पोखरा सभागृहमा चैत २२ गते शुक्रबार पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ हुँदैछ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा आउँदो शुक्रबार दिउँसो ३ बजेदेखि वरिष्ठ लोकदोहोरी गायक तथा सर्जक पुरुषोत्तम न्यौपानेको सांगीतिक साँझ हुन लागेको हो । आयोजक प्रतिष्ठानले बुधबार पत्रकार सम्मेलन गर्दै उक्त साँझमा पुरुषोत्तमका १८ गीत प्रस्तुत हुने जनाएको छ । सांगीतिक साँझमा पुरुषोत्तम न्यौपानेको जीवनीमा तयार पारिएको वृत्तचित्र पनि प्रदर्शन गरिने प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरले जानकारी दिइन् । सांगीतिक साँझमा प्रवेशका लागि निशुल्क राखिएको अध्यक्ष मगरले बताइन् । पुरुषोत्तमका सररर पानीघट्टामा, ऐना हेरेर, रुन्छनी मन किन रुदैन जस्ता धेरै गीत चर्चित छन् । २०२९ सालमा स्याङजामा जन्मिएका न्यौपाने नेपाली लोक दोहोरी क्षेत्रमा एउटा गर्विलो ईतिहास कोर्न सफल भएका छन् । झण्डै साढे तीन दशकदेखि निरन्तर नेपाली लोकसंगीतमा रहेका न्यौपानका करिब हजार भन्दा बढी गीतहरु रेकर्डिङ छन् । पुरुषोत्तमले २०४६ सालमा बलाम देबीथान बोलको गीत गाएर सांगीतिक यात्रा प्रारम्भ गरेका थिए । स्वदेशका प्राय: सबै जिल्लादेखि थुप्रै विदेशका भूमिहरुमा समेत पुगेर दर्शकलाई मन्त्रमुग्ध पारिसकेका न्यौपानेले थुप्रै सम्मान, पुरस्कार र अवार्ड जितिसकेका छन् । उनले लोकगीतमा लगातार तीनपटक म्युजिक नेपाल अवार्ड पनि हात पारेका थिए । प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका न्यौपाने अहिले रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखरामा कार्यक्रम अधिकृतको रुपमा कार्यरत छन् । कर्मथलो पोखरा र जन्मघर स्याङ्जा भएकाले पनि सांगीतीक साँझ पोखरामा गर्न लागिएको गायक पुरुषोत्तमले बताए । जन्मघरबाट आउन पायक हुने र सम्बन्ध अल्ली बढी भएकाले पोखरा रोजिएको उनको भनाइ छ । अग्रजलाई सम्मान र नवप्रतिभालाई प्रोत्साहन भन्ने नाराका साथ अघि बढेको प्रतिष्ठानले गत वर्ष ‘नारायण रायमाझी सांगीतिक साँझ २०८०’ आयोजना गरेको थियो । वर्षेनी एक प्रतिष्ठित लोकदोहोरी कलाकारलाई प्रस्तुत गर्ने प्रतिष्ठानको योजनाअनुसार कार्यक्रम गर्न लागिएको प्रतिष्ठानकी अध्यक्ष मगरले बताइन् । लोक सङ्गीतको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने उद्देश्यले विस २०५८ सालमा स्थापना भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल लोकगीत, सङ्गीत र लोककलाको क्षेत्रमा क्रियाशील हुँदै आएको छ । अहिले प्रतिष्ठानको ७ प्रदेश समिति, १ काठमाडौं उपत्यका समन्वय समिति, ७७ जिल्लास्तरिय समिति तथा १० वटा देशमा आफ्ना शाखा समिति छन् ।
