पोखरा: पोखरा महानगरपालिकाको फोहोर ल्याण्डफिल्ड साइड विवाद समाधान गर्न आइतबार महानगरका प्रमुखलाई वडा नम्वर ३३ का स्थानीयले ज्ञापनपत्र बुझाएका छन् । पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेटमा ल्याण्डफिल्ड साइड निर्माण गर्न पोखरा ३३ को टिमुरपाटा स्थान तोकिएको बजेट समेत प्रस्ताव गरेपछि त्यस निर्णयको विरोध गर्दै स्थानीयले महानगरका प्रमुख धनराज आचार्यलाई ज्ञापनपत्र बुझाएका हुन् । पोखरा ३३ का स्थानीय किरण थापाले अहिले ल्याण्डफिल्ड साइड बनाउने भनेर जुन ठाउँ महानगरले तोकेको छ, त्यसलाई सच्चाएर पोखराको १ देखि ३३ नम्वर वडाका विभिन्न ठाउँमा ल्याण्डफिल्ड साइडको स्थान बनाउन अध्ययन गर्न महानगरलाई सुझाव दिएका बताए । पोखरा ३३ को टिमुरपाटा भन्ने स्थानमा ल्याण्डफिल्ड साइड बनाउन त्यहाँका स्थानियहरुसँग प्ररामर्श नगरी उक्त स्थानका स्थानियहरुसँग छलफल परामर्श नगरी हचुवा भरमा जवरजस्ती रुपमा उक्त स्थान महानगरले छनोट गरेको स्थानीयको आरोप छ । पोखरा ३३ को टिमुरपाटामा फोहोर व्यवस्थापनको ल्याण्डफिल्ड साइड निर्माण गर्ने महानगरको तयारीसँगै त्यहाँका स्थानीयले यसको विरोध गर्दै आएका छन् । थापाका अनुसार पोखरा ३३ आवादी भएको क्षेत्र भएकाले त्यसमा क्षेत्रमा ल्याण्डफिल्ड साइड निर्माण गर्दा विभिन्न क्षेत्रमा असर गर्ने भएकाले उचित क्षेत्रमा ल्याण्डफिल्ड साइडको अध्ययन गर्न उनको सुझाव छ । पोखराको टिमुरपाटामा महानगरको ल्याण्डफिल साइड निर्माण गर्ने प्रस्तावलाई सच्चाउन र पोखरा क्षेत्रमा उत्पादन हुने फोहोरको वर्गिकरण छुट्टाएर ल्याण्डफिल्ड साइडमा लैजानुपर्ने अर्का स्थानीय डिल्लीराम बरालको आग्रह छ । यस विषयमा महानगर प्रमुख धनराज आचार्यले अब अन्र्तराष्ट्रिय एयरपोर्ट सञ्चालन गर्ने तयारी गर्दा अहिले प्रयोग भैरहेको ल्याण्डफिल्ड साइडले त्यसमा असर गर्ने भएकाले पनि ल्याण्डफिल्ड साइड सार्न महानगर लागिपरेको बताएका छन् ।
चितवन : चितवन राष्ट्रिय निकुञ्जका १७ गैँडा मारेपछि अदालतबाट १५ वर्ष कैद सजाय भोगेका बमबहादुर प्रजाले जेलबाट छुटेपछि थप चार गैँडा मारेको पाइएको छ । जेलपछि छुटेपछि उनी पुनः गैँडा शिकार र खाग तस्करीमा संलग्न रहेको अनुसन्धानका क्रममा खुलेको हो । प्रजा २०६० सालमा पक्राउ परेका थिए । पन्ध्र वर्ष काराबासको सजायपछि उनी २०७५ मा रिहा भएका थिए । त्यति बेला उनले १७ गैँडा मारेको स्वीकार गरेका थिए । जेलबाट छुटेपछि पनि गैँडा मार्न सक्रिय प्रजालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार राति धादिङको मलेखुबाट पक्राउ गरेको छ । सिआईबी प्रमुख उत्तम सुवेदीले प्रजालाई पक्राउ गरी चितवन राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको जानकारी दिनुभयो । विसं २०७७ कात्तिकमा चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदीको टापुमा २०÷२२ वर्षको माउ गैँडा र तीन वर्षको बच्चा मृत भेटिएको थियो । ती दुवै खाग झिकिएको अवस्थामा भेटिएका थिए । त्यसपछि चितवन राष्ट्रिय निकुञ्जले चलाएको स्वीप अप्रेसनका क्रममा थप दुई गैँडा पनि खाग झिकिएको अवस्थामा मृत भेटिएका थिए । ती चारवटै गैँडाको शिकार प्रजाको योजनामा भएको अनुसन्धानबाट खुलेको बताइएको छ ।
