पासाङ शेर्पाको गुनासो छ ।   लिम्चुङबुङ गाउँपालिका माझखर्क सातदोबाटेका फुर्बा शेर्पाको पनि गुनासो उस्तै छ । “अब वर्षायामको जेठ महिनादेखि कात्तिक महिनासम्म झण्डै ६ महिना जिल्लाको माथिल्लो पहाडी भेगका हामीले सडक व्यवस्थापनको अभावमा कष्टकर जीवन बिताउनुपर्ने बेला आयो”, उहाँले भन्नुभयो ।    बर्षा लाग्नासाथ अब पैदल हिँडेर अन्यत्र जानुपर्ने समान ढुवानी गर्दा पनि हिँडेर दिनभरिको बाटोमा आवतजावत गर्नपर्ने बाध्यताको कारण वर्षा लाग्नासाथ आफूहरुले कष्टभोग्न पर्ने दिन आउने गरेको सातदोबाटेको दुर्गा राई बताउनुहुन्छ । उहाँले जबसम्म आफूहरु बसोबास गरेको ग्रामीण भेगका सडक व्यवस्थित हुँदैनन्, तबसम्म आफू यसरी नै कष्टकर जीवन बाच्न बाध्य हुनु परेको गुनासो गुनासो गर्नुभयो ।   माझखर्कका फुर्बादोर्जी शेर्पाका अनुसार वर्षा लाग्नासाथ कहिलेकाँही गाउँमा कोही बिरामी भइहाले जिल्ला अस्पताल गाईघाटसम्म पु¥याउन दुई दिनसम्मको बाटोमा बोकेर रौताको मुर्कुची बजारसम्म बिरामी झार्नपर्ने अवस्था रहेको छ ।   दशकअघि निर्माण गरिएका जिल्लाको पहाडी भेगको अधिकांश कच्ची सडक वर्षायाममा आकाशे पानीले सडक भत्काउने, खाल्डा बनाउने र पहिरोको कारण पुरिने जस्ता गतिविधि हुने गरेको छ । तर यी ग्रामीण भेगका सडकमा हिउँदयाममा जेनतेन यातायताका साधन सुचारु भए पनि वर्षा लाग्नासाथ सञ्चालन गर्न समस्या हुँदा यी पहाडी क्षेत्रका जनताले सास्ती भोग्न परेको हो ।    लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले पालिकाका विभिन्न सडक व्यवस्थापन र बिजुलीको नै मुख्य समस्या रहेकाले  चालु आर्थिक बर्ष बजेट र आउँदो बर्षको वर्षको बजेट व्यवस्थापनबाट गाउँपालिकाका अधिकांश ग्रामीण सडक कुनै हालतमा पनि व्यवस्थित गरेरै छाड्ने अठोट लिएको बताउनुभयो ।    रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगरका अनुसार आफूहरुको पालिकाको पहिलो प्राथमिकता ग्रामीण सडक व्यवस्थापनै हो । रौता, मुर्कुची, पुवारे सडक र भुटार रौता ग्रामीण सडकमा यसपटकको बजेटबाटनै ग्राभेलिङ र नाला निर्माणको कामलाई पहिलो प्राथमिकता दिने उहाँले बताउनुभयो ।   यस्तै उदयपुरगढी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मानबहादुर मगर र ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विकले पनि यसै आर्थिक वर्षको बजेटबाटनै ग्रामीण सडक व्यवस्थापनलाई प्रमुखरुपमा प्राथमिकता दिने बताउनुभएको छ ।    उदयपुरको पहाडी क्षेत्रका स्थानीय तहका ग्रामीण कच्ची सडक अझैसम्म पनि व्यवस्थित हुन नसक्दा वर्षा लाग्नासाथ सडक भत्कने, पहिरो जाने, खाल्डा पर्ने र यातायातका साधन सुचारु हुन नसक्दा बन्द हुन थालेको कारण ग्रामीण भेगका जनताले बर्सेनि कष्टकर जीवन बिताउँदै आएका छन् ।

