पोखरा: पृथ्वी राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–३२ तल्लो गगनगौँडाबाट भत्केको चौकीसम्म करिब पाँच सय मीटर भन्दा बढी दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन सुरु गरिएको छ । पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक आयोजना पश्चिम खण्ड सडक सुधार तथा चक्ला भइरहेको छ । उक्त सडकको भत्केको चौकीदेखि कोत्रेपुलसम्म सडक मापदण्ड ८२ फिटभित्र सडकदेखि दायाँबायाँ घर अगाडि विभिन्न सरसामान राखिएको तथा अस्थायी संरचना निर्माण गरिँदा पैदल यात्रुलाई हिँडडुल गर्न कठिनाइ भएकाले त्यस क्षेत्रका संरचना हटाउन थालिएको हो । यस सम्बन्धमा तल्लो गगनगौँडाडा बजार व्यवस्थापन समितिको गत जेठ ३० गते बसेको उपभोक्ता भेलाले निर्णय गरी आवश्यक पहलका लागि वडा कार्यालयमा अनुरोध गरिएको समितिका अध्यक्ष भुवानीप्रसाद पौडेलले जानकारी दिनुभयो । यसअघि नै संरचना हटाउन वडा कार्यालयले गत जेठ ३० गते सूचना जारी गर्दै प्रत्येक घरधनीहरूले आ–आफ्नो घर अगाडि मापदण्डमा पर्ने सरसामान, खेती तथा टहरा सूचना जारी भएको मितिले १५ दिनभित्र हटाइ मानिस हिँडडुल गर्न सहज बनाउन अनुरोध गरेको वडाध्यक्ष अक्कलबहादुर कार्कीले जानकारी दिनुुभयो ।
गण्डकी: ९ वर्षपछि हनुमान नाच सुरु हुन लागेको थाहा पाएपछि सोमबार हामी बागलुङ बजारको नारायणचोक पुग्यौँ । सूर्यास्तको समय भइसकेको थियो । घामका पहेँला किरणले नारायणचोक सुनौलो र मनमोहक देखिन्थ्यो । पुरानो लक्ष्मीनारायण मन्दिर, छेवैमा वरपिपल चौतारी, परम्परागत घर, पसल, गल्ली आदिले उहिलेको बागलुङ बजारको झल्को दिन्थ्यो । चौतारी र मन्दिरछेउ ढुङ्गा बिछ्याइएको चौडा गल्लीनेर हामी टक्क अडियौँ । जसलाई स्थानीय नेवार समुदायले ‘अखडा’का रूपमा लिने गर्छन् । हामी त्यहाँ पुग्दा स्थानीयवासीको चहलपहल सुरु भइसकेको थियो । पाकापुरानादेखि बालबालिकासम्म नारायणचोकमा भेला भएका थिए । केहीबेरमा नारायण मन्दिरको अघिल्तिरबाट मृदङ्गा र झ्यालीको ताल गुञ्जिन थाल्यो । ‘अखडा’मा लौरो समाएर तम्तयार भएका युवाहरू सोही तालमा लौरो जुझाउँदै नाच्न थाले । यो क्रम झण्डै डेढ घण्टा चल्यो । युवाहरू नौ वर्षको अन्तरालमा आगामी भदौ ११ देखि सुरु गर्न लागिएको ऐतिहासिक हनुमान नाचको प्रशिक्षण लिँदै थिए । नाच र वाद्यवादनमा पारङ्गतहरूबाट युवाहरूले उक्त कला सिकिरहेका थिए । बागलुङको नेवार समुदायमा प्रचलित हनुमान नाचको पूर्वाभ्यास सँगसँगै नयाँ पुस्तामा उक्त नाचबारेको ज्ञान, कला र शिल्प सिकाउने उद्देश्यले हनुमान नाच संरक्षण परिषद्ले सो प्रशिक्षण चलाएको हो । यही साउन १ गतेदेखि सुरु भएको उक्त प्रशिक्षण यो महिनाभर चल्नेछ । पहिलोपटक प्रशिक्षण लिइरहनुभएका अनिल