गोरखा: गोरखामा आठ महिनाको अवधिमा जिल्लाभर एक सय ३३ जनामा क्षयरोग पहिचान गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा यहाँका एघारवटै पालिकामा सो परिमाणमा क्षयरोगका बिरामी फेला परेका हुन् । प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी नवराज खड्काका अनुसार ७८ पुरुष र ५५ महिलामा क्षयरोग सङ्क्रमण पुष्टी भएको हो । बारपाक सुलिकोट गाउँपालिकामा सवैभन्दा बढी २६ जनामा क्षयरोग सङ्क्रमण भएको छ । भीमसेनथापा गाउँपालिकामा २५, गोरखा नगरपालिकामा २१ तथा पालुङटार नगरपालिकामा १९ जनामा क्षयरोग सङ्क्रमण पुष्टी भएको छ । यस्तै आरुघाट गाउँपालिकामा १४, सहिद लखन गाउँपालिकामा ९, अजिरकोट गाउँपालिकामा ५, धार्चे गाउँपालिकामा ५, सिरानचोक गाउँपालिकामा ४, गण्डकी गाउँपालिकामा ३ र चुमनुब्री गाउँपालिकामा दुई जनामा क्षयरोग देखिएको सूचना अधिकारी खड्काले बताउनुभयो । गत आर्थिक वर्षमा जिल्लामा २३२ जनामा क्षयरोग सङ्क्रमण पुष्टी भएको थियो ।
चितवन: नेपालमा बाघको सङ्ख्या बढ्दै जाँदा त्यसको बासस्थान क्षेत्र बढाउनुपर्ने देखिएको छ । निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र र अन्य वन क्षेत्र बाघको बासस्थान भए पनि बाघको सङ्ख्या बढ्न थालेपछि बासस्थानको समस्या पनि बढेको छ । चितवन राष्ट्रिय निकुञ्जले यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले बाघका लागि बासस्थान बढाउन आवश्यक रहेको बताउनुभयो । विगत पाँच वर्षयता बाघको सङ्ख्या बढ्दै गएकाले बासस्थान पनि बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हिंस्रक बाघलाई खुला चिडियाघर बनाएर उनीहरूको संरक्षण गर्न आवश्यक छ, खुला चिडियाघर बनाएर त्यसलाई आयआर्जनसँग जोड्न सकिन्छ ।” नेपालमा बाघको सङ्ख्या सन् २००९ मा एक सय २१ रहेकामा सन् २०२२ मा बढेर तीन सय ५५ पुगेको छ । बाघको सङ्ख्या सन् २०१३ मा एक सय ९८ र सन् २०१८ मा दुई सय ५३ रहेको थियो । बाघको सङ्ख्या बढ्दै गर्दा बासस्थान क्षेत्र ९३ प्रतिशत घटेको आचार्यले बताउनुभयो । एक सय वर्ष पहिले विश्वमा एक लाखको हाराहारीमा बाघ रहेकामा अहिले यो सङ्ख्या घटेर पाँच हजार पुगेको उहाँले जानकारी दिनुभयो । पछिल्ला वर्षहरूमा बाघको संरक्षणमा ध्यान दिइएकाले यसको सङ्ख्या बढ्दै गएको हो । नेपालको वन क्षेत्रमा पाँच सयको हाराहारीमा बाघ राख्न सकिने आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “निकुञ्जको कोर क्षेत्रमा चार सय चार बाघ राख्न सकिने देखिन्छ ।” बाघको मुख्य आहार मृग प्रजाति रहेकाले यसलाई समेत संरक्षण गर्न आवश्यक छ । मृग प्रजातिसँगै बाँदर र घरपालुवा जनावार बाघको आहाराका रूपमा रहेको सो अवसरमा जानकारी दिइयो ।
