पोखरा: गण्डकी प्रदेशस्तरीय महिला/पुरुष ह्यान्डबल प्रतियोगिताको महिला तर्फ बागलुङ जिल्लाले तेस्रो स्थान हासिल गरेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल संघको व्यवस्थापनमा पोखरा रंगशालामा शनिबार तेस्रो स्थानको लागि भएको खेलमा बागलुङले म्याग्दीलाई ७–२ गोलअन्तरले हराउन सफल भएको हो । बागलुङले नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पा¥यो । त्यसअघि भएको पहिलो सेमीफाइनल खेलमा बागलुङ स्याङजासँग ८–५ गोलले पराजित भएको थियो । म्याग्दी भने, कास्कीसँग ९–० को हार व्यहोरेको थियो । कास्की र स्याङजा भने भोलि उपाधिका लागि भिड्नेछन् । पुरुषतर्फ कास्की, बागलुङ, स्याङजा र तनहुँ सेमीफाइनलमा प्रवेश गरेका छन् । शनिबार भएको पहिलो खेलमा स्याङजाले नवलपुरमाथि २०–४ को फराकिलो जित हासिल गरेको छ । बागलुङले पर्वतलाई १६–५, कास्कीले म्याग्दीलाई १९–१२, तनहुँले गोरखालाई २०–२, स्याङजाले बागलुङलाई ११–८ र पर्वतले नवलपुरलाई १२–९ गोल अन्तरले हराएको हो । पुरुषतर्फ समुह ए मा कास्की, गोरखा, तनहुँ र म्याग्दी तथा समूह बी मा बागलुङ, नवलपुर, स्याङजा र पर्वत रहेका छन् । महिला तर्फ समूह ए मा बागलुङ, म्याग्दी, पर्वत र समूह बी मा कास्की, नवलपुर, स्याङजा रहेका छन् । प्रतियोगिताको उपाधि बिजेता महिला तथा पुरुष टिमले समान नगद रु ५०–५० हजार, उपविजेताले ३०–३० हजार तेस्रो हुने टिमले नगद रु १५–१५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सर्वोत्कृष्ट हुने महिता तथा पुरुष खेलाडीले समान नगद रु ५–५ हजारका साथमा ट्रफी र अन्य उत्कृष्ट हुने विद्यागत खेलाडीहरुले जनही नगद रु २ हजार ५ सयका साथमा ट्रफी प्राप्त गर्ने छन्् । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक खेलाडी छनौट समेत गरिने भएको संघका अध्यक्ष एवं खेल पत्रकार केशव पाठकले बताए । पुरुषतर्फको खेल भोलि विहान हुनेछ । पहिलो सेमीफाइनलमा कास्की र बागलुङ तथा दोस्रो सेमीफाइनल स्याङजा र तनहुँबिच हुनेछ । महिला र पुरुष तर्फको फाइनल खेल समेत भोलि नै हुने आयोजकले बताएको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट एक हजार आठ सय प्रतिनिधि छनोट गरेको छ । यही असार १६ देखि २० गतेसम्म काठमाडौँमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न सङ्गठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएको पोलिटब्युरो सदस्य दिलु पन्तले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार महाधिवेशनका लागि एक हजार आठ सय ४९ प्रतिनिधिको व्यवस्था गरिएकामा केही क्षेत्र र मातहतका कमिटीमा विवाद भएकाले प्रतिनिधि छनोट बाँकी छ । अधिकांश स्थानमा सर्वसम्मतरुपमा प्रतिनिधि छनोट भएको जनाउँदै पन्तले केही ठाउँमा मात्रै निर्वाचन प्रक्रियाबाट छनोट गरिएको बताउनुभयो । उहाँका अनुसार महाधिवेशन आयोजक समिति स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएकाले करिब चार सय ५० केन्द्रीय नेता स्वतः प्रतिनिधि हुनेछन् । यसअघि केन्द्रीय नेता पनि चुनियर आउनपर्ने निर्णय गरिएकामा उक्त व्यवस्थालाई संशोधन गरी केन्द्रीय तहका नेता स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएको थियो । छनोट गरिएका प्रतिनिधिको कूल सङ्ख्याको