पोखरा: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जसोदा सुवेदीले पोखरामा सुविधा सम्पन्न ‘ह्याङ्गर’ भएका कारण सौर्य एयरलाइन्सको जहाज प्राविधिक परीक्षण लागि आउन लागेको जानकारी दिनुभएको छ । काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सो एयरलाइन्सको ९ एन एएमई जहाज आज विहान दुर्घटना भएको थियोे । दुर्घटनामा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्नेक्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो । यो पनि पढ्नुहोस सौर्य एयरको विमान दुर्घटनामा १८ यात्रुको निधन “जहाजमा कुनै खराबी आएर नभइ निश्चित घण्टा उडेपछि नियमित तालिका अनुसार गर्नुपर्ने प्राविधिक परीक्षणका लागि पोखरा आउन लागेको थियो”, उहाँले भन्नुभयो, “पोखरामा रहेको सुविधासम्पन्न ह्याङ्गरमा राखेर जहाज परीक्षण गर्न एयरलायन्सका कर्मचारी र प्राविधिकहरु जहाजमा सवार रहेको जानकारी आएको छ ।”
दाङ: दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई धेरैले ‘रेफर’ सेन्टर भन्ने गर्छन् । सामान्य ज्वरो आउँदा पनि बिरामीहरु सकेसम्म काठमाडौँ उपचार गर्न जान खोज्छन् । बिरामी र बिरामीका आफन्तलाई यही अस्पतालमा राम्रो उपचार सम्भव छ भनेर विश्वास दिलाउन यहाँ कार्यरत डा. प्रमिला गुप्ता र डा. रोशन गुप्ताले आफ्नै आमाको सफल शल्यक्रिया गर्नुभएको छ । डा. प्रमिला र रोशन दिदी–भाइ हुनुहुन्छ । “काठमाडौँ लगेर उपचार गर्ने हैसियत नभएको होइन्, हामीले हाम्रो ठाउँको अस्पताललाई विश्वास गर्न सकेनौँ”, डा. प्रमिलाले भन्नुभयो, “यहीँ गुणस्तरीय उपकरण छन्, चिकित्सक छौँ, त्यसैले ठूला उपचार हुन्छन्, भन्ने सन्देश दिन हामीले आमाको शल्यक्रिया यहीँ गरेका हौँ ।” डा. प्रमिला आफैले आमाको शल्यक्रिया गर्नुभएको हो । डा. रोशन सोही अस्पतालको एनेस्थिेसियामा हुनुहुन्छ । डा. प्रमिला स्त्रीरोग विशेषज्ञ हुनुहुन्छ । उहाँले ६६ वर्षीय आमा अर्जुनकुमारी गुप्ताको पाठेघरको शल्यक्रिया गर्नुभएको हो । गएको बुधबार आमाको शल्यक्रिया गर्नुभएपछि अहिले आमाले घरमा आराम गरिरहनु भएको डा. प्रमिलाले बताउनुभयो । दुई महिनादेखि लगातार पिसाब नलीबाट रगत बगेपछि जाँच गर्दा पाठेघरमा क्यान्सर देखिएको थियो । त्यसपछि घरपरिवारको सल्लाह बमोजिम प्रादेशिक अस्पतालमै शल्यक्रिया गरिएको हो । “धेरैले यो अस्पताललाई रेफर अस्पताल भन्नुहुन्छ, यही सुधार गर्न म अन्य जिल्ला छोडेर सेवा गर्न आफ्नै ठाउँमा आएकी छु”, डा. प्रमिलाले भन्नुभयो, “सामान्य ज्वरो आउँदा पनि बाहिर जानुपर्दैन, ठूलाठूला शल्यक्रिया गरिन्छ, भन्ने सन्देश दिन हामीले यहीँ उपचार गरेका हौँ ।” डा. प्रमिलाले यसअघि बारा, पर्सा, वीरगञ्ज, घोराही प्रतिष्ठानलगायतका स्थानमा बसेर चिकित्सकको रुपमा सेवा दिनुभएको छ । उहाँ पछिल्लो छ महिनादेखि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत हुनुहुन्छ । उहाँ तुलसीपुर–५ का स्थायी निवासीसमेत हुनुहुन्छ । उहाँले बिरामीका आफन्त सकारात्मक भएमा प्रादेशिक अस्पतालमै प्रभावकारी सेवा दिन सकिने बताउनुभयो । “डाक्टरले कहिल्यै बिरामीलाई नराम्रो होस्, भन्ने चाहँदैनन्, जसरी हुन्छ सन्चो बनाएर पठाउने डाक्टरले सोचिरहेको हुन्छ”, उहाँले भन्नुभयो “तर, केही अप्रिय घटना भएमा डाक्टरमाथि आक्रमण हुन्छ, यसले गर्दा डाक्टरले जोखिम लिन मान्दैनन् ।” अहिले पनि पाठेघरमा समस्या भएका दैनिक पाँच÷सातजना बिरामी आउने गरेका छन् । तर, तीमध्ये सरदर एक जना बिरामीको मात्रै प्रादेशिकमा उपचार हुने गरेको छ, अन्य सबै बाहिरी जिल्लामै उपचारका लागि जाने गरेको डा गुप्ताले बताउनुभयो । सर्वसाधारणमा सकारात्मक सन्देश प्रवाह गर्न सकिएमा अहिले जस्तो रेफर दर नबढ्ने उहाँको भनाइ छ ।
