म्याग्दी: मुस्ताङको छुट्टाछुट्टै स्थानमा आज एक पर्यटक र एक तीर्थयात्री गरी दुई विदेशी नागरिकको मृत्यु भएको छ । थासाङ गाउँपालिका–२ थाङसारमा अमेरिकी नागरिक र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीले थाङसारको होलिडे क्याम्प होटलको शयन कक्षमा अचेत अवस्थामा भेटिएका अमेरिकाका ६३ वर्षीय मिलो गोलसेगरलाई जोमसोम अस्पताल पु(याउँदा चिकित्सकले मृत घोषणा गरेको जानकारी दिनुभयो । मुक्तिनाथ मन्दिर दर्शन गरी फर्कने क्रममा अचानक बेहोस भई लडेकी भारतको महाराष्ट्र मुम्बई अँधेरी वेष्ट वर्सोवा पिनकी ६९ वर्षीया शारदा महादेव लगडेलाई पनि जोमसोम अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ बोगटीले बताउनुभयो । मृतक दुवैको शव परीक्षणका लागि जोमसोम अस्पतालमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गोलसेर गिजरमा पानी तताएर नुहाउने क्रममा निस्सासिएर र लगडे लेक लागेर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
काठमाडौं: सरकारले डेङ्गी नियन्त्रणका लागि आज देशभरका कार्यालयमा सरसफाइ अभियान सञ्चालन गरेको छ । सरकारले डेङ्गीको सङ्क्रमण बढिरहेकाले आजदेखि देशव्यापी रुपमा लामखुट्टेको बासस्थानको ‘खोज र नष्ट गर’ अभियान थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले स्वास्थ्य मन्त्रालयसहित सिंहदरबारभित्रका मन्त्रालयहरु, संवैधानिक निकाय, सेना, प्रहरी, सशस्त्रलगायत विभिन्न कार्यालयका कर्मचारी सरसफाइ अभियानमा सहभागी हुनुभएको जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयले डेङ्गी रोकथाम तथा नियन्त्रणका लागि हरेक शुक्रबार ‘१० बजे १० मिनेट’ कार्यक्रममा सहभागी हुन मन्त्रालय, विभाग, निजामति कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ताका साथै आमनागरिकलाई आह्वान गरेको छ । प्रवक्ता डा बुढाथोकीले दसैँपछि डेङ्गी सङ्क्रमित बढ्नुका साथै स्वास्थ्य संस्थामा परीक्षण गराउने र भर्ना हुनेको दर पनि बढेकाले नियन्त्रणका लागि विगतका वर्षमा झै खोज र नष्ट अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आमनागरिक, सेना, प्रहरी, कर्मचारी सबैलाई यो अभियानमा सहभागी हुन अनुरोध गरेका छौँ ।” शुक्रबारमा मात्र सीमित नराखी कम्तीमा हप्तामा एक पटक भए पनि अभियानमा सहभागी भएमा डेङ्गी नियन्त्रण गर्न सकिने प्रवक्ता डा बुढाथोकीले उल्लेख गर्नुभयो । डेङ्गी सङ्क्रमणबाट सुरक्षित हुन सरसफाइमा विशेष ध्यान दिनुपर्ने भन्दै आफ्नो गाउँटोल सफा राख्न उहाँले सबैलाई आग्रश गर्नुभयो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार हालसम्म डेङ्गी सङ्क्रमितको सङ्ख्या २२ हजार ८२ पुगेका छन् । देशभर ७६ जिल्लामा डेङ्गी फैलिएको छ । काठमाडौँ, कास्की, तनहुँ, चितवन र पर्वतमा सङ्क्रमितको सङ्ख्या बढी देखिएको छ । हालसम्म डेङ्गीबाट ११ जनाको मृत्यु भइसकेको छ । डेङ्गी नियन्त्रणका लागि पानी जम्मा गरी राखिएका पानीको ट्याङ्की, ड्रम, गाग्री, बाल्टिनलाई लामखुट्टे छिर्न नपाउने गरी राम्रोसँग छोपेर राख्ने, आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक स्थानमा फालिएका काम नलाग्ने भाँडाकुँडा, सिसी, बोतल, टीका बट्टा, प्लास्टिकजन्य वस्तु तथा पानी जन्म नसक्ने अन्य भाँडा तथा सामग्रीलाई पानी नजम्ने गरी व्यवस्थापन गर्नुपर्छ ।
