विराटनगर: प्रधानमन्त्री केपी शर्मा ओलीले नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन नहुने बताउनुभएको छ । विराटनगरमा सोमबार साँझ पत्रकारहरूको जिज्ञासामा उहाँले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी हो भन्नुभयो । प्रधानन्त्री ओलीले अहिले अमेरिकी स्टेट सपोर्ट प्रोग्राम (एसपिपी)को कुनै कुरा वा चर्चा नै नभएको बताउनुभयो । संविधान संशोधनका लागि आयोग गठन हुन्छ भन्ने प्रश्नमा उहाँले यो विषय संसद्को विषय भएकाले आयोग गठन गरिरहनु नपर्ने जनाउनुभयो । सरकारको निर्देशनबमोजिम नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएका उद्योगमा लाइन जोडिएको छैन नि भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भन्नुभयो, “नजोडिएको भए हेर्दै जाउँ । हामी उद्योग र कलकारखानालाई काम गर्न सक्ने र आर्थिक समृद्धिका लागि आवश्यक काम गर्दै जानेछौँ ।” धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३औँ दीक्षान्त समारोहबाट प्रधानमन्त्री ओली विराटनगर हुँदै काठमाडौँँ फर्कनुभएको थियो ।
जुम्ला: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित हुने भएका छन् । दीक्षान्त कार्यक्रम यही कात्तिक २८ गते हुने भएको छ । यसअघि गत भदौ २३ गते तय गरिएको थियो । दीक्षान्त समारोह कार्यक्रम तयारी पूरा भएको प्रतिष्ठानले जनाएको छ । दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा अञ्जनीकुमार झा, अमेरिकास्थित हार्डवेयर मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेङ्गर पनि समारोहमा सहभागी हुने प्रतिष्ठानका शिक्षाध्यक्ष डा डबलबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “स्नातकतर्फ बिपीएचमा ३८, एमबिबिएस १३ र स्नातकोत्तरतर्फ एमडिजीपीमा ३, एमडी एनेस्थेसियामा १ र एमडी पेडियाट्रिक्समा १ गरी ५८ विद्यार्थी दीक्षित हुन योग्य छन् ।” प्रधानमन्त्री ओलीले दीक्षान्त समारोहमा भाग लिएपछि प्रतिष्ठानको शैक्षिक भवनको उद्घाटनसमेत गर्नुहुने कार्यक्रम रहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरिरहेको प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीले जानकारी दिनुभयो । दीक्षान्त समारोहपछिको सिनेट बैठकमा प्रतिष्ठानका भावी योजना र गतिविधिबारे थप छलफल हुने जनाइएको छ ।
जनकपुरधाम: साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड शाखा कार्यालय धनुषाले गत आर्थिक वर्ष २०८०र८१ मा रु १८ करोड ६२ लाख ८१ हजार मूल्यबराबरको आयोडिनयुक्त नुन बिक्री गरेको छ । धनुषा, महोत्तरी तथा सिन्धुली कार्यक्षेत्र रहेको सो कार्यालयले उक्त तीनवटा जिल्लामा आफ्ना २५ डिलरमार्फत आयोडिनयुक्त नुन बिक्री गरेको हो । कार्यालयका अनुसार चालु आर्थिक वर्षको ३ महिना अर्थात् साउन, भदौ र असोजमा रु ५ करोड २३ लाख मूल्यबराबरको नुन बिक्री गरेको छ । सो अवधिमा ४५ हजार तीन सय ७० बोरा नुन बिक्री भएको हो । कार्यालयले दसैँतिहार तथा छठपर्वलाई लक्षित गरी सहुलियत दरको सुपथ मूल्य पसल सञ्चालन गरी नुन बिक्री गरेको जनाएको छ । गत असोज ७ गतेदेखि कात्तिक २९ गतेसम्म सञ्चालन हुने सोसहुलियतदरको पसलबाट हालसम्ममा ५ हजार ६ सय प्याकेट नुन बिक्री गरेर रु २ लाख ६१ हजार कार्यालयलाई आम्दानी भएको प्रमुख शुभनारायण साहले बताउनुभयो । सहुलियत दरका सो पसलबाट रु २४ प्रतिप्याकेट तथा सोभै डिलरमार्फत रु २६ प्रतिप्याकेट नुन बिक्री भइरहेको बताइएको छ । यस्तै सो कार्यालयले रासायनिक मलको कारोबारसमेत गर्दै आएको प्रमुख साहले जानकारी दिनुभयो ।