बझाङ: गएको शुक्रबार श्रीलङ्काको रनगिरी डम्बुल्ला इन्टरनेशनल स्टेडियममा एसिया कप महिला क्रिकेट चलिरहेको थियो । नेपाली समयअनुसार दिउँसो २ः१५ बजेबाट सुरु खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा थियो । खेलमा नेपालका तर्फबाट उत्कृष्ट ब्याटिङ गरिरहनुभएको थियो, बझाङकी सम्झना खड्काले । उहाँको खेल प्रदर्शनले नेपाली क्रिकेटप्रेमीहरुको मन जितिरहेको थियो । तर, जय पृथ्वी नगरपालिका–९ बझाङमा रहनुभएका उहाँका बुबाआमा भने उक्त खेलबारे अनभिज्ञ हुनुहुन्थ्यो । खेल चलिरहँदा बुवा देवेन्द्रबहादुर र आमा कालीदेवी खड्का लेकतिर पणीतोलामा घेराबारको काम गरिरहनुभएको थियो । उहाँहरुलाई छोरीले क्रिकेट खेल्छिन् भन्ने मात्रै थाहा थियो । अघिल्लो साँझ भोलि छोरीको खेल छ भन्ने चर्चा भएको थियो । तर, भोलि कति बेला खेल्ने, कता हेर्ने टुङ्गो थिएन । बिहानको खाना खाएर बुवा आमा लेकतिर जानुभयो । सम्झनाका भाइहरूले जयपृथ्वी नगरपालिकाको हलमा खेल हेर्ने अवसर पाउनुभयो । “दिनभर घरमा बसेर केही हुन्न । घरमा छोरीको खेल हेर्नलाई केही माध्यम भएन । त्यसैले हामी लेकतिर गयौँ,” सम्झनाका बुवा देवेन्द्रले भन्नुभयो, “पछि छोरीले राम्रो खेली भनेर फोनमा खबर पाएपछि मोबाइलमा छोरीको खेल हे¥यौँ ।” खेल खासै नबुझे पनि राम्रो खेलेको थाहा पाउँदा बुवाआमा खुसीले दङ्ग हुनुहुन्छ । छोरीलाई जागिरका लागि दबाब दिइरहेको खड्का परिवार आजभोलि खेल खेलेर नाम कमाएकोमा खुसी छ । “घरका कसैले त जागिर खानुपर्छ भनेर अनमी पढायौँ । पढाइ सकेर जागिर पनि खान थाली । बीचमै जागिर छोडेर खेलतिर लागि । त्यो बेलामा घरमा कसैलाई चित्त बुझेको थिएन । आजभोलि अरुले फलानाका छोरीभन्दा निकै खुसी लाग्छ”, बुवा देवेन्द्रले भन्नुभयो । पहिलो खेलमा सम्झनाले युएईविरुद्ध नेपाललाई जित दिलाउनुभएको थियो । उहाँले ४५ बलमा ११ चौकासहित ७२ रन बनाउनुभयो । सम्झना खेलको प्लेयर अफ दि म्याचसमेत बन्नुभएको थियो । त्यसपछि उहाँको चर्चा चुलियो । उहाँलाई नचिन्नेले चिन्ने अवसर पाए । उहाँलाई जिल्लामै प्रशिक्षण गर्ने सुरेन्द्र सिंह र प्रविन्द धामीको पनि चर्चा भयो । किशोरावस्था प्रवेशसँगै क्रिकेट खेल्न थाल्नुभएकी सम्झनालाई सफलता मिल्दै गएपछि परिवारमा खुसी छाएको उहाँका दाजु नवीन खड्काले बताउनुभयो । सम्झनालाई मोजाको बलले बलिङ गराउँदै १३ वर्षअघि सिंह र धामीले क्रिकेट खेल्न सिकाउनुभएको थियो । खेलमैदान नहुँदा बन्द विमानस्थलमा उनीहरु खेल अभ्यास गर्थे । त्यसै बेलादेखि बझाङमा क्रिकेट खेलको सुरुवात भएको थियो । खेल सिकेको छ महिनामै धामी र सिंहले सम्झनालाई बझाङको महिला टिम कप्तान बनाउनुभएको थियो । बिहान स्कुल जाने, स्कुलबाट फर्किएपछि घरायसी काम सकेर क्रिकेट खेल्ने उहाँहरुको दैनिकी भएको प्रविन्द धामी सम्झनुहुन्छ । उहाँले भन्नुभयो, “सम्झनालाई बझाङ टिमको कप्तान बनाएर जिल्लाबाट धनगढी, महेन्द्रनगर, बैतडीलगायतका ठाउँमा हुने क्षेत्रीय खेलमा सहभागी गराउथ्यौँ । पछि उसको खेल सुध्रिँदै गयो र राष्ट्रिय टिमबाटै खेल्ने अवसर मिल्यो ।” त्यो बेलामा खेलको महत्व कसैले नबुझेको उहाँको अनुभव छ । “बहिनीहरु