सिन्धुपाल्चोक: गएरातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुको केही वडालाई सो अस्थायी पुल जोडेको थियो । पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान अहसज भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङका अनुसार वर्षा सुरु भएसँगै रातिको वर्षाले पुलमा क्षति पुगेको जनाउँदै अब ह्युमपाइप झिकेर सुरक्षित राखिने बताउनुभयो ।
पोखरा: पोखरा महानगरपालिकाको नीति कार्यक्रम प्रस्तुत भएको छ । सभागृहमा आयोजित महानगरपालिकाको १५ औँ नगरसभामा नगरप्रमुख धनराज आचार्यले आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि तय गरिएको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । महानगरले राजश्व प्रणालीलाई प्रविधि प्रयोग गरी सरल, सहज र विश्वसनीय बनाउँदै घरबाटै राजश्व दाखिला गर्न सकिने गरी अनलाइन सेवालाई प्रभावकारी बनाउने नीति लिएको छ । पूर्व राष्ट्रसेवकहरूको ज्ञान, सीप, दक्षता तथा अनुभवलाई महानगरपालिकाको समृद्धिमा उपयोग गर्न पूर्व राष्ट्रसेवक सम्मान तथा परिचालन नीति निर्माण गरी कार्यान्वयन गर्ने समेत जनाएको छ । महानगरपालिकाको नीति, योजना तथा प्राथमिकतामा परेका जनसरोकारका महत्त्वपूर्ण विषयहरूलाई तत्काल सम्बोधन गर्न तत्काल सुधार योजना निर्माण गरी कार्यान्वयन गर्ने महानगरपालिकाले जनाएको छ । महानगरले सार्वजनिक खर्च व्यवस्थापनलाई विधिसम्मत बनाउँदै बेरुजु सम्परीक्षणलाई प्राथमिकतामा राखी छुट्टै बेरुजु सम्परीक्षण कार्यदल गठन गरी परिचालन गर्ने नीतिमा उल्लेख गरेको छ । राजश्व परिचालनमा समेत योगदान पुग्ने गरी सम्पत्ति कर, मालपोत र भूमि करलाई व्यवस्थित गर्न जि आइस ट्रयाकिङ प्रणालीको विकास गरी कार्यान्वयन गर्ने र घर र कोठा बहालमा दिने तथा बहालमा लिन चाहनेलाई सहज हुने गरी छुट्टै वेभ प्रणाली विकास गरी बहाल करलाई महानगरपालिकाको करको दायरामा ल्याउने महानगरपालिकाले जनाएको छ । आयोजना बैङ्क व्यवस्थापन प्रणाली लागू गर्ने, विकास खर्चलाई रोजगारीसँग आबद्ध गर्ने, सार्वजनिक जग्गाको अभिलेखीकरण र संरक्षण गर्ने, विपद् व्यवस्थापनका लागि स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र र पूर्व सूचना प्राप्त हुने पूर्व चेतावनी प्रणाली सञ्चालन, विपद्मा खोज, उद्धार र राहतका लागि द्रुत प्रतिकार्य समूह गठन, विपद् व्यवस्थापन केन्द्र स्थापना तथा डिजिटल पोखराको अवधारणा अनुरूप एकीकृत सूचना तथा सेवाप्रबाह प्रणालीको विकास गरी कार्यान्वयन गरिने छ । यस्तै नव–प्रवर्तन तथा स्टार्टअप उद्यम व्यवसायको विकास तथा प्रवर्द्धनका लागि नीजिक्षेत्र सँगको सहकार्यमा विजिनेश इन्क्यूवेशन सेन्टर स्थापना र पर्यटन राजधानी पोखराको विकासलाई योजनाबद्ध रूपमा अघि बढाउन पर्यटन राजधानी पोखरा एकीकृत रणनीतिक कार्य योजना कार्यान्वयन गरिनेछ । ३३ वटै वडाको मौलिकता तथा विशिष्टताको पहिचान दिने गरी एक वडा एक विशिष्ट कार्यक्रम अभियानका रूपमा सञ्चालन गर्ने महानगरपालिकाले जनाएको छ । पोखरा पहिचान जेठो बुढो, उखु, मह, कफी लगायतका स्थानीय मौलिक उत्पादनको विस्तार, व्यवसायीकरण