काभ्रेपलाञ्चोक: छ महिनासम्म स्थानीय तहले प्रभावितको तथ्याङ्क नपठाउँदा जिल्लाका बाढिपहिरोपीडितले अझै सरकारी राहत रकम तथा अनुदान पाउन सकेका छैनन् । जिल्लास्थित विपद् व्यवस्थापन समितिले छ महिनादेखि बैठकमार्फत स्थानीय तहलाई पटकपटक ‘गाँस–बास–कपास गुमाएका’लाई राहत दिन प्रभावितको तथ्याङ्क पठाउन ताकेता गरिरहेको छ । राहत तथा अनुदानका लागि स्थानीय तहले लाभग्राहीको विवरण राष्ट्रिय विपद्् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् ‘पोर्टल’मा तथ्याङ्क अनिवार्य प्रविष्ट गरेपछि मात्रै राहत अनुदान आउनेछ । गत असोज १०–१२ मा परेको अविरल वर्षातले पु¥याएको क्षतिका विवरण सङ्कलन गरी जिल्लास्थित विपद् व्यवस्थापन समितिमा बुझाउन केही स्थानीय तहले आलटाल गरेका छन् । पोर्टलमा विपद्सम्बन्धी विवरण भर्ने गरी स्थानीय सरकारलाई दिएको समयसीमा भित्र पाँचवटा स्थानीय तहले अझै विवरण उपलब्ध गराएका छैनन् । काभ्रेपलाञ्चोकको १३ मध्ये पाँच स्थानीय तहले विवरण नबुझाएका हुन् । क्षति भएका घरहरुको विवरण सङ्कलन गरी स्थानीय विपद् व्यवस्थापन समितिबाट निर्णय गरी जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको निर्णयका आधारमा सरकारले पीडितहरुलाई रु २५ हजार राहत दिने छ । विपद्को ६ महिनासम्म बनेपा, पनौती, तेमाल, भुम्लु र मण्डनदेउपुरले विवरण सङ्कलन गरी पोर्टलमा दर्ता गरेका छैनन् भने दर्ता भएका विवरणहरु पनि स्थानीय तहमा रहेको विपद् व्यवस्थापन समितिबाट जिल्लास्थित समितिमा बुझाएका छैनन् । जिल्ला प्रशासन कार्यालयले पोर्टलमा दर्ता भएका र स्थानीय तहमा रहेका विपद् व्यवस्थापन समितिबाट निर्णय भई आएका नमोबुद्ध नगरपालिकाका ८२४ घर, बेथानचोक गाउँपालिकाका २३९ घर र महाभारत गाउँपालिकाका १७ घर परिवारका लागि रु २५ हजारका दरले अस्थायी आवासका लागि राहत उपलब्ध गराउन गृह मन्त्रालय अन्र्तगतको विपद् ब्यवस्थापन समितिलाई निकासा माग गरेको छ । निकासा माग गरेको तीन हप्तासम्म पनि मन्त्रालयले अस्थायी आवासका लागि रकम निकासा नगरेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पहिलो चरणमा रु दुई करोड ७० लाख अस्थायी आवास निर्माणका लागि निकासा माग गरिएको छ । धुलिखेल नगरले ८६, रोशीले ५४८, चौरीदेउरालीले २८०, खानीखोलाले ५३ र पाँचखालले १२५ घर परिवारका लागि अस्थायी आवास निर्माण गर्न सिफारिस गरेको भए पनि स्थानीय विपद् व्यवस्थापन समितिबाट निर्णय नगरेकाले मन्त्रालयमा रकम माग गर्न नमिलेको जनाइएको छ । “तीव्र रुपमा वडागतरुपमा प्राप्त विवरण छानविन भइरहेको छ, अब केही दिनमै सक्नेछौँ”, पनौतीका प्रमुख रामशरण भण्डारीले भन्नुभयो । प्राधिकरणबाट निकासा भएलगत्तै स्थानीय विपद् व्यवस्थापन समितिमा रकम निकासा भएपछि लाभग्राहीलाई वितरण गरिने जनाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले स्थानीय तहलाई पटकपटक लाभग्राहीको विवरण प्रविष्ट गर्न पत्राचार गरिएको बताउनुभयो । “स्थानीय तहले ढिलाई गर्दा बाढीपहिरोपीडितले अस्थायी आवास निर्माणको रकम पाउन ढिलाई भइरहेको हो”, उहाँले भन्नुभयो । समितिको बैठकले सबै विषयगत क्लस्टरहरुलाई पीडितको अपडेट र पूर्वतयारीका कार्यहरु यही फागुन २० गतेभित्र टुङ्ग्याउन निर्देशन दिने निर्णयसमेत