खेल्न जाँदा परिवारकै सदस्यले अवरोध गर्थे,” धामीले भन्नुभयो, “त्यो बेलामा कुनै दिन हाम्रा खेलाडी अन्तर्राष्ट्रिय रङगशालामा सबैको अगाडि देख्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । अहिले आएर हाम्रो सपना पूरा भएको छ । त्यो बेलामा हामीसँग रिसाउनेहरुले अहिले बुझेका छन् ।” सम्झना राष्ट्रिय टिमबाट खेल्न थालेको दुई वर्ष भयो । यसपटकको एसिया कपको दोस्रो खेल गरी उहाँले अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताका १८ खेल खेलिसक्नुभयो । आइतबार भएको खेलमा नेपालले पाकिस्तानसँग लज्जास्पद हार व्यहो(यो । नेपाललाई पाकिस्तानले नौ विकेटले हरायो । नेपालले निकै आशा गरेकी खेलाडी सम्झनाले पाकिस्तानसँगको खेलमा उत्कृष्टता देखाउन सक्नुभएन । पाँच बल खेल्नुभएकी सम्झनालाई पाकिस्तानी कप्तान निदा डारको बलमा नाशरा सन्धुबाट मिडविकेटमा क्याच आउट हुनुभयो । मङ्गलबार भारतसँग भएको खेलमा नेपाल ८२ रनले पराजित भयो । जितसँगै भारत प्रतियोगिताको सेमिफाइनमा प्रवेश ग(यो भने नेपाल हारसँगै प्रतियोगिताबाट बाहिरियो । क्रिकेट खेलको चर्चा माझ सम्झनाका आमाबुवाले कुनैपनि खेलको प्रत्यक्ष प्रसारण हेर्न पाउनुभएन । “घरको टिभिमा आउँदैन । मोबाइल छैन । अरुले भनेको आधारमा छोरीले खेल जितेको÷हारेको थाहा पाउँछौँ ।” उहाँका बुवा देवेन्द्रले भन्नुभयो । छोरीले जुनसुकै ठाउँमा पुगेपनि क्रिकेट खेलबाट गरिरहेको प्रगतिबाट उहाँको परिवार सन्तुष्ट हुनुहुन्छ ।
बाँके: साउन महिनाको दोस्रो हप्तासम्म पनि बाँकेमा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । आकाशे पानीको भरमा धानखेती गर्दै आएका जिल्लाका सबै किसानले धानको बीउ रोप्न पाएका छैनन् । रोपेको खेतमा पनि वर्षा नहुँदा धान सुक्न थालेको छ । पानी नपरेका कारण धान रोपाइँ अझै नसकिएको डुडुवा गाउँपालिका–६ हिरमिनियाका किसान केलाराम महाउतले बताउनुभयो । सिँचाइको व्यवस्था नभएकाले धान रोपाइँ गर्न नसकिएको उहाँको भनाइ छ । डुडुवाका हिरमिनिया, होलिया, बेतहनीलगायत क्षेत्रमा पर्याप्त वर्षा नभएका कारण किसानले अहिलेसम्म धान रोप्न नसकेको महाउतले जानकारी दिनुभयो । बोरिङबाट पानी तानेर जसोतसो रोपाइँ सके पनि वर्षा नहुँदा खेतमा धजा फाट्न सुरु भएको हिरमिनियाका किसान अशोक थापाले बताउनुभयो । “बिजुलीको भोल्टेज कम भएर मोटरले पानी तान्दैन, आकाशबाट पानी आउँदैन, रोपेको बीउ जोगाउन पनि गाह्रो भएको छ”, उहाँले भन्नुभयो । आकाशे पानीको भर पर्नुपर्ने किसानलाई यस वर्ष धानको बीउ राख्नेदेखि रोपाइँ गर्नसम्म समस्या भएको खजुराका किसान गेहेन्द्र धितालले बताउनुभयो । सिँचाइको व्यवस्था नभएकाले किसानले धान रोप्न आकाश हेरेर बस्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । “प्रकृतिले पनि ठगिरहेको छ, धानखेतीका लागि आवश्यक सिँचाइ, बीउ र मल नपाउँदा बर्सेनि गरिखाने किसानले दुःखमाथि दुःख झेल्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । बाँकेमा सिँचाइ सुविधा नपुगेको क्षेत्रमा घरायसी प्रयोजनका लागि राखिएका मोटर र कतिपय क्षेत्रमा खानेपानीको धाराको पानी प्रयोग गरेर पनि रोपाइँ गरिएको छ । हालसम्म बाँकेमा जम्मा ६० प्रतिशत बढी रोपाइँ भएको कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख शकिल अहमदले जानकारी दिनुभयो । उहाँका अनुसार यसपटक हालसम्म पनि आवश्यक पर्ने वर्षा नभएकाले सबैतिर रोपाइँ हुन सकेको छैन । हालसम्म भएको रोपाइँ पनि अधिकांश सिक्टा सिँचाइको नहर भएको ठाउँ वरिपरि र कृषि ज्ञान केन्द्रको अनुदानबाट सिँचाइ भएको क्षेत्रमा नै गरिएको छ । बाँकेमा सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरबाट राप्ती सोनारी र पश्चिमी नहरबाट कोहलपुर नगरपालिका तथा बैजनाथ गाउँपालिकाका केही वडामा सिँचाइको व्यवस्था भए पनि अधिकांश किसान अहिले पनि आकाशे पानीको भरमा धानखेती गर्न बाध्य छन् । धानको बीउ राख्ने समयलाई दृष्टिगत गरेर पूर्वी र पश्चिमी दुवै नहरमा नियमित रूपमा पानी छाडिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी डिभिजनल इन्जिनियर सन्देश पौडेलले जानकारी दिनुभयो । बाँकेमा ३६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । यस वर्ष नभएका कारण बाँकेमा धान रोपाइँमै किसानलाई कठिनाइ भएको छ ।
काठमाडौं: सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुन: सञ्चालनमा आएको छ । केहीबेर आकाशमा होल्ड गरेको भुटान एयरको जहाज अवतरण भएको छ । बुधबार बिहान ११ बजेर ११ मिनेटमा सौर्यको ९एन–एएमई जहाज दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको छ । क्याप्टेन घाइते छन् । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
बागलुङ: झन्डै ३४ वर्षअगाडि स्थापना भएको बलेवा बहुमुखी क्याम्पसमा विद्यार्थी सङ्ख्या घट्दै गएका छन् । कक्षा १२ पासपछि धेरैको रोजाइ विदेश हुँदा क्याम्पसमा विद्यार्थी न्यून बन्दै गएका हुन् । हरेक वर्ष विद्यार्थी सङ्ख्या घटेपछि क्याम्पसको अस्तित्व नै सङ्कटमा पर्ने जोखिम बढेको छ । बागलुङ नगरपालिका–१३ स्थित बलेवा पैयुँपाटा बहुमुखी क्याम्पसमा विसं २०७० सम्म विद्यार्थीको चाप थियो । दैनिक डेढ सयको हाराहारीमा क्याम्पस आएर पढ्ने विद्यार्थी हुन्थे तर अहिले भर्ना हुने ५० जना पनि छैनन् । बागलुङ बजार नजिकै रहेको पैयुँपाटा गाउँमा विसं २०४७ मा क्याम्पस स्थापना हुँदा गाउँका विद्यार्थीले सहज रुपमा उच्च शिक्षा हासिल गर्न पाएका थिए । पछि गाउँलेको बजार मोह र विद्यार्थीको बढ्दो विदेश पलायनका कारण क्याम्पस रित्तो बन्दै गएको हो । दिनप्रति दिन विद्यार्थीको सङ्ख्या घट्दै गएपछि क्याम्पस नै बन्द हुने जोखिम बढेको छ । क्याम्पसमा विद्यार्थीलाई निःशुल्क पढाउने वातावरण बनाए पनि सङ्ख्या बढ्न सकेको छैन । अहिले क्याम्पसमा गाउँका छोरी बुहारी मात्रैले परीक्षा दिने गरेका छन् । पुरुष विद्यार्थी निकै न्यून छन् । क्याम्पस अनुदान आयोगबाट आउने सहयोग र अक्षकोषबाट सञ्चालन भएको बलेवा बहुमुखी क्याम्पसका प्रमुख ज्ञानेन्द्रराज पन्तले बताउनुभयो । हाल क्याम्पसमा एक पूर्णकालीन, नौ आंशिक प्राध्यापक र कर्मचारी कार्यरत रहेको उहाँको भनाइ छ । अनुदान आयोगबाट वार्षिक रु ११ लाख ९० हजार आउने र क्याम्पसको रु एक करोड ४५ लाख अक्षकोष रहेको हुँदा त्यसबाट क्याम्पस सञ्चालन गरिरहेको पन्त बताउनुहुन्छ । क्याम्पसमा दैनिक पढ्ने विद्यार्थी नहुने उहाँको भनाइ छ । क्याम्पसमा शिक्षा र व्यवस्थापन सङ्कायको पढाइ हुने उहाँ बताउनुहुन्छ । “दश वर्षअगाडि सम्म विद्यार्थीको सङ्ख्या राम्रै थियो, त्यसपछि हरेक वर्ष घट्दै गएको छ, बागलुङ बजार पनि नजिकै रहेको हुँदा कोही बजार जान्छन्, कोही पोखरा, काठमाडौँ गएर पढ्छन्, गाउँमा विद्यार्थीको सङ्ख्या निकै कम भएको हुँदा क्याम्पस पनि न्यून बन्दै गएको हो”, क्याम्पस प्रमुख पन्तले भन्नुभयो, “केही वर्ष अगाडिसम्म