पोखरा: कास्कीको पर्यटकीय गाउँ ल्वाङमा ऐतिहासिक ३१ औं चैत्र दशैं मेला आयोजना हुने भएको छ । स्थानीय ग्रिनहिल युवा क्लबले कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ मा ‘चैत्र दशैं मेलाको निकाश, पर्यटन संस्कृति र ग्रामिण पर्यटनको विकास’ भन्ने नारासहित मेला आयोजना हुने भएको हो । क्लबका अध्यक्ष सुजन गुरुङका अनुसार उक्त मेला यही २४ गतेदेखि २७ गतेसम्म ल्वाङगाउँको खेलमैदानमा सञ्चालन हुनेछ । सो मेलामा मुख्य आकर्षणको रुपमा क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता समावेश गरिएको अध्यक्ष गुरुङले बताए । पुरुष भलिबलतर्फको विजेता टिमलाई नगद १ लाख १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष गुरुङले बताए । यस्तैे उपविजेता टिमलाई नगद रु ६० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । तृतीय स्थान हाँसिल गर्ने टिमले नगद रु २० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । भने, सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु १० हजारले पुरस्कृत गरिनेछ । यसैगरी महिलातर्फ प्रथम हुने टिमलाई नगद रु २० हजार, द्वित्तियलाई १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणत्र प्रदान गरिने खेल संयोजक अनोद गुरुङले बताए । प्रतियोगितामा सहभागिता जनाउनका लागि फोनमार्फत पनि –९८०६६२५९८६, ९८१४११७२७७, ९८२७१६००३३, ९८४६५२८०२९ र ९७०८२४८०९२) टिम दर्ता गराउन सकिने क्लबका सचिव निरोज गुरुङले जानकारी दिए । उनका अनुसार सो मेलामा छेलो हान्ने, रस्साकस्सी, म्युजिकल चियर,बेलुन फुटाउने प्रतियोगिता, विविध साँस्कृतिक कार्यक्रम, लाइभ कन्र्सट, ख्यातीप्राप्त लोक तथा दोहोरी कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ ।
नेपालगञ्ज: सामाजिक सञ्जालको प्रयोग गरी फिरौती उठाएको आरोपमा प्रहरीले बाँकेको कोहलपुरबाट एकजना युवकलाई पक्राउ गरेको छ। सुर्खेतको भेरीगङ्गा नगरपालिका–७ काठेघारी बस्ने ४१ वर्षीय रामबहादुर बिसी (बुढाक्षेत्री) लाई फिरौती माग गर्नुका साथै ठगीलगायत विभिन्न अरोपका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए। कोहलपुर–५ मा डेरा गरी बस्दै आएका बिसी भारतीय ग्याङस्टारका नाइके लरेन्स विश्नोई र अनमोल विश्नोईको नाम लिँदै फिरौती माग गरेको, ठगीलगायत आरोपका आधारमा निजलाई पक्राउ गरिएको उनले बताए। विश्नोईको नाम लिँदै पाँच करोड भारु अर्थात् रु आठ करोड फिरौती माग गरेको पाइएको प्रनाउ भण्डारीले जानकारी दिए। सामाजिक सञ्जाल ह्वाट्सएप प्रयोग गरी बिसीले फिरौती माग गरेको जानकारी दिँदै प्रनाउ भण्डारीले विदेशी नम्बरको ह्वाट्सएपबाट फोन गरेर धम्क्याउनेसमेत गरेको उल्लेख गरे। “निजविरुद्ध इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट विसं २०६१ साउन २७ मा जीउ मास्ने, बेच्ने उद्योगको कसुरमा मुद्दा चलेको थियो। त्यतिबेला एक नेपाली युवतीलाई ललाइँफकाइ विवाह गर्छु भन्दै काँकडभिट्टाबाट भारत लगेको आरोप छ”, उनले भने। विसं २०६२ चैत ८ मा सर्वसाधारणलाई धम्की दिँदै चन्दा असुली गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाबाट बिसीविरुद्ध मुद्दा चलेको थियो। यसको दुई वर्षपछि फिरौती रकम असुलेको आरोपमा काठमाडौँबाटै निजविरुद्ध मुद्दा चलेको प्रहरीले जनाएको छ।