गरेको छ । समितिद्वारा अस्थायी आवास निर्माणका लागि रु ५० हजार उपलब्ध गराउने मापदण्ड अनुसारको विवरणसमेत स्थानीय तहसँग माग गरिएको हो । गत असोजको वर्षाको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा ७९ को मृत्यु भएको थियो भने छ जना अझै वेपत्ताको अवस्थामा छन् । कार्यालयको प्रारम्भिक विवरणअनुसार भने जिल्लामा दुई हजार ८४४ घर पूर्ण र छ हजार ४६ घरमा आंशिक क्षति पुगेको छ । तीन हजारदेखि तीन हजार पाँच सय घर पुनःनिर्माण गर्नुपर्ने देखिएको प्रारम्भिक विवरणमा उल्लेख छ ।
म्याग्दी: गण्डकी प्रदेशको चार जिल्लाका पाँच वटा स्थानीय तहमा वृद्धिमुखी उद्यमशिलता र रोजगारी प्रवर्द्धन कार्यक्रम लागू गरिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय र सम्बन्धित स्थानीय तहको साझेदारीमा ‘दायित्व’ संस्थामार्फत उद्यमीको पहिचान गरी उनीहरुको क्षमता विकास, यवसाय स्तरोन्नति र बिक्री तथा बजारीकरणका लागि कार्यक्रम सञ्चालन भएको हो । दायित्व संस्थाका कार्यक्रम अधिकृत जुनतारा रानाले पर्वतको जलजलासँगै नवलपुरको हुप्सेकोट, बागलुङको बडीगाड, गोरखाको गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका र तनहुँको म्याग्दे गाउँपालिकामा यो कार्यक्रम लागू भएको राससलाई जानकारी दिनुभयो । “यस कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले प्रत्येक स्थानीय तहलाई रु ४० लाख पठाएको र सम्बन्धित पालिकाले रु २० लाखका दरले बजेट बिनियोजन गरेका छन्,” उहाँले भन्नुभयो “कृषि, पशुपालन, जडीबुटी, पर्यटन, सेवा र उत्पादनमा आधारित लघु, साना तथा मझौला उद्यमीलाई परियोजनाको कुल लागतमा ५० प्रतिशत साझेदारी गर्छौँ ।” हरेक स्थानीय तहमा ४० जना उद्यमीलाई न्युनतम रु २५ हजारदेखि रु एक लाख ५० हजारसम्म उद्यममा साझेदारी गरिने कार्यक्रम अधिकृत रानाले बताउनुभयो । पहिलो चरणमा कार्यक्रममा आवद्ध हुन इच्छुक उद्यमीबाट आवेदन सङ्कलन गर्न थालिएको छ । तोकिएको मापदण्डअनुसार पहिलो चरणमा ४० जना उद्यमी चयन गर्ने, २० जनालाई रु २५ हजारसम्म उद्यम विकास प्रविधि पुरक साझेदारी, १० जनालाई रु एक लाखसम्म नवप्रवर्द्धन पुरक साझेदारी, तेस्रो चरणमा नौ जनालाई रु ८० हजार र एक जनालाई रु एक लाख ५० हजार बिक्री तथा बजारीकरण प्रविधि पुरक साझेदारी गरिने जलजला गाउँपालिकाको उद्यम अधिकृत भगवती पुनले बताउनुभयो ।
काठमाडौं: आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ । दिवसको यस वर्षको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने तय गरिएको छ । यस दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धीलाई सम्झिने अवसर समेत प्रदान गरेको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ । उक्त रोगका कारण नेपालमा हजारौँ मानिस प्रभावित भइरहेका छन् । विश्वव्यापी रुपमा क्षयरोग अन्त्यका लागि गरिएका हाम्रो साझा तथा सामूहिक संकल्पमा केन्द्र कटिबद्ध रहेको जनाएको छ । केन्द्रका निर्देशक