प्रधानलाई हामीले नारायणचोक भेट्यौँ । ऐतिहासिक नाचको सदस्य कलाकार हुन पाउँदा आफू उत्साहित उहाँले हामीसँग सुनाउनुभयो । “म लगायत केही युवा साथी पहिलोपटक हनुमान नाच नाच्दैछौँ, अग्रजहरूबाट आफ्नो सांस्कृतिक नाच सिक्न पाउँदा हामी खुसी छौँ”, उहाँले भन्नुभयो । नेपाल भाषा मंका खलः बागलुङका सचिव सुदीप राजभण्डारीले आफू तेस्रोपटक हुनमान नाच नाच्न लागेको बताउनुभयो । “हाम्रा परम्परागत नाच, गीत नयाँ पुस्तामा हस्तान्तरण नहुँदा लोप हुने खतरा छ, यिनको जगेर्नाका लागि पनि बेलाबेलामा अभ्यास तथा प्रशिक्षण भइरहनुपर्छ”, उहाँले भन्नुभयो, “यसपालिको हनुमान नाचमा नयाँ पुस्ताको उल्लेख्य सहभागिता रहनेछ, नाचको अभ्यासका क्रममा पनि किशोर र युवाहरूको आकर्षण बढी देखिएको छ ।” प्रशिक्षण सहभागीमध्ये झण्डै ४० जना नाचका लागि छनोट हुनेछन् । तीमध्ये अधिकांश युवा रहनेछन् । वाद्यवादनतर्फ पनि आठदेखि दस जनासम्म छनोट हुने जनाइएको छ । विसं २०७२ पछि यो वर्ष विधिवत रूपमा हनुमान नाच देखाउने तयारी भइरहेको परिषद्का अध्यक्ष तीर्थप्रसाद श्रेष्ठले बताउनुभयो । त्यसअघि विसं २०६३ मा उक्त नाच प्रदर्शन गरिएको थियो । तीन, पाँच, सात र नौ गरी बिजोड वर्ष पारेर नाच नचाउने परम्परा रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । “भदौ ११ गते मङ्गलबारदेखि सुरु हुने नाच चैतको अन्तिम मङ्गलबार बिर्सजन हुनेछ”, उहाँले भन्नुभयो । भदौको पहिलो या दोस्रो मङ्गलबार पारेर नारायणचोकमा हनुमानको मूर्ति प्रतिस्थापन गरी पूजा विधि गरेपछि हुनमान नाच सुरु गर्ने चलन छ । सोही दिन भीमसेनको मन्दिरमा विशेष पूजाआजा गरी बोका बलि दिने परम्परा रहिआएको छ । पौराणिककालका वीर हनुमानको आराधानाले शक्ति प्राप्त हुनुका साथै सुख, समृद्धि प्राप्त हुने विश्वासमा हनुमान नाच नाच्ने गरिएको संस्कृतिकर्मी प्रेम छोटाले बताउनुभयो । रामायणका प्रमुख पात्र रहेका हनुमानमा निहित पराक्रम, वीरता, अनुशासन र भक्तिभावलाई नृत्यको माध्यमबाट प्रदर्शन गरिने उहाँको भनाइ छ । “नाचमा १३ जोडी कलाकारले हनुमानको स्वरुप धारणा गरेर दिने प्रस्तुति कलात्मक हुन्छ, विभिन्न दश तालमा यो नाच नाचिन्छ”, उहाँले भन्नुभयो, “यो पाँच सय वर्षभन्दा पहिले भक्तपुरबाट सुरु भएको नाच हो, पछि त्यहाँबाट बागलुङ बसाइँ सरेर आएका नेवारहरूले हुनमान नाचको संस्कृति पनि सँगै ल्याए ।” बागलुङमा नेवार समुदायको इतिहास झण्डै साढे तीन सय वर्ष पुरानो छ । विसं १७६८ मा पहिलोपटक नेवार जाति बागलुङ प्रवेश गरेको इतिहासमा उल्लेख रहेको संस्कृतिकर्मी छोटाले बताउनुभयो । उहाँका अनुसार हनुमान नाच मल्लकालीन समयमा भक्तपुरका राजा भुपतिन्द्र मल्लले हनुमान नाच सुरु गरेका थिए । हनुमान नाच