काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय, मन्त्री र मुख्यसचिवहरुबीच आज कार्यसम्पादन सम्झौता भएको छ । प्रधानमन्त्री तथ...

काठमाडौं:     प्रत्येक वर्ष श्रावण कृष्ण चतु्दर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री सहरमा मनाइँदैछ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले मनाउँछन् । परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ ।  संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग छ्वालीबाट बनाई दोबाटो र चौबाटोमा दिनभर राखिने गठामङ्गल बेलुकी भने खेतको बीचमा लगेर बाल्दा धानमा कीरा नलाग्ने विश्वास रहेको बताउनुहुन्छ । स्थान एवं कुल परम्पराअनुसार कतै भने गठामङ्गललाई खोला वा नदी किनारमा लगी जलाइन्छ ।      यसैगरी आज बिहानै स्नान, पूजापाठ गरी घर–आँगन सफा गरिने, केटाकेटीले बाटामा डोरी टाँगेर पैसा (जगात्) माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै जलाउने चलन छ । गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्व, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ । यस्तो परम्परा अहिले पनि राजधानीको तीनै सहर काठमाडौँ, ललितपुर र भक्तपुरका भित्री भागमा छ ।      यसो गर्नाले नवविवाहित जोडीको जीवनमा बाध्य बाधा, आन्तरिक बाधा एवं शत्रुबाट रक्षा प्राप्त हुन्छ । आर्थिक एवं भौतिक उन्नतिका लागि पनि घण्टाकर्णको पूजा आराधनालाई राजधानीको भित्री भागमा बस्नेले महत्वपूर्ण पर्वका रुपमा मान्दै आएका छन् ।      पौराणिक कथनअनुसार दुवै कानमा घण्ट झुण्ड्याई आहाराको खोजीमा निस्कने घण्टासुर राक्षसलाई मार्न एक जना तान्त्रिकले भ्यागुताको रुप लिएर धाप भएतिर बाटो देखाइदिँदा राक्षस धापमा गाडिएको र सबैजना जम्मा भई त्यसलाई मारेको सम्झना स्वरुप घण्टाकर्णको प्रतीकका रुपमा नर्कटको प्रतिमा बनाइन्छ ।    यस्तै मान्छेलाई पनि घण्टाकर्णको प्रतीकका रुपमा विभिन्न रंगले रङ्गाएर पनि राख्ने चलन छ । बेलुकी घण्टाकर्णको पुत्ला घिसार्दै नजिकैको खोलामा लगेर जलाउने गरिन्छ । घण्टाकर्णलाई सेलाएपछि घरका दैलामा फलामको तीनखुट्टे वा पाँचखुट्टे किला ठोकी फलाम, पित्तल वा तामाका औंठी लगाउने चलन छ । भक्तपुरमा मल्लकालीन नगरका दोबाटो र चौबाटोमा हाँडीमा दही च्यूरा, सम्यबजी राखेर भूतप्रेत मन्छाउने चलन पनि छ ।      नेपालमा परापूर्व कालमा एउटा यस्तो राक्षस थियो जसलाई देवताको नाम र धर्मकर्मका कुरा पटक्कै मन पर्दैन थियो । धार्मिक र आध्यात्मिक कुरा गर्ने मानिसलाई त्यस राक्षसले मारिदिने गर्दथ्यो । धार्मिक र आध्यात्मिक कुरा सुन्नुपर्ला भनेर ऊ सँधै चिन्तित रहने गर्दथ्यो ।  त्यस राक्षसलाई त्यतिबेला गठामुङ्गल भन्ने गरिन्थ्यो । त्यस राक्षसले आफ्नो चिन्ता निवारणका लागि उसका दुबै कानमा सोह्र सत्र धार्नीका घण्टा झुण्ड्यायो । त्यो घण्टाको आवाजले देवताको नाम र धर्मकर्मका कुरा कानमा नपर्ने भएपछि ऊ ढुक्क भयो ।  कानमा घण्टा झुण्ड्याएको हुनाले त्यस राक्षसको नाम पनि घण्टाकर्ण रहन गयो । उसले सुनलाई होइन फलामलाई मन पराउँथ्यो र धनीमानी र समृद्धका तुलनामा मगन्ते उसका मन पर्ने मानिस हुन्थे । ऊ देवता र सज्जनलाई मन पराउँदैनथ्यो र दुःख दिन्थ्यो । दोबाटो चौबाटोमा बसेर जे पायो त्यही खान्थ्यो । बाटामा हिँड्नेसँग जगात (कर) माग्थ्यो र कर नतिर्ने मानिसलाई त्यही निहुँमा उसले मारिदिने गर्दथ्यो ।       रुद्रयामलतन्त्रमा एक जना तान्त्रिकले भ्यागुतोको रुप लिई राक्षसलाई मारेको कथा उल्लेख भएको पण्डित बालमुकुन्द देवकोटाले बताउनुभयो । त्यसैले त्यही घण्टाकर्णको कुकृत्य फेरि नदोहोरियोस् भनेर प्रत्येक वर्षको श्रावण महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन एकाबिहानै काठमाडौँ उपत्यका र नेवार समुदायमा हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनाएर दोबाटो, चौबाटोमा उभ्याइन्छ ।

