काठमाडौँ: कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ । मिर्गौला रोगबाट पीडित नकर्मीको गए राति वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालका अनुसार उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि केही समय नगरपालिकामा राखिने र आजै अन्त्येष्टि गरिने छ । नगरपालिकाले आज एक सूचना जारी गरी नकर्मीको निधनमा नगरपालिकाले शोक बिदा दिइएको जनाएको छ ।
म्याग्दी: रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सबइन्जिनियर सोहनजङ्ग कार्कीले सडकमा खसेको ढुङ्गा फुटाउन ‘ब्रेकर’सहितको ‘डोजर’ पठाइन लागेको जानकारी दिनुभयो । “लोडरले पहिरो र ब्रेकरले ढुङ्गा फुटाउने तयारी गरेका छौँ”, आजै सडक खोल्ने लक्ष्यका साथ काम गरिने उल्लेख गर्दै उहाँले भन्नुभयो । स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका निर्माण व्यवसायी, सडक विभागका उपकरण, प्राविधिक र मजदुर पहिरो पन्छाउन परिचालन भएका छन् ।
गण्डकी: गायक तथा अभिनेता प्रकाश सपूत यतिबेला चलचित्र ‘वसन्त’ को प्रि–प्रडक्सनमा व्यस्त हुनुहुन्छ । निर्देशकका रुपमा उहाँले गत वैशाखमा आफ्नो पहिलो चलचित्र ‘वसन्त’ निर्माणको घोषणा गर्नुभएको थियो । उक्त चलचित्रको शीर्षक भिडियो यसअघि नै सार्वजनिक भइसकेको छ । आगामी भदौ तेस्रो सातादेखि चलचित्रको छायाँकन सुरु हुने उहाँले जानकारी दिनुभयो । “अहिले छायांकन पूर्वको तयारी भइरहेको छ, कलाकार छनोटदेखि स्क्रिप्ट, छायाँङ्कनस्थल टुङ्गोमा पु¥याउनेलगायत प्रि–प्रडक्सनको काम भइरहेको छ”, सपूतले भन्नुभयो, “चलचित्रको अधिकांश छायाँङ्कन बागलुङ बजार र आसपासको गाउँमा गर्ने तयारी भइरहेको छ, काठमाडौँ र तराईमा पनि केही भाग छायाँङ्कन हुनेछ ।” चैते दसैँ र नयाँ वर्षलाई लक्षित गरी आगामी चैत २२ गतेलाई चलचित्रको प्रर्दशन मिति तोकिएको छ । उहाँले आफ्नो फेसबुकमा केही दिनअघि लेख्नुभएको थियो, “चलचित्र ‘वसन्त’ गीतहरुबाट बन्ने छ र गीतहरु जीवन जस्तै हुनेछन् । छिनछिनमै बदलिरहने तर हामीसँगै हुने हाम्रो हाँसो र आँशु जस्तै । हावा र पानी जस्तै । जन्मिएर भर्खर हास्न थालेको आफ्नो सन्तान जस्तै । हेरिरहूँ लाग्ने । ‘वसन्त’ कथाले भन्दा बढी विचार, भावना र संवेदनाहरुले बन्नेछ । आशा छ तपाईंलाई आफ्नै लाग्नेछ ।” गायन करिअरको शिखरमा रहेकै बेला उहाँले चलचित्र निर्माण तथा निर्देशन गर्न लाग्नुभएको हो । सपूत नारायण रायमाझीद्वारा निर्देशित चलचित्र ‘परेदशी २’ बाट अभिनेताका रुपमा उदाउनुभएको थियो । ‘वसन्त’मा पनि उहाँ आफैँ मुख्य पात्रका रुपमा देखिँदै हुनुहुन्छ । ‘परदेशी २’को अनुभव र दर्शकबाट पाएको विश्वासले चलचित्र निर्माण र निर्देशनमा आँट दिलाएको उहाँको भनाइ छ । चलचित्र निर्देशनलाई उहाँले आफ्नो अर्को सपना भएको रुपमा अथ्र्याउनुभयो । गायनसँगै म्यूजिक भिडियोको अभिनय र नृत्यमा पनि सपूतलाई दर्शकले रुचाएका छन् । “अभिनेताका रुपमा ‘परदेशी २’ लाई