बजारीकरणमा प्रोत्साहन गरिनेछ । दिगो कृषिको आधार प्राङगारिक खेतीको विस्तारको अभियान अन्तरगत प्राङगारिक पकेट क्षेत्र घोषणा गरी वातावरणमैत्री सहरी कृषिलाई प्रवर्द्धन गरिनेछ । बाँदरको क्षति न्यूनीकरण गर्न वैकल्पिक तथा सुरक्षित कृषि बालीको सम्भाव्यता अध्ययन गरी बाँदरले मन नपराउने तर किसानलाई फाइदा हुने कृषि बालीको विकास तथा प्रवर्द्धन गरिनेछ भने, महानगरपालिका क्षेत्रभित्र कृषियोग्य बाझो जमिनलाई व्यावसायिक कृषि गर्न इच्छुक लगानीकर्तालाई जग्गा उपलब्ध गराई उत्पादन तथा उत्पादकत्वमा अभिवृद्धि गर्न भूमिबैंक लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने महानगरको नीति छ । हिउँदे बालीको क्लष्टरमा कृषि खेती प्रवर्द्धन, सिँचाइ सुविधामा वृद्धि, थोपा सिँचाइ, प्लास्टिक पोखरी, लिफ्ट सिँचाइ कुलो तथा पाइप सिँचाइलाई अभियानकै रूपमा सञ्चालन तथा विस्तार गरिनेछ । मेकइन पोखरा मेडइन पोखरालाई प्राथमिकतामा राखी स्थानीय उत्पादनको विकास, विस्तार र प्रवर्द्धन गर्ने महानगरले नीति लिएको छ । पर्यटन राजधानी पोखरामा स्वदेशी तथा विदेशी लगानीकर्ताहरूको लगानी बैठक आयोजना गर्ने, सन् २०२५ लाई पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरी पोखरामा पर्यटक आगमन सङ्ख्या कम्तीमा १५ लाख पुर्याउने महानगरले जनाएको छ । साथै नेपालमा आउने बाह्य पर्यटकहरू मध्ये कम्तीमा ६० प्रतिशत पोखरा आउने वातावरण बनाउन तदनुरूप रणनीति अवलम्बन गरिनेछ । पोखरा सबै मौसमका लागि भन्ने मान्यता स्थापित गर्न विद्युतीय माध्यमको प्रयोगलाई अधिकतम उपयोग गरी प्रचारप्रसार गरिनेछ । सीमपानीमा कालिगंगा तथा सेती गङ्गाको जलसिंचित शालिग्राम सहितको मुक्तीक्षेत्र प्रवेशद्वार, फेवातालको उत्तर पश्चिमी खण्डमा मडड्याम, कोत्रे मजुवामा वहुसुविधायुक्त इन्ट्रान्स पार्क, हर्पनखोला र फेवातालको सङ्गममा फेवाबिच निर्माण गरिनेछ । फेवाताल जाने सडकको सहिद चोकदेखि हल्लनचोक सडक खण्ड र सिद्धार्थ चोक देखि विन्ध्यवासिनी सम्मको सम्पदा बस्ती क्षेत्रमा वैकल्पिक यातायात व्यवस्थापन गरी क्रमशः पैदलीकरणलाई प्रोत्साहन गरिनेछ भने, उक्त क्षेत्रलाई सम्पदा सङ्ग्रहालयको रूपमा विकास गरिनेछ । रत्न मन्दिर र परिसरको संरक्षण र प्रवर्द्धन गरी उक्त मन्दिरलाई प्यालेस म्युजियमको रूपमा विकास गरिनेछ । सार्वजनिक यातायातलाई तोकिएको रुट अनुसार सञ्चालन, स्याटलाइट बसपार्क निर्माण, बहुतले पार्किङ स्थल निर्माण तथा नगर क्षेत्रमा मेट्रो ट्याक्सी सञ्चालन गर्ने नीति महानगरपालिकाले लिएको छ । पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणका लागि अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई आह्वान गर्ने, सन् २०४३ सम्म पोखरालाई कार्बन तटस्थताको लक्ष्य हासिल गर्न नगर स्तरीय ऊर्जा योजना तथा कार्बन तटस्थ विकासको मार्गचित्र सम्बन्धी रणनीतिक कार्य योजना कार्यान्वयन गर्ने, नगर क्षेत्रमा स्मार्ट ट्रान्सपोर्टेशन प्रणाली लागू गर्दै विद्युतीय सवारी साधनको प्रयोगको अनुपात वृद्धि गर्ने महानगरको तयारी छ । पर्यटन प्रवर्द्धनका