पोखरा: नेपाल मगर पत्रकार संघ कास्कीको अध्यक्षामा सुरज थापामगर सर्वसम्मत चयन भएका छन् । मगर पत्रकार संघ कास्कीको तेस्रो जिल्ला अधिवेशनबाट सुरज थापामगरको अध्यक्षतामा १३ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा चेतबहादुर थापा (प्रविण), सचिवमा कविता घर्तीमगर, सहसचिवमा बलबहादुर रोकामगर र कोषाध्यक्षमा सुमन थापामगर चयन भए । यस्तै सदस्यहरुमा दुर्गा रानामगर, आशामाया मगर, राकेश थापामगर, सोनु रानामगर, राज बुढामगर र जुना थापामगर चयन भए । संघको बैठकले २ जना सदस्य मनोनित गर्नेछ ।
पोखरा: नेपाल मगर पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८१’ नवलपुरकी पत्रकार शारदा झेंडी मगरलाई अर्पण गरिएको छ । राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिमार्फत स्थापित मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार नेपाल मगर पत्रकार संघ कास्कीको तेस्रो अधिवेशनको अवसरमा झेंडी मगरलाई अर्पण गरिएको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगरले दोसल्ला, सम्मानपत्र र नगद रु १० हजारसहित पुरस्कार अर्पण गरे । सो अवसरमा बोल्दै गाहामगरले मगर समुदाय शैक्षिक क्षेत्रमा कमजोर रहेकै कारण राजनीतिक तथा प्रशासनीक पहुुँचबाट पछाडि परेको धारणा राखे । सांसद गाहामगरले जनसंख्याको आधारमा मगर समुदाय तेस्रो समुदाय भएपनि शिक्षामा कमजोर हुँदा राज्यको नीति निर्माण तहमा पछाडि परेको उल्लेख गरे । ‘नेपालको जनसंख्या अनुसार मगर जाति तेस्रो स्थानमा रहेको छ, जनसंख्यामा मात्र धेरै भएर भएन’, सांसद गाहामगरले भने, ‘जनसंख्याको आधारमा मात्र धेरै भएर भने, हामी शिक्षामा पनि अगाडि बढ्न आवश्यक छ । शिक्षामा कमजोर हुँदा नै हामी राज्यको नीति निर्माण तहमा पछाडि परेका छौं ।’ उनले राज्यको निर्णायक तहमा पुग्नका लागि मगर समुदाय राजनीतिमा आउनुपर्ने बताए । उनले मगर समुदायको मात्र नभएर आदिवासी समुदायको संस्कार –सस्कृति पुस्तातन्रण गर्न आवश्यक रहेको बताए । सांसद गाहामगरले मगर समुदायको भाषा संरक्षण लोप हुन लागेकाले संरक्षणमा चासो देखाउन आवश्यक रहेको उल्लेख गरेका थिए । यस्तै राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिताबाट पुरस्कृत शारदा झेंडी मगरले मगर समुदायको मौलिक कला संस्कृति संरक्षण र पुस्तातन्तरण हुन आवश्यक रहेको बताएकी थिइन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशका अध्यक्ष तथा ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८१’छनौट समितिका संयोजक रुद्र श्रीस मगरको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले पत्रकार झेंडी मगरलाई यस वर्षको पुरस्कार अर्पण गर्न सिफारिस गरेको थियो । २०७५ सालमा स्थापना भएको पुरस्कारबाट यस अगाडि कमला राना मगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की), प्रताप रानामगर (तनहुँ), मानबहादुर घर्तीमगर ‘एमबी आस्था’ (कास्की), मनोज घर्तीमगर (कास्की), खेम सारुमगर (कास्की) पुरस्कृत भइसकेका छन् । पुरस्कृत झेंडी मगर बुद्धदर्शन टेलिभिजनमा स्टेशन म्यानेजरको भूमिकामा रहेकी उनी रेडियो मध्यविन्दु र नवलपुर ताइम्समा सम्पादकको रुपमा कार्यरत छिन् । राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार मगर जातिको भाषा, कला, धर्म, रितिरिवाज तथा संस्कार–सस्कृति र कौराहा संरक्षणको क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरुलाई वार्षिक रुपमा प्रदान गर्दै आएको छ ।