पोखरा: कास्कीको पर्यटकीय गाउँ ताङतिङमा आयोजना हुने ३१ औं चैत्र मेला, विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । ताङतिङ क्लबको आयोजनामा यही २२ गतेदेखि २६ गतेसम्म मादी गाउँपालिका २ ताङतिङमा हुने मेलाको तयारी तिब्र पारिएको क्लबका अध्यक्ष हिमाल गुरुङले जानकारी दिए । उनका अनुसार उक्त मेलामा मुख्य आकर्षणको रुपमा खुला पुरुष भलिबल तथा बास्केटबल प्रतियोगिता समावेश गरिएको छ । यस्तै पुरुष तथा महिला छेलो हान्ने प्रतियोगिता, पुरुष दौड प्रतियोगिताको आयोजना गरिनेछ । खुला भलिबल तथा बास्केटबलतर्फको विजेता टिमलाई नगद रु १ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष गुरुङले बताए । यस्तै दुवै प्रतियोगिताको उपविजेता टिमलाई नगद रु ७० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । उनका अनुसार पुरुष दौडतर्फ प्रथमलाई ४० हजार, द्वित्तियलाई ३० हजार, तृतीयलाई २० हजार, चौथो हुनेलाई १० हजार, पाँचौ, छैटौं र सातौ हुनेलाई क्रमश ८ हजार, ६ हजार र ५ हजार रुपैयाँले पुरस्कृत गरिनेछ । पुरुष छेलो हान्ने प्रतियोगिताको विजयीलाई २५ हजार नगद, उपविजयी बन्नेलाई १५ हजार प्रदान गरिने उनले बताए । यस्तै महिलातर्फको विजेतालाई १० हजार र उपविजयी बन्नेलाई ५ हजार प्रदान गरिनेछ । पुरुष डोरी तान्नेतर्फ प्रथम हुने समूहलाई नगद रु ३० हजार र द्वित्तिय हुने समूहलाई २० हजार, ३५ वर्ष माथि उमेरसमूहतर्फको बास्केटबल प्रतियोगिताको विजेता टिमलाई २० हजार र उपविजेता टिमलाई १० हजार प्रदान गरिने क्लबका सचिव बिन गुरुङले जानकारी दिए । उक्त कार्यक्रममा लाइभ कन्सर्ट तथा ख्याती प्राप्त लोक तथा दोहोरी कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
गण्डकी प्रदेश सरकार मातहतका सबै अस्पतालको सेवा विस्तार र स्तरोन्नति गरिने भएको छ । अस्पताल स्तरोन्नतिबारे मन्त्रिस्तरीय निर्णय गरी आर्थिक मामिला र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निर्णायार्थ पठाइएको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले जानकारी दिए । “नागरिकलाई सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाहका लागि अस्पतालहरूको स्तरोन्नति आवश्यक देखिएपछि सोहीअनुसार काम गर्न लागिएको हो”, उनले भने, “मन्त्रिपरिषद्को निर्णयपछि स्तरोन्नतिको काम थप अगाडि बढ्ने छ ।” स्वास्थ्यमन्त्री पाठकका अनुसार प्रदेश अस्पताल मुस्ताङ र मनाङलाई १५ शय्याबाट २५ श्ययामा स्तरोन्नति गर्न लागिएको हो । पर्वत, स्याङ्जा र तनहुँको दमौली