गलकोट:  निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् ।  निमार्णा...

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच संक्षिप्त भेट भएको छ ।  जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन कतारको दोहाबाट अजरबैजानको बाकु जानेक्रममा जहाजमा उहाँहरुबीच भेट भएको हो ।       भेटमा उहाँहरुबीच जलवायु परिवर्तनबाट उत्पन्न समस्याबारेमा संक्षिप्त कुरा भएको हो ।  “जलवायु परिवर्तन हामी सबैको साझा समस्या हो । हिमाल, पृथ्वी र मानव समुदायको रक्षाका लागि यो समस्या समाधान गर्न हामी सबै जुट्नुपर्छ”, कुराकानीका क्रममा राष्ट्रपति पौडेलको भनाइ उदृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।       महासचिव गुटेरेसले राष्ट्रपति पौडेल बसेको ठाउँमा आएर भेट्नुभएको थियो ।  आजबाट सुरु भएको कोप–२९ सममेलनमा  भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारको दोहा हुँदै यहाँ आइपुग्नुभएको हो ।

काठमाडौं:    पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले पाकिस्तानका प्रधानमन्त्री मुहम्मद सहबाज सरिफसँग बिदाइ भेट गर्नुभएको छ ।  आफ्नो कार्यकाल पूरा गरी स्वदेश फिर्ता हुने क्रममा राजदूत अधिकारीले इस्लामाबादस्थित प्रधानमन्त्री कार्यालयमा बिदाइ भेट गर्नुभएको हो ।            त्यस अवसरमा नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्ध, दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क)मार्फत क्षेत्रीय सहकार्यलगायतका विषयमा छलफल भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।           पाकिस्तानका प्रधानमन्त्री सरिफले राजदूत अधिकारीको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ मजबुद भएको उल्लेख गर्दै अधिकारीको आगामी कार्यकाल सुखद् होस् भनी कामना गर्नुभएको थियो ।       त्यस अवसरमा पाकिस्तानका उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री मुहम्मद इशक दर, प्रधानमन्त्री सरिफका परराष्ट्र मामिलासम्बन्धी विशेष सहायक  तारिक फतेमी, पाकिस्तानका परराष्ट्र सचिव अमना बोलाचका साथै नेपाली दूतावास उपप्रमुख सन लोकबहादुर क्षेत्रीलगायतको उपस्थिति थियो ।

तनहुँ:    आँबुखैरेनी गाउँपालिका–४ स्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रले हिउँदको समयमा पनि पूर्ण क्षमतामा बिजुली उत्पादन गरिरहेको छ । हाल घट्ने समय भए पनि समय समयमा पानी परिरहेकाले उत्पादनमा कमी नआएको हो ।  ३ वटा युनिटबाट २३÷२३ मेगावाटका दरले पूर्ण क्षमताको ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको केन्द्र प्रमुख इन्जिनियर पशुपति गौतमले बताउनुभयो ।  “असोजमा अविरल भारी वर्षा भएको र कात्तिकमा समेत हाल मुसलधारे वर्षा परेपछि पूर्ण क्षमतामा बिजुली उत्पादन भइरहेको छ”, उहाँले भन्नुभयो, “अहिले पानी प्रशस्त परेकाले अझै १ महिनासम्म पूर्ण क्षमतामै उत्पादन हुने सम्भावना देखिएको छ ।” गत वर्ष सुक्खायाममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाको पानी कम हुँदा घटेर ३० मेगावाट विद्युत् उत्पादन भएकामा हाल पूर्ण क्षमतामा उत्पादन भएको गौतमले बताउनुभयो ।  मस्र्याङ्दी हिमालबाट बगेर आएको नदी हो । गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ धेरै पग्लिने र वर्षा धेरै हुँदा यसका सहायक नदी, खोलामा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन पनि बढ्ने उहाँले बताउनुभयो । उहाँका अनुसार यस केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।  केन्द्रका अनुसार सुक्खायाममा भने हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाको पानी कम हुने भएकाले पानीको बहाव थोरै हुँदा विद्युत् उत्पादन घट्ने सो केन्द्रले जनाएको छ ।  

