गण्डकी: “जम्मा हुन्छन् किसानगण यी बीज मानो छरेर देख्छन् होला मधुर सपना काम राम्रो गरेर । खन्छन् जोत्छन् जमिन सबले घामपानी सहेर हाम्रो यस्तो श्रम र पसिना फल्छ जाँदैन खेर ।।” कवि वासुदेव पाण्डेयको प्रकृतिपरक कविता सङ्ग्रह ‘दुलही’ को सम्झनामा असार शीर्षकको कवितामा भनेजस्तै नेपालमा असार महिनालाई मानो खाएर मुरी उब्जाउने समयका रुपमा लिने गरिएको छ । श्रम र पसिना खर्चेर उत्पादनमा जोड दिने किसान भने समस्या नै समस्यामा अल्झिनुपर्ने विवशता यतिखेर गम्भीर चुनौतीको विषय बनेको छ । कृषिको आधुनिकीकरणको अभावमा अझै पनि निर्वाहमुखी कृषि पेशा अँगाल्नुपर्ने बाध्यताका साथै प्रत्येक वर्ष मल र बीउ नपाएर भौतारिनुपर्ने समस्याले आम किसान ग्रस्त भएकोे अगुवा किसान हरिप्रसाद आचार्य बताउनुहुन्छ । संरक्षणको अभावमा रैथाने प्रजातीका धान लोप भइसकेको र रोपाइँको समयमा कृषि मल नपाउँदा त्यसले उत्पादनमा पनि ह्रास आउने गरेको उहाँ बताउनुहुन्छ । “असारको अन्त्यसम्म आइपुग्दा रासायनिक मलको अभावले रोपिएका खेतमा पनि मल राम्रोसँग राख्न पाइएको छैन”, कुर्लिङ बराह किसान समूहका अध्यक्षसमेत रहनुभएका आचार्य भन्नुहुन्छ, “दुःख गरेर उत्पादन गर्ने काममा लागेका किसानलाई रोप्ने बेलामा मलको अभाव हुनु जटिल विषय हो, यसबारे राज्यले सोच्नु जरुरी छ ।” पछिल्ला समयमा घडेरी बनाउने नाममा धान खेत मासिँदै गएको र रोप्ने खेतमा पनि समयमा मल बीउ नपाउँदा समस्या पर्ने गरेको उहाँ बताउनुहुन्छ । पछिल्ला वर्षमा कास्की र आसपासका क्षेत्रमा लगाउने गरिएका रैथाने जातका धान लोप हुँदै गएको छ । “कास्कीको सुरौदी र आसपासका क्षेत्रमा विगतमा लगाउने गरिएको मगमग बास्ना आउने रमनी धानको बीउ अहिले पाउन सकिदैन”, कृषक आचार्य भन्नुहुन्छ, “पछिल्ला वर्षमा यहाँ पाइने ढावे गौरिया, वीरेनफूल, कृष्णबौ, चोभोजस्ता धानका बीउ हराइसकेका छन् ।” तालैतालले भरिएका कास्की जिल्लाका अधिकांश स्थानमा पाइने जङ्गली धान नाभो लोप भइसकेको यहाँका स्थानीयवासी बताउँछन् । धानको अति प्राचीन प्रजाति नाभोबाटै विस्तारै अन्य धानको विकास भएको विश्वासका आधारमा यसलाई धानको जननी मानिन्छ । पछिल्ला वर्षमा रासायनिक मलको बढ्दो प्रयोगसँगै धानमा रहेका मौलिक गुण पनि हराउँदै गएको सम्बद्ध किसानको गुनासो छ । झण्डै डेढदशक अघिसम्म सुरौदी, मालमूल, कुडहर, विरौटालगायत स्थानमा फल्ने गरेका पहेँले, जेठोबुढोलगायत बास्नादार धानमा अहिले भने बास्ना आउन छोडेको उनीहरु बताउँछन् । रासायनिक मलको बढ्दो प्रयोगसँगै उत्पादन बढाउने नाममा वर्णशङ्र जातका धानको बीउ बढी प्रयोग हुनाले रैथाने जात हराउँदै गएको अर्का किसान भवानी सुवेदी बताउनुहुन्छ । स्थानीय किसानका अनुसार पछिल्ला वर्षमा