पोखरा: पोखरा महानगरपालिका–७ माछापुच्छ«े टोलकी आस्था गिरी सोमबार साँझ आफ्नै घरछेउमा थरिथरिका तरकारी किन्न पाउँदा मख्ख हुनुहुन्थ्यो । त्यहाँ उहाँजस्ता धेरै गृहिणीको तरकारी किन्न भीड नै लागेको थियो । कृषि एम्बुलेन्सले गाउँगाउँबाट लिएर आएका तरकारी बिक्रीका लागि पोखरा महानगरपालिकाले वडा नं ७ को रत्नचोकमा सोमबारदेखि किसान बजार सञ्चालनमा ल्याएपछि उपभोक्तामा खुसी छाएको छ । फर्सीका मुन्टा, गोलभेँडा, करेलालगायत तरकारी हातमा लिएर आस्थाले भन्नुभयो, “पृथ्वीचोकतिर पुगेर तरकारी ल्याउने गरेका थियौँ, यसरी घर नजिकै छानीछानी ताजा तरकारी पाउँदा खुसी लागेको छ । यो बजार निरन्तर सञ्चालन भए अझ दैनिक ताजा तरकारी पाइथ्यो कि ?” स्थानीय उत्पादन उपभोगलाई प्रवर्द्धनका लागि पोखरा महानगरपालिकाले पोखराका विभिन्न स्थानमा किसान बजार सञ्चालनमा ल्याएको छ । महानगरले गाउँमा उत्पादन भएका कृषि उपज बजारसम्म ल्याउनका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । कृषि एम्बुलेन्सले महानगरका ग्रामीण बस्तीमा उत्पादित तरकारी निःशुल्क रूपमा बजारमा बिक्री वितरणमा सहयोग पुगेको छ । गत वर्षदेखि महानगरले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो । कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्तालाई जोड्ने काम गरेको महानगर कृषि तथा आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो । उहाँका अनुसार पोखराका सात ठाउँमा सातामा एक दिन किसान बजार सञ्चालन हुने गरेकामा माग बढ्दै गएकाले केही वडामा सातामा दुई दिन बजार सञ्चालन हुने गरेको छ । ग्रामीण भेगका साना किसानले उत्पादन गरेको कृषि उपज सङ्कलनका लागि महानगरका २१ स्थानमा सङ्कलन केन्द्र स्थापना गरिएको र ती ठाउँमा एम्बुलेन्स पुगेर कृषि उपज बजारमा ल्याउने गरेको महाशाखा प्रमुख कडरियाले बताउनुभयो । “ठूला किसानले आफ्नै गाडीबाट ल्याएर बजारमा बिक्री गरे पनि साना किसानले त्यसरी बिक्री गर्न सक्दैनन् । अहिले किसानले आफूले उत्पादन गरेका कृषि उपज सङ्कलन केन्द्रमा लिएर आउनुहुन्छ, कृषि एम्बुलेन्सले त्यहाँबाट बजारसम्म ल्याउने गर्दछ । अहिले उत्पादकको उत्पादनले राम्रो बजार पाएको छ भने उपभोक्ताले स्वस्थ, विषादीरहित र ताजा कृषि उत्पादन उपभोग गर्न पाउनुभएको छ”, प्रमुख कडरियाले भन्नुभयो । कृषि एम्बुलेन्स सञ्चालनसँगै बजारका उपभोक्ताले विषादीरहित ताजा तरकारी उपभोग गर्न पाएको बताइन्छ । बाहिरबाट ल्याउँदा तरकारी क्षति हुने, प्रदूषित हुने गरेकामा अहिले एकदेखि दुई घण्टामा उत्पादकदेखि उपभोक्तासम्म आइपुग्ने अवस्था रहेको महाशाखा प्रमुख कडरियाले बताउनुभयो । उहाँले भन्नुभयो, “बाहिरबाट तरकारी ल्याउँदा क्षति हुने गरेको थियो । प्रदूषितसमेत हुन्थ्यो । चिस्यान सुविधासहितको एम्बुलेन्समा राखेर ल्याउँदा तरकारी बिग्रिँदैन । एक–दुई घण्टामा उत्पादकदेखि उपभोक्तासम्म आउने गरेको छ ।” कृषि उपजमा हुने क्षति कम, उत्पादन क्षेत्रदेखि बजार केन्द्रसम्म सुरक्षित उपज ढुवानी, बजारीकरण र बिचौलियापनको अन्त्य, किसानलाई तरकारी बजारसम्म पुर्याउन हुने तनावको अन्त्य, स्थानीय उत्पादनलाई प्रोत्साहन र उपभोक्ताको घरघरमा ताजा तरकारीको उपलब्धतामा एम्बुलेन्सले सहयोग पुगेको बताइन्छ ।
गण्डकी: सोमबार साँझ केही युवा लेखनाथ रङ्गशालामा फुटबल खेलिरहेका थिए । खेलाडीले प्रहार गरेको बल घरी घाँसभित्र घरी हिलोमा पुग्थ्यो । यद्यपि उनीहरू उत्साहका साथ खेलिरहेका थिए । मैदानको छेउमा किशोरहरू पनि फुटबल अभ्यासमा रमाइरहेका थिए । फुटबल, भलिबलदेखि सन्ध्याकालीन हिँडडुल र व्यायामका लागि पुगेकाहरूको चहलपहल रङ्गशालामा थियो । बिहानबेलुका करातेलगायत मार्सल आर्टका खेलाडी पनि अभ्यासका लागि त्यहाँ पुग्छन् । कभर्ड हल नभएका कारण उनीहरू खुला आकाशमुनि अभ्यास गर्न बाध्य छन् । वर्षा याममा रङ्गशालाको ‘ट्रयाक’ हिलाम्मे हुने भएकाले अभ्यासपूर्व खेलाडीहरू दौडनसमेत पाउँदैनन् । आठ वर्षअघि निर्माण सुरू भएको