काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले डेङ्गी नियन्त्रणमा लाग्न समाजका सबै वर्गमा अनुरोध गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज दिनुभएको भिडियो सन्देशमा देशका केही जिल्लामा डेङ्गीको प्रभाव कायम रहेकाले त्यसको नियन्त्रणमा लाग्न सबैमा अनुरोध गर्नुभएको हो । प्रधानमन्त्रीले हरेक शुक्रबार बिहान १०ः०० बजे ‘खोज र नष्ट गर’ अभियान देशव्यापी रूपमा सञ्चालन गर्न सङ्घीय, प्रदेश तथा स्थानीय तहका सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, शिक्षण संस्था, सामाजिक अभियान्ताका साथै समाजका सबै वर्गको सक्रिय सहभागिताका निम्ति आग्रह गर्नुभएको छ । उहाँले डेङ्गी सार्ने लामखुट्टेको नियन्त्रणका लागि लामखुट्टेको प्रजननस्थल पानी जम्ने स्थान भएकाले त्यस्ता स्थलको पहिचान गरी लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्नुपर्नेमा जोड दिनुभएको छ । “नागरिक स्वस्थ भएमा मात्र समृद्ध नेपाल निर्माण सम्भव छ, त्यसैले डेङ्गी नियन्त्रणको यस अभियानलाई सफल पार्न सबैलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध गर्दछु”, सन्देशमा प्रधानमन्त्रीले भन्नुभएको छ ।
मुस्ताङ: मुस्ताङको सदरमुकाम जोमसोम बजारसहित घरपझोङ गाउँपालिकाका पाँचवटा वडालाई समेट्ने चक्रपथ सडक कालोपत्र गर्न थालिएको छ । गण्डकी प्रदेश सरकारले प्राथमिकताका साथ सञ्चालन गरेको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रममार्फत पूर्वाधार विकास कार्यालयले घरपझोङ चक्रपथको जोमसोम– ठिनी– ढुम्बा खण्डमा कालोपत्र गर्न थालेको हो । कार्यालयका प्रमुख अजय श्रेष्ठका अनुसार निर्माण व्यवसायीले बिहीबारदेखि जोमसोमतर्फबाट प्रिमिक्स प्रविधिको कालोपत्र गर्न थालेका हुन् । पहिलो दिन एकतर्फी तीन सय मिटर कालोपत्र भएको छ । जोमसोम–ठिनी–ढुम्बा–छैरो खण्डको १२ किलोमिटरमध्ये पहिलो चरणमा पाँच किलोमिटर कालोपत्र गरिने छ । छ किलोमिटर कालोपत्र र छ किलोमिटर ग्राभेल गर्न २०७६ साल असार २६ गते निर्माण कम्पनीसँग रु २१ करोड ४३ लाख १३ हजारमा निर्माण कम्पनीसँग सम्झौता भएको जनाउँदै उक्त कार्यालयले हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको बताएको छ । घरपझोङ चक्रपथ सडकले जोमसोम–ठिनी–ढुम्बा–चिमाङ, छैरो, मार्फा र स्याङ गाउँ जोडिन्छन् । चक्रपथको मार्फा–स्याङ–जोमसोम खण्ड सङ्घीय सरकारको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनामार्फत स्तरोन्नतिको चरणमा छ । जोमसोम–ठिनी–ढुम्बा–चिमाङ–छैरो खण्डको स्तरोन्नति प्रदेश सरकारले गर्न लागेको हो । मुस्ताङको नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको ठिनीगाउँ र ढुम्बाताल आवतजावतका लागि यही सडक प्रयोग हुन्छ । सडक कालोपत्र र ग्राभेल भएपछि स्थानीयवासी, पर्यटकलाई आवतजावतका साथै कृषि उपजको बजारीकरणमा सहज हुनेछ । घरपझोङ चक्रपथअन्तर्गत ठिनीखोलामा प्रदेश सरकारमार्फत मोटरेबल पुल निर्माण सुरु भएको र छैरो–मार्फा जोड्ने बेलीब्रिज निर्माणका लागि सङ्घीय सरकारसँगको साझेदारीमा घरपझोङ गाउँपालिकाले ठेक्का आह्वान गरिसकेको मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले बताउनुभयो । ढुम्बाखोलामा मोटेरबल पुल बनाउन पूर्वाधार विकास कार्यालयमार्फत विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० तयार गरेर स्रोत सुनिश्चितताका लागि पहल भइरहेको उहाँले बताउनुभयो । ठिनीखोलामा ३५ मिटर लामो प्रिस्टे«स प्रविधिको मोटरेबल पुल निर्माणका लागि छनोट भएको निर्माण कम्पनीले काम थालेको छ । मुस्ताङस्थित पूर्वाधार विकास कार्यालयसूचना अधिकारी घनश्याम रोकाले रु चार करोड ४६ लाख ७० हजार तीन सय को लागतमा ठिनीखोलामा पुल बनाइने बताउनुभयो ।