डा। श्रीराम तिवारीले जारी गर्नुभएको विज्ञप्तिमा क्षयरोग ९टीबी० विश्वभर लाखौँ मानिसलाई प्रभावित गर्ने सरुवा रोग भएको र नेपालमा यो जनस्वास्थ्य समस्याको रुपमा रहिआएको उल्लेख छ । सन् २०२३ मा विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा अनुमानित ६८ हजार नयाँ क्षयरोग प्रभावित व्यक्तिहरू थिए, जसको दर प्रति एक लाख जनसङ्ख्यामा २२९ रहेको थियो । त्यसैगरी क्षयरोगका कारण १६ हजारको मृत्यु भएको अनुमान गरिएको छ । जसको मृत्युदर प्रति एक लाख जनसङ्ख्यामा ५४ थियो । सोही अवधिमा, राष्ट्रिय क्षयरोग कार्यक्रमले ४० हजार ७७६ जना क्षयरोग प्रभावित व्यक्ति उपचारका लागि दर्ता गरेको थियो । त्यसमा ३९ प्रतिशत महिला र ६१ प्रतिशत पुरुष थिए । पत्ता लागेका औषधि प्रतिरोधी क्षयरोग प्रभावित व्यक्ति ७५६ जना थिए । उपचारका लागि दर्ता भएका मध्ये ७२ प्रतिशत फोक्सोको क्षयरोग र २८ प्रतिशत फोक्सो बाहिर अन्य अङ्गमा लाग्ने क्षयरोगी थिए । त्यसैगरी उपचार सफलता दर ९२ प्रतिशत छ । उल्लेखनीय प्रगतिका बावजुद, नेपालले अझै पनि क्षयरोग अन्त्यका लागि धेरै चुनौतीको सामना गरिरहेको केन्द्रले जनाएको छ । अनुमानित क्षयरोग प्रभावित व्यक्ति र उपचारको दायरामा आएका क्षयरोग प्रभावित व्यक्तिको सङ्ख्यामा ठूलो अन्तर छ । करिब ४० प्रतिशत अनुमानित क्षयरोग प्रभावित व्यक्तिलाई उपचारको दायरामा ल्याउन सकिएको छैन । पर्याप्त स्रोतको अभाव ‘राष्ट्रिय क्षयरोग कार्यक्रमको पञ्च वर्षीय क्षयरोग रणनीतिक योजना २०२१÷२२ देखि २०२५÷२६’ का अनुसार पाँच वर्षको लागि क्षयरोग कार्यक्रमको बजेट एक सय ९२ मिलियन अमेरिकी डलर रहेकोमा एक सय १० मिलियन मात्र ९अनुमानित० उपलब्ध छ । त्यो भनेको ४३ प्रतिशत बजेट अभाव हुनु हो । क्षयरोगको कारणबाट रोगीको परिवारमा अधिक आर्थिक व्ययभार परेको छ । राष्ट्रिय क्षयरोग बिरामी लगत सर्वेक्षण–२०२४ का अनुसार नेपालमा ५१ प्रतिशत क्षयरोग प्रभावित व्यक्ति तथा उनीहरूको परिवारलाई यस रोगको कारणबाट अधिक आर्थिक व्यय भार परेको छ । रोग अन्त्यका लागि सबै क्षेत्रको सहकार्य हुन नसक्दा थप प्रगति हासिल हुन नसकेको केन्द्रले स्पष्ट पारेको छ । रोगको अन्त्यका लागि स्वास्थ्य क्षेत्रसहित, स्वास्थ्य बाहेकका अन्य क्षेत्रहरू जस्तैः शिक्षा, श्रम तथा रोजगार, सामाजिक सुरक्षण लगायत अन्यको पनि महत्त्वपूर्ण योगदान रहनु आवश्यक छ । यसका साथै नीजि क्षेत्र र समुदायको संलग्नता पनि उत्तिकै महत्त्वपूर्ण छ । चुनौतीलाई समाधान गर्न केन्द्रले निरन्तर आफ्ना प्रयासलाई परिस्कृत गर्दै लगेको जनाएको छ । नेपालभर क्षयरोग उपचारका सेवा छ हजार २४१ स्वास्थ्य संस्था र निदानका सेवा ८०० स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध छन् । रोगको द्रूत परीक्षण सेवाको पहुँच ६७ जिल्लाका ११७ स्वास्थ्य संस्थामा पुगेको छ । यो परीक्षणबाट क्षयरोग प्रभावित व्यक्तिको औषधि प्रतिरोधको अवस्था थाहा पाउन सकिन्छ । औषधि प्रतिरोधी क्षयरोगका बिरामीको