लागि लेक टु लेक, केभ टु केभ तथा कोट टु कोट पदमार्ग निर्माण कार्यलाई अघि बढाउने महानगरको नीति छ । रानी पौवा स्थित पोखराको पुरानो नगरपालिका कार्यालय भवनलाई पोखरा स्मृति सङ्ग्रहालयको रूपमा विकास गर्ने महानगरपालिकाले जनाएको छ । सिमसार क्षेत्रको संरक्षण, सार्वजनिक स्थलहरूको संरक्षण, बेगनास तालमा वाटर स्पोट्र्स आयोजना, ३३ वटै वडामा कम्तीमा एक पर्यटकीय गन्तव्यको पहिचान, विकास तथा प्रवर्द्धन गरिनेछ । पोखरा उपत्यका चक्रपथको सम्भाव्यता अध्ययन, पोखरा सभागृहको मर्मत सम्भार र प्रबलीकरण, पोखरा घर निर्माण, कोशेलीघर निर्माण गरिनेछ । उज्यालो पोखरा अभियान, दिगो तथा वातावरणमैत्री एकीकृत यातायात प्रणालीको विकास, पोडवे सञ्चालनका लागि सम्भाव्यता अध्ययन, खोलानालाहरूको संरक्षण, विकास तथा प्रवर्द्धन, विन्ध्यवासिनी बसपार्कको स्तरोन्नति, पोखरा बसपार्क निर्माण तथा लामे आहालमा क्षेत्रीय बसपार्क निर्माण कार्य अघि बढाउन आवश्यक समन्वय गर्ने महानगरले जनाएको छ । पातले छाँगो सिसा पुल निर्माण तथा पूर्वाधार विकास आयोजना, सेती नदिको खोँच पर्यटन पूर्वाधार विकास आयोजना, मोहोरे आयोजना, फेवातालका श्रोत नदीमा चेक ड्याम निर्माण आयोजना, पोखरा महानगरपालिका फोहोर मैला प्रशोधन केन्द्र लगायतका आयोजना कार्यान्वयन थालिने छ । पोखरा महानगरपालिका र आसपासको क्षेत्रको द्रुत तथा सन्तुलित विकास गर्न ग्रेटर पोखराको अवधारणा अनुरूप विकास प्रारूप तयार गरी सम्बद्ध स्थानीय तहहरूसँग समन्वय गरिनेछ । बागमारामा बहुउद्देश्यीय पुनर्स्थापना केन्द्र स्थापना, ७० वर्ष भन्दा बढी उमेरका ज्येष्ठ नागरिकहरूलाई निःशुल्क सार्वजनिक यातायात सेवा, गरिबिको रेखामुनि रहेका नागरिकहरूको स्वास्थ्य बिमा, पानी बिजुलीको न्यूनतम महसुल निःशुल्क, दीर्घ रोगी, अपाङ्गता भएका व्यक्ति र ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरघरमा गई निःशुल्क स्वास्थ्य परीक्षण र उपमेयरसँग सुत्केरी कार्यक्रम सञ्चालन गरिने महानगरले जनाएको छ । पोखरालाई खेलकुदको सहरका रूपमा विकास गर्ने, हाइ अल्टिच्यूड खेल मैदान निर्माण, पोखरामा सुविधा सम्पन्न मानसिक अस्पताल स्थापना गर्ने, उद्यमशीलता विकास तथा वृत्र् परामर्श कार्यक्रम सञ्चालन, प्राविधिक तथा व्यावसायिक सीप तथा ज्ञान मार्फत सिक्दै कमाउँदै कार्यक्रम लागू गर्ने, गण्डकी बहु प्राविधिक शिक्षालयमा इन्जिनियरिङ विषयको डिप्लोमा तहमा छात्रवृत्तिको व्यवस्था, डायलिसिस सेवा, औषधिजन्य स्थानीय जडीबुटी उत्पादन, प्रशोधन तथा प्रवर्द्धनमा जोड, सामुदायिक कुकुर तथा पशुचौपायको प्रभावकारी व्यवस्थापन लगायत महानगरले आफ्नो नीतिमा समेटेको छ । प्राचीन पोखरी तथा तलाउहरूको उत्खनन गरी रिचार्ज, ऐतिहासिक चौतारी संरक्षण, पुनर्निर्माण, मर्मत सम्भार, ग्रिन सिटी क्लिन सिटी अवधारणामा सहरी वन प्रवर्द्धनका लागि मेगा वृक्षारोपण अभियान, एकीकृत ताल विकास आयोजना तथा कार्यक्रम, फेवाताल वेगनासताल लगायतका ताल तलैयाहरूको जलाधार क्षेत्र संरक्षण र पोखराको पहिचानसँग जोडिएका हिमालहरूको सफाइ अभियानमा सहकार्य गर्ने लगायत नीति तथा कार्यक्रमहरू महानगरपालिकाले अख्तियार गरेको छ । (पूर्णपाठ)