काठमाडौं: कवि र चित्रकारबीच के भिन्नता छ ? भन्ने प्रश्नमा चित्रकार रमेश खनालले क्यानभासमा रङ पोत्दै भन्नुभयो, “उस्तै हुन्, चित्रकारले रङमार्फत भावना पोख्छन् भने कविले शब्दमार्फत ।” भावनाको कलात्मक सङ्गम गराउने उद्देश्यले यतिबेला नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘काव्यचित्र सिर्जना शिविर’ स्थलगत काव्य–चित्र सिर्जना कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा १५ जना कविका विभिन्न शीर्षकका कवितामा १५ जना चित्रकारले प्रत्यक्ष रुपमा क्यानभासमा चित्र कोर्नुभएको छ । चित्रकार खनालले कवि मणि लोहनीको ‘जन्मस्थल’ शीर्षकको कवितामा चित्र बनाउँदै भन्नुभयो, “कविले शब्दमा जे भन्न खोजेको छ, त्यही भाव चित्रमा फरक शैलीले आउनसक्छ । यसलाई नै शब्द र रङ्गमार्फत व्यक्त सिर्जना भनिन्छ ।” चित्र कोर्नुअघि पाँच पटकसम्म कविता पढेर त्यसको भाव महसुस गरेको उहाँले बताउनुभयो । कविताअनुसार मिल्ने र सुहाउने रङ क्यानभासमा खनालले उतार्नुभएको हो । उहाँको चित्र कोर्ने शैली अमूर्त हुन्छ । जहाँ कुनै आकृति हुँदैन मात्रै रङले भाव पोख्छ । खनालले बिनाआकृति कविताको मर्म र भाव उजागर गर्न प्रयत्नशील रहेको उल्लेख गर्नुभयो । नेपाल ललित कला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले साहित्य र चित्रकलाबीचको सिर्जनात्मक भावना जागृत गराउन एकदिने कार्यशाला आयोजना गरिएको बताउनुभयो । कार्यशालामा कवि विश्वमोहन श्रेष्ठ, राजेन्द्र शलभ, विधान आचार्य, स्नेहा, सायमि, किशोर पहाडी, गीता कार्की, मोमिला, रजनी ढकाल, बाबु त्रिपाठी, प्रज्वल अधिकारी, सुमन थापा, अनिता लामा, ओम रिजाल, दीप दर्पणका कवितामा चित्रकार किरण मानन्धर, केके कमचार्य, रमेश खनाल, दिनेश्वर महतो, अरुणा हिङ्माङ, सौरगङ्गा दर्शनधारी, सन्तोष राई, दिपेन्द्रमान बनेपाली, देवेन्द्रकुमार काफ्ले, सञ्जय वान्तवा, नरेन्द्रबहादुर श्रेष्ठ, केशवराज खनाल, राधेश्याम मुल्मी, विपना महर्जन, सुन्दर लामाले चित्र बनाउनुभएको हो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र एपेक नेपालले एक दिने कार्यशाला आयोजना गरेको हो ।
काठमाडौं: बाढीपहिरोमा परी निधन भएका मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका फुटबल खेलाडीका परिवारजनले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउनुभएको छ । साथै उहाँहरुले उक्त घटनाको उच्चस्तरीय आयोगबाट छानबिन गरी दोषीलाई कारबाही गर्नसमेत माग गर्नुभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा सञ्चालित सो विद्यालयको होस्टेलका ६ बालबालिकाको बाढीपहिरोबाट बच्न भाग्ने क्रममा गत असोज १२ गते निधन भएको थियो । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्र्तौलाको सहजीकरणमा प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा पीडितपरिवारले अघिल्लो दिनदेखि नै वर्षा भइरहेको र कुलेखानी विद्युत् गृहको बाँध खोल्ने सूचना भएको अवस्थामा बालबालिलाई विद्यालयबाट सुरक्षित स्थानमा लैजानुपर्नेमा लापबारही भएकाले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । मृतक बालबालिकाका नाममा अक्षय कोष स्थापना गरी खेल क्षेत्रको प्रवद्र्धन गर्न पीडित परिवारले आग्रह गरेका छन् । पीडित परिवारका तर्फबाट भक्तबहादुर बलम्पाकी, कमला रेग्मी, टीकाराम आचार्य, हेमबहादुर योञ्जन, दिपा बानियाँ र ललितबहादुर घलानले संयुक्तरुपमा प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाउनुभएको हो । ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले उक्त घटना अत्यन्त दुःखद् भएको उल्लेख गर्दै यसबारेमा यथार्थ जानकारी लिने पीडित परिवारलाई विश्वास दिलाउनुभयो । उहाँले पीडितका पक्षमा सरकार रहने स्पष्ट गर्नुभयो । भेटका अवसरमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेल, प्रदेशसभा सदस्य कुमारी मोक्तान, संविधानसभा सदस्य सुवास ठकुरी, नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्धशरण लामालगायत सहभागी हुनुहुन्थ्यो ।
काठमाडौं: बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र रहेको नेपाल औषधि लिमिटेडले जनाएको छ । लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरुले सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित उत्पादन पनि भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले नियमित उत्पादन गरिरहेका छौँ । दैनिक दुई सिफ्टमा काम भइरहेको छ । सिटामोलसँगै जीवनजललगायत अन्य औषधि पनि उत्पादन भइरहेको छ ।” उहाँका अनुसार दैनिक तीन लाख सिटामोल उत्पादन भइरहेको छ । “डेङ्गीका बेला पनि सिटामोल पाइएन भन्ने सुनिएपछि सूचना निकालेका छौँ । हामीसँग जति खरिदका लागि आउनुभएको छ, दिएका छौँ । खरिद बिक्रीको अनुपात हेर्ने हो भने सन्तुलित छ”, प्रबन्ध निर्देशक पनेरुले भन्नुभयो । सिटामोलको अभाव रहेको भन्ने विभिन्न माध्यमबाट गुनासो आएकाले लिमिटेडले बिहीबार एक सूचना जारी गरी सोबारे ध्यानकर्षण गराएको थियो । खरिदका लागि सम्पर्क गर्नुहुने लिमिटेडका सबै भण्डारणकर्ता, सरकारी अस्पताल तथा तीनै तहका सरकार मातहतका स्वास्थ्य आपूर्ति व्यवस्थापन निकायलाई मागअनुसारको परिमाणमा सिटामोलको तत्काल आपूर्ति गर्दै आइरहेको सूचनामा उल्लेख छ । लिमिटेडले पछिल्लो समय बढिरहेको डेङ्गीको सङ्क्रमणलाई लक्षित गर्दै सर्वसाधारणका लागि सिटामोल सहज रुपमा उपलब्ध गराउने उद्देश्यले काठमाडौँ, बबरमहलस्थित बिक्री महाशाखाको काउन्टरबाट जोकोहीले आवश्यकता अनुसारको खरिद गर्नसक्ने व्यवस्था मिलाएको छ । उक्त काउन्टरबाट बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सिटामोल खरिद गर्नसक्ने लिमिटेडले जनाएको हो ।
काठमाडौं: पूर्वी लेबनानमा भएको इजरायली आक्रमणमा तीन जना पत्रकारको मृत्यु हुनुका साथै बेरुतको दक्षिणी उपनगरका भवनहरूमा भौतिक क्षति भएको लेबनानको राष्ट्रिय सञ्चार माध्यामले शुक्रबार जनाएको छ । लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले हसबायामा भएको उक्त घटनाको रिपोर्ट गरेको थियो । रिर्पोटका अनुसार इजरायलले सिरियाली सीमा नजिकै शुक्रबार बिहान ३ः३० मा आक्रमण गरेको थियो । एनएनएका अनुसार बेरुतको दक्षिणी चौइफत अल–अमरोसिह क्षेत्रमा, इजरायली हामलाले “दुई वटा भवनहरू क्षतिग्रस्त बनाएको थियो । सेन्ट थेरेस क्षेत्रलाई लक्षित गरी गरिएको आक्रमणमा संवैधानिक परिषद् नजिकैका दुईवटा भवनहरूसमेत ढलेको जनाएइको छ । इजरायली सेनाका अरबी भाषाका प्रवक्ता अविचे अद्राईले सामाजिक सञ्जाल एक्स मार्फत निकासी चेतावनी जारी गरे पछि बेरुतको दक्षिणमा आक्रमण भएको एनएनएले रिपोर्ट गरेको छ । एएफपिटिभीको फुटेजमा आक्रमणपछि बेरुतको दक्षिणबाट धुवाँको मुस्लो उठेको देखाइएको छ । केही समय अघि