गलकोट: प्रचारप्रसार र पूर्वाधार अभावले ओझेलमा परेको यहाँकोे पर्यटकीयस्थल गाजा दहको संरक्षण गर्न स्थानीय एकजुट भएका छन् । सरकारीस्तरमा दुई वर्षयता पूर्वाधारका लागि बजेट प्राप्त नभएपछि स्थानीयले श्रीमद्भागवत ज्ञान महायज्ञ आयोजना गरेर अर्थ सङ्कलनको प्रयास थालेका छन् । जैमिनी नगरपालिका–३ स्थित गाजाको दहको संरक्षण, प्रचारप्रसार र सिद्ध बराहको पुनःनिर्माणका लागि ‘गाजा दह सिद्ध बराह श्रीमद्भागवत ज्ञान महायज्ञ’ हुन लागेको वडाध्यक्ष कृष्ण भुजेलले जानकारी दिनुभयो । आगामी मङ्सिर ८ देखि १४ गतेसम्म महायज्ञ हुनेछ । “प्राकृतिक र धार्मिक रूपमा महत्त्वपूर्ण गाजाको दहलाई उजागर गर्न पर्यटकीय पूर्वाधार निर्माणमा महायज्ञले सहयोग पुर्याउनेछ, दहलाई धार्मिक केन्द्रका रूपमा विकास गर्ने र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने हाम्रो मुख्य उद्देश्य हो”, उहाँले भन्नुभयो । अनुसार धार्मिक आस्थासँग जोडिएर देशविदेशमा रहेका स्थानीयले पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका महायज्ञ मूल आयोजक समितिका अध्यक्ष लोकबहादुर छन्त्यालले बताउनुभयो ।
कञ्चनपुर: लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल बिछ्यौनामा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार दुवै जनालाई आज बिहान मृत फेला पारिएको हो । त्यसबारे स्थानीयले प्रहरीलाई बिहान खबर गरेका थिए । “घटना शङ्कास्पद छ, उहाँले भन्नुभयो, “मृतको शरीरमा धारिलो हतियार प्रयोग भएको डाम देखिएको छ, घटनास्थलमा रगत पनि देखिएकाले अनुसन्धान थालिएको छ ।
काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्थानीय उत्पादनमा आधारित विद्यालय दिवाखाजा राष्ट्रिय प्रारूप स्वीकृत भई कार्यान्वयनमा रहेको बताउनुभएको छ । मन्त्रालय सम्हालेको एकसय दिनको उपलब्धि आज सार्वजनिक गर्दै उहाँले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन कार्ययोजना तयार गरिएको, विद्यालय तहको परीक्षा तथा मूल्याङ्कन प्रणाली सुधारको कार्ययोजना बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय उत्पादनमा आधारित विद्यालय दिवाखाजा राष्ट्रिय प्रारूप स्वीकृत भई कार्यान्वयनमा छ, अनिवार्य तथा निःशुल्क शिक्षाको तीनै तहका सरकारको जिम्मेवारीसहितको कार्यान्वयन कार्ययोजना तयार भएको छ र माध्यामिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने सरकारको सोचअनुरूप कार्यान्वयन कार्ययोजना तयार गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको छ ।” मन्त्री भट्टराईले विद्यालय तहको परीक्षा तथा मूल्याङ्कन प्रणालीमा सुधारको कार्ययोजना तयार भएको, विश्वविद्यालयको विधेयकको मस्यौदा तयार गरी नेपाल सरकार मन्त्रिपरिषद्मा पठाइएको र उच्च शिक्षा विधेयकको मस्यौदा तयार गरी नेपाल कानुन आयोगमा पठाइएको जानकारी दिनुभयो । उहाँले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम विधेयकको मस्यौदा अर्थ मन्त्रालयको सहमतिका लागि पठाइएको र नौ सय २४ वटा शैक्षिक परामर्श सेवा प्रदायक संस्थाहरूको नवीकरण गरिएको, उक्त संस्थाहरूको आवश्यकताअनुसार आकस्मिक निरीक्षण अनुगमन गर्ने र नवीकरण पत्र दिँदा स्वीकृति पत्र, राजस्वसमेतका कागजातको परीक्षण गर्ने निर्णय गरिएको बताउनुभयो । “रेडियोधर्मी पदार्थ तथा विकीरण सुरक्षा सम्बन्धमा मापदण्ड कार्यान्वयनका लागि छ वटा स्वास्थ्य संस्थाको अनुगमन सम्पन्न भएको छ । यस अवधिमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को पाठ्यक्रम सुधारको खाका तयार भएको छ र विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक संस्थाहरूबाट सञ्चालित उच्च शिक्षाका कार्यक्रम व्यवस्थित गर्ने कार्ययोजना निर्माण भएको छ”, उहाँले भन्नुभयो ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु एक हप्ते कर्णाली यात्राको क्रममा विभिन्न जिल्लामा पुग्नुभएको छ । यही कात्तिक ६ गते सल्यानको सल्ली बजारमा आमसभा गरेर शुभारम्भ भएको राप्रपाको कर्णाली प्रदेशको यात्रा कात्तिक ७ गते सुर्खेतको