पाँच प्रतिशत अर्थात ९५ जना मनोनयन गर्ने व्यवस्था छ । केही दिनमा ती प्रतिनिधि मनोनयन गरिने पार्टी कार्यालयले जनाएको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग अलग भएर गठन गरिएको एकीकृत समाजवादीले पहिलो पटक महाधिवेशन गर्न लागेको जनाउँदै यसका सदस्य एमालेकै निरन्तरताबाट आएकाले दशौँ महाधिवेशन गर्न लागिएको पोलिटब्युरो सदस्य पन्तले बताउनुभयो । पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्ने महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । सङ्घीय संसद्मा १० र राष्ट्रियसभामा आठ सदस्य रहेको पार्टीले सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व गरेको छ ।
तनहुँ: तनहुँको आँबुखैरेनी गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेका एकजनाको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । च्याउ खाएर बिरामी गुरुङको चितवनस्थित अस्पतालमा उपचार भइरहेकामा शुक्रबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । अन्य चारजनाको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ । असार १ गते ५४ वर्षीय डिलबहादुर गुरुङले घर नजिकको जंगलबाट ल्याएको च्याउ खाँदा उनीसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ५८ वर्षीया पम्फी गुरुङ बिरामी भएका थिए ।
पोखरा: पोखरामा अनधिकृत रुपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्य तत्कालका लागि बन्द गरिएको छ । यातायात व्यवस्था कार्यालय कास्कीले उक्त एपमार्फत यात्रु ओसारपसार गर्ने कार्य तुरुन्त बन्द गर्न शुक्रबार सार्वजनिक सूचना जारी गरेको हो । सूचनाको अटेर गरी यात्रु बोक्ने कार्य जारी राखेमा यसमा संलग्नलाई कारबाही गरिने सूचनामा उल्लेख छ । यातायात व्यवस्था कार्यालय ९सवारी० पोखराका प्रमुख डिल्लीराम रिजालले कानुनविपरीत निजी सवारीसाधनले ‘राइड सेयरिङ’ सेवा सञ्चालन गरिरहेको पाइएकाले त्यसलाई रोक लगाइएको बताउनुभयो । “अनधिकृत रुपमा एपको प्रयोग गरी यात्रु बोकेमा सवारी तथा यातायात व्यवस्था ऐनअनुसार कारबाही हुन्छ”, उहाँले भन्नुभयो, “प्रकाशित सूचना अनुसार काम भए नभएको बारेमा प्रहरीको सहयोगमा कडाइका साथ अनुगमन गर्छौं ।” गण्डकी प्रदेशमा ‘राइड सेयरिङ’ एपमार्फत हुने यातायात सेवालाई वैधानिक बनाउन सवारी तथा यातायात व्यवस्था नियमावली–२०८० मा व्यवस्था भए पनि नियमनका लागि कार्यविधि भने बनेको छैन । नियमावलीमा निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारीसाधनले यात्रु बीमासहित तोकिएको प्रक्रिया पूरा गरेर यात्रु बोक्न पाउने व्यवस्था छ । साथै यातायात कार्यालयले नै सार्वजनिक सवारीका लागि भाडादर तोक्ने गर्छ । तर हाल सञ्चालनमा रहेका इन्ड्राइभलगायतका निजी सवारीसाधनले भने आफै एप बनाएर भाडादर आफै लागु गर्ने गरेका छन्, तर कानुनअनुसार यस्तो कार्य अवैध हो । “नियमवली बनेपछि मापदण्ड नबन्दा गण्डकी प्रदेशमा राइड सेयरिङ सेवालाई नियमन गर्न सकिएको छैन”, कार्यालय प्रमुख रिजालले भन्नुभयो, “अहिले यातायात कार्यालयको अनुमतिसमेत नलिई आफूखुसी एपमार्फत यात्रु ओसारपसार गर्ने कार्य भइरहेको छ, आफै भाडा तोकेर सञ्चालन भएको छ । यातायात कार्यालयले समायोजन गर्ने गरेको भाडाबमोजिम छ कि छैन भनेर पनि