काठमाडौं:      नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैकठले  प्रदेश इन्चार्ज हेरफेर गरेको छ । एमालेको आज बसेको सचिवालय बैकठले प्रदेश इन्चार्ज हेरफेर गरेको  महासचिव शङ्कर पोखरेलले जानकारी दिए ।  महासचिव पोखरेलका अनुसार शेरधन राईलाई कोशी प्रदेश, लीलानाथ श्रेष्ठलाई मधेस प्रदेश, डा राजन भट्टराईलाई बागमती प्रदेश, किरण गुरुङलाई गण्डकी प्रदेश, पद्मा अर्याललाई लुम्बिनी प्रदेश, गोरखबहादुर बोगटीलाई कर्णाली प्रदेश र लेखनाथ भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज तोकिएको छ ।       यस्तै, बैठकले निर्वाचन आयोग र सल्लाहकार परिषद्मा पनि मनोनीत गरेको छ ।

काठमाडौं:    नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रिक्त रहेको उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गर्ने निर्णय गरेको छ ।       एमालेको आज बसेको सचिवालय बैकठले स्थायी कमिटी सदस्य बराललाई उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो । उपाध्यक्ष सुभासचन्द्र नेम्बाङको निधन भएपछि उक्त पद रिक्त रहेको थियो ।       यस्तै, मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गर्ने निर्णय गरिएको छ ।       सत्रजना केन्द्रीय सदस्यमा मनोनीत      महासचिव पोखरेलले बैठकले पार्टी प्रवेश, महिला र विभिन्न जनवर्गीय सङ्गठनबाट १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको जानकारी दिनुभयो ।  उहाँका अनुसार सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र देव (सप्तरी), रामप्रीत पासवान (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम) र गोविन्द पुन (सल्यान) रहनुभएको छ ।  यस्तै,  केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), हरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुसाल–किसान महासङ्घ, प्रभा बराल (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) रहनुभएको छ ।