काठमाडौं:     नेपालका पार्कर खेलाडी दिनेश सुनारलाई यस वर्षको ‘अन्तर्राष्ट्रिय मदर टेरेसा’ पुरस्कार प्रदान गरिएको छ ।  अठार पटक गिनिज विश्व रेकर्डमा नाम लेखाउन सफल सुनारले खेल क्षेत्रसँगै समाजमा पु¥याएको उत्कृष्ट योगदानको कदर गर्दै उहाँलाई नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा सो पुरस्कार प्रदान गरिएको हो ।      दिनेश सुनारले आफ्नो प्लेटफर्म र पार्कौर कौशललाई विश्व रेकर्ड कायम राख्न मात्र नभई युवाहरूलाई प्रेरणा दिन, स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्न र नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउँदै आएका छन् ।  मानवतावादी सेवा, सामाजिक कार्य र शान्ति निर्माणका क्षेत्रमा योगदान दिने व्यक्तिहरू र संस्थाहरूलाई सम्मानित गरिने यो पुरस्कार स्वर्ण भारत परिवार नामक संस्थाले प्रदान गर्दै आएको छ ।  भारतका डा बेनेट फरनान्डेज, मेक्सिकोकी रीता अगुइलर गोन्जालेज, सिङ्गापुरकी डा म्यारी एङ, अमेरिकाकी डा लिनोरा पिटरसन, जिम्बाबेकी डा प्याट्टसिया गोन्डे, बेलायतकी अलिसन चिवारालगायतसमाजमा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिएका एक हजार एकजनामध्ये उहाँ नेपालबाट एकजना मात्र रहनुभएको छ । समर्पण र अनुशासनमार्फत सुनारले आफ्नो शारीरिक तन्दुरुस्ती र जोसले विशेषगरी खेलकुद र पहिचानको अवसर सीमित रहेका ग्रामीण समुदायमा सकारात्मक प्रभाव पार्न योगदान पु¥याउँदै आउनुभएको छ ।  मदर टेरेसाका मूल्य मान्यतासँग मेल खाने योगदानलाई प्रोत्साहित गर्न र प्रवद्र्धन गर्न स्थापना गरिएको यो पुरस्कार उपेक्षित समुदायको उत्थान, वञ्चित वर्गका लागि स्वास्थ्य सेवा र शिक्षा प्रदान गर्न तथा विश्व शान्ति र सौहाद्र्रको भावना जागृत गराउन करुणा र निःस्वार्थ सेवा गरेबापत प्रदान गर्ने गरिन्छ ।   पुरस्कार प्राप्त गरेपछि सुनारले विश्वभरिका सामाजिक रूपमा प्रभावशाली र बौद्धिक व्यक्तित्वसँगै आफू पनि सम्मानित हुन पाउँदा आफूले गरेको मेहनतले सार्थकता पाएको महसुस भएको बताउँदै नेपाललाई विश्वभर चिनाउन सकेकामा गौरवान्वित भएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “नेपाली खेलाडीका रूपमा मैले पाएको सम्मानले विश्वभरिका युवाहरूलाई प्रेरित गर्दछ, जतिसुकै चुनौती आए पनि आफूले चाहेको उपलब्धि हासिल गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।” हाल अमेरिकामा रहेर पार्करजस्तो उल्लेखनीय कलाबाट नेपाली खेलकुद र सांस्कृतिक आदानप्रदानमा सक्रिय हुने क्रममा विभिन्न प्रदर्शनी र विश्वकीर्तिमानी प्रवद्र्धनमा सक्रिय हुँदै आउनुभएको छ । उहाँको यो अदभूत कला सिटी अफ एक्रोनका मेयर डेनियल होरिगानले गत २१ अप्रिललाई दिनेश सुनार डे नै घोषणा गरेका थिए भने अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभले १० फेब्रुअरीमा सम्मान गरेको थियो ।  यति मात्र होइन, गिनिज वल्र्ड रेकर्डस डेमा संसारका उत्कृष्ट पाँच रेकर्ड होल्डरभित्र उहाँ पनि पर्नुभएको थियो । उहाँले २०२१ मा अक्रोन, ओहोयोमा भुटानिज कम्युनिटी एसोसिएसन इङ्क, अक्रोनको सहयोगमा सनसाइन तेक्वान्दो एकेडेमीद्वारा आयोजित कार्यक्रममा ३० सेकेन्डमा सबैभन्दा पूर्ण ट्विस्ट ब्याकफ्लिप्सका लागि विश्वकीर्तिमान तोड्नुभएको थियो भने ९ मार्च २०२३ मा न्युयोर्कमा जिपिके फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा एक मिनेटमा सबैभन्दा धेरै २१ पटक डाइभिङ गर्ने गिनिजवल्र्ड रेकर्ड तोड्नुभएको थियो ।  

