म्याग्दी: म्याग्दीको मालिका गाउँपालिका–७ बिमको डाडागाउँमा निजी धारासहितको खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल पानीको लागि स्वास्थ्य (नेवा) संस्था, मालिका गाउँपालिका र उपभोक्ताको रु ३२ लाख ९७ हजार सात सय ३२ को लागतमा आयोजना निर्माण सम्पन्न भएको हो । आयोजनाबाट ५६ घरपरिवार, एक विद्यालय, एक स्वास्थ्यचौकीमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको वडाध्यक्ष टकलाल पुनले जानकारी दिनुभयो । तीन सय ३४ जनसङ्ख्या लाभान्वित भएका उहाँले बताउनुभयो । यसअघि सार्वजनिक धारामार्फत खानेपानी वितरण हुने गरेको थियो । घरआँगनकै धारामा नियमित पानी आपूर्ति हुन थालेपछि उपभोक्ताको समयको बचत भएको स्थानीयवासी टुकमान जुग्जालीले बताउनुभयो । “धाराबाट पानी ओसार्दा हुने दुःख र झञ्जट हटेको छ”, उहाँले भन्नुभयो, “स्थानीयवासीको दैनिकी र जीवनशैली परिवर्तन भएको छ ।” स्वास्थ्य र सफा खानेपानी आपूर्ति हुन थाले पनि दूषित पानीका कारण हुने स्वास्थ्य समस्या कम हुने अपेक्षा गरिएको छ । खानेपानीको व्यवस्थित र मितव्ययी प्रयोगका लागि मिटर जडान गरी हेरालु राखिएको छ । नेवाको रु १७ लाख ४० हजार आठ सय १३, गाउँपालिकाको रु छ लाख दुई हजार छ सय ४९ लगानी भएको आयोजना निर्माणका लागि रु एक लाख ६८ हजार छ सय ९३ नगद सङ्कलन गरेका उपभोक्ताहरुले रु सात लाख ८५ हजार पाँच सय ७७ बराबरको श्रमदान गरेका उपभोक्ता समितिले जनाएको छ । आयोजनाको बिहीबार मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुनले शुभारम्भ गर्दै स्वस्थ र स्वच्छ खानेपानी सुविधामा पहुँच बढाउन नेवासँगको साझेदारीमा डाँडागाउँसहित मालिका गाउँपालिकामा छवटा एक घर, एक धारासहितको खानेपानी आयोजना निर्माण भएको बताउनुभयो ।
काठमाडौँ: गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकहरूको औसत बसाइ अवधि १२ दिन हुने गरेको छ भने उनीहरूले दैनिक ८ हजार ३५५ रुपैयाँ २९ पैसा (अमेरिकी डलर ६२.८९) रहने गरेको छ । नेपाल राष्ट्र बैंक, पोखरा कार्यालय अन्तर्गतको अनुसन्धान इकाइले तयार पारेको अध्ययन प्रतिवेदन अनुुसार गत आर्थिक वर्ष विश्वका विभिन्न ४१ देशबाट गण्डकी प्रदेशमा पर्यटक आएका छन् । तीमध्ये सबैभन्दा धेरै भारत, फ्रान्स, अमेरिका, बेलायत र अस्ट्रेलियाका पर्यटक आएका छन् । महादेशका आधारमा सबैभन्दा बढी यूरोपबाट पर्यटक आएका छन् । गत आर्थिक वर्ष गण्डकीमा आएका विदेशी पर्यटकमध्ये यूरोपबाट आएका ४६.२५ प्रतिशत छन् भने अमेरिकाबाट ०.७५ प्रतिशत आएका छन् । अफ्रिकाबाट भने गत वर्ष गण्डकी प्रदेशमा पर्यटक नै नआएको प्रतिवेदनमा उल्लेख छ । गण्डकी आउने विदेशी पर्यटकमा ३१ देखि ४५ वर्ष उमेर समूहका सबैभन्दा धेरै अर्थात् ३३ प्रतिशत छन् भने सबैभन्दा कम २० वर्षसम्म उमेर समूहका १.५ प्रतिशत छन् । यस्तै, सबैभन्दा बढी पर्यटक साहसिक क्रियाकलापमा संलग्न हुन गण्डकी आउने गरेका छन् । साहसिक क्रियाकलापमा संलग्न हुन गण्डकी आउने पर्यटक ४०.