अस्पताललाई १५ बाट ५० श्ययामा स्तरोन्नति गरिने जनाउँदै उनले कास्कीस्थित २५ शय्या क्षमताको मातृशिशु मितेरी अस्पताललाई ५० श्ययामा पुर्याउने स्वास्थ्य मन्त्रालयको योजना रहेको उल्लेख गरे । बागलुङस्थित धौलागिरि प्रादेशिक अस्पताललाई ५० बाट एक सय श्ययामा र नवलपुरको मध्यविन्दु प्रादेशिक अस्पताललाई १५ बाट एक सय श्ययामा स्तरवृद्धि गर्न लागिएको स्वास्थ्यमन्त्री पाठकले जानकारी दिए । आगामी आर्थिक वर्षदेखि धवलागिरि र मध्यविन्दु प्रादेशिक अस्पतालमा प्राविधिक शिक्षा पढाउने गरी पूर्वाधार तयारीका लागि काममा जुटेको उनले बताए । एक सय शय्याको अस्पतालले मात्र प्राविधिक विषय पढाउन पाउने व्यवस्था रहेकाले सोही अनुसार अस्पतालको स्तरोन्नति गर्न लागिएको स्वास्थ्यमन्त्री पाठकको भनाइ छ । प्रदेश अस्पताल गोरखा, लमजुङ र म्याग्दी यसअघि नै ५० श्ययामा सञ्चालित छन् । प्रदेश सरकारले चालु आवमा गोरखाको आँपपीपल र बागलुङको बुर्तिबाङ अस्पताललाई आफू मातहत लिई सञ्चालन गरिरहेको छ । स्थानीय तहअन्तर्गत दुवै अस्पताललाई ५० श्ययामा स्तरवृद्धि गरी नयाँ व्यवस्थापनका साथ सञ्चालन गरिएको छ । यसअघि ढोरपाटन नगरपालिकामा रहेको बुर्तिबाङ अस्पताल प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा सञ्चालित थियो । आँपपीपल अस्पताल गोरखाको पालुङटार नगरपालिकाअन्तर्गत रहँदै आएको थियो । स्थानीय तहले बुर्तिबाङ र आँपपीपल अस्पताललाई प्रदेश सरकारले जिम्मा लिन आग्रह गरेपछि प्रदेश सरकारले आफू मातहत ल्याई सञ्चालन गरेको स्वास्थ्यमन्त्री पाठकले जानकारी दिए । प्रदेश मन्त्रिपरिषद्को प्रस्तावलाई संघीय मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि यी दुई अस्पताल प्रदेश सरकारअन्तर्गत आएका हुन् । यसै वर्ष कास्कीस्थित गण्डकी आयुर्वेद अस्पताल र बागलुङको धौलागिरि आयुर्वेद अस्पताललाई पनि अन्तरङ्ग सेवासहित २५ शय्याको सुविधायुक्त आयुर्वेद अस्पतालका रूपमा स्तरवृद्धि गरिएको थियो । स्वास्थ्यमन्त्री पाठकले स्तरोन्नतिको निर्णयपछि अस्पतालहरूमा मानव संशाधन, पूर्वाधार र उपकरणको प्रबन्ध व्यवस्थित रूपमा हुने बताए । उनका अनुसार अहिले स्वीकृत शय्याको सङ्ख्या तीन सय ९५ रहेकामा स्तरोन्नति हुँदा करिब सात सय पुग्ने छ । “अस्पतालहरूले अहिले नै आठ सयबढी शय्या सञ्चालन गरिरहेकामा नयाँ प्रस्तावअनुसार स्तरोन्नति हुँदा २१ शय्या सञ्चालनमा ल्याउन सकिन्छ”, मन्त्री पाठकले भने, “अहिले अस्पतालहरूको वार्षिक आम्दानी करिब रु ६६ करोड रहेकामा स्तरोन्नतिसहित अस्पताललाई व्यवस्थित गर्न सकिएमा तीन गुणाले आम्दानी बढ्ने मन्त्रालयको अनुमान छ ।” मन्त्रालयका अनुसार अस्पतालमा पाँच सय ६४ जनाको स्थायी दरबन्दी रहेकामा एक सय ८७ को पदपूर्ति हुन बाँकी छ । आठ सय बढी करार जनशक्तिसहित हाल ११ सय ३३ जना प्रदेश मातहतका अस्पतालमा