बाबियाचौर हुँदै आज दैलेख पुगेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली यात्राका क्रममा कात्तिक ९ गते कालिकोटको सदरमुकाम मान्ममा, कात्तिक १० गते जुम्लाको गोठिजिउलामा र कात्तिक ११ गते मुगुको गमगढीमा सभाहरु हुनेछन् । पार्टीको स्थानीय संरचनालाई चलायमान बनाउन, पार्टीको एजेण्डाको पक्षमा जनमत सिर्जना गर्न, चौतर्फी अन्यौल, अस्थिरता, भ्रष्टाचार र अस्तव्यस्तताका कारण देशमा सिर्जना भएको परिस्थितिका बारेमा जनतासँग संवाद गर्न र तुलनात्मक रुपमा राज्यको प्राथमिकता कमजोर रहेको कर्णाली प्रदेशका कुरा सुन्ने, सुनाउने अभियानअन्तर्गत कर्णाली यात्रा गरिरहेको सो पार्टीले जनाएको छ । अध्यक्ष लिङ्देनको साथमा वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्र, महामन्त्री कुन्तीकुमारी शाही, सुदूरपश्चिम प्रदेश कार्यसमितिका अध्यक्ष धर्मराज जोशी, कर्णाली प्रदेश कार्यसमितिका अध्यक्ष दीपबहादुर शाही, प्रवक्ता ज्ञानेन्द्र शाही, सहमहामन्त्रीहरु, सहायक महामन्त्रीहरु, पार्टीका दर्जनौँ केन्द्रीय र प्रदेश तहका नेताहरु, संघ र प्रदेशका आधा दर्जन सांसदहरु सहभागी रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ९१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ७७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ८४ पैसा र बिक्रीदर आठ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा र कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९९ पैसा र बिक्रीदर चार रुपैयाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७३ पैसा र बिक्रीदर नौ रुपैयाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १२ रुपैयाँ ७५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ५१ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले जुनसुकै समयमा पनि उल्लेखित दर संशोधन गर्न सक्ने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
सुनसरी: जिल्ला प्रहरी कार्यालयले चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जनालाई पक्राउ गरेको छ । उक्त कार्यालयका अनुसार धनकुटाको छथर जोरपाटी–२ की १६ वर्षीया एक किशोरी, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुर बेलका नगरपालिका–९ का ४३ वर्षीय दीपक दर्जी, ४२ वर्षीय बद्रीविक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका–१२ का २० वर्षीय शीतल गुरुङ, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ की २० वर्षीया रोशनीमाया तामाङ, चिनियाँ नागरिक ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई पक्राउ गरिएको हो । अभियुक्तहरूलाई बिहीबार सार्वजनिक गर्दै प्रहरी नायब उपरीक्षक रामचन्द्र तिमिल्सिनाले उनीहरू मानव तस्करीमा संलग्न रहेको आशङ्कामा अनुसन्धान थालिएको बताउनुभयो ।
काठमाडौं: उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी०की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच भेटवार्ता भएको छ । उक्त भेटका अवसरमा मिलेनियम च्यालेन्ज कर्पोरेसनको कम्प्याक्ट एग्रिमेन्टअन्तर्गत गत वर्षदेखि कार्यान्वयन भएको परियोजना तथा अन्तरदेशीय प्रसारण लाइनका बारेमा छलफल भएको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ । उपप्रधानमन्त्री पौडेल र निर्देशक लीबीच भेटवार्ता अर्थमन्त्री पौडेलसँग अन्तर्राष्ट्रिय मुद्रा कोषका उपकार्यकारी निर्देशक बो लीले पनि आजै भेटवार्ता गर्नुभएको छ । त्यस असरमा उहाँहरूबीच वित्तीय सहायता, परामर्श सेवा र प्राविधिक सहयोगबारे छलफल भएको थियो । उपकार्यकारी निर्देशक बोले नेपालको आर्थिक प्रगति सन्तोषजनक रहेको बताउनुभएको थियो । अर्थमन्त्रीका साथमा अर्थसचिव रामप्रसाद घिमिरे, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी तथा यहाँस्थित दूतावासका कार्यवाहक राजदूत कुमारराज खरेलको हुनुहुन्थ्यो ।