मङ्गलबार, बिहीबार र शनिबार नाच्ने पराम्परा रहेको उहाँको भनाइ छ । नेवारबाहेक अन्य समुदायका कलाकारले पनि नाचमा भाग लिन पाउँछन् । बागलुङ बजारका विभिन्न टोल, बस्ती र माग भए जिल्लाबाहिर पनि पुगेर नाच देखाइने हनुमान नाचका प्रधान कजी ९व्यवस्थापक० ईश्वर मलेपतीले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि काठमाडौँ, भक्तपुर, पोखरा, भैरहवालगायत ठाउँमा उक्त नाच प्रदर्शन गरिएको थियो । भक्तपुरबाट सुरु भए तापनि हुनमान नाच बागलुङ, बेनीलगायत सीमित ठाउँमा मात्र संरक्षित रहेको उहाँको भनाइ छ । “धेरै कलाकार चाहिने हुँदा यो नाच महँगो पनि छ, पूजाआजा, पोशाक, वाद्ययन्त्रलगायत सामग्री व्यवस्थापनमा पनि खर्च बढी हुन्छ”, उहाँले भन्नुभयो । नाच सञ्चालनका लागि प्रधान कजी ९व्यवस्थापक०, उपप्रधान कजी, कजी, पूजारी, वाद्यवादक, कलाकारलगायत एकैपटक सयौँ व्यक्ति खटिनुपर्छ । हनुमान नाच बागलुङकै सांस्कृतिक धरोहरका रूपमा रहेको उहाँले बताउनुभयो । देवालय, सलामी, छ ताल, आठ ताल, १२ ताल, २४ ताललगायत गरी दश तालमा कलाकार नाच्ने गरेको वाद्यवादक निरज शाक्यले बताउनुभयो । पुच्छरसहित हनुमानको भेष पहिरेका कलाकार एकापसमा लौरो जुझाउँदै मृदङ्ग र झ्यालीको तालमा नाच्ने गरेको उहाँको भनाइ छ । नाच्ने क्रममा कतिपयलाई ‘वीर’ उत्रने गरेको छ । “बाजाको ताल छोपेर नाचिरहेका बेला कतै ताल बिग्रियो भने पनि वीर उत्रने गर्छ, बाहिरका व्यक्तिलाई पनि वीर उत्रन सक्छ”, उहाँले भन्नुभयो, “वीर उत्रेर शरीर काँप्ने, दौडने गरेमा पुजारीबाट धूप सुँघाएर सामान्य अवस्थामा फर्काउने गरिन्छ ।” हनुमान नाचका अग्रज कलाकार शाक्यले पौराणिक ग्रन्थ रामायणको कथाका विभिन्न घटना तथा प्रसङ्गमा आधारित रहेर ताल र नाचको संयोजन गरिएको बताउनुभयो । “हुनमानले लङ्का घेरेकोदेखि लडाइँ जितेर विजयोत्सव मनाएकोसम्मका भाव र विषयलाई नाचद्वारा प्रस्तुत गरिन्छ”, उहाँले भन्नुभयो । बलियो हुने र आवाज पनि राम्रो आउने हुँदा नाचमा पलाँसको लौरो प्रयोग गर्ने गरिएको छ । हुनमान नाचका मुख्य कलाकार ९ज्यामाको० नाच्न थालेपछि मात्र अन्य कलाकारले नाच्न सुरु गर्दछन् । नाचको उत्पत्ति भएको भक्तपुरबाटै लोप हुन लागेको हनुमान नाचको संस्कृति बागलुङमा भने जीवित रहेको संस्कृतिकर्मी छोटाले बताउनुभयो । पछिल्लो समय युवापुस्ता पनि हनुमान नाचप्रति आकर्षित भएकामा उहाँले खुसी व्यक्त गर्नुभयो । विसं २०४६ मा हनुमान नाच संरक्षण परिषद् गठन भएपछि बागलुङमा नाचको संरक्षण तथा प्रवर्द्धनमा संस्थागत पहल सुरु भएको हो । नेपाल भाषा मंका खलः बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले पुस्तान्तरण नहुँदा नेवार समुदायमा प्रचलित कतिपय नाच लोप हुने