कार्यरत रहेका मन्त्रालय जनाएको छ । अस्पतालहरू स्तरोन्नति हुँदा पदपूर्ति हुन बाँकीसहित कूल १२ सय ४४ को दरबन्दी व्यवस्थापन गर्नुपर्ने मन्त्री पाठकले बताए । “अहिले कार्यरत अस्थायी र करार जनशक्तिको उचित व्यवस्थापन गरेर अस्पतालमा गुणस्तरीय सेवा दिन सकिन्छ, स्तरोन्नति गर्दा प्रदेश सरकारलाई धेरै ठूलो व्ययभार पर्दैन”, उनले भने, “जनशक्ति र आन्तरिक खर्च व्यवस्थापनसहित अस्पताललाई आत्मनिर्भर बनाउनुपर्ने खाँचो छ, संघ सरकारको मात्र भर परेर हुँदैन, प्रदेश सरकारले आफ्ना अस्पतालहरूको विकासका लागि आफैँ योजना बनाउनुपर्छ ।” मन्त्रालयले जनस्वास्थ्य सेवासम्बन्धी विधेयक प्रदेशसभामा अगाडि बढाएकाले कानुन निर्माणपछि स्वास्थ्य क्षेत्र थप व्यवस्थित बन्ने स्वास्थ्यमन्त्री पाठकले विश्वास व्यक्त गरे ।
सुन्दा अनौठो लाग्न सक्छ, कास्कीको रुपातालको किनार (साविक रुपाकोट गाउँ पञ्चायत वडा नं ९) सिस्ठेनीमा लाग्ने मेला छ सय वर्षभन्दा पुरानो इतिहास, प्रकृति र संस्कृतिको साक्षी हो । प्रत्येक वर्षको चैते रामनवमीका अवसरमा पाँच दिनसम्म लाग्ने मेलालाई यस क्षेत्रको अति प्राचीन मेलाका रुपमा लिने गरिन्छ । अहिलेको जस्तो बढ्दो बजारीकरण र सरसामान किनमेलको सहजता नभएका अवस्थामा कास्की र आसपासका जिल्लाबाट सामान किनमेल गर्ने मेलाका रुपमा यसले चासो र चर्चा कमाएको स्थानीय समाजसेवी कुलप्रसाद अधिकारीले जानकारी दिए । सिस्ठेनी मेलाको इतिहास छ सय वर्षदेखि रहेको उल्लेख गर्दै उनले पछिल्ला समयमा यहाँस्थित रुपा युवा क्लबको सक्रियतामा यसलाई थप व्यवस्थित गर्दै लगिएको बताए । “विगतमा यो मेला सामान किनबेचका लागि मात्र नभई बिहेवारीका लागि पनि अभिभावक आएर केटाकेटी र परिवारका सम्बन्धमा बुझ्ने माध्यम पनि बनेको थियो”, उनले भने, “मेलामा कास्की आसपासका ठाउँबाट भद्रभलादमी समेत घोडा लिएर अवलोकन गर्न आउने र मेला अवधिभर यहाँ बसेर विभिन्न भेटघाट पनि गर्ने गर्दथे ।” मेलाका सल्लाहकार उपसमितिका संयोजक समेत रहेका अधिकारीका अनुुसार पछिल्लो समयमा स्थानीय रुपा युवा क्लबको सक्रियतामा सिस्ठेनी मेलालाई निरन्तरता दिन थालिएको छ । यस वर्ष पनि यही चैत २२ गतेदेखि वैशाख २ गतेसम्म ७ औँ रुपा सिस्ठेनी मेला आयोजना गरिएको उनले जानकारी दिए । यसअघि ४५÷४६ सालतिर मेलामा बर्सेनिझैँ झगडा हुन थालेपछि केही वर्ष रोकिएको मेलालाई क्लबको सक्रियतामा पुनः इतिहासको जगेर्ना गर्ने उद्देश्यका साथ व्यवस्थित गर्दै लगेको उनले जानकारी दिए । मेलामा स्थानीय उत्पादनको खरिद बिक्रीसँगै इतिहासको निरन्तरता स्वरुप अहिले पनि दैनिक रुपमा आवश्यक पर्ने कृषिजन्य उत्पादन, फलफूल, जडीबुटी, वनपैदावार एवं घरेलु सामग्रीको बिक्री वितरण हुने गरेको रुपा युवा क्लबका अध्यक्ष नमराज खड्का बताउँछन् । मेलामा परम्परागत रुपमा उपयोग हुँदै आएका