बहुउद्देशीय कभर्ड हल बीचमै अलपत्र परेपछि ‘इन्डोर’ खेलको पनि चौरमै प्रशिक्षण गराउनुपर्ने बाध्यता छ । पोखरा महानगरपालिका– २९ स्थित यो रङ्गशालामा पूर्वाधार नहुँदा व्यवस्थित ढङ्गले खेल गतिविधि सञ्चालन गर्न कठिन भएको छ । पोखरा रङ्गशालाको विकल्प मानिएको लेखनाथ रङ्गशालामा भौतिक पूर्वाधार बनाउनुपर्नेमा स्थानीय खेलाडीले जोड दिएका छन् । आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङले रङ्गशालामा बनेका संरचना अलपत्र परेकामा दुखेसो गर्नुभयो । रङ्गशालाको ट्रयाक मापदण्डअनुसारको नभएको उहाँले बताउनुभयो । प्यारापिट पनि लथालिङ्ग छ । “अहिले ठूला खेल प्रतियोगिता सञ्चालन गर्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “सामान्य खेल अभ्यासका लागि पनि पूर्वाधार अभाव छ ।” पोखरा महानगरको खेलकुद विकास समितिका पदाधिकारी बजेट अभावले रङ्गशाला बन्न नसकेको बताउँछन् । आठ वर्षअघि रङ्गशालाभित्र निर्माण थालिएको बहुउद्देश्यीय कभर्ड हल पनि बजेट नहुँदा अलपत्र परेको छ । बजेट नहुँदा कभर्ड हल निर्माण तीन वर्षदेखि ठप्प छ । हालसम्म त्यसमा रु एक करोड १० लाख खर्च भइसकेको छ । आव २०७४ र २०७५ मा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट रु ११ लाख बजेटबाट कभर्ड हलको काम सुरु भएको थियो । राष्ट्रिय खेलकुद परिषद्ले रु ५० लाख, प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले रु २५ र तत्कालीन प्रदेशसभा सदस्य दीपक कोइरालाको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट रु २५ लाख बजेट खर्च भइसकेको छ । उक्त बजेटबाट भुइँतलाको पिलर र पर्खाल बनाइएको छ । पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले रङ्गशालामा पूर्वाधार तयार गर्न महानगर, प्रदेश र सङ्घ सरकारको लगानी चाहिने बताउनुभयो । खेलकुद हेर्ने निकाय र खेल पदाधिकारीको उपेक्षामा लेखनाथ रङ्गशाला परेको उहाँको टिप्पणी छ । “राज्यको स्रोतसाधन जुटाएर लेखनाथ रङ्गशालालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्नुपर्छ”, उहाँले भन्नुभयो । लेखनाथ रङ्गशालालाई पूर्वाधार सम्पन्न बनाउन पोखरा महानगरले अगुवाइ गर्नुपर्ने स्थानीयवासीको माग छ । कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँले पोखरालाई खेल पर्यटनको गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । “खेल क्षेत्र सरकारको कम प्राथमिकतामा छ, पोखराको खेलकुद विकासमा प्रदेश सरकारले पनि वेवास्ता गरिरहेको छ”, उहाँले भन्नुभयो ।
पर्वत: उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्ड पहिरोले अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–५ स्थित बडागाउँ–कैया झोलुङ्गे पुल नजिकै खसेको सुक्खा पहिरोले सडक अवरुद्ध बनेको हो । पहिरोले झण्डै ५० मिटर सडक पुरिएको छ । आइतबार बिहानदेखि वर्षा नभए पनि सोमबार बिहान सुक्खा पहिरो खसेको थियो । निर्माणाधीन अवस्थामा रहेको उक्त सडक विष्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएपछि रोकिएको ठाउँबाटै पहिरो खसेको हो । पहरो खसेपछि पर्वत खण्डको अर्मादी–मोदीवेणी खण्डको यातायात सेवा अवरुद्ध बनेको छ । उक्त सडक हुँदै चल्ने सवारीसाधन मोदीवेणीबाट कुश्माबजार हुुँदै जानुपर्ने अवस्था आएको मोदीवेणी संरक्षण समितिका अध्यक्ष केशवदास बैरागीले जानकारी दिनुभयो । भिरको ठूलो भूभागबाट खसेको पहिरोले कालीगण्डकी नदीको बहावलाई कुनै असर नगरेको उहाँले जानकारी दिनुभयो । कालीगण्डकी करिडोरअन्तर्गत फलेवास–अर्मादी खण्डमा रहेका यो सडक विगत सात वर्षदेखि अलपत्र अवस्थामा छ । गत वर्ष ट्रयाक खुलेर सवारीसाधन वारपार हुन थाले पनि सडक स्तरोन्नतिको काम भने पूरा हुनसकेको छैन । कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका इन्जिनियर सुरेन्द्र गौतमले अवरुद्ध सडक खुलाउन निर्माण व्यवसायीलाई आग्रह गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार केही दिनमै सडक खुलाउने तयारी छ । पहिरोका कारण बडागाउँ–कैया झोलुङ्गे पुल जोखिममा परेको छ ।
