काठमाडौं: राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आजै बसेको बोर्ड बैठकले आफ्नो वेबसाइटमार्फत नतिजा सार्वजनिक गरेको हो । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यस वर्ष कक्षा १२ मा ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएको बताउनुभयोे । यस वर्षको नतिजामा गत वर्षको तुलनामा तीन प्रतिशत वृद्धि भएको उहाँले जानकारी दिनुभयो । बोर्डका अनुसार गत वैशाख १४ गतेदेखि सञ्चालन भई २६ गते सम्पन्न परीक्षामा नियमिततर्फ एक लाख ९३ हजार नौ सय ३३ छात्र र एक लाख ९६ हजार नौ सय १४ छात्रागरी कूल तीन लाख ९० हजार आठ सय ६८ परीक्षार्थी सहभागी थिए । त्यसमध्ये दुई लाख तीन हजार आठ सय ४७ विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । परीक्षामा तीन दशमलव ६१ देखि चार जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या नौ हजार पाँच सय ९१ रहेको छ । जसमा बागमती प्रदेशबाट छ हजार सात सय ५२ विद्यार्थी छन् । कर्णाली प्रदेशमा सबैभन्दा कम २४ जना विद्यार्थीले मात्रै उक्त जिपिए ल्याएका छन् । त्यसैगरी ४६ हजार आठ सय ९३ विद्यार्थीले तीन दशमलव २१ देखि तीन दशमलव ६० सम्म जिपिए र ७८ हजार ७५ विद्यार्थीले दुई दशमलव ८१ देखि तीन दशमलव २० सम्म जिपिए ल्याएका छन् । परीक्षामा एक लाख ८७ हजार २१ जना अनुत्तीर्ण अर्थात् ४७ दशमलव ०९ प्रतिशत विद्यार्थीको नतिजामा ननग्रेडिङ आएको छ । बोर्डका अनुसार पाँच हजार छ सय ३२ परीक्षार्थीले कुनै पनि विषयको परीक्षा दिएनन् भने एक सय दुई विद्यार्थीको परीक्षा रद्द गरिएको छ । ग्रेड वृद्धितर्फ विसं २०७८ र ०७९ का २८ दशमलव २६ प्रतिशत र विसं २०७६ र ०७७ का ६२ दशमलव ०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो । यसअघि विसं २०७८ को नतिजामा ४६ दशमलव ०४ प्रतिशत र विसं २०७९ को नतिजामा ५१ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । बोर्डले लेटर ग्रेडिङ निर्देशिका–२०७८ अनुसार सञ्चालन गरेकोे परीक्षाको नतिजाअनुसार प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अङ्क नल्याएमा विद्यार्थीको नतिजा एनजी अर्थात अनुत्तीर्ण आउँछ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np, ruselt.neb.gov.np, नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा लग इन गरी हेर्न सकिन्छ । त्यसैगरि एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि लभद लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर टाइपगरी १६०० नम्बरमा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने जनाएको छ ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ७७ वटै जिल्ला अध्यक्षहरुको दुईदिने भेला आज पनि काठमाडौँमा जारी छ । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा उक्त भेलाको उद्घाटन गर्नुभएको थियो । आजको बैठकमा जिल्ला अध्यक्षबाट सम्बन्धित जिल्लाको साङ्गठनिक प्रतिवेदन पेस भइरहेको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “७७ वटै जिल्लाबाट आउनुभएका जिल्ला अध्यक्षहरुले आफ्नो जिल्लाको साङ्गठनिक एवं राजनीतिक प्रतिवेदन पेस गरिरहनुभएको छ । सम्बन्धित प्रतिवेदन प्रस्तुत भइसकेपछि आजै बैठक सम्पन्न हुनेछ ।” भेलामा पार्टीको समग्र साङ्गठनिक अवस्थाको गम्भीर समीक्षा गरिने, विगतका निर्वाचनमा भएका कमी कमजोरीको समीक्षा गर्दै आगामी रणनीति तय गरिने, पार्टीले लिएका नीति, यसले पार्टी पङ्क्ति र जनसमुदायमा पारेको प्रभावको विश्लेषण गरिने, पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आगामी वैशाख मसान्तसम्म स्थानीय तहको अधिवेशन गरिसक्ने लक्ष्य लिएको अवस्थामा सबै तहको अधिवेशन सम्पन्न गर्ने, २०८४ मा हुने तीन तहको निर्वाचन तयारीमा अहिलेदेखि कस्तो रणनीति तय गर्नेलगायत विषयमा पनि छलफल हुने प्रवक्ता श्रेष्ठले बताउनुभयो । उक्त भेलामा पार्टी अध्यक्ष लिङ्देनले पार्टीको नीति, विचार, सिद्धान्तलगायत रणनीति र आगामी कार्ययोजनाबारे जिल्ला अध्यक्षहरुलाई ‘ब्रिफिङ’ गर्नुहुनेछ । पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबरा, निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी र नेताहरुले पार्टी सङ्गठनका विविध पक्षमा जिल्ला अध्यक्षसँग सामूहिक छलफल गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।