तनहुँ:    नेपाल तमु विद्यार्थी छोंज धींको केन्द्रीय अध्यक्षमा चितवनका पवन तमु निर्वाचित भएका छन् । आज बिहान दमौलीमा सम्पन्न बाह्रौ महाधिवेशनबाट पवनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।    महाधिवेशनबाट उपाध्यक्षमा दोलखाका विष्णु तमु, लमजुङका गौचन तमु, महिला उपाध्यक्षमा झापाकी सिर्जना तमु, महासचिवमा कास्कीका युवराज तमु, उपमहासचिवमा धादिङका अनिल तमु, सचिवमा विकास तमु, कास्कीकी  नेहा तमु, स्याङ्जाका युवराज तमु, बाँकेका प्रकाश तमु, काठमाडौकी इशा तमु निर्वाचित भए ।  कोषाध्यक्षमा नवलपरासीका अनुपम तमु, सहकोषाध्यक्षमा काभ्रेकी अन्जु तमु, सङ्गठन विभाग प्रमुखमा चितवनका सविन तमु, प्रचारप्रसार विभाग प्रमुखमा गोरखाका मनोज तमु, भाषा, साहित्य, संस्कृति तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुखमा काभ्रेकी इशा तमु, विदेश विभाग प्रमुखमा गोरखाका सोम तमु, आइटी विभाग प्रमुखमा चितवनका सुनिल तमु, शैक्षिक विभाग प्रमुखमा गोरखाका वृषराम तमु, प्रशिक्षण, अनुशासन तथा अनुगमन विभाग प्रमुखमा स्याङ्जाका गोविन्द तमु निर्वाचित भए ।  यस्तै केन्द्रीय सदस्यहरूमा सुनिल तमु, सोम तमु, सुशन तमु, माधव तमु, राजाराम तमु, आयुष तमु, रुक्सन तमु, प्रज्वल तमु, एलिना तमु, रितेश तमु, मनिष तमु, विनिसा तमु, प्रितम तमु, अनु तमु, इन्द्रमणि तमु, ममता तमु, राज घले, कोपिला तमु निर्वाचित भए ।  गत शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेसँगै सुरु भएको महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गरी आज सम्पन्न भएको हो । 