उपचार सेवा २९ वटा उपचार केन्द्र र ९८ उपचार उप– केन्द्रबाट प्रदान गरिँदै आएको केन्द्रले जनाएको छ । औषधि प्रतिरोधी बिरामीको लागि इन्जेक्सनरहित छोटो अवधिको, छ महिने उपचार ‘रेजिमेन’ उपलब्ध गराएको छ । मुलुकको सङ्घीय संरचनालाई ध्यानमा राखी नेपालले नवीनतम् प्रयासको रुपमा स्थानीय तहको नेतृत्व, उत्तरदायित्व र अपनत्व विकास गरी क्षयरोग अन्त्यका लागि भएका प्रयासलाई दिगो रुपमा गति दिनको लागि क्षयरोग मुक्त नेपाल अभियान १४९ स्थानीय तहमा विस्तार गरिएको छ । एआई जडित डिजिटल एक्सरे मेसिनद्वारा समुदायमा क्षयरोग बिरामीको सक्रिय खोजपड्ताल सुुरुआत भएको छ । राष्ट्रिय क्षयरोग छैटौँ औषधि प्रतिरोध सर्वेक्षण र पहिलो क्षयरोग बिरामी लगत सर्वेक्षण जस्ता महत्त्वपूर्ण अध्ययनसम्पन्न भएको छ । प्रत्येक वर्ष क्षयरोग रोकथाम, निदान, र उपचारसम्बन्धी सीप अभिवृद्धि तालिम सञ्चालन गरिएको छ । यी प्रयास प्रभावकारी भएपनि, क्षयरोग अन्त्यका लक्ष्य प्राप्तिका लागि सुधार गर्न धेरै बाँकी रहेको केन्द्रले जनाएको छ । आगामी दिनमा क्षयरोग प्रभावित व्यक्तिको पहिचानमा वृद्धि गर्ने, आवश्यक स्रोत तथा साधन जुटाउन तथा परिचालनको लागि स्थानीयतहलाई नेतृत्वदायी भूमिका प्रदान, एकीकृत सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ । त्यसैगरी स्वास्थ्य प्रणालीलाई सुदृढ गरी गुणस्तरीय उपचार सेवा सुनिश्चित गर्नुका साथै निजी क्षेत्रको संलग्नतालाई सुदृढीकरण गर्ने र क्षयरोग प्रभावित व्यक्तिलाई सामाजिक सुरक्षण प्रदान गर्न आवश्यक समन्वय तथा सहकार्य बढाउन विशेष प्राथमिकता निर्धारण गरिएको छ । सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र २०५० सम्ममा क्षयरोग मुक्त नेपाल हासिल गर्ने लक्ष्यतर्फ केन्द्र अग्रसर रहेको विज्ञप्तिमा उल्लेख छ । हरेकबर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन भने २० लाखको क्षयरोगकै कारणले मृत्यू हुने गरेको डरलाग्दो तथ्याङ्क छ । तीन हप्ता वा सो भन्दा बढी समयदेखि लगातार खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो भएमा वा छाती भारी भइरहेमा, अकास्मात धेरै तौल घटेमा यस रोग लागेको हुन सक्छ । त्यस्तै पसिना आउने धेरै भएर थकान बढी महसुस भएमा नजिकैको स्वास्थ चौकी गएर परीक्षण गर्नुपर्दछ । शारिरीक अवस्था कमजोर भई रोग प्रतिरोधात्मक क्षमता कम भएकामा यो रोगको संक्रमण हुन सक्छ । यो रोगसँग डराउनु नपर्ने र यसको निःशुल्क उपचारको प्रबन्ध गरिएको छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मान्छेमा, चुरोट रक्सी या लागुऔषध सेवन गर्नेमा र क्षयरोगको औषधिको पूर्ण मात्रा सेवन नगरेमा उक्त रोगको पुनः संक्रमण फेरि देखिन सक्ने भएकाले उपचारमा विशेष ध्यान दिनु आवश्यक हुने जनाइएको छ । औषधिको नियमित सेवनले क्षयरोग निको हुने चिकित्सकहरुको भनाइ छ ।
