वैदेशिक रोजगारीमा यसवर्ष जिल्लाका १७ को मृत्यु
नवलपरासी | असार ३१, २०७९

नवलपरासी: वैदेशिक रोजगारका क्रममा विभिन्न मुलुकमा गएका नवलपरासी (बर्दघाट–सुस्ता)का १७ जनाले यसवर्ष ज्यान गुमाएका छन् ।
वैदेशिक रोजगारमा श्रम स्वीकृति गराएर गएकामध्ये जिल्लाका १७ जनाको मृत्यु भएको जनाइएको छ ।
वैदेशिक रोजगारका क्रममा विभिन्न मुलुकमा मृत्यु हुनेमा जिल्लाको कावासोती नगरपालिकाका छ, मध्यविन्दु नगरपालिकाका पाँच, गैँडाकोट नगरपालिकाका चार तथा देवचुली नगरपालिका र विनयीत्रिवेणी गाउँपालिकाका एक/एक जना रहेका छन् ।
हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ)का अनुसार वैदेशिक रोजगारमा मृत्यु भएकामध्ये १७ जनाको शव यस वर्ष जिल्लामा ल्याइएको भए पनि मृत्यु हुनेको सङ्ख्या अझै बढी हुनसक्छ । परिवारजनले स्वतःस्फुर्तरुपमा र अन्य माध्यमबाट जिल्लामा शव ल्याउनेको सङ्ख्या ठूलो हुन सक्ने हिकोडेफद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजनाका परामर्शदाता रञ्जना लम्सालले बताउनुभयो ।
सुरक्षित आप्रवासन परियोजनाका जिल्ला संयोजक रीतुराम सोतीले यसवर्ष १२६ ठगीका मुद्दा दर्ता भएकोमा ५५ वटाको छिनोफानो गरिएको बताउनुभयो ।
क्षतिपूर्तिका लागि दर्ता भएका १७४ मुद्दामध्ये १०० जनालाई रु चार करोड ४४ लाख ४३ हजार क्षतिपूर्ति उपलब्ध गराइएको सोतीको भनाइ छ । उद्धारको पर्खाइमा रहेका २५ मध्ये २१ जनालाई उद्धार गरिएको सोतीले जानकारी दिनुभयो । गतवर्ष मात्रै जिल्लाका छ हजार ८२ जनाले श्रम स्वीकृत लिएर वैदेशिक रोजगारमा गएका थिए । अहिले पनि जिल्ला प्रशासन कार्यालय नवलपुरमा दैनिक ८० जना पासपोर्ट बनाउन आउने गरेका छन् । भिजिट राहदानी बनाएर तथा भारतको बाटो हुँदै वैदेशिक रोजगारमा जाने जिल्लावासीको सङ्ख्या ठूलो हुन सक्ने उहाँको भनाइ छ । राष्ट्रिय जनगणना २०७८को प्रारम्भिक तथ्याङ्कअनुसार नवलपुरका ४४ हजार ८७९ (छ हजार ९३७ महिलासहित) जना वैदेशिक रोजगारमा छन् ।
सिन्धुली: काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्लास्थित सुरक्षा समन्वय समितिको बैठकले बीपी राजमार्गमा रातिको सवारी साधन सञ्चालनमा १५ दिनलाई रोक लगाउने निर्णय गरेको छ। शुक्रबार मूल्कोटमा सम्पन्न बैठकले...
पोखरा: पोखरा रंगशालामा सम्पन्न गण्डकी प्रदेश तेस्रो पुरुष टि–२० क्रिकेट प्रतियोगितामा स्याङ्जा च्याम्पियन भएको छ । शुक्रबार सम्पन्न भएको फाइनलमा स्याङ्जाले नवलपुरलाई ४ विकेटले पराजित गर्दै च्याम्पियन...
डोटी: डोटीमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रवार दिउँसो जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर १ दोबाज स्थित दिपायल मौवा मेल्लेख सडक अन्तरगत सुप्रप ०१००१ ज १३९५ नम्ब...