अवस्थामा रहेको बताउनुभयो । बसाइँसराइ, युवाहरू पढ्न बाहिर जाने प्रवृत्तिले पुरानो कला, संस्कृति जोगाउने चुनौती थपिएको उहाँको भनाइ छ । “सांस्कृतिक पर्वमा नाच्ने, गाउने, बजाउने पुराना पुस्ताका धेरै कलाकार अहिले काठमाडौँ, पोखरालगायत सहरमा छन्”, उहाँले भन्नुभयो, “नयाँ पुस्तालाई पनि आफ्नो इतिहास, भाषा, कला र संस्कृतिप्रति उतिसाह्रो रुचि छैन, पढ्न र रोजगारीका लागि बाहिर जाने प्रवृत्ति बढ्दो छ ।” अध्यक्ष राजभण्डारीले अहिलेसम्म जेनतेन धानिएको नेवारी संस्कृति सङ्कटोन्मुख रहेको बताउनुभयो । उहाँले विसं २०४६ पछिको परिवर्तन र आधुनिक विकासले पनि परम्परामा मार थपिएको धारणा राख्नुभयो । “पहिले कृषिमा आधारित समाज र जीवनशैली थियो, मानिसहरू एकै ठाउँमा बस्थे”, उहाँले भन्नुभयो, “अहिले आप्रवासन बढ्दो छ, युवापुस्ता बाहिर छ, यसले पनि पुरानो संस्कृति संरक्षणमा चुनौती थपेको छ ।”
चितवन: भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरासँगै बगेर त्रिशूलीमा खसेका दुईवटा बस तथा यात्रुको आज १२औँ दिन पनि खोजी जारी छ । घटनास्थल सिमलतालबाट घुमाउने हुँदै केदाबारीसम्म शङ्कास्पद वस्तु देखिएपछि दोहोर्याएर खोजतलास गर्न लागिएको हो । नेपालको सुरक्षाकर्मी सहित भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेशनल डिजास्टर रेस्पोन्स फोर्स’बाट १२ जनाको प्राविधिक टोलीद्वारा संयुक्त खोजतलास भइरहेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सो क्षेत्रमा राडरले शङ्कास्पद वस्तु देखाएपछि आज बिहान पुनः खोजतलास थालिएको छ । भारतीय टोलीले धमिलो बेगमा बगेको पानीमा कम काम गरेकाले कठिनाइ भइरहेको जनाउँदै उहाँले शङ्कास्पद वस्तु भएको अनुमानसँगै पुनः सोही ठाउँमा खोजतलास थालिएको बताउनुभयो । यसअघि भेटिएका भनेका २५ शवमध्ये सनाखत नभएका सातमध्येको एक शव यो घटनाभन्दा बाहिरको रहेको खुलेको छ । प्रजिअ यादवका अनुसार पाल्पाकी नदीमा हामफालेकी एक महिलाको सनाखत भएपछि भेटिएका शवको सङ्ख्या २४ मा झरेको छ । तीमध्ये छजनाको सनाखत हुनसकेको छैन । चितवनका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समिति र भारतीय प्राविधिक टोलीबीच शनिबार संयुक्त बैठक बसी आइतबार बिहानदेखि खोजी सुरु गरिएको थियो । आइतबारदेखि सोनार क्यामेरासहित खोजी थालेको संयुक्त टोलीले सिमलतालबाट घुमाउने, देवघाट, काभ्रेघाटसम्मको क्षेत्रमा खोजतलास गरिसकेको छ । सनाखत भएका शवमा १६ पुरुषको छ भने दुईवटा महिलाको छ । त्यस्तै सनाखत भएका शवमध्ये १३ नेपाली नागरिकका छन् भने पाँच भारतीय नागरिकका छन् ।