धादिङ: होटलमा आएका ग्राहकलाई सडेगलेको दूषित खाना बिक्री गर्ने धादिङको थाक्रे गाउँपालिका–८ स्थित चारकिलोमा सञ्चालित न्यू रिया होटललाई रु दुई लाख जरिवाना गराइएको छ । खाजा तथा खाना खान होटल पुगेका ग्राहकले खाना बासी, गन्हाएको र दूषित रहेको भन्ने गुनासो गरेपछि होटल सञ्चालकले ती ग्राहकलाई गालीगलौज समेत गरेका जनाइएको छ । बिक्री गर्न पकाएर राखेको खानेकुरा बासी गन्हाइसकेको फेला पारेको र त्यहीँ खानेकुरा यात्रुलाई बिक्री गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना लगाइएको जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिनुभयो । “उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ उपदफा २ (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाले सोही ऐनको दफा ३८ (ङ) बमोजिमको कसुरमा दफा ३९ उपदफा १ (ख) बमोजिम दुई लाख जरिवाना गरिएको छ । जरिवाना तथा सजाय चित्त नबुझेको खण्डमा पुनरावेदन जान सक्नेछ”, उहाँले भन्नुभयो । सहायक प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार आइतबार बिहान एकजना उपभोक्ताले प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर न्यू रिया होटलले बासी, सडेगलेको खानेकुरा बिक्री गरिरहेको गुनासो गरेका थिए । त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय धादिङमार्फत प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी टोली होटलमा पुगेको थियो । “फ्रिजमा राखेको खानेकुरा समेत गन्हाएको फेला परेपछि वडाध्यक्षसहित जनप्रतिनिधिको रोहबरमा मुचुल्का गरी होटल सञ्चालकलाई गिरफ्तार गरी ल्यायौँ”, सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले भन्नुभयो, “बिहान बिक्री गरिरहेको खानेकुरा अघिल्लो दिनमा नै बनाएर फ्रिजमा राखेको र तापक्रम नमिलेकाले गन्ध आएको स्वीकारसमेत गरेकाले उपभोक्ता संरक्षण ऐनबमोजिम जरिवाना तोकिएको हो ।” पृथ्वी राजमार्गमा यात्रा गर्ने यात्रुलाई लक्षित गरी सञ्चालन भइरहेको होटलमा धादिङ, काठमाडौं चल्ने यात्रुवाहक सवारीले यात्रुलाई खाजाखाना खुवाउँदै आएको छ । समोसा, तरकारीलगायत खानेकुरा गुणस्तरहीन र बासी भेटिएपछि होटलका सञ्चालक नुवाकोट शिवपुरी गाउँपालिका–८ का ३९ वर्षीय राजेश पाठकलाई गिरफ्तार गरेको थियो । एक साताभित्र तोकिएको जरिवाना दाखिला गर्ने समय तोकेर पठाइएको जिल्ला बजार अनुगमन समिति धादिङका सदस्यसचिव एवं उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख मेगराज गौतम बताउनुभयो । तोकिएको समयमा जरिवाना दाखिला नगरे कारोबार रोक्का गर्न सक्ने पनि उहाँले जानकारी दिनुभयो । जरिवानामा परेको होटललाई २०८० असोज ६ गते जिल्ला अनुगमन टोलीले होटलको भान्छा र बााहिरी सरसफाइमा ध्यान दिन, कामदारलाई अनिवार्य मास्क प्रयोग गराउन निर्देशन दिएको थियो । विगतका समयमा गरिएको अनुगमनका क्रममा दिएको निर्देशन पनि पालना नगरेको प्रमुख गौतमले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय, उद्योग तथा वाणिज्य कार्यालयसहित नियामक निकायले पछिल्लो समय होटल तथा पसलको अनुगमनमा कडाइ गरेको छ । यसअघि पनि तोकिएको मूल्यभन्दा बढी लिने होटल तथा पसललाई कालोबजारी गरेको कसुरमा रु एक लाखसम्म जरिवाना तिराइएको थियो ।