पोखरा: पोखरामा ३० औं विश्व आदिवासी दिवस साउन २५ गते विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशले पोखरामा पत्रकार सम्मेलन गर्दै साउन २५ गते ३० औं विश्व आदिवासी दिवस मनाउने लागेको जानकारी दिएको हो । नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका अध्यक्ष धर्म बहादुर गुरुङले संयुक्त राष्ट्र संघको आदिवासी जनजाति हेर्ने कार्यदलको पहिलो बैठक बसेको दिन अगष्ट ९ तारिखलाई विश्व आदिवासी दिवसको रुपमा मनाइँदै आएको बताए । उनले सन् २०१९ देखि २०२९ सम्म अन्तर्राष्ट्रिय भाषा वर्षको रुपमा मनाउने निर्णय समेत भएको बताए । ‘संयुक्त आदिवासी जनजाति हेर्ने कार्यदलको पहिलो बैठक अगष्ट ९ गतेको बसेको थियो, सोही दिनलाई विश्व आदिवासी दिवसको रुपमा मनाइँदै आएका छौं’, गुरुङले भने, ‘सन् २०१९देखि २०२९ सम्म अन्तर्राष्ट्रिय भाषा वर्षको रुपमा मनाउने निर्णय समेत भएको छ, पछिल्लो समय आदिवासी समुदायको भाषा, सस्कृति लोप हुँदै छ, त्यसैले यस वर्षको दिवसमा लोप भइरहेको भाषा सस्कृति प्रति हामीले सरकारको ध्यानाकर्षण समेत गराउँदै छौं ।’ अध्यक्ष गुरुङले ३० औं विश्व आदिवासी दिवसमा महासंघले यस दिवसमा भाषाको संरक्षणका लागि नयाँ नारा तय गरेको बताए । ‘यस वर्ष हामीले विश्व आदिवासी दिवसमा नयाँ नारा तय गरेका छौं, उनले भने, ‘संविधान प्रदत्त अधिकार आदिवासीहरुको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर, भन्ने मूल नारा तय गरेका हौं ।’ नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष सुजन कुमार लामाले ३० औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा साउन २५ गते पोखराको मानवअधिकार चोकबाट सभागृहसम्म आदिवासीहरुको मौलिक भेषभुषा, पहिचान र संस्कृतिको प्रदर्शनसहित झाँकी तथा ¥याली समेत हुने बताए । विश्व आदिवासी जनजाति दिवसको अवसरमा पोखरामा पत्येक वर्ष विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ ।
चितवन: चितवनको माडी नगरपालिकामा मानसिक समस्या भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा ३ जना विद्यार्थीहरु पक्राउ परेका छन् । माडी नगरपालिका– ७ किर्तनपुर नजिकै एक २७ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जना विद्यार्थीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको चितवन प्रहरीले बताएकाे छ । पक्राउ परेका विद्यार्थीहरु चितवन बाहिरका जिल्लाबाट पढ्न माडी आएर बसेका १७, १८ र २१ वर्ष उमेरका छन् । माडीको एक प्राविधिक शिक्षालयमा अध्ययनरत ती विद्यार्थीहरुले डेरा लिएर बसेको घरको कोठामा महिलालाई ल्याएर बलात्कार गरेको आरोप छ । उनीहरु विरुद्ध मुद्दा दर्ता भएर म्याद थप भई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
पोखरा: पोखरा २१ मट्टिखान सडकखण्डमा स्कुल बस दुर्घटना हुँदा ज्यान गुमाएका आरती विक र उनको छोरा प्रिन्स विकको आज अन्त्येष्टी गरिने भएको छ । मुक्ति समाज नेपालको अगुवाईमा भएको छलफलबाट मृतक परिवारलाई २१ लाख क्षतिपुर्ति दिने सहमति भएपछि आज शब बुझेर अन्त्येष्टी गर्ने तयारी रहेको मुक्ति समाज नेपालका केन्द्रीय सचिव धन बहादुर नेपालीले जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी कार्यालयमा बिहीबार नागरिक समाज, मुक्ति समाज, मृतका आफन्त, विद्यालय व्यवस्थापन समिति, एनप्याप्सनका प्रतिनिधिसहितहरुबीच छलफल भएको थियो । उक्त छलफलबाट विद्यालय प्रशासनले, एनप्याप्सन र मुक्ति समाजको तर्फबाट २१ लाख रूपैयाँ दिने सहमति भएको बताइएको छ । पोखरा महानगरपालिका वडा नं. १७ बिरौटास्थित एलपी मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको ग १ क ६२१९ नम्बरको बस बिहान दुर्घटनामा परेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार छोरेपाटन भन्दा ३ किमि माथि पोखरा महानगरपालिका २१ मट्टिखान जाने सडकको थुन्कु भन्ने ठाउँमा दुर्घटनामा हुँदा चालक, सहचालकसहित ३० जना घाइते भएका थिए । ११ जनाको उपचार हुँदैं उक्त दुर्घटनामा परि घाइतेहरुको अहिलेपनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माका अनुसार मणिपालमा चालकसहित ३ जना, गण्डकी मेडिकल कलेजमा ४ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ गरी कुल ११ जनाको अहिलेपनि उपचार भइरहेको छ । अन्य १७ जना भने उपचारपछि घर फर्किेसकेका छन् । यो पनि पढ्नुहोस पोखरामा स्कुल बस दुर्घटना, घाइते विद्यार्थीहरुको उद्धार हुँदै स्कुल बस दुर्घटना अपडेट: घाइतेमध्ये १ जनाको अवस्था गम्भीर स्कुल बस दुर्घटना: गम्भीर घाइते भएकी बिकको मृत्यु स्कुल बस दुर्घटना अपडेट: एक बालकको मृत्यु, मृतकको सँख्या २ पुग्यो