काठमाडौँ:    राष्ट्रिय परीक्षा उत्तरपुस्तिका परीक्षणमा लापरबाही हुन नदिन आग्रह गर्दै अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।  बोर्डका उत्तरपुस्तिका निरीक्षकले जाँच गर्दा लापरबाही गर्ने गरेको भन्दै अध्यक्ष शर्माको ध्यानाकर्षण गराइएको अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज धर्मराज तिमिल्सिनाले जानकारी दिनुभयो ।  खोटाङ केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका नियतवश केरमेट गरेर परीक्षकले अनुत्तीर्ण गराएको आरोपसहित ती छात्रका आफन्तले बोर्डमा उजुरी दिएको र उजुरीका आधारमा राष्ट्रिय परीक्षा बोर्डले पुनः उत्तरपुस्तिका परीक्षण गरी उत्तीर्ण भएको सूचना सार्वजनिक भएपछि अनेरास्ववियुले घटनामा सङ्लग्न दोषीलाई कारबाही गर्न पनि माग गरेको छ ।  तिमिल्सिना नेतृत्वको टोलीले परीक्षा नियन्त्रक नन्दलाल पौडेलसँग यस विषयमा छलफल गरेको थियो  । परीक्षा नियन्त्रकका अनुसार २०८० को एसइई नतिजा हेर्दा पुनर्योगको लागि निवेदन दिने १८ हजार ६ सय १२ जना विद्यार्थीमध्ये आठ सय ४८ जना विद्यार्थीको नतिजा परिवर्तन भएको पाइएको अनेरास्ववियुले जनाएको छ ।  तीमध्ये २ सय विद्यार्थीले उत्तरपुस्तिका हेर्न पाउँ भनेर निवेदन दिएकामा ३६ जनाले विज्ञसँग बसेर उत्तरपुस्तिका हेरेका सङ्गठनले जनाएको छ ।  विज्ञले पुनःपरीक्षण नगर्न दबाब दिँदादिँदै १६ जना विद्यार्थीले पुनःपरीक्षणका लागि निवेदन दिएकामा १० जनाको नतिजा परिवर्तन भएर आएको तथ्याङ्कलाई हेर्दा उत्तरपुस्तिका पुनःपरीक्षण गर्दा ६२ दशमलव ५५ प्रतिशत विद्यार्थीको नतिजामा परिवर्तन आउने देखिएको अनेरास्ववियुले जनाएको छ ।  यसले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, मातहतका संयन्त्रहरू तथा सम्बन्धित सरोकारवालाले लापरबाही गरेको देखिएको भन्दै ध्यानाकर्षण पत्र  बुझाइएको जनाइएको छ । 

धनुषाः   मधेस प्रदेशका सात स्थानमा आगामी मङ्सिर १६ गते उप निर्वाचन हुने भएको छ । सप्तरी, धनुषा, महोत्तरी, रौतहटका सात स्थानमा निर्वाचन हुन लागेको हो ।  सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४ , धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, रौतहटको ईशनाथ नगरपालिका–७,रौतहटको राजपुर नगरपालिका –६  र बाराको गढीमाई नगरपालिका–८ मा  उपनिर्वाचन हुन लागेको हो ।    

विराटनगर:    प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा उहाँले सो अत्यन्त छोटो प्रतिक्रिया दिनुभयो । उहाँ समयको व्यस्तता र अभावका कारण पत्रकारहरुसँग पछि कुरा गर्ने पनि जनाउनुभयो । सो अवसरमा प्रधामन्त्री ओलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल कम्युनिष्ट पार्टी (एमाले)कोशी प्रदेश कमिटीका इन्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन राई, सो पार्टीका प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, सुरक्षा निकायका प्रमुखहरु, पार्टीका उच्चपदस्थ पदाधिकारीहरु एवं कार्यकर्ताहरुले भव्य स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओली बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानद्वारा आयोजना हुने १३औँ दीक्षान्त समारोहको अध्यक्षता ग्रहण गर्नुभएको हो ।  