पोखरा: विभिन्न सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज रुपन्देही लगिँदैछ । सुप्रिम सहकारीको बचत रकम अपचलनमा पनि संलग्न भएको आरोपमा लामिछानेलाई कास्कीबाट बुटवल लैजान लागिएको हो । प्रहरी स्रोतका अनुसार उनलाई बुद्ध एयरको फ्लाइट नम्बर ६ सय ८१ मार्फत भैरहवा लगिदैं छ । तर अहिले प्रतिकुल मौसमका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थलमै अड्किएका छन् । उनलाई कास्की प्रहरीले बिहान ५ बजेर ५५ मिनेटमा विमानस्थलमा प्रवेश गराएको थियो । उनलाई बिहान सबेरै बुटवल पुर्याउने भनिएपनि मौसमका कारण फ्लाइट डिले भएको विमानस्थलले जनाएको छ । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका उनलाई सोही रातीनै पोखरा ल्याइएको थियो । उललाई गत आइतबार कास्की जिल्ला अदालतले चौथों पटक १३ दिनको म्याद थप गरेको छ । बयानका लागि रुपन्देही लगेपनि बयान सकिएपछि पोखरा नै फर्काइने बताइएको छ । उनलाई रुपन्देही लगिने भएपछि रास्वपाका कार्यकर्ताहरुले प्रर्दशन गर्ने तयारी गरेका छन् । यद्यपी प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७३ रुपैयाँ ५५ र बिक्रीदर एक सय ७४ रुपैयाँ ३२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ९३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८९ रुपैयाँ छ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९७ रुपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ १५ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिद दर आठ रुपैयाँ ७७ पैसा र बिक्रीदर आठ रुपैयाँ ८० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ तीन पैसा, कतार रियाल एकको खरिद दर ३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३५ रुपैयाँ १३ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ९२ पैसा र बिक्रीदर तीन रुपैयाँ ९३ पैसा, युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६९ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १२ रुपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ २७ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ४१ पैसा, कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ५५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ५० पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ नौ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
काठमाडौं: हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दशदिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् । तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद् ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ । तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ । कोरोना, डेङ्गुजस्ता रोगबाट बच्न तुलसीको चिया नियमित सेवन गर्नाले लाभ मिल्ने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेलले बताउनुभयो । कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसी पत्र विष्णुलाई अर्पण गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । गरूड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसी पत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ । आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । रात्रिमा ‘गोविन्द उठ्नुस् तपाईं सुते जगत् सुत्छ, तपाईं उठे जगत् उठ्छ’ भन्दै शङ्ख, घण्ट र ढोल बजाएर विष्णुलाई जगाउने गरिन्छ । यसको प्रतीकका रूपमा मानवका पाँच ज्ञानेन्द्रीय र पाँच कर्मेन्द्रीय एवं मन गरी ११ वटालाई जित्न उपयोग गरिने शास्त्रीय मान्यता छ । किसानले उखुको बोट मठमा गाड्छन् । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वन तरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ । कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवं सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताउनुभयो । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतबन्धजस्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी, पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेषनारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । आजै देशभरका नारायण मन्दिरमा विशेष पूजा गरी यो पर्व मनाइन्छ । वर्षमा एक दिन धेरै दर्शनार्थीले पूजा आराधना गर्न आउने गरेकाले दक्षिणकालीको शेषनारायण मन्दिरमा विशेष व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यसैगरी बूढानीलकण्ठ नारायणस्थानमा पनि आजदेखि कार्तिक शुक्ल पूर्णिमाका दिनसम्म विशेष मेला लाग्ने जनाइएको मेलाको सबै तयारी पूरा भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम स्थानीय तह परिचालन विभाग र पर्यटन विभागका सदस्य–सचिव तथा सदस्य मनोनयन गरी दुई विभागलाई पूर्णता दिनुभएको छ । अध्यक्ष लिङ्देनले पार्टीका वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधान प्रमुख रहनुभएको स्थानीय तह परिचालन विभागमा केन्द्रीय सदस्य भरत पाठक (नुवाकोट) लाई विभागको सदस्य–सचिव मनोनयन गर्नुभएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार सदस्यमा सहायक महामन्त्री ताहिर अली (रुपन्देही), केन्द्रीय सदस्य रामहरि थापा (भक्तपुर), केन्द्रीय सदस्य तीर्थराज चटौत (कञ्चनपुर), केन्द्रीय सदस्य देवकुमारी पराजुली (स्याङ्जा) र केन्द्रीय सदस्य विनोद भारती (बारा) रहनुभएको छ । अध्यक्ष लिङ्देनले सहायक महामन्त्री विजय खड्का प्रमुख रहनुभएको पर्यटन विभागमा सदस्य–सचिव र सदस्य मनोनयन गर्नुभएको छ । विभागको सदस्य–सचिवमा पर्यटन व्यवसायी गणेश रिमाल (धादिङ) रहनुभएको छ भने सदस्यमा सांसद आशा लामा (काठमाडौँ), अर्जुन खनाल (कास्की), आराधना पुडासैनी (मोरङ), रामप्रसाद सापकोटा (धादिङ), रिना खड्का (काभ्रेपलाञ्चोक) र सुशील पन्त (गोरखा), मनोनयन गर्नुभएको छ । यसैगरी सदस्य तीर्थराज सुवेदी (कास्की), निर्मला इजम (ताप्लेजुङ), मेरिना श्रेष्ठ (सल्यान), कमल रिमाल (काठमाडौँ), किशोर खड्का (बझाङ), दावाकिपा शेर्पा (स्विट्जरल्याण्ड प्रवास), मेघनाथ आचार्य (रुपन्देही) र सगरमाथा आरोही दावा छिरी शेर्पा (दोलखा) रहनुभएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख श्रेष्ठले बताउनुभयो । अध्यक्ष लिङ्देनले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार आयोजित कार्यक्रममा दुवै विभागका सदस्य–सचिव तथा सदस्यलाई मनोनयन पत्र हस्तान्तरण गर्नुभएको सो पार्टीले जनाएको छ ।
गण्डकी: पन्ध्रौं शताब्दीतिर सुरु भएको मानिने बागलुङ, ताराखोलाको ‘भुस पोल्ने पर्व’लाई स्थानीय मगर समुदायले धुमधामसँग मनाएका छन् । बर्सेनि कात्तिक २४ गतेदेखि सुरु हुने यो पर्व सोमबार ‘छापे’ खनेसँगै सकिएको हो । सदियौँअघि पाल्पाको अर्गलीबाट बसाइँसराइ गरी ताराखोला गाउँपालिका–२ अर्गलमा आएका मगर जातिले उक्त ऐतिहासिक पर्वको चलन बसालेका इतिहास छ । पुर्खाले खोरिया खनी थातथलो बसाएको र कृषि कर्म सुरु गरेको दिनको सम्झनामा भुस पोल्ने पर्व मनाउने गरिएको मगर भाषा तथा संस्कृति सम्वर्द्धन समितिका सचिव बिर्बलाल घर्तीमगरले बताउनुभयो । उहाँका अनुसार व्यवस्थित खेती प्रणाली सुरु भएसँगै उक्त पर्वको थिति चलेको हो । परम्परागत मूल्य, मान्यता र विधिका आधारमा भुस पोल्ने पर्व श्रम र