बागमती: हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट ५१ किलो पाँच सय ग्राम गाँजासहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–५ का चालक ३४ वर्षीय विनोद सेवा र सोही पालिका–१३ का ३५ वर्षीया सुनिता तामाङरहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार उनीहरूलाई प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश ०३–००१ च २११६ नम्बरको स्कारपियो गाडीलाई रोकेर जाँच गर्दा ३३ किलो गाँजासहित फेला परेका थिए । यसैबीच प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले सोही स्थानबाट १८ किलो पाँच सय ग्राम गाँजासहित बीआर ०५ पिबी ७३६४ नम्बरको अटो चालक भारत बेतिया जिल्ला थाना मझौलियाका ३० वर्षीय मुसादेव आलमलाई पक्राउ गरेको छ ।
भद्रपुर (झापा): स्थानीय हल्दिबारीमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । हल्दिबारी–५ स्थित हुलाकी राजमार्गमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको ज्यान गएको हो । जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमका अनुसार मोटरसाइकल चालक हल्दिबारी गाउँपालिका–५ का ३१ वर्षीय प्रेम प्रसाईँ र सुनसरीको बराक्षेत्र नगरपालिका–१० प्रकाशपुरका डिकेस कार्कीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई बिर्तामोडस्थित बीएण्डसी अस्पातालमा पुर्याउनासाथ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए । पिकअप भ्यान र त्यसका चालक भद्रपुर नगरपालिका–२ का ३७ वर्षीय दिपेन राईलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान थालेको छ ।
पोखरा: तमु धिं नेपाल केन्द्रीय युवा समितिले तमु युवाहरुको क्षमता एवम नेतृत्व विकासका लागि तिनदिने उद्घोषण तालिम शुरु गरेको छ । तमु धिं नेपालको कार्यालयमा सो तालिम शनिबारसम्म चल्नेछ । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथिसमेत रहेका तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले बोल्ने कला एवम सफल नेतृत्वका लागि सो तालिम महत्वपूर्ण हुने धारणा राखे । उनले क्षमता अभिवृद्धिका लागि उद्घोषण तालिमले सघाउने बताउदै आगामी दिननमा पनि यस्तै रचनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले तालिममा सहभागि युवाहरुले प्रस्तुतिकरण र नेतृत्व क्षमतामा धेरै परिवर्तन आउने अपेक्षा व्यक्त गरे । तालिमको पहिलोदिन गोर्खाली रेडियोकी स्टेशन म्यानेजर, सञ्चारकर्मी खिमा गुरुङले माइकको प्रयोग, उद्घोषण, उद्घोषकला, कार्यक्रम तयारी र प्रस्तुतिका विविधबारेमा प्रशिक्षण दिइन् । यस्तै तालिमको दोश्रो दिन तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ र तेश्रो दिन एभरेष्ट मिडियाका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ सञ्चारकर्मी दिपेन्द्र श्रेष्ठ प्रशिक्षक रहेको तमु धिं नेपाल केन्द्रिय युवा समितिका अध्यक्ष रमेश गुरुङले जानकारी दिए । कुल ३५ जना युवाहरुको सहभागिता रहेको तालिममा युवा समितिका अध्यक्ष रमेश गुरुङको सभापतित्वता भएको कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद गुरुङले गरेका थिए ।
सिरहा: लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रमेश पण्डितका अनुसार बिहीबार साँझ इलाका प्रहरी कार्यालय महेशबारीले ठाडीबाट लहानतर्फ जाँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा भारतको मधुवनी जिल्ला पिपराही ग्राम पञ्चायत झझरीका सुदेश्वर पासवानका छोरा १८ वर्षीय नीरजकुमार पासवान र सोही ग्राम पञ्चायतअन्तर्गत बलानशेर टोलका श्रीप्रसाद साहका छोरा ३७ वर्षीय अरुण साह एक थान पेस्तोलसहित पक्राउ परेका हुन् ।