दक्षिण बेरुतको चौइफत क्षेत्रमा नयाँ आक्रमण सुरु गरेको इजरायलले , विस्तारै हारेत ह्रीक र हदथलाई पनि लक्षित गरी आक्रमया सुरु गरेको छ । बुधबारको इजरायली आक्रमणले दक्षिण बेरुतमा छ वटा भवनहरू क्षेतिग्रस्त राष्ट्रिय सञ्चार माध्याम तथा र एएफपी फुटेजले देखाएको थियो भने इजरायली सेनाले हिजबुल्लाह हतियार उत्पादन केन्द्र भित्र आक्रमण गरेको जनाएको छ । सेप्टेम्बर–२३ मा, इजरायलले लेबनानमा तीव्र आक्रमण सुरु गरे पछि गाजा युद्धलाई लिएर इरान समर्थित हिजबुल्लाहसँग सीमापार झडपपछि स्थलगत आक्रमणको घोषणा गरेको छ । पत्रकार संरक्षण समितिले सन् २०२३ अक्टोबरमा इजरायल–हमास युद्ध सुरु भएदेखि गाजा, वेस्ट ब्याङ्क, इजरायल र लेबनानमा कम्तिमा १२८ पत्रकारहरुको मृत्यु भएको जनाएको छ ।
काठमाडौं: डेङ्गी सङ्क्रमण फैलन नदिन देशभर सरसफाइ अभियान सञ्चालन गर्ने सरकारको निर्णय अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का मातहतका कर्मचारीका साथ मन्त्रालय परिसरको सरसफाइमा सहभागी हुनुभएको छ । बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले आज बिहान १० बजेदेखि देशभरका सबै सरकारी कार्यालय परिसरमा सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । यसअघि प्रत्येक शुक्रबार मन्त्रालय परिसरमा सरसफाइ अभियान सञ्चालन गरिसक्नुभएका मन्त्री खड्काले आज पनि उक्त कार्यलाई निरन्तरता दिँदै कर्मचारीलाई हौसलासमेत प्रदान गर्नुभयो । सरसफाइ अभियानका क्रममा मन्त्री खड्काले मन्त्रालय र मन्त्रालयअन्तर्गतका सबै कार्यालयलाई सफा राख्न सम्बन्धित कार्यालय प्रमुख तथा कर्मचारीलाई आग्रह गर्नुभयो । उहाँले सरसफाइ अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै स्वस्थ हुन सरसफाइले विशेष महत्व दिने भएकाले यसप्रति सबै सचेत हुनुपर्ने बताउनुभयो । “भोलिका दिनमा मन्त्रालय स्वच्छ र सफा भएको अनुभूति आम सेवाग्राहीले महसुस गर्न पाउनुपर्छ”, मन्त्री खड्काले भन्नुभयो । मन्त्रालयका उपसचिवसमेत रहनुभएका मन्त्री खड्काका निजी सचिव मनोज पन्थले मन्त्रीको नेतृत्वमा भएको सरसफाइले सबै कर्मचारीलाई हौसला प्रदान गरेको बताउँदै आगामी दिनमा पनि यसले निरन्तरता पाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पोखरा: पोखरेली जेठोबुढो धान संरक्षण तथा प्रवद्र्धनमा किसानसँगै कृषिसम्बन्धी निकाय पनि निकाय जुटेका छन् । पोखराको परिचय बनेको लोपोन्मुख जेठोबुढोको उत्पादन र बजारीकरणमा पोखरा महानगरपालिका लागिपरेको छ । जेठोबुढो रोप्ने किसानलाई बिउ अनुदान तथा प्रोत्साहनका अन्य कार्यक्रम सञ्चालन गर्दै आएको महानगरले खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग कृषि उपज खरिद गरेको छ । यसले जेठोबुढो बिक्रीको बाटो खुलेको छ । सम्झौताअनुसार महानगर क्षेत्रका किसानले उत्पादन गरेको धान खाद्य कम्पनीले खरिद गर्नेछ । जेठोबुढो न्यूनतम समर्थत मूल्य प्रतिक्विन्टल रु। नौ हजार पाँच सय तोकिएको महानगरको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुभयो । आगामी असार मसान्तसम्म उक्त कम्पनीले जेठोबुढोसँगै अन्य स्थानीय उपज पनि खरिद गर्नेछ । किसानले आफूले चोहेको समय र तोकिएको मूल्यमा कम्पनीलाई जेठोबुढो बेच्न सक्नेछन् । यसअघि पनि महानगरले जेठोबुढोको ‘प्याकेजिङ, ब्राण्डिङ’का साथ बजारीकरण गरेको थियो । महानगरले जेठोबुढोसहित