काठमाडौं: स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु चार सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला रु एक लाख ४५ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४६ हजार एक सय निर्धारण भएको छ । आइतबार प्रतितोला रु एक लाख ४५ हजारमा कारोबार भएको तेजाबी सुन आजका लागि रु एक लाख ४५ हजार चार सय निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले वृद्धि भएको छ । आइतबार प्रतितोला रु एक हजार सात सय ४० मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार सात सय ५० निर्धारण भएको छ ।
काठमाडौं: सङ्क्रमणकालीन न्यायसम्बन्धी गठित संयन्त्रको बैठक सकिएको छ । आज बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठक आगामी बिहीबार बस्ने गरी सकिएको हो । आजको छलफलमा संयन्त्रका सदस्य नेपाली कांग्रेसका तर्फबाट गृहमन्त्री रमेश लेखक, एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा सहभागी हुनुहुन्थ्यो । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संसद्को कानुन, न्याय तथा मानव अधिकार समिति सभापति बिमला सुवेदी, महान्यायाधिवक्ता रमेश बडाललगायतको उपस्थिति रहेको थियो । एमालेका मुख्य सचेतक बर्तौलाले आगामी बिहीबार फेरि बैठक बस्ने गरी आजको बैठक सकिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मूल ऐन, विधेयक र उपसमितिको प्रतिवेदन हेर्ने कुरा भएको छ । त्यसलाई एकीकृत गरी उठेका प्रश्नलाई पनि एकीकृत गर्ने कुरा भएको छ । सबै तयारी गरेर आगामी बिहीबार ८ बजे गृह मन्त्रालयमै बैठक बस्छौँ ।” अहिलेसम्म भएका छलफलको मस्यौदा तयार पारेर आगामी दिनमा त्यसमाथि छलफल केन्द्रित गर्ने उहाँको भनाइ छ । यसअघि गत शुक्रबार गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि सहमति जुटाउने विषयमा छलफल भएको थियो ।
चितवन: सिमलताल दुर्घटनामा बेपत्ता बसको खोजी गर्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक (म्याग्नेट) फेलापरेको छ । बस खोजी गर्ने क्रममा गत शनिबार १९ किलोको चुम्बक र लाइफ ब्वाइ ट्युब त्रिशूली नदीले बगाएर हराएको थियो । उक्त चुम्बक आज बिहान काभ्रेघाटस्थित नारायणी नदीमा फेलापरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । चुम्बकसँगै लाइफ ब्वाइ ट्युब पनि फेला परेको उहाँले बताउनुभयो । गत असार २८ गते वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा बेपत्ता भएको थियो । बसमा सवार ६५ जनामध्ये तीनजना हामफालेर बाँच्न सफल भएका थिए भने ६२ जना बेपत्ता भएका थिए । हालसम्म २४ जनाको शव भेटिएको छ । तीमध्ये १८ जनाको पहिचान खुलेर परिवारलाई बुझाइसकिएको छ । अन्य छ शवको पहिचान खुल्न सकेको छैन । अझै ३८ यात्रु र बस भेटिएका छैनन् । हराइरहेको बस खोज्न भारतीय टोली चितवन आएका थिए । उक्त टोलीले बस खोज्नका लागि १९ र १४ किलोका दुईवटा चुम्बक (म्याग्नेट) ल्याएका थिए । जसमध्ये शनिबार बस खोज्ने क्रममा १९ किलोको चुम्बक हराएको थियो । बस खोजी गर्नका लागि नेपाल आएको भारतीय टोली भने आइतबार नै फर्किसकेका छन् ।