पोखरा: नेपालको पाँचतारे सोल्टी होटेल हुँदै हाल स्वीट्जरल्याण्डको प्रख्यात तारे होटलमा सेफको भूमिकामा रहनुभएका तनहुँका अर्जुनबहादुर थापाले आफ्ना अनुभवलाई पोखरामा होटेल व्यवस्थापन विषयमा अध्ययनरत छात्रछात्रालाई सुनाउनुभएको छ । चार दशकदेखि सेफ पेसामा आवद्ध उहाँले नेपाली परम्परागत खानाको देश विदेशका प्रवर्द्धन र प्रचार गरी यसको विकासमा योगदान पुर्याउनुभएको छ नै उहाँको सफलता र अनुभव यतिखेर नेपालमा होटेल व्यवस्थापनका कक्षा पढ्दै गरेका विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेका छन् । नेपाल सेफ एशोसिएसनका संस्थापक सदस्य एवम् हाल इन्टरनेशनल नेप्लीज सेफ सोसाइटी युकेका अध्यक्षसमेत रहनुभएका उहाँले शुक्रबार पोखराको छिनेडाँडास्थित स्थित नेपाल टुरिजम एण्ड होटेल म्यानेजमेन्ट कलेजमा आफ्ना अनुभव विद्यार्थीमाझ सुनाउनुभएको थियो । होटेल म्यानेजमेन्टको कक्षा लिइरहेका विद्यार्थीका लागि महत्वपूर्ण अवसरहरू रहेको उल्लेख गर्दै उहाँले उच्च मनोबलका साथ आफ्नो अध्ययनलाई अघि बढाउन आग्रह गर्नुभयो । अध्ययनरत विषयमा दक्ष बन्न सकेमा अवसरमा कमी नहुने बताउँदै उहाँले आँफूहाल अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ)मा हाल उत्कृष्ट पाँच सेफमा परी अब उत्कृष्ट तीनको लागि प्रतिस्पर्धामा रहेको जानकारी गराउनुभयो । ‘फेबरेट सेफ’ विश्वभरका पाककला सिर्जना गर्ने सेफ तथा भान्सेहरूको लोकप्रिय एक अनलाइन प्रतियोगिता हो । यस प्रतियोगिताले पाककला सिक्दै गरेका तथा यसैमा लामो समय बिताएका सेफहरूबीच खानपान जीवनशैलीबारे रचनात्मक प्रदर्शन गर्ने अवसर दिन्छ । झण्डै सय जनामध्येबाट १० उत्कृष्टमा छनोट हुदै हाल पाँचौं उत्कृष्टमा पर्न सफल भएको सुनाउँदै उहाँले खानाका पारखीहरूको भोटले नै आफ्नो भविष्य निर्धारण गर्ने बताउनुुभयो । नेपालीको माया, साथ र भरोसाले अहिलेको अवस्थामा आइपुगेको बताउँदै उहाँले उत्कृष्ट पाँचबाट तीन हुँदै एकमा पुग्नका लागि आँफूूलाई अझै धेरै भोट र हौसला जरुरी रहेको बताउनुुभयो । थापालाई उत्कृष्ट तीनका लागि अब चार दिन जो कोहीले प्रत्येक २४ घण्टामा अनलाइन मार्फत एक पटक फ्रि भोटिङ गर्न पाउनेछन् । विश्वभरका ८९ मा सेफमध्येबाट प्रतिस्पर्धा गर्दै आइरहेका थापा प्रतियोगितामा विजयी बनेमा २५ हजार डलरका साथ ‘टेस्ट अफ दि होम’ म्यागेजिनको कभर स्टोरीमा समेटिनुुहनेछ । यसबाहेक चर्चित अमेरिकी सेफ कार्ला हलका साथ विशेष खानाका परिकार पकाउने अवसर पाउनुहुनेछ । बेलायत तथा स्वीट्जरल्याण्डमा गरी १७ वर्ष विदेशमा एसियाली खानाहरूमा समय बिताइसक्नुभएका थापाले सन् २०१० मा प्रतिष्ठित ब्रिटिस करी अवार्ड पनि प्राप्त गरिसक्नुभएको छ । थापालाई नेपाल टुरिजम एण्ड होटेल म्यानेजमेन्ट कलेज छिनेडाँडामा स्वागत गर्दै क्याम्पस प्रमुख प्रकाश रेग्मीले उहाँका अनुभव र भोगाई अध्ययन गर्दै गरेका विद्यार्थीका लागि प्रेरक रहेको बताउनुभयो । एघार र बाह्र कक्षाका साथै स्नातक तहमा ८०० जना विद्यार्थीलाई होटेल व्यवस्थापनको