पोखरा:    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) २५ वर्षमा प्रवेश गरेको छ । २०५६ साउन २७ मा स्थापना भएको फोनिजले रजत वर्ष मनाउने तयारी गरेको छ ।  सोही अनुसार फोनिज गण्डकी प्रदेशको बिहीबाको बैठकले विभिन्न कार्यक्रम गरी रजत वर्ष मनाउने निर्णय गरेको छ ।  सोही अनुसार फोनिज गण्डकीले कास्की शाखासँग सहकार्य र समन्वय गरी सरसफाई, मैत्रीपूर्ण भलिबल, छलो प्रतियोगिता, पुरस्कार अर्पण र सम्मान कार्यक्रम गरी रजत वर्ष मनाउने तयारी गरेको फोनिज गण्डकीका महासचिव धनबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार साउन १९ गते नेपाल पत्रकार महासंघ कास्की शाखा परिसर सरसफाई गरिनेछ ।  साउन २४ गते खेलकुद पत्रकार मञ्चको पुरुष टोली र फोनिजको पुरुष टिम साथै नेपाल पत्रकार महासंघ कास्की शाखाको महिला टिम र फोनिजको महिला टिमसँगै पुरुष भेट्रान्स पत्रकार बिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता गर्ने भएको छ ।  खेलकुद उपसमितिमा संयोजकमा फोनिज गण्डकी सचिव अर्जुन गाहा ‘सुशान्त’ संयोजक र सदस्य प्रविन मगरलाई सहसंयोजक तोकिएको छ । खेलकुद उपसमितिमा कृष्ण आले, मणिलाल गुरुङ, सुरज थापा, सुमन थापामगर, गिता राना र दिलप्रसाद गुरुङ सदस्य छन् । सोही दिन पत्रकारहरु बिच (महिला÷पुरुष) खुला छेलो प्रतियोगिता पनि हुनेछ ।   रजत वर्ष मनाउने क्रममा साउन २७ गते मुल कार्यक्रम हुने महासचिव गुरुङले जानकारी दिए । उक्त दिन पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व. बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा स्थापना गरेको तथा फोनिज गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ अर्पण गरिनेछ ।  उक्त पुरस्कार यो वर्ष कास्कीका पत्रकार दीपेन्द्र श्रेष्ठ र नवलपुरकी पत्रकार कमला रानामगरलाई प्रदान गरिनेछ । उनीहरुलाई जनही २५ हजार रुपैयाँ राशि रहेको पुरस्कारसहित सम्मान गरिनेछ । भने, सुरुवाती समयमा अनिज स्थापनादेखि फोनिज हुँदासम्म योगदान, साथ, सहयोग र सल्लाह दिने अग्रजहरुलाई पनि सम्मान गरिने महासचिव गुरुङले जानकारी दिए ।   

पोखरा:    पोखरा महानगरपालिका–१ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा नेपाली हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।  ‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विद्यालयले विद्यार्थीहरुको प्रतिभालाई प्रस्फुटन गर्न प्रतियोगिता आयोजना गरेको हो ।  हिज्जे प्रतियोगितामा धौलागिरि सदनबाट कक्षा १० की छात्रा अनिता बि.क., कक्षा ९ का छात्राहरुद्वय ममता गुरुङ , प्रशंसा सुनार प्रथम र अन्नपूर्ण सदनबाट कक्षा १० का छात्र शिशिर तिमिल्सिना, कक्षा ९ का छात्रछात्राद्वय आशिका देवकोटा र शिरिष बुद्धाचार्य द्वितीय भएका छन् ।  प्रतियोगिताको हिज्जेकर्ता नेपाली शिक्षिका माया क्षेत्री रहनुभएको थियो । साथै विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठ तथा सह–प्राचार्य नीलकण्ठ पौडेलले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । भने यस कार्यक्रमको सञ्चालन अतिरिक्त क्रियाकलाप संयोजक राजु बयलकोटीले गर्नुभएको थियो ।  