पोखरा: स्कुल बस दुर्घटना हुँदा मृत्यु हुनेको सँख्या २ पुगेको छ । उपचारको क्रममा एक बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा अन्दाजी ५ वर्षका प्रिन्स बिक रहेका छन् । गण्डकी मेडिकल कलेजमा उनलाई १०: ४५ बजे चिकित्सकले मृत घोष्णा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए । उनका अनुसार यसअघि करिब ३२ वर्षीया आरती बिकको उपचारको क्रममा मृत्यु भएको थियो । मृतक प्रिन्स र आरती आमाछोरा भएको बताइएको छ । यो पनि पढ्नुहोस स्कुल बस दुर्घटना अपडेट: घाइतेमध्ये १ जनाको अवस्था गम्भीर स्कुल बस दुर्घटना: गम्भीर घाइते भएकी बिकको मृत्यु अन्य घाइतेहरुको भने अहिले पोखराको गण्डकी मेडिकल कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपालमा उपचार भइरहेको छ । पोखरा महानगरपालिका वडा नं. १७ बिरौटास्थित एलपी मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको ग १ क ६२१९ नम्बरको बस बिहान दुर्घटनामा परेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार छोरेपाटन भन्दा ३ किमि माथि पोखरा महानगरपालिका २१ मट्टिखान जाने सडकको थुन्कु भन्ने ठाउँमा दुर्घटनामा हुँदा चालक, सहचालकसहित ३० जना घाइते भएका थिए । कास्की प्रहरीले घाइतेको तथ्याङ्क दिने क्रममा प्रारम्भिक चरणमा २२ जना सवार रहेको भनिएपनि यो समाचार तयार पार्दासमेत ३० जना सवार रहेको जनाएको छ ।
बर्दिया: बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५को हाराहारीमा पुगेको छ । यो निकुञ्ज पाटेबाघका लागि दोस्रो ठूलो बासस्थान मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ पाटेबाघ रहेको बताइएको छ । जैविक विविधता संरक्षणमा समुदायसँगको सहकार्यमा सफलता पाएसँगै सन् २०१० मा १८ पाटेबाघ रहेको बर्दियामा सन् २०२२ सम्म तीन गुणा बढेको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो । उहाँका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा विगत दुई वर्षदेखि बाघ आक्रमणको घटना भने न्यून छ । ‘अबचाहिँ बाघ संरक्षणका लागि कदम चाल्ने समय आयो’ भन्ने नारासहित आज बाघ दिवस विविध कार्यक्रम आयोजन गरी मनाइँदै छ । अधिकृत वाग्लेले बाघलगायत वन्यजन्तु बृद्धिसँगै यिनीहरूको बासस्थान व्यवस्थापन, समुदायमा सचेतना, मानव वन्यजन्तुबीच द्वन्द्व रोक्न विद्युतीय तारबार, कङ्क्रिट पर्खाललगायत पूर्वाधारसँगसँगै व्यवस्थापनमा जोड दिइराखेको बताउनुभयो । वनजङ्गलको संरक्षण भएपछि बर्दियामा उल्लेख्य मात्रामा बाघको सङ्ख्या बढेसँगै खाता जैविकमार्ग एवं वन क्षेत्रमा बाघको विचरण पनि बढेको छ । गत वर्ष वनक्षेत्रमा बाघ र चितुवाको आक्रमणमा परी पाँचजनाको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ अधिकृत टङ्क गुरुङले बताउनुभयो । बाघबाट वनक्षेत्रमा मानवीय क्षतिको परिमाण बढ्दै गएको छ । उहाँले भन्नुभयो, “ वन्यजन्तु भएका क्षेत्रमा मानवीय गतिविधि रोक्न वन कार्यालयले विभिन्न क्याम्प गर्दै आएकाले चालु वर्षमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न विभिन्न तयारी गरेको छ ।”
पोखरा: स्कुल बस दुर्घटना हुँदा घाइते गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माका अनुसार करिब ३२ वर्षीया आरती बिकको उपचारको क्रममा मृत्यु भएको हो । ‘अहिले औपचारिक पुष्टि गर्न बाँकी छ, डाक्टरहरुको प्रक्रिया हुन्छ तर प्राथमिकतामा अन्य घाइते हुने भएकाले पुष्टि गर्न समय लागेको हो,’ इन्सपेक्टर शर्माले सुनगाभा न्यूजसँग भने । दुर्घटनामा परेका अन्य घाइतेहरूको भने उपचार भइरहेको उनले जानकारी दिए । उनका अनुसार कास्कीको छोरेपाटन भन्दा ३ किमि माथि पोखरा महानगरपालिका २१ मट्टिखान