अध्ययनअध्यापन गराउँदै आएको क्याम्पसमा विविए, विविए–विआईका कक्षा सञ्चालन भैरहेको उहाँले जानकारी दिनुभयो । स्थापनाको २५ औं वर्ष मनाउँदै गरेको क्याम्पसबाट हालसम्म उत्पादित जनशक्ति विश्वका ४८ वटा राष्ट्रमा पुुगेको र कोही पनि बेराजगार नरहेको बताउनुभयो । कुल २६ रोपनी क्षेत्रफलमा सुविधासम्पन्न पूर्वाधार एवम् प्रयोगशाला सहितको क्याम्पसमा अध्ययन गरेका विद्यार्थीका लागि अमेरिका, कतार, थाइल्याण्ड, कुुवेत लगायत १० वटा राष्ट्रका तारे होटेलहरूमा इन्टर्नसिप गर्न पाउने र उक्त अवसरमा सिक्दै कमाउँदै गर्ने गरी व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
पोखरा: पुन समाज पोखरा तारो समितिले आयोजना गरेको प्रथम स्थानीय अन्तर समाज तारा खेल (भेजो) प्रतियोगिताको उपाधि पुन समाज पोखरा ‘ए’ले जितेको छ । पुन समाज पोखरा ‘ए’ले म्याग्दी मगर समाजलाई १३८–१३३ अंकले पछि पार्दै उपाधि हात पारेको हो । प्रतियोगितामा १२५ अंक सहित नेपाल छन्त्याल समाज नदीपुरले तेस्रो स्थान हासिल ग¥यो । पुन समाज नेपालले भुमे पर्व २०८१ को अवसर पारी तारो समितिको आयोजनामा प्रथम पटक स्थानीय अन्तर समाज तारा खेलको आयोजना गरेको हो । प्रतियोगितामा प्रथम भएको पुन समाज पोखरा ‘ए’ ले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र, दोश्रो भएको म्याग्दी मगर समाजले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र र तेश्रो हुने नेपाल छन्त्याल समाज नदीपुरले नगद २० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा हाइस्कोर गणेश पुन र हाइ खोलको उपाधि राजु छन्त्यालले हात पार्दै कार्वन एरो प्राप्त गर्न सफल भए । त्यसैगरी जोर खोल गर्ने राजु छन्त्याल र सनम पाइजा पुनलाई समेत सम्मान गरिएको थियो ।
पोखरा: राष्ट्रिय धान दिवसको अवसरमा देविस्थान सेवा समाज हेमजाको आयोजनामा यहि असार १५ गते शनिबार हुने चौथो संस्करणको हेमजा हिले महोत्सव २०८१ को तयारी तीव्र पारिएको छ। हेमजालाई कृषि पर्यटनसँग जोड्न साथै किसान हुनुमा युवापुस्तालाई गर्व गराउदै कृषिमा आकर्षण बढाउने उदेश्य साथ महोत्सवको आयोजना गरिएको हो । यस महोत्सवले समग्रा पोखरा साथै विष्णुपादुका माई मन्दिरमा पर्यटक आगमन बढने अपेक्षा गरिएको समाजका अध्यक्ष एवं महोत्सव मुल आयोजक समिति संयोजक गुरु हरिा शरण पौडेले बताए । “कृषिमा कृषकलाई पोत्साहन: विष्णुपादुका माई मन्दिर हेमजाको सान” भन्ने मुल नाराका साथ आयोजित यस महोत्सवमा हिलोमा फुटबल, महिला पुरुष हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, झाँकी प्रदर्शनी,विद्मालय स्तरीय धान रोप्ने प्रतियोगिता,हल गोरु दौड, माछा समाउने,असारे गीत प्रतियोगिता साथै उत्कृष्ट किसान सम्मान कार्यक्रम हुनेछ । उक्त महोत्सवमा विभिन्न कलाकारहरुको संस्कृतिक प्रस्तुति समेत रहने छ । प्रतियोगितामा प्रथम र द्वितीय हुने व्यक्ति वा समूहलाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। महोत्सब सञ्चालनका लागि अनुमानित रु ७ लाख ३५ हजार खर्च लाग्ने अनुमान गरिएको देविस्थान सेवा समाज कोषाध्यक्ष एवं महोत्सव अर्थ संकलन संयोजक चन्द्रकला पोख्रेलले बताईन । महोत्सव तयारी स्वरुप महोत्सवस्थल वरपर ,विष्णुपादुका धार्मिक क्षेत्रमा आयोजक साथै विष्णुपादुक टोल विकास संस्था, चापाघाट तथा देवीस्थान आमा समुह,चापाकोट टोल विकास संस्था , महिला संञ्जाल स्थानीयवासीको सकृय सहभागितामा निरन्तर सरसफाई गरिएको सरसफाई व्यवस्थापन उपसमिति चेत नारायण तिम्सिनाले जानकारी दिए ।