पाँचथर : शुक्रबार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका–७ का दुई जनाको शव ३७ घण्टापछि फेला परेको छ । शुक्रबार राति पहिरो गई घर बगाउँदा फालेलुङ–७ बिहीदिनका रुपलाल मगरको परिवारका तीन जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएर बेपत्ता भएकाको खोजी गर्ने क्रममा ४२ वर्षीय रुपलालको शव हिजो बिहान फेला परेको थियो । रुपलालकी श्रीमती ३८ वर्षीया गोमा मगर र उनकी भतिजी १९ वर्षीया एलिसा मगरको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । शुक्रबार राति १२ः३० बजेबाट स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीले बेपत्ताको खोजी थालेका थिए । स्काभेटरको सहायताले पहिरोमा पुरिएर मृत्यु भएका तीनै जनाको शव निकालिएको हो । रुपलालका तीन सन्तानमध्ये जेठी छोरीको विवाह भइसकेको र छोरा र कान्छी छोरी अध्ययनका क्रममा झापा थिए । पहिरो गएका समय रुपलालकै घरमा रहेका उनका काका दलप्रसाद मगर भने उच्छिटिएर बाँच्न सफल हुनुभएको थियो । घरभन्दा करिब ३०० मिटर माथिबाट पहिरो आएको स्थानीयवासीले बताएका छन् । वर्षा लाग्नुअघि नै सम्पन्न हुनुपर्ने सडक निर्माणको कार्य समयमा सम्पन्न नहुँदा पहिरो गएको स्थानीयवासीको भनाइ छ ।
काठमाण्डौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक राजधानीमा सुरु भएको छ । गत पुसमा आठौँ महाधिवेशन गरेको माओवादीले अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन गर्न सकेको छैन । कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय समितिको बैठक सुरु भएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । बैठकको कार्यसूचीमा केन्द्रीय समितिलाई पूर्णता दिने, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजन रहेको छ । यस्तै बैठकमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा र आगामी कार्यदिशाका बारेमा पनि छलफल गरिने भएको छ । गत पुसमा सम्पन्न महाअधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरे पनि अन्य पदाधिकारी भने चयन गर्न सकेको थिएन । महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गर्नाका साथै २९९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था गरेको थियो । महाधिवेशनपछि पटकपटक सर्दै आएको बैठकले साङ्गठनिक काम कारवाहीका अलावा, मुलुकको पछिल्लो राजनीतिक अवस्था तथा आगामी सङ्घीय र प्रदेशसभाको निर्वाचनको तयारीका बारेमा समेत छलफल गर्ने कार्यसूचीमा उल्लेख छ । बैठकमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी गराउनुहुने भएको छ ।