गौरिया, बिरम्फूल, आँगा, रमनी, रुदुवा मार्सीजस्ता धान देखिन छोडेको छ । नयाँ जातका धानको आगमनसँगै परम्परागत रुपमा रोपिने पोखरेली मसिनो ९पहेँले०, मनसरा, ठिमाहा, ताकमारे, खोलेमार्सी, आँपझुत्ते, झिनुवा, अनदी, गुर्दी, मानामुरी, कन्जीरा, मन्सुली, तौली, खाल्टेखोले, गोला, कोदे, गुडुरा, जर्नेली, गौरिया, बर्मेली, एक्लेजस्ता धान विस्थापित हुने अवस्थामा पुगेका छन् । कम उचाइमा हुने गरेका काठे गुर्दी, तौली, फालो, पहेँले, लहरे गुर्दी, घैया, कालो झिनुवा, माला, विमरफुल, भट्टे, अँधेरे, काँडे, कालो बयर्नी, कालो अनदीलगायत धान पनि पछिल्लो समय विस्थापित भइसकेका छन् । पछिल्ला समयमा कास्कीका अधिकांश स्थानमा सुधारिएको जेठोबूढो, खुमल, राधा सात, राधा नौ, सावित्री, मनसुली, पहेँंलेजस्ता धान धेरै मात्रामा रोप्ने गरिएको छ । रैथाने प्रजाती हराउनाका साथै कृषिमा इच्छा राख्नेले समयमा मल तथा बीउ नपाउनु पनि कृषि क्षेत्रको ठूलै समस्याका रुपमा देखापरेको छ । यस वर्ष पनि कास्कीका अधिकांश स्थानमा जेठको तेस्रो साताबाटै रोपाइँ थालिए पनि असार मसान्तसम्म पनि मलको अभाव नै रहेको किसान आचार्यको भनाइ छ । राम्रो उत्पादनका लागि मल आवश्यक भए पनि त्यसलाई सहज रुपमा पाउन नसक्दा किसान चिन्तित बनेको उहाँ बताउनुहुन्छ । विशेषतः धान रोप्ने बेलामा डिएपी र पोटासजस्ता कृषि मल भण्डारण गर्नु आवश्यक हुने पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाको भनाइ छ । उत्पादन बढाउनका लागि ती मल रोप्ने बेलामा छर्नुपर्ने भए पनि सहज रुपमा प्राप्त हुन नसक्दा किसान समस्यामा परेको उहाँ बताउनुहुन्छ ।
काठमाण्डौँ: नेपाल प्रहरीले वैदेशिक रोजगार कसुर मुद्दामा फरार एकजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सिआईबी)ले विसं २०७४ मा एक पीडितलाई विभिन्न प्रलोभना पारेर इजरायल, जापानलगायत मुलुक पठाउने बहानामा ठगी गरेका चितवन कालिका नगरपालिका–८ का ४६ वर्षीय श्रीकृष्ण घिसिङ तामाङलाई आज कलङ्कीबाट पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले पीडितलाई राम्रो पारिश्रमिक र आकर्षक रोजगारी हुने आश्वासन देखाएर उनले रु छ लाख ठगी गरेकाले सर्वोच्च अदालतको आदेशअनुसार पक्राउ गरिएको जानकारी दिनुभयो ।पक्राउ परेका तामाङलाई उक्त अदालतले वैदेशिक रोजगार कसूरमा छ वर्ष कैद र रु छ लाख जरिवना ठहर गरेकामा फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौँ पेश गरिएको उहाँले बताउनुभयो ।