पोखरा: गण्डकी प्रदेशस्तरीय महिला/पुरुष ह्यान्डबल प्रतियोगितामा कास्की र तनहुँ च्याम्पियन भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल संघको व्यवस्थापनमा पोखरा रंगशालामा जारी ह्यान्डबल प्रतियोगिताको महिलातर्फ कास्की र पुरुषतर्फ तनहुँले उपाधि हात पारेको हो । आइतबार सम्पन्न महिलातर्फको फाइनल खेलमा कास्कीले स्याङजालाई १२–२ को फराकिलो गोलअन्तरले हारउँदै उपाधि चुमेको हो । उता पुरुषतर्फ तनहुँले कास्कीलाई ३४–३३ गोलले हराउँदै उपाधि चुमेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको पुरुषतर्फको खेल निर्धारित समय २७–२७ गोलको बराबरी भएसँगै १० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । उपाधिसँगै च्यापियन द्धय कास्की र तनहुँले समान रु ५०–५० हजार रुपैयाँ सँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको स्याङजा र कास्कीले समान ३०–३० हजार रुपैयाँ प्राप्त गरेका छन् । तेस्रो भएका बागलुङ र स्याङजाले रु १५–१५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको महिलातर्फ कास्कीकी कोमल खड्का सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । पुरुषतर्फ तनहुँका आकाश अधिकारी सर्वोत्कृष्ट खेलाडी भोषित भए । उनीहरु दुवैले समान ५–५ हजार रुपैयाँको साथमा ट्रफी प्राप्त गरे । महिलातर्फ उत्कृष्ट गोलरक्षक कास्कीकी अमिसा गुरुङ र उच्च गोलकर्ता कास्कीकै आकृति गुरुङ घोषित भइन् । आकृतिले कुल ९ गोल गरिन् । पुरुषतर्फ कास्कीका केविन गुरुङ उत्कृष्ट गोलरक्षक घोषित भए । तनहुँका कास्कीका वासु गुरुङले २६ गोल गर्दै उच्च गोलकर्ता घोषित भए । विधागत उत्कृष्ट भएका उनीहरुले दुई हजार पाँच सयका साथमा ट्रफी प्राप्त गरे । तीन दिनसम्म चलेको प्रतियोगितामा पुरुषतर्फ ८ र महिला तर्फ ६ जिल्लाको सहभागिता रहेको थियो । पुरुषतर्फको कास्की, गोरखा, तनहुँ, म्याग्दी, बागलुङ, नवलपुर, स्याङजा र पर्वतको सहभागिता रहेको थियो भने, महिला तर्फ बागलुङ, म्याग्दी, पर्वत, कास्की, नवलपुर । स्याङजाको सहभागिता रहेको थियो । प्रतियोगिता दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक खेलाडी छनौट समेत हो । प्रतियोगिताबाटै खेलाडी छनौट हुनेछन् ।