पोखरा:    किर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठलाई पब्लिक फोरके टेलिभिजनले सम्मान गरेको छ । टेलिभिजनले एकै सिजनमा तीन पटक सगरमाथा आरोहण गरेर विश्व किर्तिमान बनाएकी श्रेष्ठलाई बिहीबार एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो ।  पोखराको न्युरोडस्थित टेलिभिजनको कार्यालयमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक मन क्षेत्रीले नगद एक लाख रुपैयाँसहित दोसल्ला ओडाएर सम्मान पत्र प्रदान गरे । श्रेष्ठले गएको मे १२, मे १९ र मे २५ मा सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।  गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् १०१८ मा पहिलो पटक सगरमाथामा पाइला राखेकी हुन् । यस पटकको बसन्त याममा सगरमाथा आरोहणमा विश्व किर्तिमान राख्न सफल भएकी श्रेष्ठलाई पब्लिक फोरके टेलिभिजनका अध्यक्ष सविन भट्टले एक लाख रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेका थिए । पत्रकारिता क्षेत्रबाट मिलेको सम्मानले हौसला मिलेको पूर्णिमाले बताइन् । ‘पत्रकार भएपनि यसरी पत्रकारिता क्षेत्रबाट नगदसहित सम्मान पाएको थिइनँ’, उनले भनिन् ।  गोरखाको गाउँमा जन्मिएर सगरमाथाको चुचुरोमा पुग्दासम्म अनुभूति पब्लिककर्मीसँग साटिन् । उनले हरेक क्षेत्रमा काम गर्दा कामलाई भारी सम्झन नहुने सुझाव दिइन् ।  पूर्णिमाकोे अदम्य साहसलाई बढवा दिन सम्मान गरिएको टेलिभिजनका प्रबन्ध निर्देशक क्षेत्रीले बताए । ‘हामीले गरेको सम्मान अदम्य साहस भएको पत्रकारलाई गरेको सम्मान हो । धेरैै जनाकोे प्रेरणाको स्रोत भएकी पर्वतारोहीलाई सम्मान हो’, क्षेत्रीले भने ।  हिमाल आरोहणमा नयाँ पुस्ताको प्रेरणाको स्रोत बन्न उनले शुभकामना व्यक्त गरे । श्रेष्ठ आरोहीसँगै फोटो पत्रकारसमेत हुन् । उनले ७ वर्ष अघि पर्वतारोहण सुरु गरेकी हुन् । सुरुवातमा मनास्लु हिमाल चढेकी उनले आठ हजार मिटरभन्दा अग्ला ८ वटा हिमाल आरोहण गरेकी छन् । 

पोखरा:    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ दीपेन्द्र श्रेष्ठ (कास्की) र कमला रानामगर (नवलपुर) लाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिले गरेको सिफारिसअनुसार फोनिज गण्डकीको बिहीबारको बैठकले श्रेष्ठ र रानामगरको नाम अनुमोदन गरेको फोनिज गण्डकी महासचिव धनबहादुर गुरुङले जानकारी दिए । पुरस्कार राशि जनही २५ हजार र सम्मानपत्र छ ।  फोनिजका संघीय सल्लाहकार हुमबहादुर तमुको संयोजकत्वमा रहेको प्रतिभा छनोट समितिले श्रेष्ठ र रानामगरको नाम सिफारिस गरेको हो । समितिको सदस्यमा फोनिज गण्डकीका इन्चार्ज पत्रकार एमबी आस्था मगर, सल्लाहकार शान्ति गुरुङ, फोनिज गण्डकी अध्यक्ष रुद्र श्रीस मगर र महासचिव धनबहादुर गुरुङ थिए । पुरस्कृत हुने दीपेन्द्र पोखराको एभरेष्ट एफ.एममा कार्यरत छन् । उनी नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमात अध्यक्ष हुने भने हाल पत्रकार महासंघ कास्की र गण्डकी प्रदेशका सल्लाहकार छन् ।  यस्तै रानामगर नवलपुरको मध्यविन्दु एफ.एममा कार्यरत छिन् । उनी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) की संघीय सदस्य हुन । भने, फोनिज गण्डकी प्रदेशकी संस्थापक उपाध्यक्ष पनि हुन् ।  उनीहरुलाई फोनिजको स्थापनाका दिवसका दिन साउन २७ गते पोखरामा सम्मान समारोह आयोजना गरी पुरस्कृत गरिनेछ ।  पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व. बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् । गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील २ पत्रकारलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ । यसअघि कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, हुमबहादु तमु, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना, लमजुङका आश गुरुङ र मुस्ताङका सुन्दरकुमार थकालीलाई यो पुरस्कार अर्पण गरिसकिएको छ ।   