विदेश जाने चलन कम थियो, अहिले १२ पास गर्न नपाउँदै विद्यार्थी सबै विदेशको तयारीमा लाग्छन्, त्यसले गर्दा गाउँका क्याम्पसमा विद्यार्थी निकै कम भए ।” बागलुङ–१३ का अध्यक्ष नारायणप्रसाद शर्मा पौडेलले २०४७ सालमा गाउँका विद्यार्थीलाई सहज रुपमा उच्च शिक्षा दिलाउनका लागि आफूहरुले ठूलो सङ्घर्ष गरेर क्याम्पस स्थापना गरेको तर अहिले बन्द हुने स्थितीमा पुगेको बताउनुभयो । गाउँमा १२ पास भएर पढाइ छाडेकाहरुलाई पढ्नका लागि प्रोत्साहन गर्दै निःशुल्क पढ्ने वातावरण तय गर्दा पनि विद्यार्थी नबढेको उहाँको भनाइ छ ।
काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो । विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिनुभयो । उहाँले सङ्कलित ती शव अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको बताउनुभयो । प्रहरी उपरीक्षक विकका अनुसार सो विमानका चालक दलका एक सदस्यलाई जीवितै उद्धार गरिएको छ ।
म्याग्दी: म्याग्दीको विकासका लागि ‘लाइफ लाइन’ भनिएका बेनी–जोमसोम र बेनी–दरबाङ सडकले जनतालाई सुविधा बढी दिए कि सास्ती ? अहिले यही विषयलाई लिएर जिल्लामा बहस हुने गरेको छ । विकासका लागि सडकलाई पहिलो पूर्वाधार मानिन्छ तर म्याग्दीको सन्दर्भमा भने सडककै कारण जनताले पाएको सास्ती र सुविधाको तुलना गर्नुपर्दा ढुक्कसँग सुविधा बढी भनेर भन्न सकिने अवस्था छैन । सुविधाकै लागि भनेर सडक निर्माण गरिन्छ । सडक यात्रीहरुको सुविधाका लागि मात्र नभएर ढुवानी, बजारीकरण र गाउँ र सहरलाई जोड्ने माध्यम पनि हो । म्याग्दीको सदरमुकाम बेनी बजार राष्ट्रिय राजमार्ग (बेनी–मालढुङ्गा–पोखरा) सँग जोडिएको करिब तीन दशक भयो । विसं २०४८ मा ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत सुरु गरेर २०५२ सालमा मार्ग खुलेको बेनी–मालढुङ्गा सडक निर्माण भएपछि म्याग्दी राष्ट्रिय राजमार्गसँग जोडिएको थियो । जिल्ला सदरमुकाम बेनी राष्ट्रिय राजमार्गसँग जोडिएको १२ वर्षपछि २०६४ सालमा नेपाली सेनाले बेनी–जोमसोम सडकको ‘ट्र्याक’ खोलेर २०६७ सालमा सडक विभागलाई हस्तान्तरण गरेको हो । ७६ किलोमिटर दूरीको यो सडकमार्गबाट हिमालपारिको जिल्ला मुस्ताङलाई देशको सङ्घीय राजधानी काठमाडौँ, प्रदेशको केन्द्र पोखरालगायत देशका अन्य सहरहरुसँग जोड्ने एकमात्र माध्यम हो । कालीगण्डकी नदीको तिरैतिर, अनेकौँ भिर र पहरालाई छिचोल्दै यात्रा गर्नुपर्ने यो सडकको अन्य कुनै विकल्प नहुँदा ज्यानको माया मारेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । यस सडकमा खस्ने पहिराले सवारीसाधनमा क्षति पुग्ने र यात्रुलाई चोट लाग्नुका साथै आवतजावत बन्द हुँदा जोखिम, झन्झट र सास्तीपूर्ण बनेको हो । बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा गत असारयता दैनिकजसो यातायात अवरुद्ध हुने गरेको छ । वर्षाले गर्दा नियमित रुपमा पहिरो झरेकाले यातायात सञ्चालन गर्न नसक्दा मुस्ताङ जाने र मुस्ताङबाट फर्कने पर्यटक, तीर्थयात्री र सवारी साधनहरुलाई समस्या भएको मुस्ताङबाट बेनी फर्कंदै गरेका रमेश अधिकारीले जानकारी दिनुभयो । “सडक खुलेको १७ वर्ष बितिसक्दा पनि राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा सधैँ सास्ती हुने गरेको छ । कमजोर भू–बनोट र कालीगण्डकी नदीको कटानका कारण हिउँद्मा सुक्खा पहिरो र वर्षामा बाढीपहिरोका कारण यो सडकमा ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ” उहाँले