काठमाडौं: गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिट आज हेर्दा हेर्दैमा राखिएको छ । आज यो रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको थियो । आज सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो । देवकोटालाई माओवादी केन्द्रले आफ्नो सांसद भएको दाबी गर्दै कारबाही गरेपछि सो निर्णयविरुद्ध रिट दायर गरेका थिए । गोरखाबाट माओवादीको निर्वाचन चिह्नबाट निर्वाचित भएका देवकोटाले आफू नेपाल समाजवादी पार्टीको कार्यकर्ता भएको र राजनीतिक दल सम्बन्धी ऐन अनुसार माओवादीको चुनाव चिन्ह लिएर लडेको बताउँदै आफूलाई माओवादी केन्द्रले कारबाही गर्न नसक्ने दाबी गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको पक्षमा विश्वासको मत दिएपछि माओवादी केन्द्रले कारबाही गरेको थियो । माओवादी केन्द्रले पार्टीको ह्विप उल्लङ्घन गरेको भन्दै कारबाही गरेको थियो ।
काठमाडौं: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वहालवाला मुख्यसचिव वैकुण्ठ अर्यालसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अन्तःशुल्क स्टिकर छपाइमा अनियमितता गरेको आरोपमा अख्तियारले मुख्यसचिव अर्याल, अर्थमन्त्रालयका बजेट महाशाखा प्रमुख सहसचिव रितेश कुमार शाक्य,भन्सार विभागका उपमहानिर्देशक टंक प्रसाद पाण्डे सहित ठेकेदार कम्पनीका प्रतिनिधिलाई विपक्षी बनाएर मुद्दा दायर गरेको हो । आयोगले बाहालवाल मुख्य सचिव, सहसचिवका अतिरिक्त सुरक्षण मुद्रण विभागका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल, आन्तरिक राजश्व कार्यालय लाजिम्पाटका तत्कालिन निर्देशक गणेश विक्रम शाही, तत्कालीन शाखा अधिकृत रविन्द्र पौडेल, राष्टिय सुचना प्रविधि केन्द्रका तत्कालिन निर्देशक सफल श्रेष्ठ, सुरक्षण मुद्रण केन्द्रका लेखा अधिकृत विष्णु प्रसाद गौतम शाखा अधिकृत हरिवलम्भव घिमिरे र खरिद परामशर्ता विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।परामर्श दाता शक्तिप्रसाद श्रेष्ठ, प्रिन्ट सेल प्रालि ललितपुरका निर्देशक केशव शर्मा र प्रिन्ट सेल प्रालि कम्पनीलाई प्रतिवादी बनाएको छ । उनिहरुमाथि ३८ करोड ६७ लाख १७ हजार ६ सय ४१ विगो दावी गरिएको छ । विकल पौडेल सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक भएका बेला ४३ करोड ३२ लाख अन्तःशुल्क स्टिकर छाप्नका लागि ठेक्का आह्वान गरिएको थियो । हालका मुख्यसचिव अर्याल तत्कालीन अवस्थामा सञ्चार मन्त्रालयमा सचिव हुनुहुन्थ्यो । वहालवाला मुख्य सचिव नै भ्रष्टाचार प्रकरणमा रहेको परेको संभवत यो पहिलो घटना हो । ९ महिनामा ४३ करोड ३२ लाख स्टिकर छाप्ने भनी सुरक्षण मुद्रण केन्द्र र प्रिन्ट सेलबीच झन्डै ३८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
पोखरा: सेन्ट्रल जोन कलेज अफ भोकेस्नल ट्रेनिङ प्रालिको आयोजनामासम्पन्न गण्डकी प्रदेशस्तरीय स्ववियु फुटसल प्रतियोगितामा कास्की –११ च्याम्पियन भएको छ । नवलपुरको कावासोती फुटसल जोनमा शनिबार भएको फाइनल खेलमा तनहुँलाई पेनाल्टी सुटआउटमा २-१ गोल अन्तरले पराजित गर्दै कास्की –११ च्याम्पियन भएको हो । च्याम्पियनबनेसँगै कास्कीले नगद रु १ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको तनहुँले नगद रु ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे । सो प्रतियोगिताबाट तनहँका सन्तबहादुर गुरुङ सर्वाेत्कृष्ट खेलाडीका रुपमा र उत्कृष्ट गोलरक्षकका रुपमा कास्कीका सुदिप सुनार पुरस्कृत भए । प्रतियोगितामा प्रदेशभरबाट कुल ७ टिमको सहभागिता रहेको थियो ।