मध्यविन्दुमा फोहरबाट जैविक मल उत्पादन सुरु

नवलपुर | असोज ४, २०८१

मध्यविन्दुमा फोहरबाट जैविक मल उत्पादन सुरु

सहरी क्षेत्रमा फोहरमैला व्यवस्थापन चुनौती बन्दै जाँदा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिकाले फोहरबाट जैविक मल उत्पादन थालेको छ ।

 

मध्यविन्दु–११ कुसुण्डेमा फोहर व्यवस्थापन तथा जैविक मल उत्पादन केन्द्र स्थापना गरी जैविक मल उत्पादन सुरु गरिएको हो ।

 

नगरपालिकाले घरबाट निस्कने फोहरको अनिवार्य वर्गिकरण गरी कुहिने र नकुहिने गरी सङ्कलन र व्यवस्थापन थालेको नगरप्रमुख भीमलाल अधिकारीले बताउनुभयो ।

 

उहाँका अनुसार नकुहिने फोहरबाट पुनः प्रयोगमा आउने छुट्टाएर बिक्री गर्ने र कुहिने फोहरबाट जैविक मल उत्पादन सुरु गरिएको हो ।

 

फोहरलाई कसरी पुनः अधिकतम प्रयोग गर्न सकिन्छ भन्नेतर्फ नगरपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको नगरप्रमुख अधिकारीले बताउनुभयो ।

 

दिगो रुपमा नगरभित्रको फोहरमैला व्यवस्थापनलाई अघि बढाउन फोहरसँगै आम्दानीलाई जोडेर व्यवस्थापन थालिएको उहाँले उल्लेख गर्नुभयो ।

 

“हामीले फोहरलाई केवल फोहरको दृष्टिकोणले मात्रै हेर्‍यौँ”, अधिकारीले भन्नुभयो, “मध्यविन्दु नगरपालिकाभित्र हामीले सङ्कलन गरेको नकुहिने फोहरमध्ये ७९ प्रतिशत बिक्री हुन्छ । कुहिने फोहरबाट जैविक मल उत्पादन गरिरहेका छौँ ।”

 

गत वर्षदेखि नगरपालिकाले फोहर व्यवस्थापनको काम सुरु गरेको हो । फोहर व्यवस्थापनका लागि दीर्घकालीन उपाएको खोजी गर्ने क्रममा जैविक मल उत्पादन सही विकल्प देखिएको नगरप्रमुख अधिकारीले बताउनुभयो ।

 

“एक ठाउँको फोहर अर्को ठाउँमा सारेर व्यवस्थापन ग¥यौँ भन्ने होइन, यसको दीर्घकालीन व्यवस्थापनसहित आर्यआर्जनसँग जोड्ने गरी हामीले सुरुवात गरेका छौँ”, उहाँले भन्नुभयो ।

 

फोहरबाट मल उत्पादन र मललाई आम्दानीसँग जोड्ने गरी नगरपालिका अघि बढेको नगर कार्यालयले जनाएको छ ।

 

मध्यविन्दु नगरपालिकाको पाँच वटा वडाबाट सुरु गरेको फोहर सङ्कलन हाल सबै वडामा पुगेको नगर उपप्रमुख पूर्णकला चौधरीले जानकारी दिनुभयो ।

 

“जैविक मल उत्पादनका लागि आवश्यक मिश्रणका लागि स्थानीय सामुदायिक वनबाट हरियो घाँस, सुकेका पात सङ्कलन हुन्छ । जसबाट स्थानीय समुदायको आम्दानीको स्रोतसमेत वृद्धि भएको छ”, उपप्रमुख चौधरीले भन्नुभयो ।

 

सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादन केन्द्र सञ्चालनका लागि नगरपालिकाले छुट्टै इकाई स्थापना गरी आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बताउनुभयो ।

 

क्रमश: सहरीकरणको सुरुको चरणमा रहेको मध्यविन्दुमा अहिलेदेखि फोहरमैला व्यवस्थापन थालिएकाले यो कार्यले भविष्यमा हुनसक्ने सम्भाव्य समस्यालाई कम गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

 

“कुहिने फोहरबाट कम्पोस्ट मल तयार गर्न आवश्यक गोबर सङ्कलनका लागि छाडाचौपाया व्यवस्थापन समेतसँगै अघि बढाउने योजना नगरपालिकाको रहेको छ”, घर्तीले भन्नुभयो, “यसलाई कार्यान्वयनमा ल्याउन आवश्यक संरचना निर्माणको चरणमा छ ।”

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्