काठमाडौं: अभिनेत्री मनिषा कोइरालाले चलचित्र ‘फेरी भेटौँला’मा अभिनय गरेपछि बलिउड प्रवेश गर्नुभएको थियो । उहाँले पछि नेपाली चलचित्र ‘धर्मा’मा अभिनय गर्नुभयो । बलिउडमार्फत विश्वभर अभिनयमा छाप छोड्न सफल अभिनेत्री कोइरालाले क्यान्सर रोगसँग जित हासिल गरेपछि आफ्नो जीवनशैलीसँगै बुझाइमासमेत परिवर्तन महसुस गर्नुभयो । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा काठमाडौँमा बिहीबारदेखि सुरु ‘नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव ९निफ०’ को आठौँ संस्करणमा आयोजित ‘सिनेमा संवाद’मा उहाँले आफू पुनः नेपाली चलचित्रमा काम गर्न इच्छुक भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “म नेपाली चलचित्रमा काम गर्न इच्छुक छु, नेपाली लेखक तथा निर्देशकले नयाँ र भिन्न विषय लिएर मलाई प्रस्ताव गर्न सक्नुहुनेछ । पछिल्लो समय नेपाली चलचित्रको निर्माणमा आएको परिवर्तन र कलात्मक शैलीलाई मैले नियालेकी छु ।” त्यसो त उहाँले ‘करिअर’ को सुरुआती समयमै नेपाली चलचित्रकर्मीलाई आफ्नै कथा भन्न आग्रह गरेको स्मरण गर्नुभयो । विदेशी चलचित्रको नक्कल गरेर बनाइने नेपाली चलचित्रले कालान्तरमा रचनात्मक बन्न प्रेरित नगर्ने उहाँको बुझाइ छ । उहाँले अन्तरक्रियाको क्रममा पछिल्लो समय व्यावसायिक र कलात्मक दुवै किसिमका चलचित्रले पाइरहेको सफलताको चर्चा गर्नुभयो । “मैले सुरुआती समयमा भन्ने गरेको शैलीमा अहिले चलचित्र बनिरहेका छन् । म निकै खुसी छु, किनकि अहिले कलात्मक चलचित्रले हामीलाई अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा उभ्याउन सफल भएको छ भने व्यावसायिक चलचित्रले नयाँ किर्तिमान बनाइरहेको छ । यो एउटा चलचित्रकर्मीका लागि सुखद खबर हो”, अभिनेत्री कोइरालाले भन्नुभयो । कोइरालाद्वारा अभिनित पछिल्लो भारतीय वेब शृङ्खला ‘हिरामण्डी’ले निकै चर्चा प्राप्त ग¥यो । भारतीय निर्देशक सञ्जयलीला भन्सालीले निर्देशन गर्नुभएको सो शृङ्खला भारत र नेपालमा लोकप्रिय भयो । अभिनेत्री कोइरालाले निर्देशक भन्सालीसँग चलचित्र ‘खामोसी’ मा काम गरेको २८ वर्षपछि दोस्रो सहकार्य गर्नुभएको थियो । भन्सालीले आफूलाई दिएको भूमिकाका लागि कुनै कसर बाँकी नराखी अभिनय गरेको उहाँले बताउनुभयो । उर्दु बोल्नु पर्ने भएकाले भाषा विज्ञ राखेर लवज सिकेर काम गरेको स्मरण अभिनेत्री कोइरालाले गर्नुभयो । “मैले आफ्नो पात्रलाई जीवन्त बनाउने कोसिस गरेकी थिएँ, सायद सोही कारण उक्त पात्रको चर्चा भयो । अहिले पनि मैले केही काम गरेकी छु, ती मन खुसी भएर इमान्दारीपूर्वक गरिएको काम हो”, उहाँले भन्नुभयो । अन्तरक्रियाकै क्रममा अभिनेत्री कोइरालाले आफू राजनीतिमा आउन र चलचित्र निर्माणका लागि तयार नरहेको बताउनुभयो । उहाँले हाल एउटा पुस्तकमा काम गरिरहेको जानकारी दिनुभयो । महोत्सव आज साँझ समापन हुने आयोजकले जनाएको छ ।