मैले परीक्षाका रुपमा लिएको थिएँ, निर्देशकीय हिसाबले ‘वसन्त’ अर्को परीक्षा हो”, सपूतले भन्नुभयो, “पहिलेदेखि सँगालेको सपना पूरा गर्न पाउँदा उत्तिकै उत्साहित पनि छु ।” चलचित्र ‘वसन्त’ आफ्नो पुस्ताले बाँचेको समयको कथामा आधारित रहेको उहाँले सुनाउनुभयो । “चलचित्रमा दर्शकले आफ्नै गाउँठाउँको कथा पाउनेहुनेछ, यसमा नेपालीपन हुनेछ, मौलिक लवज र सङ्गीत हुनेछ”, सपूतले भन्नुभयो, “चलचित्रले हाम्रै समयको कथा भन्छ, सामाजिक विषयवस्तु यसमा मुखरित छ ।” चलचित्रमा आफ्नै जन्मथलो बागलुङको धम्जा गाउँको परिवश र कथावस्तु चित्रित हुने उहाँको भनाइ छ । सपूतले आफ्नो भोगाइ र अनुभवलाई चलचित्रको कथामा ढालेको बताउनुभयो । विश्वकर्मा समुदायको युवकले लेखक बन्ने सपना पूरा गर्न गरेको सङ्घर्ष र उसको प्रेमकथालाई चलचित्रमा देखाउन खोजिएको सपूतले बताउनुभयो । कथा, सङ्गीत, निर्देशन, पात्र र चरित्र निर्वाहका दृष्टिले चलचित्रमा नेपालीपन दिन खोजिएको सपूतले बताउनुभयो । चलचित्रको दोस्रो मुख्य पात्र ‘शान्ति’ का रुपमा अभिनेत्री स्वस्तिमा खड्काले सपूतलाई साथ दिनुहुने छ । गलबन्दी प्रडक्सनको ब्यानरमा बन्ने चलचित्रमा अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाललगायतको अभिनय रहनेछ । चलचित्रको कथा र सङ्गीत पनि सपूत आफैँले तयार पार्नुभएको छ । चलचित्रको सह–निर्देशन सुनिल विकले गर्ने जनाइएको छ । चलचित्रको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन रहनुभएको छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका सपूतका ‘गलबन्दी’, ‘बोलमाया’, ‘पिर’, ‘सकम्बरी’, ‘दमाइ महाराज’, ‘बदला बरिलै’, ‘कुरा बुझ्नुपर्छ’ लगायत गीत चर्चित छन् । सामाजिक मुद्दालाई सिर्जनामा मुखरित गर्न पारङ्गत उहाँ गीतमा कथानकको प्रयोग गर्न सक्ने स्रष्टाका हिसाबले पनि चिनिनुहुन्छ । सपूतका कतिपय रचनालाई लिएर सार्वजनिक विवाद र बहससमेत हुने गरेको छ । विसं २०६९ मा ‘मुसुमुस नहाँस मायाले’ बोलको लोकदोहोरी गीतबाट साङ्गीतिक क्षेत्रमा प्रवेश गर्नुभएका सपूत अहिलेका सर्वाधिक सफल कलाकारका रुपमा चिनिनुहुन्छ । मौलिक गीत ‘गलबन्दी’ बाट चर्चाको उचाइमा पुग्नुभएका उहाँका गीतका म्यूजिक भिडियोले युट्युबमा करोडौँ ‘भ्यूज’ बटुल्न सफल भएका छन् ।
चितवन: चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डस्थित सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता दुई वटा बस तथा यात्रुको खोजी कार्यमा खासै प्रगति देखिएको छैन । आज घटना भएको १४ दिन बितिसक्दा पनि नेपाल भारतका संयुक्त सुरक्षा फौजबाट खोजतलास जारी छ तर अहिलेसम्म बेपत्ता गाडी र बाँकी यात्रुबारे कुनै पनि नयाँ सङ्केत नमिलेको सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय सहप्रवक्ता, प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिनुभयो । विगत ५ दिनदेखि सशस्त्र प्रहरी बल नेपालको गोताखोरसहित छिमेकी