जाने सडकको थुन्कु भन्ने ठाउँमा दुर्घटनामा हुँदा चालक, सहचालकसहित २७ जना घाइते भएका थिए । अन्य घाइतेहरुको अहिले पोखराको गण्डकी मेडिकल कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपालमा उपचार भइरहेको छ । पोखरा महानगरपालिका वडा नं. १७ बिरौटा स्थित एलपी मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको ग १ क ६२१९ नम्बरको बस बिहान दुर्घटनामा परेको थियो । (उपचारको क्रममा रहेकाले घाइतेको सँख्या एकिन गरिदैं)
पोखरा: स्कुल बस दुर्घटना हुँदा घाइते भएकामध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । कास्कीको छोरेपाटन भन्दा ३ किमि माथि पोखरा महानगरपालिका २१ मट्टिखान जाने सडकको थुन्कु भन्ने ठाउँमा दुर्घटनामा हुँदा चालक, सहचालकसहित २७ जना घाइते भएका थिए । उनीहरुको अहिले पोखराको गण्डकी मेडिकल कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपालमा उपचार भइरहेको छ । बस चालकलाई गण्डकी मेडिकल कलेजबाट मणिपाल शिक्षण अस्पताल रिफर गरिएको छ । घाइते मध्ये गण्डकी मेडिकल कलेजमा उपचाररत ४२ वर्षीय आरती बिकको अवस्था गम्भीर रहेको एक प्रहरी अधिकारीले जानकारी दिए । ‘अरुको अवस्था त्यस्तो जटिल छैन तर, एक जना महिलाको भने अवस्था चिन्ताजनक नै छ । उहाँको बारेमा भन्न सकिने स्थिति छैन’, सुनगाभा न्यूजसँग ति प्रहरी अधिकारीले भने । पोखरा महानगरपालिका वडा नं. १७ बिरौटास्थित एलपी मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको ग १ क ६२१९ नम्बरको बस बिहान दुर्घटनामा परेको थियो ।
पोखराः पोखरामा स्कुल बस दुर्घटना भएको छ । एलपी देवकोटा मेमोरियल इङ्लीस बोर्डिङ स्कुलको बस आज बिहान दुर्घटना भएको हो । पोखरा महानगरपालिका–२१ फुर्सेखोला नजिक स्कुल बस दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । बस दुर्घटनामा घाइते भएका विद्यार्थीहरुलाई उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा ल्याउँदै गरेको ट्राफिक प्रहरीले जनाएको छ । थप विवरण आउँदै
गोरखा: उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएकाहरूको आज बिहानैदेखि खोजी सुरु गरिएको छ । भीषण पहिरोमा परेर बेपत्ता भएका पाँचजनाको आइतबार दिनभर खोजी गरिए पनि फेला पार्न नसकिएपछि आज बिहानैदेखि खोजी गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । बेपत्ता भएकाको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयवासी जुटेको उहाँले बताउनुभयो । “पहिरोले घर तथा कृषि फार्म धेरै पुरिएकाले बेपत्ता भएकाको अवस्था पत्ता लगाउन कठिन भइरहेको छ”, उहाँले भन्नुभयो, “हिजो दिनभर खोजी गर्दा केही पत्ता लागेन, आज फेरि बिहानैबाट खोजीकार्य थालेका छौँ ।” बेपत्ताको खोजीका लागि ‘जेसिवी मेसिन’को प्रयोग गरिएको उहाँले बताउनुभयो । आइतबार राति डाँडाबाट खसेको लेदोसहितको पहिरोले स्थानीय जीतबहादुर गुरुङको कृषि फार्म र एक घर बगाउँदा उहाँसहित ३५ वर्षीया कान्छी गुरुङ, ६० वर्षीय सुलाल कान्छा गुरुङ, ३३ वर्षीय रमेश गुरुङ र २४ वर्षीय रमेश परियार बेपत्ता भएका थिए । डाँडाबाट खसेको पहिरो बुढीगण्डकी नदीसम्म पुगेकाले बेपत्ता भएकाहरूलाई नदीको बगाएको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले आजदेखि बुढीगण्डकी नदी किनार आसपासका क्षेत्रमा पनि बेपत्ताको खोजी थालेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।