काठमाण्डौँ: मालारानी गाउँपालिका–५ बागीको स्वास्थ्यचौकीमा निःशुल्क अल्ट्रासाउण्ड सेवा सुरु गरिएको छ । गाउँमै अल्ट्रासाउण्ड सेवा पाएपछि बागीका महिला खुसी भएका छन् । गर्भवतीलाई अल्ट्रासाउण्ड गर्न घण्टौँ हिँडेर सदरमुकाम सन्धिखर्क जानुपर्ने बाध्यताको अन्त्य गर्न स्वास्थ्यचौकीमै अल्ट्रासाउण्ड सेवा सञ्चालन गरिएको मालारानी–५ बागीका वडाध्यक्ष तिलक मिश्रले बताउनुभयो । गर्भमा रहेको बच्चाको अवस्था तथा आमाको स्वास्थ्य अवस्था बुझ्नका लागि अल्ट्रासाउण्ड अनिवार्य गर्नुपर्ने हुन्छ । गर्भवती आमा तथा नवजात शिशुको स्वास्थ्य सुधारका लागि सञ्चालन गरिएको निःशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवाले स्थानीय महिला लाभान्वित हुने वडाध्यक्ष मिश्रले बताउनुभयो । उहाँले घण्टौँ हिँडेर अल्ट्रासाउण्ड गर्न सदरमुकाम सन्धिखर्क आउनुपर्ने समस्याको समाधान गरी गाउँमै स्वास्थ्य सेवा दिन अल्ट्रासाउण्ड सेवा सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यी र यस्तै कार्यक्रमका साथ बागीलाई जिरो होम डेलिभरी वडा बनाउने अभियानमा लागेका छौँ ।” उहाँले आफूले चुनावमा घोषणा गरेअनुसार मालारानी–५ बागीका जनतालाई स्वास्थ्य सेवा घरदैलोमै पुर्याउने प्रयास भइरहेको बताउनुभयो । यस्तै उहाँले गर्भवती आमा तथा नवजात शिशुका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने तयारी भइरहेको समेत जानकारी दिनुभयो । वडाध्यक्ष मिश्रले बागी तथा मालारानीको स्वास्थ्य सेवाको विकास र विस्तारमा लागिरहेको बताउनुभयो । प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य तालिम केन्द्र, स्वास्थ्य कार्यालय, स्वास्थ्यचौकी बागी र गाउँपालिकाको सहकार्यमा ग्रामीण अल्ट्रासाउन्ड सेवा विस्तार भएको हो ।
काठमाण्डौँ: कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमारसिंह यादवले रविबालीका लागि आवश्यक युरिया मल साउनको पहिलोे सातादेखि नेपाल भित्रिन सुरु हुने जानकारी दिनुभएको छ । उहाँले ओमनबाट नेपाल सरकारले खरिद गरेको ५० हजार मेट्रिक टन युरिया मल साउनको पहिलो सातादेखि भित्रिने बताउनुभएको हो । जनता समाजवादी पार्टी नेपालले वीरगञ्जमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले धानबालीका लागि आवश्यक डिएपी मलको अभावबाट पाठ सिक्दै सरकारले रविबालीका लागि पहिलेदेखि नै आवश्यक रासायनिक मलको व्यवस्थामा जुटेको जानकारी दिनुभयो । उहाँले नेपाल सरकारले ओमानबाट आयात गरेको मलमध्ये ३० हजार मेट्रिक टन युरिया कृषि सामग्री कम्पनीले र २० हजार मेट्रिक टन साल्टट्रेडिङ कम्पनीले आयात गर्ने बताउनुभयो । कृषि क्षेत्रमा हाल देखिएको मल तथा उन्नतजातको बीउबिजनको समस्याप्रति नेपाल सरकार गम्भीर रहेको र ती समस्या समाधानप्रति प्रयत्नशील रहेको मन्त्री यादवले जानकारी दिनुभयो । उहाँले भारतसँग जोडिएका सीमावर्ती नेपाली जिल्लाका किसानले भारतबाट रासायनिक मल खरिद गरी ल्याउँदा कुनै पनि प्रकारको व्यवधान खडा नगर्न प्रशासनलाई निर्देशन दिइएको बताउनुभयो ।