निजी सवारीसाधनले हेर्ने गरेका छैनन् । गण्डकी प्रदेशमा राइड सेयरिङ सेवा गैरकानुनी छ ।” मापदण्ड र कार्यविधि बनेपछि मात्र निजी सवारीसाधन ‘राइड सेयरिङ’मा दर्ता हुन पाउने छन् । मोबाइल एपको प्रयोगमार्फत यातायात सेवा लिन सकिने ‘राइड सेयरिङ’हरु पोखरामा यात्रु भने बढ्दै छन् । यहाँ यी सवारीसाधन लोकप्रिय बन्दै गएका भए पनि नियमन गर्न र वैधानिक बनाउन भने सकिएको छैन । नेपालमा पठाओ, टुटल, सहारा, इनड्राइभ, सजिलो, ट्याक्सिमान्डु, क्याब ट्याक्सीलगायत राइड सेयरिङ एप सञ्चालनमा छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा कम्पनी रजिष्ट्रारको कार्यालय तथा उद्योग विभागमा दर्ता भएको इनड्राइभलगायत ‘राइड सेयरिङ’ चलिरहेको छ । यातायातसम्बन्धी कानुनअनुसार यसले गण्डकीमा हालसम्म वैधानिकता पाएको छैन । ‘राइड सेयरिङ’ सेवाका लागि दुई पाङ्ग्रे सवारीसाधन दर्ता गर्न रु २५ हजार र नवीकरण शुल्क प्रतिवर्ष रु १२ हजार पाँच सय तोकिएको छ । चार पाङ्ग्रे सवारी साधनको दर्ता तथा अनुमति शुल्क रु ५० हजार र नवीकरण शुल्क रु २५ हजार कायम गरिएको छ । दुई पाङ्ग्रे र चार पाङ्ग्रेको दर्ता अनुमतिका लागि रु ७० हजार र वार्षिक नवीकरण रु ३५ हजार तोकिएको छ । सार्वजनिक यातायात क्षेत्रमा यात्रु ठगिने र दुःख पाउने अवस्थाको अन्त्यका लागि ‘राइड सेयरिङ’लाई वैधानिकता दिनुपर्ने माग हुँदै आएकाले राइड सेयरिङ एपहरुको नियन्त्रण र व्यवस्थापन जरुरी रहेको बताइएको छ । यातायात व्यवसायी महासङ्घ गण्डकी प्रदेशका संयोजक केदार पौडेलले राइड सेयरिङ सेवालाई कानुनको दायरामा ल्याउनुपर्ने बताउनुभयो । “जसलाई मन लाग्यो उसैले एप राखेर यात्रु बोक्न पाइँदैन, सरकारले नियमन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “निजी सवारीसाधनले आफूखुसी यात्रु बोकेपछि सार्वजनिक यातायात किन चाहियो ?”
तनहुँ: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ना५ख ४३७४ नम्बरको बस अनियन्त्रित हुुँदा सडकको बायाँतर्फ नालीमा दुर्घटना भएको थियो । दुर्घटनामा कास्कीको पोखरा महानगरपालिका–१३ बस्ने ३० वर्षीया सुनिता गुरुङ, पाँच वर्षीय रेशम सुनुवार, पोखरा महानगरपालिका–३२ बस्ने २५ वर्षीया संगीता तिवारी, २८ वर्षीय सन्दीप तिवारी, धादिङको ज्वालामुखी गाउँपालिका–७ बस्ने ३८ वर्षीय टेकनाथ कँडेल र १० वर्षीया सुरक्षा कँडेल घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । घाइतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी प्रदेशबाट भित्रिएको मनसुन मधेस, बागमती र गण्डकी प्रदेशको अधिकांश भूभाग तथा लुम्बिनी प्रदेशको पूर्वी भूभागसम्म फैलिएको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य प्रदेशमा भने अझै पश्चिमी वायु र स्थानीय वायुको प्रभाव न्यून छ । मनसुन र पश्चिमी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आज बिहान पूर्णतया बदली छ भने बाँकी भूभागमा आंशिक बदली छ । अहिले गण्डकी प्रदेशका केही भूभाग तथा बागमती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोशी र मधेश प्रदेशका थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ । गण्डकी प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