राष्ट्र भारतको राष्ट्रिय आपदा मोचन बल ९नेशनल डिजास्टर रेष्पोन्स फोर्स० बाट १२ जनाको प्राविधिक टोलीले संयुक्त रुपमा खोजी गरिरहेको छ । थापाका अनुसार सिमलतालदेखि भारतीय सीमा क्षेत्र गण्डक ब्यारेजसम्मै विभिन्न क्षेत्रबाट टोली परिचालन गरेर खोजी भइरहेको छ । गत शनिबार चितवन आइपुगेको भारतीय प्राविधिकसहितको टोलीले आइतबार बिहानबाट खोजी कार्य थालेको थियो । उक्त दुःखद् घटनामा परी हराइरहेका यात्रुमध्ये हालसम्म २५ वटा शव प्राप्त भएको छ । गत असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएको थियो । उक्त बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । अझै दुई बससँगै ३७ यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन ।
धादिङ: धादिङको थाक्रे गाउँपालिका–१० गढीमा तीन वटा चितुवा मृत फेला परेको छ । गढीस्थित अदुवाबारीमा दुई वटा र मकैबारी एक वटा चितुवा मृत अवस्थामा आज भेटिएको हो । घाँस काट्न गएको बेला स्थानीयले देखेर खबर गरेपछि प्रहरीसहित टोली आफू घटनास्थलमा पुगेको वडा नम्बर १० का वडाध्यक्ष गोकुल लामिछानेले जानकारी दिनुभयो । मृत अवस्थामा फेला परेको चितुवा बैरेनी सवडिभिजन वन कार्यालयलाई बुझाइएको छ । थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
चितवन: भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु हुने भएको छ । भरतपुर महानगरपालिका र हिमालयन कालिञ्चोक विविआर जेभिले आज संयुक्त रुपमा स्थलगत अनुगमनपछि निर्माण कम्पनीले एक साताभित्र निर्माणको काम सुरु गर्ने जनाएको हो । धुर्मुस सुन्तली फाउण्डेशनले रङ्गशाला निर्माणका लागि ल्याएर बाँकी रहेको सामानको लगत सङ्कलनको काम आजैदेखि सुरु गरिएको छ । महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीसहित निर्माण व्यवसायीका प्रतिनिधिहरुले स्थलगत अनुगमन गरेको हो । फाउण्डेशनले निर्माणका लागि ल्याएको सामानको मुचुल्का तयार गरे लगत्तै निर्माणका लागि काम थालिने निर्माण कम्पनीका विकास गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आइतबारदेखि सरसफाइलगायत काम सुरु हुन्छन् ।” रङ्गशाला निर्माणस्थलमा रहेको झाँडी पन्छाउने, सरसफाइ गरेर कामलाई तीव्रता दिइने उहाँले बताउनुभयो । महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालका अनुसार फाउण्डेशनले निर्माणका लागि ल्याएका सामान महानगरपालिकाले व्यवस्थापन गर्नुपर्ने हुँदा मुचुल्का उठाउने काम सुरु गरिएको बताउनुभयो । प्राविधिक टोलीसहित मुचुल्का उठाएपछि निर्माण कम्पनीले आफ्नो काम सुरु गर्ने उहाँले बताउनुभयो । रङ्गशाला निर्माणका लागि गत असार २३ गते महानगरपालिका र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार रु ७८ करोड ५० लाख ९१ हजार एक सय ८९ मा निर्माण सम्पन्न गर्ने गरी दुई पक्षीय सम्झौता भएको छ । धुर्मुश–सुन्तली फाउण्डेशनले निर्माण गर्न नसकेर हस्तान्तरण गरेको