अन्य ३५ प्रकारका कृषि उपजहरुको समर्थन मूल्य तोकेर महानगरभित्रका किसानलाई न्यूनतम मुनाफासमेत मूल्य सुनिश्चित गरेको छ । महानगरले २०७६ सालदेखि पाँच रोपनीभन्दा बढी क्षेत्रफलमा जेठोबुढो धान खेती गर्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ । वार्षिक दस टनसम्म उत्पादन गर्ने किसानलाई ५० प्रतिशत अनुदानमा जेठोबुढोको उन्नत बिउ प्रदान गर्दै आएको छ । कृषि महाशाखाका अनुसार पोखरामा ११ हजार दुई सय हेक्टरमा धान बाली लगाउने गरिएकामा ४० प्रतिशत हिस्सा जेठोबुढोले ओगटेको छ । “उब्जनीका हिसाबले अरु वर्णशङ्कर जातभन्दा जेठोबुढो कम फल्छ तर यसको मूल्य धेरै पर्छ, बजारीकरणको सुनिश्चितता भइसकेको अवस्थामा किसानले जेठोबुढाको खेती गर्दा बढी फाइदा छ”, महाशाखा प्रमुख कडरियाले भन्नुभयो ।
गलेश्वर: गत आइतबार साँझ परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको गौश्वारा र तमानेमा तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट भएको छ । स्थानीय जनप्रतिनिधि र कृषि प्राविधिकको टोलीले तीन दिन लगाएर गरेको मूल्याङ्कनअनुसार सबैभन्दा बढी क्षति गौश्वारा र तमानेमा भएको पाइएको हो । टोलीले बिहीबार साँझ क्षतिको विवरण सार्वजनिक गरेको हो । बेनी–२ का वडासदस्य चन्द्रकान्त रिजालले दिएको जानकारीअनुसार असिनापानीले खेतमा पाक्नै लागेको धान र कोदोमा क्षति पु¥याएको छ । असिनापानीले धान बालीमा क्षति भएपछि कृषि प्राविधिकसहित जनप्रतिनिधिको टोली क्षतिको विवरण सङ्कलन गर्न खेतमा पुगेका थियो । असिनापानीले सबैभन्दा बढी क्षति ज्यामरुककोटको गौश्वारामा भएको बेनी–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । “गौश्वारामा गरिएको धानखेतीमा असिना पानीले ८० प्रतिशतसम्म दाना झारेको पाइएको छ, अधिकांश ठाउमा धानको दाना झरेर पराल मात्र बाँकी रहेको भेटिएको छ । किसान अहिले दाना झरेर बाँकी रहेको पराल काटिरहेका छन् । पीडित किसानलाई क्षतिपूर्ति वा राहतका लागि सम्बन्धित निकायमा अनुरोध गर्नेछौँ”, उहाँले भन्नुभयो । असिनापानीले जिल्लाको बेनी–२ ज्यामरुककोटको सानालेख, गौश्वारा, तमाने, फापरखेत, खबरा, बगरफाँट, वडा नं ३ भकिम्लीको तोराखेत, वडा नं १ को अर्जम, रत्नेचौरलगायत ठाउँमा काटेर खेतमा सुकाएको र काट्न बाँकी रहेको धानमा क्षति भएपछि किसान चिन्तित बनेका बेनी–२ का वडासदस्य रिजालले बताउनुभयो । उहाँका अनुसार असिनासहितको वर्षाले झाँट्नका लागि ठिक्क पारेको धान खेतमा नै झारिदिएको छ । त्यसैगरी नकाटेको धानका बोट ढालेको छ । दाना सबै झरेर पराल मात्र बाँकी रहेको स्थानीय किसान शन्तबहादुर नेपालीले बताउनुभयो । भित्र्याउने समयमा पानीले क्षति पु¥याइदिएपछि किसानहरु चिन्तित भएको बेनी नगरपालिका–२ सानालेखका नारायण शर्माले बताउनुभयो । “धानकोे एउटा बोट पनि ठाडो छैन, खेतैभरि पानी भरिएको छ”, उहाँले भन्नुभयो, “एक दुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिएपछि अब वर्षभरि के खाने हो ?” जिल्लाको ज्यामरुककोट, खबरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, अर्मनलगायत स्थानमा लगाएको बालीमा क्षति भएको हो । कृषि ज्ञान केन्द्र कार्यालय प्रमुख सञ्जीव वास्तोलाले जिल्लाका स्थानीय तहहरूले क्षतिका विवरणहरू सङ्कलन गर्ने काम गरिरहेकाले एकीकृत तथ्याङ्क कार्यालयमा नआइपुगेको बताउनुभयो ।