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले राजधानीको पुतलीसडक क्षेत्रको फोहर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै पैदलमार्ग (फूटपाथ) मा थुपार्ने गरेको छ । काठमाडौँ महानगरपालिकाबाट पुतलीसडक क्षेत्रको फोहर उठाउने सम्झौता गरेको ‘स्वच्छ वातावरण स्वस्थ मानवजीवन’ नामक कम्पनीले नै पैदलमार्गमा फोहर थुपारेको हो । गाडाबाट पैदलमार्ग फोहर थुपारिरहेको अवस्थामा भेटिनुभएका कम्पनीका कामदार उद्धव मैनाली भने गाडी आउन समय लाग्ने भएकाले पैदलमार्गमै फोहर थुपार्न बाध्य भएको बताउनुहुन्छ । फोहरका कारण राजधानीमा हैजा फैलिए पनि व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन । राजधानीको मुख्य सडकको पैदलमार्गमा गाडामा ल्याएर फोहर थुपार्दा पनि स्थानीयवासी कोही पनि चुइँक्क बोल्दैनन् । “बोले पनि केही नहुने भएकाले चुप लाग्न बाध्य छौँ”, उक्त क्षेत्रमा पसल सञ्चालन गर्दैआउनुभएका रामचन्द्र श्रेष्ठ बताउनुहुन्छ । राजधानीको अन्य भागमा फोहर उठिरहेको अवस्थामा पुतलीसडकको पैदलमार्गमा भने फोहर व्यवस्थापनको जिम्मेवारी पाएको कम्पनीले नै फोहर थुपार्ने गरेको उहाँले बताउनुभयो । महानगरपालिकाले फोहर व्यवस्थापनको जिम्मेवारी सुम्पेको कम्पनीको कामको अनुगमन नगर्दा यस्तो समस्या आएको स्थानीयवासीको गुनासो छ । महानगरपालिकाले कुहिने र नकुहिने फोहर वर्गीकरण गरेर व्यवस्थापन गर्न सार्वजनिक सूचना जारी गरे पनि पुतलीसडक क्षेत्रमा भने दुवैथरी फोहर एकै ठाउँमा राखेर फालेको देखिन्छ । महानगरपालिकाले सूचना जारी गरेपनि अनुगमन गरेर फोहर वर्गीकरण नगर्नेलाई कानुनी कारबाहीको प्रक्रियामा नल्याएका कारण यस्तो समस्या देखिएको हो ।
लमजङ् : यहाँ बाढीपहिरोले जिल्लाका विभिन्न स्थानका वडा कार्यालय, विद्यालयदेखि बस्तीसमेत जोखिममा परेको छ । दोर्दी गाउँपालिका–७ को वडा कार्यालय, महेन्द्र ज्योति प्राथमिक विद्यालयको भवन र फलेनी बस्ती जोखिममा परेको हो । गत जेठ २३ गतेयता निरन्तर वर्षा हुँदा थप पहिरो जान थालेसँगै जोखिम बढेको वडाध्यक्ष रिसमाया गुरुङले बताउनुभयो । “उपल्लो माझखर्कमा रहेको वडा कार्यालय भवनलाई पहिरोले घेरेको छ । उक्त भवनमाथि सडकबाट पहिरो खस्दा वडाको भित्तासम्म आइपुगेको छ । भवनको पछाडिको भागसम्म ढुङ्गामुढा र माटो थुप्रिएको छ भने वर्षा भइरहेमा भवन नै बगाउने स्थितिमा पुगेको छ, उहाँले भन्नुभयो, “वर्षा भएपछि पहिराले जताततै लेदो माटो थुपारेको र लेदो फाल्दै कार्यालय सञ्चालन गर्दै आइएको छ ।” वडाध्यक्ष गुरुङका अनुसार असार लागेपछि आजसम्म आइपुग्दा पानी पर्ने क्रम बढ्दै आएको र पहिरा पनि बढ्न थालेकाले सेवा प्रवाहसमेत डराइडराइ दिने गरिएकोे वडाका कर्मचारीहरुले बताए । पहिराले नजिकैको महेन्द्र ज्योति प्राविको भवनलाई पनि जोखिममा