म्याग्दी: म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पहिराले यातायात प्रभावित बनाएको छ । स्तरोन्नतिका क्रममा रहेको बेनीबाट मुस्ताङ लेतेसम्मको खण्डमा रहेका पहिरो, कटान र बाढीका कारण यातायात प्रभावित हुने गरेको छ । बर्खायामसँगै यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र पहिरो पन्छाउने काममा राज्यको ब्यभार बढेको छ । म्याग्दी खण्डमा ५० भन्दा बढी ठाउँमा साना–ठूला पहिरो र कटानका कारण बर्खायाममा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । “सडक विस्तारसँगै नयाँ–नयाँ पहिरा सिर्जना भएका छन”, उहाँले भन्नुभयो, “सडक छेउछाउका बस्तीमा पनि जोखिम बढाएको छ ।” म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा, मुस्ताङ भ्रमणमा जाने र फर्कने पर्यटक तथा तीर्थयात्री सडकको दुरावस्थाका कारण पीडित भएका छन् । कतिपय स्थानीयवासी, पर्यटक र तीर्थयात्री मुस्ताङ आवतजावत तथा बिरामी अस्पताल लैजान हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था छ । राहुघाट, चमेरे, बैसरी, सिरुबारी, बेगखोला, महभिर, नौलीबगर, गुइँठेभिर, खामभित्ता, लाटोखोला, रुप्से, घाँसाको खहरेखोला, कैह्कुखोला, लेते क्षेत्रमा ठूला पहिरो छन् । पहिरोका अतिरिक्त ठाडो खोलामा आउने बाढी र कालीगण्डकीको कटान पनि बेनी–जोमसोम सडकको मुख्य चुनौती बनेको छ । हिउँदभर स्तरोन्नतिको काम भएको म्याग्दी खण्डको अधिकांश सडकमा पहिराले क्षति भएको छ । गुडिरहेका सवारीसाधनमाथि पहिरो खसेर क्षति हुने भएकाले पानी परेको र रातको समयमा आवतजावत नगर्न अनुरोध गरिएको छ । गलेश्वर–तातोपानी खण्डको ठेकेदार कम्पनी शर्मा युनाइटेडका इन्जिनियर सुमन भट्टराईले कालोपत्र गरिएको सडक भत्किएर र पुरिएर क्षति भएको बताउनुभयो । “बेगखोला–तातोपानी खण्डको आठ किलोमिटरमा गत हिउँदमा गरिएको डिबिएसडी प्रविधिको कालोपत्र सडक पहिरो खसेर क्षति भएको छ”, उहाँले भन्नुभयो, “नयाँनयाँ ठाउँबाट पहिरो खस्ने र कुनातर्फ नयाँ पानीको मुल फुटेर नालीभन्दा बाहिरबाट बग्न थालेपछि समस्या भएको छ ।” नागढुङ्गा–घाँसा खण्डको ठेकेदार कम्पनी शर्मा–जगुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले विगतका वर्षमा पहिराले दुःख दिने काभ्रे, घोप्टेभिर र बादरजुङ भिरमा ढलान गरिएपछि यसपालि समस्या नभएको तर अन्य ठाउँमा क्षति भएको बताउनुभयो । “यहाँको प्रतिकूल भूगोल र मौसमले डिबिएसडी कालोपत्र गर्ने डिजाइन नै परिवर्तन नभएसम्म काम गर्न सकिने देखिएन”, उहाँले भन्नुभयो, “हिउँभर सडकमा बनाएको संरचनालाई बर्खाको पहिराले छियाछिया बनाएको छ ।” सडक निर्माण गर्दा पहिरो जाने सम्भावित क्षेत्रको अध्ययन नभएको र त्यहीअनुरुप डिपिआर निर्माण नगरिएकाले नियन्त्रणका लागि विस्तृत अध्ययन गरेर योजना सञ्चालन गर्न भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा योजना र बजेट माग गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख धु्रवकुमार झाले बताउनुभयो । सडक विभागको डोजर, लोडर र ब्याकुहोलोडर तथा प्राविधिकलाई तयारी अस्वस्थामा राखेर पहिरो पन्छाएर अस्थायी रूपमा यातायात सञ्चालन गर्ने व्यवस्था मिलाए पनि दीर्घकालीन समाधानका लागि बजेटको अभाव भएको आयोजना प्रमुख झाले बताउनुभयो ।
म्याग्दी: म्याग्दीमा गण्डकी प्रदेश सरकारमार्फत सञ्चालन भएका आयोजनाबाट आठ किलोमिटर बढी सडक कालोपत्र भएको छ । आर्थिक वर्ष २०८०/८१ मा पूर्वाधार विकास कार्यालय म्याग्दीले सञ्चालन गरेका सडक योजनामार्फत करिव आठ किमी सडक कालोपत्र र चार किमी सडक ढलान भएको हो । सडक स्तरोन्नति आयोजनामार्फत सडक ढलान, कालोपत्र र पहुँच विस्तारको काम भएका पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख इन्जिनियर विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । प्रदेश सरकारमार्फत सञ्चालित रणनीतिक महत्वको बेनी–दरबाङ सडकखण्डअन्तर्गत मङ्गला गाउँपालिका–२ सिमबाट तोराखेत–बाबियाचौर–लाम्पाटा–पानाबगर हुँदै रणवाङको सिमानासम्म तीन किमी सडक डिबिएसडी कालोपत्र गरिएको कार्यालय प्रमुख पौडेलले बताउनुभयो । त्यसैगरी ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’अन्तर्गत गलेश्वर–पिप्ले–भगवती–बेग सडकको पिप्ले–भगवती खण्डमा पाँच किमी डिबीएसडी प्रविधिको कालोपत्र र पाँच सय मिटर ढलान भएको छ । यस सडकबाट पिप्ले, भगवती र बेगखोलाका तीन वडाका तीन हजारभन्दा बढी घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् । मालिका गाउँपालिकाको केन्द्र दरवाङको उपल्लो बजारमा चार सय २४ मिटर सडक कालोपत्र भएको छ । त्यसैगरी मालिकाको केन्द्र दरवाङबाट सोही पालिकाको वडा नं ५ फेदी हुँदै धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकको धारापानीसम्म छ किमी सडक स्तरोन्नति गर्ने काम यसै वर्ष सकिएको छ । नयाँ मार्ग खोल्ने, ग्रेड सुधार, विस्तार, नाली निर्माण, ग्रेड, घुम्ती सुधार र ढलान भएपछि धवलागिरि गाउँपालिकालाई यातायात सञ्जालसँग जोड्ने दरवाङ–धारापानी–ताकम–मुना सडकको दरवाङ–धारापानी खण्डको यात्रा सहज बनेको स्थानीयवासी किरण थापाले बताउनुभयो । कार्यालय प्रमुख पौडेलका अनुसार एक वर्षको अवधिमा म्याग्दीमा दुईवटा मोटरेबल पुल, एक झोलुङ्गे पुल, ३१ कल्भर्ट र १२ कजवे निर्माण गरिएको छ । एघार किमी बढी नयाँ सडकको पहुँच निर्माण भएको छ । बाह्र दशमलव दुई सय नौ किमी सडक ग्राभेल, दुई किमी नाली निर्माण र १७ हजार दुई सय ८६ घनमिटर ग्याविन जाली तथा मेसिनरी पर्खाल निर्माण भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा जिल्लामा अधुरा अवस्थामा रहेका पुराना बहुवर्षीय क्रमागत योजनालाई लयमा फर्काउनुका साथै सातवटा रणनीतिक महत्वका सडक स्तरोन्नति र थप दुई ठाउँमा मोटरेबल पुल निर्माण गर्न बहुवर्षीय योजना कार्यान्वयन गरिएको कार्यालयका इन्जिनियर अर्जुन शर्माले जानकारी दिनुभयो । एक वर्षका अवधिमा क्रमागत, नयाँ बहुवर्षीय र सालबसालीसहित ८० भन्दा बढी योजना कार्यान्वयन गरिएको उहाँले बताउनुभयो ।
झापा: पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले २०८०/८१ मा रु ८५ करोड ४२ लाख ५६ हजार मूल्य बराबरको १७ हजार सात सय ९७ मेट्रिक टन कोदो भारतबाट आयात भएको जानकारी दिनुभयो । उहाँका अनुसार आव २०७९/८० मा रु ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो भारतबाट आयात भएको थियो । नेपालमा कोदो बाली उत्पादन घट्दै जाँदा भारतलगायत तेस्रो देशबाट कोदोको आयात बढेको सूचना अधिकारी ठाकुरले बताउनुभयो । पूर्वी पहाडी जिल्लामा यथेष्ट उत्पादन हुने फर्सी विक्री नहुँदा किसान गाईभैँसीलाई खोले पकाएर खुवाउँछन् । तर त्यही फर्सी बजारमा भने भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । उहाँले सोही अवधिमा फर्सी मात्र रु २१ करोड १४ लाख ८० हजारको १० हजार पाँच सय ७४ मेट्रिक टन आयात भएको जानकारी दिनुभयो । उहाँका अनुसार गत एक वर्षमा रु एक अर्ब दुई करोड २२ लाख ६० हजार मूल्य बराबरको ५१ हजार एक सय १३ मेट्रिक टन गोलभेँडा, रु २९ करोड ५७ लाख ४० हजार मूल्य बराबरको १४ हजार सात सय ८७ मेट्रिक टन हरियो खुर्सानी पूर्वीनाका हुँदै भारतबाट भित्रिएको छ । सोही अवधिमा रु ५७ करोड ७३ लाख ८० हजार मूल्य बराबरको २८ हजार आठ सय ६९ मेट्रिक टन करेला, रु ३० करोड सात लाख ८० हजार मूल्य बराबरको १५ हजार २९ मेट्रिक टन भिन्डी र रु १५ करोड ६७ लाख २० हजार मूल्य बराबरको सात हजार आठ सय ३६ मेट्रिक टन सिमी आयात भएको सूचना अधिकारी ठाकुरले जानकारी दिनुभयो । पूर्वीनाकाबाट सोही अवधिमा रु १३ करोड आठ लाख ४० हजार मूल्य बराबरको छ सय ९२ मेट्रिक टन प्याज, रु २५ करोड ६५ लाख ६० हजार बराबरको १२ हजार आठ सय २८ मेट्रिक टन परवल, रु ६७ करोड ७० लाख मूल्य बराबरको तीन हजार आठ सय ३५ मेट्रिक टन घिरौला, रु ११ करोड १७ लाख मूल्य बराबरको पाँच हजार पाँच सय ८५ मेट्रिक टन गाजर, रु ३१ करोड ५० लाख मूल्य बराबरको एक हजार पाँच सय ७५ मेट्रिक टन स्कुस र रु तीन करोड ८० लाख ४० हजार बराबरको एक हजार नौ सय दुई मेट्रिक टन तरुल भारतबाट आयात भएको तथ्याङ्कले देखाउँछ । मधेसबाट हिमाली जिल्लासम्म उत्पादन हुने फापरसमेत भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । सूचना अधिकारी ठाकुरका अनुसार एक वर्षमा रु एक करोड ३५ लाख ८५ हजार मूल्य बराबरको