१८ प्रतिशत रहेका छन् भने व्यापारिक प्रयोजनका लागि आउने पर्यटक २.९८ प्रतिशत छन् । गत वर्ष गण्डकीमा पहिलो पटक आउने पर्यटक ६८ प्रतिशत रहँदा ३२ प्रतिशत भने एक पटकभन्दा बढी आइसकेको वर्गमा परेका छन् । यस्तै, एकल भ्रमण गर्ने पर्यटक ३४.७५ प्रतिशत, साथीसँग भ्रमण गर्ने २८.७५ प्रतिशत, परिवारसँग भ्रमण गर्ने २२.५० प्रतिशत र समूहमा भ्रमण गर्ने १४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । सर्वेक्षणमा संलग्न गण्डकी प्रदेश भ्रमण गर्ने पर्यटकको नेपालमा औसत बसाइ २२ दिन रहेकोमा त्यसमध्ये १२ दिन गण्डकीमा बस्ने गरेको पाइएको छ ।
पाल्पा: जिल्ला प्रहरी कार्यालय पाल्पाले ९ जनालाई जुवाखालबाट पक्राउ गरेको छ । तानसेन नगरपालिका ६ भिमसेन टोल बस्ने ४९ वर्षीय शैलेन्द्र भन्ने अनन्त बहादुर थापाको घरमा जुवातास खेलिरहेका थापासहित ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद २९ हजार १ सय २५ रूपैयाँ र १ सय ६३ थान तास बरामद गरेको छ । सो विषयमा थप अनुसन्धान भइरहेको पाल्पा प्रहरीले जनाएको छ ।
विश्व खेलकुदको महाकुम्भ ‘पेरिस ओलम्पिक २०२४’ प्रतियोगिताको औपचारिक उद्घाटन आज हुने भएको छ । ३३ औं संस्करणको खेलकुदको महाकुम्भ फ्रान्सको राजधानी पेरिसमा आजदेखि औपचारिक सुरु हुँदैछ । सो प्रतियोगितामा २ सय ६ देशका करिब ११ हजार बढि खेलाडीहरु सहभागि हुदैंछन् । उक्त प्रतियोगिता अगष्ट ११ तारिखसम्म चल्नेछ । उक्त ओलम्पिकमा नेपालका ७ खेलाडीले चार खेलमा प्रतिस्पर्धा गनेछन् । नेपालबाट एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीमा डुवाना लामा र एलेक्जेन्डर शाह, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधानले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
दोधारा चाँदनी: अठार वर्षअघि प्रारम्भ भएको भएको महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति मात्र २२ प्रतिशत भएको छ । राष्ट्रिय गौरवको आयोजना दुई दशक बित्नै लाग्दा पनि सम्पन्न हुन नहुँदा आयोजना क्षेत्रका स्थानीय खिन्न छन् । विसं २०६३ बाट महाकाली सिँचाइ तेस्रो चरणको काम सुरु भए पनि हालसम्म आयोजनाको २८ किलोमिटर मूल नहर मात्र निर्माण भएको छ । रु ३५ अर्ब लागत अनुमान गरिएको आयोजनामा हालसम्म रु सात अर्ब ६८ करोड खर्च भएको छ । कैलाली कञ्चनपुरको ३३ हजार पाँच सय २० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने आयोजनाको लक्ष्य भए पनि बजेट अभावलगायत समस्याका कारण आयोजनाको काम सुस्त छ । हाल मूल नहर निर्माण भएको क्षेत्रमा २२ वटा शाखा नहर निर्माणाधीन छन् । अठ्ठाइस किलोमिटर मूल नहरमा पानी प्रवाह हुन सकेको छैन । महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले भारतीय पक्षले औपचारिक उद्घाटन नभई पानी दिन नसकिने अडानका कारण निर्माण सम्पन्न भएको नहरमा पानी नछाडिएको बताउनुभयो । “हामीले एनएचपिसीसँग नहरमा पानी छाड्न आग्रह गर्दा