पोखरा: फेवातालमा पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ । फेवातालमा आज दिउँसो पौडी खेल्ने क्रममा डुबेर कास्कीको नौडाडा घर भएका सञ्जय भण्डारीको मृत्यु भएको हो । फेवातालमा पौडी खेल्न भएका ५ जना मध्ये कास्कीको अन्नपूर्ण गाउँपालिका–२ नौडाडा घर भएका २५ वर्षीय भण्डारीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए । पौडी खेल्ने क्रममा मृत्यु भएका भण्डारी लेकसाइडस्थित क्विन पार्कमा काम गर्दै आएको कास्की प्रहरीले जनाएको छ । पौडी खेल्न गएका बाँकी ४ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । भण्डारीको शवलाई पोष्टमार्टका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत बिऊ रोप्ने (जर्मिनेसन) तथा गणित हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । ‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ सञ्चालनमा रहेको विद्यालयमा प्रावि तहमा कक्षा नर्सरीदेखि एकसम्मका सम्पूर्ण विद्यार्थीहरुले शिक्षिकाहरुको साथमा बिऊ रोप्ने कार्य सम्पन्न गरिएको हो । हिले महिना असारको अवसर पारेर साना बालबालिकाहरुलाई बिऊ रोप्ने र उमार्ने तरीका सिकाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको प्राध्यानाध्यापक कृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार आधारभुत (जुनियर) तर्फ भएको गणित हाजिरीजवाफ प्रतियोगितामा अन्नपूर्ण सदनबाट सिद्धान्त केसीको समूह प्रथम र कञ्चनजङ्घा सदनबाट मुस्कान भण्डारीको समूह द्वितीय भए । उनीहरुलाई विद्यालयका सह–प्राचार्य नीलकण्ठ पौडेलले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए भने कार्यक्रमको सञ्चालन गणित शिक्षक लिलाबहादुर बिकले गरेका थिए ।
गायन रियालिटी शो 'नेपाल आइडल' सिजन ५ को ग्राण्ड फिनाले भोलि (शनिबार) हुँदैछ। एपीवान टेलिभिजनको स्टुडिओमा बेलुका ६ बजेबाट सुरू हुने फिनालेमा टाइटलका लागि चार जनाले प्रतिस्पर्धा गरिरहेका छन्। बर्दियाका करण परियार, पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेल प्रतिस्पर्धामा छन्। दर्शकको भोटका आधारमा विजेता घोषणा गरिनेछ। भोलि बेलुका ८ बजेसम्मका लागि भोटिङ खुला छ। यसपटक फिनालेमा पहिलो सिजनदेखिका प्रतिभावान प्रतिस्पर्धी, जो अहिले सांगीतिक क्षेत्रमा चर्चामा छन्, उनीहरूको समेत प्रस्तुति रहने निर्देशक सुरेश पौडेलले बताए। उनका अनुसार प्रताप दास, सज्जा चौलागाईं, मेनुका पौडेल, प्रविन बेडवाल, अफसर अली लगायतले फिनालेमा प्रस्तुति दिनेछन्। फाइनलिस्टसहित उत्कृष्ट १४ भित्रका अन्य १० प्रतिस्पर्धीको समेत प्रस्तुति रहनेछ। फिनालेका लागि सेट समेत परिवर्तन गरिँदैछ। फिनालेलाई एपीवान टेलिभिजन र नेपाल आइडलको युट्युबबाट प्रत्यक्ष प्रसारण गरिने निर्देशक पौडेलले बताए। शोमा न्य्हू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी जज छ भने रिमा विश्वकर्मा र आशिफ शाहले होस्ट गर्दै आएका छन्। सातै प्रदेशमा गरिएको अडिसनबाट १ सय ५२ जना प्रतिस्पर्धीहरू छनोट भएका थिए। प्रि–थिएटर, थिएटर, पियानो, गाला राउण्डमा प्रस्तुति दिँदै प्रतियोगीहरू फिनालेसम्म पुगेका हुन्। विजेताले २५ लाख रूपैयाँसँगै अन्य विभिन्न पुरस्कार पाउनेछन्। फस्र्ट र सेकेन्ड रनरअपले क्रमशः १० र ५ लाख रूपैयाँ प्राप्त गर्नेछन्।