काठमाण्डौँ: बुधबारदेखि बेपत्ता बालकको शव भेटिएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं ६ स्थित हाँडिखोला धापका १२ वर्षीय अनुज बस्नेतलाई बुधबार बगाएको थियो । बालकको शव आज हाँडिखोला र ईन्द्रावतीको दोभानमा भेटिएको इलाका प्रहररी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक उत्तम सिंह भण्डारीले जानकारी दिनुभयो । उहाँले बर्खाको समयमा नदी तथा खबरे खोला आसपास नजानसमेत आग्रह गर्नुभयो । उहाँले अहिले पनि खेल्ने, नुहाउने, माछा मार्ने लगायतको बाहानामा बालबालिका तथा अन्य मानिस खोलामा जाने गरेको बताउनुभयो ।
गलकोट: चिसो हावापानी, चट्ट मिलेको सानो गाउँ । समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा छ सुन्दर बनौगाउँ । गाउँमाथिको जङ्गलको बीचमा रहेको पहाडको दृश्यावलोकन स्तम्भ । त्यही पहाडको टुप्पो अहिले चर्चामा छ । चर्चामा पनि किन नहोस् उक्त स्थानबाट धवलागिरिका तीन जिल्ला सदरमुकाम एकैसाथ देख्न सकिन्छ । बनौलेकको हल्जुरेडाँडाबाट देखिने दन्तेलहरजस्तै हिमशृङ्खलाले त्यहाँ पुग्ने आन्तरिक पर्यटकलाई नलोभ्याउने कुरै भएन । हल्जुरेडाँडाबाट देखिने सूर्योदयले त दार्जलिङको झल्को नै मेटाउने गरेको छ । सूर्योदय हेर्नका लागि दार्जलिङ पुग्ने पर्यटकका लागि यो आकर्षक गन्तव्य बन्न सक्नेमा दुईमत छैन । म्याग्दीको सदरमुकाम बेनी बजार, बागलुङ बजार र पर्वतको कुश्माबजार एकसाथ देख्न सकिने उक्त डाँडाले बनौप्रति पर्यटकलाई आकर्षित गरिरहेको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग बागलुङ–पर्वत खण्डको अर्मादीबाट एक घण्टामै पुग्न सक्ने स्थानमा रहेको बनौ अहिले सडक कालोपत्र भएपछि झनै बढी चर्चामा आउन थालेको हो । कला, संस्कृतिको धनी रहेको बनौगाउँमा मगर समुदायको बाहुल्यता रहेको छ । उनीहरुको मारुनी नाच र मगर बाजा यहाँको पहिचानसमेत हो । उकालो कच्ची सडक भएका कारण कालोपत्र नहुँदा बनौ पुग्नै सास्ती भए पनि अहिले बनौसम्मै सडक कालोपत्र पुगेपछि आन्तरिक पर्यटक यहाँ आउन थालेको जलजला गाउँपालिका–९ बनौका अध्यक्ष गौबहादुर पुनले बताउनुभयो । “बाहिरी पर्यटक ल्याउने मुख्य आधार सडक हो, सडकका कारण धेरै विकास रोकिनेरहेछ, बनौ आउने सडक हालैमात्रै कालोपत्र भएको छ, बगैँचाबाट साढे १२ किलोमिटर सडक हालैमात्र पक्की भएपछि बनौ पुग्न निकै सहज भएको छ”, अध्यक्ष पुनले भन्नुभयो, “आन्तरिकमात्रै होइन, बाह्य पर्यटकसमेत ल्याउने हाम्रो योजना हो, अहिले हल्जुरेडाँडामा पुग्ने पदमार्ग, शौचालयसहितको सत्तल र खानेपानीको व्यवस्थापन गरेका छौँ, दोस्रो कार्यकाल भर्खर सुरु भएको छ, बनौ आफैँमा सौन्दर्ययुक्त छ, प्रचार–प्रसार नपुगेर हो सबैको सहयोगमा यस क्षेत्रको