बागलुङ:    बागलुङको बलेवा विमानस्थललाई सरकारले प्राथमिकताका साथ स्तरोन्नति गर्ने भएको छ ।   बन्द अवस्थामा रहेको विमानस्थल स्तरोन्नतिका लागि सरकारले बजेट तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरिएको छ ।    अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्मा पेश गर्नुभएको आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा बागलुङको बलेवा विमानस्थललाई थप स्तरोन्नति गरी सञ्चालनमा ल्याइने बताउनुभएको छ ।   ग्रामीण क्षेत्रबाट गुणस्तरीय हवाई सेवा दिने उद्देश्यले बन्द अवस्थामा रहेको विमानस्थललाई स्तरोन्नति गरी सञ्चालनमा ल्याइने सरकारले घोषणा गरे अनुसार बलेवा विमानस्थल स्तरोननतिसँगै सञ्चालनमा ल्याइने जनाइएको छ ।      अहिले विमानस्थलको धावनमार्ग भर्खरै कालोपत्र सम्पन्न भएको छ । विमानस्थलमा टर्मिनल टावर लगायतका थुप्रै  पूर्वाधार निर्माणको आवश्यकता देखिएपछि सरकारले प्राथमिकताका साथ स्तरोन्नति गरेर विमानस्थल सञ्चालन गर्ने अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमा उल्लेख गर्नुभयो ।     सरकारले बलेवा विमानस्थलको स्तरोन्नतिसँगै सञ्चालनमा ल्याउने भनेपछि लामो समयदेखि बन्द रहेको विमानस्थल सञ्चालनमा आउने आश पलाएको छ ।   २८ वर्षदेखि नियमित उडान हुन नसकेको बागलुङ नगरपालिका–१४ नारायणस्थानमा रहेको विमानस्थलको धावनमार्ग कालोपत्र सम्पन्न भइसकेको छ ।    कच्ची धावनमार्गका कारण बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएका कारण विमानस्थल नियमितरूपमा सञ्चालनमा आउन सकेको थिएन ।   कालोपत्र सम्पन्न भएको विमानस्थलको अन्य पूर्वाधार निर्माणमा सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गर्ने सरकारले बजेट तथा कार्यक्रम मार्फत घोषणा गरेको छ ।    विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्रको काम सम्पन्न भएको छ ।     सरकारले प्राथमिकतामा राखेको विमानस्थलमा पूर्वाधार निर्माणसँगै जनशक्ति तथा प्राविधिक व्यवस्थापन गर्ने छ ।  विसं २०७४ मा केही समय सञ्चालनमा आएको विमानस्थल कालोपत्र भएसँगै सञ्चालनका लागि सरकारले तयारी थालेको हो ।    विमानस्थल सञ्चालनका लागि २०७४ चैत ९ गते देखि यती र नेपाल वायुसेवा निगमसँग सम्झौता गरेर यात्रु सुनिश्चितता नहुँदा बागलुङ नगरपालिकाले खर्च व्यहोर्ने गरी उडान भरिएको थियो । तर यसलाई निरन्तरता दिन सकिएको थिएन । सरकारले बागलुङको वलेवा विमानस्थलसँगै डडेलधुरा, गैरीगाउँ, टीकापुर, दाङलगायतका स्थानको विमानस्थलको स्तरोन्नति गरिने जनाएको छ । 

मुस्ताङ:   नेपाल नागरिक उड्यन प्राधिकरणले तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको जनाएको छ ।  प्राधिकरणका अनुसार उनीहरूको शव भने पहिचान हुन बाँकी छ ।   विमानमा सवार केही यात्रुको अझै शव फेला परेको छैन । नेपाली सेना, प्रहरी र स्थानीयवासी बिहानैदेखि उद्धार कार्यमा खटिएका छन् ।   प्राधिकरणले एयर डाइनेष्टी, कैलाश हेलिकप्टर र फिस्टेल एयरको हेलिकप्टर विमान दुर्घटना भएको स्थलमा अवतरण गरेर उद्धार कार्य भइरहेको जानकारी पनि दिएको छ ।   विमान दुर्घटना मुस्ताङको थासाङ गाउँपालिका– २ को सानुसरे भन्ने ठाउँमा हिजो बिहान भएको हो ।   फोटो : सशस्त्र प्रहरी बल              

काठमाण्डौँ:    देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ।   जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण प्रदेश नं एक, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै  स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरि सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।    उक्त प्रणालीको प्रभाव अझै केही दिन कायम रहने बताइएको छ । रातिको समयमा प्रदेश न १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।   मधेश प्रदेशका थोरै भू–भागमा हल्कादेखि मध्यम वर्षा र प्रदेश नं १ बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरि सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।    मङ्गलबार प्रदेश नं १,बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रही प्रदेश नं १,बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरि सहित हल्का वर्षाको सम्भावना रहेको छ ।