औपचारिक रूपमा उद्घाटन नभई पानी दिन नसकिने बतायो”, सुवेदीले भन्नुभयो, “त्यो कुरा हामीले हाम्रो माथिल्लो निकायमा जानकारी गराएका छौँ ।” डिभिजनल इन्जिनियर सुवेदीकाअनुसार आयोजनाको २२ प्रतिशत मात्र काम सम्पन्न भएको छ । २०७७ माघ २९ को निर्णयानुसार २०८७ सम्म कैलालीको मालाखेतीसम्मको नहर निर्माण गरिसक्ने लक्ष्य छ । “अहिले पनि आयोजनाका लागि रु दुई अर्ब मात्र बजेट आएको छ यो अत्यन्त कम हो”, उहाँले भन्नुभयो, “मुआब्जा विवाद समाधान, पर्याप्त बजेट प्राप्ति र वनक्षेत्रका व्यवधान हटेमा निर्धारित समयमा नहर निर्माण गर्न सकिन्छ ।” आयोजनाको २८ दशमलव आठ किलोमिटरदेखि ४८ दशमलव तीन किलोमिटरसम्म मूल नहर निर्माणका लागि गत वर्ष पाँचवटा प्याकेजमा ठेक्का सम्झौता भएको थियो । तीन वर्षभित्र काम सक्नेगरी ठेक्का सम्झौता भए पनि बजेट अभाव, वन क्षेत्र र मुआब्जाका कारण निमार्णले गति लिन सकेको छैन । आर्थिक वर्ष २०६२/०६३ मा काम सुरु भएको आयोजनाको हालसम्म २८ दशमलव नौ किमी मूल नहर निर्माण भएको छ । मूल नहर बनेका क्षेत्रमा २२ वटा शाखा नहर निर्माणाधीन छन् । शाखा नहर निर्माण भएमा आगामी वर्षभित्र पाँच हजार दुई सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुने आयोजनाले जनाएको छ । एक सय ५१ किलोमिटर लामो मूल नहर सम्पन्न भएपछि कैलाली र कञ्चनपुरको ३३ हजार पाँच सय २० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ । सिँचाइ सुविधा नहुँदा कञ्चनपुरमा असार १५ सम्म ४३ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । कञ्चनपुरको एक लाख ६१ हजार सात सय ४१ हेक्टर खेतीयोग्य जमिनमध्ये ५९ हजार छ सय दुई हेक्टरमा मात्र खेती हुने गरेको छ ।
जाजरकोट: जाजरकोटको छेडागाड नगरपालिका–१२ काँडागाउँमा घर भत्किँदा एकै घरका आठजना घाइते भएका छन् । घरमुली ३५ वर्षीय पदम अधिकारीसहित परिवारका आठजना सदस्य घाइते भएपछि उपचारका लागि जाजरकोट अस्पतालमा पुर्याइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेले बताउनुभयो । आज बिहान ढुङ्गामाटोले बनेको एकतले घर भत्किएपछि १० वर्षीय दिनेश, ३० वर्षीया सरिता, १४ वर्षीय नवीन, ६५ वर्षीया भिरकुली, १५ वर्षीया सुजता, १६ वर्षीया सङ्गीता र १४ वर्षीय नवराज अधिकारी घाइते भएका हुन् । दुर्घटनामा पदम, सरिता र दिनेशसहित गम्भीर घाइते भएका छजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छभने सङ्गीता र नवराज सामान्य घाइते भएका प्रहरी प्रमुख पाण्डेले जानकारी दिनुभयो ।
काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमतीका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी , कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।बागमती ,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिराको जोखिमबाट बच्न अनुरोध गरेको छ । साथै विभागले ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि सम्बद्ध सबैमा आग्रह गरेको छ ।