पोखरा: पोखरामा भएको स्कूल बस दुर्घटनाको कारण पत्ता लगाउन पोखरा महानगरपालिकाले छानबिन समिति गठन गरेको छ । एलपी देवकोटा मेमोरियल स्कूलको बस विद्यार्थी लिएर आउँदै गर्दा दुर्घटनामा परी दुई जनाको मृत्यु र २८ जना घाइते भएपछि महानगरका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिमा महानगरका उपसचिव कृष्णप्रसाद तिवारी, महानगरीय प्रहरी बलका प्रमुख पुरुषोत्तम थापा र मेकानिकल इञ्जिनीयर सरोज चालिसे सदस्य रहनुभएको छ । समितिको सदस्य सचिवमा शिक्षा अधिकृत रामप्रसाद तिवारीलाई तोकिएको छ । समितिलाई दुर्घटनाको कारण, सवारीसाधन, चालकको अवस्था, बसमा सवार विद्यार्थीको सङ्ख्या, विद्यार्थी राख्न पाउने सङ्ख्यालगायत विषयमा छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले बताउनुभयो । यो पनि पढ्नुहोस स्कुल बस दुर्घटना अपडेट: एक बालकको मृत्यु, मृतकको सँख्या २ पुग्यो दुर्घटना अपडेट: बसमा को को थिए, कहाँ हुँदैछ उपचार ? (नामावली) पोखरा–२१ मा भएको दुर्घटनामा विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उहाँका छोरा छ वर्षीय प्रिन्स विकको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको थियो । दुर्घटनाग्रस्त बसका चालक, एक शिक्षिका, एक अभिभावक र घाइते २५ विद्यार्थीको हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अस्पताल पुगेर उपचाररत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । महानगर प्रमुख आचार्यले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन चिकित्सकहरूलाई निर्देशन दिनुभएको छ ।
काठमाडौं: सरकारले विभिन्न १८ वटा देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले जानकारी दिनुभयो । उहाँले भारतका लागि राजदूतमा शङ्कर शर्मालाई निरन्तरता दिने र अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मीलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी दिनुभयो । मन्त्री गुप्ताका अनुसार बैठकले विभिन्न पाँच वटा देशबाट राजदूत फिर्ता बोलाउने समेत निर्णय गरेको छ । बैठकले २२ जना सचिवको सरुवाको निर्णय गरेको उहाँले जानकारी दिनुभयो । त्यसैगरी तीन वटा प्रदेशका प्रदेश प्रमुख फिर्ता बोलाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखलाई फिर्ता बोलाउने निर्णय गरेको हो । वाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई फिर्ता बोलाउने निर्णय गरेको उहाँले जानकारी दिनभयो ।
काठमाडौं: साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने चलन छ । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको हो । साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् भट्टराई बताउनुहुन्छ । तर यसको कुनै शास्त्रीय वचन भने छैन । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खिर बनाउँछन् । चामल, सावधाना, सेवइ, मकै, गाजरलगायतको खिर बनाउने गरिन्छ । सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिर समेत बनाएर खाने चलन छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रही आएको छ । नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खिरलाई परिभाषित गरेको छ । नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवा लगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रही आएको छ । दूधबाट बनेको खिरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । बोर्डको २०७७ फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खिर खाने दिन अर्थात् खिर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । नेपालको खाद्य नियमावली अनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, चार दशमलव सात प्रतिशत ल्याक्टोज र तीन दशमलव पाँच प्रतिशत प्रोटिनको गणना गर्दा प्रति एक सय ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने उल्लेख छ ।