प्रचार–प्रसारमा जुटेका छौँ, वडा कार्यालय र गाउँपालिकाले समय–समयमा पर्यटन क्षेत्रका विज्ञ तथा पर्यटन अभियानकर्मीलाई समेत त्यहाँ लैजाने गरेको छ ।” उच्च पहाडी भेगमा रहेकाले त्यहाँ उत्पादित आलु निकै स्वादिष्ट छ । त्यहाँ पुगेकाहरुले बनौको मुख्य बाली आलु खोजी–खोजी कोसेली लैजाने गरेका छन् । बागलुङ, पर्वत र म्याग्दीबाट करिब एक घण्टाको सवारी यात्रामा पुग्न सकिने भएपछि तीन जिल्लाका आन्तरिक पर्यटकको रोजाइ बनौलेक बन्न थालेको छ । यस स्थानमा चिसो मौसम र हिउँ पर्दा बढी आन्तरिक पर्यटक आउने गरेको स्थानीय अमबहादुर गर्बुजाले बताउनुभयो । “यस स्थानमा सूर्योदय दृश्यावलोकन नै मुख्य विशेषता हो, पछिल्लो समय पर्यटक यहाँ वनभोज खानसमेत आउँछन्”, गर्बुजाले भन्नुभयो, “बेलुका आएर बिहान सूर्योदय र हिमाल हेरेर फर्कने गरेका छन्, केही पर्यटक खानेबस्ने व्यवस्थासहित र टेण्ट टाँगेर डाँडामै बस्ने गरी आउँछन्, अहिले बर्खा लागेर होला कम पर्यटक आएका छन्, हिउँ पर्दा यस स्थानमा पर्यटक बोकेका सवारी साधन राख्ने ठाउँ नै हुँदैन ।” यस क्षेत्रामा पर्यटकका लागि होटलको समेत व्यवस्था छ । गर्मीले आजित बनेका मानिस शीतलताका लागि सेमत बनौ पुग्ने गरेका छन् । सूर्योदय हेर्नकै लागि नेपालीहरु टाढा–टाढा पुग्दै आए पनि पक्की सडकको पहुँचमै आकर्षक पर्यटकीय गन्तव्य भएपछि त्यहाँ पुग्ने पर्यटकको सङ्ख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । बनौको विषयमा आफूले सुनेभन्दा आकर्षक स्थान रहेको बागलुङ बजारबाट बनौ पुग्नुभएका पर्यटक शङ्कर जिसीले बताउनुभयो । उहाँले बनौको प्रचार–प्रसार नपुगेको भन्दै यस स्थानमा धेरैभन्दा धेरै आन्तरिक र बाह्य पर्यटक आउन सक्ने सम्भावना रहेको बताउनुभयो । अहिले बनौ लेकमा टेण्ट बोकेर पुग्ने र लेकमै रात बिताउने गरी बागलुङ, पर्वत तथा म्याग्दीका पर्यटक आउने गरेको बनौका युवा विश्व पुर्जा मगरले जानकारी दिनुभयो । उहाँले शुक्रबार बेलुका बसेर बिहान दृश्यावलोकन गरेर जाने गरी कर्मचारीसमेत यस स्थानमा आउने गरेको बताउनुभयो । यस क्षेत्रमा थप पूर्वाधार भने बनाउन बाँकी नै छ । बनौ लेकको डाँडाबाट तीन जिल्लाका सदरमुकामसँगै धवलागिरि, अन्नपूर्ण, निलगिरिलगायतका दर्जनौँ हिमशङ्खलासमेत देख्न सकिन्छ ।
फुङ्लिङ: खेतीपाती गर्न विभिन्न प्रविधिको आविष्कार भएको छ । मेसिनले नै खेत जोत्छ । मेसिनले नै धानको बीउ रोप्छ । तर ताप्लेजुङलगायत पहाडी क्षेत्रमा प्रविधिको प्रयोग हुन सकेको छैन । पहाडी क्षेत्रमा खेतीपाती गर्नका लागि अझै पनि गोरुको प्रयोग गर्नु पर्दछ । मानवीय जनशक्तिको आवश्यक पर्दछ । पहाडी क्षेत्रमा तराई जस्तो समतल जमिन छैन । भिरालो जमिन, थुम्का–थुम्की स–सानो डिलहरु त्यसमा पनि चट्टान, माटो