कुटो, कोदालो, हलो, बञ्चरो, हँसिया, चुलेसी, करौती, भकारी, माटाको भाँडा, चोयाबाट बनेको नाङ्ग्लो, जाँतो, गुन्द्री, डोको–डाला, नाम्लो, दाम्लो, कम्मल राडीपाखी, लत्ताकपडा, ठेकी, मदानीलगायत घरेलु मसला आदि किनबेच गर्ने गरिएको छ । त्यस्तै हाम्रा गाउँघरमा दैनिक प्रयोग हुने कोदो, जौ, फापर, मकै, गुर्दी, जर्नेली, कागुनोजस्ता खाद्य तथा नगदेबालीहरूको साथमा बैद्यको आयुर्वेदिक औषधिको समेत तत्कालीन अवस्थामा बजारीकरणको सहजता नहुँदा किनबेच गर्ने थलोका रुपमा मेला स्थापित बनेको उनको भनाइ छ । उनका अनुसार तत्कालीन समयमा घरायासी सामानको बेचबिखनका लागि काठमार्डौ, ललितपुर, भक्तपुरका साथै छिमेकी लमजुङ, गोरखा, स्याङ्जा, पर्वत, चितवन आदि स्थानबाट सामान बेच्नका लागि मानिसहरू आउने गर्दथे । विसं २०३४÷२०३५ तिर यहाँ लाग्ने मेलाका लागि स्याउलाले छाएका व्यापारिक कक्ष एक मोहोर रुपैयाँमा बिक्री गरेको कुलप्रसाद अधिकारीको अनुभव छ । तत्कालीन समयमा यहाँ हुने छेलो, रस्साकस्सी प्रतियोगितासँगै रोधी, ठाडोभाका, कौडा नृत्य, लाखेनाच आदिमा सहभागिताका लागि पनि टाढाटाढाबाट मानिसहरू आउने गरेको बूढापाका बताउँछन् । छ शताब्दी पुरानो इतिहासको जगेर्नासँगै स्थानीय तथा स्वदेशी उत्पादनको प्रवद्र्धन एवं संस्कृतिलाई जीवन्त राख्नका लागि सिस्ठेनी मेलालाई निरन्तरता दिने कुरामा आफूहरू लागेको क्लबका निवर्तमान अध्यक्ष एवं मेलाका निर्देशक धीरजकुमार श्रेष्ठ बताउँछन् । “महोत्सवको माध्यमबाट आफ्नो स्थानीय पहिचान बनाउँदै मेलाका माध्यमबाट यस क्षेत्रको आर्थिक तथा सामाजिक उत्थान एवं स्थानीय तथा ग्रामीण उत्पादन, आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन, विभिन्न जातजातिको कला, धर्म र संस्कृतिको जगेर्ना गर्नुु नै हाम्रो उद्देश्य हो”, उनले भने । यस वर्षको मेलामा करिब १२० भन्दा बढी व्यापारिक कक्षहरू रहने प्रायोजक उपसमिति संयोजक वसन्त जोशीले जानकारी दिए । उनका अनुसार मेलाको मुख्य प्रायोजकमा साहारा इन्टरनेशनल फर्टिलिटि सेन्टर पोखरा रहेको छ भने सहप्रायोजकमा रुपा–६ जन्मस्थान भई हाल अमेरिकामा रहेका प्रकाश तिवारी रहेका छन् । ।
नेपाल र थाइल्याण्डबीच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा दुई देशका सरकारी पक्षबीच दुईवटा र गैरसरकारी पक्षबीच छवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा हस्ताक्षर समारोहअघि प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले द्विपक्षीय भेटवार्ता गरेका थिए । सो अवसरमा राजनीतिक तथा द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य, उड्डयन, पर्यटन तथा संस्कृति, विकास सहकार्य, तथा क्षेत्रीय र बहुपक्षीय मुद्दाका सम्बन्धमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए । दुवै देशका प्रधानमन्त्रीको समुपस्थितिमा सरकारी