भन्नुभयो । “राष्ट्रिय गौरवको आयोजना भनेर परिभाषित गरेको कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडक जोखिमको पर्याय बनेको छ । यो सडकको न अर्को कुनै विकल्प छ न त सडक वन्द गर्न सकिने अवस्था नै । हिउँद होओस् वा बर्खा भगवान् पुकार्दै ज्यानकै माया मारेर यो सडकमा यात्रा गर्नुपर्ने बाध्यता छ,” म्याग्दीको पर्यटन अभियन्ता तथा बेनी बजारका व्यवसायी राजेश शाक्यले बताउनुभयो । बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–लेतेसम्मको ३८ किलोमिटर सडकमा ३५ वटा सानाठूला पहिरा रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ध्रुवकुमार झाले बताउनुभयो । “ती पहिरोहरुमध्ये वैसरी पहिरो, सिरुवारी पहिरो, गुइठेपहिरो र खामभित्ता पहिरो ‘अति जोखिमपूर्ण’ पहिरा हुन् भने १४ पहिरोलाई जोखिमयुक्त पहिरोको सूचीमा राखेका छौँ,” उहाँले भन्नुभयो । कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बेनी–जोमसोम–कोरोला सडक आयोजनाले गलेश्वर पहिरो, तातोपानी पहिरो, लाटाखोला पहिरो, रुप्सेछहरा र काप्रेभिर जोखिमपूर्ण पहिरोसहित सबै पहिरो व्यवस्थापनमा रु ७० करोडभन्दा बढी लागत लाग्ने बताइएको छ । “अति जोखिमयुक्त र जोखिमयुक्त पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडकबाट यातायात सञ्चालनको सम्भावना पनि छैन,” आयोजना प्रमुख झाले भन्नुभयो । पाखोबाट खस्ने ढुङ्गा र पहिराले गुडिरहेका सवारीसाधनलाई क्षति पुग्ने र यात्रुलाई चोटपटक लाग्ने गरेको छ । दुई वर्षदेखि बैसरीमा पनि पहिरो खस्न सुरु भएको छ । वैकल्पिक रुपमा सडक स्तरोन्नतिमा ध्यान नदिँदा ठूला सवारीसाधन पहिराले रोकिनुपर्ने अवस्था छ । भिर खनेर बनाइएको बेनी–जोमसोम–कोरला सडक, सडक माथि र तल भिर, भिरमाथिको पाखो, भूमिगत पानी र पहिरोले चिराचिरा परेको भूगोलका कारण यो सडकमा पहिरो खसिरहने हुँदा जोखिम बढ्नाका साथै सडक अवरुद्ध हुने गरेको सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो । सडकमा थुप्रिने पहिरो डोजरको सहायताले पन्छाउने गरिएको पनि उहाँले जानकारी दिनुभयो । वर्षाका कारण ढुङ्गा र माटोसहितको लेदो खसिरहने र ठाउँठाउँमा पहिरो जाने भएकाले यात्रु तथा सवारीसाधनलाई आवश्यक सुरक्षा सावधानी अपनाएर यात्रा गर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दीको तिल्केनीदेखि मुस्ताङको घाँसासम्म सडकको डिलतर्फ पहाडको खोँच छिचोलेर उर्लंदै बगेको कालीगण्डकी र कुनातर्फ विशाल पहरा र भिरबाट आउने पहिरोले बेनी–जोमसोम सडकको अधिकांश भाग खतरायुक्त रहेको प्रहरीले जनाएको छ । उक्त सडक कालीगण्डकी करिडोरमा समेटिएपछि विगत सात वर्षदेखि स्तरोन्नति र चार वर्षदेखि कालोपत्रको काम सुरु भएको छ । तर प्रत्येक वर्ष जेठदेखि असोजसम्म बाढीपहिराका कारण सडकमा काम गर्न सकिने अवस्था नरहने हुँदा बर्सेनि यात्रीले सास्ती खेप्दै आउनुपरेको बेनी–जोमसोम सडक आयोजनाका प्रमुख झाले बताउनुभयो । भिरकोट र बाँदरजुङ्गे भिरमा सडक बनाउन नयाँ प्रविधि भित्र्याउन सडक विभागले अध्ययन गरेको थियो । सुरुङ र हाफ ब्रिज प्रविधि प्रयोग गर्ने विकल्पमा सम्भाव्यता अध्ययन भएको बताइए पनि काम सुरु हुन नसकेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । गत सोमबार गलेश्वरमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा पनि बेनी–जोमसोम–कोरला सडकको उत्पन्न गरेको समाधानविहीन समस्याको विषयमा छलफल भएको थियो । आयोजना प्रमुख झाले विकल्पविहीन सडकले निम्त्याएको जोखिम र समस्याका बारेमा आयोजना एक्लैले केही गर्न नसक्ने र सबै पक्षको उत्तिकै चासो रहनुपर्ने बताउनुभएको थियो । “प्रदेशकै लाइफलाइन मानिएको सडकमा बर्सेनि कैयौँ व्यक्तिहरुको ‘लाइफ इन्ड’ हुने गरेको छ”, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले भन्नुभयो, “२०६४ सालदेखि नै यस सडकको अवस्था सुधार्ने धेरै प्रयास भए पनि संवेदनशील भूगोल र परम्परागत प्रविधि प्रयोगका कारण सडकको अवस्था जस्ताको त्यस्तै रहेको छ ।” बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा बाढीपहिरोको जोखिम रहेकाले रातको समयमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । वर्षातको समयमा वर्षाजन्य विपद्का कारणबाट हुने सवारी दुर्घटनालाई दृष्टिगत गर्दै सडकखण्डको म्याग्दी क्षेत्रमा रहेको जोखिमपूर्ण स्थानमा पहिरोग्रस्त लेखिएको सूचनाबोर्ड राखिने, रातको समयमा यात्रा गर्दा फस्ने यात्रुलाई उद्धारमा समस्या हुने प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले बताउनुभयो । “रातको समयमा यात्रा निकै जोखिमपूर्ण छ, बाढीपहिरोग्रस्त क्षेत्रमा सूचना बोर्ड राख्दैछौँ, ट्राफिक प्रहरीलाई समेत रुटको अवस्थाका बारेमा जानकारी गराउने गरी खटाइएको छ,” प्रजिअ ढकालले भन्नुभयो । ‘अति जोखिमपूर्ण’ चारओटा पहिरो पहिचान राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकमा चारओटा ‘अति जोखिमपूर्ण पहिरो’ पहिचान भएका छन् । भूगर्भविद्हरुबाट अहिले भइरहेको भौगर्भिक अध्ययनअनुसार बेनीदेखि लेतेसम्मको ३८ किलोमिटर सडकमा ३५ वटा सानाठूला पहिरा रहेकामा बैसरी पहिरो, सिरुवारी पहिरो, गुइठेपहिरो र खामभित्ता पहिरो ‘अति जोखिमपूर्ण’ पहिरा पहिचान भएका बेनी–जोमसोम–कोरोला सडक आयोजना प्रमुख ध्रुव झाले जानकारी दिनुभयो । उहाँका अनुसार गलेश्वर पहिरो, तातोपानी पहिरो, लाटाखोला पहिरो, रुप्सेछहरा र काप्रेभिर पहिरोलाई जोखिमपूर्ण पहिराको सूचीमा राखिएको छ । पहिरोको विस्तृत अध्ययन भइरहेकोले पहिरो नियन्त्रणका लागि लागत अनुमान तथा डिपिआर निर्माण गर्ने काम भने अझै बाँकी रहेको उहाँले जानकारी दिनुभयो । “बेनी–जोमसोम–कोरोला सडकको म्याग्दी खण्डमा पर्ने ३८ किमी सडक खण्डमा पर्ने पहिराको भौगर्भिक अध्ययन भइरहेको छ, अहिलेसम्म चारओटा अति जोखिमयुक्त पहिरो पहिचान गरी सूचीकृत गरिएको छ,” आयोजना प्रमुख झाले भन्नुभयो । “बेनी–लेते खण्डमा रहेका ३५ ओटा पहिराहरुमध्ये नौओटा पहिरो मनसुन याममा यात्रा जोखिमपूर्ण रहेका पाइएको छ,” मालढुङ्गा–बेनी–जोमसोम–कोरोला सडक आयोजना इन्जिनियर विष्णु चापागाईंले भन्नुभयो, “यी स्थानमा वर्षा हुने बित्तिकै पहिरो खस्ने भएकाले मनसुन अवधिभरका लागि एस्काभेटर र लोडर स्ट्यान्डबाई राखेका छौँ । यो सडकमा यात्रा गर्दा अलि सचेत हुनुपर्ने देखिएको छ ।” मनसुन सुरु भएपछि बेनी–लेते खण्डका यी पहिरोहरूले दिनमा कहीँ न कहीँ यातायात अवरुद्ध हुन्छन् । पहिरोग्रस्त भिरमाथिबाट पानी पर्दा निरन्तर लेदो र ढुङ्गा खस्ने भएकाले पैदल तथा सवारी साधनका यात्रु जोखिममा छन् । अति जोखिमयुक्त मानिएका बैसरी, सिरुवारी, गुइठे र खामभित्ता पहिरोमा जमिनभित्र मूल निक्लने र भित्रभित्र बग्ने समस्या रहेकाले अति कम्प्लेक्स देखिएकाले पहिरोभित्र पाइप छिराएर होरिजेन्टल ड्रेनमार्फत जमिनभित्रको पानी बाहिर निकाल्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । जति