र चट्टान बराबर हुने भएकाले पहाडी क्षेत्रका कृषकले कृषिका लागि अविष्कार भएका मेसिन प्रयोग गर्न सकेका छैनन् । विभिन्न प्रविधिको प्रयोग हुन नसक्नुले पनि पहाडी क्षेत्रमा खेतबारी बाँझिदै गएको कृषि विज्ञ भिङमारे हेल्लोकले बताउनुभयो । कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण गर्न नसक्दा पर्याप्त मात्रामा धानखेती हुन सकिरहेको छैन । धानलाई मुख्यबाली मानिए पनि परम्परागत खेती प्रणाली, आकाशे पानीको भर पर्नुपर्ने बाध्यता, गह्रा सुधार हुन नसक्नु र भिरालो जमिनका कारण आवश्यक उत्पादन हुन नसकेको कृषि प्राविधिक बताउँछन् । युवापुस्ता रोजगारी, अवसर र सेवा सुविधाको खोजीमा विदेश र सहर पसेका कारण यति बेला गाउँमा काम गर्ने जनशक्तिको अभावले खेतीयोग्य जमीन बाँझो हुँदै गएको छ । पछिल्लो समय गाउँघरमा गाईगोरु पाल्न छाडेपछि रोपाइँ गर्न, खेतबारी जोत्ने र मलमूत्रको समेत अभाव झेल्न किसान बाध्य छन् । सरकारले कृषिमा यान्त्रिकीकरण गर्ने भन्दै अनुदानमा विभिन्न सहयोग र कार्यक्रम ल्याए पनि पहाडी क्षेत्रका किसान यान्त्रिकीकरणको प्रयोगबाट वञ्चित रहेको कृषि विज्ञ हेल्लोकले बताउनुभयो । धान रोप्न छोडेर किसान फलफूल खेती, अलैँची खेती जस्ता वैकल्पिक खेती गर्न बाध्य छन् । खेताला पाउन मुस्किल विगतमा गाउँघरमा पर्मा खेल्ने प्रचलन थियो । एक दिन एक परिवारको रोपाइँ र अर्को दिन अर्को परिवारको रोपाइँ गर्ने त्यसरी नै खेतीपाती गर्ने चलन थियो । तर आजभोलि गाउँघरमा पर्मा खेल्ने चलन हराउँदै गएको सिदिङवा गाउँपालिका–४ का अनिता लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो “खेताला पाउनै छोडेको छ ।” खेतालाको ज्यालादर प्रत्येक वर्ष बढ्दै गएको छ । एक खेतालाको रु ५०० ज्याला दिनु पर्दछ । एक हल गोरुको रु एक हजार ज्याला पुगेको सिरिजङ्घा गाउँपालिका–१ आम्वेगुदिनका वडाध्यक्ष असिम कुवँरले बताउनुभयो । ज्याला बढ्दै गए पनि उत्पादन भने घट्दै गएकाले अन्न बाली छोडेर नगदेबालीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । कृषि पेसा अपहेलित गाउँ घरमा भन्ने गरिन्छ, “अहिले राम्ररी पढ । नत्र पछि हलो जोत्दै बस्नु पर्ला ।” समाजमा पढे लेखेकाले जागिर खाने र नपढेकाले कृषि कर्म गर्नु पर्छ भन्ने मानसिकताले जरा गाडेको छ । कृषि प्रविधिक प्रत्येक वर्ष सयौँको सङ्ख्यामा उत्पादन हुन्छन् । कृषि पेसा गर्ने सोच भने हुँदैन । कृषि व्यवसाय सीमितले मात्र अङ्गाल्ने गरेको विज्ञ हेल्लोकको भनाइ छ । कृषकलाई अनुदान र प्रविधिक सहयोग सहुलियत व्याज दरमा ऋणको सहजीकरण हुन सके उर्वर जमिन बाँझो रहने समसइा हट्ने कृषक बताउँछन् । गाउँमै कृषि कर्म गर्न प्रोत्साहन गर्न सके जमिन बाँझो हुनबाट जोगिने फक्ताङलुङ गाउँपालिका–४ का विक्रम माबोहाङले बताउनुभयो । धान रोपाइँ क्रमिक रुपमा घट्दै यसवर्ष ताप्लेजुङको नौ स्थानीय तहमा धानखेतीयोग्य आठ हजार ७३७ हेक्टर क्षेत्रफल जमिनमा धानखेती गरिएको थियो । सो खेतीबाट २२ हजार १७.