तवरबाट संस्कृति तथा पर्यटनका क्षेत्रमा दुईवटा समझदारी भएको छ भने गैरसरकारी क्षेत्रबीच विभिन्न छ वटा विषयका समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल सरकारको तर्फबाट परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र थाइल्याण्डका संस्कृतिमन्त्री सुडवान वाङसुफाकिज्कोसोलले सांस्कृतिक क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे । त्यस्तै परराष्ट्रमन्त्री डा देउवा र थाइल्याण्ड सरकारका पर्यटन तथा खेलकुदमन्त्री सोरावाङ तियनथोङले पर्यटन क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे । दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र थाइल्याण्डका गैरसरकारी क्षेत्रहरूबीच विभिन्न छवटा समझदारीपत्रमा हस्ताक्षर भएको छन् । यसमा नेपाल नेत्र ज्योति सङ्घ र थाइल्याण्डको महिदोल विश्वविद्यालयअन्तर्गतको रामाथिवोदी अस्पतालबीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्त र महिडोल युनिभर्सिटीका चिकित्सा सङ्काय, रामाथिबोडी अस्पतालका डिन प्राध्यापक आर्टिट उङ्कानन्तले हस्ताक्षर गरे । त्यस्तै, जनता एग्रो एण्ड फरेस्ट्री नेपाल (जेएएफएल) र कासेटसार्ट विश्वविद्यालय थाइल्याण्डबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र थाइल्याण्डको व्यापार बोर्डबीचको समझदारीपत्रमा हस्ताक्षर भएको हो । काठमाडौं विश्वविद्यालय र थाइल्याण्डको सियाम विश्वविद्यालय सहकार्यसम्बन्धी पत्रमा पनि हस्ताक्षर भएको छ । नेपाल उद्योग परिसंघ र थाइ उद्योग महासङ्घबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा समझदारी भएको छ । त्यस्तै, नेपाल चेम्बर अफ कमर्स र थाइल्याण्ड पर्यटन परिषद्बीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिकाले ‘एक वडा, एक पर्यटकीय गाउँ’ निर्माणको काम सुरु गरेको छ । पालिकाभित्रका वडालाई पर्यटकीय गाउँ बनाउने उद्धेश्यसहित पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पर्यटकीय गाउँ बनाएर पर्यटक भित्र्याउँदै स्थानीयको जीवनस्तर सुधार गर्ने लक्ष्य लिइएको बताउनुभयो । पहिलो चरणमा गाउँपालिकाले वडा नम्बर १ को गिरानचौर र वडा नम्बर ६ को हिलेखर्कलाई पर्यटकीय गाउँ बनाउने प्रक्रिया सुरु गरेको उहाँले बताउनुभयो । पर्यटकीय गाउँ बनाउन प्रत्येक गाउँलाई रु ४० लाख बजेट विनियोजन गरिएको चुमानको भनाई छ । उहाँले भन्नुभयो, “प्रत्येक वडाका एक गाउँ छनोट गरी पर्यटकीय गाउँ बनाउने प्रक्रिया सुरु भएको छ, त्यस ठाउँमा पर्यटकमैत्री पूर्वाधार निर्माण गरी पर्यटक आकर्षित गर्छौं ।” सुरुमा आँबुखैरेनी पर्यटकीय पालिका हो र भन्नेमा धेरैले शङ्का गर्ने स्थिति रहेको स्मरण गर्दै चुमानले भन्नुभयो, “केही धार्मिक स्थललाई धार्मिक पर्यटकीय स्थलको रुपमा दावी गथ्र्यौ, तर अहिले गाउँपालिका धेरै पर्यटकीय स्थल भएको