रङ्गशाला ३० महिनामा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको उहाँले बताउनुभयो । संयुक्त अनुगमनपछि महानगर प्रमुख दाहालले एक सातामा निर्माणको काम सुरु गर्ने गरीठेकेदार कम्पनीले कामलाई अघि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माणको वातावरण बनाइ दिने काम महानगरपालिकाको हो । समयमा काम सम्पन्न गर्ने जिम्मेवारी निर्माण कम्पनीको हो ।” पहिलो चरणमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गराउन मिल्ने गरी मैदान र स्टेडियम निर्माणको काम हुने उहाँले बताउनुभयो । तीन तहको सरकारको साझेदारीमा बन्न लागेको रङ्गशाला समयमा नै निर्माण सम्पन्न गरी अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गराइने उहाँले बताउनुभयो । कम्पनीले खेल मैदान, पिच, प्रोटेक्सन वाल, दुई वटा टावर बिल्डिङ र थप १० हजार क्षमताको प्याराफिट निर्माण गर्नेछ । निर्माणाधीन रङ्गशाला करिब तीन वर्षदेखि अलपत्र अवस्थामा थियो । रङ्गशालाको सबै काम पूरा गर्न रु तीन अर्बभन्दा बढी खर्च लाग्ने छ । पहिलो चरणको काम पूरा भएपछि दोस्रो चरणको निर्माण सुरु हुने महानगरपालिकाले जनाएको छ । महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले निर्माणका क्रममा देखिएका समस्या सामूहिक रुपमा समाधान गर्दै जाने बताउनुभयो । निर्माण व्यवसायीलाई चाँडो काम सुरु गरेर समयमा नै सम्पन्न गर्न उहाँले निर्देशन दिनुभयो । त्रिभुवन विश्वविद्यालयसँग ३० वर्षका लागि जग्गा भाडामा लिएर रङ्गशाला निर्माणअघि बढाइएको हो । रङ्गशाला त्रिभुवन विश्वविद्यालयको नाममा रहेको २० बिघा छ कठ्ठा जग्गा बन्ने छ । विसं २०७५ माघ १६ गते महानगरपालिका र फाउण्डेशनबीच निर्माणका लागि सम्झौता भएको थियो । अधिकारीले फाउण्डेशनले काम गर्न नसकेर महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेसँगै सङ्घ र प्रदेशसँग समन्वय गरेर रङ्गशाला निर्माण गर्न लागिएको बताउनुभयो ।
मकवानपुर: मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० स्थित राप्ती खोलामा बगेर आज एकको मृत्यु भएको छ । उपमहानगरपालिका–१ स्थित तरकारी बजारमा मजदुरी गर्दै आएका ३५ वर्षीय राजु पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । खोलाले बगाइ ल्याएको छ भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल ल्याएको र तत्कालै डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
काठमाडौं: नेपाल सरकारले कायम मुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई आज मुख्य सचिवमा नियुक्त गरेको छ । मुलुकको प्रशासनिक इतिहासमा उहाँ नै प्रथम महिला मुख्यसचिव हुन सफल हुनुभएको हो । वर्तमान सरकारले नै उहाँलाई असार ३१ गते निमित्त मुख्यसचिवबाट कामु मुख्यसचिवको जिम्मेवारी दिएको थियो । विसं २०२३ साल भदौ १५ मा ते¥हथुममा जन्मनुभएकी गड्तौला विसं २०५२ मा नेपालको निजामति सेवाको न्याय समूहको शाखा