२४ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय ताप्लेजुङका कृषि प्राविधिक सहायक केदार धितालले बताउनुभयो । गत वर्ष आठ हजार ३०० हेक्टरमा गरिएको खेतीमा २१ हजार ८२ मेट्रिकटन धान उत्पादन भएको थियो । विसं २०७५ मा ताप्लेजुङमा आठ हजार ५६२ हेक्टरमा धानखेती गरिएको थियो । सो खेतीबाट १८ हजार १५१ मेट्रिकटन धान उत्पादन भएको थियो । विसं २०७६ मा आठ अजार ३८.०४ हेक्टरमा धानखेती गरिएकामा २० हजार ७६.९७ मेट्रिकटन धान उत्पादन भएको थियो । विसं २०७७ मा आठ हजार ३००.१५ हेक्टरमा धानखेती गरिएकामा २१ हजार ८२.३८ मेट्रिकटन धान उत्पादन भएको सम्पर्क कार्यालय ताप्लेजुङले जनाएको छ ।
रसुवा: रसुवाको दुर्गम गाउँका बिरामीले अब एम्बुलेन्स सेवा पाउने भएका छन् । बिरामीलाई जिल्ला अस्पताल पुर्याउन र त्यहाँ उपचार हुन नसके अन्यत्र पठाउन अब सहज हुने भएको छ । भारत सरकारको सहयोगमा प्राप्त भएको दुई एम्बुलेन्समध्ये एउटा दक्षिणी भेगको जिबजिवे ग्रामीण अस्पताल तथा अर्को उत्तरी भेगको गोसाइँकुण्ड गाउँपालिका स्याफ्रुबेँसीलाई उपलब्ध गराएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङ उपचार सेवा प्रभावकारी बनाउन एम्बुलेन्सले मद्दत पुग्ने बताउनुहुन्छ । “गाउँपालिकाको ६ वडाका साथै आमाछोदिङ्मो गाउँपालिकाका बिरामीलाई समेत सेवा दिन सकिने छ”, उहाँले भन्नुभयो । यस्तै जिबजिवेस्थित ग्रामीण स्वास्थ्य अस्पतालले प्राप्त गरेको एम्बुलेन्स अस्पतालकै मातहतमा राखी सञ्चालनमा ल्याइने कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले बताउनुभयो । एम्बुलेन्समार्फत छिमेकी जिल्ला नुवाकोटका बासिन्दालाई समेत सेवा दिन सकिने उहाँको भनाइ छ । गोसाइँकुण्ड, कालिका गाउँपालिकाका साथै उत्तरगया गाउँपालिकाले समेत हाल एम्बुलेन्स सञ्चालन गर्दैआएका छन् ।
सुनसरी: सुनसरीको बराहक्षेत्र नगरपालिका–३ भरौलीस्थित चतरा–पकली सडकखण्डमा गए राति सवारी दुर्घटनामा परेर एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहक्षेत्र–५ सिमरवनका ५५ वर्षीय दुखीलाल धामी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को१च ७७९१ नम्बरको टाटा सुमोले सोही दिशातर्फ जाँदै गरेको साइकलयात्री धामीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । गम्भीर घाइते धामीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने चालक उदयपुरको बेल्टार–७ का ४३ वर्षीय समिर ओझालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।