पोखरा:   सरकारले बिक्री वितरणमा रोक लगाएको ट्रामाडोल (लागूपदार्थ) सहित प्रहरीले पोखराबाट २ जनालाई पक्राउ गरेको छ ।  प्रहरीले पोखराको न्यूरोडस्थित दिप दर्शन होटलका सञ्चालक र म्यानेजरलाई बिक्री वितरणमा रोक लगाएको औषधी ट्रामाडोल (लागूपदार्थ) सहित हिजो (बुधबार) पक्राउ गरेको हो ।  प्रहरीले दिप दर्शन होटलका सञ्चालक तनहुँ शुक्लागण्डकी नगरपालिका ५ स्थायी घर भई पोखरा बस्ने ३७ वर्षीय इन्दु देवी श्रेष्ठ र होटलका म्यानेजर स्याङ्जा घर भई पोखरा–१७  विरौटा बस्ने २५ वर्षीय मिलन पौडेललाई ट्रामाडोलको ४३ हजार २ सय ट्याबलेटसहित पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख मोहन कुमार थापाले होटलमा ग्राहक बनेर जाँदा बिक्री वितरणमा रोक लगाएको औषधी  ट्रामाडोलसहित २ जनालाई नियन्त्रणमा लिएको बताए ।  ‘सरकारले यस औषधीको दुरुपयोग बढेपछि बिक्री बितरणमा रोक लगाएको छ’, थापाले भने, ‘हामी होटलमा ग्राहक बनेर जाँदा प्रतिबन्ध लगाइएको औषधी बिक्री बितरण गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हौ ।’   कास्की प्रहरी प्रमुख थापाले प्रारम्भिक अनुसन्धानको क्रममा पक्राउ परेका उनीहरुले औषधी पसलमा बाँकी रहेको औषधी राखेको खुलाएको जानकारी दिए ।  ‘प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुले औषधी पसलमा बिक्रीमा राखिएको औषधी स्टक रहेको बताएका छन्’, उनले भने, ‘सरकारले यो औषधी विक्री वितरणमा रोक लगाएको छ तर उनीहरुले हामी ग्राहक बनेर जाँदा बिक्री गरेको अवस्थामा रङ्गेहात पक्राउ गरेका हौं ।’ उनले होटलबाट बरामद गरेको ट्रामाडोल अहिले अवैध रुपमा बिक्री गर्दा ४० देखि ५० लाख पर्नेे देखिएको बताए । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।  कास्की प्रहरीले सरकारले बिक्री वितरणमा रोक लगाएको औषधीहरु पसलमा भए नष्ट गर्न समेत अनुरोध गरेको छ ।   

पोखरा:   ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले संस्थामा आवद्ध कम्पकीका सञ्चालकहरुलाई एक दिने  फोटोग्राफी तथा भिडियोग्राफी तालिम दिएको छ ।   नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (Sustainable Tourism for Livelihood Recovery Project) अन्तर्गत बुधबार  तालिम प्रदान गरिएको हो ।   फोटोपत्रकार राम गुरुङ र प्रेम थापाले प्रशिक्षण दिइएको उक्त तालिममा संस्थाका पूर्व अध्यक्षहरु तथा टानमा आवद्द ७२ कम्पनीका सन्चालकहरुको सहभागिता रहेको थियो ।   तालिममा सहभागिहरुले एक दिने कार्यक्रमबाट पनि धेरै  ज्ञान पाएको सुनाए ।   टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष कृष्णप्रसाद आचार्यले स्वागत मन्तव्यसहित तालिमको बारेमा प्रकाश पारेका थिए भने कार्यक्रम सञ्चालन सचिव तिर्थराज सुवेदीले गरेका थिए ।