अधिकृतबाट राष्ट्र सेवामा प्रवेश गर्नुभएको थियो । विसं २०६३ मा उपसचिव, विसं २०७० मा सहसचिव, २०७७ मा सचिवमा बढुवा हुनुभएको थियो । उमेर हदका कारण उहाँ आउँदो भदौ १५ बाट सेवा निवृत्त हुनुहुनेछ । ‘जस्तो कर्म ग¥यो, त्यस्तै फल प्राप्त हुन्छ’ भन्ने विश्वास राख्ने नवनियुक्त मुख्यसचिव गड्तौलाले निजामति सेवामा राम्रै कर्म गरेको परिणामकारूपमा यो जिम्मेवारी प्राप्त भएको राससलाई प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्ले मलाई कामु मुख्यसचिवको जिम्मेवारी दिएको थियो । दश दिनपछि मुख्यसचिवमा आज नियुक्त गरेको छ । यो सरकार महिलाप्रति उदार छ भन्ने देखियो, न्याय सेवाको कर्मचारीलाई मुख्यसचिवको जिम्मेवारी दिनुभएको छ, वर्तमान सरकारप्रति धन्यवाद छ ।” इमान्दार भएर काम गरेमा कही न कही मूल्याङ्कन र अवसर प्राप्त गर्ने रहेछ भन्ने सन्देश समस्त निजामति कर्मचारीमा गएको बताउँदै मुख्यसचिव गड्तौलाले महिलालाई माथिल्लो तहको जिम्मेवारीमा दिन हिचकिचाउँछन् भन्ने भाष्य परिवर्तन हुँदैगएको धारणा व्यक्त गर्नुभयो । निजामति कर्मचारीमा प्रवेश गरेका कर्मचारीमा मुख्यसचिव बन्ने लक्ष्य हुने बताउँदै उहाँले भन्नुभयो, “त्यसमा केही पुगिन्छ, कोही पुगिन्न । केही सचिव र सहसचिवमा पुगिन्छ, कोही तलैबाट बाहिरिनुपर्छ । भाग्यछ भन्दैमा डोकोमा दूध अडिन्न, कर्म गर्नुपर्छ, राम्रो कर्म गरे राम्रो फल पाइन्छ ।” राज्यबाट जनतालाई प्रदान गरिने सेवाप्रवाहमा सहज र सरल तुल्याउन सम्पूर्ण राष्ट्रसेवक निजामति कर्मचारी मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउदै मुख्यसचिव गड्तौलाले संसद्मा अड्किरहेको निजामति विधेयकलाई अघि बढाउन र राम्रो कर्म गर्ने कार्यलाई प्रोत्साहन र प्रेरणा प्रदान गर्न लागि पर्ने दृढता व्यक्त गर्नुभयो ।
काठमाडौं: दुर्घटनामा घाइते हुनुभएका सौर्य एयरलाइन्सका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको काठमाडौँ मेडिकल कलेजले जनाएको छ । अस्पतालका निर्देशक प्राडा मीना थापाले विज्ञप्ति जारी गर्दै उपचाररत केसीको स्वास्थ्यमा अन्य जटिलता नदेखिएको बताउनुभएको छ । बुधबार विहान सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा दुर्घटनाग्रस्त हुँदा सोही विमानका चालक शाक्यलाई घाइते अवस्थामा उद्धार गरिएको थियो । विमानमा सवार अन्य १८ जनाको मृत्यु भइरसकेको छ । शाक्यलाई उद्धार गरी सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा उपचार सुरु गरिएको थियो । “क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य छ । उहाँको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट लागेको छ, ढाडको एउटा हड्डी साथै देव्रेपट्टीका तीन वटा करङ्ग भाच्चिएका छन्”, विज्ञप्तिमा भनिएको छ । अस्पतालले विमान दुर्घटनामा मृत्यु भएकाप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारमा हर्दिक समवेदना व्यक्त गरेको छ ।