ठाउँ हो भन्ने आधार खडा गर्न सफल भएका छौं ।” धार्मिक रुपमा छिम्केश्वरी, अकला, आँधीमूल, पञ्चकन्या मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न खोजिएको चुमानको भनाई थियो । त्यस्तै पूर्वाधारको हिसाबले पछाडि परेको आँबुखैरेनी–२ ऐनापहरालाई आरामस्थलका रुपमा विकास गरिएको उहाँले बताउनुभयो । ऐनापहरामा पूर्वाधार निर्माण गरी रोजगारी सिर्जनाका साथै गाउँपालिकाको आन्तरिक आम्दानी वृद्धि गरिएको उहाँले बताउनुभयो । ऐनापहराका ढुङ्गामा कृत्रिम आकृति निर्माण गरी यहाँ विभिन्न पूर्वाधार निर्माण गरिएको छ । ऐनापहरा पार्कमा टिकट शुल्क राखेर पालिकाले चालु आर्थिक वर्षमा रु ६० लाखभन्दा बढी आम्दानी गरिसकेको छ । त्यस्तै मस्र्याङ्दीको कृत्रिम तालमा मोटरबोट सञ्चालन, आँबुखैरेनी–१ को आँधीमूलमा कृत्रिम ताल निर्माणको प्रक्रिया थालिएको चुमानको भनाइ छ । मूलको पानी जम्मा गरेर कृत्रिम ताल निर्माणको काम अगाडि बढेको उहाँले उल्लेख गर्नुभयो । आँधीमूलमा प्रसिद्ध मन्दिरसमेत रहेकाले धार्मिक पर्यटनलाई जोडेर यहाँ पर्यटकीय गतिविधि सञ्चालन गर्ने लक्ष्य लिइएको चुमानको भनाई छ । उहाँले भन्नुभयो, “आँधीमूल आफैमा प्रसिद्ध धार्मिकस्थल हो, यहाँ विभिन्न ठाउँबाट धार्मिक पर्यटकसमेत आउनुहुन्छ, धार्मिक पर्यटनलाई जोडेर यस ठाउँको विकास गर्न चाहेका छौं ।” यहाँ १५ रोपनी क्षेत्रफलमा कृत्रिम ताल निर्माणको काम भइरहेको छ । ताल निर्माणका लागि चालु आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन गरिएको छ । यहाँ ताल निर्माण गरी पानीमा सञ्चालन गर्न सकिने पर्यटकीय क्रियाकलाप सुरु गर्ने लक्ष्य रहेको चुमानको भनाई छ ।
भाटभटेनी सुपरमार्केटले कोटेश्वर शाखाका सुरक्षागार्डलाई पुरस्कृत गरेको छ। शुक्रबार राजावादी प्रदर्शनकारीको एक समूह कोटेश्वरस्थित भाटभटेनी पुगेर लुटपाटमा संलग्नविरुद्ध प्रतिकार गरेर साहसिक प्रदर्शन देखाउने सुरक्षा गार्ड कृष्णप्रसाद पराजुलीलाई भाटभटेनी सुपरमार्केटले ५ लाख १ हजार १११ रुपैयाँ पुरस्कारसहित सम्मान गरेको हो। भाटभटेनीका संचालक मीनबहादुर गुरूङले सुरक्षागार्ड दुलप्रसाद पराजुलीलाई ५ लाख नगद पुरस्कार र पाँच ग्रेड बढुवा प्रदान गरेका थिए। पराजुलीले त्यसदिन गरेको प्रतिकारको भिडिओले सामाजिक सञ्जालमा चर्चा पाएको थियो। त्यस्तै बुधवार आयोजित एक कार्यक्रमका बिच भाटभटेनीले अर्का एक सुरक्षा गार्डलाई ५१ हजार रुपैयाँ सहित सम्मान गरेको छ । यसैगरी सोही बेला ड्युटीमा अर्का थप दुई जनालाई पनि २५ हजारका दरले सम्मान गरेको छ । यसैगरी कमर्चारीहरुलाई सम्मान गरिएको थियो । उक्त भाटभटेनीमा लुटपाट गर्नेहरू ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूमाथि प्रहरी वृत्त बानेश्वरले अनुसन्धान गरिरहेको छ। लुटपाट र तोडफोडबाट भाटभटेनीमा ८० लाख क्षति पुगेको जनाएको थियो।