दाङ: घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । गए राति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आगो निभाउन जिल्लाका सबै ठाउँबाट दमकल र टयाङ्कर ल्याएर आगो निभाउने प्रयास भइरहेको जानकारी दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी आगो निभाउने कार्यमा खटिएका छन् । आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भइरहेको प्रजिअ लम्सालले बताउनुभयो । उहाँले बाँके र रुपन्देही जिल्लाबाट समेत दमकल मगाएको बताउनुभयो । आगलागीको कारण खुल्न सकेको छैन ।
पोखरा: पोखरामा प्रथम एलिट भलिबल कप हुने भएको छ । एलिट भलिबल एकेडेमी पोखराले आफ्नो पहिलो वार्षिक उत्सव एवम् नयाँ वर्षको अवसरमा पोखरा–३, नदिपुरमा चैत २९ देखि वैशाख १ गतेसम्म प्रथम एलिट भलिबल कप सञ्चालन गर्न लागेको हो । एकेडेमीका सञ्चालक तथा प्रशिक्षक मलिन रोकाले खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता गर्न लागिएको जानकारी दिए । दुवैतर्फ टिममा सातौं, आठौ र नवौं राष्ट्रिय खेलकुद र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका बढीमा २ जना खेलाडी समावेश गर्न पाइने रोकाले बताए । प्रतियोगिताको पुरुषतर्फको विजेताले एक लाख र उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । महिलातर्फ विजेतालाई ५० हजार र उपविजेतालाई २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सर्वोत्कृष्ट पुरुष खेलाडीले ५ हजार र सर्वोत्कृष्ट महिला खेलाडीले ३ हजार प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुने पुरुष खेलाडीलाई समान २ हजार र महिलातर्फ समान १५ सय प्रदान गरिनेछ । पुरुषतर्फ दर्ता शुल्क ६ हजार ५ सय र महिलातर्फ ३ हजार ५ सय तोकिएको छ । प्रतियोगिताबाट बचत रकमबाट सम्भावना बोकेका दुई महिला खेलाडीको कक्षा ११ र १२ को पठनपाठनको खर्च उपलब्ध गराइने राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान एवम् एकेडेमीकी प्रशिक्षक अरुणा शाहीले बताइन् । उनीहरुलाई प्रशिक्षणसमेत निशुल्क गराइनेछ । खेलकुदमार्फत भाइचारा स्थापित गर्न यो प्रतियोगिताले टेवा पु¥याउने आयोजकको विश्वास छ ।
पोखरा: पृथ्वी नारायण क्याम्पस पोखरामा स्ववियु निर्वाचनको मतदान सकिएको छ । बिहान ८ बजेदेखि सुरु भएको मतदान ४ बजेसँगै सकिएको हो । निर्वाचन समितिका अनुसार कुल २ हजार ८ सय ९७ मत खसेको छ । क्याम्पसमा कुल ९ हजार २ सय ७० विद्यार्थी मतदाता छन् । उक्त मतगणना भने सर्वदलीय बैठकपछि सुरु गरिने बताइएको छ । सभापतिमा ८ जनाको प्रतिस्पर्धा स्ववियु सभापति पदका लागि ८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । अनेरास्ववियुबाट विष्णु पोखरेल, नेविसंघबाट सुशील न्यौपाने, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी, अनेरास्ववियु, अखिल समाजवादी, अखिल क्रान्तिकारी (वैद्य) संयुक्त प्यानलबाट सन्तोष पौडेल, अखिल छैटौंबाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङ, स्वतन्त्र उम्मेदवारका रूपमा विप्लवी न्यौपाने र कमल सुवेदी चुनावी मैदानमा छन्। क्याम्पसमामा १६ वर्षपछि हुन लागेको यस क्याम्पसको स्ववियु निर्वाचनलाई विशेष महत्वका साथ हेरिएको छ ।