दुई सय नौ मेट्रिक टन फापर, रु चार करोड ६१ लाख ७६ हजार मूल्य बराबरको एक हजार चार सय ४३ मेट्रिक टन मकै (पशु दाना_ आयात भएको छ । कार्यालयका अनुसार सोही अवधिमा रु चार अर्ब ८७ करोड ६५ लाख १८ हजार बराबरको ९८ हजार तीन सय ९४ मेट्रिक टन फलफूल तथा चामल, रु १७ करोड २८ लाख २४ हजार बराबरको सात हजार दुई सय एक मेट्रिक टन र दलहन (गेडागुडी) रु दुई करोड ४० लाख ९६ हजार मूल्यको आयात भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । भारतबाट आयातित तरकारीका कारण स्वदेशमा किसानले उत्पादन गर्दै आएको तरकारी बाली बजारमा बिक्री नभएको किसानको गुनासो छ ।
काठमाडौं: काभा यु–२० महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ । माल्दिभ्सको मालेमा गए राति सम्पन्न खेलमा कीर्गिस्तानसँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो । नेपालले पहिलो सेट १४–२५, दोस्रो सेट २२–२५ र तेस्रो सेट १३–२५ ले गुमायो । लिग चरणबाट कीर्गिस्तान दोस्रो र नेपाल तेस्रो स्थानमा रहेर सेमिफाइनल पुगेका थिए । लिग चरणमा पनि नेपाल कीर्गिस्तानसँग ३–० कै सोझो सेटमा पराजित भएको थियो । अब नेपालले तेस्रो स्थानका लागि आजै माल्दिभ्सको सामना गर्नेछ । फाइनलमा भने कीर्गिस्तान र श्रीलङ्का भिड्नेछन् । पहिलो सेमिफाइनल खेलमा श्रीलङ्काले माल्दिभ्सविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।
काठमाडौं: नेपाली महिला राष्ट्रिय भलिबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा पनि रसियन टोलीसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० कभर्डहलमा आज भएको खेलमा नेपाल रसियन टोलीसँग ३–० को सोझो सेटमा पराजित भएको हो नेपालले पहिलो सेट १४–२५, दोस्रो सेट २३–२५ र तेस्रो सेट २२–२५ ले गुमायो । आइतबार सम्पन्न पहिलो मैत्रीपूर्ण खेलमा पनि नेपाल ३–० कै सेटमा पराजित भएको थियो । नेपालस्थित रसियन दूतावासको विशेष सहयोगमा मैत्रीपूर्ण खेल भएको हो ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी हुँ भन्दै सर्वसाधारणसँग रकम माग गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरी हुँ भन्दै सर्वसाधारणसँग रकम माग गरेको आरोपमा लामाचौरका २१ वर्षीय सुजित क्षेत्रीलाई हिजो (आइतबार) पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए । ‘कास्की प्रहरीको सूचना अधिकारी हुँ,तपाईहरुको केही काम काम छ भने भन्नुहोस् गरिदिन्छु, भन्दै ह्वाटएप र टेलिग्रामबाट सम्पर्क गरी विभिन्न व्यक्तिहरुलाई रकम माग गरेको सूचनाको आधारमा पक्राउ गरेका हौं ।’, डिएसपी शर्माले भने । पक्राउ परेका उनलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि कास्की प्रहरीले जनाएको छ ।