पारेको छ । उक्त विद्यालयको कक्षाकोठासम्म भल पस्ने गरेको वडा कार्यालयले जनाएको छ । लप्सीबोट जाने सडकबाट पहिरो झरिरहेको छ भने केही दिनअघि गएको पहिरोले विद्यालयको तारजाली पुरेको छ । वडाध्यक्ष गुरुङले भन्नुभयो, “पहिरा निरन्तर गइरहन्छ, लेदो वडा कार्यालयभित्र छिर्छ सर्फा गर्दै काम गछौँ ।” वडा कार्यालयको करिब २० मिटर माथि सडकबाट आएको पहिरो रोक्नलाई पहिलो पटक यही असार ५ गते गाउँपालिकाबाट रु दुई लाख बजेट ल्याएर तारजालीसहित पर्खाल उठाइएको थियो तर पटक–पटक आएको पहिराले थप क्षति पुर्याउनाका साथै अन्य दुईस्थानका सडक नै बगाएपछि आपत्कालिन परिस्थितिमा दुईघण्टासम्म हिँडेर छोटे खोलासम्म पुग्नुपर्ने बाध्यता भएकोे उहाँको भनाइ थियो । पहिरो गएयता कुलो सफा गर्ने क्रममा सर्पले टोकेर दुई जना घाइते भइसकेका छन् । त्यस्तै वडा कार्यालयभन्दा करिब २० मिटर परको निर्माणाधीन वडाको स्वास्थ्य चौकी भवन पनि आएको पहिराले आधा पुरेको छ । बस्तीमा पनि १० घर पहिराले जोखिममा पारेको छ । यही असार १ गतेको पहिरो र त्यसपछि बेला–बेलामा खसेको पहिराले कोषलाल गुरुङ, प्रेम गुरुङलगायत अन्य व्यक्तिको घर जोखिममा पु¥याएकोे वडासदस्य लालबहादुर तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “जोखिममा रहेका स्थानीयवासी दिउँसोभन्दा रातको समयमा पानी पर्दा डराइडराइ सुत्दै आएका छन् ।
काठमाडौं : काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको क्यान्टिनमा कार्यरत कर्मचारी मृत भेटिएपछि सो क्षेत्र तनावग्रस्त भएको छ । मृतकका आफन्तले हत्याको आशंका गर्दै स्कुलमा प्रर्दशन गरेका छन् । शनिबार बेलुका केएमसी स्कुलको होस्टलको क्यान्टिनमा कार्यरत २१ वर्षीया रमा रायमाझी झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको शव उठ्न सकेको छैन । आफन्तले हत्या भएको आशंका गर्दै स्कुलमा धर्ना दिइरहेका छन् । मृतकका आफन्तले स्कुलले एक दिन पनि विदा नदिएको, काम गरेको पैसा समेत नदिएको ,छोरीले स्कुलमा काम गरेको भए पनि घरबाटै खर्च पठाउनु परेको आफन्तको आरोप छ । रमा समयमा घर नआएपछि उनकी बहिनी गोमा स्कुलमा गएकी थिइन् । गोमाले नै दिदी झुन्डेको देखेको बताइएको छ । मृतकको दाइ नाता पर्ने निर्मल रायमाझीले हत्या आशंका गर्दै घटनाको अनुसन्धान र छानबिन गर्न माग गरेका छन् । मृतकका बुबा–आमा काभ्रेबाट काठमाडौं आएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
नवलपुर : मान्छे मारेका कारण चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको नरभक्षी बाघको ‘आनीबानी सुध्रिएको’ जनाउँदै यस वर्ष निकुञ्जले चार बाघलाई प्राकृतिक वासस्थानमै छाडेको छ । निकुञ्जले यस वर्ष छ वटा बाघ नियन्त्रणमा लिएकामा चार बाघ छाडेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले यस आर्थिक वर्ष २०७९/८० मा चार बाघ छाडिए पनि अझै तीन बाघ निकुञ्जको खोरमै रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बाँकी रहेका तीन बाघ नरभक्षी भएकाले छाडिएको छैन ।” जङ्गलमा लगेर छाडिएको बाघको घाँटीमा स्याटेलाइट कलर जडान गरिएको पनि संरक्षण अधिकृत आचार्यले जानकारी दिनुभयो । बाघको घाँटीमा स्याटेलाइट कलर जोडेपछि उक्त बाघ कहाँ कुन अवस्थामा छ भन्ने कुरा सफ्टवेयरको माध्यमबाट निकुञ्जमै बसेर जानकारी लिन सकिने उहाँले बताउनुभयो । खोरमा बाँकी रहेका तीनवटामध्ये एउटा बाघ बाँकेबाट ल्याइएको हो भने दुई बाघ चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । छाडिएको बाघलाई मानिसको नजिक राखेर बानी–व्यवहार अध्ययन गरेपछि मात्र छाडिएको संरक्षण अधिकृत आचार्यले जानकारी दिनुभयो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले मानिससँग जम्काभेट भएर आक्रमण गरेका बाघलाई मात्र छाडिएको जानकारी दिनुभयो । “हामीले जनदबाबमा समातेका सबै बाघ नरभक्षी हुँदैनन् त्यसैले उनीहरुको आनीबानी, उमेर, व्यवहारको अध्ययन गरेर नरभक्षीबाहेकका बाघलाई जङ्गलमा लगेर छाड्ने गरेका छौँ”, उहाँले भन्नुभयो । उनीहरूको क्रियाकलापलाई अवलोकन गर्न स्याटेलाइट कलर घाँटीमा जडान गरिएको उहाँले बताउनुभयो । निकुञ्जको मुख्यालय कसारमा दुई र निकुञ्जको पूर्वी सेक्टर सौराहामा दुई गरी चारवटा मात्रै बाघ राख्न मिल्ने खोर छन् । थप केही खोर बन्ने चरणमा छन् । चालु आर्थिक वर्षमा मात्र चितवनमा बाघको आक्रमणबाट १६ जनाको मृत्यु भइसकेको छ भने ११ बढी मानिस घाइते भएका छन् ।
काठमाण्डैँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घीय शिक्षा ऐनसहित विभिन्न छ वटा शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ । लामो समयदेखि प्रतिक्षारत सङ्घीय शिक्षा ऐनको मस्यौदा संशोधन भई राय परामर्शका लागि अर्थ मन्त्रालयमा पुगेको छ । उक्त मस्यौदा ऐनका साथै उच्च शिक्षासम्बन्धी छाता विधेयक, प्राविधिक शिक्षा विधेयक, एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान, राष्ट्रिय योग्यता प्रारुपसम्बन्धी विधेयकको मस्यौदा पनि तयार गरिएको छ । सङ्घीय शिक्षा ऐनमा निःशुल्क र अनिवार्य शिक्षा ऐन तथा शिक्षा सेवा आयोग ऐन र राष्ट्रिय परीक्षा बोर्ड ऐनका केही विषय समायोजनका लागि तयारी गरिएकोे छ । सङ्घीय शिक्षा ऐनमा शिक्षक सेवा आयोगको मापदण्ड, सिद्धान्त र राष्ट्रिय शिक्षाको दर्शन, शिक्षा व्यवस्थापनबारे तीन तहका सरकारको स्पष्ट भूमिका, शिक्षकको तहगत प्रणालीका बारेमा पनि सम्बोधन हुने जनाइएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले ती विधेयक रायपरामर्शका क्रममा रहेको र सकेसम्म चाँडै सङ्घीय संसद्मा प्रस्तुत हुने अपेक्षा रहेको बताउनुभयो । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले सङ्घीय शिक्षा विधेयक छिटो सदनमा ल्याउन यसअघि निर्देशन दिइसकेको थियो ।