उत्पादनसँग जोडिएको सचिव घर्तीमगरले बताउनुभयो । “यो पर्व एक किसिमले प्रकति पूजा पनि हो”, उहाँले भन्नुभयो, “यसले श्रम संस्कृतिलाई प्रोत्साहित गर्छ ।” गाउँका बुढापाकाले सुनाएअनुसार पर्वको पहिलो दिन कात्तिक २४ गते शङ्खुबारीमा भुस पोल्ने गरिन्छ । मकैबाली भित्र्याएपछि बारीमा रहेका घाँस, डाँठ, पात, पतिङ्गर जम्मा पारेर आगो लगाउने कार्यलाई स्थानीय जनबोलीमा भुस पोल्ने भनिन्छ । शङ्खुघरका मुल भाञ्जाले भुस पोल्ने चलन रहेको सचिव घर्तीमगरले बताउनुभयो । उक्त दिनमा शङ्खुबारीमा विशेष पूजाआजा पनि हुन्छ । शङ्खुबारीमा उब्जेको जौ बाली शुङ्खु (मुल) घरले प्रयोग गर्ने र त्यही घरले पूजाआजाको खर्च चलाउनुपर्ने नियम छ । केही वर्षअघिसम्म गाउँका सबैभन्दा ज्येष्ठ सदस्यको घरलाई शङ्खुघर मान्दै आए पनि अहिले छुट्टै समाजघर निर्माण गरेर उक्त कार्य सञ्चालन गरिँदै आइएको सचिव घर्तीमगरले बताउनुभयो । “कुनैताका गाउँको मुुखियाको घरलाई शङ्खुघर मान्ने गरिन्थ्यो । पर्वको दोस्रो दिन २५ गते वर्ष दिनभित्र मृत्यु भएकाका परिवारमा मृत्यु संस्कारका रुपमा बरखी (दुःख) उम्काउने चलन छ”, उहाँले भन्नुभयो । मगर भाषा तथा संस्कृति सम्वर्द्धन समितिका सचिव घर्तीमगरले २४ गते अघि जहिले मृत्यु भएको भए पनि २५ गते मृत्यु संस्कार पूरा गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “२४ गते मृत्यु भएमा भने वर्षभरि नै दुःख बार्नुपर्ने हुन्छ । घरमा चेलीबेटी, भाञ्जाभाञ्जीलाई बोलाइ दान दक्षिणा दिइ मृत्यु संस्कार पूरा गर्ने गरिन्छ । मृत्यु संस्कारको समापनलाई गाउँलेले ‘होलादास’ पनि भन्ने गर्छन् ।” मृतकको घरमा दिदीबहिनीमध्ये जेठीले १८ माना चामल, सोही बराबरको सुकुटी र सुकेको छाला ल्याउनुपर्ने प्रचलन रहेको सचिव घर्तीमगरले बताउनुभयो । उहाँका अनुसार मृतकको परिवारबाट पनि सोहीअनुसार मावली र माइतीघरमा पठाउने गरिन्छ । त्यसरी पठाएको कोसेली दाजुभाइ मिलेर बाँड्ने र त्यसबापत नगद दक्षिणा दिने चलन छ । भुस पोल्ने पर्व जन्म संस्कारसँग पनि जोडिएको छ । पर्वको मुख्य दिन २६ गते छापे खनेपछि २७ गतेदेखि यो वर्ष छोरा जन्मिएका घरमा पुत्र बढाइँ सुरु हुने सचिव घर्तीमगरले जानकारी दिनुभयो । कात्तिक नसकिएसम्म पुत्र बढाइँ निरन्तर गरिन्छ । उक्त कार्यमा गोपिचन नाच देखाउने, गाथा हाल्ने पुरानो चलन रहेको छ । जङ्गली युगबाट कृषि युगमा प्रवेश गरेको दिनलाई मगरका पुर्खाहरुले भुस पोल्ने पर्वका रूपमा मनाउँदै आएका स्थानीय बताउँछन् । ताराखोला गाउँपालिका–२ का वडाध्यक्ष भद्र घर्तीमगरले यो अर्गलवासीको सबैभन्दा ठूलो पर्व रहेको बताउनुभयो । श्रम संस्कृतिको सम्मानसँगै एकआपसमा भाइचारा र सद्भावको पर्वका रूपमा यसलाई लिने गरिएको उहाँले उल्लेख गर्नुभयो । “पर्वको मुख्य दिनमा शङ्खु (मुल) घरलाई फेरो मार्दै गाउँलेहरुले गीत–गाथा हाल्ने गर्छन् । हातमा राँको, जाँडको ठेकी र लेकाली कटुसको स्याउला नचाउँदै नजिकैको शङ्खुबारी पुग्छन् । शङ्खुबारीको बीचमा रहेको ठूलो ढुङ्गालाई सहकालका देउता मानेर पूज्छन् । गुरुबा र गाउँका अगुवाले ढुङ्गाछेउँ लिङ्गो ठड्याउँछन्, धुपबत्ती गर्छन् र जाँड चढाउँछन् । प्रकृतिका देउता ‘शङ्खु’ को प्रतिकस्वरुप मुल घर र बारीलाई शङ्खु भनेर चिनिन्छ । यो विधिपछि अविवाहित युवा हातमा कोदालो लिएर शङ्खुबारीमा दौडन्छन्, युवतीलाई डाक्छन् । युवती पनि कोदालोसहित शङ्खुबारी आउँछन् । पाका र विवाहितले अघिअघि बीउ छर्छन्, अविवाहित युवायुवती मिलेर शङ्खुबारीमा मेलो खन्न सुरु गर्छन् । जसलाई परम्परागत रुपमा ‘छापे खन्ने’ भनिन्छ । मेलो सकिएपछि युवायुवती एकापसमा कोदालो जुधाउँछन् र तानातान