चितवन: नारायणगढ–मुग्लिन सडकको भतेरीमा कन्टेनर र ट्रक एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भारतको उत्तर प्रदेशका २४ वर्षीय मेहताव आलम र वीरगञ्ज महानगरपालिका–२४ का ३३ वर्षीय प्रमोद पटेलको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । मृतकमध्ये आलम भारतीय ट्रकका चालक हुन् भने पटेल कन्टेनरका चालक हुन् । भारतीय ट्रकका सहचालक गोरखपुरका २२ वर्षीय सावन अहमद गम्भीर घाइते भएका छन् । उनको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पोखरामा आजदेखी एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु भएको छ । पोखरा ८ रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा सुरु भएको प्रवचन कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले गरे । सो अवसरमा बोल्दै पर्यटकीय राजधानीमा आयोजना हुने कार्यक्रमहरुले धार्मिक पर्यटनलाई टेवा पुग्ने बताए । धार्मिक अथवा आध्यात्मिक कार्यक्रमले सकारात्मक सोंचको विकासका लागि धार्मिक तथा अध्यात्मिक प्रवचन कार्यक्रमको उल्लेख्य भुमिका रहने बताउदै मन्त्री थापाले मन्दिर सञ्चालक समितिसँँग साथमा रहेर सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरे । स्थानीय निकायहरुसँग सहकार्य गरेर खाली जग्गाहरु प्राप्त गर्न सकेको खण्डमा योग र ध्यान शिविरका लागि आफ्नो मन्त्रालयले सहयोग गर्नेसमेत मन्त्री थापाले प्रतिबद्धता जनाए । यस्तै कास्कीका प्रमुख जिल्ला अधिकारी भरमणी पाण्डेले मानिसहरु भौतिक सुख शान्ति खोजिरहदा विभिन्न दुखमा परिरहेको बताउदै अध्यात्मिक कार्यक्रमहरुले दुखलाई भुल्याउन सहयोग पु¥याउने वताए । पोखरा महानगरपालिका वडा नं ७ का अध्यक्ष राममोहन आचार्यले पोखरा ८ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिर पोखरा महानगरपालिका ७,८,९,६,१७ नम्बर वडाका प्रमुख धार्मिक स्थल रहेको बताउदै मन्दिरको संरक्षणका लागि सम्पूर्णले चासो दिनुपर्नेमा जोड दिदै कार्यक्रमको सहयोगार्थ एक लाख रुपैया प्रदान गर्ने प्रतिबद्धता गरे । पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले श्रावण महिनाभर आयोजना हुने धार्मिक कार्यक्रमले आध्यात्मिकतातर्फ मानिसहरुलाई जागरुक गराउन सहयोग पुग्ने बताइन् । श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारक तुलसी स्वरुप महाराज, बृन्दावन धामडाँडाको नाकका विष्णु वशिष्ठ महाराज, पोखरा विश्वविद्यालयका डीन डाक्टर दयाराज ढकाल, निवर्तमान अध्यक्ष तथा कार्यक्रम संयोजक पुरुषोत्तम रेग्मी लगायतले बोलेका थिए । श्रावण १० देखि भदौ १० सम्म आयोजना हुने एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारक तुलसी स्वरुप महाराजले प्रवचन प्रदान गर्नेछन भने भजन संगीतमा संगीतकार बालकृष्ण आचार्य र तवेलामा सुजन बन्जराले साथ दिनेछन । हरेक दिन ११ बजे देखी २ बजे सम्म श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए ।