काठमाडौं:  नेपालले एसिसी मेन्स यु–१६ इस्ट जोन कपको उपाधिका लागि सिंगापुरसँग खेल्ने भएको छ । आज भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेट पराजित गरि सिंगापुरले नेपालसँगको उपाधि भिडन्त पक्का ...

नवलपरासी:     पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले स्वास्थ्यकर्मीसहित टोली ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर उपचार सेवा दिन थालेको छ ।  स्वास्थ्यकर्मीसहितको टोलीले ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर प्राथमिक उपचारसहित पौष्टिक आहार उपलब्ध गराउँदै आएको  नगरप्रमुख शम्भुलाल श्रेष्ठ जानकारी दिनुभयो ।    “वयोवृद्ध नागरिक सामान्य जाँचका लागि अस्पताल जान वा पु¥याउन पनि असहज हुन्छ सोही कुरालाई ध्यानमा राखेर हामी घरदैलोमै पुगेका हौँ” उहाँले भन्नुभयो । सेवा पाएपछि ज्येष्ठ नागरिकहरू हर्सित बनेका छन् ।    वयोवृद्ध ज्येष्ठ नागरिकलाई घरदैलोमा पुगेर स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने नगरपालिकाको कार्यक्रम अनुसार प्रत्येक तीन तीन महिनामा यस्तो उपचार सेवालाई निरन्तरता दिने नगरपालिकाको योजना छ  ।

काठमाडौं:    नवरात्रको दोस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिएको छ ।        नवरात्रको पहिलो दिन बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो ।  त्यसैदिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको छ ।        नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त धार्मिक विश्वास छ ।  यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।         संसारका मुमुक्षु प्राणीलाई सच्चिदाननद रुप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गा मध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ ।        नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । राजधानीका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, कालिकास्थान, भद्रकाली, शोभाभगवती, बिजेश्वरी, रक्तकाली, श्वेतकाली, नरदेवी, चामुण्डमाई, सुन्दरीमाई, बज्रयोगिनीलगायत शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।       यसैगरी काठमाडौँ उपत्यका बाहिरका शक्तिपीठमा पनि भक्तजनको घुइँचो लागेको जनाइएको छ । नवरात्रका अवसरमा शक्तिपीठ एवं देवी मन्दिरमा पूजा, आराधना गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

मनाङ:     असोज महिनासँगै मनाङमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपलहल बढेको छ । गत मङ्गलबार मात्रै दुई सय ८६ पर्यटक मनाङ प्रवेश गरे ।      एकैदिन उक्त सङ्ख्यामा पर्यटक प्रवेश हालसम्मकै धेरै हो । बुधबार एक सय ४० पर्यटक मनाङ प्रवेश गरेको पर्यटक सूचना केन्द्र धारापानीका कर्मचारी भूपेन्द्र गुरुङले जानकारी दिनुभयो । असोज महिना घुम्न र पदयात्राका लागि उत्तम मानिन्छ ।       गत भदौमा विभिन्न ७४ देशका दुई हजार सात सय ६५ पर्यटक मनाङ घुम्न आएको पर्यटक सूचना केन्द्र धारापानीको तथ्याङ्कमा उल्लेख छ । केन्द्रको तथ्याङ्कअनुसार सबैभन्दा धेरै इजरायलका पाँच सय ९७ पर्यटकले मनाङ भ्रमण गरेका थिए । सोही महिनामा मनाङ भ्रमण गर्ने सङ्ख्याका आधारमा दोस्रो स्थानमा चिनियाँ पर्यटक थिए । तीन सय २७ चिनियाँ पर्यटकले मनाङ भ्रमण गरेका थिए ।      पर्यटन व्यवसायी समितिका जिल्ला अध्यक्ष विनोद गुरुङले भन्नुभयो, “यो महिना पदयात्राका लागि उपयुक्त महिना हो । त्यसैले पर्यटकको आगमन बढेको छ ।” चामे गाउँपालिका–५ चामेका पर्यटन व्यवसायी उषा लामाले मौसम अनुकूल बन्दै गएपछि पर्यटकक्रम बढेको बताउनुभयो । “यसले हामीलाई उत्साहित बनाएको छ”, उहाँले भन्नुभयो ।       यस याममा मनाङ आउने पर्यटक घुम्नका लागि तिलिचो ताल पुग्ने गरेका छन् । उच्च हिमाली क्षेत्रको मौसम परिवर्तन भइरहने हुँदा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका संरक्षण कार्यालय मनाङले पर्यटकलाई सतर्क रहेर यात्रा तय गर्न आग्रह गरेको छ ।

काठमाडौं:    सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने विषयमा द्विपक्षीय सम्झौताको तयारी गरेको छ ।      कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दुई मुलुकबीच सम्झौताका लागि आवश्यक पत्र तयार गरी चिनियाँ सरकारलाई पत्राचार गरेको मन्त्रालयका सहप्रवक्ता डा तपेन्द्र बोहराले जानकारी दिनुभयो ।      मन्त्रालयले गृहकार्य पूरागरी तयार गरिएको ‘सम्झौतापत्र’ मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरिसकेको सो पत्र चीनलाई पठाइसकेको जनाएको छ । चीन सरकारले मिति तय गरेपछि दुई देशबीच निर्यातसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।  स्वीकृत सम्झौतापत्र प्रस्तावका रुपमा परराष्ट्र मन्त्रालयले कूटनीतिक माध्यमबाट चीनलाई पठाइसकेकाले चीनको जवाफ प्राप्त हुनासाथ औपचारिक रूपमा द्विपक्षीय सम्झौता हुने सहप्रवक्ता बोहराले बताउनुभयो ।       सहप्रवक्ता बोहराका अनुसार गत वर्ष असोजमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन भ्रमणका क्रममा गर्नुभएको सम्झौतामध्ये ‘कुक्ड बफेलो मिट’ चीन निर्यात गर्ने विषय पनि समावेश थियो । सम्झौतापश्चात् चीनको ‘जनरल एडमिनिस्ट्रेशन अफ कस्टम’ले नेपाललाई मासु उत्पादनमा जोखिम विश्लेषणसम्बन्धी कागजात पठाएको थियो ।      उक्त सहमतिलाई कार्यान्वयन तहमा लैजान मन्त्रालयले आवश्यक सम्झौतापत्र तयार पारेर चीन पठाएको हो । चीन भन्सारको सामान्य प्रशासन (जिएसिसी) ले मासुसहित १८ खाद्य वस्तु आयातसम्बन्धी नीतिनियम छ ।       जिएसिसीले मासु आयातका लागि भैँसी रोगमुक्त हुनुपर्ने, खाद्य, स्वच्छतासहित नेपाली हावापानीमा उत्पादन हुनुपर्ने, ३० महिना मुनिको भैँसी हुनुपर्ने, ‘बध’ गर्दा सरकारले तोकेको मापदण्ड पालना गरेको हुनुपर्नेलगायत नियम बनाएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार नियम पालना गरी नेपालले मासु निर्यात गर्नुपर्नेछ ।      मन्त्रालयले मासु निर्यात गर्न मधेस प्रदेश, बागमती प्रदेश र लुम्बनी प्रदेशका केही जिल्लालाई भैँसीको मासुका लागि पकेट क्षेत्र निर्धारण गरेको छ ।  मन्त्रालयले त्यस क्षेत्रमा मासुका लागि अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न पूर्वाधार विकास गर्ने तथा केही उद्यमीलाई भैँसीपालनको अनुमति प्रदान गरेको छ ।     उक्त सम्झौताअनुसार मासु निर्यात भएपछि चीनसँग व्यापारघाटा न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।

काठमाडौं:     स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा समान्य वृद्धि भएको छ ।  लगातार ओरालो लाग्दै आएको सुनको मूल्य आज तोलामा रु चार सयले वृद्धि भएको हो ।      नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ६० हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ६१ हजार तीन सय निर्धारण भएको छ ।      यस्तै, चाँदीको मूल्य प्रतितोला रु तीसले वृद्धि भएको छ ।  बिहीबार प्रतितोला रु एक हजार नौ सय ५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार नौ सय ८० निर्धारण भएको छ । 

सिन्धुपाल्चोक:    अविरल वर्षासँगैको बाढीले भोटेकोशीको लार्चास्थित ‘बेलिब्रिज’ बगाएपछि तातोपानी नाका सडक सम्पर्कबाट टुटेको छ ।       भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने कोदारी राजमार्गको लार्चामा बेलिब्रिज थियो । उक्त बेलिब्रिजले सीमा गाउँ लिपिङ जोडिएको थियोे । त्यही बेलिब्रिज भोटेकोशीले बगाएपछि सीमाक्षेत्रलाई राजधानीसँग जोड्ने सडक सम्पर्क टुटेको हो ।      पुल बगेपछि ठप्प बनेको तातोपानी नाका जाने सडकको लार्चामा तुइन र फड्के राखिएको छ । भोटेकोशी गाउँपालिका–२ का अध्यक्ष कुमार श्रेष्ठका अनुसार गाउँपालिकाको खर्चमा सडक डिभिजन र गाउँपालिकाको दुई एक्स्काभेटर र टिपर प्रयोग गरी ह्युम पाइप राखेर अस्थायी रुपमा खोला तार्ने संरचना निर्माण भइरहेको छ  ।       “तत्काललाई तुइनबाट आउजाउ भइरहेको छ, तुइन दीर्घकालीन नहुने र जोखिमपूर्ण भएकाले अस्थायी गाडी तार्ने फड्के हाल्ने काम अन्तिम चरणमा पुगेको छ”, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो । भोटेकोशीको प्रवाह अझै नघटेकाले उक्त काम सम्पन्न गर्न अझै दुई दिन बढी लाग्ने उहाँको भनाइ छ ।      लिपिङ खोला उर्लिँदा लिपिङ र कोदारी जोड्ने पुलको भाग ध्वस्त पारेको छ । राजमार्गको क्षतिग्रस्त खण्डमा मर्मत थालिएको छ । यसअघि गाउँपालिकासँग भएका पुरानो तुइन अहिले प्रयोगमा ल्याइएको र बाँस, फलामे पोल राखेर फड्के बनाइएको हो ।

धुलिखेल:    नमोबुद्ध नगरपालिका–५ ल्हासकोटका धनकुमार लामाले अविरल वर्षाका कारण गएको बाढीपहिरोले बाटो टुटेपछि पसलमा भएको सामान सबै रित्तिसकेको बताउनुभयो । दसैँ पर्व नजिकिँदै गर्दा घरमा खानालाउनसमेत समस्या रहेका नागरिकका लागि तत्काल बाटो खुलाएमा सहजता हुने उहाँको अपेक्षा थियो । रोशी गाउँपालिका–७ थान्सिङबेँसीस्थित अमरनाथ प्राविका शिक्षिका अनिता गौतमले तत्कालको समस्या बाटो, खाद्यान्न र सञ्चार भएकाले राज्यले त्यसमा पहिला ध्यान पुर्याउन आवश्यक रहेको बताउनुभयो ।  बाटो नै नभएपछि नागरिक खाद्यान्न र राहतलगायतका समस्यामा रहेको उहाँले सुनाउनुभयो । रोशी गाउँपालिका–७ कै अर्का स्थानीय लोकनाथ गौतमले बाढीपहिरोबाट बढी क्षति हुनुको कारण खानी तथा क्रसर भएको भन्दै अबका दिनमा राज्यले अवैध उद्योगलाई नियमन गर्नुपर्ने बताउनुभयो । असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण गएको बाढीपहिराले गाउँबस्तीदेखि सडक, पुल र विद्युत्को पोल ढालेपछि अहिले यातायात, विद्युत् र सञ्चार सेवा टुटेको छ ।  विपद्मा परेर धेरैले ज्यान गुमाउनेदेखि घाइते भएर धेरै मानिस अस्पतालमा उपचाररत छन् । सडकमा यात्रा गरेका यात्री बीच बाटोमा अलपत्र परेर गन्तव्यमा पुग्न अहिले पनि भोकभोकै कठिन यात्रा गर्दैछन् । बाढीपहिराका कारण यहाँका नागरिक जीवन कष्टकर बन्दै गएको छ । त्यस्तै कष्टकर जीवन जिउन बाध्य हुनेमा रोशीखोला आसपासका धेरै नागरिक छन् । यहाँका पसलमा उपलब्ध चाउचाउ र बिस्कुट पनि किन्न सक्ने अवस्था छैन ।  त्यसो त पसलेले नयाँ सामान ढुवानी गरेर बेच्न सक्ने अवस्था पनि छैन । रोशीमा गएको बाढीपहिराले बिपी राजमार्गका विभिन्न खण्डमा क्षति पुर्याएपछि दैनिक हजारौँको सङ्ख्यामा गुड्ने सवारीसाधन अहिले ठप्प छ । राजमार्गका दर्जनौँ ठाउँमा बाढीले कटान गरी क्षति पुर्याएको छभने अधिकांश ठाउँमा पुरिएको अवस्था छ । बिपी राजमार्ग अहिले सुनसान छ । राजमार्गमात्र सुनसान छैन, त्यस आसपासका बस्तीमा समेत सुनसान छाएको छ । बाढीपहिराले सडक, विद्युत्को पोल, खानेपानी पाइपलगायत भौतिक संरचना ध्वस्त बनाएपछि अहिले सो क्षेत्रका नागरिकलाई खाद्यान्न, बिजुली, सञ्चार र स्वास्थ्योपचारमा समस्या परेको छ । त्यस्तै बाढीले रोशीखोला आसपासमा रहेका सयौँ रोपनी खेतीयोग्य जमिनसँगै लगाएको बालीसमेत बगाएको छ । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बाढीपहिरोका कारण बाटो, विद्युत् र सञ्चार टुटेकाले समुदाय र पालिकाबीचको सम्बन्ध नै टुटेको अवस्था रहेको बताउनुभयो ।  यस्तो अवस्थाकै बीचमा पनि पहिलो प्राथमिकता खोज तथा उद्धारमा दिएको र सँगसँगै अवरुद्ध बाटो खुलाउनेदेखि राहत तथा स्वास्थ्योपचारमा केन्द्रित भएर काम गरिरहेको उहाँले बताउनुभयो ।  पूर्व जाने छोटो दूरीको राजमार्गलाई दसैँ अगाडि नै खुलाउनेगरी वैकल्पिक मार्ग निर्माणको कामलाई अगाडि बढाएको उहाँले बताउनुभयो । एकातिर विपद्मा परी नागरिक घाइते र पीडामा छन् भने अर्कातिर खाद्यान्न अभाव र बिरामी परेका नागरिकले समयमा नै उपचार नपाएर आक्रान्त बनेका छन् । सडक डिभिजन कार्यालय भक्तपुरका कर्मचारी चन्द्रबहादुर लामाले सडक खुलाउन निरन्तर आफूहरू स्काभेटरलगायत उपकरणसहित अस्थायी रूपमा वैकल्पिक बाटो बनाउने क्रममा रहेको बताउनुभयो ।  अहिले बिपी राजमार्गको काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका चौकीडाँडाबाट रोशी गाउँपालिका–१२ को बर्खिखोला सिन्धुलीको सिमानासम्मको करिब २० किलोमिटर सडकका विभिन्न स्थानमा अस्थायी वैकल्पिक मार्ग निर्माण गर्न हेलिकप्टरमा इन्धन ढुवानी गरी काम गरिरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । पछिल्ला तीन दिनमा मङ्गलटारबाट बुलढुङ्गासम्म चार किलोमिटर बाटो बनिसकेको जनाइएको छ । सडक, विद्युत् र सञ्चार सम्पर्क टुटेको जिल्लाका विकट क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिका र खानीखोला गाउँपालिका तथा कोशीपारिको भुम्लु र चौँरीदेउराली गाउँपालिकाले क्षति पुगेको सडकखण्ड मर्मत गरी सवारीसाधन सञ्चालनका लागि काम अगाडि बढाएको छ ।  महाभारत गाउँपालिकाको जनमुक्ति लोकमार्गको चारकिल्ला भूमिचुली–राजबास हुँदै बिपी राजमार्ग जोड्ने र चारकिल्ला गाउँपालिका केन्द्र देवीटार गोकुले खण्डसम्म खोल्ने प्रयास जारी रहेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो ।  खानीखोला गाउँपालिकाले पालिका केन्द्र तालढु्गाबाट जिल्ला सदरमुकाम जोड्ने सडकखण्डअन्तर्गत खोपासी–तालढुङ्गा सडक खुलाउने प्रयास भइरहेको अध्यक्ष इन्द्रबहादुर थिङले बताउनुभयो । बिपी राजमार्गको धुलिखेल–भकुण्डे–चौकीडाँडा र काभ्रेभञ्ज्याङ–फूलबारी–नमोबुद्ध–दाप्चा सडकखण्ड सञ्चालन भइसकेको उहाँले जानकारी दिनुभयो । काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घाइते र समस्यामा परेकाहरूको अझै उद्धारको काम जारी रहेको बताउनुभयो ।  त्यससँगै सर्वदलीय बैठक, सहयोगी निकायलगायतसँग बैठक बसी विभिन्न १० वटा क्लस्टर निर्माण गरी खानेपानी, स्वास्थ्य, खाद्यान्न, कृषि, बाटो, बिजुली, सञ्चारलगायत क्षेत्रमा काम गर्नका लागि आवश्यक निर्देशन दिइसकेकामा सोहीअनुसार काम अगाडि बढेको बताउनुभयो ।  जिल्लाका पनौती नगरपालिका, रोशी गाउँपालिका, तेमाल, बेथानचोक, चौँरीदेउराली गाउँपालिका र मण्डनदेउपुर नगरपालिका अतिप्रभावित क्षेत्र रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सिन्धुपाल्चोक:    जिल्ला सदरमुकाम चौतारामा २०७६ सालमा निर्माण प्रारम्भ भएको ‘मिनी’ रङ्गशाला अलपत्र परेको छ ।  निर्माण कम्पनीले ढिलासुस्तीले रु ४१ करोड ६२ लाखको परियोजना अलपत्र परको हो । तीन वर्षमा काम सम्पन्न गर्नेगरी गिरी कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको थियो । विभिन्न बहानामा रङ्गशालाको काम रोकिएको छ ।  यसैबीच, उक्त कम्पनीले अर्को निर्माण कम्पनीसँगको साझेदारीमा रङ्गशालाको ७० प्रतिशत काम सम्पन्न गरेको दाबी गरेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामकृष्ण दङ्गालले पनि कछुवा गतिमा काम भइरहेको बताउनुभयो ।  जिल्ला फुटबल स¬ङ्घका अध्यक्ष अमृतमान श्रेष्ठले रङ्गशाला नहुँदा छ वर्षसम्म जिल्लामा खेलकुदका गतिविधि ठप्प भएका तथा मैदानमा निर्माण सामग्री थुपारिएको कारण त्यो उपयोगविहीन भएको दुखेसो गर्नुभयो । 

काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा जोड दिनुभएको छ ।  माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित विपद् प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन बुझ्दै उहाँले आफूले पहिलोपटक प्रधानमन्त्री भएदेखि व्यवस्थित बस्ती विकास र पूर्वाधार निर्माणमा जोड दिँदै आएको बताउनुभयो । पहाडी क्षेत्रमा पहिरो र तराई तथा सहरी क्षेत्रमा बाढी र  डुबानको सबैभन्दा बढी जोखिम अव्यवस्थित बस्ती र पूर्वाधारकै कारण देखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले बाढीपहिरो, डुबान, भूकम्पलगायत विपद्बाट बच्न भौगर्भिक अध्ययनका आधारमा मात्र बस्ती विकास र पूर्वाधार निर्माण गर्न उपयुक्त हुने बताउनुभयो ।  त्यसका लागि पार्टीको विपद् व्यवस्थापन विभागको पहलमा विज्ञहरूले तयार पारेको प्रतिवेदन महत्त्वपूर्ण भएको उल्लेख गर्दै उहाँले यसका आधारमा सरकारसमक्ष ज्ञापनपत्र पेस गरिने बताउनुभयो । वैज्ञानिक बस्ती विकास र पूर्वाधार निर्माणसँगै विपद् व्यवस्थापनका लागि पनि गतिलो समीक्षा गरेर प्रतिकार्यका योजना बनाउनुपर्ने उहाँले बताउनुभयो ।  मौसमको पूर्वानुमान हुँदाहुँदै पनि राज्यसंयन्त्रको केन्द्र राजधानीमा समेत तत्काल उद्धार गर्न नसक्नुको कारण खोजी गरेर आगामी दिनमा यस्तो अवस्था आउन नदिन सरकार योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।  अध्यक्ष दाहालले उद्धारमात्र होइन, राहत र पुनःस्थापनामा पनि अपेक्षित काम हुन नसकेको उल्लेख गर्दै सबै संयन्त्रहरू कसरी प्रभावकारी रूपमा परिचालन गर्ने भनेर सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । माओवादी केन्द्रका विपद् व्यवस्थापन विभाग प्रमुख सूर्य सुवेदीले बाढीपहिरा प्रभावित क्षेत्रमा विज्ञहरूसहितको टोलीले गरेको अध्ययन, समस्याको पहिचान र समाधानका उपाय प्रतिवेदनमा समेटिएको जानकारी दिनुभयो ।  विभागका प्रमुख सुवेदी, प्रचार विभाग सचिव गोविन्द आचार्यसहितको टोलीले अध्यक्ष दाहाललाई प्रतिवेदन हस्तान्तरण गरेको हो ।