पन्छायो त्यति खस्छ फापरखेतको पहिरो डेढदशक देखि करोडौँ खर्चिएर स्तरोन्नति तथा हरेक बर्खाको समयमा दर्जनौँ पटक मर्मत गरिए पनि पश्चिम म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको फापरखेतको पहिरो झनझन् भयानक बन्दै सधैँको टाउको दुखाइ बनेको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने यो पहिरो झनै फराकिलो बन्दै जाँदा रोकथामका साथै वर्षा नहुँदासमेत जोखिम बढेपछि आवतजावतमा समस्या भएको छ । पहिरोको विकल्पमा वैकल्पिक सडक र म्याग्दी नदीमा बेलिब्रिज निर्माणका लागि प्रारम्भिक अध्ययनमै सीमित भएपछि अहिले पश्चिम म्याग्दीका तीन स्थानीय तहबाट सदरमुकाम बेनीसम्म आउनजान पनि निकै समस्या हुने गरेको यात्रुको भनाइ छ । “यो पहिरोमा अब हिउँदको समयमा पनि यात्रा गर्न जोखिम हुन्छ, वैकल्पिक सडकमा सरोकारवालाले ध्यान नदिँदा समस्या ज्यूँका त्यूँ छ,” मङ्गला गाउँपालिका–१, कुहुँका दीपशिखा माविका प्रधानाध्यापक डा नन्दबहादुर खत्रीले भन्नुभयो । उहाँले अहिलेको अवस्थामा प्रयोग भइरहेको वैकल्पिक सडकमा मोटरसाइकलबाट आवतजावत गर्नसमेत निकै समस्या भएको बताउँदै तत्काल वैकल्पिक सडक र बेलिब्रिज निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभयो । बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको भन्दै वैकल्पिक मार्गमा ध्यान दिन सरोकारवाला निकायलाई अनुरोध गरिएको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । “बर्खाको समयमा वैकल्पिक मार्ग आवश्यक छ, पालिकाले धेरै पहल गरेको छ, अहिले मोटरसाइकललाई सहज हुने गरी वैकल्पिक बाटो मर्मतमा जुटेका छौँ”, अध्यक्ष रोकाले भन्नुभयो । मङ्गला गाउँपालिका–३ पखेर लुलियाघाट र वडा नं २ मा पर्ने सिमलचौर जोड्ने म्याग्दी नदीमाथि बेलिब्रिज तथा पखेरदेखि लुलियाघाट र सिमलचौरको मूल सडक जोड्ने करिब एक किलोमिटर वैकल्पिक सडक निर्माणका लागि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहितको टोलीले हालै प्रस्तावित स्थानको अध्ययनसमेत गरेको थियो । प्रस्तावित स्थानमा जग्गा पर्ने स्थानीयको असहमति तथा बजेटको सुनिश्चितता नहुँदा वैकल्पिक मार्गले गति लिन नसक्दा यो बर्खामा यात्रुलाई निकै सास्ती भएको छ । सडक विभागले फापरखेत–पखेर जोड्ने एक सय पाँच मिटर लामो मोटरेबल पुल निर्माण गरेको अवस्थामा सो क्षेत्रबाट मार्ग व्यवस्थित बनाउन सकेमा हिउँदमा फापरखेतको पहिरो पन्छाउने झन्झट गर्नुपदैन । फापरखेतमा करिब दुई सय मिटर सडक पहिरोग्रस्त छ । सडकदेखि साढे दुई सय माथि रहेको पहिरो यसपटक झनै फराकिलो बन्दै पुल आसपासको क्षेत्रमाथि समेत खस्न थालेपछि पुल नजिकै रहेका घर जोखिममा परेको छ । २४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकमा नियमित यातायात सञ्चालन गर्न फापरखेत र बाङ्गेपहिरो मुख्य चुनौती बनेको छ ।
काठमाडौं: काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो । यो पनि पढ्नुहोस २१ वर्ष ४ महिना बुढो भएकाे थियो जहाज विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिनुभयो । उहाँले सङ्कलित ती शव अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको बताउनुभयो । प्रहरी उपरीक्षक विकका अनुसार सो विमानका चालक दलका एक सदस्यलाई जीवितै उद्धार गरिएको छ । सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो । अहिले विमानस्थलमा आन्तरिक उडान प्रभावित भएको छ ।