पोखरा:   कास्कीको माछापुच्छ्रेगाउँपालिका–९ स्थित मर्दी हिमाल आरोहणका क्रममा हिजो (आइतबार) एक पर्यटक गाइडको मृत्यु भयो ।    नर्वेका नागरिकलाई मर्दी हिमाल आरोहणको गराउन काठमाडौंको सनराइज कम्पन्नीबाट आएका ६२ वर्षीय लालबहादुर तामाङको आरोहणको क्रममै लडेर मृत्यु भएको हो ।    सनराइज कम्पन्नीबाट मर्दी हिमाल आरोहणका लागि आएका एक विदेशीसहित टोलीमा ४ नेपाली रहेको माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र)ले जानकारी दिए ।    ‘कात्तिक २३ गते काठमाडौंको सनराइज कम्पन्नीबाट नर्वेका एक नागरिकसहित ४ नेपालीको टोली मर्दी हिमाल आएका रहेका छन् ।   मुख्य गाइडसमेत रहेका लालबहादुर तामाङले नर्वेका नागरिकलाई हिमाल चढाउने र आफु पनि चढ्ने योजनामा आएका रहेछन्’, वडाध्यक्ष क्षेत्रीले सुनगाभा न्यूजसँगभने, ‘मर्दी हिमाल आरोहणकै क्रममा तामाङको आइतबार लडेर मृत्यु भएको हो, थप बुझ्दै छौं ।’     मर्दीको तापक्रम माइनस १० डिग्री, उद्धारका लागि जुटाउँदै    तापक्रम र भौगौलिक अवस्थाका कारण मृतक लालबहादुर तामाङको शव निकाल्न ​कठिनाई भएको माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र)ले बताए ।    ‘मर्दी हिमाल आरोहणको क्रममा मृत्यु भएका लालबहादुर तामाङको शव घटनास्थलबाट निकाल्न तापक्रम र भौगौलिक अवस्थाका कारण कठिनाई देखिएको छ, अहिले त्यहाँ माइनस १० डिग्री रहेको बुझ्नमा आएको छ । हामीसँग उद्धारका लागि पर्याप्त सामान छैन’, उनले भने, ‘अहिले मर्दीको मौसम चिसिएको छ, तामाङ लडेको स्थान ढुङ्गा नै ढुङ्गा भएको स्थानमा हो । हिडेर जान सकिदैन, रक क्लाइम्बिङ गर्नुपर्छ । त्यसका लागि आवश्यक सामान जुटाउन पर्छ । हामीले तयार गर्दैछौ ।’ उनले तामाङ लडेको स्थानमा रेकी गर्नका लागि सनराइज कम्पन्नीसँग समन्वय गरेर हेलीकप्टर मगाउन  संवाद भइरहेको जानकारी दिए ।    अहिले हाइक्यापमा रहेका पर्यटन व्यवसायी र मर्दी हिमाल आरोहणका लागि गएका विदेशीनागरिकसहितका टोलि तामाङ लडेको स्थानमा जान लागेको उनले बताए ।    सूचना पाएका छौं हाम्रो टोली जाँदै छ: डिएसपी शर्मा   जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी बसन्तकुमार शर्माले मर्दी हिमाल आरोहणका क्रममा लडेर एक जना बेपत्ता भएको जानकारी आएको बताए ।    ‘मर्दी हिमाल आरोहणको क्रममा एक जना मानिस लडेर बेपत्ता भएको भन्ने सूचना आएको छ । घटनास्थलतर्फ हाम्रो टोली जाँदै छ अहिले बाटोमा छ’, डिएसपी शर्माले भने, ‘अहिले बेपत्ता भएको भन्ने सूचना मात्र पाएका छौैं थप अपडेट हाम्रो टोली जाँदै छ । पुगे पछि थाहा होला ।’   उनले अस्थायी प्रहरी चौकी भेडाबारीबाट टोली घटनास्थल हिडेको बताउँदै थप टोली जिल्लाबाट पठाउने तयारी भइरहेको बताए ।   प्रहरीलाई बेपत्ता भन्ने सूचना आएपनि मुख्य गाइड तामाङको मृत्यु भइसकेको स्थानीयहरुले गएराती नै पुष्टि गरिसकेका छन् ।    २०७१ जेठ ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले ५ हजार ८ सय मिटर उचाईको हिमाल आरोहण गर्न अनुमति नचाहिने निर्णय गरेको थियो ।   सोही निर्णयलाई नै आधार मानेर मृतक तामाङको नेतृत्वमा मर्दी हिमाल आरोहणका लागि उक्त स्थानमा पुगेका थिए । मर्दी हिमालको उचाई ५  हजार ५ सय ८७ मिटर रहेको छ ।   यो पनि पढ्नुहोस   स्कूप: मर्दी हिमाल आरोहणका क्रममा गाइडको मृत्यु