गर्छन् । अन्तिममा सँगै कोदालो उठाउँदै खुसी साट्छन्, खेती लगाएको सन्देश दिन्छन्”, वडाध्यक्ष घर्तीमगरले भन्नुभयो । कात्तिक २४ गते अर्गलको शङ्खुबारीमा भुस पोलेपछि ताराखोलाको हिलमा सोही दिन राति र तारागाउँमा अर्को दिन बिहान भुस पोल्न चलन रहेको वडाध्यक्ष घर्तीमगरले जानकारी दिनुभयो । पहिलेपहिले अर्गललमा भुस पोलेको धुँवा देखेपछि गाउँभरिका किसानले खेती सुरु गर्ने चलन रहेको बुढापाका बताउँछन् । पछिल्लो समय भुस पोल्ने पर्वको प्रवर्द्धन गरिरहेको अर्गल खेलकुद विकास मञ्चका अध्यक्ष लोकबहादुर क्षेत्रीले यस पर्वले ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको उल्लेख गर्नुभयो । केही वर्षयता पर्वको अवसरमा मञ्चले विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ । मगर समुदायको मौलिक पर्वमा विविधता थप्ने प्रयास गरिएको अध्यक्ष क्षेत्रीको भनाइ छ । पन्धौँ शताब्दीतिर पाल्पाको अर्गलीबाट आएका मगरहरु अर्गलमा र डोल्पाको भोटबाट आएका मगरका पुर्खा तारागाउँमा बसोबास गरेका पाइन्छन् । बाह्र मगरातमा पर्ने पाल्पा, अर्गलीबाट आएका मगरले आफूसँगै भुस पाल्ने पर्व पनि लिएर आएको गाउँका अगुवा बताउँछन् । बास र खेती लगाउने ठाउँको खोजीमा आएका उनीहरु अर्गलमा आइ खोरिया खनेर थातथलो बसाएका थिए । त्यसरी नयाँ ठाउँमा आउँदा बाटोमा कुनै दुःख, कष्ट नहोस्, कसैले केही नगरोस् भनेर ‘बाटो हिँड्ने बटुवा सबै मेरा माइती’ भन्दै गीत गाउँदै आएको कथन छ । अर्गलमा पुन, पुलिसा, ओसासा र नाउसा थरका घर्तीमगर बस्छन् । उनीहरुले सदियौँ पुराना संस्कार र संस्कृतिलाई जोगाएका छन् । ताराखोला क्षेत्रमा ऐतिहासिक भुस पोल्ने पर्वसँगै सिस्नो खोस्ने, असारे, भदोरैजस्ता मेला, पर्व प्रचलित छन् ।
नवलपुर: गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले व्यवसायीको लगानी सुरक्षाका लागि प्रदेश सरकार सधैँ तयार रहेको बताउनुभएको छ । आजदेखि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटस्थित नारायणी नदी किनारमा आजदेखि सुरु भएको ‘दोस्रो गण्डकी प्रदेश महोत्सव–२०८१’ को समुद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले लगानीमैत्री कानुन निर्माण गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको हो । “तपाईँहरुको लगानीमा कुनै सुरक्षाको खतरा छ भने त्यो मलाई भन्नुस्”, उहाँले भन्नुभयो, “सुरक्षाको ग्यारेन्टी गर्छौँ ।” निजी क्षेत्रले गर्ने हरेक क्रियाकलापमा प्रदेश सरकार सधैँ सकारात्मक र सहयोगी भूमिकामा रहेको उहाँले बताउनुभयो । गण्डकी प्रदेशमा लगानी गर्न चाहने स्वदेशी वा विदेशी उद्योगी व्यवसायीहरुले यहाँ लगानी गर्न खोज्दा गण्डकी प्रदेश सरकारको ऐन कानुन बाधक छन् भने ती सबै संशोधन गर्न आफू तयार रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले महोत्सवहरुले उत्पादनको बजारीकरण गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेशको आर्थिक गतिविधि चलायमान बनाउन त्रिवेणी कोरला नाका सञ्चालन गर्नुपर्ने र त्यसका लागि पूर्वाधार निर्माण गर्न सङ्घीय सरकारसँग पहल भइरहेको उहाँले बताउनुभयो । भारत र चीनसँग व्यापार गर्ने सबैभन्दा छोटो नाकाको रुपमा त्रिवेणी कोरला नाका भएकाले पूर्वाधार निर्माण र सडक स्तरोन्नति गरिरहेको उहाँले बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्का अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो । व्यवसायमैत्री कानुन बनाउनका लागि नीति निर्माणमा निजी क्षेत्रलाई पनि सहभागी गराउनुपर्ने ढकालको सुझाव छ । मङ्सिर १० गतेसम्म सञ्चालन हुने महोत्सवमा तीन सय वटा स्टलहरु छन् ।